एब्स्ट्य्राक्ट चिन्तन : महानायक

वास्तविक महानायक वा नायिका आफै जन्मिन्छ । ऊ पूर्वी क्षितिजबाट सुन्दर–कुरूप, महिला–पुरूष वा विशाल जनावर, जुनसुकै रुपमा आउन सक्छ । ऊ आफ्नै समयमा आउँछ । हामीले पर्खिनु–नपर्खिनुको कुनै अर्थ छैन ।
अरुण गुप्तो

को नायक ? को नायिका ? को महानायक ? बहस व्यापक तातेको छ । तर, अब भेटिने यस्तै बहस र चर्चा मात्रै हो । वास्तविक नायक–नायिका त युगले सायदै पाउला । मेरो विचारमा असम्भव नै छ । हो, सेलेब्रिटी भने हुन सक्छ । तर, ऊ हिरो होला, ग्यारेन्टी छैन । हिरोको एउटा विशेषता हुन्छ । ऊ भीडमा पनि एक्लो हुन्छ ।

मोरिस ब्लान्सो त्यो एक्लोपनलाई घाउसँग जोड्छन् । ‘एकाकीपन एक प्रकारको आत्मवार्ता हो,’ उनी भन्छन् । त्यही आत्मवार्ताले घाउ बनाउँछ । र, त्यसको रनाहाले पूरै युगलाई डोहोर्‍याउन सक्ने ज्ञान र चेतनाको प्रादुर्भाव गरिदिन्छ । जसले त्यो उज्यालोको दर्शन पाउँछ, ऊ दार्शनिक कहलिन्छ । ऊ नै सच्चा नायक ठहरिन्छ ।

जीवनबारेको दुःखान्त परिदृष्टि पनि हो यो । दुःखबाटै ज्ञान जन्मिन्छ । तर, आजको अगुवाले यो सत्यको दार्शनिक तत्त्व आत्मसात् नै गर्न सक्दैन । त्यसैले ऊ नायक पनि बन्न सक्दैन । महानायक त झन् दुर्लभ ।

वर्ड्स वर्थले ‘टिन्टर्न एबे’ कवितामा संसारलाई हेर्ने प्रबुद्ध परिदृष्टिको चर्चा गरेका छन् । उनी बेलाबेला निःशब्दता, निश्चलता अनि मानवताको दुःखको गीत सुन्ने आत्मज्ञानको कुरा गर्छन् । तर, आजको सन्दर्भमा यो कुरा हास्यास्पद हुन जान्छ । मानवताको गीत सुन्नु त निकै परको कुरा । दुःखको भौतिक व्याख्या मात्रै गर्छौं हामी ।

नायक वा नायिकाका अगाडि दुइटा परिस्थिति हुन्छन् । एउटा, समयको द्वन्द्व । अर्को, त्यो द्वन्द्वलाई बुझेर प्रतिक्रिया दिनु । उनीहरू त्यो समयसँग सधैं हारेका हुन्छन् । तर, उनीहरू फेरि पनि लडिरहन्छन् । प्रतिक्रिया जनाइरहन्छन् । एक दिन छोरीले भनिन्, ‘नायिकाले संसारलाई एउटा सुविधाजनक विन्दुबाट हेरेकी हुन्छिन् । त्यहाँबाट उनले सम्पूर्णता देख्छिन् वा नदेख्न पनि सक्छिन् ।’ तर, सम्पूर्णताको कामनाले दम्भ जन्माउँछ । मलाई लाग्छ— त्यसैले गर्दा नै नायक असफलतापछि पनि चेष्टा गर्न छाड्दैन । बुद्धको अन्तिमको शान्ति, गान्धीको असफलताले हामीलाई निरन्तर लडिरहने दर्शन सिकाएको छ ।

***

सेलेब्रिटीको आफ्नै सुन्दरता हुन्छ । ऊ फिल्म, खेल, राजनीति वा अरू जुनसुकै क्षेत्रबाट पनि हुन सक्छ । सेलेब्रिटीले एउटा कुनै क्षेत्रमा प्रभाव पार्छ । सोसल मिडियामा उसका फलोअर प्रशस्तै हुन्छन् । तर, उसमा युग परिवर्तन गर्ने चाहना हुँदैन र सक्दैन पनि ।

हजारौं मानिस शाहरूख खानको घरअगाडि उभिन्छन् । उनलाई एक झल्को देख्न पाउँदा खुसी हुन्छन् । युट्युबमा सद्गुरुको राम्रो प्रवचन सुन्न पाइन्छ । हरिवंश आचार्यहरू नेपालका ‘पप आइकोन’ हुन् । उनीहरूबाट रमाइला र सुन्दर कुराहरू हेर्न–सुन्न पाइन्छ । सन्दीप लामिछानेले विकेट लिनासाथ नेपालीत्वको भावना सञ्चार हुन्छ । चिन्ता, दुःख, द्वन्द्वका बीचमा सेलेब्रिटीले सुख प्रवाह गरिदिन्छन् । अहिलेको मिडिया यस्तै सेलेब्रिटी परम्पराको पछाडि छ । यो परम्परामा नायक जन्मने विचार मात्रै पनि अर्थहीन हुन पुग्छ ।

हामीलाई महाकवि, युगपुरुष, महानायक बन्ने–बनाउने अनन्त इच्छा छ । महापुरुष बनाउने प्रयासमा कसैलाई तक्मा पहिर्‍याइदिन्छौं, माला पनि लगाइदिन्छौं । तर, हामी नायक पुरुषलाई मात्रै बनाउँछौं । पुरुषत्वमा मात्रै नायक खोज्छौं । बिर्सन्छौं, नायक बन्ने प्रयासमा महाभारतका अर्जॅनले पनि बृहन्नला बन्नुपरेको थियो । यो एउटा रूपक हो । अर्जॅनलाई पूर्ण स्त्री बन्न सम्भव थिएन । त्यसैले उनी अर्ध स्त्री र अर्ध पुरुष स्वरूपमा रहे । सम्पूर्ण पुरुष स्वरूपका भीष्म, कर्ण, दुर्योधनहरू उनीसँग हारेर गए । अर्जुनको चरित्रका पछाडि कृष्णको नारीत्व र पौरुष दुवै थियो । कृष्णले राधाको संसर्गमा नारीत्वको अन्तरीकरण गरेका थिए । उनको पहिलेकै मोहिनी अन्तःचरित्र कहाँ जान्छ र ? शिवको पनि नारी–चरित्र छ । अर्धनारीश्वरका रूपमा पर्वतीको गुण छ ।

क्राइस्टलाई पनि मध्यकालका दर्शनिक हेनरी सुसो नारी रूपमा प्रेम गर्थे । उनी क्राइस्टमा नारीत्व पनि देख्थे । चर्चले उनलाई धम्की दिएर चुप लगाएको थियो । नायक अथवा महानायकले समाजलाई समग्रताको परिधिमा समेटेको हुन्छ । समेट्न नसकियुन्जेल त्यसका लागि चेष्टा गरिरहन्छ । वास्तवमा चेष्टा नै सफलता हो । नायकको परिधि भूगोलदेखि इतिहाससम्म, चेतना परिवर्तनदेखि साहित्य र अन्य क्रियाकलापहरूसम्म, विकासको सोचदेखि वैज्ञानिक चेतसम्म विस्तारित हुन्छ । उसले आफूलाई अनन्त भविष्यसम्म युगले सम्झिरहने बनाउँछ । ऊ जोन अफ आर्क, गान्धी, मार्टिन लुथर किङ, मन्डेलाजसरी समयको निरंकुशताबाट जन्मिन्छ ।

मिथकको हिरो

अहिलेको समाजमा आहुति, त्याग वा बलिदानीको संकट छ । समाजका लागि आफूलाई शारीरिक र मानसिक यज्ञमा होम गर्नु नै आहुति हो । त्यो एउटा छटपटीग्रस्त अशान्त मनको चाहना हो । हामी जोकोहीमा यस्तो मन हुँदैन । यस्ता नायक–नायिका हराइसकेका छन् ।

मिथकशास्त्री जोसेफ क्याम्पबेल एउटा कथा भन्छन्— अफ्रिकाको एउटा जनजातिमा वीर छनोट गर्न दुईबीच युद्ध गराइन्थ्यो । मृत्यु वरण गर्नेले वीरको उपाधि पाउँथ्यो । तर, विडम्बना दुवै जना जितकै लागि युद्ध गर्थे । त्यो युद्धमा मृत्यु वरदान हुन्थ्यो । यस्तो कथालाई शाब्दिक अर्थमा मात्रै लिनु हुँदैन । आहुतिको भावनाले आध्यात्मिक शक्ति प्रदान गर्छ । व्यक्तिको सांकेतिक मृत्यु (जुन असल मृत्युभन्दा गाह्रो हुन्छ) ले नायकलाई जन्म दिन्छ । आहुति, मृत्यु, शुद्धि बुझ्न त न हामीसँग समय छ न इतिहास नियाल्ने रुचि ।

राजनीति र युद्धका कथा समेटिएका संसारका महाकाव्यहरूमा नायकको अन्तर्मनको चाहना हुन्छ— देउता बन्ने । फिलिप्पे सेल्लिए यसै लेख्छिन् । सिजर र नेपोलियनको पनि यस्तै चाहना थियो । केही नायक त कुनै पनि बन्धन मन पराउँदैनन् । उनीहरू ईश्वरलाई पनि घृणा गर्छन् । जोन मिल्टनको महाकाव्य, ‘प्याराडाइज लस्ट’ मा एक देवदूत मम्मोनले भनेको सम्झन्छु— मुक्त, कसैको उत्तरदायित्वबिना सजिलो गुलामी, भक्तिको लगामरूपी वैभवभन्दा परिश्रमी स्वाधीनताको चाहना ।

हिरो अथवा क्रान्तिकारीको चाहनामा क्रूरता पनि हुन्छ । आफैंप्रति क्रूर हुनु एक प्रकारको नायकी विशेषता हो ।

आदर्श मिथकीय हिरोको जन्म असाधारण हुन्छ । जस्तै : बुद्ध र क्राइस्ट । एक जना सामान्य परिवारमा जन्मिए त अर्का राजपरिवारमा । वैभव र दरिद्रताबाट हिरोको जन्म महाकाव्यीय रचनात्मकता हो । बुद्ध र क्राइस्ट त्यसैले युगनायक हुन् ।

महा, युग, कालपुरुषजस्ता विशेषण जोकोहीलाई जोड्नु यी शब्दकै अपमान हो । यस्ता शब्दले इतिहास बोकेका हुन्छन्, जसमा विशेष अर्थ समाहित हुन्छ । म पाँचवटा किताब लेख्दैमा अन्तर्राष्ट्रिय लेखक बन्दिनँ । केही रचना गर्दैमा महिमामय व्यक्तित्व हुँदिनँ म ।

को महापुरुष, को युगपुरुष अनि को कालपुरुष हो, इतिहासले आफैं निर्धारण गर्छ । स्वनिर्मित प्रतिष्ठाले नायकत्व स्थापित गर्न सक्दैन । मलाई यहाँ सेक्सपियरको नाटक ‘ओथेलो’ को खलनायक इआगोको सम्झना हुन्छ । ऊ भन्छ— प्रतिष्ठा एउटा अकर्मण्य र अति मिथ्या हो, साधारणतः बिनायोग्यता को पाइन्छ ? प्रतिष्ठाको लायक नहुँदै लुप्त पनि हुन्छ, त्यसैले तिमीले केही प्रतिष्ठा गुमाएका छैनौं ।

नायक चिन्न सजिलो छैन । नायकको भेषमा इआगो पनि त आउन सक्छ । बुद्धिमान खलनायक हो इआगो । उसको मन्द हाँसोबाट बच्न सक्नुपर्छ । यही बेला मलाई अर्को प्रसंग याद आउँछ । धेरै वर्षपहिले केन्द्रीय अंग्रेजी विभागको प्रसंग । अभि सुवेदी सर आत्तिँदै आएर भन्नुभयो, ‘मलाई बचाऊ ।’

हुन त यसरी आउनु उहाँको तरिका नै हो, जो हामीलाई निकै मन पर्छ । मैले उत्सुक हुँदै सोधें, ‘के भयो सर ?’

उहाँले भन्नुभयो, ‘एक जना विद्यार्थीले ममाथि थेसिस लेख्ने रे, तिमी जसरी पनि उसलाई अरू कुनै टोपिक देऊ ।’ म अलेक्जेन्डरको घोडामा बसेझैं गरी ती विद्यार्थीलाई खोज्दै पुगेँ । अनि भनेँ, ‘ल तिम्रो थेसिसको टोपिकमाथि छलफल गरौं ।’

उनले जवाफ दिए, ‘छलफल के गर्ने सर, म त द माइन्ड अफ प्रोफेसेर डाक्टर अभिनारायण सुवेदीमाथि थेसिस लेख्छु ।’

हामी नयाँ बिल्डिङको एउटा क्लासमा थियौं । मैले सोधें, ‘अनि यो विषयमा तिमीले के–के अनुसन्धान गर्‍यौ, पाठ के–के छन् ?’ उनले भने, ‘मेरो र साथीका क्लासका नोटहरू ।’

उनलाई सम्झाएँ, ‘यो विषय गम्भीर छ । एमए थेसिस होइन, पीएचडीका लागि उपयुक्त छ, अहिले कुनै उपन्यासमा लेख, पछि सरको माइन्डमा काम गर्ने ।’ बल्ल उनी कन्भिन्स भए । अनि समोसा खान गए । म कालु पाँडेजसरी शानले अभि सरको कोठामा पुगेँ । उहाँले अहिले पनि त्यो कुरा बिर्सनुभएको छैन । सरको त्यो डर इआगोले पहिल्यै भनिसकेको छ ।

फेरि नायक–नायिका बनाउनु र जोकर बनाउनुमा धेरै फरक हुँदैन । जोकरको बेग्लै व्यक्तित्व पनि हुन्छ । उसको आफ्नै गम्भीरता पनि हुन्छ । नायक र जोकर दुवैका वैयक्तिक गुण हुन्छन् । नायक र जोकरको एक अन्तर्निहित व्यथा पनि हुन्छ । नायकले समाज, विश्वलाई अगाडि जान प्रेरित गर्छ तर आफू एक्लो हुन्छ । जोकर पनि अरूलाई हँसाउँछ, आफू एक्लै हुन्छ ।

***

आहुति, होम्, परित्यागको तथ्य आज सामाजिक संकट भएको छ । आहुतिमा थोरै मात्र भूल भयो भने ग्रीक वीर हेराक्लेसलाई जस्तो अन्याय हुन सक्छ । रेने गेरार्द ‘सेक्रिफिसल क्राइसिस’ मा लेख्छन्— हेराक्लेस लामो कालपछि आफ्नो सहर फर्किंदा उनका श्रीमती र सन्तानलाई दुष्ट लाइकुसले हत्या गर्न लागिरहेको थियो । तर, हेराक्लेसले त्यसअघि नै लाइकुसलाई मारिदिन्छन् । पछि आफूलाई शुद्ध पार्न हेराक्लेस आफ्नै आहुति दिन तयार हुन्छन् । तर, त्यही दबाबमा उनी पागल हुन पुग्छन् र आफ्नै पत्नी–सन्तानलाई शत्रु ठानेर बलि दिन्छन् ।

हेराक्लेसको यो भयानक समस्या आज हाम्रैबीच मञ्चन भइरहेझैं लाग्छ । हाम्रा नेताहरू पनि हेराक्लेस जसरी नै सहर आएर आफ्नै जनताको बलिदान दिँदै छन्जस्तो लाग्छ । यस्तोमा ‘हेराक्लेस’ हरू सहर फर्कनुको के अर्थ !

***

आज न आहुतिको भावना छ न त नायक । छ त केवल मिडिया, माला अनि स्तुति । खासमा यिनै चीज नायक निर्माणका बाधक पनि हुन् । कसैले कसैलाई अक्षरहरूको पगरी गुथाइदिँदैमा ऊ नायक हुँदैन । हो, कसैलाई ऊ नायक भएको भ्रम भने गराइदिन सक्छ ।

वास्तविक नायक त आफैं जन्मन्छ । ऊ पूर्वी क्षितिजबाट सुन्दर–कुरूप, महिला–पुरुष वा विशाल जनावर, जुनसुकै रूपमा आउन सक्छ । ऊ आफ्नै समयमा आउँछ । हामीले पर्खिनु–नपर्खिनुको कुनै अर्थ छैन । प्रकाशित : श्रावण १०, २०७७ १०:४०

प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंका रैथाने

चन्द्रागिरिको चोटीबाट काठमाडौं उपत्यकालाई नियाल्दा यसको भूस्वरुपमा को मोहित हुँदैन ? पृथ्वीनारायण शाहका कुरा बेग्लै भए । त्यसपछिका वर्णन कर्कप्याट्रिकले पनि छुटाएका छैनन् । उनले यस उपत्यकालाई एक विशाल रंगशालाका रुपमा देखे ।
तीर्थबहादुर श्रेष्ठ

काठमाडौं उपत्यकाको रैथाने वन, वृक्ष र वनस्पतिको प्रसंगलाई कोट्याउँदा आजभन्दा झन्डै १२८ वर्षपहिले (सन् १८९३ डिसेम्बर) प्रकाशित प्रसिद्ध अंग्रेजी कवि रड्यार्ड किप्लिङको नवप्रस्तर युग ‘नियोलिथिक एज’शीर्षकको कवितामा उल्लिखित काठमाडौंको सम्झनालाई ब्युँताउनु उचित हुन्छ  ।

अनुपम विश्वको वानस्पतिक वैभवलाई समेट्ने सपना बोकेको बेलायतको राजकीय वनस्पति उद्यान ‘क्यू’ को अतिरञ्जित सपना ‘वाइल्डेस्ट ड्रिम’ काठमाडौंको वास्तविक यथार्थ ‘फ्याक्ट्स अफ काठमाडौं’ हो भन्ने उद्गारले यस उपत्यकाको मौलिक विशेषतालाई उजागर गर्छ । किप्लिङका उक्त उद्गारका पछाडि कर्नेल विलियम कर्कप्याट्रिकको सन् १७९३ को नेपाल भ्रमण, फ्रान्सिस वच्नानन् ह्यामिल्टनको सन् १८०२–१८०३ को वनस्पति संकलन, डा. नाथानिल वालिचको सन् १८२०–१८२१ को वनस्पति सर्वेक्षण एवं सन् १८४८ मा डाल्टन हुकरको पूर्वी नेपाल सर्वेक्षणले स्थापित गरेको वैज्ञानिक आधारहरू मौजुद थिए ।

चन्द्रागिरिको चोटीबाट काठमाडौं उपत्यकालाई नियाल्दा यसको भूस्वरूपमा को मोहित हुँदैन ? पृथ्वीनारायण शाहका कुरा बेग्लै भए । त्यसपछिका वर्णन कर्कप्याट्रिकले पनि छुटाएका छैनन् । उनले यस उपत्यकालाई एक विशाल रंगशालाका रूपमा देखे । उर्वर खेत र बारीका दम्सिला पाटा र समथर पाटनहरू एक कान्लामाथि अर्को कान्ला थपिँदै शिवपुरीसम्म फैलिएको र त्यसको पछाडि हिमालयको हिमदृश्यले उनी मोहित थिए । उपत्यकाको ठाउँठाउँमा छरिएर बसेका घना बस्ती र सहरहरू तथा त्यहाँका अनगिन्ती मन्दिरहरूको स्पष्ट दृश्यले पनि उपत्यकाको शोभा बढाएको थियो । वरपरका हरियालीले गर्दा वस्तुतः काठमाडौं एक हरित प्याला थियो ।

आजभोलि काठमाडौंलाई सोही चन्द्रागिरिबाट नजर गर्‍यौं भने अधिकांश भूभाग सिमेन्ट र कंक्रिटको जमोठमा जकडिएको सुक्खा प्यालाजस्तो देखिन्छ । मन्दिरका गजुरहरू त्यसमा नै बिलाएका हुन्छन् । माटोको धर्ती कतै नजर हुँदैन । बाटाघाटाका रूखबिरुवाहरू एवं वाग–बगैंचाका शृंगार फूल वनस्पतिहरू अधिकांश बाहिरिया आयातित प्रजातिले छोपेको देखिन्छ । कहाँ गए काठमाडौंका रैथाने भूस्वरूप, प्राकृतिक सम्पदा एवं सांस्कृतिक धरोहरहरू ? चिन्ताका विषय धेरै छन् तर अहिले रैथाने रूखबिरुवाको बारेमा चर्चा गरौं ।

जीव–प्राणी एवं वनस्पतिको जैविक आधारमा हावापानी वा जलवायुको वर्गीकरण गर्दा काठमाडौं उपत्यकाको सतही भूभाग उप–उष्ण (सब–ट्रोपिकल जोन) कटिबन्धभित्र पर्न आउँछ । समुद्र सतहबाट १००० मिटरभन्दा उच्च र २००० मिटरभन्दा होचो भूभागमा उप–उष्ण जलवायु हुन्छ । काठमाडौंको सतही भूभाग १३०० मिटरदेखि १५०० मिटरको उचाइसम्म फैलिएको छ । यसको क्षेत्रफल लगभग ३२० वर्गकिलोमिटर नापिन्छ । उपत्यकाको चारैतिर हरियो पहाडको पर्खाल छ । ती पहाडका चुचुराहरू उत्तरतिर शिवपुरी (२७२५ मिटर) दक्षिणतिर फुल्चोकी (२७५५ मिटर), पूर्वमा नगरकोटको भ्युटावर क्षेत्र (२१९५ मिटर), पश्चिममा नागार्जुन जामाचो (२०९५ मिटर), दक्षिण–पश्चिमतिर चन्द्रागिरि (२४७५ मिटर) तथा चम्पादेवी (२२८५ मिटर) अवस्थित छन् । यी पहाडहरूले घेरिएको काठमाडौं उपत्यकाको पानीढलोले अन्दाजी ६५० वर्गकिलोमिटर क्षेत्रफल ओगट्न पुग्छ । यी पहाडहरूको हावापानी शीतोष्ण (टेम्परेट) कटिबन्धभित्र पर्न आउँछ र त्यहाँका वन–वनस्पतिको भिन्नता पनि सोहीअनुरूप प्रतिविम्बित हुन्छ । यस लेखको दायरा भने उप–उष्ण काठमाडौंको सेरोफेरोभित्र सीमित राख्ने प्रयास गर्न चाहन्छु ।

काठमाडौंका रैथाने रूखहरूको चर्चा उठाउनुभन्दा पहिले हामी रूखलाई परिभाषित गर्न चाहन्छौं । किनभने ८० मिटरभन्दा अग्लो क्यालिफोर्नियाको जायन्ट सिकोया पनि रूख हो र हाम्रो बारीको ३ मिटर अग्लो भोगटे पनि रूख नै हो । ग्रीसको क्रिट टापुमा अवस्थित ३५०० वर्ष पुरानो जैतुनको बोट पनि रूख नै हो भने हाम्रो चक्रपथ छेउछाउमा भर्खर रोपिएका जाकारान्डा पनि रूख नै हुन् । वन तथा वनस्पतिक विद्यार्थीहरू त्यस्ता बिरुवालाई रूख वा वृक्ष भनेर मान्दछन्, जसको आफ्नै जरा प्रणालीले आफैंलाई मजबुत खडा राख्न सक्छ । र, धेरै वर्ष बाँच्न सक्छ । रूखको एउटा मात्र मूल खाँबो हुन्छ र त्यसले जमिनभन्दा माथि सुरिलो स्वरूप लिएपछि अरू हाँगाबिँगा पलाउँछन् । रूख मूलतः काष्ठपदार्थले बनेको हुन्छ ।

यस पृथ्वीको विशाल भूतलका ठाउँअनुसार विभिन्न प्रकारका हावापानी हुन्छन् । सोहीअनुरूप विभिन्न प्रकारका वन, वनस्पति एवं जीव–प्राणीहरू त्यहाँ स्थापित हुन्छन् । हावापानी र वातावरणको लामो अन्तरालपछि सोही वातावरण र हावापानीलाई प्रतिविम्बित गर्ने रैथाने वन, वृक्ष, वनस्पति एवं जीव–प्राणीको त्यहाँ विकास हुन्छ । र, एउटा निश्चित पारिस्थितिकीय प्रणाली स्थापना हुन्छ । नेपालमा यस्ता ११८ वटा पारिस्थितिकीय प्रणालीको पहिचान भएको छ । नेपालको कालीगण्डकी नदी र मेची नदीको बीचमा पर्ने भूखण्डमध्ये समुद्र सतहबाट १००० मिटरभन्दा उच्च र २००० मिटरभन्दा होचो भागमा पाइने चिलौने र कटुसको वनले उपउष्ण हावापानीलाई जनाउँछ । तसर्थ काठमाडौंको रैथाने वन–वनस्पति वा वृक्षको चर्चा गर्दा चिलौने र कटुस वनभित्र चहार्नु उचित हुन्छ । यस प्रकारको वनभित्र अरू १४० प्रजातिका रूखहरूको फेहरिस्त तयार हुन्छ । तिनका अतिरिक्त ११० प्रजातिका बुट्यान बिरुवा र ३० प्रजातिका लता प्रजाति पनि मौजुद छन् । घाँस, बाँस र तृणको लगत बाँकी नै छ ।

लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मभूमि भनेझैं हाम्रा वनस्पतिका वैज्ञानिक जन्मभूमि अर्थात् ‘टाइप लोकालिटी’ काठमाडौं प्रमाणित गर्ने थुप्रै रूखहरू छन् । सन् १८०२–१८०३ ताका ह्यामिल्टनले र सन् १८२०–१८२१ ताका वालिचले काठमाडौंबाट संकलन गरेका धेरै बिरुवाहरू विज्ञानका लागि नयाँ प्राप्ति ठहरिएका छन् । तिनका मौलिक नमुनाहरू बेलायतको ब्रिटिस म्युजियम तथा क्यू गार्डेनमा सुरक्षित छन् । तीमध्ये केही लोकप्रिय रूखबिरुवा प्रस्तुत गर्नुपरेमा चिलौने, मुसुरे कुटुस, लप्सी, लाँकुरी, उत्तिस, पैयुँ, काफल, मयल, वनचाँप, फ्लाँट, अंगेरी, पुवाँले आदिको फेहरिस्त बन्न सक्छ । चिलौनेको रूख सन् १८०२ मा स्वयम्भूको वनबाट ह्यामिल्टनले संकलन गरे र त्यसको वैज्ञानिक नाम पनि चिलोने नै भनेर प्रस्ताव गरे । पछिबाट अरू वैज्ञानिकहरूले वालिचको सन् १९२०/२१ को कामलाई सम्मान गरेर चिलौनेलाई ‘सिमा वाचिलाई’ भन्ने नाम स्थापित गरेका हुन् । चिलौनेको भूगोल नेपालबाट विस्तारित भएर भुटान, आसाम र पश्चिमी चीनसम्म फैलिएको छ । काठमाडौंबाट वनस्पति विज्ञानमा स्थापित यस्ता वृक्षहरूमध्ये होमालियम नेपालेन्स नामक वनस्पति नेपालको सिमानाभन्दा बाहिर कहीं पाइँदैन । यो रैथाने बिरुवा त्यस अर्थमा स्वस्थानीय ‘इन्डेमिक’ पनि कहलिन्छ ।

काठमाडौंका अरू रैथाने रूखहरूको फेहरिस्तमा १४० भन्दा बढी प्रजातिका रूखहरू मौजुद छन् । तीमध्ये केही लोकप्रिय प्रजातिको उल्लेख गर्नुपर्दा रानीसल्ला, च्युरी, रातो शिरीष, बकैनो, सिमल, खरी, ओखर, काउलो, गोगने, हाडेबयर आदिलाई बिर्सनु हुँदैन । यी विभिन्न रूखबिरुवाका स्रोत केन्द्रको रूपमा संरक्षण दिनुपर्ने स्थानहरू यसप्रकार छन्— चापागाउँको बज्रवाराही, गोदावरी एवं फुल्चोकी क्षेत्र, सूर्यविनायक क्षेत्र, चाँगुनारायण एवं नगरकोटका वनक्षेत्र, वज्रयोगिनी (साँखु) को नारायण वन क्षेत्र, गोकर्णको राजनिकुञ्ज वन परिसर, बूढानीलकण्ठ–शिवपुरी क्षेत्र, नागार्जुन–बालाजुको वनक्षेत्र, पशुपति वनकाली तथा स्वयम्भूका वनक्षेत्र । काठमाडौं उपत्यकाभित्रका यी रैथाने वनक्षेत्र आजभोलि बाहिरिया आयाति ‘इक्जोटिक’ वनस्पतिको मिचाइमा पर्न थालेको छ ।

हाम्रो भूगोलभन्दा बाहिरका देश र महादेशहरू जस्तै अस्ट्रेलिया, अमेरिका तथा दक्षिण अमेरिका, युरोप तथा अफ्रिकाबाट ल्याइएका विभिन्न रूखबिरुवाहरूले सर्वप्रथम राणा दरबारका वागबगैंचामा स्थान पाएका हुन् । टुँडिखेलजस्ता खुला क्षेत्रको वरिपरि अस्ट्रेलियाको युकालिप्टस्, कल्की फूल, काँगियोको रूख तथा युरोपतिरका लहरेपीपल (पप्पुलस) र चीन जापानतिरको जिंको सय डेढ सय वर्ष पहिलेदेखि नै भित्रिएको मानिन्छ । राणा दरबारहरूमा लोकप्रिय बन्दै आएको रूखकमल, जाकारान्डा, विदेशी धुपी (फुजा), काँडेसल्ला (मंकी पज्जल), बर्मेली सल्लो (क्रिप्टोमेरिया) आजभोलि पनि उत्तिकै लोकप्रिय छ । हाम्रो परम्पराले थेगेको आफ्नै रूखबिरुवाहरू जस्तै : कपुर, बकैनो, वर, पीपल, पारिजात, असारे, खरी, सिप्लिकान, खोटेसल्ला, देवदार, लेकपाङ्ग्रो, कोइरालो, लप्सी आदि रैथाने वनस्पतिले सार्वजनिक ठाउँमा प्राथमिकता पाउन सकेको छैन ।

आजभोलिको काठमाडौं विशेषगरेर चक्रपथभित्रको सहरी क्षेत्रमा ब्राजिल र मेक्सिको फुल्ने गरेको छ । नीलो जाकारान्डा तथा हालसालै भित्रिएको पहेंलो विगुले फूल ‘तबेबुइया’ तथा लालुपाते र बैगनी बेली ‘बौगेनभिलिया’ काठमाडौंमा बहुलाएरै फुल्ने गरेको छ । काठमाडौंका वाग–बगैंचामा फुलाइने फूलहरूमा ९५ प्रतिशतभन्दा अधिक फूलका बिरुवाहरूको रैथाने खोज्न थाल्यौं भने संयुक्त राज्य अमेरिकाको दक्षिणी भाग, मेक्सिको, दक्षिण अमेरिकी महादेश तथा क्यारेबियन टापुहरूतिर पुगिन्छ । आजभोलि काठमाडौंलगायत विभिन्न पहाडी क्षेत्रमा लोकप्रिय हुन थालेको एभोकाडो फलको रूख पनि यिनै क्षेत्रका रैथाने रूख हो । सिंहदरबारलगायत विभिन्न दरबारका रूखमध्ये रूखकमल ‘म्याग्नोलिया’ निकै टड्कारो देखिन्छ । यो बिरुवाको रैथाने संयुक्त राज्य अमेरिकाको टेक्सस र फ्लोरिडा तथा उत्तरी क्यारोलाइनासम्म फैलिएको छ । नेपाली म्याग्नोलियालाई चाँप भन्छौं । नेपालमा चाँपका दस प्रजाति पाइन्छन् । तर, तिनले आफ्नै बगैंचामा स्थान पाउन सकेका छैनन् ।

रूखबिरुवा र वनस्पतिको गौरवमय इतिहास बोकेको काठमाडौं उपत्यका परदेशी रूखबिरुवाको बिगबिगीमा परेर स्वस्थानीय परिचय गुमाउँदो छ । वर्तमान पिँढीलाई रैथाने रूखबिरुवाको नयाँ चेत सञ्चार गर्न अब ढिला गर्न हुँदैन । नेपालको वनस्पतिबारे नेपाल सरकार वनस्पति विभाग एवं त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागबाट थुप्रै पुस्तकपुस्तिकाहरू प्रकाश भइसकेको छ । ती ज्ञान र विज्ञानलाई व्यावहारिक बनाउने प्रयासका कमी खट्किएको छ ।

वनस्पति विभागले आजभन्दा ५३ वर्षपहिले गोकर्ण वनका सम्पूर्ण वनस्पतिबारे पुस्तक प्रकाशन गरेको थियो । यस्तै गरि फुल्चोकी गोदावरी (सन् १९८९), नागार्जुन (सन् १९७४) तथा काठमाडौं उपत्यका (सन् १९८६) को वनस्पति वैभव प्रकाशन भएका थिए । काठमाडौंको सहरी विकासमा तिनको भूमिका न्यून रह्यो । आजभोलि पनि काठमाडौं उपत्यकाको हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने काममा केन्द्रीय सरकार, नगरपालिकाहरू, गाउँपालिकाहरू तथा गैरसरकारी संघसंस्थाहरू मिलेर अगाडि बढ्ने अवस्था बनेको छैन । यस उपत्यकाको प्राकृतिक एवं सांस्कृतिक स्वरूपको मौलिकतालाई बचाइराख्न उपत्यका समन्वय संस्थाको खाँचो टड्कारो छ ।

प्रकाशित : श्रावण १०, २०७७ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×