१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आमा किन रुनुभयो ?

आमाले बनाउनुभएको गुइँठा धेरै परसम्म फिँजाइएको थियो । उहाँको खाली खुट्टा फाटेको थियो, चिसोले टम्म भरिएको थियो नाक । आमाको धोत्रो स्वर सुनेँ, ‘तिमी किन यहाँ आयौ यस्तो चिसोमा ?’ भयानक दु:खमा पनि आमाको स्वर न्यानो लाग्यो । आमाकै छेउमा बसेँ, कुरा सुनिरहेँ । घर जानै मन लागेन ।
संगीता उराँव

तराईमा खेती हराभरा हुन कि मेघ गर्जी पानी बर्सिनुपर्छ, कि त नहरमा एकनासले पानी दक्षिणतिर बग्नुपर्छ । नभए त्यही खेत हामीलाई कबड्डी कबड्डी, बम पलास्ट, सीमा कबड्डी, कोला कबड्डी, छुरर् खेल्ने ठाउँ हुन्थ्यो । स–साना घाँस उम्रन्थे । गाई, बाख्राहरू आफ्ना पेट भर्न नाकको प्वालबाट हावा निकाली धर्तीको धूलो फुर्र् फुर्र उडाई स–साना घाँस कुटुरकुटुर खान्थे ।

आमा किन रुनुभयो ?

जनावर त बाँच्नका लागि यति मिहिनेत गर्छन् भने मान्छेहरू किन गर्दैनन् ? समुदायअनुसार, आर्थिक स्थितिअनुसार, संस्कृतिअनुसार मान्छेका खाने कुरा जोहो गर्ने तरिका फरक होलान् । हाम्रो उरावँ समुदायको पनि खानेकुरा जोहो गर्ने आफ्नै तरिका छ ।

नेपालका पूर्वी जिल्लामा केही हजार उरावँ छन् भन्ने कतै पढेकी हुँ मैले । मेरो घर सुनसरीको झुम्का भन्ने ठाउँबाट करिब २५ किलोमिटर भित्र गाउँमा पर्छ । कोसीबाट निकालिएको चकरघट्टी नहर झुम्का हुँदै मेरो गाउँ छिटाहासम्म पुग्छ र अझै भित्रसम्म जान्छ । त्यही नहरमा पौडी खेल्दै र माछा मार्दै हुर्कियौं हामी ।

प्राय: हाम्रा समुदायका मानिस जन (मेलापात) गएर खानेकुरा जुटाउँछन् । तरकारीका लागि टेंग्राखोला गयो भने अलि बन्दोबस्त गर्न सकिन्छ वा झाँक बनाएर लहरावाला तरकारी लाए पनि भैहाल्छ । जल्ली जुगठी (माछा मार्ने जाल) लिएर टेंग्राखोलासम्म पुग्नुपर्थ्यो ।

हामी केटीहरू कम्मरमा छैटी (ढाकी) लिएर जता गाईका बथान छन् त्यतै जान्थ्यौं । गाई, गोरु वा भैंसीले पुच्छर उठाउनासाथ छैटी लिएर कुद्थ्यौं । लालका (रातो), पढरु (सेतो), करिया (कालो), चिट्कबरा (चिटेपाटे), सबै गाईमा आँखा चनाखो हुन्थ्यो । किनकि छैटी भर्नुपथ्र्यो, गुइँठा बनाउन । गुइँठा नबनाए केमा पकाएर खानु १ हाम्रो समुदायमा दाउरा भनेकै गोबरको गुइँठा हो अझै । दसैंपछि गुइँठा बनाउन सुरु हुन्थ्यो । जोसँग सन्ठी छ, उनीहरू सन्ठीजस्तै लामो गुइँठा बनाउँछन् । सन्ठी नहुनेहरू खाल्डो खनेर गोबर जम्मा गर्छन् र तिहारपछि निकालेर गुइँठाको पाठ बनाउँछन् ।

मलाई लाग्थ्यो, केही कुरा तातो भएपछि मात्र बाफ आउँछ । जस्तै– बिहान कलको पानीसँग तातो बाफ आउँछ । भकभक भात उम्लिँदा आउँछ बाफ । एक चिसो बिहान खाल्डोमा जम्मा पारेको गोबर कोदालोले खन्दै छैटीमा राख्दै हुनुहुन्थ्यो आमा । गोबर खन्दा बाफ उडिरहेको थियो । मैले भनें, ‘आमा म पनि एउटा सानो गुइँठाको पाठ उठाउँछु ल १ त्यसलाई मजस्तै अग्लो बनाउँछु अनि सुकेपछि म मात्रै बाल्छु त्यो गुइँठालाई ।’

आमा मुसुक्क हाँस्नुभो । अनि भन्नुभो, ‘ल ल अब नसिके कहिले सिक्छौ गुइँठा बनाउन !’

म खुसीले फुरुङ्ग भएँ र गोबरबाट आइरहेको बाफलाई हातले पन्छाउँदै खाल्डोबाट गोबर निकाल्न खोजेँ  । जब हातले गोबर बटुल्न खोजेँ, तब करेन्ट लागेजस्तै भयो ।

खाल्डोमा भएको गोबरबाट कसरी बाफ आउँछ ? हरेक दिन आगो बाल्न चाहिने दाउरा हाम्रो घर र पूरै गाउँको ठूलो समस्या थियो । जंगलमा कतै पनि दाउरा देखिँदैनथ्यो । बरु धेरै परको पहाड प्रस्टैसँग देखिन्थ्यो ।

गहुँ काटेर तल फेद छोडेको हुन्थ्यो । त्यही फेद बटुलेर बारीतिर ठूलो टाली बनाइन्थ्यो, खाना पकाउन वा आगो बाल्न । थोरैथोरै गुइँठामा मिसाइन्थ्यो । धान मुरछोप्पा काटेर तल छोडेको भागलाई जरादेखि उखालेर थुप्रो बनाउँथ्यौं । बाँसको घारीमा पसेर टपरी र सुकेको करची (हाँगा) बाँस–मालिकको आँखा छलेर ल्याउँथ्यौं ।

जाडो छेक्न र शरीरलाई न्यानो पार्न हजुरआमा चौकी (खाट) लाई पिण्डा (पिढी) को छेउमा ठाडो पारी राख्नुहुन्थ्यो । तल ओसरामा २ बोझ पराल ओछ्याएर गद्दी बनाएर पिटरी (गुन्द्री) ओछ्याउनुहुन्थ्यो बुबा । त्यसमाथि गुदडी (च्यातिएको पुरानो कपडाले बनाएको ओढ्ने) पनि राख्नुहुन्थ्यो । चिसोलाई अँगालेर सुतेको म केही छिनमै न्यानो हुन्थेँ । चिसो सहन नसकेर होला कैलो कुकुर खुुट्टातिर आएर बस्थ्यो ।

एक दिन भुँडे आड्डो (गोरु) ले पुच्छर उठायो गोब्य्राउनलाई । म कुदेर जाँदै थिएँ, गोबर थाप्न । तर, गोरुले मलाई लखेट्न थाल्यो । म छैटी लिएर टाप कसेँ । थाहै पाइनँ कति बेला छैटी गाईगोरुको बथानमै छुटेछ । भाग्दाभाग्दै गहुँको खेतमा पुगें । माटोका डल्लाले गोरुलाई भकाभक हान्न थालेँ । अनि मात्रै केही बेरमा फर्केर बथानतिर लाग्यो । म थकित भएर आलीमा बसें । मन भारी भएर आयो । गोबर बोक्ने मेरो छैटी भाँच्चिसकेको थियो । मसँगै आएका साथीहरू पर–परको बथानतिर पुगिसकेका थिए ।

गाईमाल सबै बाध (चौर) मै थिए । हामी घरतिर लाग्यौं । घरमा आमा हुनुहुन्थेन । मैले आँगन बढारें । भाँडा सफा गरेँ तर आमाले जस्तो टल्काउन सकिनँ । साँझ आमा हटियाबाट फर्कंदा ठूलो माटोको भन्डा (घैला), एउटा झोलामा खुदी (चामलको कनिका) र तरकारी लिएर आउनुभो ।

आमाले सोध्नुभो, ‘आज कति छैटी गोबर जम्मा गर्‍यौ ?’ मलाई डर लाग्यो, गाली खाने भएँ भनेर । अनि हतारहतार गोरुले लखेटेको कुरा सुनाएँ ।

मैले काम गरेको देखाउन भनेँ, ‘आमा मैले माझिसकेँ सबै भाँडाहरू ।’ आमाले हेर्नुभयो र खरानी ल्याउन भन्नुभयो । सबै भाँडा झिकेर खरानीले माझ्नुभयो । पखाल्दा थाल, लोटा, कन्ती, डाडु, पन्यु, गिलास सबै कति मजाले टल्कियो ! अनि पो थाहा पाएँ, भाँडा परालले मात्रै रगडेर हुँदैन । त्यसमा खरानी राखेर माझ्यो भने टल्किन्छ । यसरी नै मैले उमेरसँगै काम सिक्दै गएँ ।

बिहान जहिले पनि हजुरआमाको मिठो स्वर सुन्न पाइन्थ्यो, हजुरआमाले बनाएको न्यानो ओछ्यानमा । हजुरआमा मेरै नाम जोडेर गीत गाउनुहुन्थ्यो । मेरो आँखा चिम्म हुन्थ्यो तर कान जागिसकेको हुन्थ्यो । निदाएजस्तो गरेर म धेरै कुरा सुन्थेँ । ओछ्यानमा भएकी हजुरआमाको गीतलाई साथ दिएझैं लाग्थ्यो, जब आमाले घरआँगन झाडुले बढारेको आवाज आउँथ्यो । आमाले भाँडाकुँडा माझ्दा पनि एक किसिमको सुनिरहूँ लाग्ने मिठो आवाज आउँथ्यो ।

एक दिन आमा घरमा हुनुहुन्थेन । खोज्न थालेँ । आमाले नहरको डिलमा गुइँठा बनाइरहेको देखेँ । उहाँले गुइँठा बनाइरहेको गोबर हाम्रो थिएन । मैले अच्चम मान्दै सोधेँ, ‘किन तपाईंले गोवारास (यादव) को गोबर बनाउनुभएको ?’

‘गोबर लिन,’ यत्ति थियो आमाको जवाफ । एक छिनपछि भन्नुभयो, ‘उनीहरूका लागि ४, ५ दिन गुइँठा बनाइदिएँ भने एक दिनको गोबर हामीलाई दिन्छन् । अनि तिमीलाई थाहा छ, एक दिनमा कति छैटी गोबर हुन्छ ? भरीभरी दुई छैटी । हाम्रो गोइठाको पाठ पनि तिमीजस्तै छिट्टै ठूलो होस् भनेर यिनीहरूको गोबरलाई गुइँठा बनाएको । अनि भदौ महिना दाउराको दु:ख नहोस् भनेर... ।’

आमाले बनाउनुभएको गोबरको गुइँठा धेरै परसम्म फिँजाएको देखेँ । आमाको खाली खुट्टा फाटेको थियो । चिसोले टम्म भरिएको थियो नाक । आमाको धोत्रो स्वर सुनेँ, ‘तिमी किन यहाँ आयौ यस्तो चिसोमा ?’ यस्तो भयानक दु:खमा पनि आमाको स्वर न्यानो लाग्यो मलाई । आमाको छेउमै बसेँ । कुरा सुनिरहेँ । घर जानै मन लागेन । सबै गोबर सकाएर आमासँगै घर फर्किएँ ।

हातखुट्टा धोएर आमाले खाना पकाउन थाल्नुभयो । म चुलोनजिकै बसेर आमालाई एकहोरो हेरिरहेकी रहेछु । आमाले झक्झक्याउँदा मात्रै तर्सिएँ । मैले भनेँ, ‘आमा मलाई हाटबाट नयाँ र ठूलो छैटी ल्याइदिनु है, म वर्षभरिपुग्ने गोबर खोज्छु । र, मभन्दा अग्लो गुइँठाको पाठ बनाउँछु ।’ मैले त्यसो भनिसक्दा आमा रुनुभयो । उहाँ त्यतिखेर किन रुनुभयो, मैले बुझिनँ । अहिले अभावका ती बाल्यकालीन दिन सम्झँदा मेरो सिरानी निथ्रुक्क भिज्ने गर्छ ।

-लेखक रंगकर्मी हुन् ।

प्रकाशित : असार २७, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?