२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कक्षामा गयल छात्राका कुरा

विद्यालयमा महिनावारीलाई लाजको मात्रै होइन, उपहासको विषय पनि बनाइएको थियो । महिनावारी भएपछि धेरैले छोरीलाई स्कुल पठाउँदैनथे । पठाए नै भने पनि छात्राहरु महिनावारी भएका बेला कक्षामा जानी–जानी गयल हुन्थे । त्यसैले जति माथिल्लो कक्षामा पुग्यो, छात्राको संख्या उति पातलिन्थ्यो ।
रीता साह

केही महिनाअघि सामाजिक सञ्जालमा एक महिला अधिकारकर्मीले छोरी पहिलोपटक महिनावारी भएको जानकारी पोस्ट गरिन् । त्यसमा उनले खुसी व्यक्त गरेकी थिइन्, गौरव महसुस गर्दै छोरीलाई बधाई दिएकी थिइन् । कमेन्टमा पनि बधाईका साथै धेरै सकारात्मक प्रतिक्रिया आएका छन् ।

कक्षामा गयल छात्राका कुरा

पोस्ट पढ्दा मैले बालकाल्यका घटना सम्झिएँ । दिउँसोको खाजा खाने बेलामा आमाले मलाई आँपको अचार ल्याउन अह्राउनुभयो । अचार सिकमाथि थियो । गाउँघरमा कुकुर वा बिरालोबाट खानेकुरा सुरक्षित राख्न अलिक माथि झुन्ड्याएर राख्ने ठाउँलाई सिक भनिन्छ । म सानै थिएँ । जसोतसो उफ्रेर अचार निकाल्न खोज्दा भाँडो झर्‍यो र फुट्यो । अचार भुइँभरि पोखियो ।

‘एउटा काम गर्न लगाको, त्यो पनि राम्रोसँग गर्न सकिनस् है !’, आमाले बेस्सरी गाली गर्नुभयो ।

मैले पनि फ्याट्ट भनिहालेँ, ‘आफैँ निकाल्दा भइहाल्थ्यो नि !’

‘आफैँ निकाल्न मिल्ने भए तँलाई किन भन्थें !’, आमाले भन्नुभयो ।

‘अचार खान हुने तर झिक्न किन नहुने ?’ मनमा जिज्ञासा थियो तर उहाँले थप केही भन्नुभएन । त्यसैले मैले केही मेसो पाइनँ । पछि थाहा भयो– रजश्वला भएको बेला अचार छुनु हुँदैन भन्ने मान्यता रहेछ । महिनावारीको बेला अचारको भाँडो छोएमा सबै अचार कुहिने मान्यता थियो गाउँमा ।

स्कुलको अनुभव पनि गाउँको भन्दा भिन्न रहेन । सात कक्षा पार गरेपछि सदरमुकामको स्कुलमा भर्ना भएकी थिएँ । कक्षा ९ मा पुगेपछिको कुरा– एक जना साथी कक्षाकोठामै महिनावारी भइन् । कक्षाभरिका सबैलाई थाहा भयो । न त उनीसँग त्यस्तो बेला प्रयोग गर्ने कपडा थियो, न त्यसबारे बुझाउने कोही । सदरमुकामको स्कुल भए पनि विद्यार्थीका लागि चर्पीधरि थिएन । उनी सलले दाग छोप्दै घर गइन् र चार दिनसम्म स्कुल आइनन् । स्कुल आउँदा उनलाई देखेर कक्षाभरिका केटा हाँसे, गिज्याए । त्यसपछि कक्षाका हामी दसै जना केटी साथी सतर्क भयौं । महिनावारी भएका बेला स्कुल जाँदैनथ्यौं ।

त्यसबेलाको मधेसमा परिवार र समाजले महिनावारीलाई जति लज्जाको विषय ठान्थ्यो, त्यसभन्दा पनि संकुचित धारणा राख्थे शिक्षक । महिनावारीबारे कसैले कुनै जानकारी दिँदैनथे । कक्षा नौमा स्वास्थ्य र शारीरिक शिक्षामध्ये एक छान्न पाउने सुविधा थियो । स्वास्थ्य शिक्षामा प्रजनन प्रणालीबारे पाठ थियो, त्यो पढ्न नपरोस् भन्दै अधिकांश छात्राले शारीरिक शिक्षा रोज्थे ।

मैले स्वास्थ्य शिक्षाकै समूहमा नाम लेखाएकी थिएँ । स्वास्थ्य विषयको कक्षामा छात्रा थोरै थिए अनि हामीलाई देख्नेबित्तिकै केटाहरू गलल्ल हाँस्थे । शिक्षकको हाउभाउ पनि त्यस्तै हुन्थ्यो । ‘यी केटीहरू कसरी यो कक्षामा बस्न सकेका !’ भन्ने भाव उनीहरूको अनुहार र हाउभाउमा झल्किन्थ्यो । आजित भएर केही महिनापछि म पनि शारीरिक शिक्षाकै समूहमा गएँ । विद्यालयमा महिनावारीलाई लाजको मात्रै होइन, उपहासको विषय पनि बनाइएको थियो । महिनावारी भएपछि धेरैले छोरीलाई स्कुल पठाउँदैनथे । पठाए नै भने पनि छात्राहरू महिनावारी भएको बेला कक्षामा जानी–जानी गयल हुन्थे । सायद, त्यही कारण जति माथिल्लो कक्षामा पुग्यो, छात्राको संख्या उति पातलिन्थ्यो ।

जब म नर्सिङ पढ्न कलेज गएँ, अनौठो अनुभव भयो । कोर्समा प्रजनन प्रणालीबारे मात्रै नभई महिलाका प्रत्येक अंग र तिनका कामबारे विस्तृतमा पढ्नुपर्ने रहेछ । त्यसपछि मात्रै थाहा भयो– महिनावारी लाजको विषय नभई प्राकृतिक र शारीरिक प्रक्रिया हो, जुन महिलाको जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ । महिनावारीका बखत महिलाको शरीरमा हर्मोनका कारण विभिन्न परिवर्तन आउँछन् । त्यसैले त्यतिबेला महिलालाई अझ बढी आराम, पौष्टिक खाना र सरसफाइको खाँचो हुन्छ ।

महिनावारीबारे त्यो जानकारीले मलाई फेरि बाल्यकालको ग्रामीण समाज याद दिलाएको थियो । त्यतिबेला मधेसी समुदायमा महिनावारीमाथि कसैले पनि गफ गर्दैनथे । हजुरआमा र आमा पुस्ताका महिला पनि यसबारे सांकेतिक शैलीमा खासखुस मात्रै गर्थे । यो विषयलाई सकेसम्म गोप्य राख्नुपर्ने मान्यता थियो । आमाले छोरीलाई समेत बताउने चलन थिएन गाउँमा । युवतीहरू आफ्ना समकक्षी सखीमार्फत महिनावारीबारे थाहा पाउँथे । बरु, नन्द–भाउजूबीच यसबारे संवाद हुन्थ्यो ।

लाजकै विषय बनाइएका कारण महिनावारीसँग सम्बन्धित सरसफाइबारे पनि चर्चा हुँदैनथ्यो । पुराना च्यातिएका फोहोर टाला प्रयोग गरिन्थ्यो । त्यसलाई जस्तो पायो त्यस्तै पानीले धुने र पुरुषले नदेख्ने गरी बारी, गोठजस्ता गोप्य ठाउँमा सुकाइन्थ्यो । त्यसैले ती फोहोर नै रहन्थे । यसैकारण धेरै महिलामा पाठेघर संक्रमणको समस्या देखिन्थ्यो, जुन धेरै हदसम्म अहिले पनि कायम छ ।

बिहेपछि काठमाडौं बस्न थालेँ, जहाँ महिनावारीबारे बेग्लै प्रकारको संकुचित अभ्यास थियो । दुई परिवारले फ्ल्याट ‘सेयर’ गरेका थियौं । अर्को परिवार पश्चिम पहाडी जिल्लाका थिए । एउटै परिवारजसरी मिलेर बसेका थियौं, म उहाँहरूलाई दाइ–भाउजू भन्थेँ । कहिलेकाहीँ भाउजू भुइँमा ओछ्यान लगाएर सुत्नुहुन्थ्यो । भान्छामा दाइ एक्लै खाना पकाउनुहुन्थ्यो । तीन–चार दिनपछि भाउजू घरभरिका लुगा सकीनसकी धुनुहुन्थ्यो । सुरु–सुरुमा अचम्म लाग्थ्यो, पछि थाहा भयो– महिनावारी भएका बेला पहाडतिरको चलन पछ्याइएको रहेछ । त्यति गर्दा पनि जान–अनजानमा भएको छोइछिटोको पाप कटाउन भाउजू ऋषिपञ्चमीमा व्रत बस्थिन् । यो सबै मेरा लागि नितान्त नौलो थियो ।

समयक्रममा थाहा हुँदै गयो– मधेसी समाजले महिनावारीलाई लाजको विषय बनाएको रहेछ भने काठमाडौंलगायत कतिपय पहाडी समाजले पापको । पश्चिम पहाडमा त यो विभेदकै स्वरूपमा विकास भएको रहेछ । त्यसैको उदाहरण हो– छाउपडी प्रथा । यसरी महिनावारीबारे बुझाइ, मूल्य–मान्यता र अभ्यास क्षेत्र र समुदायपिच्छै फरक पाएँ ।

पछिल्लो समय महिनावारीबारे धारणा बदलिँदै छ । यो लाजको विषय नभएर प्राकृतिक प्रक्रिया हो भन्ने धारणा आम हुन थालेको छ । शिक्षा, जनचेतना र सञ्चारमाध्यमको व्यापकताले यसमा काम गरेको छ । केही पहिलेसम्म ‘प्याड’ भन्ने शब्द उच्चारण गर्न हिच्किचाउँथे मानिस । अहिले रेडियो, टेलिभिजन र अन्य सञ्चारमाध्यममा ‘प्याड’ को प्रचार हुँदा यसलाई सहज रूपमा लिन थालिएको छ । यसले महिनावारीप्रतिको धारणामा साकारात्मक परिवर्तन ल्याइदिएको छ ।

सन् २०१८ मा अक्षयकुमार अभिनीत ‘प्याड म्यान’ फिल्मले यस अभियानलाई बेग्लै उचाइ दिएको छ । फिल्ममा महिलाको मुद्दालाई पुरुष पात्रले सशक्त ढंगले उठाएको छ । महिनावारीको मुद्दा महिलाले मात्र होइन, पुरुषले पनि उठाउनुपर्ने तर्क स्थापित गर्न फिल्म सफल छ ।

पछिल्लो समय सरकारी र गैरसरकारी क्षेत्रबाट भएका महिनावारीमाथिका बहस पनि प्रभावकारी देखिएका छन् । विभिन्न संघ–संस्थाले गाउँ–गाउँमा ‘प्याड’ बनाउने तालिम दिन्छन् । र, स्कुलमा पनि महिनावारी सरसफाइबारे तालिम सञ्चालन हुन्छन् । नेपाल सरकारले यसै वर्षको बजेटमा १३ लाख ४० हजार छात्रालाई नि:शुल्क ‘प्याड’ वितरण गर्ने घोषणा गरेको छ । तथापि पहाडमा भन्दा बेग्लै प्रकारको लैंगिक सम्बन्ध भएको मधेसका देहातका दलित र विपन्न वर्गमा यसबारे पर्याप्त चेतना पुग्न सकेको छैन । सहरमा बसोबास गर्ने, शिक्षित र नयाँ पुस्तामा महिनावारीबारेको धारणामा सकारात्मक परिवर्तन देखिए पनि ग्रामीण भेगमा यो अझै ‘लाज’ कै विषय छ । तसर्थ महिनावारी लाजको होइन, गर्वको विषय हो भन्ने अनुभूति सबैलाई दिलाउनु चुनौतीपूर्ण पक्कै छ । तर, यो अनुभूति पैदा गर्नु अत्यावश्यक छ ।

प्रकाशित : असार ६, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?