लकडाउनमा ब्रेकअप

तीन–चार विषयमा डिग्री गरेको र डलरमा तलब बुझ्नेले कसरी मसँग ५० लाख रूपैयाँ दाइजो माग्न सुहाउँछ ? मैले सोधेकी थिएँ, ‘तपाईंका दिदी–बहिनीसँग पनि यसरी नै तपाईंका ज्वाइँले ५० लाख मागेको भए के गर्नुहुन्थ्यो ?’ 
सजना बराल

म सरासर उसको भान्साकोठामा छिरेँ, इन्डक्सन चुलो झिकेँ अनि छेवैको सेरामिक–बोउल (डबको) समेत बोकेर बाहिर आएँ । ऊ ढोकाको चुकुल लाउँदै हुन्छ, त्यही बेला ग्रिटिङ कार्ड फिर्ता मागेँ । थपक्कै दियो । र, खुरुक्क सिरकभित्र पस्यो । म ढोकाछेउ उभिएर अरू सामान फिर्ता माग्न थालेँ, ‘पोहोर बर्थ डेमा देको प्यान्ट निकाल्नू । तपाईंका सामान किन्दा मेरो दुई–तीन हजार खर्च भाथ्यो, त्यो पनि चाहियो ।’

उसले पर्सबाट झिकेर लग भन्यो । टेरिनँ । अर्काको पर्स म किन छुने !

‘छिटो दिनू, मलाई घर जानु छ,’ म भन्छु ।

‘हेर, घरमै आएको छौ, के चीज कहाँ छ थाहै छ, झिकेर लैजाऊ,’ऊ सुतेरै बोल्यो ।

‘म आफ्नो सामान लिन आको छु, दिनू न । मेरो पैसा पनि दिनू,’ म अड्डी कस्छु ।

‘आई डन्ट केयर, नट माई प्रब्लम,’ ऊ खिस्याउँछ ।

त्यसो भए ‘खा’ भनेर हिँड्छु म, इन्डक्सन र बोउल बोकेर ।

...

कुनै बेला सप्रेम उपहार दिएका सामान यसरी उठाएर ल्याएँ । उसलाई कुखुराको मासु, फ्रोजन म:म:, गहुँको पिठो आदि किनिदिँदा भएको खर्च फिर्ता मागेँ । पहिला उसले पैसा दिँदा ‘ह्या पर्दैन’ भनेर हात पन्छाएकी थिएँ । अहिले त्यही पैसा फिर्ता चाहियो भन्दै छु ! कस्तो ढोँगी म । अरू त अरू उसलाई ‘तँ’ समेत भनेँ ।

...

उसले दिएका सामान पहेँलो झोलामा हालेर लगिदिएकी थिएँ । सम्हालेर राखेको चकलेटको खोल, दुइटा किताब, अचारको बट्टा, डायरी, टिसर्ट, मास्क, पेनड्राइभ सबै फिर्ता गर्दिएँ । त्यो झोला छोडेर घर आएपछि मलाई केके न गरेँझैं महुसस भयो । यो सब वृत्तान्त सुपुष्पा र बिनालाई सुनाएँ । बिना मरुन्जेल हाँसिन् । ‘भागबन्डाको काम साह्रै चायल्डिस भयो’ भनिन् । सुपुष्पाले चाहिँ ‘जे गर्‍यौ, सही गर्‍यौ’ भनिन् ।

सही, गलत त के हो कुन्नि तर मलाई मेरो इन्डक्सन चुलो र बोउल फिर्ता आएकोमा खुसी लागेको छ । यो लकडाउनका बेला त्यो इन्डक्सन मैले आफ्नो घरमा समेत नकिनी–नकिनी, उसलाई भने गिफ्ट दिएकी थिएँ । बिचरोलाई ग्यास सकिने चिन्ता नहोस् भनेर सस्तो डिलबाट मगाइदिएकी । इन्डक्सन देखेर ममी दंग पर्नुभयो । इन्डक्सन चुलो किन्दा राइस–बोउल सित्तैं आउँदो रैछ भन्ठान्नुभयो । मैले हो भन्दिएँ ।

त्यो बोउल भ्यालेन्टाइन्स डेमा गिफ्ट दिएकी थिएँ । ‘द रोड होम’ फिल्ममा बोउललाई माया र आशाको विम्बका रूपमा देखाइएको छ, तसर्थ पहिलो उपहार बोउल छानेँ । उसले धूलो जम्ने गरी राखेछ, घर ल्याएर धोईपखाली गरेपछि टिलिक्क भयो । इन्डक्सन चुलोमा तेलै–तेल ल्यात–ल्यात थियो, स्पिरिट छर्केर झुम्रोले पुछेँ । ए, अनि त्यो ग्रिटिङ कार्डचाहिँ च्यातचुत पारेर फाल्देँ ।

...

आज जे गरेँ, यस्तो कहिल्यै गरेकी थिइनँ । हुन त हरेक प्रेमीसँग मेरो फिल्मी शैलीमा विछोड हुँदै आएको छ । तर, यसअघिका ब्वाइफ्रेन्डले मसँग यो स्तरको जाली व्यवहार गरेनन् । तिनले मलाई आफ्नो घर लगेर बा–आमा, दिदी, बहिनी, ज्वाइँसामु उभ्याएनन् । आफ्ना कलिगसँगै फिल्म हेर्न बोलाएर, तिनकै सामु गर्लम्म अंगालो हालेर, क्याफेमा खुलेआम किस गरेर ‘हाम्रोबारे कसैलाई थाहा छैन’ भनेनन् ।

म समुद्रछेउ, ऊभन्दा सय कोस टाढा पुगेका बेला ‘मलाई पर्सनल स्पेस चाहियो’ भन्दै गर्जिएनन् । हुँदाहुँदा यो मोराले त कोरोना भाइरसलाई समेत बीचमा ल्याएर लास्टै झोँक चलाएको थियो । मैले विनम्रतासाथ ‘समस्या भए हामी समाधान गरौं न’ भन्दा ‘कोरोना सकिएपछि/लकडाउन खुलेपछि गर्ने’ पो भन्छ ! अस्ति प्रधानमन्त्रीले कोरोनापछि राजीनामा दिन्छु भनेझैं क्या ।

अब कोरोना सकिने कहिले हो कहिले, लकडाउन लम्बेको लम्बै गर्छ, ऊ भने मलाई पर्याप्त अटेन्सन दिँदैन, माया देखाउँदैन । तर, हरेक साँझ ‘च्या खान आऊ’ भन्दै घर बोलाइरहन्छ र ‘खाना पकाउने जिम्मा तेरो, लुगा धुने मेरो’ भन्दै भविष्यका योजना सुनाउँछ अनि कालो थुतुनो लाउन पनि छोड्दैन । कस्तो हत्तेरो मान्छे !

...

उसलाई मुखैमा ‘तँ’ भनेकोमा मलाई एक मनमा नमज्जा लाग्यो । तर, अर्को मनले भन्यो— इज्जत हुनेसँग पो इज्जतले प्रस्तुत हुनु, ५० लाख रुपैयाँ दाइजो माग्नेलाई पनि केका हजुर/तपाईं ! अर्थशास्त्र, मानवशास्त्र गरी तीन–चारवटा विषयमा डिग्री गरेको र डलरमा तलब बुझ्नेले जिस्केरै सही, कसरी मसँग ५० लाख रुपैयाँ दाइजो माग्न सुहाउँछ ?

मैले सयचोटि ‘त्यत्रो पैसा हामी दिन सक्दैनौं, तपाईं नजिस्किनू’ भनेकी थिएँ । ऊ भन्थ्यो, ‘नट माई प्रब्लम, खोज ।’ कहाँ खोज्ने भन्यो भने उही ‘आई डन्ट नो, नट माई प्रब्लम’ भन्दै गोरा विदेशीले झैं कुम उचाल्थ्यो । एक दिन मैले सोधेकी थिएँ, ‘तपाईंका दिदी–बहिनीसँग पनि यसरी नै तपाईंका ज्वाइँले ५० लाख मागेको भए के गर्नुहुन्थ्यो ?’

उसले भन्यो, ‘५ लाख मागेका थिए, दिएँ । अब मैले ५० लाख मागेको छु, तिमी पनि देऊ । एज सिम्पल एज द्याट ।’

मैले यसबारे सुपुष्पा र बिनालाई बताएँ । उनीहरू छक्क परे । बिनाले भनिन्, ‘यत्तिको मान्छेले कहाँ दाइजो माग्छ ? जिस्केको होला ।’ सुपुष्पाले चाहिँ ‘जिस्केरै पनि भन्न नहुने कुरा भनेको छ’ भनिन् ।

ऊ तराई गएका बेला, उसले फेटा बाँधेको फोटोमा मैले ‘भैयाजस्तो देखिनुभयो’ भन्दिएँ । उसले ‘जिस्केर पनि यस्तो रेसिस्ट कमेन्ट गर्ने होइन’ भन्यो । मैले तुरुन्त माफी मागेँ । यतिबिघ्न सचेत भइटोपल्नेले मसँग दाइजो माग्न भने कहिल्यै छोडेन । ‘यसबारे मेरो घरमा कुरा गर्न सक्नुहुन्छ ?’ भनेर सोध्दा उसले भन्यो, ‘ह्वाई नट ? सजनाले दिन्छु भनेको थियो भन्दिम्ला ।’ म अवाक् भएँ ।

हाम्रो अफेयर चलेको यस्तै दुई–तीन महिनामा उसले पहिलोचोटि ‘दाइजोमा ५० लाख दिनुपर्छ है’ भनेको थियो । मैले ठट्टा सम्झेँ, हाँसेर ‘दिन्नँ’ भनेँ । पछि–पछि मलाई रिस उठ्न थाल्यो । ‘छैन पैसा–सैसा, यो जमानामा कसले दाइजो माग्छ ?’ भन्न थालेँ । ‘म माग्छु नि ब्रो, मलाई चाहिन्छ’ ऊ भन्थ्यो ।

उसले साँच्चै मागेको हो भनेर पत्याउन थुप्रो समय लाग्यो । ट्वीटरमा सक्रिय आजको पुस्ताले पनि कहाँ दाइजो माग्छ भन्ठानिरहेँ । युरोप–अमेरिका डुलेको, हुम्ला–कालीकोट झेलेको, एक्लो संघर्षले आजको ‘लक्जरी’ सम्म पुगेको, दुनियाँलाई सरसल्लाह दिई हिँड्ने, देशी–विदेशीसँग उठबस भएको एक ‘सफल’ युवाले दाइजोजस्तो तुच्छ चीज माग्छ भनेर जो कसैले कसरी पत्याउन सक्थ्यो ? त्यसमाथि म, लाटी–सोझी नै भए पनि, पत्रकार प्रेमिकासँग ।

...

हालै उसको जन्मदिनमा मैले धरधरी रुँदै ‘मसँग ५० लाख छैन’ भनेकी थिएँ । त्यस्तो बेलामा समेत उसले सिरियस मुडमै आफ्नो माग कायम राख्यो । अनि म ‘ब्रेकअप’ भन्दै उठेर हिँडे । त्यसपछिको एक महिना हामी बोलेनौं । बीचमा दुई फेर उसले फोन गर्‍यो । त्यो बेला पुन: दाइजोका कुरा भए । उसले ‘खोज’ नै भन्यो ।

(यो हदसम्म पनि कोही जिस्किन्छ र भन्या ? यतिबिघ्न पनि कसैले आफ्नी ‘प्रेमिका’लाई चिढ्याउँछ ?)

ममाथि यस्तो मजाक भइरहँदा समेत उसलाई माया गरिरहेकै थिएँ । उसले आफ्ना पाका बा–आमासँग मलाई भेटाएको थियो । यसकारण पनि उसले आत्मालोचना गर्ला, अबदेखि दाइजोको कुरै गर्दिनँ भन्ला, माफी माग्ला, तिमीलाई चित्त नबुझुन्जेल प्रश्न गरिरहू, म नचिच्याई उत्तर दिन्छु भन्ला र मुख्यत: ५० लाखले होइन तिमीलाई मायाले किन्छु भन्ला भन्ने आसमा रहेँ । तर, केका !

...

लकडाउनको बेला ब्रेकअप महापीडादायक थियो । घरभरि मान्छे भइदिनाले चिच्याएर त के खुसुखुसु रुनसमेत नपाइने । सबै जना सुतेपछि रातभरि रोऊँ न त भनूँ भने बिहान आँखा गोलभेँडा जत्रा भइदिने । अनि सबले के भयो ? कसरी आँखा सुन्निए ? घाँटी/टाउको त दुखेको छैन ? ज्वरो आउन दिनु हुन्न है यस्तो बेला भनेर हैरान पार्ने । आफ्नो मन छियाछिया भएको छ, घरकालाई भने कोरोनाकै चिन्ता परेको देख्दा बौलाउन मन लाग्थ्यो ।

यसो बाहिरफेरो डुलेर मन भुलाऊँ न त भनूँ भने प्रहरीको त्रास । आफू फेरि भारतबाट आएको परियो, समाजसँग डबल डराउनुपरेको छ । यस्तोमा कोठाभित्रै छट्पटाएर आँखा नसुन्निने हिसाबले अड्कली–अड्कली आँसु खसाल्दा साह्रै सकस भयो ।

उसले ममाथि दाइजोलगायत अनेक प्रयोग गर्‍यो । मिल्ने पक्का भए खुसखबरी बाँड्ने नत्र ‘त्यो त जोक थियो, गुडबाई’ भन्दिने अनि ‘नेक्स्ट’ गर्ने । अरे क्या बात ! यस्ता दुई नम्बरीलाई आफ्ना मूल्यवान सामान दिइरहन मन मानेन, उठाएर ल्याएँ, ढुक्क भा’छ ।

(कोरोना भाइरसविरुद्ध भ्याक्सिनहरू बन्दै छन्, कोरोनाजत्तिकै हानिकारक र धोकेबाज मान्छेका लागि पनि एउटा ‘सद्बुद्धि आउने’ भ्याक्सिन बनाउन जरुरी छ भन्ने बुझौं ।) प्रकाशित : असार ६, २०७७ १२:२०

प्रतिक्रिया
पठाउनुहोस्

कक्षामा गयल छात्राका कुरा

विद्यालयमा महिनावारीलाई लाजको मात्रै होइन, उपहासको विषय पनि बनाइएको थियो । महिनावारी भएपछि धेरैले छोरीलाई स्कुल पठाउँदैनथे । पठाए नै भने पनि छात्राहरु महिनावारी भएका बेला कक्षामा जानी–जानी गयल हुन्थे । त्यसैले जति माथिल्लो कक्षामा पुग्यो, छात्राको संख्या उति पातलिन्थ्यो ।
रीता साह

केही महिनाअघि सामाजिक सञ्जालमा एक महिला अधिकारकर्मीले छोरी पहिलोपटक महिनावारी भएको जानकारी पोस्ट गरिन् । त्यसमा उनले खुसी व्यक्त गरेकी थिइन्, गौरव महसुस गर्दै छोरीलाई बधाई दिएकी थिइन् । कमेन्टमा पनि बधाईका साथै धेरै सकारात्मक प्रतिक्रिया आएका छन् ।

पोस्ट पढ्दा मैले बालकाल्यका घटना सम्झिएँ । दिउँसोको खाजा खाने बेलामा आमाले मलाई आँपको अचार ल्याउन अह्राउनुभयो । अचार सिकमाथि थियो । गाउँघरमा कुकुर वा बिरालोबाट खानेकुरा सुरक्षित राख्न अलिक माथि झुन्ड्याएर राख्ने ठाउँलाई सिक भनिन्छ । म सानै थिएँ । जसोतसो उफ्रेर अचार निकाल्न खोज्दा भाँडो झर्‍यो र फुट्यो । अचार भुइँभरि पोखियो ।

‘एउटा काम गर्न लगाको, त्यो पनि राम्रोसँग गर्न सकिनस् है !’, आमाले बेस्सरी गाली गर्नुभयो ।

मैले पनि फ्याट्ट भनिहालेँ, ‘आफैँ निकाल्दा भइहाल्थ्यो नि !’

‘आफैँ निकाल्न मिल्ने भए तँलाई किन भन्थें !’, आमाले भन्नुभयो ।

‘अचार खान हुने तर झिक्न किन नहुने ?’ मनमा जिज्ञासा थियो तर उहाँले थप केही भन्नुभएन । त्यसैले मैले केही मेसो पाइनँ । पछि थाहा भयो– रजश्वला भएको बेला अचार छुनु हुँदैन भन्ने मान्यता रहेछ । महिनावारीको बेला अचारको भाँडो छोएमा सबै अचार कुहिने मान्यता थियो गाउँमा ।

स्कुलको अनुभव पनि गाउँको भन्दा भिन्न रहेन । सात कक्षा पार गरेपछि सदरमुकामको स्कुलमा भर्ना भएकी थिएँ । कक्षा ९ मा पुगेपछिको कुरा– एक जना साथी कक्षाकोठामै महिनावारी भइन् । कक्षाभरिका सबैलाई थाहा भयो । न त उनीसँग त्यस्तो बेला प्रयोग गर्ने कपडा थियो, न त्यसबारे बुझाउने कोही । सदरमुकामको स्कुल भए पनि विद्यार्थीका लागि चर्पीधरि थिएन । उनी सलले दाग छोप्दै घर गइन् र चार दिनसम्म स्कुल आइनन् । स्कुल आउँदा उनलाई देखेर कक्षाभरिका केटा हाँसे, गिज्याए । त्यसपछि कक्षाका हामी दसै जना केटी साथी सतर्क भयौं । महिनावारी भएका बेला स्कुल जाँदैनथ्यौं ।

त्यसबेलाको मधेसमा परिवार र समाजले महिनावारीलाई जति लज्जाको विषय ठान्थ्यो, त्यसभन्दा पनि संकुचित धारणा राख्थे शिक्षक । महिनावारीबारे कसैले कुनै जानकारी दिँदैनथे । कक्षा नौमा स्वास्थ्य र शारीरिक शिक्षामध्ये एक छान्न पाउने सुविधा थियो । स्वास्थ्य शिक्षामा प्रजनन प्रणालीबारे पाठ थियो, त्यो पढ्न नपरोस् भन्दै अधिकांश छात्राले शारीरिक शिक्षा रोज्थे ।

मैले स्वास्थ्य शिक्षाकै समूहमा नाम लेखाएकी थिएँ । स्वास्थ्य विषयको कक्षामा छात्रा थोरै थिए अनि हामीलाई देख्नेबित्तिकै केटाहरू गलल्ल हाँस्थे । शिक्षकको हाउभाउ पनि त्यस्तै हुन्थ्यो । ‘यी केटीहरू कसरी यो कक्षामा बस्न सकेका !’ भन्ने भाव उनीहरूको अनुहार र हाउभाउमा झल्किन्थ्यो । आजित भएर केही महिनापछि म पनि शारीरिक शिक्षाकै समूहमा गएँ । विद्यालयमा महिनावारीलाई लाजको मात्रै होइन, उपहासको विषय पनि बनाइएको थियो । महिनावारी भएपछि धेरैले छोरीलाई स्कुल पठाउँदैनथे । पठाए नै भने पनि छात्राहरू महिनावारी भएको बेला कक्षामा जानी–जानी गयल हुन्थे । सायद, त्यही कारण जति माथिल्लो कक्षामा पुग्यो, छात्राको संख्या उति पातलिन्थ्यो ।

जब म नर्सिङ पढ्न कलेज गएँ, अनौठो अनुभव भयो । कोर्समा प्रजनन प्रणालीबारे मात्रै नभई महिलाका प्रत्येक अंग र तिनका कामबारे विस्तृतमा पढ्नुपर्ने रहेछ । त्यसपछि मात्रै थाहा भयो– महिनावारी लाजको विषय नभई प्राकृतिक र शारीरिक प्रक्रिया हो, जुन महिलाको जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ । महिनावारीका बखत महिलाको शरीरमा हर्मोनका कारण विभिन्न परिवर्तन आउँछन् । त्यसैले त्यतिबेला महिलालाई अझ बढी आराम, पौष्टिक खाना र सरसफाइको खाँचो हुन्छ ।

महिनावारीबारे त्यो जानकारीले मलाई फेरि बाल्यकालको ग्रामीण समाज याद दिलाएको थियो । त्यतिबेला मधेसी समुदायमा महिनावारीमाथि कसैले पनि गफ गर्दैनथे । हजुरआमा र आमा पुस्ताका महिला पनि यसबारे सांकेतिक शैलीमा खासखुस मात्रै गर्थे । यो विषयलाई सकेसम्म गोप्य राख्नुपर्ने मान्यता थियो । आमाले छोरीलाई समेत बताउने चलन थिएन गाउँमा । युवतीहरू आफ्ना समकक्षी सखीमार्फत महिनावारीबारे थाहा पाउँथे । बरु, नन्द–भाउजूबीच यसबारे संवाद हुन्थ्यो ।

लाजकै विषय बनाइएका कारण महिनावारीसँग सम्बन्धित सरसफाइबारे पनि चर्चा हुँदैनथ्यो । पुराना च्यातिएका फोहोर टाला प्रयोग गरिन्थ्यो । त्यसलाई जस्तो पायो त्यस्तै पानीले धुने र पुरुषले नदेख्ने गरी बारी, गोठजस्ता गोप्य ठाउँमा सुकाइन्थ्यो । त्यसैले ती फोहोर नै रहन्थे । यसैकारण धेरै महिलामा पाठेघर संक्रमणको समस्या देखिन्थ्यो, जुन धेरै हदसम्म अहिले पनि कायम छ ।

बिहेपछि काठमाडौं बस्न थालेँ, जहाँ महिनावारीबारे बेग्लै प्रकारको संकुचित अभ्यास थियो । दुई परिवारले फ्ल्याट ‘सेयर’ गरेका थियौं । अर्को परिवार पश्चिम पहाडी जिल्लाका थिए । एउटै परिवारजसरी मिलेर बसेका थियौं, म उहाँहरूलाई दाइ–भाउजू भन्थेँ । कहिलेकाहीँ भाउजू भुइँमा ओछ्यान लगाएर सुत्नुहुन्थ्यो । भान्छामा दाइ एक्लै खाना पकाउनुहुन्थ्यो । तीन–चार दिनपछि भाउजू घरभरिका लुगा सकीनसकी धुनुहुन्थ्यो । सुरु–सुरुमा अचम्म लाग्थ्यो, पछि थाहा भयो– महिनावारी भएका बेला पहाडतिरको चलन पछ्याइएको रहेछ । त्यति गर्दा पनि जान–अनजानमा भएको छोइछिटोको पाप कटाउन भाउजू ऋषिपञ्चमीमा व्रत बस्थिन् । यो सबै मेरा लागि नितान्त नौलो थियो ।

समयक्रममा थाहा हुँदै गयो– मधेसी समाजले महिनावारीलाई लाजको विषय बनाएको रहेछ भने काठमाडौंलगायत कतिपय पहाडी समाजले पापको । पश्चिम पहाडमा त यो विभेदकै स्वरूपमा विकास भएको रहेछ । त्यसैको उदाहरण हो– छाउपडी प्रथा । यसरी महिनावारीबारे बुझाइ, मूल्य–मान्यता र अभ्यास क्षेत्र र समुदायपिच्छै फरक पाएँ ।

पछिल्लो समय महिनावारीबारे धारणा बदलिँदै छ । यो लाजको विषय नभएर प्राकृतिक प्रक्रिया हो भन्ने धारणा आम हुन थालेको छ । शिक्षा, जनचेतना र सञ्चारमाध्यमको व्यापकताले यसमा काम गरेको छ । केही पहिलेसम्म ‘प्याड’ भन्ने शब्द उच्चारण गर्न हिच्किचाउँथे मानिस । अहिले रेडियो, टेलिभिजन र अन्य सञ्चारमाध्यममा ‘प्याड’ को प्रचार हुँदा यसलाई सहज रूपमा लिन थालिएको छ । यसले महिनावारीप्रतिको धारणामा साकारात्मक परिवर्तन ल्याइदिएको छ ।

सन् २०१८ मा अक्षयकुमार अभिनीत ‘प्याड म्यान’ फिल्मले यस अभियानलाई बेग्लै उचाइ दिएको छ । फिल्ममा महिलाको मुद्दालाई पुरुष पात्रले सशक्त ढंगले उठाएको छ । महिनावारीको मुद्दा महिलाले मात्र होइन, पुरुषले पनि उठाउनुपर्ने तर्क स्थापित गर्न फिल्म सफल छ ।

पछिल्लो समय सरकारी र गैरसरकारी क्षेत्रबाट भएका महिनावारीमाथिका बहस पनि प्रभावकारी देखिएका छन् । विभिन्न संघ–संस्थाले गाउँ–गाउँमा ‘प्याड’ बनाउने तालिम दिन्छन् । र, स्कुलमा पनि महिनावारी सरसफाइबारे तालिम सञ्चालन हुन्छन् । नेपाल सरकारले यसै वर्षको बजेटमा १३ लाख ४० हजार छात्रालाई नि:शुल्क ‘प्याड’ वितरण गर्ने घोषणा गरेको छ । तथापि पहाडमा भन्दा बेग्लै प्रकारको लैंगिक सम्बन्ध भएको मधेसका देहातका दलित र विपन्न वर्गमा यसबारे पर्याप्त चेतना पुग्न सकेको छैन । सहरमा बसोबास गर्ने, शिक्षित र नयाँ पुस्तामा महिनावारीबारेको धारणामा सकारात्मक परिवर्तन देखिए पनि ग्रामीण भेगमा यो अझै ‘लाज’ कै विषय छ । तसर्थ महिनावारी लाजको होइन, गर्वको विषय हो भन्ने अनुभूति सबैलाई दिलाउनु चुनौतीपूर्ण पक्कै छ । तर, यो अनुभूति पैदा गर्नु अत्यावश्यक छ ।

प्रकाशित : असार ६, २०७७ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×