भानुको चुँदी रम्घामा मौनताको आवाज

अघि भानुभक्तको जन्मस्थल गुलजार थियो, आज उजाड छ । भानुभक्तको घर पाताल भयो । त्यहाँ जंगल छ आज । रुखहरुले मात्रै रामायण सुसाउँछन् हावामा । पातहरु बरर्र झर्छन्- लंकाको अशोक वनमा सीताजीको आँखाबाट झरेका आँसुझैँ ।
जयराज आचार्य

५० वर्षपछि भानुभक्तको जन्मस्थल तनहुँ, चुँदी रम्घा फर्किएँ— त्यो मेरो पनि जन्मस्थल हो । तर, गाउँमा अब बस्ती छैन । त्यो सब बेंसीतिर सरेको छ, बेंसीबाट पनि मधेस सरेको छ, विदेश सरेको छ । खाडी मुलुक, अमेरिका, अस्ट्रेलिया, जापान, कोरियातिर पुगेको छ । तैपनि मेरो मनले भनिरहन्छ-जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !

भानुको चुँदी रम्घामा मौनताको आवाज

अघि त्यो ठाउँ गुलजार थियो, आज उजाड छ, सुनसान छ । त्यहाँ बाहुन, छेत्री, सार्की, कामी, दमाइँ, सुनार, घर्ती, मगर, गुरुङ सबै थिए । अहिले ती तितरबितर भए । भानुभक्तको घर पाताल भयो । त्यहाँ जंगल छ आज । रूखहरूले मात्रै रामायण सुसाउँछन् हावामा । पातहरू बरर्र झर्छन्— लंकाको अशोक वनमा सीताजीको आँखाबाट झरेका आँसुझैँ ।

म गाउँतिर लाग्छु— कोही भेटिन्छ कि भनेर होइन, त्यहाँको मौनताको आवाज सुन्न । त्यही बाटोमा पहिले हजारौं पदचाप पर्थे, अहिले त्यो पतिङ्गरले पुरिएको छ, मेटिएको छ । उकालोका सिँढीका ढुंगा खलबलिएका छन्, कतै पल्टिएका छन् । ती ढुंगामा हामी केटाहरूले हँसियाको चुच्चोले आफ्नो पाइला खोपेका थियौं । ती पनि मेटिएका छन्— लेउ लागेको छ । भत्किएको बाटो लम्पसार छ— रावणले पखेटा काटिदिएको जटायु पछारिएजस्तो ।

उकालोमा वर–पीपलहरूले कसैलाई पर्खिरहेझैं लाग्छ । तर, तिनको छहारीमा भारी बिसाउन, पसिना पुछ्न कोही आउँदैन । गाउँलेहरूले चैत–वैशाखमा चौतारोमा माटोका घैंटामा चिसो पानी राखेका हुन्थे, बटुवाका लागि । आज न बटुवा छन् न पानीका घैँटा । छहारीमुनि मौन ढुंगा मात्र छन् । रम्घा डाँडामाथि भानुभक्त अब ढलोटमा ढलेर धुमधुम्ती एक्लै बसेका छन् । भानु जयन्तीका दिन पनि त्यहाँ कोही पुग्दैन । वरिपरि बुटा उम्रेर बढेका छन् ।

मेरो बाल्यकालमा बाटोका दायाँबायाँका रूख, बुटाहरूको फूलबाट मिठो बास्ना आउँथ्यो– अहिले पनि आइरहेछ । तर, त्यो त्यसै खेर गइरहेछ । म त्यो सबै सुगन्ध पोको पारेर घर ल्याउन चाहन्छु, सक्दिनँ । अनि म आफूले पढेको प्राथमिक विद्यालय पुग्छु तर त्यसको नामोनिसान छैन, पूरै बिर्सिएको पाठजस्तै भएको छ । मलाई नै प्रतीक्षा गरिरहेजस्तो विद्यालय–प्रांगणमा म उभिन्छु । पाती उम्रिएको छ । चारैतिर हेर्छु— परपरका डाँडाकाँडाबाहेक केही देखिन्न । मेरो शिरमाथि मौन आकाश मात्र छ ।

म पाँच वर्षको हुँदा विद्यालय जान थालेको थिएँ । ढुंगा–माटोको गाह्रो भएको एककोठे गोठजस्तै झुपडीलाई रम्घा पाठशाला भनिन्थ्यो (पछि भानु माध्यमिक पाठशाला भनियो आदिकविको नाममा) । पूर्वपट्टिबाट भित्र पस्ने काठको सानो ढोका र स्थानीय कामीले बनाएको फलामका साङ्ला र मुड्का थिए, इतिहासजस्ता । झुपडीमा अग्राखका गरालाहरूको तेर्सो तरेली थियो । त्यसबाट उज्यालो पस्थ्यो र हिउँदमा घामको किरण पनि । पाठशालाको उत्तरतिर भिरालोमा चिलाउने, सालका रूखहरू, धँगेरी र अन्य बुटाहरू थिए । मजस्ता साना केटाकेटीको त्यस संसारमा कुनै सुर्ता थिएन । देवकोटाले भनेजस्तै – उफर सानु शावके सानु स्वर्ग थियो त्यो ।

पाठशालाको पूर्वपट्टि इँटाको गाह्रो र टायलको छाना भएको एउटा सानो देवल थियो । तर, किन हो त्यहाँ देवताको मूर्ति थिएन । त्यसले मलाई मूर्तिहीन देवत्वको अनुभव गराउँथ्यो– सदैव अज्ञात रहस्य– बुद्धले भनेको शून्यता । त्यसले कतै त्यो गाउँको बस्ती पनि कुनै दिन शून्य हुनेछ भन्ने पूर्वसंकेत गरेको त थिएन ?

पाठशालाको केही पर चौरमा रोटेपिङ थियो । त्यो पिङ चलेको मैले कहिल्यै देखिनँ । त्यसका दुई खम्बा, मानी र चारवटा बाहाँ सुनसान झुन्डिरहेका हुन्थे– थाकेर विश्राम लिएझैं । विद्यार्थीहरू त्यसका बाहाँलाई त्यसै घुमाइदिन्थे– अनि त्यो घ्वाँइँइँय्यँ आवाज गथ्र्यो– मलाई डिस्टर्ब नगर भनेजस्तो गरी ।

पाठशालाअगाडि सानो आँगन थियो । त्यसभन्दा तल एउटा पुरानो चौतारो थियो, अझै छ । चौतारामा वर र पीपलका बूढा रूख उभिएका छन्– बिदेसिएका सन्तानले छोडेका बाबुआमाजस्ता । तिनका केही हाँगा मक्किएर जमिनमा खसेका छन् । सायद त्यस चौतारोमा बसेर भानुभक्तले पनि कविता लेखेका थिए । केही तलतिर एउटा पोखरी थियो– रामायणमा वर्णित किष्किन्धाको पम्पा तलाउजस्तो । त्यहाँको पानीमा एक रहस्यमय सौन्दर्य थियो । पौराणिक कथामा वर्णित वातावरणको यथार्थ थियो त्यहाँ ।

स्कुलबाट देखिने हिमालतिर एकटक हेरेर म आधा घण्टा बसिरहेँ । हिमालले भन्यो— तिमी र म पहिले पनि टाढै थियौं । अहिले त झन् टाढा भयौँ । तिमी कता गयौ ? पहिले मेरो कम्मरभन्दा तलसम्म हिउँ थियो । अहिले छातीमाथि मात्र हिउँ छ । तिमीले देख्यौ ? केही वर्षपछि टाउकोमा मात्र होला । पृथ्वी तात्दै गएको छ । थाहा छ ?

पहिले स्कुलबाट मेरो घर पनि देखिन्थ्यो । अब त्यो ढलेर पाताल भइसक्यो । तैपनि म त्यतै लागेँ । बाटोका रूखले मलाई भने— धेरै वर्षसम्म तिमी यही बाटो स्कुल आए–गएको हामीले हेर्‍यौं । तर तिमी कता गयौ ? धेरै पछि आयौ । धेरै पढ्यौ रे— अब तिमी हाम्रो भाषा बुझ्ने भयौ त ? रूखहरूको पनि भाषा हुन्छ— मौन भाषा, थाहा छ ?

म केही नबोली निहुरिएको अनुहारले अघि बढिरहें । रम्घा पाठशालाबाट मेरो घर पुग्न मलाई बीस मिनेट जति लाग्थ्यो । म घरबाट गुरुको पछिपछि लागेर पाठशाला जान्थेँ । पाठशालामा एक मात्र गुरु हुनुहुन्थ्यो रुद्र शंकर, बनारसबाट संस्कृत मध्यमा पास गरेका पण्डित । उहाँ बितेको त करिब साठी वर्ष भयो । हामी विद्यार्थीहरू भुइँमा परालको थर्कटीमा या मकैको खोसेल्टाले बुनेको चकटीमाथि भित्तामा अडेस लगाएर लहरै बस्थ्यौं । ठूला विद्यार्थी गुरुको नजिकमा । मजस्ता साना केटाकेटी अलिक टाढा । सायद त्यहाँ विद्यार्थीको अघोषित रोलक्रम थियो, तर हाजिरी लिइँदैनथ्यो ।

पाठशालामा बेन्च, ब्ल्याकबोर्ड हुन्छन् भन्ने कुरा हाम्रो कल्पनामा थिएन । बस्ने कुर्सी त गुरुलाई पनि थिएन । गुरुका लागि माटाको चौकी बनाएको थियो । उहाँ त्यसमाथि एउटा गुन्द्रीमा पूर्व फर्केर बस्नुहुन्थ्यो, कुनै धर्मकार्य गर्न बसेको पुरोहितजस्तै । पाठशालामा एक जना पियन थियो, उसको नाम पहलमान, ऊ हाम्रो हनुमान् । धेरै तल पँधेराबाट माटाको घैंटोमा पानी ल्याएर कुनामा राख्थ्यो— तिर्खाएका हाम्रा लागि ।

रम्घा पाठशालामा बाह्र–तेह्र जना विद्यार्थी थियौं— पाँच वर्षदेखि चौध–पन्ध्र वर्षसम्मका केटाहरू थिए । तीन–चारओटी केटीहरू पनि पढ्थे, तिनले सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी घोकेको मैले सुनें । मलाई पनि कण्ठ भयो । को कति कक्षामा पढ्ने हो थाहा थिएन, कक्षा असान्दर्भिक थियो त्यहाँ । कुनै फाइनल जाँच पनि हुन्नथ्यो । जसलाई जे पढ्न मन लाग्यो वा अभिभावकले जे पढ्न पठायो त्यही पढ्थे । कोही अमरकोष घोक्थे, कोही रुद्री, चण्डी, लघु कौमुदी र रघुवंश पढ्थे, उमेरअनुसार । केही गुरुङ, नेवार, मगर र घर्ती केटाहरू ‘ठूलो वर्णमाला’ भन्ने किताबबाट अक्षर चिन्ने र केही जोडघटाउ हिसाब सिक्ने गर्थे । दुई एकान दुई भन्दै दुनोट सबैले घोक्थे ।

म पाठशालामा सबैभन्दा सानो उमेरको विद्यार्थी । मेरो एक मात्र किताब थियो— अमरकोष (पद्यात्मक संस्कृत शब्दकोश) । त्यसका श्लोकहरू नबुझीनबुझी कण्ठ पार्नु दिनभरको मेरो सफलता । मेरो पढाइलाई कसैले सिरियस रूपमा लिएको थिएन । मबाट कुनै पढाइको अपेक्षा पनि गरिएको थिएन । म पढ्नभन्दा रमाइलोका लागि पाठशाला जान्थें । आफ्नो पाठमा होइन, अरूको पाठमा ध्यान दिन्थेँ । म पढेर भन्दा सुनेर सिक्थेँ ।

म मेरो घर पुगेँ । त्यहाँ खण्डहर मात्र थियो । घरका गाह्रोका राम्राराम्रा ढुंगा पनि कसैले लगिसकेको थियो । मेरो घर एउटा ढुंगा–माटोको थुप्रो बनेको थियो, आँगनमा घाँस उम्रेको र त्यो पनि बुढिइसकेको । आँगनले मलाई भन्यो— तिमी यहाँ भाइहरूसित खेल्थ्यौ । राज्य खेल्थ्यौ, पांग्रा खेल्थ्यौ, गुच्चा खेल्थ्यौ । हिउँदमा गुन्द्री ओच्छ्याएर घाम ताप्थ्यौ, अमरकोष घोक्थ्यौ । यहाँ तुलसीमठ पनि थियो । त्यो मौन आवाज मैले निहुरिएर दुवै हत्केलाले मुख छोपेर धेरै बेरसम्म सुनिरहें ।

अनि म घरमुनिको पानीको पँधेरो गएँ । बाटोका पर्खाल भत्किएका थिए । दुवैतिरका कटुस, चिलाउने र रिठ्ठाका रूखले भने— धेरै पछि आयौ, बूढै भएछौ । हामी त झन् बूढा भयौँ । तिमी भुइँमा झरेका कटुस टिप्थ्यौ । रिठ्ठा टिप्थ्यौ । फूलको सुगन्ध सुँघ्थ्यौ । तिमी कहाँकहाँ पुग्यौ ? हामी त यहीँ छौं । जिउँदै छौं— सायद अब केही समयका लागि मात्र ।

रूखहरूको सुसाहट सुन्दै पानीको कुवामा पुगें । कुवाले भन्यो— तिमी त्यो ठूलो ढुंगामा नुहाउँथ्यौ । तिमीले नुहाउँदा संस्कृतको स्तोत्र भन्थ्यौ— मात: शैलसुता–सपत्नि वसुधा.... । ओडारजस्तो मेरो छातीमा त्यो स्तोत्र प्रतिध्वनित हुन्थ्यो । म बुझ्निथेँ, तर मलाई राम्रो लाग्थ्यो । अहिले पनि म त्यसको रन्को सम्झिन्छु । कुवाले फेरि भन्यो— एक साँझ पानी उबाउँदा धागो चुँडेर तिम्री आमाले सुनका नौगेडीका सबै दाना कुवाभित्र खसाउनुभयो । गहिराइबाट नौगेडी झिक्न सक्नुभएन, पानी मात्र लिएर फर्कनुभयो । रातभर मैले ती दाना सुरक्षित राखेँ, भोलिपल्ट बिहान सबेरै बा आएर डाडु र ताप्केले उबाएर झिक्नुभयो । सम्झना छ तिमीलाई ? कुवाले अझै भन्यो— यस्तै कुवामा पानी खान गएका वनवासी पाण्डवहरूलाई यक्षले रोकेको थियो । युधिष्ठिरले उसका सबै प्रश्नको जवाफ दिएपछि मात्र उनीहरूले पानी खान पाएका थिए । मभित्र पनि एउटा महाभारत छ, प्राचीनकालको लामो कथा छ ।

अनि म कुवामाथि केही सिँढी उक्लेर शिवालय गएँ । शिवलिंगमाथि तामाको रित्तो जलहरी झुन्डिरहेको थियो, मौसमको प्रभावले हरियो भएको । म आफ्नो बाल्यकालमा झैं पूर्व फर्किएर ध्यानमुद्रामा पलेंटी मारेर बसेँ । अग्लो रूखको हाँगाबाट एउटा फूल खस्यो मेरो अगाडि । फूलले मलाई भन्यो— तिमी गाउँ छोडेर गयौ । तिमी कुवामा नुहाएर यहाँ आई शिवजीलाई पानी चढाउँथ्यौ र भन्थ्यौ, नमस्ते रुद्र मन्यव उतो त इषवे नम: । अब यहाँ पानी चढाउन कोही आउँदैन । कहिलेकाहीं बादलले पानी चढाउँछ । हामी रूखमाथिबाट शिवलिंगमा फूल खसाउँछौँ । यहाँ शिवजी मानिसको होइन, प्रकृतिको देवता बन्नुभएको छ । जंगलको जटा फिँजाएर धूर्जटि आफ्नो मौलिक स्वरूपमा विराजमान हुनुहुन्छ । तिमी यहाँ डमरुको मौन आवाज सुन । म त्यहाँ एक घण्टा ध्यानावस्थित भएर उठेँ । त्यताबाट फेरि बेंसीतिर ओर्लिन थालें । बाटोमा तिन्दूका फल पाकेर झरेका थिए । उहिले हामी टिपेर खान्थ्यौंं । अब चराचुरुंगीले खान्छन्— प्रकृति माताले उनीहरूलाई दिएको ।

जंगलको बीच बाटोमा चौताराहरू, आँप र सालका रूखहरू थिए, आ–आफ्नो कथा भन्दै । राइनी बूढीले बनाएको चौतारोमा पुगेँ । गरिब भए पनि धर्मात्मा थिइन् रे भानुभक्तलाई अर्ती दिने घाँसीजस्तै । अलि तल लोहोरे आँपको रूखले भन्यो— म त पहिल्यै बूढो थिएँ— अहिले झन् बूढो भएँ । फल लाग्न छोड्यो । अब मलाई काटकुट गरेर तल बेंसीको इँटा भट्टामा पोल्छन् रे भन्ने सुनेको छु ।

अलि तल पोखरी डाँडामा पुगें । सम्भार नहुँदा पोखरी पुरिइसकेको थियो । अनि अझ तल साल चौतारा पुगें । सालको रूखले भन्यो— तिम्रा बा बाह्र–तेह्र वर्षको उमेरमा एक दिन अमरकोषको किताब घोक्दै बेंसी झर्दै हुनुहुन्थ्यो । पछिपछि आएकी तिम्री हजुरआमाले भेट्टाउनुभयो । बा ढिलो हिँडेकोमा रिसाउनुभयो । किताब खोसेर फ्याँकिदिनुभयो । लेउ लागेको ढुंगामा बज्रिएर किताबको पाना हरियो भयो तर बा रिसाउनुभएन । किताब टिपेर अघि बढ्नुभयो । बेंसी पुगेर गाईबस्तु फुकाई किताब पुछपाछ गरेर घाममा सुकाउनुभयो । लेउ लागेको अमरकोषको पंक्ति थियो— सम्पत्ति: श्रीश्च लक्ष्मीश्च विपत्यां विपदापदौ (सम्पत्ति र विपत्तिको लुकामारी हो जीवन) ।

अलि तल अमलाको रूख थियो— तर फल थिएनन् । अझ तल झरेर ज्यादै बूढो आँपको रूखलाई अँगालो हालेँ हजुरबुबालाई भेटेजस्तो गरी । उसले भन्यो— म त तिम्रा बाआमाकै पालामा बूढो भइसकेको थिएँ । तिमीहरूको बाल्यकालमा त झन् बूढो । मेरा बूढो शरीरमा एकाध फल लाग्थे । तिमीहरू खान्थ्यौं । बूढेसकालको फल हुनाले होला, मिठो भएन भनेर मलाई ‘फ्याल्ले’ आँप भन्थ्यौ । माथिको लोहोरे आँप र म वृद्ध जटायु र सम्पातिजस्ता भइयो, ढल्न मात्र बाँकी छ । तल ऊ पातली आँप हेर । त्यो मेरी छोरी हो । त्यसमा पनि आजकल फल लाग्न छोड्यो, बूढी भई ऊ पनि ।

म तल झर्दै गएँ । अम्बा, आँप र बेलका रूखहरूले पनि के–के भनिरहेका थिए । तल बेंसीमा पुग्दा खोलो कसैलाई नसोधी अविरल बगिरहेको थियो । खोलो अहिले धसिएर गहिरो खोंच बनेको थियो । खोलो तरेर अघि बढ्दा त्यही बूढो सिमलको रूख, तिनै बूढा अम्बाका रूख, तिनै बूढा आँपका रूख–बाटोका दायाँबायाँ । फरक यत्ति थियो कि त्यस बाटोमा मानिस हिँड्न छोडेका थिए । मेरो बाल्यकालमा मेरो बाले यही बाटो संस्कृत कविताहरू भन्दै हिँडेको मैले देखेको थिएँ । उहाँ भन्नुहुन्थ्यो-

यामेव रात्रिं प्रथमामुपैति

गर्भे निवासं नरवीरलोक: ।

तत: प्रभृत्यस्खलितप्रयाण:

स प्रत्यहं मृत्युसमीपमेति ।

(जुन रात मानिस आफ्नी आमाको गर्भमा प्रवेश गर्छ, त्यसै रातदेखि नै ऊ एक क्षण पनि नरोकिईकन हरेक दिन मृत्युको समीप गइरहेको हुन्छ ।)

म जाँदा उकालो चढेर गएको थिएँ । फर्किंदा ओरालो ओर्लेर फर्किंदै थिएँ ।

प्रकाशित : असार २७, २०७७ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?