कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पृथ्वीको पुरातन रिस

मांसप्रतिको अति आसक्तिले हामी हरेक किसिमका जंगली जनावरको मासु खान थालेका छौं । हामी जे पनि खान र जे पनि पचाउन सक्छौं । तर, हाम्रोसामु उभिएको वैज्ञानिक तथ्यलाई अस्वीकार गर्छौं ।
अरुण गुप्तो

भाइरोलोजी (भाइरससम्बन्धी अध्ययन) र सेरोलोजी (शरीरको प्रतिरक्षा क्षमताबारे अध्ययन)को सम्बन्ध बल्ल बुझ्दै छु । यी दुई विषयमाथि अध्ययन गर्नुअघि प्रकृतिमाथि घोत्लिनु आवश्यक छ । भाइरसको अध्ययनअघि प्रकृति र मानवीय सम्बन्धको संकटबारे बुझ्नु पनि आवश्यक छ । भाइरस, प्रकृति र मान्छेको सम्बन्ध बुझ्न त्यति सजिलो छैन । विज्ञानविहीन बुझाइको कुनै अर्थ पनि हुँदैन ।

पृथ्वीको पुरातन रिस

विकसित राष्ट्रका नेताहरूले क्लाइमेट चेन्जजस्ता तथ्यलाई वैज्ञानिक दृष्टिकोणबाट नहेर्नु विपद्को ठूलो कारण बन्दै छ । विपद्सँगै हामी धर्म र विज्ञानमाथि पनि घोत्लिनुपर्छ । धर्म आफैँमा पूर्ण ज्ञान होइन, त्यसमा वैज्ञानिक दृष्टिकोण आवश्यक हुन्छ । उदाहरणस्वरूप, आकाशका नक्षत्रसम्बन्धी मिथकको प्राचीन सम्बन्ध धर्मसँग छ । त्यो एउटा पुरातन वैज्ञानिक बुझाइ थियो । केही शताब्दीको विज्ञानको खोजले त्यसमाथि विश्वलाई अर्कै ज्ञान दिएको छ । वैज्ञानिक दृष्टिकोणलाई पर सार्दै नक्षत्रले मेरो दैनिक जीवनमा प्रभाव पार्छन् भन्ने आस्था राख्नु धर्मकै अपमान हो ।

भाइरसलाई लिएर अन्तर्राष्ट्रिय आक्षेप, तनाव र फेक न्युज व्यापक छन् । बीबीसीको एउटा लेखअनुसार, फेसबुक पोस्टमा धेरैजसो आप्रवास, इस्लाम, यहुदी, एलजिबिटी, अभिजात वर्ग र केही धार्मिक समुदायलाई भाइरसका लागि दोषी देखाइएको छ । मानिसहरू गलत ज्ञान र जानकारीमै मस्त छन् । भाइरसबारे वैज्ञानिक तथ्य र ज्ञानमा मानिसको रुचि छैन ।

000

औद्योगिक विकासको व्यापक तीव्रता अहिलेको ठूलो चिन्ताको विषय हो । प्रकृति–इतिहासकार सर डेविड एटेन्बोरोको चिन्ता हामीले उनका थुप्रै लेखमा पढिसकेका छौं । समुद्रले कार्बन अवशोषित गर्न त सक्छ तर हामी यसको सीमा पार गर्दै छौं ।

मासु खाने क्षमताले मानिस ग्रीक देउता कोरोनसझैं बन्दै छ । कोरोनसले आफ्ना सन्तानहरू खान खोजेको थियो । कोरोनसको छोराले नै उनको संहार गरे । कोरोना र कोरोनसको जैविक सम्बन्ध त छैन । तर, कोरोनसको बानी हामीसँग छ । मांसप्रतिको अति आसक्तिले हामी हरेक किसिमका जंगली जनावरको मासु खान थालेका छौं । हामी जे पनि खान र जे पनि पचाउन सक्छौं । तर, हाम्रोसामु उभिएको वैज्ञानिक तथ्यलाई अस्वीकार गर्छौं । जेनेटिक पथोजेन रोगजनक सूक्ष्म जीव हो, जो मानव र जनावरको श्वास–प्रश्वास, दूषित खाद्य वस्तु र पानी, हात–मुखको सम्पर्क आदिबाट प्रसार हुन्छ । हाम्रो रोगनासक क्षमता कमजोर हुँदा पाथोजिनले समस्या उत्पन्न गर्छ र यो फेरि अर्को शरीरमा सर्छ ।

एसियाका वेट बजारहरूमा मासु खान सिभेट बिरालो, सर्प, सालक, चमेरो, ओट्टर, मयूर, ब्वाँसोका बच्चाहरू, मारमोटजस्ता अप्राप्य जीवजन्तु बेचिन्छन् । हाम्रै मासु बजारको पनि सूक्ष्म निरीक्षण गरिँदैन । भाइरसका लागि उहान वेट बजारलाई मात्रै दोष दिनु अन्तर्राष्ट्रिय सञ्चारको पूर्वाग्रह हो । हामी आफ्नो खाने–बस्ने क्षमताभन्दा बाहिर जोर–जबरजस्ती गर्दै छौं ।

सेक्सपियरको एउटा भनाइ प्रासंगिक हुन जान्छ । ‘रोमियो र जुलियट’ नाटकमा एक पात्रले भन्छ, ‘यदि आफ्नो औंला चाट्न सकिएन भने परिकार नमिठो ठहरिन्छ ।’ नेपालको भान्सामा पाक्ने हाम्रो ‘स्वादिष्ट’ व्यञ्जन पनि विदेशीलाई पटक्कै मिठो नलाग्न सक्छ । नाटकको त्यो पात्रले आफ्नो भन्साको कुरा गरेका होलान् । केही जनावर भान्साका लागि उपयुक्त नहुनुमै हाम्रो कल्याण छ । भाइरस आतंकले अहिले औंला र मुखबीचको दूरी बढेको छ । मेरा एक आतंकित साथीले खाना खाँदा पनि औंलाको प्रयोगमा निषेध गरेका छन् । भन्छन्, ‘म समस्यामा छु, मासु पाउनै गाह्रो छ । पाए पनि काँटा–चम्चाले खाँदा साग खाएजस्तो लाग्छ ।’ उनका काका पञ्चायतकालका सांसद थिए । काका भन्थे, ‘मुखबाट तान्दा मासु कानसम्म तन्किएन भने, के काम १ बरु हलुवा खाऊ, मासु किन खाने ?’ सायद उनी कोभिड–१९ र वेट बजारका मानिस थिए ।

000

भाइरसको प्रकोप वायु प्रदूषणसँग सम्बन्धित छ । यो तथ्य प्रमाणित भएको त छैन तर डब्लूएचओका केही रिपोर्टअनुसार, उच्चवायु प्रदूषण भएका देशमा कोभिड–१९ को प्रकोपमा वृद्धि भएको देखिन्छ । यो भाइरसले फोक्सोलाई नराम्रोसँग हानि पुर्‍याउँछ । कमजोर फोक्सो छ भने अवस्था झन् डरमर्दो हुन्छ ।

अहिले मानिसले गर्मीमा पनि शीतलता अनुभव गर्नु, भारत विहारबाट पनि स्वच्छ हिमशिखर देखिनु, सहरभित्र पनि जंगली जनावर हिँड्नु भाइरस–उपहारको विडम्बना हो । भारतीय वातावरणविद् बन्दना शिवा भन्छिन्, ‘कोरोना भाइरसको फैलावट विश्वव्यापी देखिन्छ । जब हामी अरू प्रजातिको आवासमा आक्रमण गर्छौं, व्यावसायिक फाइदा र लोभका लागि बिरुवा जनावरहरूमा (प्राणीशास्त्रीय र जैविक) हेरफेर गर्छौं र मोनोकल्चर फैलाउँछौं, भाइरसले पनि संसार यात्रा गर्छ ।’ संसारका अन्य वस्तु हाम्रा लागि कच्चा माल होइनन् । प्रकृति हाम्रा लागि कच्चा मालको रूपमा देखियो भने कोरोनाजस्तै अरू विकराल रूप हामीसामु आउँछन् । अस्ट्रेलियाका प्राध्यापक क्रोजिएर द रोजा लेख्छिन्, ‘अस्ट्रेलियाको आगोको बारेमा हामीले सुन्दै–पढ्दै आएका छौं । उपनिवेशवादका बेला अस्ट्रेलियाका झाडीलाई स्त्रीस्वरूप बुझिन्थ्यो । झाडीलाई कठोर, बाँझो र पोषण गर्न नसक्ने पुरुषको विजय इच्छा पूर्ण गर्न र बाँच्न नदिने शत्रुरूपी प्रकृतिको रूपमा देखिन्थ्यो । आफ्नो अक्षमतालाई हतियार बनाएर कहिले स्त्रीमाथि, कहिले प्रकृतिमाथि आक्षेप गर्ने प्रवृत्तिलाई वातावरणीय चिन्तनले खण्डन गर्छ ।’

अहिले काठमाडौंमाथिको नीलो आकाश देख्दा म जेम्स लभलकको गाया परिकल्पनाको सिद्धान्त सम्झन्छु । गाया अथवा पृथ्वी आफैंलाई नियमन र संहार गर्ने शक्ति हो ।

अरू करोडौं प्राणीजस्तै पृथ्वी मानिसको पनि हो । तर, पछिल्लो मानिस सोच्न थालेको छ– पृथ्वी हाम्रो मात्रै हो । आफू बिग्रेको अनुभव गरेपछि पृथ्वीले आफूलाई सुधार्न, व्यवस्थित गर्न मानवजातिको नास गर्न एक छिन पनि सोच्दैन । नक्षत्रको पूजा गरेर वा होम गरेर पृथ्वीको पुरातन रिसलाई छल्न सकिँदैन । थप प्रताडना प्रतीक्षा गर्नु मानवजातिको भाग्य हुन सक्छ ।

प्रकाशित : असार १३, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?