२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ग्रिनरुमका ‘हरिया’ सम्झना

ग्रिनरूमभित्र पोखिएका प्रेम, विरह, आत्मीयता, गुनासो कसैले याद गर्ला–नगर्ला, मलाई याद छ । म सबैलाई सबैथोक सुनाउन सक्दिनँ । खुसीको कुरा, ग्रिनरूमले पनि भन्दैन । किनभने ग्रिनरूम कलाकारहरुको वास्तविक चरित्र थाहा पाएको एउटा साक्षी हो– मूक साक्षी ।
सरिता गिरी

ग्रिनरुम त्यो ठाउँ हो, जहाँ कलाकारहरू रङ्गमञ्च छिर्नुअघि बस्छन्, शृङ्गार गर्छन् र नाटक नसिद्धिउन्जेल ओहोरदोहोर गरिरहन्छन् । दर्शकले नाटक सम्झिएलान्, अभिनय सम्झिएलान्, तर ग्रिनरुम ? कसले सम्झिएलान् ग्रिनरुमलाई ? अनगिन्ती सम्झनाका साक्षी ग्रिनरुमलाई ?

ग्रिनरुमका ‘हरिया’ सम्झना

ग्रिनरुमलाई किन ग्रिनरुम भनिन्छ भन्ने प्रश्न इतिहासमा कतै हराइसक्यो । विभिन्न मानिसका फरक मत छन् यसमा । सबभन्दा पुरानो कहानीचाहिँ यस्तो छ– सन् १५९९ मा लन्डनको ब्ल्याकफ्रायर्स थिएटरमा मञ्चपछिल्तिर एउटा कोठा थियो, जहाँ संयोगवश हरियो रंग पोतिएको थियो । मञ्च प्रवेश गर्नुअघि कलाकारहरू यहाँ आफ्नो पालो पर्खिन्थे । यो ग्रिनरुम कहलियो । तर, देशविदेशमा नाटक लिएर जाँदा मैले कुनै पनि थिएटरमा ग्रिनरुममा हरियो रंग पोतिएको वा हरिया पर्दाहरू झुन्ड्याएको देखिनँ ।

नाटकको इतिहासको प्रारम्भिककालमा प्रोसिनियम थिएटरको अवधारणा आइसकेकै थिएन । नाटक, खुला ठाउँमा हुने गर्थ्यो । त्यतिखेर कहाँ हुन्थ्यो होला ग्रिनरुम ? तर, त्यसको हजारौँ वर्षपछि हामीले नाटक गर्ने बेलासम्म ग्रिनरुम थिएटरको अभिन्न अंग बनिसकेको छ । र, मेरा लागि ग्रिनरुमको आफ्नै अनुभूति छ, अनुभव छ ।

गुरुकुलमार्फत बंगलादेश जाँदा मञ्चको पछाडिपट्टिका दुईवटा कोठालाई ‘यो तिमीहरूको ग्रिनरुम हो है केटाकेटीहरू’ भन्ने वाक्य सुनेपछि ग्रिनरुमसँग मेरो पहिलो साक्षात्कार भएको हो । त्यसअघि शब्द मात्र सुनेकी थिएँ । अंकल वीरेन्द्र हमालसँग जीवनकै पहिलो नाटक ‘पत्थरको कथा’ गर्दा पोखराको नाटकघरमा ग्रिनरुम कहाँ थियो पत्तो पनि भएन, त्यसको अर्थ बुझ्नु त परै जाओस् ! ग्रिनरुम मेरा लागि मात्र एउटा कोठा थियो, जहाँ मेकअप गरिन्थ्यो र लुगा फेरिन्थ्यो ।

सन् २००२ मा गुरुकुलको सम नाटकघर सञ्चालनमा आयो । तर, ग्रिनरुम तयारी अवस्थामा थिएन । हामी मञ्चको पछाडि हतारहतार लुगा फेर्थ्यौं, दाईहरूलाई ‘यता नहेर्नू’ भन्थ्यौँ कि ‘आँखा चिम्लनू’ भन्थ्यौँ । ग्रिनरुम ओपन–रूम थियो, मञ्चको पछाडिपट्टिको भागलाई ग्रिनरुम भनेर छुट्याइएको मात्रै थियो । लुगा फेर्दा बडो तनाव हुन्थ्यो । डेनमार्कर मस्कोमा नाटक देखाउन जाँदा ग्रिनरुममा विदेशी कलाकारहरू निस्फिक्री लुगा फेरिदिन्थे । कसैले कसैको कुनै मतलब गर्दैनथ्यो । तर, हाम्रो समाजमा त्यस्तो आँट छैन र चलन पनि । अझै पनि ग्रिनरुमको कालो पर्दाको बीच भागबाट देखिन्छ कि भनेर सेफ्टीपिन लगाउँछौँ हामी ।

बहरामपुरको याद आयो हठात् । रेलमा त्यो पहिलो यात्रा थियो मेरो । रेलयात्रामा पाएको मायालु स्पर्श अहिले पनि म महसुस गर्न सक्छु । पहिलोपटकको रेलयात्रामा कसैले मलाई कसैले नदेख्ने गरी स्पर्श गरेर गएको थियो । त्यो ठाउँ ग्रिनरुम थिएन, रेलको ढोकामा म कसैको व्यग्र प्रतीक्षामा थिएँ, ऊ हावाको झोँक्काझैँ आयो र मेरो कानमा साउती मारेर त्यही हावाकै झोँक्कामा फुर्र उड्यो । खोइ कोही थियो कि थिएन ? थियो भने पनि मेरो मानसपटलमा अब त्यसको धमिलो छवि मात्रै बाँकी छ ।

मन बहरामपुरमै छ अहिले । त्यहाँका ग्रिनरुममा कलाकारहरूका तस्बिर झुन्ड्याइएका थिए । मेरा आँखा तस्बिरहरूमा नाच्न थाले । मेरो मनमा एउटा प्रश्न आयो– यहाँ यी श्यामश्वेत तस्बिरहरू किन छन् ? वर्षौँअघि ती तस्बिरमा भएका नाटकका पात्रहरूले यस ग्रिनरुममा कस्ताकस्ता रंगीन सपनाहरू देखेका थिए होलान् ? कतिका मिठा सम्बन्ध जोडिए होलान्, भत्किए होलान् ! भविष्यमा एउटा राम्रो कलाकार बन्छु भनेर सपना देख्दादेख्दै त्यो सपना पूरा नभई आजसम्म पनि दाह्री, कपाल सेतै फुलुन्जेल सानोतिनो भूमिकामै चित्त बुझाएर अझै त्यही ग्रिनरुमको ऐना हेर्दै होलान् ।

बहरामपुर स्मृतिबाट गएको छैन अझै । रवीन्द्र भवनको ग्रिनरुममा मन डुलिरहेको छ । अलि नोस्टाल्जिक भएकी छु । शो थियो ६ः३० मा । सबै व्यस्त थिए, कोही स्क्रिप्ट पढ्दै, कोही लुगा मिलाउँदै, कोही ढ्याङ्ग्रो ठोकेर झाँक्रीको अभ्यास गर्दै । रवीन्द्र भवन ढ्याङढ्याङले गुञ्जायमान थियो । बिस्तारै ग्रिनरुममा पछाडिबाट मेरो कुममा कसैको स्पर्श पर्‍यो । म एकछिन त आत्तिएँ । ओहो, ऊ पो ? फेरि त्यही हावाको झोँक्का र भर्खरै मैले बालेको धूपको सुगन्धले म एक छिन कहाँ हराएछु ! ऊ पनि त्यो कालो पर्दाभित्र कहाँ हरायो ! मधुरो स्वर भन्दै थियो, ‘नडराऊ है, म तिम्रो साथमा छु, तिमीसँगै छु ।’ मैले बिस्तारै हात हल्लाउँदै ‘हस्’ भनेँ । उसको मन्द मुस्कान र स्पर्शले ममा जिन्दगी अटाएको थियो । निशा दिदीले ‘ओइ सरिता धूप कहाँ राखेकी छस् भरेका लागि ?’ भनेको सुनेपछि म झसंग भएँ । म त त्यो ग्रिनरुमसँगै जोडिएको मञ्चपछाडिको कालो पर्दाभित्र रंगीन सपना पो देख्दै रहेछु । सौगातले बजाएको ढ्याङढ्याङ अझै मेरो कानमा गुन्जी नै रहेको थियो ।

ग्रिनरुम त्यस्तो ठाउँ हो जहाँ कलाकारहरू एकअर्कालाई कति सम्मान र प्रेम गर्छन् भन्ने भेद खुल्छ या भनूँ कलाकारहरूको असली अनुहार ग्रिनरुममा देखिन्छ । मेरो कानमा आवाज र आँखामा चित्र आउँदै छन् यतिखेर, ‘सरिता, मेरो सुरुवालको इँजार खोइ ?’, ‘मेरो जुँगा खोइ ?’, ‘त्यो खोइ ? यो खोइ ?’ मलाई सबैले खोज्नुको कारण वेशभूषा र प्रप्सको जिम्मा मैले लिएकाले थियो । त्यसैले ती आवाज प्रिय लाग्थे मलाई । ग्रिनरुममा मैले कहिले स्नेह पाएँ, कहिले गाली खाएँ । कहिले आँसु झरे त्यहाँ, कहिले खुसीले रुझेँ त्यहाँ । आज पनि ती आवाजहरू गुन्जिँदा होलान् त ग्रिनरुमहरूमा ?

ग्रिनरुम कलाकारहरूको चरित्रको पनि साक्षी हो । तर, ऊ बोल्दैन । बाहिर जति दयालु, मायालु भए पनि ग्रिनरुममा पुगेपछि कुन कलाकारको अहं कति बढ्यो ग्रिनरुमलाई थाहा हुन्छ । त्यो मञ्चको पात्रभन्दा बिलकुलै फरक हुन्छन् ग्रिनरुममा कलाकारहरू । आफ्नो स्वभाव र चरित्र ग्रिनरुममै थाती राखी कलाकारहरू मञ्चमा उत्रन्छन्, मञ्चबाट फर्किएपछि एउटा अर्कै आवरण ओढेर ग्रिनरुमबाट बाहिर निस्कन्छन् । यो ग्रिनरुमले बुझेको कुरा हो ।

मन फर्केर गुरुकुलको ग्रिनरुममा आएको छ । यहाँको ग्रिनरुममा भने कालो रङको पर्दा छ । नाटक हुँदै छ । कलेजी र पहेँला थरीथरीका चीबर ह्याङ्गरमा झुन्ड्याइएका छन् । यहाँ पनि जीवन र चरित्रका रङ र ग्रिनरुमका रङहरूबीच विरोधाभास देख्छु म । कालो रङले अहं र चुरीफुरीलाई शान्त पार्नुपर्ने हो नि ! ग्रिनरुमले पनि शान्त पार्नुपर्ने हो नि ! तर... ! ग्रिनरुममा चीबरधारी पात्रमध्ये एक म पनि थिएँ । मभित्र पनि कुनै बेला अहं नजागेको होइन । मेरो कारणले त्यो ग्रिनरुममा कसैको मन भत्किएको, टुटेको पनि छ होला । कोही त्यो भित्तामा शिर अड्याएर सुँक्कसुँक्क रोएको छ होला । त्यो ग्रिनरुममा कसैकसैले सँगै मर्ने–बाँच्ने कसम खाएका थिए होलान् । लुकीलुकी चुरोट, गाँजा, रक्सी खाएका होलान् । हामीले देखेका सपना अब त त्यसै कतै होलान्, मन नमिल्दा ग्रिनरुममा बसेर गरेका झगडा र गोलभेंडाजस्ता आँखा राताराता पार्दै बाहिर निस्केको अनि ग्रिनरुमको ढोकैमा पुगेपछि ‘अघिका लागि सरी नरिसाऊ’ भन्ने संवाद अब कहाँ गुन्जिन्छ होला ? मनमा ? किनभने ती माया, घृणा, दुःख, पीडा त्यही ग्रिनरुमको ढोकामै छाडिन्थे ।

ग्रिनरुम त्यति मात्र होइन । यो चुक्ली लगाउने, कुरा काट्ने र हात हालाहाल हुने ठाउँ पनि हो । ग्रिनरुम सबैथोक हेरेर बस्नेबाहेक केही गर्न पनि सक्दैन । मञ्चमा सारा मोह त्याग गरेको भिक्षुको भूमिका निर्वाह गरिरहेको चरित्र ईर्ष्याले निस्सासिएर चुक्ली लगाउँदै गरेको भेटेकी छु मैले । मञ्चमा रिसाही र खलनायिकाको भूमिका भर्खरै सिध्याएर आएकी पात्रबाट ग्रिनरुममा स्नेहको वर्षा भएको पनि देखेकी छु मैले । घमण्ड, रिस, राग, लोभ, प्रेम र घृणा त्यागेर मञ्चमा उत्रने कलाकारहरू ग्रिनरुममा फर्किर्एर फेरि ती गुणका जामा ओढेर घर जान्थे भने कोही फुकालेर जान्थे ।मञ्चमा जतिसुकै शक्तिशाली भए पनि ग्रिनरुममा पुगेपछि त्यो कलाकार सामान्य अवस्थामा फर्किन्छ । ग्रिनरुमले सबै देख्छ, तर बोल्दैन । मायाले छोएका हातहरू, मञ्चमा जानुअघि एकआपसलाई अंगालो मारेर ‘ल राम्रो गर्नू’ भनेका शुभेच्छाहरू, नाट्यश्वरीलाई सम्झेर धूप बालेर एकर्कालाई गरिएका अभिवादनहरू सबै ग्रिनरुमभित्रै हुन्छन् । साक्षी ग्रिनरुम हुन्छ ।

यतिखेर यौटा प्रश्न खेल्दै छ मनमा– मैले खेलेका नाटकका पात्रहरूले ग्रिनरुममा त्यही पात्र भएर बस्न पाए कि पाएनन् ? पाएनन् । सायद यो सबै कलाकारको नियति पनि हो । मानौँ, म रानीको भूमिकामा थिएँ कुनै नाटकमा । रानीको आभूषण, परिधानमा रवाफपूर्वक मञ्चमा भर्खरै देखा परेकी म, एक छिन ग्रिनरुममा आएर बसेकी हुन्थेँ । त्यति नै खेर कुनै सकहर्मी या सिनियरलाई केही सामानको आवश्यकता पर्थ्यो अनि ‘सरिता त्यो सामान खोइ ? त्यो लुगा खोइ ?’ भनेको गुन्जिन्थ्यो ग्रिनरुममा । भर्खरै रानी थिएँ, अहिले सुसारे भएँ । मञ्चकी रानीले आफ्नो भूमिका त्यतिखेर बिर्सेकी हुन्थी । अर्थात् मञ्चमा जति नै रोबदार भूमिका पाएको कलाकार पनि ग्रिनरुममा अर्कै हुन्थ्यो– कहिले आफ्नो सामान खोजिरहेको, कहिले सामान मिलाइरहेको, के–के सम्झिएर सिगरेट तानिरहेको । मञ्चको रोब ग्रिनरुममा गायब ! पात्रजस्ता खाले भए पनि नाटक सकिएपछि एक समयपछि ती पात्रहरूलाई बिर्सेर अर्को पात्रलाई ग्रहण गरिन्छ, तर जीवनका वास्तविक पात्रहरूलाई चाहेर पनि किनारा लगाउन नसकिने रहेछ ।

हामी आधाभन्दा बढी समय ग्रिनरुममा बिताउँछौं । आफ्ना सारा दुःख, पीडा, खुसी, भौतिक कुराहरूलाई बिर्सेर ‘तिमी को हौ ? के गर्दै छौ ?’ भन्ने सारा प्रश्नको जवाफ ग्रिनरुमका ठूल्ठूला ऐनाले बताइदिन्छ, सुन्ने हो भने । त्यसैले त म घण्टौँ ग्रिनरुमको ऐनाअगाडि बसेर समय बिताउँथेँ । ग्रिनरुमसँगै मैले निर्वाह गरेका चरित्रहरूको सम्झना पनि आउँछ । म कहिले भिक्षुणी बनेँ, कहिले विरहिणी, कहिले प्रेमी, कहिले के त कहिले के ! कहिलेकाहीँ लाग्छ, ती चरित्रहरू अझै पनि भत्किएका र बनेका ग्रिनरुमहरूमा एक्लै बसेर गीत गाइरहेका होलान्, प्रेमीलाई कुरिरहेका होलान् । र, मैले निर्वाह गरेका कति पात्रहरू डेनमार्क र मस्कोका ग्रिनरुममा अझै पनि निर्बाध भौँतारिरहेका होलान् ।

समयसँगै विभिन्न चरित्र खेल्छ कलाकारले, उसका निम्ति रंगमञ्च बदलिन्छन् । तर, ग्रिनरुमको ट्रान्जिटमा रहने सबै कलाकारको स्वरूप उस्तै हुन्छ– लुगा फेर्दै गरेको, मनमनै सम्वाद घोकिरहेको, शृङ्गार गरिरहेको, साथी कलाकारलाई सघाइरहेको । मञ्चमा राजा भएर सबलाई थर्काइरहेको पात्र ग्रिनरुममा बिँडी खाइरहेको भेटिन सक्छ । आफूले गरिरहेको नाटकमा आफ्नो भूमिका कण्ठ हुने अधिकांश कलाकारलाई ग्रिनरुमले लेखेको, देखेको र महसुस गरेको कहानी पत्तै नहुन सक्छ ।

ग्रिनरुमभित्र पोखिएका प्रेम, विरह, आत्मीयता, गुनासो कसैले याद गर्ला–नगर्ला, कसैलाई याद होला–नहोला, मलाई याद छ । साथी कलाकारहरूसँग झगडा, मिलाप, कुरा कटाइ, कुरा मिलाइ, प्रेम र विरहका थुप्रै एकाङ्की नाटक त्यहाँ मञ्चन भएको याद छ । ती मेरा अन्तरंग सम्झनाहरू हुन् । म सबैलाई सबैथोक सुनाउन पनि सक्दिनँ । खुसीको कुरा, ग्रिनरुमले पनि भन्दैन । किनभने ऊ कलाकारहरूको वास्तविक चरित्र थाहा पाएको एउटा साक्षी हो– मूक साक्षी ।

-लेखक रंगकर्मी हुन् ।

प्रकाशित : श्रावण ३, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?