१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घाट मोनोलग

केही समयअघि डिप्रेसनले मलाई नराम्रोसँग गिजोल्यो । डिप्रेसनको ‘कर्भ’ एकनासको हुँदैन । बढ्ने–घट्ने भइरहन्छ । कहिलेकाहीँ  ‘पिक’ मा पुग्दा असह्य हुन्छ । त्यस्तै ‘पिक’ अवस्थामा म अनायास घाट पुगेकी थिएँ ।
शिक्षा रिसाल

मान्छे घाट कि त कोही मरेपछि जान्छ, कि आफ्नै मन मरेपछि जान्छ । म यस्ता घाट थुप्रैपटक गएकी छु । लोकल घाट पशुपतिदेखि ‘अन्डर–रेटेड’ वाग्मतीका अरू घाट । किनकि मन मर्ने र ब्युँतने क्रम चलिरहन्छ ।

घाट मोनोलग

मन ब्युँतिँदा शरीरका हरेक धमनीबाट ऊर्जा बग्छ । आँखाले जीवनका अनेक रङको कोलाज देख्छ । जब मन मर्छ, आत्माले घाट खोज्न थाल्छ । घाट जाँदा मन शीतल हुन्छ । लाखौं जलिसकेको ठाउँमा मन कसरी सुखी हुन्छ, म बुझ्न सक्दिनँ । लाग्छ— मान्छे खुसी खोज्न घाट जान्छ । जलिरहेको लास देख्दा आफू ज्युँदो हुनुको महत्त्व बुझ्न जान्छ ।

केही समयअघि डिप्रेसनले मलाई नराम्रोसँग गिजोल्यो । डिप्रेसनको ‘कर्भ’ एकनासको हुँदैन । बढ्ने–घट्ने भइरहन्छ । कहिलेकाहीँ ‘पिक’ मा पुग्दा असह्य हुन्छ । त्यस्तै ‘पिक’ अवस्थामा म अनायास घाट पुगेकी थिएँ । यसपालि सानातिना घाटको डोज नपुग्ने पक्का थियो । त्यसैले छानें— घाटहरूको मक्का मदिना– बनारस ।

बिहान ६ बजिसकेछ । रातभर निद्रा परेको थिएन । बसको यात्रामा म सुत्न सक्दिनँ । खान पनि मन लाग्दैन । पेट भोकले जागिरहँदा तन कसरी सुतोस् !

गाडीमा एसी हिटर पनि रहेनछ । असाध्यै जाडो भयो । माथि क्याबिनमा राखिएको झोलाबाट एउटा स्वेटर झिकेर लगाएँ तर पनि खुट्टा शीतांगले थलिएका थिए । सिमाना आइपुगेछ । गाडी धेरै बेर रोकियो । ड्राइभरले सबैलाई आ–आफ्ना झोला चेक गराउन भने ।

बनारसबाट कहिले फर्किन्छु, आफैंलाई पत्तो थिएन । वास्तवमा मलाई फर्किन पनि मन थिएन । जानीजानी हराउँछु कि जस्तो लागेको थियो । ‘बेपत्ता’ र ‘लापत्ता’ शब्द मलाई खुब मन पर्छन् ।

लाइनमा बसें । पछाडि बुटवलबाट चढेका एक हूल अंकल–आन्टीहरू थिए । यत्तिकैमा होस फर्कियो । मेरो पर्स हराएछ । दौडिएर बसभित्र छिर्न लागेकी थिएँ ।

‘नानी तिमीले पर्स खसालिछौ’ भन्दै एक आन्टीले दिइन् । खुसीको सीमा रहेन ।

म एकदम हुस्सु मान्छे हुँ । यसमा मलाई कुनै गुनासो छैन । तर, पर्स हराउँदा त एक छिन आत्तिएर मुडोझैं भएँ । कार्ड, पैसा, लगेजको साँचो आदि सबै त्यहीँ थिए ।

एक्लै यात्रा गर्दा हरेक क्षण जागरुक हुनुपर्छ । अलिकति होस हरायो वा सुतियो भने गडबड हुन सक्छ । एकल यात्रामा धेरैपटक मलाई यस्तो भएको छ ।

‘हम आप के सेहेर मे आए हैं मुसाफिर कि तरह...’ भारतको सिम हालेर दिदीलाई म्यासेज पठाएँ । म सिमाना छिरेको थाहा पाएपछि परिवारको चिन्ता बढ्छ । हरक्षण अनलाइन बसेर मिनेट–मिनेटको खबर दिइराख्नुपर्छ ।

हरे १ एकान्त खोज्दै कतै चहार्ने मानिस थोडी २४ घण्टा अनलाइन बस्छ ? ‘प्राइभेसी’ भन्ने कुरा पनि हुन्छ नि १ मैले डेटा अफ गरिदिएँ । विदेशीहरू पनि थुप्रै थिए बसमा ।

‘गाँजा फुक्न जान थालेका होलान्,’ ती आन्टीहरू भन्दै थिए । म मुसुमुसु हाँसें मात्रै ।

यात्रामा अनेकथरीका मान्छे भेटिन्छन् । अनुहार याद नभए पनि सम्झनामा सधैं आइरहन्छन् । मेरो सिटको अर्कोतिर बसेकी फिलिपिनी केटी मलाई काठमाडौंदेखि हेरिरहेकी थिई ।

‘हेऽऽ ह्वेर यु गोइङ ?’ गोरखपुर पुग्ने बेला बल्ल उसले मुख खोली ।

‘बनारस,’ मैले जवाफ दिएँ ।

‘विल यु गो टु कुम्भ मेला ?’ त्यतिबेला कुम्भ मेला चलिरहेको उसकै प्रश्नले थाहा पाएँ ।

‘एस । आई एम प्लानिङ टु,’ मैले गफ दिएँ ।

‘म भ्लगर हो । फिल्म खिच्छु । भिडियो बनाउँछु । यसपालि बनारसको भिडियो बनाउन जान लागेको । त्यहाँ मेरो साथी छ,’ उसले

आफ्नो योजना बताई ।

‘ओके ।’

‘वेल, आई एम सो एक्साइटेड फर यु द्याट यु आर गोइङ टु कुम्भ मेला ।’

अरे ! म जान्छु–जान्नँ थाहा छैन, ऊ किन त्यति एक्साइटेड ? ऊ भारतीयजस्तै देखिन्थी । अग्ली थिई । सायद ऊ पनि केही खोज्न निस्केकी थिई ।

‘म यहाँ बसूँ ? खाली हो ?’ अग्लो र ठूलो शरीर भएको केटाले पूर्वेली लवजमा सोध्यो ।

एकान्त खोज्दै आएको मानिसले एकान्त कहिल्यै पाउँदैन । कोही न कोही बोल्न आइरहन्छन् ।

‘हुन्छ, बस्नुस् न,’ नास्ता खाने ठाउँमा मैले आफ्नोअगाडिको बेन्चतिर देखाउँदै भनें ।

‘तपाईं कता हिँड्नुभएको ?’

‘बनारस ।’

‘पहिलोपटक हो ?’

‘हो । तपाईं ?’

‘मेरो त यहाँ ड्युटी परेको छ । भारतीय आर्मीमा छु । छुट्टीमा घर गएको थिएँ । अहिले क्याम्प फिर्ता जान लागेको ।’

म फिस्स हाँसें ।

हुन त बाटोमा भेटिइने मानिसले एकान्त दिँदैनन् तर हामीप्रति उनीहरू ‘जजमेन्टल’ पनि त हुँदैनन् । हामीलाई आलोचनाको चस्माले हेर्दैनन् । चिनजानका मान्छे भेटिने हो भने सोध्न थालिहाल्छन्—

‘ए, तिम्रो बिहे भएको छैन ?’

‘त्यहाँ जागिर छाडिसक्यौ ?’

‘आजभोलि ट्विटरमा पनि देख्दिनँ ।’

‘कस्तो मोटाको ?’

तर, बाटोमा भेट्ने अञ्जान मानिसलाई यी कुराको चासो छैन । उनीहरू त्यही मान्छन्, जुन हामी उनीहरूलाई भन्छौं । अञ्जानहरू बरु आत्मीय लाग्छन् ।

गोरखपुर हुँदै अजमगढ गुड्दै थियो गाडी । टाढा–टाढासम्म अजमगढ मात्रै देखिन्थ्यो । यूपीको फोहोर गाउँ । कति धेरै गाई १

बसमा गीत बजिरहेको थियो, ‘सन्देशे आते है, हमे तड्पाते है... ।’

‘बनारसको वास्तविक स्वाद लिनु छ भने धर्मशालामा बस्नू,’ कसैले यसै भन्थे । बेलुकी ८ बजे बल्ल म अस्सीघाटको धर्मशाला पुगें ।

भन्छन्— सूर्योदय र सूर्यास्तका बेला वातावरणमा छुट्टै ऊर्जा हुन्छ । भोलिपल्ट बिहान अस्सीघाटको सूर्योदयमा पनि त्यस्तै ऊर्जा थियो । आँखा चिम्म गरेर बस्दा शान्ति मिल्यो । मन र दिमागमा खेलिरहने सबै कुराहरू एक छिन हराए । भूत र भविष्यको चिन्ता पनि केही रहेन । मानिसहरू योग गरिरहेका थिए । छिनछिनमा बजिरहेको थियो घण्टको आवाज । भजन पनि नेपथ्यमा गुन्जिरहेको थियो । सायद म यही खोज्दै त यहाँसम्म आइपुगेकी थिएँ ।

कुनै एक उपन्यासकारले भनेजस्तै सबथोक बिर्सनु नै जीवन हो । हो, त्यस्तै भएको थियो । मनमा खुसी बढ्न थाल्यो । आध्यात्मिक वातावरणले मानौं मेरा सारा डिप्रेसन उखालेर लैजाँदै थियो । म केवल वर्तमानमा थिएँ । सबै चीज बिर्सिएकी थिएँ । विचार र स्मृतिका तिखा काँडाबाट अलग हुनु त रहेछ जीवन । अस्सीघाटको त्यो सूर्योदयले त्यही कुरा भनिरहेको थियो । त्यो सूर्योदयलाई थाहा छ— साँझले उसलाई कतै लिएर जानेछ । तर, पनि कुनै फिक्री छैन । सूर्य मान्छे हुन्थ्यो त साँझ अस्ताउने पीरले बिहान पनि उदास हुन्थ्यो ।

हुन त सूर्य पनि कम छैन । बिहान जब सारा जगत् आफ्नो अगाडि नतमस्तक हुन्छ, सूर्य मात्तिन्छ । त्यो मात दिउँसोको प्रचण्ड तापमा परिवर्तन हुन्छ । तर, उसको अहंकार साँझ हुने बेलासम्म ओइलाइसकेको हुन्छ । हरेक दिन सूर्यले हामीलाई पाठ सिकाइरहेको हुन्छ, ‘हेर मानव जाति, जीवनको चक्र यही हो । तिमी सूर्योदय हुन चाहन्छौ या सूर्यास्त ? सूर्योदयमा सूर्यास्तको चिन्ता नगर । सूर्यास्तमा अर्को सूर्योदयको उल्लास नमनाऊ ।’

हरिश्चन्द्र घाट पुग्नुभन्दा सय मिटर वरदेखि नै मान्छे पोलेको गन्ध आउन थाल्छ । विदेशीहरू घण्टौंसम्म मान्छेको लास ल्याएको, पोलेको र जलिरहेको हेरेर बस्छन् ।

घाटमा हुँदा म प्रायः सोच्छु जलाउनेहरूबारे । सयौं मान्छे पोल्दा उनीहरूलाई दुःख लाग्छ कि लाग्दैन होला ? छेउमा ‘लास’ को परिवार जीवनकै सबैभन्दा दुःखद क्षणमा हुँदा त्यसले उनीहरूलाई छुन्छ कि छुँदैन होला ?

मैले सम्झिएँ— हिन्दी ‘मसान’ फिल्मको त्यो दृश्य, जब विक्की कौशल सामान्य दिनझैं लास जलाइरहेका हुन्छन् । एकै छिनपछि त्यो लास आफ्नै प्रेमिकाको हो भन्ने थाहा पाउँदा उनी चकनाचुर हुन्छन् ।

‘मसान’ एउटा ठाउँ–विशेष शब्द हो । तर, कतिपयको जीवन आफैं मसान हुन्छ । कौशल र ऋचा चढ्ढाका पात्रहरू मनभित्रको मसान बोकेर हिँडिरहेका हुन्छन् । म पनि त्यस्तै मनभित्रको मसान बोक्दै त्यहाँ पुगेकी थिएँ । तर, मलाई त्यो मसान त्यहीँ सेलाउनु थियो । म त्यहाँ आफ्ना दुःखहरूको अन्तिम संस्कार गर्न पुगेकी थिएँ । गंगाको पानीमा बगाउनु थियो जीवनका सबै ‘खरानी’ ।

मानिसहरू त्यहाँ डुबुल्की मार्दै पाप चोख्याउन आउँछन् । म मनमनै हाँस्छु । संसारमा त्यस्तो कुनै पानी छैन, जसबाट पाप चोखियोस् । पाप गरेका छौ ? कसैलाई दुखाएका छौ ? त्यो पापबाट निस्कनु भनेको फल भोग्नु नै हो । भन्छन्, ‘कर्म गर, फलको चिन्ता नगर ।’ तर, यो भनाइ पुण्य गर्नेहरूका लागि हो । पापीका लागि ‘कर्म गर, फलको प्रतीक्षा गर । एक दिन अवश्य आउनेछ’ भन्ने हो । गंगामा डुबुल्की मारेर कोही चोखिँदैन । बरु छालासम्बन्धी रोगहरू लाग्ने प्रबल सम्भावना रहन्छ ।

बनारस जति प्राकृतिक छ, त्यति नै फोहोर पनि छ । मानिस त्यही फोहोर हेर्न जान्छन् । जहाँ पायो त्यहीँ पिसाब फेर्छन् । त्यो गंगा नदीमै मिसिन्छ । त्यही गंगामा ‘डुब्की’ लगाएर मान्छे चोखिन खोज्छन् । हाम्रो वाग्मतीमा त डुब्ने पानी पनि छैन । पानी कम, ढल बढी छ । यति फोहोर छ कि सायद कीराहरू पनि डुबुल्की मार्न हच्किन्छन् । हामीले आ–आफ्ना पाप वाग्मतीलाई यति धेरै दिएछौं कि वाग्मती बग्नै छोडेकी छन् ।

काठमाडौंमा त पाप चोख्याउन डुब्ने वातावरण पनि छैन । बनारस पुगेको तेस्रो दिन मात्रै मैले आरती हेर्ने मौका पाएँ । आरती यहाँका हरेक घाटमा हुन्छन् तर विशेष काशी विश्वनाथ घाट र अस्सीघाटमा हुने रहेछ । पहिलोपटक मैले अस्सीघाटको आरती हेरें । त्यो आरतीको अनुभव जीवनमा कहिल्यै भएको थिएन । लाग्यो— म टाइम ट्राभल गरेर अर्कै लोकमा पुगेकी छु ।

‘झुम्म’ भएजस्तो । हो त्यही । त्यो भजन, त्यो आभामण्डल र त्यो आकाशभरि फैलिएको उज्यालो । ओहो १ एक छिन त लाग्यो— म यही पलका लागि जन्मिएकी हुँ । त्यो शान्ति, त्यो मनभित्रको सुख । म एकतमासले डुबिरहें । आरती कति बेला सकियो, त्यो पनि थाहा पाइनँ । म समाधिमै पुगेजस्ती भइछु । ब्युँझिँदा झसंग भए । मेरा आँखा रसाइरहेका थिए ।

म घाटमा जीवनकै नयाँ अनुभव लिँदै थिएँ ।एक दिन दुई युवक गिटार बजाउँदै आनन्दले गाइरहेका थिए, ‘ए लाल इश्क ! ए मलाल इश्क !’ म उनीहरूछेउ गएँ । एक युवक लजायो, अर्को दंग पर्‍यो ।

‘क्यान आई रिक्वेस्ट अ सङ ?’

‘प्लिज,’ दंग पर्ने युवक बोल्यो ।

‘मोरा सैयाँ मोसे बोलेना...’

उनीहरूले गाउन थाले, ‘सावन बितो जाए पिहरवा... ।’

साँझ परिरहेको थियो । घाटघाटमा आरतीको तयारी हुँदै थियो । गंगा नदी आफ्नै गतिमा बगिरहेकी थिइन् । त्यस दिनपछिका हरेक साँझ उनीहरूसँग भेट हुन थाल्यो । उनीहरू गाँजा सल्काउँथे । मस्त हुन्थे । गाँजाको धूवाँ कुनै शरीरको धूवाँसँग गएर मिसिन्थ्यो । हरेकजसो दिन उनीहरू घाटवरपर गिटार बजाउँथे । म गीत अनुरोध गर्थें, उनीहरू गाउँथे । ती पलमा म सब बिर्सिन्थें ।

त्यहाँ हरेक किसिमका मान्छे देखें । कोही प्रेममा परेका । कोही विछोडको पीडामा पिल्सिएका । कोही साथीभाइसँग ह्याङआउट गरिरहेका । कोही साधु बाबा, कोही धर्मको यात्रामा निस्किएका । कोही नशामा झुम्मिएका । कोही वृत्तचित्र बनाउन आएका । यीमध्येमा म को थिएँ ? म कोही थिइनँ । सायद आफैंलाई खोज्न आएको एक अर्को मानिस ।

सोचें— मानिस किन कतै जान्छ ? किनकि उसलाई जानैपर्छ । न त हावा एक ठाउँ बस्न सक्छ न मानिस । उनीहरूको लेखान्त नै हो– एक ठाउँबाट अर्को ठाउँ जानु । त्यस्तै केही ‘कस्मिक कन्स्पिरेसी’ का कारण म पुगें हुँला ।

ती चायवाला, अटोवाला, पर्स भेटाइदिने आन्टी, मेरो अनुरोधमा गीत गाइदिने ती युवाहरू, घाटवरपर चिया बेचेर जीवन बिताइरहेका भविष्यका प्रधानमन्त्रीहरू, ती लास जलाइरहेकाहरू अहिले के गर्दै होलान् ? कहाँ होलान् ? जिन्दगीमा अब उनीहरूसँग कहिल्यै भेट हुनेछैन । भेट भए पनि उनीहरूले मलाई चिन्नेछैनन् । मैले उनीहरूलाई ठम्याउन सक्ने छैन । लास त अहिले पनि जलिरहेका होलान् । घाटहरूको माहोल कस्तो होला ? कति सुनसान होलान् ? कति शान्त होलान् ? त्यो शान्तिमा कति चीत्कार गुन्जिरहेका होलान् ?

संसारमा जहाँ गए पनि मानिस उस्तै हुन्छन् । दया र आत्मीयताको कुनै खडेरी छैन । हामी यात्रा ठाउँका लागि मात्र गर्छौं सोच्छौं । तर, हाम्रो यात्राका मूल्यवान सम्झना ठाउँ मात्र नभएर यात्रामा भेट हुने मानिस पनि हुन् । बनारस म मनको शान्ति खोज्दै गएकी थिएँ तर खुसी भेटें । सबै कुरा बिर्सिन गएकी थिएँ तर नबिर्सीकन पनि सामान्य रूपमा लिन सक्ने क्षमता भेटें । म जल्दै गएकी थिएँ, तर अरूलाई जल्दै गरेको देखेर आफैं निभें ।

पछि मेरी एउटी साथीले सोधी, ‘तँ बनारसचाहिँ किन गएको ? यो तीर्थ गर्ने बेला हो र ? लाइफमा कति चीज एक्सप्लोर गर्ने बेला हो !’

मैले फिस्स हाँसेर उसको कुरा टारिदिएँ ।

उसलाई के थाहा, मैले जीवनको कति ठूलो रहस्य ‘एक्स्प्लोर’ गरेकी छु १ हजारौं मान्छेको उच्चाहटबीच पनि जीवनको कति ठूलो शान्ति देखेकी छु ।

मनको शान्ति खोजेर यौवनमै ‘तीर्थ’ हिँड्नुजत्तिको ठूलो सुख अरू केही छ र साथी ?

प्रकाशित : असार १३, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?