मर्यादाको मूल- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्यादाको मूल

विदेशीसँग व्यवहार गर्दा मर्यादाको अधिक ख्याल गर्ने नेपाली राजनीतिज्ञमध्येमा पर्छन्, जंगबहादुर राणा । भारतीय रजौटाका दिवानसरह नभई सार्वभौमसत्तासम्पन्न राजाका दूतको हैसियतले आफूलाई १९ तोपको सलामी, बेलायती महारानीसँग शिष्टाचार भेट र प्रधानमन्त्रीसँग राजनीतिक छलफलको अवसर दिन बेलायती प्रशासकहरुलाई राजी गराएपछि मात्रै उनी युरोपतिर लागेका थिए ।
सुजित मैनाली

मर्यादा बकसमा हासिल हुने चीज होइन । यो चाँदीको किस्तीमा अरूले श्रद्धावश अर्पण गर्ने भेटी पनि होइन । यो आर्जन गरिने चीज हो, जुन व्यक्ति र राज्य दुवैको हकमा लागू हुन्छ । राज्य अमूर्त हुने भएकाले यसको मर्यादा यसलाई प्रतिनिधित्व गर्ने व्यक्तिमा निर्भर रहन्छ । मर्यादा कसरी आर्जन हुन्छ भन्ने थाहा पाउन यसको मूल स्रोत केलाउनुपर्ने हुन्छ ।

सामर्थ्यको सार

‘मत्स्य न्याय’ को सिद्धान्तअनुसार, मर्यादाको स्रोत सामथ्र्य हो । सामथ्र्यको प्रधान्यलाई अनुमोदन गर्ने यो यथार्थवादी दृष्टिकोण हो । यस दृष्टिकोणबारे अझ राम्रोसँग बुझाउन महाभारतको एउटा प्रसंगले मद्दत गर्छ । चीरहरणका बखत द्रौपदीले सभामा उपस्थित बुज्रुकहरूसँग धर्म के हो भनी प्रश्न गर्छिन् । जवाफमा भीष्मले भन्छन् (सभापर्व, १५।६९), ‘संसारमा बलवान मानिसले जेलाई धर्म बताउँछन्, अन्य मानिसले त्यसैलाई धर्म मान्छन् । कमजोर व्यक्तिले बताएको धर्म बलियो व्यक्तिको धर्ममुनि दबिन्छ ।’ धर्मको यस्तो परिभाषा गरेर भीष्मले आफूलाई परोक्ष रूपमा द्रौपदीविरोधी खेमामा उभ्याएका हुन्छन् । त्यतिबेला कौरवहरूसँग सत्ता र शक्ति दुवै भएकाले द्रौपदीसहित पाण्डवहरूको मर्यादा कौरवहरूको चाहनामा निर्भर छ भन्ने मत भीष्मको हुन्छ ।

शक्तिबाट नि:सृत मर्यादाबारे बुझाउन चीन–बेलायत सम्बन्धको एउटा घटना सहायक सिद्ध हुन सक्छ । अफिम युद्धअघि चीन आफूलाई संसारकै शक्तिशाली मुलुक ठान्थ्यो । कागज, छापा मेसिन, गनपाउडरदेखि संसारकै ठूलो पानीजहाज निर्माण गर्ने अग्रणी मुलुक हुनुको दम्भ चीनसँग थियो । मर्यादालाई लिएर बेलायतसँग एकपटक चीनको रस्साकस्सी पर्‍यो । बेलायतले त्यतिबेला आफूभन्दा कैयौं गुणा ठूला राज्यहरूलाई अधीन गरिसकेको हुनाले उसको तुजुक पनि सानो थिएन । अठारौं शताब्दीको अन्त्यताका मर्यादालाई लिएर यी दुई देशबीच भएको रस्साकस्सीको विवरण अत्यन्तै रोचक छ ।

त्यतिबेला चिनियाँहरू आफ्ना सम्राट्लाई ‘सेलेस्टियल एम्पेरर’ अर्थात् सम्पूर्ण चराचर जगत्माथि आधिपत्य भएका ‘देव सम्राट्’ मान्थे । त्यतिन्जेल चीन विदेशी शक्तिसँग पराजित भएको थिएन । त्यसैले बाँकी मुलुकहरू चीनलाई सलामी तिरेर आश्रित राज्य बन्न मात्र योग्य छन् भन्ने बुझाइ चिनियाँहरूको थियो । चीनले त्यतिबेला विदेशी व्यापारीहरूका लागि ग्वान्झाउको समुद्री नाका मात्र खोलेको थियो । समग्र एसियामा व्यापार बढाउन लालायित बेलायतले थप समुद्री नाका खुला गरिदिन र बेइजिङमा आफ्ना प्रतिनिधिलाई स्थायी रूपमै बस्ने अनुमति दिन आग्रह गर्दै आएको थियो । चीनले मानिरहेको थिएन । त्यसैले सोझै चिनियाँ सम्राट्सँग भेटेर आफ्ना प्रस्तावहरूप्रति उनलाई सहमत गराउने सोचमा बेलायतीहरू थिए । तर, चिनियाँ अधिकारीले बेलायती प्रतिनिधिलाई आफ्ना सम्राट्सँग भेट गराउन चाहिरहेका थिएनन् । आलटाल गर्ने, मिति पञ्छाउने गर्दै आएका थिए ।

लामो प्रयत्नपछि बेलायतीहरूले सम्राट्सँग ‘दर्शनभेट’ को समय पाए । करिब सात सय प्रतिनिधिसहितको इस्ट इन्डिया कम्पनीको टोली सन् १७९२ को सेप्टेम्बरमा समुद्री मार्ग हुँदै ग्वान्झाउतिर हिँड्यो । सम्राट्लाई प्रभावमा लिन भनेर बेलायती राजाले दूरविन, एयरगन, घडीलगायत विज्ञान–प्रविधिका क्षेत्रमा बेलायतले हासिल गरेका उपलब्धि झल्काउने सामग्री सौगातबापत पठाएका थिए । त्यस प्रतिनिधिमण्डलका नाइके थिए, जर्ज म्याकार्टनी ।

ग्वानझाउ ओर्लिएर बेइजिङ पुगी सम्राट्सँग भेट गर्न उनीहरूलाई एक वर्ष लाग्यो । सम्राट्सँग भेट हुनुभन्दा करिब ६ साताअघिदेखि बेलायती टोलीलाई सम्राट्का अगाडि मर्यादित रूपमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिन थालियो । म्याकार्टनीलाई दुवै घुँडा टेकी टाउकाले तीनपटक भुइँ छोएर सम्राट्प्रति सम्मान दर्साउन भनियो । त्यस्तो गर्न म्याकार्टनीको मर्यादाले दिएन । टोपी फुकालेर एउटा घुँडा टेकी सम्राट्को हात चुम्न आफू तयार रहेको उनले बताए । तर, कुनै पनि हालतमा दुवै घुँडा नटेक्ने अडान लिए । चिनियाँहरूले मानेनन् । यदि चिनियाँहरूले भनेबमोजिम आफूले गर्नैपर्ने भए आफूसरहका चिनियाँ राजप्रतिनिधिले पनि बेलायती राजा जर्ज तृतीयको तस्बिरसामु त्यसैगरी सम्मान दर्साउनुपर्ने सर्त उनले राखे । त्यस घटनाबारे बेलायती लेखक मार्टिन ज्याक्सले ‘ह्वेन चाइना रुल्स द वर्ल्ड’ मा लेखेका छन्, ‘चिनियाँहरू यसमा सहमत हुने कुरै थिएन किनकि चिनियाँ सम्राट् ‘सम्पूर्ण चराचर जगत्का अधिपति’ थिए, उनले फगत एउटा देशका राजालाई आफूसरहको मान्ने प्रश्नै थिएन ।’

मार्टिनले सम्राट्सँगको भेटमा म्याकार्टनीले कसरी शिष्टाचार दर्साएका थिए भन्नेबारे उल्लेख गरेका छैनन् । यसबारे तत्कालीन विवरणले भन्छ, ‘आफ्ना राजालाई जसरी सम्मान दर्साउने चलन बेलायतमा छ, त्यसरी नै चिनियाँ सम्राट्लाई आफूले सम्मान दर्साउने अडानबाट म्याकार्टनी टसमस भएनन् । अर्थात्, टोपी फुकालेर एउटा घुँडा टेकी सम्राट्को हात चुम्न उनी राजी भए । उनलाई गलाउन नसकेपछि ‘टाँढाको यी बर्बरहरूले चिनियाँ संस्कार के बुझुन् !’ भनेर चिनियाँहरूले उनकै प्रस्ताव अन्तत: स्विकारे । शिष्टाचारका क्रममा हात चुम्ने प्रसंगचाहिँ झिकिदिए ।’

रोचक कुरा के छ भने म्याकार्टनी बेइजिङमै छँदा नेपाल र चीन युद्धरत थिए । यी दुईबीच मध्यस्थता गर्ने बहानामा दुवै पक्षसँग आफ्नो हित हुनेगरी सम्बन्ध बढाउने ताकमा इस्ट इन्डिया कम्पनी थियो । कम्पनी सरकारको मध्यस्थतामा तिब्बतलाई लिएर नेपालसँग चीनको सन्धि गराउने प्रयोजनमा आवश्यक परेछ भने बेइजिङमै रहेका म्याकार्टनीलाई परिचालन गर्न सकिने सम्भावनाबारे कम्पनी सरकारका प्रतिनिधि बनेर त्यतिबेला काठमाडौं आएका कर्णेल कर्कप्याट्रिकले गभर्नर जनरलका लागि तयार पारेको तत्कालीन लिखतमा उल्लेख गरेका छन् ।

आफ्ना राजालाई एउटा घुँडा टेकेर सम्मान दर्साउने बेलायतीहरूलाई नेपालका भारदारले यहाँका राजासँग उभिएरै देखभेट गर्ने गरेको दृश्यले विस्मित तुल्याउने गथ्र्यो । जंगबहादुर बेलायतबाट फर्किएपछि श्रीलंकाबाट उनीसँगै काठमाडौं आएका बेलायती प्रशासक लरेन्स ओलिफेन्टले आफ्नो किताब‘अ जर्नी टु काठमान्डु’ मा यसबारे उल्लेख गरेका छन् । बेलायतबाट फर्किएपछि राजा सुरेन्द्रविक्रमसँग भेट हुँदा जंगबहादुरले दुवै हात बाँधी घुँडा नटेकीकनै कुरा गरेको प्रसंगबारे उल्लेख गर्दै ओलिफेन्टले यसबाट जंगबहादुर नेपालका सर्वेसर्वा हुने भन्ने कुरा सिद्ध भएको लेखेका छन् । ओलिफेन्टको विवरण पढ्दै गर्दा बेलायतीले झैं आफ्ना राजालाई घुँडा टेकेर सम्मान दर्साउने चलन नेपालमा थिएन भन्ने हामीले हेक्का राख्नुपर्छ ।

चिनियाँ सम्राट्सामु चाहिँ नेपाली भारदारहरू दुवै घुँडा टेकेर प्रस्तुत हुने गर्थे । नेपाल–चीन युद्ध अन्त्य गर्नेगरी सन् १७९२ मा भएको सन्धिमा नेपालका राजाले हरेक पाँच वर्षमा चिनियाँ सम्राट्लाई सौगात पठाउनुपर्ने प्रावधान पनि थियो । सौगात पुर्‍याउन जाने नेपाली टोलीप्रमुखले चिनियाँ सम्राट्को अगाडि दुवै घुँडा टेकेर उभिनुपर्थ्यो ।

‘संस्थागत स्मृति’ राख्ने परम्परा हामीकहाँ निकै कमजोर रहेकाले बेइजिङ जाने नेपाली टोलीको अनुभव बताउने अत्यन्तै थारै सामग्री हामीसँग उपलब्ध छन् । औपनिवेशिक कालताका नेपालबारे कलम चलाएका अंग्रेज अधिकारीहरूले बरु शोधखोज गरेर त्यसबारे केही प्रकाश पारेका छन्, जसबाट हामीलाई बेइजिङ नियाल्ने आँखीझ्याल उपलब्ध भएको छ ।

बेलायतीहरूले संकलन गरेको विवरणअनुसार, नेपाली टोलीलाई चीन पुगेर फर्किन १८ महिना लाग्थ्यो । बेइजिङमा उनीहरू ४५ दिन रहन्थे । चिनियाँ सम्राट्को अगाडि परेपछि टोलीप्रमुखले दुवै घुँडा टेकी टाउकाले तीनपटक भुइँ छुनुपथ्र्यो । दुवै घुँटा टेकेरै सम्राट्सँग आफ्ना कुरा राख्नुपथ्र्यो । चिनियाँ सम्राट्को अगाडि कसैले पनि उभिन नपाउने भएकाले सम्राट्सँग भेट गर्न जाने जोकोहीले त्यतिबेला घुँडा टेक्न सजिलो होस् भनेर काखीमा सानो गलैँचा च्याप्ने गरेको नेपाली प्रतिनिधिमण्डलको अनुभवबारे शोधखोज गरी लेख्ने बेलायती सैन्य अधिकारी अर्फर क्याभिनाघले उल्लेख गरेका छन् । यदि बेलायतको शक्ति नेपालको जस्तै हुन्थ्यो भने राष्ट्रिय मर्यादालाई लिएर चिनियाँहरूसँग बेइजिङमै अडान लिने हुती के म्याकार्टनीसँग हुने थियो ?

व्यक्तित्वको बान्की

सबै सन्दर्भमा मर्यादा सामर्थ्यबाट नि:सृतचाहिँ हुँदैन । सामथ्र्यको पनि सीमा हुन्छ । राज्यलाई प्रतिनिधित्व गर्ने व्यक्तिको ओजले राज्यको मर्यादा निर्धारण गरिदिएका प्रसंग इतिहासमा अनेक छन् । जिम्मेवार ओहोदाको मानिसले यदि आफ्नो मर्यादाको पर्वाह गर्दैन भने उसको देशप्रति विदेशीले गर्ने व्यवहार पनि तदनुरूपकै हुन्छ ।

यस सन्दर्भमा रणबहादुर शाहबारे उल्लेख गर्नु वाञ्छनीय हुन्छ । छोरा गीर्वाणलाई राजा बनाएर संन्यास धारण गरेका उनले आफ्नी प्रिय रानी कान्तवतीको मृत्यु भएपछि पुन: शासनसत्तामा फर्किन खोजे । आफू राजा भएको छनक दिनेगरी राजकाजमा सक्रिय भए । वैधानिक राजा छँदाछँदै रणबहादुरले सञ्चालन गर्न खोजेको समानान्तर सत्तालाई भारदारहरूले अनुमोदन नगरेपछि अप्ठेरोमा परिने डरले उनी काशीतिर भागे ।

कामुकतालाई लिएर रणबहादुर कुख्यात थिए । गाईगोरुको रतिक्रीडा नियाल्ने उनको अचम्मको सोख थियो । काशीमा छँदा संन्यासी अथवा पूर्वराजा दुवैलाई शोभा नदिनेगरी उनी अनेक स्त्रीसँग लहसिन थाले । संन्यास धारण गरेका राजपरिवारका सदस्यले दैहिक मोह नत्याग्नु त्यतिबेला असामान्य थिएन । परन्तु दैहिक आवश्यकता पूरा गर्ने क्रममा उनले राजोचित मर्यादा बिर्सिए । उनलाई काशीमा रहन–बस्न चाहिने जति रकम काठमाडौं दरबारले पठाउँथ्यो । अत्यन्तै खर्चालु स्वभावका उनी थप पैसा मागेर भारदारहरूलाई हैरान बनाउँथे । काठमाडौंबाट आएको पैसाले नपुगेपछि काशीका महाजन, इस्ट इन्डिया कम्पनी आदिसँग ऋण लिएर उनले दैहिक आवश्यकता पूरा गर्न थाले । यही मेसोमा जेठी रानी राजराजेश्वरीको गरगहनासम्म बेचिदिए ।

रणबहादुर फितलो स्वभावका छन् भन्ने थाहा पाएपछि इस्ट इन्डिया कम्पनीले उनको भरपूर उपयोग गर्‍यो । उनलाई मागेजति ऋण दियो । उनलाई मोहरा बनाएर काठमाडौंमाथि दबाब सिर्जना गर्न भनेर क्याप्टेन नक्सलाई उनको सुखसुबिस्ताको ख्याल गर्ने बहानामा खटायो । रणबहादुरले पनि हौसिँदै आफूलाई नेपालको सत्तामा पुन:स्थापित गर्न सघाए पहाड र तराईमा उठ्ने राजस्वको क्रमश: ३७.५ र ५० प्रतिशत हिस्सा कम्पनी सरकारलाई बर्सेनि बुझाउने प्रस्ताव राखे । त्यति धेरै राजस्व बुझाउनु असम्भव थियो । त्यसैले उनको प्रस्तावलाई अंग्रेजहरूले गम्भीरता–पूर्वक लिएनन् ।

उनलाई मोहरा बनाएर नेपालसँग वाणिज्य सन्धि गर्न कम्पनी सरकार सफल भयो । रणबहादुर आफूहरूको हातबाट फुत्किएलान् र उनलाई देखाएर काठमाडौंलाई अझ कज्याउने योजना चौपट होला भनेर ‘सापटी लिएको पैसा नतिरी कतै जान नदिने’ भन्दै उनलाई अघोषित बन्दी बनाइयो ।

विदेशीसँग व्यवहार गर्दा मर्यादाको अधिक ख्याल गर्ने नेपाली राजनीतिज्ञमध्येमा पर्छन्, जंगबहादुर राणा । भारतीय रजौटाका दिवानसरह नभई सार्वभौमसत्तासम्पन्न राजाका दूतको हैसियतले आफूलाई १९ तोपको सलामी, बेलायती महारानीसँग शिष्टाचार भेट र प्रधानमन्त्रीसँग राजनीतिक छलफलको अवसर दिन बेलायती प्रशासकहरूलाई राजी गराएपछि मात्रै उनी युरोपतिर लागेका थिए । बेलायत छिर्नै लाग्दा जंगबहादुरको मर्यादाको परीक्षण भयो । उनको टोलीको मालसामान भन्सारका कर्मचारीले जाँच्न खोजे, जुन पूर्वसहमतिको विपरीत थियो । म्लेच्छले छोएको सामान बिटुलो हुन्छ भन्ने विश्वास त्यतिबेला नेपालमा थियो । उसो त त्यो जंगबहादुरका लागि मर्यादाको कसी पनि थियो । आफ्नो टोलीका झिटीगुन्टा कसैले छोएमा त्यहीँबाट फ्रान्सतिर लाग्ने चेतावनी उनले दिए । अन्त्यमा झिटीगुन्टा नजाँच्ने निर्णयमा भन्सार कार्यालय पुग्यो ।

लन्डनमा आयोजित औपचारिक समारोहमा जंगबहादुरले स्पेनका राजदूतसँग एउटै लहरमा बस्ने चाँजोपाँजो मिलाएर देशको हैसियत बढाए । उनको सम्मानमा बेलायतमा राजकीय भोजहरू आयोजना गरिए । बेलायती राजकुमारको न्वारान समारोहमा महारानीले उनलाई आफ्नै छेउमा राखिन् । उनको इच्छाबमोजिम बेलायत र फ्रान्स दुवै देशले सैन्य परेड आयोजना गरिदिए ।

जंगबहादुरको प्रस्तुतिको बान्कीकै कारण बेलायती प्रशासकहरू उनीसामु मर्यादित रूपमा प्रस्तुत हुने गर्थे । उत्तर भारतमा भड्किएको सन् १८५७ को सिपाही विद्रोह दमन गर्न जंगबहादुरले सहयोग गर्नुअगावै अंग्रेज अधिकारीहरू उनीसँग मर्यादित ढंगले प्रस्तुत हुन थालिसकेका थिए । उनको पालामा नेपाल–अंग्रेज सम्बन्धलाई स्थिर तुल्याउन अंग्रेजहरू पनि तत्पर भए । यस्तो हुनुमा जंगबहादुरको व्यक्तित्वले पनि भूमिका खेलेको छ । यदि उनको प्रस्तुति रणबहादुरकै जस्तो फितलो हुन्थ्यो त नेपाललाई बेलायतले त्यतिबेला पनि गम्भीरतापूर्वक लिने थिएन ।

व्यक्तित्वमा मर्यादाको स्रोत केलाउँदै गर्दा राजा त्रिभुवन र उनका छोरा महेन्द्रबारे उल्लेख गर्नु पनि प्रासंगिक हुन्छ । त्रिभुवनलाई भारतीय नेताहरू गम्भीरतापूर्वक लिँदैन थिए किनकि उनको स्वभाव हलुको थियो । राजोचित मर्यादा बिर्सिएर उनी बिनाकाम कलकत्तातिर टहल्न गइरहने गर्थे । महेन्द्रले रत्नसँग बिहे गर्ने निश्चय गरेपछि ‘मैले हुँदैन भन्दाभन्दै त्यसले त्यो जुद्धेकी नातिनीसँग बिहे गर्ने ?’ भनी क्रुद्ध भएर कलकत्तातिर गई त्रिभुवनले छोरोको बिहे बहिष्कार गरेका थिए । बेला न कुबेला त्रिभुवन कलकत्ता पुग्न थालेपछि असहज महसुस गर्दै भारतीय प्रधानमन्त्री नेहरूले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई ‘राजा भारत आउनुहुन्छ र यहाँका झिनामसिना व्यापारी तथा महिलाहरूसँग नसुहाउने गरी हिमचिम गर्नुहुन्छ, उहाँलाई कृपया सम्झाउनुहोला’ भनी चिठी नै लेखेका थिए । बीपी कोइरालासँग पनि नेहरूले एकपटक त्रिभुवनका यस्तो हर्कतबारे गुनासो गरेका थिए ।

राजा नै त्यस्तो स्वभावका भएपछि भारतले नेपालसँग मर्यादित व्यवहार गर्न आवश्यक ठानेन । फलस्वरूप त्रिभुवनकै पालामा नेपालमा भारतीय सैन्य चेकपोस्ट स्थापना गरिए । राजदरबारमा भारत सरकारका कर्मचारी गोविन्द नारायण नियुक्त भए । भारतीय राजदूत सीपीएन सिन्हा नेपालका प्रधानमन्त्रीभन्दा बढ्ता प्रभावशाली बने । त्रिभुवनपछि राजा बनेका महेन्द्रको स्वभाव बाबुको भन्दा ठीक विपरित थियो । मर्यादालाई लिएर उनी सचेत थिए । त्यसैले बाबुको पालामा गृह, विदेश तथा प्रतिरक्षा मामिलामा भारतले लगाएको गलपासोबाट महेन्द्रले नेपाललाई धेरै हदसम्म मुक्त गरे । त्रिभुवन र महेन्द्र दुवैको पद एउटै थियो । तर, त्यसलाई ओगट्ने पात्रको व्यक्तित्व र आचरणले पदको गरिमा भिन्न बन्यो ।

निष्कर्ष

राष्ट्रिय मर्यादाको स्रोत राष्ट्रको क्षमता र उसलाई प्रतिनिधित्व गर्ने पात्रको व्यक्तित्व दुवै हो । तर, राष्ट्रिय सामथ्र्यको सीमा नाघेर नेहरू, टिटोलगायतले आफ्नो देशको मर्यादा उकासेका अनेकन उदाहरण हाम्रासामु छन् । सैन्य र आर्थिक दृष्टिले कमजोर राष्ट्रको सूचीमा पर्ने नेपालले यसबारे बढी हेक्का राख्न सक्नुपर्छ । ‘राष्ट्रहरू सानो–ठूलो हुन सक्छन्, तर सार्वभौमसत्ता र राष्ट्रिय मर्यादा सबैको समान हुन्छ’ भन्ने आदर्शवादी उक्ति कमजोर भएकाले हामीलाई कर्णप्रिय त लाग्ला, तर राष्ट्रलाई प्रतिनिधित्व गर्ने पात्रको प्रस्तुति ओजपूर्ण हुन सकेन भने यस्तो आदर्शले मात्र देशको मर्यादा उकास्न सक्दैन ।

प्रकाशित : असार २७, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्

आमा किन रुनुभयो ?

आमाले बनाउनुभएको गुइँठा धेरै परसम्म फिँजाइएको थियो । उहाँको खाली खुट्टा फाटेको थियो, चिसोले टम्म भरिएको थियो नाक । आमाको धोत्रो स्वर सुनेँ, ‘तिमी किन यहाँ आयौ यस्तो चिसोमा ?’ भयानक दु:खमा पनि आमाको स्वर न्यानो लाग्यो । आमाकै छेउमा बसेँ, कुरा सुनिरहेँ । घर जानै मन लागेन ।
संगीता उराँव

तराईमा खेती हराभरा हुन कि मेघ गर्जी पानी बर्सिनुपर्छ, कि त नहरमा एकनासले पानी दक्षिणतिर बग्नुपर्छ । नभए त्यही खेत हामीलाई कबड्डी कबड्डी, बम पलास्ट, सीमा कबड्डी, कोला कबड्डी, छुरर् खेल्ने ठाउँ हुन्थ्यो । स–साना घाँस उम्रन्थे । गाई, बाख्राहरू आफ्ना पेट भर्न नाकको प्वालबाट हावा निकाली धर्तीको धूलो फुर्र् फुर्र उडाई स–साना घाँस कुटुरकुटुर खान्थे ।

जनावर त बाँच्नका लागि यति मिहिनेत गर्छन् भने मान्छेहरू किन गर्दैनन् ? समुदायअनुसार, आर्थिक स्थितिअनुसार, संस्कृतिअनुसार मान्छेका खाने कुरा जोहो गर्ने तरिका फरक होलान् । हाम्रो उरावँ समुदायको पनि खानेकुरा जोहो गर्ने आफ्नै तरिका छ ।

नेपालका पूर्वी जिल्लामा केही हजार उरावँ छन् भन्ने कतै पढेकी हुँ मैले । मेरो घर सुनसरीको झुम्का भन्ने ठाउँबाट करिब २५ किलोमिटर भित्र गाउँमा पर्छ । कोसीबाट निकालिएको चकरघट्टी नहर झुम्का हुँदै मेरो गाउँ छिटाहासम्म पुग्छ र अझै भित्रसम्म जान्छ । त्यही नहरमा पौडी खेल्दै र माछा मार्दै हुर्कियौं हामी ।

प्राय: हाम्रा समुदायका मानिस जन (मेलापात) गएर खानेकुरा जुटाउँछन् । तरकारीका लागि टेंग्राखोला गयो भने अलि बन्दोबस्त गर्न सकिन्छ वा झाँक बनाएर लहरावाला तरकारी लाए पनि भैहाल्छ । जल्ली जुगठी (माछा मार्ने जाल) लिएर टेंग्राखोलासम्म पुग्नुपर्थ्यो ।

हामी केटीहरू कम्मरमा छैटी (ढाकी) लिएर जता गाईका बथान छन् त्यतै जान्थ्यौं । गाई, गोरु वा भैंसीले पुच्छर उठाउनासाथ छैटी लिएर कुद्थ्यौं । लालका (रातो), पढरु (सेतो), करिया (कालो), चिट्कबरा (चिटेपाटे), सबै गाईमा आँखा चनाखो हुन्थ्यो । किनकि छैटी भर्नुपथ्र्यो, गुइँठा बनाउन । गुइँठा नबनाए केमा पकाएर खानु १ हाम्रो समुदायमा दाउरा भनेकै गोबरको गुइँठा हो अझै । दसैंपछि गुइँठा बनाउन सुरु हुन्थ्यो । जोसँग सन्ठी छ, उनीहरू सन्ठीजस्तै लामो गुइँठा बनाउँछन् । सन्ठी नहुनेहरू खाल्डो खनेर गोबर जम्मा गर्छन् र तिहारपछि निकालेर गुइँठाको पाठ बनाउँछन् ।

मलाई लाग्थ्यो, केही कुरा तातो भएपछि मात्र बाफ आउँछ । जस्तै– बिहान कलको पानीसँग तातो बाफ आउँछ । भकभक भात उम्लिँदा आउँछ बाफ । एक चिसो बिहान खाल्डोमा जम्मा पारेको गोबर कोदालोले खन्दै छैटीमा राख्दै हुनुहुन्थ्यो आमा । गोबर खन्दा बाफ उडिरहेको थियो । मैले भनें, ‘आमा म पनि एउटा सानो गुइँठाको पाठ उठाउँछु ल १ त्यसलाई मजस्तै अग्लो बनाउँछु अनि सुकेपछि म मात्रै बाल्छु त्यो गुइँठालाई ।’

आमा मुसुक्क हाँस्नुभो । अनि भन्नुभो, ‘ल ल अब नसिके कहिले सिक्छौ गुइँठा बनाउन !’

म खुसीले फुरुङ्ग भएँ र गोबरबाट आइरहेको बाफलाई हातले पन्छाउँदै खाल्डोबाट गोबर निकाल्न खोजेँ  । जब हातले गोबर बटुल्न खोजेँ, तब करेन्ट लागेजस्तै भयो ।

खाल्डोमा भएको गोबरबाट कसरी बाफ आउँछ ? हरेक दिन आगो बाल्न चाहिने दाउरा हाम्रो घर र पूरै गाउँको ठूलो समस्या थियो । जंगलमा कतै पनि दाउरा देखिँदैनथ्यो । बरु धेरै परको पहाड प्रस्टैसँग देखिन्थ्यो ।

गहुँ काटेर तल फेद छोडेको हुन्थ्यो । त्यही फेद बटुलेर बारीतिर ठूलो टाली बनाइन्थ्यो, खाना पकाउन वा आगो बाल्न । थोरैथोरै गुइँठामा मिसाइन्थ्यो । धान मुरछोप्पा काटेर तल छोडेको भागलाई जरादेखि उखालेर थुप्रो बनाउँथ्यौं । बाँसको घारीमा पसेर टपरी र सुकेको करची (हाँगा) बाँस–मालिकको आँखा छलेर ल्याउँथ्यौं ।

जाडो छेक्न र शरीरलाई न्यानो पार्न हजुरआमा चौकी (खाट) लाई पिण्डा (पिढी) को छेउमा ठाडो पारी राख्नुहुन्थ्यो । तल ओसरामा २ बोझ पराल ओछ्याएर गद्दी बनाएर पिटरी (गुन्द्री) ओछ्याउनुहुन्थ्यो बुबा । त्यसमाथि गुदडी (च्यातिएको पुरानो कपडाले बनाएको ओढ्ने) पनि राख्नुहुन्थ्यो । चिसोलाई अँगालेर सुतेको म केही छिनमै न्यानो हुन्थेँ । चिसो सहन नसकेर होला कैलो कुकुर खुुट्टातिर आएर बस्थ्यो ।

एक दिन भुँडे आड्डो (गोरु) ले पुच्छर उठायो गोब्य्राउनलाई । म कुदेर जाँदै थिएँ, गोबर थाप्न । तर, गोरुले मलाई लखेट्न थाल्यो । म छैटी लिएर टाप कसेँ । थाहै पाइनँ कति बेला छैटी गाईगोरुको बथानमै छुटेछ । भाग्दाभाग्दै गहुँको खेतमा पुगें । माटोका डल्लाले गोरुलाई भकाभक हान्न थालेँ । अनि मात्रै केही बेरमा फर्केर बथानतिर लाग्यो । म थकित भएर आलीमा बसें । मन भारी भएर आयो । गोबर बोक्ने मेरो छैटी भाँच्चिसकेको थियो । मसँगै आएका साथीहरू पर–परको बथानतिर पुगिसकेका थिए ।

गाईमाल सबै बाध (चौर) मै थिए । हामी घरतिर लाग्यौं । घरमा आमा हुनुहुन्थेन । मैले आँगन बढारें । भाँडा सफा गरेँ तर आमाले जस्तो टल्काउन सकिनँ । साँझ आमा हटियाबाट फर्कंदा ठूलो माटोको भन्डा (घैला), एउटा झोलामा खुदी (चामलको कनिका) र तरकारी लिएर आउनुभो ।

आमाले सोध्नुभो, ‘आज कति छैटी गोबर जम्मा गर्‍यौ ?’ मलाई डर लाग्यो, गाली खाने भएँ भनेर । अनि हतारहतार गोरुले लखेटेको कुरा सुनाएँ ।

मैले काम गरेको देखाउन भनेँ, ‘आमा मैले माझिसकेँ सबै भाँडाहरू ।’ आमाले हेर्नुभयो र खरानी ल्याउन भन्नुभयो । सबै भाँडा झिकेर खरानीले माझ्नुभयो । पखाल्दा थाल, लोटा, कन्ती, डाडु, पन्यु, गिलास सबै कति मजाले टल्कियो ! अनि पो थाहा पाएँ, भाँडा परालले मात्रै रगडेर हुँदैन । त्यसमा खरानी राखेर माझ्यो भने टल्किन्छ । यसरी नै मैले उमेरसँगै काम सिक्दै गएँ ।

बिहान जहिले पनि हजुरआमाको मिठो स्वर सुन्न पाइन्थ्यो, हजुरआमाले बनाएको न्यानो ओछ्यानमा । हजुरआमा मेरै नाम जोडेर गीत गाउनुहुन्थ्यो । मेरो आँखा चिम्म हुन्थ्यो तर कान जागिसकेको हुन्थ्यो । निदाएजस्तो गरेर म धेरै कुरा सुन्थेँ । ओछ्यानमा भएकी हजुरआमाको गीतलाई साथ दिएझैं लाग्थ्यो, जब आमाले घरआँगन झाडुले बढारेको आवाज आउँथ्यो । आमाले भाँडाकुँडा माझ्दा पनि एक किसिमको सुनिरहूँ लाग्ने मिठो आवाज आउँथ्यो ।

एक दिन आमा घरमा हुनुहुन्थेन । खोज्न थालेँ । आमाले नहरको डिलमा गुइँठा बनाइरहेको देखेँ । उहाँले गुइँठा बनाइरहेको गोबर हाम्रो थिएन । मैले अच्चम मान्दै सोधेँ, ‘किन तपाईंले गोवारास (यादव) को गोबर बनाउनुभएको ?’

‘गोबर लिन,’ यत्ति थियो आमाको जवाफ । एक छिनपछि भन्नुभयो, ‘उनीहरूका लागि ४, ५ दिन गुइँठा बनाइदिएँ भने एक दिनको गोबर हामीलाई दिन्छन् । अनि तिमीलाई थाहा छ, एक दिनमा कति छैटी गोबर हुन्छ ? भरीभरी दुई छैटी । हाम्रो गोइठाको पाठ पनि तिमीजस्तै छिट्टै ठूलो होस् भनेर यिनीहरूको गोबरलाई गुइँठा बनाएको । अनि भदौ महिना दाउराको दु:ख नहोस् भनेर... ।’

आमाले बनाउनुभएको गोबरको गुइँठा धेरै परसम्म फिँजाएको देखेँ । आमाको खाली खुट्टा फाटेको थियो । चिसोले टम्म भरिएको थियो नाक । आमाको धोत्रो स्वर सुनेँ, ‘तिमी किन यहाँ आयौ यस्तो चिसोमा ?’ यस्तो भयानक दु:खमा पनि आमाको स्वर न्यानो लाग्यो मलाई । आमाको छेउमै बसेँ । कुरा सुनिरहेँ । घर जानै मन लागेन । सबै गोबर सकाएर आमासँगै घर फर्किएँ ।

हातखुट्टा धोएर आमाले खाना पकाउन थाल्नुभयो । म चुलोनजिकै बसेर आमालाई एकहोरो हेरिरहेकी रहेछु । आमाले झक्झक्याउँदा मात्रै तर्सिएँ । मैले भनेँ, ‘आमा मलाई हाटबाट नयाँ र ठूलो छैटी ल्याइदिनु है, म वर्षभरिपुग्ने गोबर खोज्छु । र, मभन्दा अग्लो गुइँठाको पाठ बनाउँछु ।’ मैले त्यसो भनिसक्दा आमा रुनुभयो । उहाँ त्यतिखेर किन रुनुभयो, मैले बुझिनँ । अहिले अभावका ती बाल्यकालीन दिन सम्झँदा मेरो सिरानी निथ्रुक्क भिज्ने गर्छ ।

-लेखक रंगकर्मी हुन् ।

प्रकाशित : असार २७, २०७७ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×