कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेड इन वीरगन्ज

एउटा वृद्ध, आफ्नो बाल्यकाल र युवाकालको सहर खोज्दै हिँडिरहेको छ । कसरी भेटिन्छ ?
ध्रुवचन्द्र गौतम

कहिलेकाहीं म सोच्दछु, म कुनै ब्रान्ड भएको भए, मलाई लेखिँदो हो- मेड इन वीरगन्ज । यो ठनाइ हो, मेरो वीरगन्जप्रतिको भावात्मक लगावको । यो एकदम अकारण छैन । केवल विशेषांक वा विशेष मौकाका लागि प्रयोजनीय हुनेगरी लेखेको पनि होइन । यो ‘फिलिङ’ हो, सुरुदेखि अन्त्यसम्मको । प्रसंग आयो, त्यही ‘फिलिङ’ अभिव्यक्त भयो ।

मेड इन वीरगन्ज

म आज केही हुँ वा छु वा हुन सकेको छु भने, सबमा वीरगन्जकै देन छ ।

मेरो पहिलो लेख वीरगन्जदेखि थालियो । आज म आफ्नो लेखनको सातौं दशकमा हिँडिरहेको छु भने, वीरगन्जबाटै उठेको सानो भुमरी यहाँसम्म आइपुगेको हो । भावात्मकताले अचेल पुग्दैन भने मेरो नागरिकता वीरगन्जकै छ । वीरगन्ज, पर्सा नै छ, लेखिएको मेरो ठेगाना । बम्बई, पुना वा काठमाडौंमै बस्दा होस्, म धेरै वीरगन्ज जान मन पराउने व्यक्तिमध्ये एक हुँ ।

पहिलो कविता मात्र होइन, आफ्नो पहिलो कथा, पहिलो गीत र पहिलो नाटक वीरगन्जमै लेखें । त्यहींदेखि थालूँ ।

वीरगन्जमा सरस्वती पूजा धुमधामले मनाइन्थ्यो । मूर्ति दरभंगाबाट ल्याइन्थ्यो । स्कुलमा ध्वजापताका सजाइन्ज्यो । अघिल्लो दिनदेखि नै सिमी छिल्ने, आलु काट्ने अथवा बसीबसी भोलिपल्टको भोजमा उपयोगी हुने काम छात्रहरू गर्थे, हाँस्दै–खेल्दै–गाउँदै :

जिसने कभी भी माड न पिया

वह मुरख काहेको जिया ।

जिसने न खाई राम तरोई

उसने जिन्दगी अपनी गँवाई ।

यस्तैयस्तै । यसमा छात्राहरू हुन्न थिए । छात्राहरू भोलिपल्टको भोजमा पसल बिछाएर थपीथपी ख्वाउनमा पूर्ण सक्रिय हुन्थे । तिनीहरू आफ्नो दुपट्टा जनैजस्तो तेर्सो लपेटेर, सलवार पिंडौलासम्म सारेर पहिले कहिल्यै नबोलेको छात्र–छात्रालाई पनि बेझिझक कर गरीगरी ख्वाउँथे । मलाई उनको त्यो रूप, दयालु र कोमल र अन्नपूर्णाजस्तो लाग्दथ्यो । सम्झँदा, अझै लाग्दछ ।

हाइस्कुल अर्थात् त्रि–जुद्ध हाई इंग्लिस स्कुलको तीन कक्षाको छात्र भएदेखि दससम्ममा हरसाल सरस्वती पूजा मलाई अत्यन्त विशेष लाग्दथ्यो, सबभन्दा भव्य । हाम्रो मूर्ति सबै स्कुल, रक्सौल हाइस्कुलभन्दा पनि राम्रो हुन्थ्यो । दुई दिन चल्ने महोत्सव थियो त्यो । भोलिपल्ट, विशाल जुलुसका साथ सिरसिया नदीमा मूर्ति सेलाउन लगिन्थ्यो :

विद्या–दायिनीकी जय

वीणा–वाहिनीकी जय

सरस्वती माताकी जय

यी नारा लगाउँदा कहिलेकाहीँ नारा भट्याउनेको गला ‘रुँधेको’ पनि हुन्थ्यो । सेलाउने ठाउँ नजिक पुग्दा भावुकता झन् बढ्थ्यो । गला झन् रुँध्थ्यो, मूर्तिको अवसान हुन लाग्यो ।

सेलाएपछि प्रायः स्कुलमा पाँच दिनको छुट्टी घोषित गरिन्थ्यो, कुनै हेडमास्टरले कम गर्न चाह्यो भने, विद्यार्थी जोड गरेर पाँच दिन बनाइहाल्थे ।

सरस्वती पूजामा, दिनभरि त्यही दरभंगाबाट भाडामा ल्याएका त्यसबखतका हिन्दी फिल्मका रेकर्डहरू लाउडस्पिकरबाट घन्किरहन्थे । त्यसैको तालमा नभए पनि सुरमा म उछलकुद गरिरहन्थें । कैयौं सहपाठी हुन्थे मसित ।

अर्को झन् महत्त्वपूर्ण उत्साह थियो, बेलुकीको सांस्कृतिक कार्यक्रमको । कार्यक्रममा एउटा पूर्णांकी नाटक, विभिन्न प्रहसन र गीतहरू हुन्थे । हल त कहाँ पाउनु, स्कुलको खुला चउर नै दर्शकले खचाखच भरिएको हुन्थ्यो ।

मंडेश्वर, शंकरलाल जाटिया आदि राम्रा कमेडियन थिए ।

अलि पछि म पनि स्टेजमा गाउन थालें । गोपालजी नेपालीले मलाई त्यो मौका जुटाइदिएका थिए । मैले सुपेन्द्रका साथ एउटा युगल गीत गाएको थिएँ, ‘आजाद’ फिल्मको :

कितना हँसी है मौसम

कितना हँसी सफर है,

साथी है खुबसुरत

ये मौसम को भी खबर है ।

यही मेरो पहिलो सार्वजनिक अथवा स्टेज पर्फमेन्स थियो ।

सुपेन्द्रबहादुर श्रेष्ठ मभन्दा राम्रो गाउँथ्यो । उसले फिमेल स्वरको प्रतिनिधित्व गरेको थियो, मैले मेलेको । आवाज दुवैको पातलो थियो । यी सबको तारतम्य, पछिसम्म संगीत विभागको जिम्मा समालेका भरत दाइ र हरि दाइले मिलाउँथे । भरत दाइ हार्मोनियम र ढोलक बजाउँथे । लक्ष्मण, झन् उत्साहले बजाउँथ्यो । उसले ढोलक बजाएको मलाई सुन्न मजा लाग्दथ्यो । गीत चल्तीको छ भने ऊ झन् मच्चिएर आफ्नो कला देखाउँथ्यो । मलाई उसले ढोलक बजाएको अझै याद छ ।

त्यही ‘पर्फमेन्स’ का साथ, भोलिपल्टदेखि वीरगन्जमा म चिनिन थालें, कलाकारका रूपमा । गायनमा पुरस्कार त्यहाँ मैले कहिल्यै पाइनँ तर मेरा प्रशंसक भने निकै मानिस बने । कति वर्षपछि मैले मेरी श्रीमतीकी दुइटी साथीकी आमासित भेटें, जो मेरै ‘अथेन्टिक फ्यान’ रहिछन् तिनताक । ती आफ्नो घरनजिकको कार्यक्रम छाडेर आउँथिन् । छोराछोरीको भनाइ थियो, ‘यो आमा आँधी–पानी जे आए पनि, सब काम छोडेर हाइस्कुलको कार्यक्रम हेर्न जान्थ्यो, खालि ध्रुवचन्द्र दाइको गीत सुन्न ।’ यस्ता केही अरू पनि थिए, विस्तारमा नजाऊँ । दर्शक/श्रोताको त्यो ‘वाहवाही’ नै मेरो इनाम हुन्थ्यो ।

अब वीरगन्ज यति विकसित छ कि मलाई, पुराना गल्लीहरू चिन्न र आफू हिँडेका त्यसबखतका ठाउँ पहिल्याउन लगभग असम्भवजस्तै छ ।

धेरै वर्षपछि म लेखनमा लागेर ‘मदन पुरस्कार’ पाएपछि, वीरगन्जमा मेरो पुरानो एउटा सहपाठी भेट भयो । भन्यो, ‘तुम तो पहले बहुत एक्टिभ थे, उतना अच्छा गाते थे, अब क्या हो गया सब ?’

म के भन्थें, मुसुक्क हाँसेर, ‘ऐसा ही है’ भनेर हिँडें । त्यसबखतका यी सम्झनाहरू मूल्यवान छन् । सारा वीरगन्ज मलाई चिन्थ्यो मात्र होइन, माया पनि गर्थ्यो । केही समयपछि, एक वर्ष मैले गाइनँ, सम्भवतः ०१५ सालमा । आवाजमा परिवर्तन आउँदै थियो मेरो ।

मोटो र मसिनो स्वरको मिश्रण हुन थालेको थियो ।

०१६ सालमा मैले एउटा मौलिक नेपाली गीत लेखेर वीरगन्जको त्यही स्टेजमा गाएँ । धुन पनि मेरो, शब्द पनि मेरो :

मनमा राखी तिमीलाई

म तिम्रो पूजा गरूँला ।

यो एउटा लामो, छ स्टेन्जाको गीत थियो । बिनासंगीत गाइएको । तैपनि श्रोताले मन्त्रमुग्ध भएर सुनेपछि म निकै उत्साही भएँ । पछि अन्य कैयौं मौलिक गीत लेखें र बिनाबाजा–ढोलक गाएँ । सबैलाई त्यही मन पर्‍यो । केटा र केटी पनि ती मेरा मौलिक नेपाली गीतहरू गाउन थाले । त्यो पनि मेरो जीवनको पहिलो घटना थियो ।

०१८ सालमा, मैले एउटा नाटक लेख्न चाहें, लेखें । तर, त्यसमा समस्या के थियो भने, स्त्री पात्र पाइन असम्भवजस्तै थियो । पाइँदा पनि हुन् । तर कति अघि एक नाटकमा बहिनी बनाइएकी नायिका, वास्तविक जीवनमै नायकसँग हिँडिदिएपछि, केटीहरू ‘हच्के’ !

मैले के मनमा आएर हो भनिदिएँ, ‘केटीहरू खेल्छन् भने, म एउटा केटीकेटी मात्र पात्र भएको नाटक लेख्छु ।’

के लेख्छु, त्यो मलाई ज्ञान थिएन, आँटचाहिँ थियो । केटीहरूले आ–आफ्नो घरघरमा सोधे । लगभग एक दर्जन केटीहरूले खेल्न माने ।

म उत्साही भएँ । विषयवस्तुदेखि लेखनसम्म, कुमालटोलको छतमा बसेर चार घण्टामा सकें ।

एउटा नाटक सकें । नाउँ राखें, ‘पिकनिक’ । धेरै नभनूँ । त्यसमा आयोजकहरू यति सजग थिए कि सुरक्षाको दृष्टिले होला, कतैकतै कार्यक्रमको टाँस्ने गरेको पोस्टर पनि त्यस वर्ष टाँसिएन । तर, तैपनि, ‘माउथ पब्लिसिटी’ ले होला, दर्शक यति आए, जसलाई ‘नभूतो नभविष्यति’ यसमा चाहिँ निर्धक्क भन्न सक्छु । वीरगन्जको सांस्कृतिक कार्यक्रममा न त्यति दर्शक पहिले कहिल्यै जम्मा भएका थिए न पछि, कहिल्यै भए । त्यत्रो चउरमा नअटाएर पर्खाल, रूख, जहाँबाट मिल्यो, हेरे, नाटक मन पराए पनि त्यत्तिकै । आकर्षण पनि हुँदो हो, केटीकेटीले खेल्ने नाटक ? वीरगन्जमा पहिलो घटना थियो नि त ! ती नयाँ केटीहरूले पनि सोचेभन्दा राम्रो अभिनय गरे । मसमेत, स्व. बलरामसिं मल्ल र मणिराम निर्देशक थियौं । म केटीहरूलाई रिहर्सलमा अभिनय सिकाउँथें पनि । ‘पिकनिक’ खेल्ने वा हेर्नेको स्मृतिमा होला, तर अब त्यसको अस्तित्व इतिहासको गर्भमा छ । मलाई अझै ताजा किन छ भने, त्यही मैले लेखेको

आफ्नो जीवनको पहिलो नाटक थियो । त्यो अप्रकाशितै रहे पनि मनमा प्रकाशित छ ।

दसैंमा माईस्थानको मेला अष्टमीका दिन लाग्दथ्यो । त्यसो त नवरात्रभरि, ब्राह्म मुहूर्तदेखि नै पशुपति उस्तादको हार्मोनियममा बज्न थालेको ‘भैरवी’ ले मलाई सधैं तानिरहेको हुन्थ्यो । त्यो सुन्नु अत्यन्त आकर्षक लाग्दथ्यो । भजन गाइन्थ्यो । मेलाको दिन रक्सौलदेखि नै स्त्री–पुरुषको लर्को अटुट लागेको हुन्थ्यो । म नयाँ सिलाएको कमिज–पाइजामा शीत लाग्छ कि भनेर बेलोबलामा, अलिकति पाइजामा मास्तिर सर्काउँदै हिँड्थें । खल्तीमा एकमोर–दुवन्नी–चवन्नीसम्म छ भने सिटी, डुगी, फुकौना, लामो खरिदारी हुन्थ्यो मेरो । घर पुग्दा खेलौनाले ‘लदाफँदा’ पुग्थें । केही टुटफुट पनि भइसकेको हुन्थ्यो ।

छठपर्वको मेला घडिअर्वा पोखरीको छेउमा लाग्दथ्यो । आजको जस्तो भव्य सूर्य–रथ त्यसबखत थिएन, तर त्यो ‘प्रबनी’ सबभन्दा पवित्र लाग्दथ्यो । त्यसपछि ठेकुवा पर्सादी खान पाइन्थ्यो, जुन मलाई आज पनि मीठो लाग्दछ ।

हामी घुम्ने अर्को एउटा मुख्य ठाउँ थियो वीरगन्ज रेल्वे स्टेसन । रेल चढ्ने र छुट्नेहरूमा परिचित पनि भेटिँदा रमाइलो हुन्थ्यो । रेल हिँडेको, थामिएको, इन्जिनले पानी ख्वाएको हेर्नु मलाई रमाइलो लाग्दथ्यो । कहिलेकाहीं, हामी केटाकेटी कुमालटोलका युवाहरूको समूहमा रक्सौल, ‘कृष्णा टाकिज’ सिनेमा हेर्न यही रेल, एनजीआरमा पनि जान्थ्यौं, डब्लूटी गएर पक्डाउने डरले, एउटा मोडमा रेलको गति कम हुन्थ्यो, त्यही मौकामा, यति यात्रु ओर्लन्थे कि, कहिलेकाहीं त रेल लगभग रित्तिएर पुग्थ्यो रेल्वे स्टेसन ।

वीरगन्ज, मैले थाहा पाएदेखि नै नगरपालिका थियो । त्रिजुद्ध स्कुल एक मात्र हाइस्कुल थियो त्यताको, जसका विद्यार्थी एसएलसी बोर्डमा, प्रथम पनि भइरहन्थे । बोर्डमा दसमा आउने त धेरै हुन्थे ।

सडक तीन भागमा बाँडिएको थियो, जसलाई फर्स्ट, सेकेन्ड र तेस्रो जिनतिन थर्ड रोल भनिन्थ्यो । फर्स्ट रोड नै पनि ग्राबेलको थियो, जसमा बेलाबखत सडक सम्याउन रोलर चलिरहन्थ्यो । त्यसलाई हेर्न पनि उत्सुक रहन्थें । तिसरी घण्टीतिर आउँथ्यो, सिनेमाको विज्ञापन, एउटा टिनको ढ्वाङ मुखमा टाँसेर लंगडा खोच्याउँदै कराउँथ्यो, ‘आज की रात देखिए कीर्ति सिनेमा के रुपहले पर्दे पर मुनरिया का छमछम डान्स...।’ यस्तैयस्तै । यसलाई त म कुरिरहन्थें । एउटा केटो सिनेमाको पोस्टर बोकेर हिँड्थ्यो । त्यो हेर्न र लंगडाको पुकारको विशेष शैली सुन्न मलाई मन पर्थ्यो । क्लासमा पढाइरहेको ‘माडसाप’ आफ्नो ठाउँमा थियो । पढाइमा त ध्यान जानु थियो, न जान्थ्यो ।

अहिले त वीरगन्ज उपमहानगरपालिका हुँदै, महानगरपालिका नै भएको छ । अब वीरगन्ज यति विकसित छ कि मलाई, पुराना गल्लीहरू चिन्न र आफू हिँडेका त्यसबखतका ठाउँहरू पहिल्याउन लगभग असम्भवजस्तै छ, आफैंलाई अलि हास्यास्पदजस्तो पनि लाग्दछ । एउटा वृद्ध, आफ्नो बाल्यकाल र युवाकालको सहर खोज्दै हिँडिरहेको छ । कसरी भेटिन्छ ?

केही पुराना मानिस भेटिन्छन्, जस्तो मेरै सहपाठी परशुराम सरावगी, तुलेन्द्र, सुपेन्द्र आदि । पुरस्कार नपाए पनि सान्त्वना पुरस्कार त हो नै पुराना साथीभाइ र केही अवेशष भए पनि आफ्नो बेलाका सडक गल्लीहरू भेटिनु । पहिलेभन्दा वीरगन्ज मौलिक मात्र होइन, बौद्धिक रूपमा पनि विकसित भएको छ । पत्रकारितामा र साहित्यमा पनि । खेलकुदमा वीरगन्ज पहिलेदेखि नै सक्रिय हो । उहिल्यैदेखि ‘ब्यारेक ग्राउन्ड’ मा फुटबल आदिको आयोजना हुन्थ्यो । कति मेरा प्रिय फुटबलर थिए । तिनमा रूपालशमशेर त अब्बल दर्जाका राष्ट्रिय खेलाडी भए ।

अहिले मेरो वीरगन्जमा कोही पनि छैन त भन्दिनँ, दाइहरूको परिवार त्यहीं छ, बेलाबेलामा गइरहन्छु । केही पुराना साथीभाइ भेटिन्छन्, सहरका पुराना अवशेष भेटिन्छन् । तर, केही पनि हैनचाहिँ भन्न सक्छु ः ‘रहने को घर नहीं है/सारा जहाँ हमारा’ भनेजस्तै । तर, एउटा कुरा फेरि यति तगडा रूपमा छ कि, त्यसले मलाई वीरगन्जसँग सधैं जोड्छ । स्मृति, जुन कसैले खोस्दैन, चोर्दैन, हर्दैन तर यसैभित्र छ, वीरगन्जबाट मैले पाएका देनहरूको संग्रहालय पहिलेको हाइस्कुलको चउरको दर्शक जत्तिकै खचाखच भरिएको ।

यसरी भइएन त : मेड इन वीरगन्ज ?

प्रकाशित : श्रावण ३, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?