कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

हाकिमको अफर

लकडाउनमा घरभित्रै बसिरहँदा इन्टरनेट प्रयोग गर्नेको संख्या बढेको छ । इन्टरनेटबाट हुने अपराधमा पनि वृद्धि भएको छ ।
सविता आचार्य

लकडाउनमा सामाजिक सञ्जालमार्फत मानिसहरू यौनिक हिंसामा परेर मनोवैज्ञानिक त्रासमा रहनुपरेको अवस्थामाथि यो लेख केन्द्रित छ । लेखको सुरुमा केही प्रतिनिधि घटना उल्लेख गर्दै, तथ्यांक विश्लेषणसाथ यो लेखको तर्क छ, लकडाउनमा घरभित्रै बसिरहँदा इन्टरनेट प्रयोग गर्नेको संख्या बढेको छ ।

हाकिमको अफर

र, इन्टरनेटको माध्यमबाट हुने अपराध या भनौं जोखिम पनि उत्तिकै बढेको छ । त्यसबाट विशेषत: हाम्रा घरका किशोरकिशोरी बढी असुरक्षित रहेकाले सतर्क हुन जरुरी छ ।

घटना एक

सर : ‘लकडाउनमा घर गयौ कि यतै छौ ?’

ऊ : ‘छैन सर, जानै पाइएन ।’

सर : ‘अनि, कोको छौ त कोठामा ?’

ऊ : ‘बहिनी र म छौँ सर ।’

सर : ‘बहिनीलाई कतै साथीकोमा पठाउन मिल्दैन ?’

ऊ : ‘यस्तो बेलामा कहाँ पठाउनु !’

सर : ‘यसो कतै पठायौ भने म आउँथे तिम्रो कोठामा ।’

ऊ : ‘किन ?’

सर : ‘घरमा बूढीसँग बस्दाबस्दा बोर भैसक्यो, यसो तिमीसँग रोमान्स गर्न हुन्थ्यो । तिमी पनि त एक्लै छौ, के भयो र हामीबीचको कुरा त हो । यसो म्यानेज गर न म आउँछु नि ।’

स्क्रिनसटमा साथीले पठाएकी यो म्यासेज मैले दोहोर्‍याई–दोहोर्‍याई पढेँ । अनि, उसैलाई सम्झेँ । खासै मान्छेहरूसँग बोलचाल गर्न, घुलमिल हुन मन पराउँदिन ऊ । कामसँग मात्रै मतलब भएकी । अफिसको काम सक्यो, घर आयो, पढ्यो । उसको दैनिकी नै यही हो, मैले उसलाई चिनेदेखि ।

केही बेरपछि मैले उसलाई म्यासेजमै सोधें, ‘के भनिस् त त्यो मान्छेलाई ?’

‘के भन्नु नि, एकदमै डर लाग्यो मलाई । के भन्ने, के भन्ने दिमागमा केही आएन । अनि ब्लक गर्दिएँ !’

सोचेँ, ब्लक गर्नु मात्रै समस्याको समाधान कसरी हुन्थ्यो र !

उसको हाकिमको मेसेजले दिएको अर्थले एकाबिहानै मेरो मथिंगल हल्लाएको थियो । हाकिमको मेसेजको स्क्रिनसटसँगै उसले डराएको इमोजी पनि पठाएकी थिई । उसको डर यतिमै सीमित थिएन । एउटै अफिसमा काम गर्दा, अफिसको गाडीले घर पुर्‍याउन आएको समयमा त्यो मान्छेले उसको घर देखेको थियो । एकपल्ट होइन, दुईपल्ट होइन धेरैपल्ट । यही कुराले उसको मनबाट डर हट्न सकेको थिएन । मैले उसलाई सम्झाएँ, ‘बहिनीलाई कुरा सेयर गर् । फेरि यस्तै कुरा गर्‍यो भने पुलिसकोमा रिपोर्ट गर्नुपर्छ । नडरा म छु ।’ भरोसा दिलाएँ ।

तर, भरोसा दिलाउनु जतिको सजिलो थिएन भोग्नेलाई । मैले तारन्तार ऊसँग कुरा गरिरहेँ । त्यसको केही समयसम्म उसले फेसबुक र म्यासेन्जर बन्द गरी ।

घटना दुई

लकडाउन खुकुलो बनाउने/नबनाउने विषयमा बहस सुरु भइसकेपछिको कुरा हो । एक जना आफन्त बहिनीको म्यासेज आयो, ‘हेर्नु न दिदी कलेजको सिनियर दाइले यस्तो भन्छ मलाई ।’ म्यासेजको स्क्रिनसट पठाई बैनीले ।

‘यो लकडाउनले तिम्रोबारे अझ धेरै जान्ने मौका दियो । कलेजमा हुँदा तिमी राम्री लागे पनि भन्न सकेको थिइनँ । तर, आज भन्दै छु । तिमीसँग यसरी नै फेसबुकमा कुरा गर्दै–गर्दै यो लकडाउन खुल्दासम्म तिमीलाई आफ्नो बनाएर छोड्ने हो । अनि ... कुराहरू पनि ।’

केटाको म्यासेजमा खासै त्यस्तो नराम्रा कुराहरू त थिएनन् । उसलाई मन परेकी थिई त्यो बहिनी, त्यही भन्न खोजेको थियो, भन्यो । तर, बहिनीले प्रस्टसँग भनी, ‘तपाईँले मसँग यसरी कुरा गरेको मन पर्दैन । आइन्दा यसो नगर्नुहोला !’ यसो भन्दा पनि उसले मानेन ।

म्यासेज इग्नोर गर्न थालेपछि पनि तारन्तार म्यासेज गर्ने, भिडियो कल गर्ने, अरू थुप्रै चाहिने–नचाहिने कुरा गर्न थालेपछि आफूलाई एकदमै डिस्टर्व हुन थालेको र पछि बाध्य भएर उसलाई फेसबुकमा ब्लक नै गर्नुपरेको बैनीले बताई ।

बहिनीमा पनि घटना एकमा उल्लेख भएकी मेरी साथीमा भन्दा कम डर थिएन । पछि कलेज खुलेपछि केही पो गर्ने हो कि ? कतै केही नराम्रो पो हुने हो कि ? भन्ने त्रास थियो उसमा । होला, पछि उसले केही नगर्ला । तर, यही विषयले उसलाई मानसिक तनाव दिई नै रहेको थियो ।

‘नयाँ अकाउन्ट बनाएर पो म्यासेज गर्छ कि ? वा कतै मेरो नाममा फेक अकाउन्ट पो क्रियट गर्ने हो कि ? मेरा आफन्तलाई नै पो केही भन्ने हो कि ?’ बहिनीको मनमा यस्ता कुरा खेलिरहन्छन् ।

घटना तीन

९ कक्षामा पढ्दै गरेको छोरा अनलाइन गेम खेलेर तथा आफन्तहरूसँग गफिएर समय बिताएको र खुसी भएको देख्दा दिदी पनि मख्ख हुनुहुन्थ्यो । भर्खर–भर्खर घरमा इन्टरनेट जोडेको । त्यसमाथि छोराले नयाँ–नयाँ विषयबारे बताइरहँदा उहाँ रमाइलो मानेर सुन्नुहुन्थ्यो । तर, त्यो रमाइलो रमाइलोमै सीमित भएन । जब छोराले विदेशमा बस्ने अलि टाढाको आफन्तले पठाएको म्यासेज देखाएर रोयो तब उहाँ छाँगाबाट खस्नुभयो ! सामान्य संवादबाट सुरु भएको थियो उनीहरूको कुराकानी, ‘बाबु तिमीलाई नेपाल आउँदा यो ल्याइदिन्छु, तिमीलाई के मन पर्छ ?’

बच्चा अलि खुलेर बोल्न थालेपछि भने ती व्यक्तिले उनलाई अश्लील म्यासेज पठाउन सुरु गरिछन् । उनले प्रयोग गरेका संवाद कस्ता थिए, हामी सोच्न पनि सक्दैनौँ, भोग्नु त परैको कुरा !

कुरा हुँदाहुँदै एक दिन तिनले भनिछन्, ‘तिम्रो... देखाऊ न !’

पक्कै पनि तिमीसँग एकदमै मजा आउँछ... !’

...खै यहीँबाट भए पनि हेरौं न !

...फोनबाट पनि गर्न मिल्छ नि ! हुन त तिमी सानै छौ, तर यो बेला झन् मजा हुन्छ । ल हेर त मलाई, म सिकाउँछु कसरी मजा लिने !’

अनि, आफ्नो नग्न तस्बिर पठाइन् उनले । छोराले आत्तिएर आमालाई भनेपछि बल्ल घटनाबारे हल्लीखल्ली भयो ।

परिवारलाई यो कुराले धेरै समयसम्म बिथोलिरह्यो । छोरामा पनि डराउने/तर्सिनेजस्ता समस्या लामै समयसम्म रहिरह्यो ।

‘सुरुमै छोराले मोबाइल चलाएर रमाएको बेलै मैले ख्याल गरेको भए सायद उसले दुर्व्यवहार भोग्नु पर्दैनथ्यो । त्रुटि भयो १’ आफूलाई एकदमै पछुतो लागेको कुरा उहाँले मसँग भन्नुभएको थियो ।

***

यी तीन घटना त प्रतिनिधि मात्रै हुन् । लकडाउन सुरु भएसँगै यसरी दुर्व्यवहार भोग्ने धेरै बालबालिका र किशोरकिशोरी छन् । माथि उल्लेख भएका दोस्रो र तेस्रो घटनामा पनि दुर्व्यवहार भोग्ने किशोर–किशोरी नै हुन् ।

इन्टरनेट सेवाप्रदायक संघ इस्पानको तथ्यांकले देखाउँछ, लकडाउन सुरु भएसँगै नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५० प्रतिशतले बढेको छ । यस हिसाबले हामी दैनिक कति समय इन्टरनेटमा बिताउँछौ होला त ? तर, त्यो समय आफ्ना लागि कत्तिको उपयोगी रह्यो भन्ने कुराको हेक्का भने सायदै राख्छौँ ।

चाइल्ड सेफ नेटले गरेको एक सर्वेक्षणलाई हेर्ने हो भने चारमध्ये एक जनाले दैनिक १० घण्टाभन्दा बढी इन्टरनेटको प्रयोग गर्छन्, जुन लकडाउनअघि र लकडाउन सुरु भएलगत्तैको समयभन्दा निकै धेरै हो । लकडाउनअघि झन्डै २७ प्रतिशतले दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्दै आएका थिए भने लकडाउन सुरु भएसँगै दैनिक ४ देखि ६ घण्टा इन्टरनेट चलाउने झन्डै ३५ प्रतिशत पुगेका छन् ।

त्यसमध्ये १८ देखि २४ वर्ष उमेर समूहका पाँचमध्ये एक महिला र दसमध्ये एक पुरुषले घृणायुक्त बोली र यौनजन्य सामग्रीहरू फोटो, भिडियो र विभिन्न म्यासेज प्राप्त गर्ने गरेका छन् । सोही अध्ययनअनुसार महिला, बच्चाहरू र युवाले यौनजन्य फोटो, भिडियो र म्यासेजहरू पुरुषको तुलनामा धेरै प्राप्त गरिरहेका छन् । अझ चिन्ताको विषय त यो छ कि १२ वर्षभन्दा कम उमेरका बालिका र किशोरीले पनि इन्टरनेटको माध्यमबाट यौनजन्य सामग्री पाउने गरेका छन् ।

यसबाट प्रस्ट हुन्छ— लकडाउनमा इन्टरनेट प्रयोग बढ्दो छ । इन्टरनेटको माध्यमबाट हुने जोखिम पनि उत्तिकै बढेको छ । चाइल्ड सेफ नेटवर्कले लकडाउन सुरु भएलगत्तै गरेको अध्ययनअनुसार, सामाजिक सञ्जालमा पहिले साथी नभएका, अपरिचित व्यक्तिबाट आएका म्यासेज पढ्ने र उनीहरूसँग कुराकानीको सिलसिला २१.८ प्रतिशतले बढाएको देखिन्छ । यसरी कुरा गर्ने क्रममा १५ प्रतिशत व्यक्तिले घृणा, दुर्व्यवहारसहितका म्यासेज प्राप्त गर्ने गरेका छन् भने १४.५ प्रतिशतले त अपरिचित व्यक्ति, जोसँग उनीहरू समय बिताउनका लागि कुरा गरिरहेका हुन्छन् र उनीहरूबारे जानकार पनि हँुदैनन्, त्यस्ता व्यक्तिबाट यौनजन्य फोटो र भिडियो प्राप्त गर्ने गर्छन् ।

यही तथ्यांकबाट पनि प्रस्ट हुन्छ, हाम्रा आँखैअगाडि हाम्रा बालबालिका कति असुरक्षित छन् भन्ने । कहिलेकसो हामी आफैँलाई पनि थाहा हुँदैन, को मान्छे कसरी बोलिरहेको छ र उसको मनोदशा कस्तो छ भन्ने । हामीले कहिलेकाहीँ सामान्य भनेका कुरा असामान्य भइदिन्छन् । आफूले बेवास्ता गरेका विषयले नै हाम्रो जीवनमा दखल गरिरहेका हुन्छन् । हामी आफ्ना बालबालिकालाई एक छिन रमाएको छ, मोबाइलमा भुलेको छ भनेर छोडिरहेका हुन्छौं । तर, उनीहरूले कस्तो कुरा हेरिरहेका छन्, को मान्छेसँग कुरा गरिरहेका छन् भन्ने वास्ता गर्दैनौं । स–साना बालबालिका या किशोरावस्थामा प्रवेश गरेका किशोरकिशोरीका अभिभावकलाई इन्टरनेटबाट पनि मेरो नानीबाबुहरू यौन दुर्व्यवहारमा पर्न सक्छन् भन्ने थाहा नहुन सक्छ ।

तर, कतिपय अवस्थामा ‘सोसियल स्टिग्मा’ (सामाजिक कलंक) वा अन्य डरका कारण थाहा हुँदाहुँदै पनि हामी अञ्जानजस्तै बनिदिन्छौँ । कारण, एकै छिन भए पनि हामी सन्चोको सास फेर्न चाहन्छौँ । घरको, अफिसको अनि बच्चाको जिम्मेवारीले थिचिरहेको बेला उनीहरू भुलेको देखेर, ‘आ... भुलिराखून् एक छिन...’ भनेर छोडिदिन्छौँ । तर, मेरो बच्चाले कस्तो व्यक्तिसँग कुरा गर्दै छ, उनीहरूबीच के–कस्ता कुरा भएका छन्, मेरो बच्चाले चलाएको ब्राउजर सुरक्षित छ कि छैन या युट्युबमा हेरिरहेको भिडियो कस्तो खालको छ भन्ने बेवास्ता गर्छाैँ । त्यसैको परिणाम हामीले नसोचेको निस्किन सक्छ १ इन्टरनेटबाट हुने यस्ता दुर्व्यवहारविरुद्ध हाम्रो देशमा कानुन नभएको पनि होइन । तर, कतिपयलाई यसबारे थाहा छैन, जसले गर्दा आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई सामाजिक सञ्जालमा ब्लक गर्नुको विकल्प हामीले देख्दैनौँ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालका अनुसार, ‘इन्टरनेटको माध्यमबाट जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने, गर्न लगाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार एक लाख जरिवाना वा पाँच वर्षसम्मको कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।’ यसरी कसैले इन्टरनेटको माध्यमबाट अश्लील भिडियो, फोटोहरू पठाउने, अश्लील शब्दको प्रयोग गर्नेजस्ता क्रियाकलाप गर्ने गरेको खण्डमा काठमाडौं जिल्ला अदालतमा प्रमाणसहित उजुरी दिन सकिने व्यवस्था पनि रहेको खनालको भनाइ छ ।

आफ्ना बालबालिका सामाजिक सञ्जालमा रमाएको देखेर ढुक्क भई बस्ने समय छैन । या हामी पनि ‘नचिन्दैमा के भयो त बोलेपछि चिनजान भैहाल्छ नि ! भनेर चिन्दै नचिनेको मान्छेसँग सामाजिक सञ्जालमा बोलेर बस्ने समय छैन । बालबालिकामाथि हुने दुर्व्यवहारले उनीहरूलाई पछिसम्म पनि नकारात्मक असर पार्न सक्छ । एकोहोरो हुने, टोलाउने, परिवारका सदस्य, साथीभाइसँग घुलमिल हुन नसक्ने या नखोज्नेजस्ता समस्या देखापर्न सक्छन् । यति मात्रै नभएर उनीहरूमा दीर्घकालीन असर पनि पर्न सक्छ ।

त्यसैले इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्नेबारे आफू र आफ्ना बालबालिका दुवैले बुझ्न–बुझाउन उत्तिकै आवश्यक छ । किनभने गलत नियत भएका व्यक्तिले संक्रमणकालीन समयलाई अवसरको रूपमा लिएका हुन सक्छन् । ती गलत मनसाय भएका व्यक्ति घरपरिवारभित्रै, छरछिमेकमा जता पनि हुन सक्छन् । सजग भैदिऊँ है !

प्रकाशित : असार २०, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?