न्युरोडको नबदलिएको चरित्र- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युरोडको नबदलिएको चरित्र

नब्बे सालको भूकम्प नै एउटा त्यस्तो ठूलो संयोग थियो, जसले जुद्धशमशेरलाई न्युरोड बनाउने अवसर जुराइदियो। उनले वास्तवमा सहर बसाउन होइन, आफ्नो रौव देखाउन न्युरोड बनाएका थिए ।
सुरेश किरण

काठमाडौं महानगरपालिका र न्युरोडसमेत समेटिएको वडा नं. २२ ले न्युरोडको रूप फेर्ने योजना बाहिर ल्याएको छ । स्थानीय सरकारले बनाएको यो योजना यदि कुनै घच्चीको सिकार भएन भने अबको केही समयपछि न्युरोडले आफ्नो बाहय स्वरूपमा केही निखार ल्याउने निश्चित छ । न्युरोडबारे नयाँ योजना बन्दै गर्दा मलाई भने यसको पुरानो इतिहासतिर फर्कने इच्छा लाग्यो ।

न्युरोड मूलत: काठमाडौंका रैथाने मानन्धरहरूको ‘ओल्ड’ बस्ती हो, जसको एक सदस्य म आफै पनि थिएँ । यसको पुरानो नाम ‘पाको पुखुद्यां’ थियो । यसको नाम ‘पुखुद्यां’ किन रहन गयो त भन्दा नब्बे सालको भूकम्पअघि यहाँ ठूलो पोखरी थियो । पोखरीलाई नेपालभाषामा ‘पुखू’ भनिन्छ । त्यही पोखरीको डिलसँगै बनेको बस्ती भएकाले यसको नाम ‘पुखुद्यां’ अर्थात् पुखुलद्याङ्ग बन्न गएको हो ।

हुन त पाको पुखुद्यां टोलमा अहिले अरू नेवार जातिका पनि धेरै घर छन् । तर, भर्खरै जंको (भीमरथारोहण) सकेका मेरा काका हरिप्रसाद मानन्धर भने यो मूलत: ‘पुखुद्यांमि मानन्धर’ हरूकै रैथाने टोल भएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार, हालको पीपलबोटबाट रणमुक्तेश्वर जाने बाटो नै यो बेलाको पुरानो बाटो हो । त्यतिबेला न्युरोड बनिसकेको थिएन । पीपलबोटबाट रणमुक्तेश्वर जाँदा बाटोको दायाँतिर पूरै लाइन पोखरीको डिल थियो । त्यहाँ कुनै घर थिएन । बायाँ लाइनमा मात्रै घर थियो । त्यो जम्मै घर मानन्धरको मात्रै थियो । अहिले पनि त्यहाँ हेर्न गयौँ भने हामी पाउँछौँ, दायाँ लाइनका घरधनीहरू विभिन्न जातिका छन् भने बायाँ लाइनका घरधनी जम्मै मानन्धर मात्रै छन् ।

नब्बे सालको भूकम्पपछि जब न्युरोड बनाउन सुरु गरियो, छेउछाउमा घर भएका र अतिक्रमणमा परेका घरधनीलाई स्थानान्तरण गरी पोखरीको डिलमै घर बनाउन दिइयो । त्यसपछि पोखरी पनि रहेन, डिल पनि रहेन । बाटोको एकातिर मानन्धरै मानन्धरको लाइन, अर्कोतिर विभिन्न ठाउँबाट स्थानान्तरण गरी ल्याइएका विभिन्न जातिको लाइन । न्युरोडको यो जातीय समीकरणमा धेरैको ध्यान नगएको पनि हुन सक्छ ।

न्युरोडको बीच भागमा अहिले पनि ठिंग उभिएको राणा प्रधानमन्त्री जुद्धशमशेरको सालिक देख्न सकिन्छ । राज्यमा आफ्नो हालीमुहाली भएका बेला राणा महाराजाहरूले काठमाडौंको जति पनि चोकहरूमा आफ्ना सालिक ठडयाए, २००७ सालको प्रजातन्त्रपछि ती सबै सालिकहरू टुँडिखेलभित्र कुना काप्चामा सारिए । तर, न्युरोडको बीचमै उभिएको श्री ३ जुद्धशमशेरको सालिक भने जहाँको तहीँ रहयो, कतै सारिएन । कारण के त भन्दा अहिले काठमाडौंको मुटुमा नयाँ सडक नामको जुन केन्द्र निर्माण भएको छ, त्यसको निर्माता नै जुद्धशमशेर थिए । त्यसैले पनि होला, प्रजातन्त्रकालपछि राणा शासन हटे पनि जुद्धशमशेरको सालिक भने न्युरोडबाट हटेन ।

नब्बे सालको भूकम्पअघिको वसन्तपुर जहाँ कुमारीघरसँग अरू घरहरू पनि जोडिएरै रहेका देखिन्छन् ।

तर, न्युरोड जुद्धशमशेरले बनाएको भए पनि त्यो उनले कुनै योजनामा टेकेर बनाएको ठाउँ भने होइन । नब्बे सालको भूकम्प नै एउटा त्यस्तो ठूलो संयोग थियो, जसले जुद्धशमशेरलाई न्युरोड बनाउने अवसर जुराइदियो । उनले वास्तवमा सहर बसाउन होइन, आफ्नो रौव देखाउन न्युरोड बनाएका थिए । नब्बे साल माघ २ गते महाभूकम्प जाँदा जुद्धशमशेर पश्चिम नेपालको कञ्चनपुर वनबासाको जंगलमा सिकार खेल्दै थिए । काठमाडौंमा भूकम्प जाँदा उनी हात्तीमै सवार थिए । हल्का कम्प त्यहाँ गएको भए पनि काठमाडौंमा भएको तबाहीबारे उनी बेखबर थिए । त्यतिबेला काठमाडौंबाट कञ्चनपुरमा कुनै सूचना पुर्‍याउनुपर्‍यो भने करिब दुई घण्टा जति समय लाग्ने गर्दथ्यो । तर, भूकम्पले सूचनाका सबै साधन ध्वस्त बनाएकाले जुद्धशमशेरले त्यो सूचना थाहा पाउन चार दिन कुर्नुपर्‍यो । २ गते गएको भूकम्पको खबर उनले ५ गते मात्रै पाए । सिकार कार्यक्रमलाई बीचमै त्यागेर काठमाडौं आइपुग्दा यता जंगीलाठ पद्मशमशेरको अध्यक्षतामा ५० सदस्यीय ‘भूकम्पपीडित सेवा दल’ गठन गरी उद्धार कार्य चलिरहेको थियो । तर, त्यो देखेर जुद्धशमशेर भने खुसी भएनन् । उनलाई लाग्यो— यो सेवा दलको कामले त देशमा पद्मशमशेरको पो हाई–हाई हुने देखियो । त्यसपछि उनले पद्मशमशेरवाला सेवा दल भंग गरी आफ्ना विश्वासपात्र गुरुज्यू हेमराज पाँडेको अध्यक्षतामा ‘भूकम्प पीडितोद्धार संस्था’ नामक अर्को उद्धार संस्था गठन गरे र उद्धारको कार्य त्यसैमार्फत थाले । सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यसबखतको नेपाल, भाग २’ मा यसको वर्णन गरेका छन् ।

उद्धार कार्य गर्दै जाँदा राणा शासकबीच कसले कति काम गरे, कति गर्न सकेनन् भन्ने विषयमा भित्रभित्रै ईख र नजानिँदो प्रतिस्पर्धासमेत सुरु हुन थालिसकेको रहेछ । यसै क्रममा भूकम्पले ढलेका घरहरू बनाउन सरकारले प्रदान गरेको निब्र्याजी सापटी आफूले तिरिदिने भनी कलकत्तामा उपचार गराइरहेका जर्नेल तेजशमशेरले प्रस्ताव पठाए । जुद्धशमशेरले यसलाई सहयोग होइन, आफूलाई दिइएको चुनौतीका रूपमा लिए । त्यसको सामना गर्दै जुद्धशमशेरले भूकम्पमा दिएको त्यो सापटी जम्मै सरकारले मिनाहा गर्ने घोषणा गरे । मिनाहा गरिएको त्यो रकम २९ लाख ८२ हजार ३१६/६२ पैसा थियो । त्यतिबेला काठमाडौंमा पाँच–छ हजार रुपैयाँमा एउटा पक्की घर आउँथ्यो । मुलुकको वार्षिक राजस्व करिब ३ करोड जति उठ्थ्यो । सरकारले मिनाहा गरेको त्यो सापटीबाट सर्वसाधारण जनतालाई भने कुनै लाभ भएन । किनभने घर बनाउन सरकारबाट सापटी लिनेहरू जम्मै राणाजीहरूका सन्तान, सैनिक अधिकृत र दरवारका पुरोहित मात्रै थिए ।

त्यसपछि जुद्धशमशेरलाई मुलुकमा अझै केही गरेर अरूलाई ‘देखाइदिने’ झोंक चल्न थाल्यो । त्यही क्रममा उनले बनाएको नयाँ खाले सडक थियो— न्युरोड । टुँडिखेलदेखि भूगोलपार्कसम्मै तानेर बनाइएको त्यो सडक बायाँतर्फ इन्द्रचोकसम्म र दायाँतर्फ पुरानो भन्सारसम्म तन्किएको छ । त्यतिबेला त्यहाँ कुनै सडक थिएन । खाली रहेको बालीमै नयाँ सडक निकालिएको थियो । जुद्धशमशेरले यो तीनदोबाटोको बीचमा आफ्नै एउटा सालिक राख्न लगाए । टुँडिखेलबाट भित्र प्रवेश गर्न टुँडिखेलनिरको चोकमा एउटा ढोका पनि बनाइदिए, जसलाई पछि ‘न्युरोड गेट’ भन्न थालियो । मध्यकालतिर काठमाडौंको सीमा तोक्न बनाइएका परम्परागत ढोकाको सूचीमा यो गेट छैन । यो राणाकालमा बनाइएको नयाँ ढोका हो । जुद्धशमशेरले आफ्नो सालिकलाई हनुमानढोका दरबारतिर नफर्काई नयाँ बनाएको न्युरोड गेटतिरै फर्काएर राखे । आफूले बनाएको नयाँ सडकप्रतिको उनको मोह यसबाट झल्किन्छ ।

जुद्धशमशेरले नयाँ बनाएको बाटोको नाम ‘जुद्ध सडक’ राखेका थिए । तर, त्यो बाटो पूरै नयाँ भएकाले मानिसले त्यसलाई स्थानीय भाषामा ‘न्हू सतक’ भन्न थाले । पछि त्यसलाई ‘नयाँ सडक’ भन्न थालियो । अहिले ‘न्युरोड’ भन्न थालिएको छ । ‘न्युरोड’ ले आज ‘जुद्ध सडक’ मात्र होइन, त्योभन्दा पनि अघिको ‘पाको पुखुलद्यांग’ नामलाई समेत लोप बनाइसकेको छ ।

केही वर्षअघिको न्युरोड

‘नयाँ सडक’ नामले मात्र नयाँ होइन । सडकै नभएको ठाउँमा बनाइएको साँच्चिकै नयाँ थियो । साथै शैलीका हिसाबले पनि त्यो नयाँ थियो । काठमाडौंमा त्यतिबेला अरूतिर पनि सडक नभएको होइन । खासगरी कुमारी जात्रा र जनबहा:द्य: (सेतो मछिन्द्रनाथ) को जात्रा चलाउन बनाइएका सडकहरू अलि फराकिला नै थिए । तर, नयाँ सडकमा पहिलोपटक फुटपाथसमेत आयो, अनि पिच पनि गरियो । फुटपाथ भएको र पिच पनि गरिएको नेपालकै पहिलो सडक न्युरोड हो ।

पहिले न्युरोडबाट सिधै इन्द्रचोक पुग्ने बाटो थिएन । त्यहाँ घर, निजी बारी र भण्डारखाल थियो । जुद्धशमशेरले आफ्नो सालिक भएको ठाउँदेखि सिधै इन्द्रचोकसम्म भण्डारखालको जग्गा काटेर नयाँ बाटो बनाए । बाटोको बीचमै एउटा परम्परागत डबली थियो । हरेक वर्ष इन्द्रजात्राका दिन उक्त डबलीमा दीप्याखं (देवीनाच) देखाउने चलन थियो । डबली नभएपछि अहिले डबली भएकै ठाउँमा डबलीको सिमाना अनुमान गरी दीप्याखं देखाउने गरिँदै आएको छ ।

इन्द्रचोकमा आकाश भैरवको मन्दिर अगाडि बाटोमै कान्तेश्वर महादेवको मूर्ति रहेको छ । जुद्धशमशेरले न्युरोडलाई कान्तेश्वरसम्मै विस्तार गरेको थियो । त्यसपछि विभिन्न कालखण्डमा त्यहाँ गरिएको पिचले सडकको उचाइ बढ्दै जान थाल्यो । सडकको उचाइ बढेपछि कान्तेश्वर महादेव धमाधम खाल्डोमा पर्दै जान थाल्यो । काठमाडौंलाई मल्लकालमा ‘कान्तिपुर’ नामबाट चिनिन्थ्यो । कान्तिपुर शब्द यही कान्तेश्वर महादेवबाट निकालिएको हो । न्युरोड बनेपछि त्यहाँ हिँड्ने मानिसको भीडभाडमा कान्तेश्वर महादेव हराउन थाल्यो ।

वसन्तपुरको कुमारीघरसँगै अहिले जुन खुला ठाउँ रहेको छ, नब्बे सालको भूकम्पअघि त्यहाँ पूरा घरैघर थियो । ती घरहरू वसन्तपुरकै सिख्वंमूबहा: अर्थात श्रीखण्डतरुमूल महाविहारको अंग थियो । त्यहाँभित्र घरहरूले घेरिएको दुइटा बहिलसमेत थिए । भूकम्पपछि ती जम्मै घरलाई अन्तै सारेर त्यो ठाउँलाई पूरै खुला गरियो ।

भूकम्पपछि जुन नयाँ घरहरू बने, ती भने काठमाडौंको मौलिक शैलीभन्दा फरक थिए । रातो झिंगटी र टायलको ठाउँमा जस्तापाताको छानो राख्न थालियो । जस्तापाता सजिलो र माथि बस्न पनि मिल्ने भएकाले मानिसहरूले त्यसैलाई रुचाए । हुन त नयाँ बन्ने घरको डिजाइन मौलिक शैलीमा हुनुपर्छ भन्ने सूचना त्यतिबेला पनि जारी गरिएको थियो । तर, त्यसलाई न दुनियाँदारले वास्ता गरे, न सरकारले अनुगमन । फलत: पुनर्निर्माणको नाउँमा काठमाडौंले क्रमश: आफ्नो मौलिकपन गुमाउँदै जान थाल्यो । अहिले हाम्रो हातमा जुन मौलिकता हराएको अस्तव्यस्त काठमाडौं छ, यो भद्रगोलका ेथालनी नयाँ सडक निर्माण सँगसँगै हुन थालेको थियो । यदि यसलाई त्यही बेला कडाइ गरिएको भए काठमाडौं आफ्नो मौलिक लिकबाट बाहिर जाँदैन थियो होला ।

सामान्यतया राणा शासकहरू क्रूर, निर्दयी र तानाशाही हुने गर्थे । जुद्धशमशेर त झन् स्त्रीलम्पट पनि थिए । बाटो हिँड्दै गर्दा झुलुक्क देखेको कुनै युवती मन पर्‍यो भने उसलाई दरबारै लिएर जाने उनको चरित्र थियो । यति हुँदाहुँदै पनि जुद्धशमशेरमा एउटा अर्को गुण पनि थियो, उनी विकासप्रेमी थिए । भूकम्पको पुनर्निर्माण पछि उनले विभिन्न उद्योगहरू पनि खोल्न सुरु गरे । तीमध्ये कतिपय उद्योगको केन्द्र न्युरोडमै रहयो । जस्तो नेपाल बैंक लिमिटेड, सरकारी पत्रिका ‘गोर्खापत्र’ को कार्यालय, जुद्ध वारुणयन्त्र (दमकल), विदेशबाट सामान आयात गरी बिक्री वितरण गरिने आदर्श भण्डार, नेपाल वस्त्रकला प्रचार संस्था आदि । यसको लागि जुद्धशमशेरले जर्नेल सिंहशमशेर, विजयशमशेर आदिजस्ता राणा विद्वान्हरूको सहयोग लिएका थिए ।

डा. साफल्य अमात्य लिखित पुस्तक ‘काठमाडौं नगरायण’ अनुसार न्युरोड नेपालकै पहिलो त्यस्तो ठाउँ हो, जुन पूरा सहरी योजनाअनुसार निर्माण भएको हो । न्युरोडमा जुद्धशमशेरले छोडेर गएको सहरी विकासको यो रफ्तार उनी मात्र होइन उनको जहानियाँ शासनै खत्तम भइसक्दा पनि थामिएन । मैले एउटा अर्को लेखमा पनि उल्लेख गरिसकेको छु, न्युरोडमा नेपालकै पहिलो बैंक (नेपाल बैंक लिमिटेड), पहिलो व्यवस्थित पार्क (भूगोलपार्क), पहिलो सिनेमाभवन (जनसेवा सिनेमा), पहिलो सपिङ मल (विशाल बजार), पहिलो फोटो पसल, पहिलो रेस्टुरेन्ट पसल आदिजस्ता उद्योगहरू खोलिएको थियो । सत्यनारायणबहादुर श्रेष्ठले २००९ सालमा सुरु गरेको नेपाल पत्रकार संघको केन्द्रीय कार्यालय पनि न्युरोडमै थियो । कुनै बेला न्युरोडको पीपलबोट देशभरिकै राजनीतिक नेता तथा पत्रकार भेटघाट हुने केन्द्र बनेको थियो । अहिले अनेक सञ्चार माध्यमहरूको विकासले पीपलबोटमा त्यो खाले भेटघाट शून्य भइसकेको छ ।

हालको न्युरोड

न्युरोडका वडा अध्यक्ष चिनीकाजी महर्जनका अनुसार, जे कुरामा पनि ‘पहिलो बन्ने’ न्युरोडको त्यो चरित्र अझै बदलिएको छैन । अहिले न्युरोड नेपालकै त्यस्तो ठूलो मोबाइल हब बनिसकेको छ, जहाँ संसारको कुनै पनि देशमा निर्माण हुने नयाँ मोडेलको मोबाइल सबैभन्दा पहिले पुग्ने गर्छ । दुनियाँमा सबैभन्दा महँगो मानिने हीराको कारोबार यही ठाउँबाट हुन्छ भने सुनको सबैभन्दा नयाँ डिजाइनको गहना यहीँ गालिन्छ । न्युरोड क्षेत्र रहेको कामपा २२ वडाको जनसंख्या करिब ९ हजार हाराहारी छ तर पसल संख्या भने त्योभन्दा बढी अर्थात् १० हजार हाराहारी छ । करिब ४० वटा त सपिङ मलै छन् । दिनमा अर्बौं रुपैयाँभन्दा बढीको कारोबार हुने यो सानो क्षेत्रमा नेपालका जम्मै ‘क’ वर्गका बैंकले कार्यालय खोलेका छन् । न्युरोडको जग्गालाई सरकारले प्रतिआना ६० लाख मूल्यांकन गरेको छ तर केही वर्षअघि एउटा घर खरिद–बिक्री हुँदा आनाको ५ करोड तिरिएको थियो तथापि अहिले त्यहाँ बेच्न वा किन्नका लागि जग्गा भने एक इन्च पनि बाँकी छैन ।

न्युरोडको निर्माण एउटा भूकम्पले नगरमा ल्याएको ठूलो परिवर्तनको जीवित नमुना हो । यसैलाई आधार मानी ‘नेपाल मण्डल’ पुस्तककी लेखिका मेरी स्लसरले नेपालमा यसअघि आएका अरू भूकम्प, आगलागी आदिजस्ता प्रकोपपछि पनि यसरी नै नगरको रूप बदल्ने गरी पुनर्निर्माण कार्य भएको हुनुपर्ने अनुमान गरेकी छन् । सयौं, हजारौं वर्षअघि भएको त्यस्तो परिवर्तनले काठमाडौंको नगर स्वरूपलाई त्यसको मौलिकताबाट अलिकति भए पनि फरक पारेको हुन सक्ने उनको अनुमान छ । यसरी न्युरोडको निर्माण सदियौं पुरानो इतिहासलाई हेर्न मिल्ने नयाँ आँखासमेत बनेको छ ।

क्षेत्रफलको हिसाबले हेर्ने हो भने काठमाडौंको वडा नं. २२ महानगरको सबैभन्दा साना वडामध्ये पर्छ । त्यसमा पनि न्युरोड यो वडाको एउटा सानो टोल मात्रै हो । तर, क्षेत्रफलमा यति मसिनो भए पनि नेपाली सहरी विकासको सम्पूर्ण इतिहासै गर्भमा बोकेका कारण न्युरोडको महत्त्व र गुरुत्व अरूका दाँजोमा अतुलनीय छ । अहिले न्युरोड सहरको त्यस्तो ज्ञानेन्द्रीय तत्त्व बनिसकेको छ, जसको अस्तित्वलाई नजरअन्दाज गरी काठमाडौंको कल्पना गर्न सकिँदैन । त्यसैले पनि होला, वडाअध्यक्ष महर्जन भन्छन्, ‘काठमाडौंको मौलिकताबाट टाढा हुन खोजेको न्युरोडलाई अलिकता भए पनि लिकमा तान्न हामी यसको रूप फेर्ने कोसिसमा छौँ ।’


प्रकाशित : असार २०, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनापछि काठमाडौं

काठमाडौंमा कोरोना ठीक यहीबेला छिरेको छ, जतिबेला काठमाडौं उपत्यका यहाँको प्राचीनतम सांस्कृतिक जात्रा–पर्वहरूमा पूर्णतः जीवन्त हुनेगर्छ । कोरोनाले काठमाडौंका सबै जात्रापर्वलाई ठप्प पारिदिएको छ ।
सुरेश किरण

काठमाडौँ — कोरोना संक्रमणले मानिसको जीवनलाई त प्रभाव पारेकै छ, सिङ्गो सहरकै जीवनलाई पनि उत्तिकै प्रभाव पारेको छ । नेपालमा सबैभन्दा बढी कोरोना–प्रभावित कुनै सहर छ भने त्यो काठमाडौं नै हो । काठमाडौं उपत्यकाले सास फेर्ने भनेको यहाँको सम्पदा र संस्कृतिमा हो ।

काठमाडौंमा कोरोना ठीक यहीबेला छिरेको छ, जतिबेला काठमाडौं उपत्यका यहाँको प्राचीनतम सांस्कृतिक जात्रा–पर्वहरूमा पूर्णतः जीवन्त हुनेगर्छ । कोरोनाले काठमाडौंका सबै जात्रापर्वलाई ठप्प पारिदिएको छ ।

यदि कुनै महामारीले नछोएको भए काठमाडौं उपत्यकामा अहिले कुनै पनि जात्रा–पर्व स्थगनको कल्पनासम्म पनि कसैले गर्दैनथ्यो । जात्रापर्व रोकिनु भनेको यो सहर कोभिड–१९ को संक्रमणमा आइसकेजत्तिकैको अवस्था हो । यहाँ बसोबास गर्ने कुनै नागरिक कोरोना भाइरसको संक्रमणमा नआए पनि काठमाडौं सहर आफैँचाहिँ यसको संक्रमणले ग्रसित भइसकेको प्रमाण हो यो । जात्रा–पर्व बन्द हुनुको अर्थ सहरको फोक्सो बन्द हुनुजस्तै हो । कोरोना भाइरसले यदि मानिसको फोक्सोमा आक्रमण गर्ने हो भने यसले काठमाडौंको फोक्सोमा आक्रमण गरी नै सकेको छ । काठमाडौंवासीहरू कोरोनाले बचे पनि काठमाडौं स्वयम् भने यसबाट बच्न सकेको देखिएन ।

कोरोनाबारे धेरैले अझै बुझेका छैनन् । तर, पनि काठमाडौंवासीले कोरोना ठूलै रोग रहेछ भन्ने त्यतिबेला मात्रै बुझे, जब उनीहरूको असीम आस्थाका केन्द्र बनेका ठूला जात्रा–पर्वहरू एकपछि अर्को स्थगित हुँदै गए । काठमाडौंवासीले कोरोनालाई बुझेको स्वास्थ्यमा आएको कुनै खराबीले होइन, संस्कृतिमा आएको गडबडीले हो ।

कोरोनाको कारण सबैभन्दा पहिले बन्द भएको जात्रा पाहाँचःर्‍हे थियो । पाहाँचःर्‍हे काठमाडौंको प्राचीनतम जात्रामध्ये एक हो । काठमाडौं सहर निर्माण हुँदा यसको खड्गाकार भूगोलको आठवटा कुनामा आठै जना अजिमा स्थापना गरिएको थियो । ती सबै अजिमाको सामूहिक जात्रा नै पाहाँचःर्‍हेको जात्रा हो । अजिमाहरू काठमाडौंका नितान्त मौलिक देवीहरू हुन्, भारतबाट आयातित होइनन् । हाल इन्द्रजात्राताका रथयात्रा गरिने कुमारीलाई समेत कुनै बेला पाहाँचःर्‍हेकै बेला घोडा चढाई काठमाडौं परिक्रमा गराउने चलन रहेको इतिहासशिरोमणि बाबुराम आचार्यले लेखेका छन् । कुमारीलाई इन्द्रजात्रामा रथमा राखेर घुमाउने चलन आएपछि पाहाँचःर्‍हेमा कुमारीको घोडालाई मात्रै डुलाउने चलन हुनथाल्यो, जुन पछि ‘घोडेजात्रा’ पर्वमा रूपान्तरण हुन पुग्यो । पाहाँचःर्‍हेमा अजिमाहरूको खट जात्रा रोक्ने निर्णय हुँदासम्म मुलुक लकडाउनमा गइसकेको थिएन, त्यसैले कतिपय स्थानीयवासीले पाहाँचःर्‍हे रोक्ने निर्णयको कडा विरोधसमेत गरेका थिए ।

पाहाँचःर्‍हेपछि काठमाडौंमा अत्यन्त हर्षोल्लासपूर्वक मनाइने जनबहाःद्यः (सेतो मछिन्द्रनाथ) को रथयात्रा बन्द हुन पुग्यो । जनबहाःद्यःको रथयात्रा काठमाडौंको कुमारीको रथयात्राभन्दा पनि पुरानो रथयात्रा हो । किंवदन्ती कस्तो छ भने जनबहाःद्यःको रथयात्रा हेर्नका लागि नै एकपटक कल्पवृक्षसमेत मानिसको भेषमा काठमाडौं आएका थिए । तर, काठमाडौंका तान्त्रिकहरूले उनी पक्कै काठमाडौंवासी होइनन्, को हुन् जान्नुपर्‍यो भनी उनलाई तन्त्रबल प्रयोग गरी कैद गरे । पछि बुझ्दा थाहा भयो, उनी कल्पवृक्ष रहेछन् । कल्पवृक्षले काठमाडौंका लागि एउटा ठूलो कल्पवृक्षको बोट दिने वाचा गरी बन्धनबाट मुक्त भए । उनैले दिएको बोटबाट जुन विशाल कल्पवृक्षको जन्म भयो, त्यही कल्पवृक्षबाट काष्ठमण्डप बनाउने काम भयो । त्यही काष्ठमण्डपबाट यो नगरले ‘काठमाडौं’ भन्ने नाम पायो । काठमाडौंसँग जनबहाःद्यःको कथा यसरी जोडिन्छ । कोरोनाले जनबहाःद्यःको जात्रा पनि रोकियो ।

त्यसपछि साँखुको वज्रयोगिनी जात्रा । साँखुको वज्रयोगिनी जात्रालाई उपत्यकाकै सम्भवतः सबैभन्दा पुरानो जात्राको रूपमा लिइन्छ । काठमाडौंमा प्रचलित वज्रयानी बुद्ध धर्मको उद्गमस्थल नै साँखुको गुँविहारस्थित वज्रयोगिनीलाई मानिन्छ । त्यसैले पनि यो जात्राको महत्त्व गहन छ । नेपालको धार्मिक–सांस्कृतिक इतिहासमा साँखु अर्थात् ‘सक्वदेय्’ सँग स्वस्थानी व्रत, नेमुनि, शंकराचार्य आदि प्रसंग जोडिएका छन् ।

विक्रम संवत्को नयाँ वर्ष सुरु भएसँगै भक्तपुरमा विश्वप्रसिद्ध बिस्काः (बिस्केट) जात्रा सुरु हुन्छ । त्यो पनि अहिले रोकिएको छ । सुरु भएदेखि अहिलेसम्म कहिल्यै नरोकिएको बिस्काःको यो स्थगन स्वयम् कोरोना संक्रमणजत्तिकै ठूलो परिघटना हो । यो कति अविस्मरणीय सन्दर्भ हो भने भोलि मानिसले कोरोनालाई बिर्से पनि इतिहासमा बिस्काः स्थगन भएको प्रसंगले यो महामारी सम्झाइदिन सक्छ । बिस्काः जात्रा रोकिनु इतिहासकै ठूलो घटना भएको छ ।

प्राचीन नगर टोखा र सांस्कृतिक नगरी ठिमीको बिस्काः जात्रा पनि यतिबेला रोकिएको छ । यहीबेला ठिमीमा सिन्दूर जात्रा र बोडेमा जिब्रो प्वाल पार्ने जात्राको रौनक उच्चस्तरमा पुगिरहेको हुन्थ्यो । त्यो अहिले ठप्प भएको छ ।

अब सुरु हुने नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित बुंगद्यः (रातो मछिन्द्रनाथ) को जात्रा रोकिने क्रममा छ । ललितपुरमा मनाइने मछिन्द्रनाथको यो यात्रा सुरु भएपछि करिब डेढदेखि दुई महिनासम्म चल्छ । यसअघि महाभूकम्प जाँदा, ठूला राजनीतिक आन्दोलन हुँदा पनि नरोकिएको यो जात्रा यसपटक कोरोनाकै कारण स्थगनमा पर्दै छ । वर्षाका देवता मानिने रातो मछिन्द्रनाथको जात्राकै क्रममा ललितपुर नगरभरि पानी बग्ने नहर तथा ढलहरूको सरसफाइ गरिन्छ । यो सफाइ जात्राको निहुँमा गरिने भए पनि यसको खास उद्देश्य वर्षात सुरु हुनुअघि खेतखलियानतिर बग्ने पानीको बहाव कतै पनि अवरुद्ध नहोस् भन्ने नै हो । कृषिलाई संस्कृतिसँग जोडेर उत्पादन बढाउने बुद्धिमत्तापूर्ण सुझबुझ तत्कालीन समाजले गरेको रहेछ ।

आजसम्म चल्दै आइरहेका यी जात्रा बन्द हुनु उपत्यकावासीका लागि पूरै देश बन्द हुनुभन्दा बढी विशादपूर्ण छ । यी जात्रा पर्वहरू बन्द भएका कारण गएको दुई महिना काठमाडौंबाट पूरा काठमाडौं नै गायब भएसरह भएको छ । कोरोना जति लम्बिँदै जानेछ, काठमाडौंवासीले भुल्न नसक्ने घटनाको सूची पनि थपिँदै जानेछ ।

...

काठमाडौंवासी अर्को पनि तीतो अनुभव मनमा खाँद्न विवश भए । कोरोना रोक्ने नाममा सरकारले जसै लकडाउनको तयारी गर्‍यो, लाखौं मानिस काठमाडौं छोडेर बाहिर गए । उनीहरूलाई लाग्यो, कोरोनाबाट बच्ने सबैभन्दा सुरक्षित थलो आफ्नै गाउँ हो, काठमाडौं होइन । जसको गाउँमा घर छ उनीहरू त गए, जसको काठमाडौंमा मात्रै घर छ उनीहरू कहाँ जाने ? काठमाडौंमा लाखौं जनसंख्या भए पनि तिनीहरूबीच ‘काठमाडौं बाहिरका’ र ‘काठमाडौं भित्रका’ भन्ने दुई अलग कित्ता रहेको स्पष्ट झलक यसले अगाडि ल्याइदियो ।

सरकारले पनि अहिलेसम्म यो मुलुकलाई ‘घर’ होइन आफ्नो ‘डेरा’ ठानेको छ । काठमाडौंवासीलाई यही चिन्ता छ ।

प्रकाशित : वैशाख ६, २०७७ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×