अक्षर साधनाको गोधूलि जीवन

अंगुरबाबा जोशीको व्यक्तित्व अन्तर्मुखी र बहिर्मुखी दुवै थियो ।
अभि सुवेदी

अंगुरबाबा जोशी ३१ जेठ २०७७ मा दिवंगत भइन् भन्ने समाचार सुनेपछि समय र शिक्षाको एउटा गोधूलि चित्र मेरो आँखासामु आयो । अंगुरबाबा जोशी (१९८९–२०७७) को अवसानको खबर सुनेर जीवनका आधी शताब्दी त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा तहमा प्राध्यापन गरेको म स्तब्ध भएँ । मैले उनलाई धेरै नजिकबाट चिनेको र उनले नेतृत्व गरेको र उनले निर्माण गरेको पद्मकन्या कलेज भवनमा शिक्षकको नियुक्ति लिएर पढाउन गएको व्यक्ति पनि होइन ।

तर, मेरो शिक्षक जीवन उनकै कलेजबाट आरम्भ गरेको मानिस भने हुँ । तर, अंगुरबाबा जोशी दिवंगत भएपछि उनका अनेकौं जीवनहरूमध्ये शिक्षासेवी अवतार म र मजस्तै शिक्षा क्षेत्रमा काम गर्ने मानिसहरूका निम्ति सबैभन्दा महत्त्वपूर्ण विषय भएको कुरा बुझ्न गाह्रो छैन । अंगुरबाबा जोशीले आफ्नो सबभन्दा पछिल्लो कृति ‘साधना र गोधूलि जीवन’ (२०७४) शीर्षक आत्मकथामा सुरुमा नै यस्ता शब्दहरू लेखेकी छन्—

‘जीवनमा धेरै कुराको चिन्ता गरियो । सङ्घर्षका क्षणमा कहिलेकाहीं आँसु पनि झारियो । गर्न लागेका काममा आलोचक बन्धुहरूले तगारो हाल्न खोज्दा त्यसलाई मिलाउन चिन्ता पनि गर्नुपर्‍यो । तर, अहिले यस उमेरमा आइपुग्दा निजी जीवनमा मलाई कुनै कुराको चिन्ता छैन, सन्तोषैसन्तोष छ । तथापि एउटा कुराको चिन्ताले भने मलाई पलपलमा दु:खित बनाइरहेको छ । त्यो हो— मेरी प्यारी नेपाल आमा र दीनदु:खी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले दु:ख पाएको टुलुटुलु हेरेर बस्न पर्नु । समुन्नत नेपाल देखेर मर्न पाए हुन्थ्यो भन्ने आकाङ्क्षा लिएर हिँड्नेलाई यो अवस्था देख्ता अत्यन्त गहिरो पीडाबोध हुँदो रहेछ ।’

अंगुरबाबा जोशीका अन्तिम सपना के थिए त्यो भन्न सकिँदैन । ती सायद कल्याणकारी, किञ्चित सुन्दर परिकल्पनाले रञ्जित र केही युटोपियाली किसिमका पक्कै थिए । तिनका आध्यात्मिक आलम्बनहरू पनि थिए । तर, उनको विषयमा केही शब्दहरू लेख्न बस्ता मेरा निम्ति उनको शिक्षासम्बन्धी चिन्ता र कर्म नै महत्त्वपूर्ण भएर आउँछन् । उनले देखेको संसार, उनले शक्ति र उपलब्धि, सपना र यथार्थका द्वन्द्वको जुन सामना गरिन् त्यसमा हाम्रा फरक अनुभव र मत अवश्य होलान्, तर विगत साठी वर्षदेखि यताको नेपाली उच्च शिक्षाका अनुभव हामी धेरै जनाका उस्तै हुन् । अंगुरबाबा जोशीले त्यो द्वन्द्वलाई, ती विरोधाभासहरूलाई सामना गर्ने एउटा जीवनशैली मात्र होइन, विचारको पद्धति पनि रचना गरिन् । त्यो प्रयोगात्मक र वैचारिक थियो, अनि थियो व्यक्तिका सम्बन्धमा आधारित रचना । यसका निम्ति अंगुरबाबा जोशीले राजादेखि रङ्कसम्मका नरनारीका सम्बन्धको फराकिलो कलेवर तयार पार्नु परेको कुरा आफ्ना किताब र रचनाहरूमा लेखेकी छन् । यस्ता सम्बन्धको प्रयोग उनले शिक्षासेवाकै निम्ति गरेको कुरा आज आएर प्रस्ट हुँदै छ ।

सत्ताइस सालतिरको कुरा हो । मैले त्रिवि अंग्रेजी विभागबाट एमए पास गरेपछि गर्न चाहेको कर्म कलेजमा अंग्रेजी पढाउनु मात्र थियो । ‘पद्मकन्या कलेजमा अंग्रेजी प्राध्यापन गर्ने तेजरत्न कंसाकार हाम्रो केन्द्रीय अंग्रेजी विभागमा पढाउन आउँदै छन्, उनको ठाउँमा तिमी गएर पढाऊ । प्रिन्सिपलसँग कुरा गरिहाल’, विभागका त्यो बेलाका अध्यक्ष एडिनबरा विश्वविद्यालयका ब्रिटिस डा. एलन डेभिसले भने । मनमा धेरै द्वन्द्व थिए । पहिलो त कन्याहरू मात्रै भएको कलेज लाज लाग्नेछ, कसरी पढाउँछु होला भन्ने थियो । दोस्रो, अंगुरबाबा जोशीसँग कस्ता कुरा गर्ने होला भेटेर भन्ने थियो । मैले अंगुरबाबा जोशीको बारेमा निकै कुरा थाहा पाइसकेको थिएँ । म राजनैतिक र सामाजिक कुराहरूमा सचेष्ट र जानकार युवा थिएँ । अंगुरबाबा जोशीलाई राजा महेन्द्र र रानी रत्नसँग नजिकको सम्बन्ध भएकी एक निर्भीक र शिक्षासेवी महिलाको रूपमा जानेको थिएँ । तिनलाई पहिलोपटक भेट्न जाँदै थिएँ । बागबजारका पुराना, कुनै खास वैभव नदेखिने घरहरूको देव्रेपट्टि सधैं देखेको एउटा रङ्गीन विशाल भवन खुल्यो । त्यसको शिरमा सुनका गजुरहरू चम्किए । त्यसको वास्तुकला राणा शासकले पश्चिमी शैलीमा बनाएको त्रिचन्द्र कलेजको भवनसँग मिल्दैनथ्यो । पश्चिमी शैलीमै वीरशमशेरले १९५१ तिर बनाएको त्रिचन्द्र कलेजको घण्टाघर लगभग सुनसान कान्तिपुरीमा निकै हल्ला गरेर मिनेट र घण्टाहरूका हल्ला पोखिबस्थ्यो । यो पद्मकन्या कलेजको भवनले वास्तुकलाजनिन अर्कै शैली रोजेको थियो । त्यो चानचुन कुरा थिएन । त्यसको पछाडि अंगुरबाबा जोशीको मनको तरङ्ग मात्रै थिएन । त्यसमा उनको एक सचेत शिक्षा र स्वतन्त्रतासम्बन्धी धारणा पनि थियो ।

अंगुरबाबा जोशी बनारसबाट उच्च शिक्षा लिएर २०११ सालमा फर्केदेखि नै उनले पढाउन सुरु गरेको पद्मकन्या कलेज नै थियो । अनि त्यहींबाट अध्ययन–बिदा लिएर २०१४ मा उनी अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्न गएको कथा चाखलाग्दो छ । अध्ययन सकेर फर्केपछि २०१८ सालमा अंगुरबाबा जोशी पद्मकन्या कलेजकी प्रिन्सिपल नियुक्त भएको कुरा नै अहिले आएर हेर्दा ऐतिहासिक भएको छ । उनी त्यहाँ १२ वर्ष प्रिन्सिपल भएर रहिन् । त्यो काल यस कलेजका निम्ति अत्यन्त महत्त्वपूर्ण थियो । अंगुरबाबा जोशीले बागबजारमा जग्गा फेला पारेर यो कलेज भवन बनाएको कुरा नै उनलाई सम्झिने मुख्य आधार हो । यो भवन तयार गरेर २०२६ भदौ ३ गते उद्घाटन गर्न आमन्त्रित महारानी रत्नसँगै आएका राजा महेन्द्रले ‘तपाईंले त सुनको गजुर बनाउनुभयो, मेरो त तामाको गजुर मात्रै छ’ भनेर हाँसेको सम्झना गरेकी छन् अंगुरबाबा जोशीले ।

गेटबाट छिरेपछि मैले कहिल्यै सामना नगरेको भीड देखें । गेरु रङको सारी लगाएका यति धेरै छात्रा एकै ठाउँमा मैले पहिले देखेको थिइनँ । म पनि एक प्रकारले छात्रै अवस्थामा त थिएँ । कवि तुलसी दिवस त्यहीं प्राध्यापन गर्थे । उनैसँग अंगुरबाबा जोशीलाई भेट्न प्रिन्सिपलको कक्षमा गएँ । ती जीवन्त, सरल र मानौँ कुनै काम हतारले गरिसक्नुपर्नेजस्तो जागरुकता लिएर बसेकी थिइन् । उनले मेरो विषयमा साधारण जानकारी लिएपछि भनिन्, ‘बा, खुसी लाग्यो । तपाईं पढाउन हाम्रोमा आउनुभएको १ तर, केही महिना हामी तलब दिन सक्तैनौँ । तीन–चार महिनापछि हामी तलब दिन्छौं ।’ मलाई तेजरत्न कंसाकारले कक्षामा परिचय गराउन लिएर गए । आईएको विशाल कक्षामा पस्दा म चकित परें । त्यति धेरै गेरुवस्त्र लाएका विद्यार्थी युवतीहरूको कक्षामा जमघट मैले अघि कहिल्यै देखेको थिइनँ । कंसाकार गएपछि मेरो र्‍यागिङ सुरु भयो । भर्‍याङमा बसेका छात्राहरूले बाटो छोडेनन् । लाग्यो, म धेरै लाज मान्दो रहेछु । त्यसैले गर्दा यस्तो हुँदो रहेछ । जेनतेन दुई–तीन महिना काटें । लोकसेवा आयोगबाट पाटन कलेजमा शिक्षक (प्राध्यापक भन्थे) को विज्ञापन खुल्यो, भिडें । म मात्रै पास भएँ । जानुअघि अंगुरबाबालाई भेट्न गएँ । र्‍यागिङ गर्ने छात्राहरूले यस्तो राम्रो शिक्षक गुमाउनु हुँदैन, जान दिनु हुँदैन भनेका रहेछन् । अंगुरबाबाले भनिन्, ‘केही छैन, म त्यो दरबन्दी यतै ल्याउँछु ।’ मैले सुनेको थिएँ, जोशीको पँहुचको विषयमा । म हातमा टोपी लिएर दौडिँदै पाटन कलेजका प्रिन्सिपल मंगलराज जोशीकोमा गएर भनेँ, ‘तपाईं राजज्योतिषी मान्छे । आफ्नो दरबन्दी, यसो हुन दिनु भएन ।’ मंगलराज सरले त्यही राजज्योतिषीको शक्ति प्रयोग गरेर मलाई निश्चिन्त पाटनमा नै ल्याए । विद्यार्थी राजनीति गरिसकेको हुनाले म यस्ता तारक युद्धहरू गराउन जान्दथें । त्यो कलाले मलाई बँचायो ।

मलाई एकल लैंगिक कलेज (‘सिङ्गल सेक्स कलेज’) मन पर्दैनन् । पछि ब्रिटेनमा पढ्न गएका बेला हिलरी क्यासमान भन्ने एक जना कवि साथीले भनिन्, उनले क्याम्ब्रिजभित्रको महिला कलेजबाट अंग्रेजीमा एमए गरेकी थिइन् । म चकित परें । उनले मलाई सन् १९७९ को अमूक महिनामा एकपटक क्याम्ब्रिजभित्रको न्युनम कन्या कलेजकी उनकी पहिलेकी विभागीय अध्यक्ष प्रा. सीता नरसिंहनको भित्रैको आवासमा लगिन् । मैले पद्मकन्या कलेज विषयमा नरसिंहनलाई भने । अंगुरबाबा जोशीको म एक प्रशंसक भएको तर एकल कलेज मन नपर्ने कुरा पनि भनें । उनले भनिन्, क्याम्ब्रिज युनिभर्सिटीमा केटीहरूले पढ्न पाउँदैनथे । त्यसैले कुनै मिस्टर न्युनमले यो कलेज खोलेका थिए । पछि मेरा विद्यार्थी विष्णु सापकोटा केम्ब्रिजमा स्नातकोत्तर अध्ययन गर्न गएका बेला यी नरसिंहन र न्युनम कलेजको विषयमा पत्ता लगाएर लेख्नू भनेँ । विष्णुले लेखे, त्यहाँ न सीता नरसिंहन छिन्, न त न्युनम कलेज नै छ । अब छात्र र छात्राका एउटै कलेज हुन्छन् । म आज सम्झिन्छु, अंगुरबाबा जोशीले यहाँ कन्या कलेजलाई उच्चता दिएर प्रयोग गरेको कारण महत्त्वपूर्ण थियो । यो समाजमा अहिले पनि छात्राहरू, महिलाहरूलाई हेर्ने दृष्टिमा श्रेष्ठताको पुरुष अहम् ठूलो कारक छ । अंगुरबाबा जोशी त्यो मनोगत परिवेशबाट कन्याहरूलाई मुक्त पार्न चाहन्थिन् । उनीहरूका निम्ति एक आपैंmमा पूर्ण संस्था रचना गर्न चाहन्थिन् । उनी कति सफल भइन् समयले भन्छ । उनको चाहनाको गहिराइ बुझ्न उनले कल्पना गरेको यो कलेजको संरचना, उनले पढाउन राखेका विषयहरूका विविधता हेर्नुपर्छ ।

अंगुरबाबा जोशीको विषयमा एउटा छोटो लेखमा धेरै कुरा भन्न सकिँदैन । अन्त्यमा भन्नुपर्ने कुरा यस्ता छन् । अंगुरबाबा जोशीको व्यक्तित्व अन्तर्मुखी र बहिर्मुखी दुवै थियो । आफू ११ वर्षकी हुँदा १२ वर्षका बलराम जोशी उर्फ बलराम सरसँग बिहा भएदेखि शिक्षा, वैवाहिक जीवन, सन्तान, अनि फेरि अध्ययन, अनि फेरि सन्तान अनि शिक्षण, अनि दरबारसँग नजिकको सम्बन्ध भएकाले पञ्चायती कालका संवैधानिक नियुक्ति, अनि पछिल्लो समयमा समतामूलक कन्या शिक्षाका गार्गी गुरुकुलको स्थापना गर्ने उनका कर्महरूको समानान्तर आलम्बन भएको कुरालाई एउटी महिलाको यो समाजमा महायात्रा नै भन्नुपर्छ । उनको अन्तर्मुखी चेतनालाई उनका कथाहरू, उनका संस्मरणहरू उनका वैश्विक चेतनाजनिन लेख र किताबहरूबाट पनि देख्न सकिन्छ । अंगुरबाबालाई ११ वर्षको उमेरमा घरमा बुहारीको रूपमा स्वागत गरेकी १०६ वर्षकी उनकी सासू चन्द्रकुमारीले अलबिदा गरेको मार्मिक कथा जीवन र इतिहासको गोधूलि हो ।

बहुआयामिक अंगुरबाबा जोशीको अक्षर साधनाको गोधूलि यात्रालाई श्रद्धाञ्जली । प्रकाशित : असार १३, २०७७ १०:०६

प्रतिक्रिया
पठाउनुहोस्

हमला २०४७

कुनै पनि व्यक्तिको वैचारिक प्रतिबद्धताको मापदण्ड संघर्षको अवस्थामा नभई सत्तामा पुगेपछि मात्रै थाहा हुन्छ । शक्तिमा नपुगुन्जेल प्रजातन्त्रवादी/अग्रगामी र भ्रष्टाचारविरोधी भाषण गर्न सजिलो हुन्छ । तर, यी मान्यताप्रतिको प्रतिबद्धता र परीक्षा सत्तामा पुगेपछि मात्रै अवगत हुन्छ ।
प्रकाशचन्द्र लोहनी

घटना २०४७ सालको हो । ३० वर्ष भइसक्यो । त्यसबेलाको घटना सम्झँदा अहिले पनि आङ सिरिङ हुन्छ । तर, साथसाथै हाँसो पनि उठ्छ । पहिलो जनआन्दोलनपछि २०४७ कात्तिक २३ गते राजा वीरेन्द्रबाट नयाँ संविधान जारी भयो ।

सबै राजनीतिक दलले आ–आफ्ना विचार लिएर जनतामा जान पाउने भए । यसैबीच राप्रपा बेग्लाबेग्लै दुई दलको रूपमा स्थापित भए । एउटाको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्कोको नेतृत्व लोकेन्द्रबहादुर चन्दले । म, पशुपति शमशेर, पद्मसुन्दर लावती, हेमबहादुर मल्ल आदि लोकेन्द्रजीको नेतृत्वको दलमा थियौं । हामीले राप्रपा एउटै हुनुपर्छ भनेर धेरै कोसिस गर्‍यौं । तर, लोकेन्द्रजी र सूर्यबहादुरजीको व्यक्तित्व टकरावका कारण त्यसो गर्न सकिएन ।

नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले त्यसबखत गिरिजाप्रसाद कोइरालाको आक्रोश दुवै राप्रपाप्रति उग्र थियो । जहाँसम्म एमाले थियो, उसको विरोध कांग्रेससँग त थियो तर हामीलाई गाली गर्ने र खेद्ने कुरामा दुवै दलको कुरो मिलेको थियो । दुवै दल हामीलाई संगठन गर्न दिने मनस्थितिमा देखिँदैनथे । तर, हामीहरू संगठन बढाउन कस्सिएका थियौं ।

सुरु जनकपुरबाट

हामीले २०४७ साल मंसिरबाट देशका विभिन्न भागमा आमसभा गर्ने निर्णय गर्‍यौं । आमसभाको पहिलो स्थान जनकपुर थियो । त्यसबखत त्यहाँ मुख्य नेता हेमबहादुर मल्ल थिए । उनी मधेसको राजनीति र वातावरणमा पूरै भिजेका थिए । २०४२ सालको चुनावमा देशैभरिमा सबैभन्दा बढी भोट उनैले ल्याएका थिए । मल्ललाई हामीले सोध्यौं, ‘आभसभामा कांग्रेस–एमालेबाट हमला हुन सक्छ, कसरी मुकाबिला गर्ने ?’ राप्रपा आफैँले आफ्ना नेताहरूको सुरक्षा गर्छ भन्नेमा मल्लजी विश्वस्त थिए ।

आमसभामा भाग लिन लोकेन्द्रबहादुर चन्द, डा. मोहम्मद मोहसिन र म हवाइजहाजबाट जनकपुर पुग्यौं । हाम्रो स्वागतमा मल्लजी अगाडि उभिएका थिए भने कम्तीमा पाँच हजार मानिसको भीड राप्रपा जिन्दावादको नारा लगाइरहेको थियो । मल्लजीका समर्थक सबैजसो गाउँबाट आएका रहेछन् । हामीलाई पाहुनाघर पुर्‍याएर उनीहरू आ–आफ्ना गाउँतिर हिँडे । हामी त्यस दिन विभिन्न भेटघाटमा लाग्यौं ।

भोलिपल्ट दिउँसो ११ बजे हामी पार्टी कार्यालय पुग्यौं । र, जिल्लास्तरीय नेताहरूसँग घरको एक तलामाथि बसेर छलफल थाल्यौं । करिब १२ बजेतिर हामी बसेको घरअगाडि नारा लाग्न सुरु भयो । २५ जनाजति मानिस नारा लगाउँदै हामीलाई गाली गरिरहेका थिए । ३ बजेसम्म भीडको संख्या ५० जनाजति पुगेको थियो । हामीले प्रहरीलाई खबर गर्‍यौं । तर, प्रहरीले हाम्रो अनुरोध सुनेको नसुनेझैं गर्‍यो । प्रहरी नआउने ढुक्क भएपछि हाम्राविरुद्ध नारा लगाउनेहरू झन् उग्र हुँदै गए । ६ बजेसम्ममा करिब १०० जनाजति प्रदर्शनकारीले हामी बसेको घर घेरे । नारा सुन्दा उनीहरू रक्सी खाएर आएका हुन् भन्ने स्पष्ट बुझिन्थ्यो ।

करिब साढे ६ बजे हल्का अँध्यारो भइसकेपछि प्रहरीको एउटा टोली हामी बसेको कोठमा आयो । प्रहरीले भनेको थियो, ‘हामीलाई निर्देशन छ— लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र डा. लोहनीलाई सुरक्षा दिएर लैजानू र अरूको वास्ता नगर्नू ।’ त्यसपछि राजेश्वर देवकोटाले भने, ‘भीडको उद्देश्य हेमबहादुर मल्ललाई मार्ने हो । त्यस्तो हुन दिनु हुँदैन । लोकेन्द्रजी र हेमबहादुरजीलाई पुलिसको सुरक्षामा बाहिर पठाऊँ । हामीचाहिँ कोठामै बसौं । जे पर्ला देखा जाएगा १’ मलाई उनको सल्लाह ठीक लाग्यो । प्रहरीले चन्द र मल्ललाई लिएर गए ।

प्रहरी हिँड्नेबित्तिकै चौरमा बसेको भीड भर्‍याङ चढेर एक तलामाथिको हाम्रो कोठातिर आउन थाल्यो । मलाई लाग्यो, ‘आज यहीँ मरिने भइयो ।’ एक मनले त जे भए पनि हाम्रो तीर्थस्थल जनकपुरमै मर्नु लेखेको रैछ भन्ने लाग्यो । मैले तुरुन्त कोठामा छिर्ने ढोका बन्द गरेँ र बत्ती निभाएँ ।

मृत्युसँग जम्काभेट

भीडले कोठाको ढोका फोर्‍यो । तर, कोठा अँध्यारो भएकाले कसैले कसैलाई चिनेन । म ढोकाछेउ उभिएको थिएँ । ढोका फुट्नेबित्तिकै लुसुक्क बाहिर निस्केर भर्‍याङ हुँदै तल झरेँ । झरिसकेपछि दायाँ जाने कि बायाँ, थाहा थिएन । जे पर्ला भनेर दायाँतिर लागेँ । करिब सय कदम मात्रै हिँडेको थिए, पछिल्तिरबाट आवाज आयो, ‘ऊ त्यै हो....मार, मार ।’

अब दौडिए मात्र बाँचिन्छ भन्ने लाग्यो । दौडिन खोजें । तर, आश्चर्य १ दौडिन सकिनँ । मलाई भीडले छोप्यो र मुक्का बर्साउन थाल्यो । म शारीरिक रूपमा कमजोर मानिस होइन । २०२७ सालमा नख्खु जेलमा थुनिँदा सिरहाका नसिबलाल यादव भन्ने कैदीसँग पहलमानी सिकेको थिएँ । २०४० सालमा अर्थमन्त्री हुँदा त्रिपुरेश्वर रंगशालामा जगत गौचनसँग कराँते पनि सिकेको थिएँ । त्यसले अलिकति काम गर्‍यो । मुख त बचाएँ तैपनि ओठ काटियो, ढाड भने मेरो बलियै रहेछ, पहलमानी खेल्दा सायद नसिबलालको प्रशिक्षणले काम गर्‍यो । ढाडमा जति मुक्का हाने पनि म ढलिनँ । तर, बेसुरमा कराइरहेको थिएँ । के भनेर कराइरहेको थिएँ थाहा थिएन । एक छिनका लागि चकनाचुर भएर रगताम्य भएको मेरो आफ्नै अनुहार आफैंले देखेझैं लाग्यो । अनि तुरुन्तै मेरो लास देखेर मेरो बुबा–आमा, छोरा–छोरी रोएको देखें । क्षणभरमै सबै घटना भएको देखें ।

अचानक दुई युवकले दरोसँग मेरो पाखुरा समातेको महसुस गरें । उनीहरूले मलाई घिच्याएर एउटा गल्लीतिर लगे र म बाचेँ । पछि थाहा पाएँ, मलाई जीवनदान दिने दुई युवकको नाम थियो— विवेकानन्द ठाकुर र धर्मेन्द्र झा । गल्लीबाट ती युवाले मलाई महेन्द्रनारायण निधिको घरमा पुर्‍याए । ओठ काटिएर अलिकति रगत आएको थियो । दाँत भाँच्चिएको रैनछ । लाग्यो— अब बाँचे । मृत्युसँगको त्यो निकटता एक किसिमले नौलो अनुभूति थियो ।

सुरक्षाको खोजी

महेन्द्रनारायण निधिको घरमा केही बेर बसेँ । यत्तिकैमा एक अधवैंसे मानिस आइपुगे । उनले आफूलाई आनन्द ढुंगाना भनी चिनाए । हुन नहुने घटना भयो भनी दु:ख प्रकट गरे । उनैले सोधे, ‘डाक्टर साहेब १ भोक लागेको होला । केही मगाइदिऊँ ?’ मैले ‘हुन्छ’ भने । केही मिनेटमै मेरा लागि चारओटा सुक्खा रोटी र लौकाको तरकारी आइपुग्यो । मलाई लौकाको तरकारी पटक्कै मन पर्दैनथ्यो । तर, त्यस दिन त्यो रोटी र लौकाको पिरो तरकारी असाध्यै मन पर्‍यो । मैले आनन्द ढुंगानालाई हृदयदेखि नै धन्यवाद दिएँ ।

रातको १० बजेतिर केही सहयोगी युवाले डोर्‍याउँदै मलाई प्रहरी कार्यालय पुर्‍याए । दृश्य अनौठो थियो । त्यहाँ लोकेन्द्रबहादुर चन्द, हेमबहादुर मल्ललगायत भीडबाट बाँचेर आएका अरू थुप्रै थिए । अब हाम्रो सामुन्ने प्रश्न थियो— भोलिको आमसभामा जाने कि नजाने ? त्यहाँ बान्तवा थरका एक प्रहरी हाकिम रहेछन् । उनी कम बोल्ने र एकदमै भलाद्मी स्वभावका थिए । हामीले उनीसँग राय माग्यौं । उनको भनाइ थियो, ‘राजनीति तपार्इंहरूले बुझ्नुभएकै छ, आमसभामा के होला म ग्यारेन्टी गर्न सक्तिनँ । तर, मेरो मनदेखिको राय छ, तपाईंहरू भोलि आमसभामा नगएर जहाजबाट काठमाडौं फिर्ता हुनुस् ।’

हामी यस्तो सल्लाह मान्न तयार थिएनौं । यसरी फिर्ता हुँदा नेताहरू तराईबाट भागेको सन्देश जाने र पार्टीको अस्तित्वमै धक्का लाग्न सक्ने हुनाले भिडेरै भए पनि कार्यक्रम सम्पन्न गर्नैपर्छ भन्ने राय मेरो थियो । त्यस रायमा लोकेन्द्रजीको पनि समर्थन थियो । हामीलाई त्यहाँ बल दिने भूपू माननीय महेन्द्र राय थिए । उनी एक साहसी नेता थिए । कार्यक्रममा प्रहरीले सुरक्षा नदिए हामी आफैं सुरक्षा दिन्छौं भन्ने उनको अठोट थियो ।

उपसंहार अघि

भोलिपल्ट ११ बजे जलेश्वर पुग्यौं । अवस्था सामान्य थियो । ट्रयाक्टरमा मानिसहरू ल्याइँदै थिए । करिब १ बजे स्थानीय हाइस्कुलको चउरमा आमसभा सुरु भयो । हाम्रा सुरक्षाका लागि महेन्द्र राय र उनका ५–७ जना मानिस लठ्ठी लिएर मञ्चनजिकै बसेका थिए । महेन्द्र ६ फिटभन्दा अग्ला मानिस थिए र शारीरिक रूपमा बलिया थिए । सभाको अगाडि श्रोता थिए । तिनको पछाडि प्रहरी थिए र प्रहरीको पछाडि ५०–६० जना युवाको जत्था थियो । कार्यक्रम सुरु भयो । एकै छिनमा प्रहरीभन्दा पछाडिको जत्थाले होहल्ला गर्दै हामीविरुद्ध नारा लगाउन थाल्यो । यो देखेपछि महेन्द्र राय र उनको टोली नारा लगाउनेविरुद्ध जाइलागे । रायले झम्टेपछि ती भागाभाग गरे । तर, फेरि एकै छिनमा प्रहरीको पछिल्तिर आइपुगेर होहल्ला गर्दै हामीतिर ढुंगा प्रहार गर्न थाले । मैले स्थिति बिग्रन थालेको महसुस गरेँ । लोकेन्द्रजीलाई मैले भनें, ‘अब हामी चाँडो भाषण टुङ्ग्याएर पूर्वकार्यक्रमबमोजिम गाडीबाट काठमाडौं जाऊँ ।’ त्यो झुन्डले बाक्लै ढुंगा हान्न थाल्यो । प्रहरीले चाहिँ ‘ढुंगा नहान्’ भन्ने तर अरू केही नगर्ने देखियो । हाम्रा श्रोता उठेर हिँड्न थाले । हामीले पनि कार्यक्रम छोट्याएर समापन गर्‍यौँ ।

लोकेन्द्रजी, पशुपतिजी, हेमबहादुर मल्ल, मोहम्मद मोहसिन र म सभास्थलबाट निस्कियौं । नजिकै प्रमुख जिल्ला अधिकारीको घर थियो । प्रजिअकी श्रीमतीले हामीलाई देखिछन् । उनले चिया खान अनुरोध गरिन् । हामी उनको घरको माथिल्लो तलामा गयौं । एकै छिनमा प्रजिअ आइपुगे । उनले भने, ‘हजुरहरू यहीँ मेरै आवासभित्र बस्नुस् । बाहिर स्थिति ठीक छैन ।’ यत्ति भनेर उनी तुरुन्तै बाहिर निस्किए । हामीलाई ढुंगा हान्ने टोली हाम्रो नाम लिँदै घर खोज्दै हिँडिरहेको रहेछ ।

हामीभन्दा पछाडि रहेका खेमराज पण्डित, राजेश्वर देवकोटा, पद्मसुन्दर लावतीलगायत साथीहरू नजिकैको रेडक्रस भवनमा गएछन् । ढुंगा हान्ने हूल रेडक्रस भवनभित्रै गएछ । हूलले खेमराज पण्डितलाई निर्घात पिटेर, मर्‍यो भन्ने ठानेर घरको बरन्डामा फालिदिएछ । त्यो हूल लावतीलाई पनि खोज्दै गयो । उनको स्वभाव निडर थियो । उनी आँट र हिम्मतका धनी थिए । र, लावतीले उनीहरूलाई ‘म विष्णु लिम्बु हो । किन चाहियो तिमीहरूलाई’ भनेछन् । उनी यसरी बँचे ।

पण्डित, देवकोटालगायत साथीहरू भाग्यले बाँचेछन् । करिब २ घण्टासम्म त्यो हुल्याहा झुन्डले आतंक मच्चायो । सायद काकतालीले प्रजिअको घर नपुगेको भए हामी पनि बाँच्ने थिएनौं । बेलुका प्रजिअ घर आइपुगे । उनीसँग हाम्रो प्रश्न थियो, ‘यति सानो हुल्याहा झुन्डलाई पनि नियन्त्रणमा लिन किन नसकेको ?’ प्रश्नको जवाफमा उनी इमानदार थिए । उनले भने, ‘हजुरहरूलाई थाहै छ, देशमा के हुँदै छ । म त एउटा कर्मचारी मात्रै हुँ । म सकेसम्म हजुरहरूलाई बचाउँछु ।’ त्यो रात ११ बजे केही सहयोगी साथ लगाएर हेमबहादुर मल्ललाई सिमाना कटायौं । उनको ज्यानको सुरक्षा भएपछि हामी राति १ बजे जिपबाट काठमाडौंतिर लाग्यौं । त्यसबखत सरकारको एउटै नीति थियो— जसरी भए पनि राप्रपालाई राजनीतिक शक्तिको रूपमा उठ्न नदिने र उठ्ने प्रयास गरे जिल्लाजिल्लाबाट खेद्ने । अझै दाङमा त म, जोगमेहर श्रेष्ठ, विश्वबन्धु थापा र मोहम्मद मोहसिनलाई झन्डै सफाया गरिसकेका थिए ।

हिमालयको उचाइ र इच्छुमतिको दुर्गन्ध

कुनै पनि व्यक्तिको वैचारिक प्रतिबद्धताको मापदण्ड संघर्षको अवस्थामा नभई सत्तामा पुगेपछि मात्रै थाहा हुन्छ । शक्तिमा नपुगुन्जेल प्रजातन्त्रवादी/अग्रगामी र भ्रष्टाचारविरोधी भाषण गर्न सजिलो हुन्छ । तर, यी मान्यताप्रतिको प्रतिबद्धता र परीक्षा सत्तामा पुगेपछि मात्रै अवगत हुन्छ । हामीमाथि हमलाको त्यो शृंखला चल्दा देशका प्रधानमन्त्री थिए— सन्तनेता कृष्णप्रसाद भट्टराई । काठमाडौंमा उनीसँग भेट भयो । मैले हामीमाथिका हमलाका घटना बयान गरेँ । साबिकझैं उनले त्यसलाई ठट्टेउलो पारामा उडाए । उनले भने, ‘डाक्टर साब, यस्ता सानातिना कुरामा ध्यान दिनु हुँदैन छोडिदिनुस् ।’ तर, म र अन्य साथीहरूका लागि दुई दिनमा दुईपटक मृत्युसँगको त्यो जम्काभेट सहज थिएन ।

हमलाबाट डराएर हामी कोठाभित्र बसेनौं । दुवै राप्रपा देशका विभिन्न ठाउँमा आभसभा गर्दै गयौं ।

इतिहासमा राजनीतिक नेतृत्व एउटा उचाइमा पुगेपछि त्यहाँ अडिन नसकेर तल झरेका थुप्रै उदाहरण छन् । हाम्रो देशको राजनीतिक इतिहास पनि यस्तै छ । यसको उदाहरण अहिलेको सरकार नै छ सबैसामु । दुई वर्षअघि यो सरकार र यसको नेतृत्वको उचाइ झन्डै हिमालय पर्वतजस्तो सफा र अग्लो देखिन्थ्यो । आज यो सरकार काठमाडौंको दुर्गन्धित इच्छुमती (टुकुचा) को तहमा पुगेको छ, जहाँ इमानदारी र नैतिकता माथिदेखि तलसम्मै सखाप भएर जाँदै छ । यस सरकारको विरोधमा हजारौं युवा वाक्क भएर स्वतन्त्र रूपमा सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको छ । यो शुद्धीकरणको प्रयास नयाँ पिँढीको चेतावनी हो । नयाँ पिँढीको चेतावनीलाई उपेक्षा गर्नु भनेको आफ्नो अस्तित्व आफैं समाप्त पारौं भन्ने दिशामा अग्रसर हुनु हो ।

-लेखक राप्रपाका अध्यक्ष हुन् ।

प्रकाशित : असार १३, २०७७ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×