अप्प दीपो भव

पच्चीस सय वर्षअघि तिमीले चार आर्य सत्य पत्ता लगाएदेखि अहिलेसम्म जीवनको सार यही दु:ख नै हो । र, लाग्छ भोलि पनि यही हुनेछ । आनन्दमात्र खोजिहिँड्ने जीवनको स्थायी सत्य दु:ख भएपछि हामी सांसारिकहरु यहीँ अल्झिन्छौँ, छटपटिन्छौँ, संघर्ष गर्छौँ र मर्छौँ ।
भूपिन

प्रिय बुद्ध, तिमीले सत्य भन्यौ, जीवन दु:खपूर्ण छ... !

अप्प दीपो भव

दु:ख, तिम्रो दर्शनले व्याख्या गरेको जीवनको एक आधारभूत सत्य । जसरी मृत्युसत्यको बोध नगरी जीवनसत्यको बोध हुन्न, त्यसरी नै दु:खसत्यको बोध नगरी सुखसत्यको गहिरो अनुभूति असम्भव हुन्छ । र, सुख कुनै ‘एइटी एइट् पुतली’ होइन, पंखामा प्रकृतिले लेखिदिएको नम्बर पढेर यसलाई सजिलै चिन्न सकियोस् । सुख त ‘डेड् लिफ् पुतली’ हो, जसलाई पातको उरुङमा खोज्न निकै गाह्रो हुन्छ । तर जब भेटिन्छ, यसको लुकेको सौन्दर्यले जीवनलाई अलौकिक बनाइदिन्छ ।

कैयन दिनदेखि म केवल दु:खबारे सोचिरहेछु र तिमीलाई सम्झिरहेछु । कहिलेकाहीँ मानिसलाई दु:खबारे सोच्नु सर्वाधिक सुखद लाग्छ, प्रेमीले प्रेमका दु:खहरू सम्झेर सुखद अनुभव गरेजस्तै । समस्या तब सुरु हुन्छ, जब मानिसमा दु:ख मात्र सोच्ने आदत बस्छ । लुतो कन्याएर आनन्द लिएजस्तै मानिसले दु:ख कन्याएर आनन्द लिन थाल्छ । फेरि आदत त कैयौँ दु:खहरूको मुहान हो । दु:खमा आनन्द अपवाद हो, वास्तवमा दु:खको स्वभाव मानिसलाई तड्पाउनु हो, रुवाउनु हो । अहिले मानिसहरू अचानक प्रकट भएको एक घातक दु:खको अन्धकारभित्र छटपटाइरहेका छन् । ढोका खोल्न थाल्छन्, त्यहाँ दु:खले चाबी लगाइदिएको छ । बाहिर निस्कन मनाही छ, लकडाउन छ । दु:ख ओछ्यानमा आएर सुतेको छ, दु:ख कमोडमा बसेको छ, दु:ख स्पर्शमा सल्बलाइरहेको छ ।

द्रोणाचार्यले निर्माण गरेको चक्रव्यूहमा अभिमन्यु फसेजस्तै सारा दुनियाँ कोरोनाको चक्रव्यूहमा फसेको छ यतिबेला । यो परिदृश्य यति दारुण र कारुणिक छ कि मानौँ चक्रव्यूहको अर्को अध्याय लेख्न कोही आधुनिक व्यासलाई समेत गाह्रो हुनेछ । चार लाखभन्दा बढी मानिसले यस चक्रव्यूहमा आफ्नो जीवन लीला समाप्त गरिसके । कोरोना–दु:खका सहस्र काँडाहरूको घोचाइ सहँदै बाँच्न अभिशप्त छौँ हामी । मानसिक पीडाका दर्जनौँ बिच्छीहरूले डसिरहेछन् मानिसलाई ।

तथागत्,

बिच्छी भन्नेबित्तिकै तिम्रो सम्झना झन् दोब्बर भएर आयो । जब तिमी र यशोधरा सुहागरातको नसालु ओछ्यानमा ढल्किँदै थियौ, त्यहाँ षड्यन्त्रपूर्वक फूलमा लुकाइएका बिच्छीहरू सल्बलाइरहेका थिए । बिहेपछिको त्यो तिम्रो पहिलो प्रेम परीक्षा थियो । बिच्छीहरूमाथि समेत करुणा देखाएर तिमीले ओछ्यानलाई बिच्छीमुक्त बनाइसकेपछि पनि यशोधराले उक्त ओछ्यानमा रात काट्न नसक्ने प्रेमील जिद्दी गरेपछि तिमीले सम्झायौ, ‘प्रिय यशोधरा, भयभन्दा भयको कल्पनाले मानिसलाई कमजोर बनाउँछ ।’ म सोचिरहन्छु, यी अर्बाैँ मानिस अब कहिलेदेखि महामारीको दंस बिर्सिएर ओछ्यानमा पहिलेजस्तै निदाउन पाउलान् ? कहिलेदेखि यो दु:खको भयबाट मुक्त हुन सक्लान् ?

पच्चीस सय वर्षअघि तिमीले चार आर्य सत्य पत्ता लगाएदेखि अहिलेसम्म जीवनको सार यही दु:ख नै हो । र, लाग्छ भोलि पनि यही हुनेछ । आनन्द मात्र खोजिहिँड्ने जीवनको स्थायी सत्य दु:ख भएपछि हामी सांसारिकहरू यहीँ अल्झिन्छौँ, छटपटिन्छौँ, संघर्ष गर्छौँ र मर्छौँ । सामान्य जीवनमा पनि मानिस यतिसम्म दु:खी छ कि वर्तमान खुसीहरूको जंगलमा चराहरूसँग बात मार्दामार्दै कतिबेला विगतका दु:खहरूको स्मृतिजालोमा फसिसकेको हुन्छ ? थाहा पाउन्न । अहिले त वर्तमान नै असामान्य छ दुखाउन । यो दु:खले मानव विश्वलाई सास फेर्न अप्ठ्यारो पारिरहेछ । म तिमीजस्तो कुनै महामानव होइन, तसर्थ म पनि अरू मानिसझैँ लकडाउनको दु:ख झेलिरहेछु । ओहो १ तिमी भएको भए यस महामारीलाई कसरी झेल्थ्यौ होला ?

प्रिय तथागत्,

समयको एक सुनामीले मानव जगत्लाई साह्रै अपत्यारिलो र अनौठो द्वीपमा ल्याएर फ्याँकिदिएको छ । किनारमा उत्तानो पल्टिएर हामी अत्तालिएको मन सम्हाल्न कोसिस गरिरहेछौँ । राति बल्लबल्ल सम्हालिँदै सुत्छौँ, फेरि बिहानका समाचारहरूमा समुद्री तुफान सुरु भैसकेको हुन्छ । सम्हालिन नपाउँदै अर्को छाल आइसक्छ, हजारौँ मानिसका शव लिएर । पहिलो छाल, दोस्रो छाल, तेस्रो छाल, चौथो छाल । यी छालहरू समुद्री किनारमा सूर्य स्नान गर्दै लिएको आनन्दजस्तो छैन, पौडिन नजान्ने मानिस पानीमा डुब्दै–उत्रँदै गर्नुको सकसजस्तो छ । विश्व रंगमञ्चमा कोरोनाको त्रासदीपूर्ण सुनामी नाटक चलिरहेको छ । नि:सन्देह यस त्रासदीको सर्जक हामी नै हौँ । आफ्ना जायज–नाजायज इच्छाहरू पूरा गर्न हामीले प्रकृतिको विधान बुझ्न इन्कार गरिदियौँ । परिणाम भोगिरहेछौँ ।

प्रिय बुद्ध,

सत्य हो, दु:खका कारणहरू छन्...!

लकडाउनका प्रारम्भिक दिनहरूमा केवल अन्योलको शीत खसिरहेको थियो हृदयको कर्कले पातमा र ढलपल ढलपल गरिरहेको थियो । दुनियाँका हरेक मानिसहरू महामारीको सोचबाट हुने दु:खबाट विरेचित हुन चाहेझैँ म पनि मुक्त हुन चाहन्थेँ त्यसबाट । अलमल अलमलमै सेकेन्ड सेक्स पल्टाएँ, हाफ अ लाइफको विली चन्दननसँग मित्रता गाँसेँ ।

नयपालले मलाई अपेक्षा गरेजस्तो तानेनन् । सिमोन द वुआको प्रेम र विद्रोही चेतना दुवैले सदाझैँ विचारशील बनाइदियो । वैवाहिक संस्थालाई खारेज गरिदिएकी उनी लेखक दार्शनिक सात्र्रसँग जीवनभरि सम्बन्धमा रहिन् । आफ्नै सुन्दरी चेली ओल्गासँग सात्र्रको रुचि देखेपछि सिमोनको मन टुक्रियो पनि । पछि सिकागोमा भेटिएका अमेरिकी लेखक नेल्सन एल्ग्रेनसँग चारवर्षे प्रेम सम्बन्धमा डुबेकी उनले सात्र्रलाई भने जीवनभर प्रेम गरिरहिन् । सन् १९४९ मा प्रकाशित सिमोनको सेकेन्ड सेक्सको हिन्दी अनुवाद मैले २००१ को डिसेम्बरमा किनेको रहेछु, बागबजारको हिमालयन बुक सपबाट । काठमाडौँको करिब तीनवर्षे बसाइमा म प्राय: पुगिरहन्थेँ त्यस किताब पसलमा । भीडभाडयुक्त काठमाडौँमा प्रशान्तिको अनुभव गर्ने त्यो मेरो प्रिय स्थल थियो । पुस्तक पसल ठूलो थिएन, तसर्थ कुन र्‍याकमा कुनकुन पुस्तकहरू छन् र कुन नयाँ पुस्तकहरू थपिएका छन् ? मलाई प्राय: हेक्का रहन्थ्यो । पैसाको अभावका कारण पुस्तकहरू आँखाले छामेर म डेरा फर्किन्थेँ । पैसाले साथ दिएको बेला मन फुकाएर किन्थेँ पनि । डा. प्रभा खेतानले अनुवाद गरेको त्यो रातो किताबको बीचतिर एक सुन्दर बुकमार्क भेटियो, जहाँ टेनिस सुन्दरी आन्ना कोर्निकोभाको तस्बिर थियो । हरियो साडीमा सजिएको । भारत भ्रमणमा आएको बेला खिचिएको उक्त तस्बिर ‘कान्तिपुर’मा छापिएको रहेछ र त्यसलाई काटेर मैले बुकमार्क बनाएको रहेछु । महत्त्वपूर्ण टेनिस टाइटल नजिते पनि कोर्निकोभा आफ्नो अदिप्तीय सुन्दरता, अबोधपन र खेलशैलीका कारण सधैँ चर्चामा रहिन् । म पनि उनको फ्यान थिएँ, सम्झिएँ । बौद्धिक सुन्दरी सिमोनको किताबमा खेल सुन्दरी कोर्निकोभालाई देखेर आनन्दित भएँ १ यो गजब संयोग थियो । तर, किताबको पहिलो पन्नामा रगतको सिग्नेचर देखेपछि भनेँ म नराम्रोसँग झस्किएँ । कुन मनस्थितिमा मैले त्यस्तो स्याडिस्ट काम गरेको हुँदो हुँ, सम्झन सकिनँ ।

किताबहरूमा खासै ध्यान नगएपछि फिल्मको सिलसिला सुरु भयो । इरानी फिल्म ब्ल्याकबोर्डस हेरेँ, जसले मलाई सम्मोहित पारिदियो । इरान–इराक युद्धको बेला पिठ्युँमा ब्ल्याकबोर्ड बोकी दुर्गम पहाडहरूमा पढाउन जाने शिक्षकहरूलाई मियो बनाएर निर्देशक समिरा मखमलबाफले कुर्दिस शरणार्थीहरूका दु:खलाई सुन्दर विम्बहरूमा देखाएकी छन् । भेडाका बथानमा लुकेर सिमाना काट्ने किशोरहरूमा छोराको अनुहार देखेर म धर्धरी रोएँ । फिल्मले मलाई नितान्त अलग दुनियाँमा पुर्‍याइदियो । म यही चाहन्थेँ ।

त्यही समय मैले हेरेका हिन्दी फिल्म दामुल र पार राम्रा फिल्म हुन् । भारतीय फिल्म भए पनि ती हामी नेपालीकै कथाजस्ता लाग्छन् । अछुत र वर्गीय उत्पीडनका कथाहरू भारत र नेपालमा लगभग उस्ताउस्तै हुन्छन् । ती सिनेमाका नायक–नायिकाहरूलाई स्क्रिनमा हेर्दा मैले नदीन र कलालाई धेरै मिस गरेँ ।

(‘नदीन अचेल कुन पेन्टिङमा डुबिरहेको होला ?’ डायरी लेख्ने बानी नछुटेको भए सायद म यस्तै लेख्दो हुँ । उसको कथा लेखिदिएबापत कतै मसँग रिसाएको पो होला कि भनेर मैले उसलाई फोन वा मेसेज नगरेको एक वर्ष भैसक्यो । लकडाउनको कुनै एक दिन पुलिस र संक्रमणको डरले भयभीत हुँदै समालोचक एकनारायण पौडेलको घर पुगेको थिएँ । उहाँले नदीनसँग अन्तर्वार्ता नै लिनुभएको रहेछ र त्यसलाई पढाएर मबाट केही प्रतिक्रिया लिने सोच रहेछ उहाँको । आश्चर्यचकित हुँदै निसमालोचना नाम दिइएको उक्त लामो वार्तामा नदीनलाई पढेँ मैले र निष्कर्ष निकालेँ– नदीन मसँग दु:खी रहेनछ । म भावुक भएँ । लकडाउनको समयमा मैले पाएको यो एक सुन्दर समाचार थियो ।)

चक एन्ड डस्टरको कथा मेरो आफ्नै कथा थियो । मेरै प्रकृतिका शिक्षकहरूको कथा । सिनेमाको अन्तमा हुने कथाको अति नाटकीकरणले विमोहित पारिदियो । मैले भोगेको दुनियाँमा शिक्षकको परीक्षण गर्न ‘कौन बनेगा करोडपति’ जस्तो रियालिटी शोको आयोजना हुँदैन । यथार्थवादी सिनेमाको उक्त स्क्रिप्ट लेख्दा लेखकको दिमागमा त्यस्तो नसुहाउँदो कल्पना किन आयो होलाजस्तो लागिरह्यो । तर शिक्षालाई ज्ञानभन्दा व्यापारको हतियार बनाउने, शिक्षकलाई अपमान गर्ने र पद हत्याएर त्यसको दुरुपयोग गर्ने हरेक व्यक्तिले त्यो फिल्म हेरिदिए हुन्थ्यो भन्नेचाहिँ लागिरह्यो । फिल्म हेरिसकेपछि मैले तुरुन्त त्यसको संक्षिप्त समीक्षा सप्तगण्डकी क्याम्पसको फेसबुक पेजमा राखिहालेँ । किन राखेँ ? दुनियाँ बुझेको तिमीले यसको आशय नबुझ्ने कुरै भएन ।

हतारहतार लिइएको परीक्षा सकेपछि छोरा मामाघर गइदियो । छोरालाई कोरोनाबाट सुरक्षित रहने उपाय सम्झाउँदै स्कुल पुर्‍याउने र दिनभर सुरक्षित रहन उसले गरेका काम सोध्दै घर फर्किने डिउटी सकिएको थियो । ‘छोरा, परीक्षा कस्तो भयो ?’ सोध्नु रुचिको विषय थिएन । यस्तो पहिलोपटक भएको थियो । परीक्षापछि छोरासँग उन्मुक्त समय बिताउने चाहना थियो, तर उसले मामाघर जाने रहर सुनाएपछि नजानू भन्न पनि सकिनँ ।

जब छोराको चिर्बिराहट मिस हुन्थ्यो, घरवरिपरिका चराहरूको चिर्बिराहट सुन्थेँ । डेराकै सामुन्ने गेटमा ढकमक्क फुलेको थियो बेगनबेली । त्यसका फूलैफूलले भरिएका हाँगामा भँगेराभँगेरी प्रणयका गीत गाउँथे । मानौँ उनीहरूलाई मानव दु:खसँग केही लिनुदिनु थिएन । उनीहरूलाई महामारी थाहा थिएन । सडकहरूमा किन अचेल सवारीहरूको हल्ला सुनिन्न ? मानिसहरू अचानक किन घरभित्रै थुनिएका छन् ? उनीहरूलाई पत्तो थिएन । कामवासनाको वशमा परेका भँगेराहरू हाँगामा उफ्रिएर चिर्चिर गर्दै भँगेरीसँग समागमको आमन्त्रण गर्थे । फूलको झ्याङमा प्रेम जोडीको लुकामारी चल्थ्यो, धेरैपटक डालीहरू हल्लिन्थे । भँगेराको आवाज बदलिन्थ्यो समागमको कामूक आवाजमा । फूलले उज्यालिएको गुलाबी झ्याङमा भँगेराभँगेरीको प्रणय दृश्य यति सुन्दर लाग्थ्यो कि मानौँ उनीहरू स्वर्गमा प्रणयलीला खेलिरहेछन् । यस्तो दृश्यले केही समयका लागि दु:खाउने सोचहरू टाढा भगाइदिन्थे मनबाट ।

बीआर चोपडाले निर्माण गरेको हिन्दी धाराबाहिक ‘महाभारत’ लकडाउनको मेरो महत्त्वपूर्ण प्राप्ति थियो । त्यसका चौरानब्बे भाग हेर्न मलाई पूरै एक हप्ता लाग्यो । महाभारत हेर्नु मेरो सपना नै थियो । उहिल्यै किनिल्याएको थिएँ सीडी । व्यस्तताले गर्दा हेर्न पाइरहेको थिइनँ । लकडाउनमा मानिसहरूले महाभारतको आनन्द लिउन् भनेर गुणस्तरीय भिडियो युट्युबमा अपलोड गरेको थियो– पेनले । सुनौलो अवसर दिएको थियो समयले पनि । म डुबेँ । महाभारत हेरेपछि मैले चमत्कृत नै भएको महसुस गरेँ । मानिसहरू किन महाभारतलाई सर्वश्रेष्ठ कृति मान्छन् ? अनुभव गरेँ । त्यसपछिको समयलाई पनि महाभारत हेर्दा जत्तिकै मूल्यवान बनाउने विचारले मैले तिम्रो जीवनीमा आधारित ‘बुद्ध’ हेर्न थालेँ । डा. भूपेन्द्रकुमार मोदीले निर्माण गरेको उक्त धारावाहिक सक्न भने मलाई बाह्र दिन लाग्यो । म निर्धक्क भन्न सक्छु, बुद्ध धारावाहिक मेरो अर्को मूल्यवान समय–यात्रा थियो । पूर्वीय सभ्यताका दुई अमूल्य ज्ञानसागरमा पौडिनु जीवनका महत्त्वपूर्ण प्राप्ति थिए । म चार्जले भरिएको पावर बैँकजस्तो महसुस गरिरहेथेँ ।

प्रिय बुद्ध,

तिमी सारा जगत्का लागि सर्वाधिक असल गीतसंगीत हौ । कविता हौ, पेन्टिङ हौ । मेरो विचारमा जसले तिमीलाई पढ्दैन वा पढेर पनि बुझ्दैन, उसले मानव जीवनमा करुणा, प्रेम र अहिंसाको गहिराइ बुझ्दैन । मैले तिमीलाई स्क्रिनमा सुरुचिपूर्वक हेरेँ । तिम्रो भूमिकामा हिमांशु सोनीले यति सानदार अभिनय गरेका छन् कि मेरो दिमागमा अब तिम्रा दुईवटा अनुहारको स्पष्ट अस्तित्व बनेको छ । पहिलो अनुहार, जुन मैले किताब, मूर्ति या गुगलमा हेर्दै आएँ । दोस्रो अनुहार, जसलाई हिमांशुको अभिनयमा देखेँ । हरेक भागको सुरुआतमा हावामा पौडिँदै आउने सेतो हात्तीको प्रभाव यति गहिरो पर्‍यो कि त्यसले मलाई एउटा कविता लेख्ने प्रेरणा नै दियो ।

प्रिय बुद्ध,

सत्य हो, दु:खबाट मुक्ति सम्भव छ.... ।

तिमीले भन्यौ, दु:खका कारणहरूको उचित निदानबिना दु:खबाट मुक्ति सम्भव छैन । अरू गुरुहरूले केवल सुख प्राप्तिका उपाय बताए, म दु:खका कारणहरू खोज्छु । किनभने दु:खका कारण थाहा नभई यसबाट मुक्ति सम्भव हुन्न । दु:खबाट मुक्त नभै वास्तविक सुख प्राप्त हुन्न । सही हो, रोगको उचित निदानबिना खाएको औषधि विष समान पनि त हुन सक्छ ।

ताजा उदाहरण लिऊँ । अहिले हामीले भोगिरहेको महामारीको कारण कोरोना भाइरस हो, जो चीनको बुहानबाट निस्किएर विश्व सखाप पार्न कुदिरहेछ । यसको प्रभावबाट सायदै कुनै देश बचेको होला । तर, स्थिति कस्तो छ भने महामारीको कारण थाहा छ, औषधि थाहा छैन । भौतिक दूरी त संक्रमण रोक्ने उपाय मात्र न हो, जसका लागि विश्वका प्राय: मानिस लकडाउनमा छौँ । सारा मानिस अहिले केवल दुई थोपा भ्याक्सिनको प्रतीक्षा गरिरहेछन् । केही सकारात्मक प्रगतिका समाचार पनि आएका छन्, तर तिनीहरूको प्रभावकारिता मूल्यांकनका लागि अझै महिनौँ लाग्ने बताइएको छ । यसबीच त्यो अदृश्य शत्रुसँग कसरी लड्लान् मानिसहरू ? सोच्न पनि डर लाग्छ । उचित निदान हुँदा त रोग निर्मूल पार्न कहिलेकाहीँ यति मुस्किल हुँदो रहेछ भने कारण नै थाहा नभई कसरी रोगको उपचार हुनु ?

‘जीवनको महामारीको कारण तृष्णा नामक भाइरस हो, किनकि तृष्णाले नै दु:ख उत्पन्न गर्छ । तृष्णा नै नरहेपछि संसारमा रहेका कुनै पनि वस्तुको कारण दु:ख उत्पन्न हुँदैन र मानिसले जीवनमा निर्वाण प्राप्त गर्छ,’ तिमीले उहिल्यै भनेर गयौ ।

प्रिय तथागत,

तृष्णाकै उपज हो, मानिसले प्रकृतिमाथि सलहले बालीमाथि गरेझैँ ज्यादती गर्‍यो तसर्थ अहिले परिणाम भोगिरहेछ । तिमी अहिले भएको भए दु:खबाट मुक्तिका उपायमा स्पष्टसँग प्रकृति संरक्षणलाई पनि राख्ने थियौ कि ? तिमी नै यस्तो असल दार्शनिक हौ, जसले मानवेतर जगत्लाई पनि मानव जगत्लाई झैँ प्रेम गर्‍यौ । दक्षिण अफ्रिकामा रहँदा एक इसाई बुद्धिजीवीसँग धर्म विषयक विवादमा गान्धीले भनेका थिए, ‘प्रेमका पक्षबाट व्याख्या गर्दा दुनियाँको महान् धर्म बौद्ध धर्म हो किनभने बुद्धले मानिसलाई मात्र होइन सबै प्राणीलाई प्रेम गर्न सिकाए ।’ आत्मकथामा गान्धीले यस्तै आशय प्रकट गरेका छन् ।

यसो गम्छु, मानिसलाई कठोर सजाय दिएर प्रकृति भने यतिखेर बडो आनन्दमा निमग्न छ । मानिसले गर्ने गरेका हरेक प्रदूषणबाट अलिकति भए पनि मुक्ति पाएको छ पृथ्वीले । हावामा प्रदूषणको मात्रा घटेको छ । आकाश नीलो र सफा देखिन थालेको छ । ध्वनि प्रदूषणको कमीले मानव जीवनमा ल्याएको सकारात्मक असरबारे त अनुसन्धान हुनै बाँकी छ । त्यो अत्यन्त सकारात्मक होला भन्ने मेरो अनुमान छ । दुर्भाग्य, सवारीहरूको ट्याँट्याँ टुँटुँ र मेसिनहरूको कर्कश आवाजले प्रकृतिको आवाज निलिदिएको सत्य थाहा पाउन सहरहरूलाई महामारी नै आउनुपर्दो रहेछ ।

लकडाउनको समयमा कुनै दिन रोशन शेरचनसँग फोनवार्ता भएको थियो । मनको चकचक थाम्नभन्दा खुट्टाको चकचक थाम्न गाह्रो भएको बोध हामी दुवै डुलुवालाई हुनु स्वाभाविक थियो । रोशन त झन् नेपालकै सर्वाधिक डुलुवा लेखकमध्ये एक । म रोशनको मनोदशा बुझ्छु । प्रसंगवश रोशनले भने, ‘प्रकृतिको आरोग्यका लागि हरेक वर्ष केही दिन लकडाउन जरुरी रहेछ ब्रदर ।’ मनमा एक अनौठो भाव दौडियो । यो कुरा त मैले पनि बारम्बार सोचिरहेथेँ । भनेँ पनि । सायद सोचको टेलिप्याथी भनेको यही होला । संरक्षण कविता आन्दोलनले हाम्रो सोच्ने पद्धतिमा यस्तो समानता ल्याइदियो होला । लकडाउनले मानव सभ्यतालाई सिकाएको यो महत्त्वपूर्ण पाठ हो, तर महामारीपछि यस विषयमा कोही गम्भीर होला भन्ने कुरामा मलाई शंका छ । संयुक्त राष्ट्र संघले यसको आह्वान गर्न सक्ने र बिस्तारै यस अभियानलाई विश्वभर पिँmजाउन सक्ने रोशनका तर्कहरूमा प्रशस्त आशावादिता थियो । रोशन यस्तै वैचारिक आशावादिताका लेखक हुन्, जसको जन्मस्थल कोबाङको गुम्बामा कुनै दिन हामीले तिम्रो नाममा बत्ती जलाएका थियौँ ।

नयाँ होइन, तर यस महामारीले अर्को महत्त्वपूर्ण पाठ सम्झाएको छ, विशेष परिस्थितिमा व्यक्तिगत अधिकारको कुरा गर्दा मानिसले व्यक्तिगत कर्तव्यलाई पनि बिर्सनुहुँदो रहेनछ । कोरोनासँग खेलबाड गरेर आफू मर्ने अधिकार त मानिसलाई होला, तर संक्रमणबाट अन्य कैयन बाँच्न चाहने मानिसहरू मर्न सक्छन्, तसर्थ पनि आफू सजग रहनुपर्छ भन्ने चेतना जरुरी रहेछ । कुनै एक मानिसबाट सुरु भएको यसले लाखौँ मानिसको ज्यान लियो, मेरो कारण पनि लाखौँ मानिसको मृत्यु हुन सक्छ भन्ने बोध सबै मानिसमा हुनु जरुरी रहेछ । करोडौँ संजोगबाट प्राप्त मानव चोला कसैको सानो लापरबाहीले निमिट्यान्न हुनुहुन्न । अमेरिका, इटाली र स्पेनजस्ता देशले भोगेको अपूरणीय क्षतिको पछि अतिव्यक्तिवादी सोचले नै काम गरेको हो भन्ने मेरो निष्कर्ष छ । म गलत पनि हुन सक्छु । ट्रम्पले त जात्रै देखाए । त्यति मूर्ख मानिस पनि कसरी अमेरिकाको राष्ट्रपति भए होलान् भन्ने कैयन विश्व नागरिकलाई झैँ मलाई पनि लागिरह्यो । महासंकटको बेला केही न केही अनुशासन त अत्यावश्यक हुँदो रहेछ । स्वतन्त्रता र जीवनलाई अलग्याएर हेर्दा समस्या हुने रहेछ । आखिर मानिसले बाँच्नकै लागि त स्वतन्त्रता खोज्ने हो । जीवन नै नरहे स्वतन्त्रताको के अर्थ ? ‘अस्तित्व सारको पूर्ववर्ती हुन्छ’, अस्तित्ववादीहरूले कहाँ त्यसै भनेका हुन् र ? यही अनुशासन नै रहेछ, जसले भावी पुस्तालाई सुरक्षित पृथ्वी हस्तान्तरण गर्न पनि हामीलाई सघाउँदो रहेछ ।

प्रिय तथागत्,

तिमीले दरबार छोडेर ज्ञानको खोजीमा निस्किँदा यशोधरालाई भनेका थियौ, ‘म अज्ञानको अँध्यारो ओडेर जाँदै छु । ज्ञानको उज्यालो मिल्नासाथ फर्किनेछु ।’

के यो महामारीको अन्धकारबाट निस्कने कुनै बुद्धले ज्ञानको कुनै नयाँ उज्यालो ल्याउलान् ?

बुद्ध,

तिमीले सत्य भन्यौ— दु:खबाट मुक्तिका आठ मार्ग छन्... !

ती आठ मार्ग हुन्— सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि ।

कोरोना र योजस्तै महामारीबाट हुने दु:खबाट मुक्तिका मार्गहरू के–के होलान् ? कोठामा एक्लै बसेर सोचिरहन्छु ।

यही निम्छरो तैयारीमा हाम्रो सरकारले कोरोना संक्रमितका लागि उत्पात केही गर्ला भन्ने मलाई रत्तिभर विश्वास छैन । यसलाई मेरो निराशावादी सोच मानिदिन सक्छौ, तर सत्य यही हो कि प्रकोप बढ्दै जाँदा हामीलाई कसैले जोगाउनेवाला छैन । आर्थिक रूपमा सबैभन्दा विकसित मानिने देशको हालत र हाम्रो सरकारको लाचारी हेरेर नै हामीले हाम्रो भावी अवस्थाको सहज अनुमान गर्न सक्छौँ । अहिले हामीलाई जोगाउने कोही छ भने त्यो केवल हामी स्वयम् हौँ । आफैं आफ्ना लागि सचेतताको दियो बनेनौँ भने कैयन जीवनको दु:खद अवसान निश्चित छ । तिमीले भनेकै थियौ, अप्प दीपो भव: । म त्यही मन्त्र पालन गरेर लकडाउनका कठिन क्षणहरू काटिरहेछु र दु:खबाट मुक्तिका तिम्रा अष्टमार्गभित्रै बोधो दिमागले सोचिरहेछु भावी महामारीबाट मुक्तिका आठ मार्गहरू—

१. हरेक सामाजिक एकाइबाट प्रकृति संरक्षणका लागि ठोस कामहरू

२. संयुक्त राष्ट्र संघको अगुवाइमा हरेक वर्ष एक हप्ता विश्वबन्द (लेखक रोशन शेरचनको प्रस्तावसँग सहमति जनाउँदै ।)

३. कर्तव्यबोधसहितको व्यक्तिगत स्वतन्त्रताको प्रयोग

४. खाना संस्कृतिमा अनुशासन

५. बम–बारुद र सुरक्षा लगानी कटाएर स्वास्थ्य सेवामा अधिक लगानी

६. पृथ्वी भावी पुस्ताका लागि पनि हो भन्ने चेतना विस्तार

७. स्वास्थ्यका लागि नियमित व्यायाम

८. समतामूलक र मानवतावादी शासनसत्ता

प्रकाशित : असार १३, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?