कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

काठमाडौं क्वारेन्टाइन

‘काठमाडौं चाँदीको कचौराजस्तो छ । यहाँका मानिस कमिलाजस्ता छन् ।’
किशोर नेपाल

‘एक निद्रा छ, जो रातभर आउँदैन । अर्को भाग्य छ, जो दिउँसै निदाइदिन्छ ।’ जापानमा गुजारा जुटाइरहेका नेक्टर पलले आफ्नो फेसबुक वालमा राखेका यी दुई पंक्ति पढेपछि मेरो चेतना अचानक जागृत भयो । मानिसभित्र अन्तरद्वन्द्वको यो कस्तो भुमरी ! एउटा मानिस त्यस्तो निद्रालाई पर्खेर बसेको छ, जो रातभर आउँदैन । अनि उसको भाग्य दिउँसै निदाइ दिन्छ ।

काठमाडौं क्वारेन्टाइन

निद्रा र भाग्यको खेलमा परेका हामी नेपाली धेरै छौं । यति हो कि नेक्टरले आफ्ना भावहरू अभिव्यक्त गरे । हामीले सकेनौं । यो महामारीको बेला नेक्टरलाई पक्कै पनि देश फर्किन मन लागेको होला । तर, देश फर्किनु त्यति सजिलो कहाँ छ र ? नाकानाका अवरोधमा परेको छ कोरोना भाइरसका नाममा । यस्तो हाहाकारको मौसममा कसरी फर्किनु देश ? यात्रा, त्यो नाकाबाट पार पाए यो नाकामा रोकिन्छ । यात्रा हो, अर्को कुनै नाकामा अलमलिन्छ । अहिलेको मानिस जंगबहादुरले जस्तो पानी जहाजसंँगै तैरिँदै वर्षौं लामो यात्रा गर्न सक्दैन । महामारीको यो मौसममा आकाशमा एउटा मात्रै पनि हवाइजहाज देखिएको छैन । लाग्छ, सरकारले आफ्नो भागको आकाश पनि लकडाउन गरेको छ ।

काठमाडौं उपत्यका ठूलो क्वारेन्टाइन बनिसकेको छ यतिबेला । यहाँबाट बाहिरिन अप्ठेरो छैन । भित्रिन महाभारत पहाड छिचोल्नुपर्छ । काठमाडौंलाई ट्रान्जिट बनाएका मानिसका लागि मात्र होइन, स्थायी रूपले यहीं बसोबास गर्नेका लागि पनि प्रवेश कठिन छ । हो, ‘पावर’ मा कोही आफ्ना मानिस छन् भने नियम–कानुन निदाउन पनि सक्छ । नियम सनातन हो यो ।

यी असंगतिहरू देख्दा मानिसलाई लाग्न सक्छ— के नै रहेछ र देश भन्नु पनि ! उस्तै त रहेछ, देशको ऐतिहासिक राजधानी सहर काठमाडौं भन्नु पनि । जब आफ्नै देश आफूले चाहेको समयमा फर्किन सकिँदैन भने मन कसरी थाम्न सकिन्छ ? आँसु कसरी रोक्न सकिन्छ ? कसरी सकिन्छ देश भक्तिको भावनासँग एकाकार हुनु ? कसरी सकिन्छ देशको माटोको सुगन्ध फैलाउन ?

हिजोका दिनसम्म खल्तीमा एक पैसा थिएन । धेरै मानिस थिए, हेप्ने । आज खल्तीमा पैसा छ । र पनि, हेप्ने मानिसको कुनै कमी छैन । नेपालीका लागि निद्रा र भाग्यको अवस्था नेपाल र जापान अथवा कोरिया र कतार सबैतिर उस्तै छ । अवस्था जस्तो भए पनि, तै, अहिलेसम्म काठमाडौं उपत्यकाले आफ्नो शान र चुरीफुरी कायम राखेको छ । हिरामानले बकुला सिमी र प्यूठानी मुला उब्जाउने खेतमा अग्लाअग्ला भवन बनेका छन् । हीरामान ती भवनभन्दा बाहिरको लहरमा बनेको छाप्रोमा सरेको छ । खेतमा बकुला सिमी रोप्न छोडेबापत उसको हातमा परेको थियो पाँच लाख रुपैयाँ । त्योमध्ये छोरा रूपमानलाई मलेसिया पठाउँदा पूरै दुई लाख खर्च भयो । रूपमानले अहिलेसम्म एकसुका पनि पठाएको छैन । एक लाख रुपैयाँ नानीचाको बिहेमा खर्च भयो । नानीचाले चम्पु श्रेष्ठसँग लभ गरिछ । लभ गरेपछि बिहे गरिदिनुपरिहाल्यो ।

हीरामान आफ्नो छाप्रोअगाडिको चौरमा बसेर तमाखु तान्दै छ । सहरमा अचेल सितिमिति तमाखु पाइँदैन । हीरामान तमाखु किन्नकै लागि नरदेवी जाने गर्छ । अहिले लकडाउन छ । बस ट्याम्पो केही चल्दैन । तै, लकडाउन सुरु हुने अघिल्लो दिन एक धार्नी तमाखु ल्याएको थियो । त्यही तानिरहेको छ खटाई खटाई । हीरामानको छाप्रोलाई घेरेर स–साना केटाकेटी चोर–पुलिस खेल्दै छन् । बच्चाहरू बाठा भैसकेका छन् । खेलमा कुनै पनि खेलाडी चोर बन्न चाहँदैन । सबै पुलिस बन्न चाहन्छन । हो नि, चोर बन्नुभन्दा पुलिस बन्नु धेरै सजिलो छ । चोर साबित भैसकेपछि पुलिस बन्न गाह्रो छ । पुलिसको बर्दी लगाएपछि चोर बन्न विशेष केही गर्नै पर्दैन । कताबाट कताबाट चोरको बुद्धि आफैं आइहाल्छ ।

उपत्यकाका थुप्रै गाउँ म्युनिसिपलेटी बनेका छन् । यी म्युनिसिपलेटीमा चहक छ, चमक छैन । सहरमा बस्ने गाउँलेहरू चालीस वर्षअगाडिको सुनधारा सम्झिन्छन् । सुनधाराको पानीमा सर्लक्क भिजेको सम्झिन्छन् । पानी पिएको सम्झिन्छन् । लकडाउन सुरु भएपछि एक जना मानिस ‘पिनास–धारा’ खोज्दै आए बानेश्वरको वाणगंगा । पिनास धाराको पानी खाए पिनास रोग नास हुने विश्वास थियो मानिसको । विश्वास पछ्याउँदै आउने यस्ता मानिसको अहिले पनि कुनै कमी छैन । तर, त्यो धारो कहाँनिर भास्सिएको छ ? टोलबाहिरका मानिसले पत्ता लगाउनु कठिन नै छ । चार दशकअगाडि काठमाडौं उपत्यकाका गाउँ र टोलमा बस्ने मानिस चार दशकपछाडि विस्थापित भैसकेको छ । काठमाडौं सहरका विभिन्न टोल र गल्लीमा थुनिएर बसेका धनीमानीहरू चिसो हावा खोज्दै बूढानीलकण्ठतिर बसाइ सरेका छन् । अब कसरी भन्नु कि सहरमा गुणात्मक परिवर्तन आएकै छैन ? यो पनि थाहा भयो, काठमाडौं उपत्यकाका मानिसका लागि हिमाल महत्त्वपूर्ण होइन । ‘बिहान उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस्’ भन्ने गीतभित्रको भावना कति अनुर्वर रहेछ, कति बाँझो रहेछ !

तीन दशकपहिले, २०४७ सालमा, देशको शासन व्यवस्था फेरिएर २०१७ सालमा खारेज भएको संवैधानिक राजासहितको संसदीय पद्धतिलाई पुनर्जीवन दिइएको थियो । मुस्किलले त्यो पद्धति एक दशक चल्यो होला । अब त, त्यो कालखण्ड इतिहासको पानामा पुरिई पनि सक्यो होला । त्यो पद्धति प्रारम्भ भएको पाँच वर्षपछि नै देशमा हिंसाको डढेलो सल्कियो । त्यही दशकमा राजा र उनको परिवारको सामूहिक हत्या भयो । जनताको मनमा सनातनदेखि रोपिएको विश्वास थियो, राजा ईश्वरका अवतार हुन् । राजा र राजपरिवारको विनाशपछि जनताको त्यो भ्रम तोडियो । नेपाली जनताले त्यसपछिको समय एकप्रकारको कोलाहल र हाहाकारमा बिताए । अहिले शानदार पन्ध्र वर्षमा चलिरहेको छ संघीय लोकतान्त्रिक गणतन्त्र । यो पन्ध्र वर्षमा पनि मानिसको जीवनमा गुणात्मक परिवर्तन आएको छैन । सत्य यति मात्रै हो ।

उपत्यकामा मानिसको मन पनि सहरका गल्लीहरूजस्तै साना छन्, साह्रै संकीर्ण । सडक त्यति फराकिला बन्न सकेका छैनन् । विदेशी अनुदानको अभावले सडक फराकिला बन्न नसकेका होइन । केही समयअघिसम्म नेपालमा काम गर्न भनेपछि रमाउँथे विदेशीहरू । चिनियाँले केही दशकअघि जुन जोसका साथ, जुन रफ्तारले, रिंगरोड बनाएका थिए, त्यो जोस अहिले रिंगरोडको अपग्रेडिङमा देखाउन सकेनन् । सडक मात्रै होइन । अहिले सडकमा निस्किने जुलुसहरूको पनि गुणात्मक तत्त्व ध्वस्त भएको छ । तीस वर्षअघि देशमा आमूल परिवर्तनको माग राख्दै, निकै जोस र जुनूनका साथ निस्किन्थे जुलुस । अहिले न त्यस्तो जोस छ, न जुनून । मानिसका अभिव्यक्ति राजनीतिक कर्मकाण्डजस्तो हुन थालेका छन् । मानिसका दुःख, संघर्ष र उसले आफ्ना लागि तयार गरेको जीवन मूल्य औपचारिकतामा सीमित र संकुचित भएका छन् । कुनै बेला मानिस आफ्नै आकांक्षाको दास थियो । अहिले पनि अवस्था उस्तै छ । मानिसले आफ्ना आकांक्षालाई दास बनाउन सकेको छैन । मानिस आफैंबाट हराएको छ । मानिस आफैंसँग पराजित भएको छ । तैपनि, मानिसमा अपमान र पराजयको कुनै भाव छैन । ऊ पराजयलाई पनि आफन्त सम्झिन बाध्य भएको छ ।

कुनै समय यस्तो पनि थियो, जब मूल सडकको किनाराबाट थोरै उकालो उक्लिएर मानिसहरू सहरलाई घेरेर बसेका डाँडाको भञ्ज्याङमा पुग्थे । चिसो बताससँग रमाउँथे । चारैतिरबाट सहरमाथि नजर घुमाउँथे । देखिएका प्रत्येक रंगीन दृश्यलाई आफ्नो क्यामरामा कैद गर्दथे । सात रंगको अनौठो समागम ! अनुपम र अवर्णनीय दृश्य ! अहिले त्यस्तोसुन्दर दृश्य कतै देखिँदैन । जताततै फैलिएको भीड ! घरको भीड ! मानिसको भीड ! पसलको भीड ! सामानको भीड ! हल्लाको भीड ! आँसु र अट्टहासको भीड ! आवाजको भीड ! तस्बिर खिच्नु सस्तो र सजिलो थिएन । डिजिटल थिएन प्रविधि । अहिलेको जस्तो भए हजारौं हजार फोटो खिच्ने रहर पूरा गर्ने थिए होलान् मानिसहरूले ।

शरदचन्द्र शाह । उनी खेलकुदका नेता थिए एक समयमा । उनी त्यतिबेलाको निर्दलीय राजनीतिक व्यवस्थाको एउटा पक्षमा थिए र बदनाम थिए । एकपटक उनले भनेका थिए : काठमाडौं चाँदीको कचौराजस्तो छ । यहाँका मानिस कमिलाजस्ता छन् । यो बाक्य बोल्दा उनी थिए खेलकुद परिषद्का सदस्यसचिव । खेलकुदको नेताको हैसियतले उनी त्यतिबेलाको राजनीतिका माफिया थिए । मन्त्रीहरूको नियुक्ति उनको सिफारिसमा हुने गरेको सुनिन्थ्यो । केही वर्षअघि उनको निधन भैसकेको छ । पार्थिव रूपले जो मानिस यो पृथ्वीमा छैन उसको कुरा काट्नु किञ्चित राम्रो मानिँदैन । विचारको हिसाबले उनले काठमाडौंलाई चाँदीको कचौरासँग दाँजेर यहाँका मानिसलाई ‘कमिलाजस्ता’ बनाइदिए । ती राता, काला र पखेटा उम्रिएका कमिला अहिलेसम्म टिकेका छन् यो उपत्यकामा । ती अझै अरू कति समय टिक्ने हुन् ? त्यसको अनुमान गर्नु कठिन छ । कमिलाको बानी हुन्छ चिल्ने । कमिलाहरू मानिसलाई निरन्तर चिलिरहेका छन् । मानिस ऐया–आथु केही भन्न सकिरहेको छैन । सहेर बसेको छ ऊ ।

केही वर्षअघिसम्म ‘तीन सहर’ नेपालका रूपमा चिनिने यो उपत्यकामा अहिले सामान्य मानिसको गतिमाथि प्रतिबन्ध लागेको छ । कम से कम दुई मिटरको ‘सोसल डिस्ट्यान्स’ मेन्टेन गरेर मानिससँग कुरा गर्नुपर्छ । मास्कले नाकमुख छोपेर मात्र हिँड्नुपर्छ सडकमा । सहरमा कोरोना महामारी फैलिएको यो समयमा मास्क नलगाएको मानिसलाई देख्नेबित्तिकै समात्नू भन्ने आदेश जारी गरेको छ । मानिस कोरोनासँग डराएका त थिए नै । अहिले त सरकारसँग पो डराउन थालेका छन् । सरकार नियमको मर्यादा नराखी हिँड्न पाइन्न भन्छ । मानिस ती मर्यादाहरूको खोजीमा हिँडेको छ । त्यसरी मर्यादा खोज्न हिँडेको मानिसलाई सुरक्षाकर्मीले सडकको छेउमा घण्टौं घेराबन्दी गरेर राख्छ ।

सहरमा आइसकेपछि यति कुरा थाहा पाइराख्नुपर्छ : सहरमा मास्क लगाएर सास फेर्न सकिन्न । मास्क छेडेर सहरको हावा नाकको प्वालसम्म पुग्नै सक्दैन । हो, हात साबुन लगाएर मिचीमिची धुनुपर्छ । जो साबुन खरिद गर्न सक्दैनन्, तिनले आफ्नो हात खरानीले मस्काए हुन्छ कि हुँदैन ? साबुन नपाइने गाउँमा रिट्ठाको प्रयोग गरे हुन्छ कि हुँदैन ? यो कसैले सिकाएको पनि छैन । सहरमा स्यानिटाइजरको प्रयोग अनिवार्य छ । यिनै कारणले, सहर लामो समयदेखि गतिहीन भएको छ । यसले आफ्नो मौलिक आवाज गुमाएको छ । सहरमा अहिले जुन आवाज प्रतिध्वनित भैरहेको छ, त्यो आवाजको अर्थ कसैलाई थाहा छैन । त्यो आवाज अहिलेसम्म किन गुन्जिइरहेको छ ? त्यसको कारण पनि कसैले भेटेको छैन ।

यो सहरमा मानिसका जोडी मन लागुन्जेल डुल्ने गर्थे, कसैले फेला पार्नै नसक्ने गरी हराउने गर्थे । असीम मायामा निथ्रुक्क भिज्थे, लुटपुटिन्थे । त्यो चलन अहिले छैन । कस्तो विडम्बना कि, मायालुले खोक्दा पनि डराउनुपर्ने समय आएको छ !

यो कस्तो समय हो ? मनभित्र प्रश्नहरूको सिलसिलाबद्ध भीड छ । भीड पनि र सिलसिलाबद्ध पनि । मास्क लगाएको एउटा मानिस बजारको एउटा पसल अगाडि ठिंग उभिन्छ । उसलाई चुरोट चाहिएको छ । दुर्भाग्य कि साहूलाई चुरोटको नयाँ मूल्य नै थाहा छैन । त्यसका लागि साहूको छोरो नै आउनुपर्छ पसलमा । मास्क लगाएको मानिस साहूतिर पचास रुपैयाँको नोट हुत्याइदिन्छ । पछि कुनै बेला हिसाब मिलाउने सम्झौता हुन्छ उनीहरूका बीच । साहूले दुई खिल्ली चुरोट दिन्छ । मास्क लगाएको मानिस मास्क फुकालेर चुरोट सल्काउन मात्रै लागेको हुन्छ, कतैबाट अचानक दुई जना सुरक्षाकर्मी आइपुग्छन् । उनीहरू आफ्नै धुनमा चुरोट तानिरहेको मानिसको पाखुरा समात्छन् दुईतिरबाट । दृश्य देखेर, पसल वरिपरि उभिएका मानिस डराएका छन् । उनीहरू त्यहाँबाट उम्किन पनि खोज्दै छन् । उनीहरूमा चरम उत्सुकता छ– के हुन्छ यसपछि ? के गर्छन् यी सुरक्षाकर्मीले मास्क फुकालेर चुरोट तान्ने मानिसलाई ?

‘क्वारेन्टाइनभित्र बसेर चुरोट तान्न पाइन्छ ?’ सुरक्षाकर्मी–१ ले सोध्छ । चुरोट तान्ने मानिस अलमलिन्छ । उ सोध्छ– ‘क्वारेन्टाइन ?’

जवाफ सुरक्षाकर्मी–२ ले दिन्छ– ‘सरकारले यो पूरै काठमाडौं उपत्यकालाई खुला क्वारेन्टाइन घोषणा गरेको तिमीले सुनेका छैनौ ? त्यो घोषणा सबै टेलिभिजन, युट्युब, फेसबुक लाइभ र ट्विटरमा समेत देखाएको थियो त ! तिमीले देखेनौं ? तिमीलाई थाहा होला– सरकारले जनताको सुविधाका लागि अबदेखि बिहान मात्र होइन, दिउँसो र साँझसमेत पसल खोल्ने व्यवस्था मिलाएको छ । जोरबिजोर मिलाएर मोटरसाइकल चलाउने सुविधा पनि खुला गरेको छ । मोटरसाइकललाई ट्याक्सी बनाउनेको मोटरसाइकलचाहिँ जफत हुनेछ । जोरबिजोर नम्बरका आधारमा निजी सवारी चल्ने भएका छन् । चल्न नदिने भनेको ट्याक्सी र बसजस्ता सार्वजनिक सवारीलाई मात्रै हो ।’

चुरोट तान्ने मानिस वाल्ल परेर उनीहरूको कुरा सुनिरहेको थियो । ऊ अघिसम्म चुरोट तान्दै थियो । अहिले उसको हातमा चुरोट थिएन । उसले सुरक्षाकर्मीसँग सोध्यो, ‘किन समातेको मलाई ?’

सुरक्षाकर्मी–१ ले जवाफ दियो– तिमीले क्वारेन्टाइनभित्र चुरोट पिएकाले ।

‘कहिले पिएँ मैले ?’ चुरोट तान्ने मानिसले ठाडै झूट बोल्यो । उसले आफूवरिपरि उभिएका मानिसको समर्थन खोज्यो । मानिसहरूले मौन समर्थन गरे उसको । त्यसपछि उसले मास्क लगायो । उसको चाल देखेर सुरक्षाकर्मीहरू वाल्ल परे ।

सामान्य जनता रमाइलो मानेर हेर्दै थिए : ओहो, सरकारले कसैलाई थाहै नदिई, कति चाँडै पूरै उपत्यकालाई क्वारेन्टाइन बनाइसकेछ !

प्रकाशित : श्रावण ३, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?