ऊ सिक्दै छ

हामीलाई बच्चा ‘अल्लाद्दिनको जिन’जस्तो चाहिएको छ, तर बच्चा त हाम्रै जिन हो, अल्लाद्दिनको होइन । हाम्रा राम्रा–नराम्रा सारा कुरा आफूभित्र लिएर आएको छ । जे रोप्यो, त्यही फल्ने हो । जसरी मलजल गर्‍यो, त्यही अनुसार सप्रने कि बिग्रने भन्ने निर्भर गर्छ ।
स्वीकृति बराल

ऊ बल्लतल्ल जग उचालेर हिँड्नै के लागेको थियो, अनियन्त्रित भयो । जग हातबाट फुत्कियो र पानी छताछुल्ल भयो । सिसाको जग फुटेको आवाजसँगै निक्लन थाले अन्य आवाज । एउटाले भन्यो, ‘नसक्नेले किन उठाउनुपर्थ्यो?’ अर्कोले भन्यो, ‘बढी जान्ने हुनुपर्छ यसलाई आजभोलि ।’ अझ अर्कोले थप्यो, ‘भनेको काम केही गर्नु छैन । खाली बिगार्ने मात्रै काम गर्छ ।’

ऊ सिक्दै छ

बिगार गर्नु उसको उद्देश्य हुँदै होइन । न उसले सक्दिनँ भन्ने थाहा पाउँदापाउँदै त्यो सामान उठाएको थियो, न ऊ पानी पोखिएपछि के–के नोक्सानी हुन्छ भन्ने जान्दथ्यो । बच्चा न हो, जे मन लाग्यो त्यही गर्छ । उसलाई गाली गर्नेहरूलाई पनि यो राम्रोसँग थाहा छ, तैपनि हकारिरहन्छन् । किनभने उनीहरूलाई झर्को लाग्छ, उसका बिगार सम्झिएर । अब सिसा उठाउनुपर्छ, पानी सोहोर्नुपर्छ, सामान भिजेको भए सुकाउनुपर्छ । उसको सानो गल्तीले उनीहरूको काम थपिन्छ ।

सबैले गाली गरिरहँदा ऊ भने जिल्ल परिरह्यो । अलिअलि डरायो पनि । काम बिगारेपछि प्याट्ट एकदुई थप्पड खानु ठूलो कुरो होइन उसका लागि । सिकाउने बहानामा उसलाई गाली गर्ने र पिट्ने ‘अधिकार’ ठूलालाई छ । उसको उमेर नै सिक्ने हो र सिकाउनु ठूलाको कर्तव्य । तर, ऊ कहाँ हामीले सिकाउन खोजेको मात्र सिक्छ र ? हाम्रो सिकाउने बेला भएजस्तै उसको पनि त सिक्ने बेला हो । एउटा पाठ सिकाउन खोज्दा उसले धेरै अतिरिक्त कुरा पनि सिकिरहेको हुन्छ । सिसा फुटाउनु गलत हो भन्ने त उसले बुझिहाल्यो, तर उसले यही मात्र सिकेन । उसले सिक्यो— कसैले कुनै गल्ती गरे गाली गरिहाल्नुपर्छ, तर्सिने गरी कराउनुपर्छ, ठूला भएपछि सानासँग जसरी बोले पनि हुन्छ ... । ऊ हाम्रो प्रवचनबाट भन्दा बढी व्यवहारबाट सिक्छ । ऊ हर सेकेन्ड हामीबाट केही न केही सिक्दै हुन्छ, जुन कुरा हाम्रो दिमागमा हर समय रहँदैन ।

अर्को दिन कप फुट्छ । पहिलेको गालीले तर्सिएको ऊ अब कप लुकाउँछ । तर, ठूला मान्छेले थाहा पाइहाल्छन् । अब नयाँ गाली थपिन्छ, ‘अब त ढाँट्ने पनि भइसक्यो । जति ठूलो भयो, त्यति खराब हुँदै छ ।’

ऊ खराब होइन । बिचरालाई त खराबको अर्थसम्म थाहा छैन । न त उसले रहरले ढाँटेको हो । उसले गाली नखानका लागि मात्र ढाँटेको हो । किनभने उसलाई गाली मन पर्दैन । गाली कसलाई मन पर्छ र ? उसले नजानेर गल्ती गर्‍यो र अनजानमा भएका गल्ती लुकाउन झुट बोल्यो । ठूलाको रिसबाट बच्न ढाँट्यो । यो उसको गल्ती होइन, गल्ती त हाम्रो हो । उसलाई तर्सायौं । असल बनाउन र ठीक काम ठीकसँग गर्न सिकाउने तरिका नजान्दा उसलाई ढाँट्ने बनायौं । सुरुमै जग फुट्दा आफैं डराएको उसलाई अझै गाली गर्नुको साटो ‘आत्तिनुपर्दैन, फुटेर केही हुँदैन, अर्कोचोटि काम गर्दा होस गर्नू’ मात्रै भनिदिएका भए सायद ऊ आफ्नासँग डराउँदैन थियो, न त डरका कारण झूट नै बोल्थ्यो ।

‘फूल टिप्नु हुँदैन है’ भन्दै गाली गरेर उसकै अगाडि राम्राराम्रा फूल टिपी भगवान्‌लाई चढाएको हामीलाई यादै हुँदैन । हामी यस्ता धेर काम गर्छौं र बच्चालाई अलमलमा पार्छौं । अनि हामीले सिकाएर बच्चाले के सिक्ला ?

हामी झर्केर बोल्ने सानो बच्चासँग रिसाउँछौं, कहाँबाट सिक्यो यस्तो बोली भनेर । कहाँबाट सिक्छ र ? हामीलाई यादै हुँदैन, आफ्नो कामको तनाव, अस्तव्यस्त जिन्दगीको निराशा बच्चामाथि निकाल्छौं भनेर । आफूभन्दा ठूलालाई कराउनुलाई अनुशासनहीनता मान्ने हामी बच्चालाई गाली गर्नु चाहिँ अनुशासनहीन काम मान्दैनौं । बच्चालाई गाली गरेकामा हाम्रो तर्क हुने गर्छ, ‘यसकै भलाइका लागि गरेको त हो नि । भोलि बिग्रियो भने के गर्नु ?’

हामी पनि त कुनै दिन साना थियौं । हामी पनि त हाम्रै बच्चा जस्ता थियौं, जसमाथि हाम्रा बुबाआमाले थुप्रै सपना सजाएका थिए । हामी पनि सिक्दासिक्दै हुर्किएका हौं— मीठो बोल्नू, असल बन्नू, कुलतमा नफस्नू, अरूलाई सधैं सहयोग गर्नू, समय खेर नफाल्नू, कहिल्यै कसैलाई नमीठो वचन नलगाउनू ... । यस्तै कुरा न हुन् आफूभन्दा ठूलाले सिकाउने १ कति सिक्यौं त हामीले ? के हामी त्यस्तै बन्यौं त ? अहँ, बन्न सकेनौं । मीठो बोल्न मात्रै सिकेका भए आज आफ्नो बच्चा हुर्काउँदा हाम्रो मुखबाट गाली निस्कँदैन थियो । हामी जे सिकाइयो त्यो बनेनौं । आफूले जे देख्यौं र जे भोग्यौं, त्यस अनुसारको बन्यौं । भोलि हाम्रा बच्चा पनि त्यस्तै बन्छन् ।

‘धेरै चकचक नगर, नत्र म पुलिस बोलाइदिन्छु, तिमीलाई लिएर जान्छ,’ ‘चुप लागेर सुत, बाहिर धोक्रे बूढो आएको छ, रुने बच्चालाई बोरामा हालेर लैजान्छ,’ ‘एक्लै नहिँड, अर्को मान्छेले च्याप्प समातेर लैजान्छ,’ ‘खानेकुरा सबै खाऊ, नत्र बिरामी भयौ भने डाक्टरले सुई लगाइदिन्छन्’ आदि भन्दै हामी आफूसँग बस्दा सुरक्षित ठानिरहेको बच्चाको मनमा डर हुलिदिन्छौं । बच्चालाई शान्त, असल र समझदार बनाउनका लागि हामी यति धेरै गलत तरिका अपनाउँछौं, बच्चा असल होइन भ्रमित बन्छ, बहादुर होइन डरपोक बन्छ । अब ऊ पुलिस देखे पनि डराउँछ, डाक्टर देखे पनि डराउँछ, राति एक्लै सुत्न पनि डराउँछ । किनभने घरबाहिर त धोक्रे बूढो उसलाई लिन आएको हुन्छ । ऊ बाहिर हिँड्न पनि डराउँछ । यस्ता कुराले बच्चा डराएर एक छिन शान्त बस्दा हामीलाई एकै छिन आराम त होला, तर उसमा राम्रो प्रभाव पर्दैन र जीवनभर सताइन्छ । हामी उसको दिमागमा नकारात्मक कुरा भरिरहेका हुन्छौं । भर्खर जन्मँदा सर्पसँग नडराउने बच्चा अब सामान्य कुराको छाया देख्दा पनि डराउने बन्छ । भर्खर जन्मँदा उसको दिमाग खाली हुन्छ, डर हुँदैन । जति भर्ने हो, हामी नै भरिदिँदै जान्छौं अनि यस्तो भइस् र उस्तो भइस् भनेर उसैलाई गाली पनि गर्छौं । अझै हामी आश्चर्यचकित हुँदै भन्छौं, ‘हामी त यस्ता थिएनौं है । यो कहाँबाट यति डरपोक भयो ?’ कुनै पनि कुरा गलत तरिकाले सिकाउनुभन्दा त नसिकाएकै राम्रो ।

हामी आफ्नो बच्चा अरूको बच्चासँग दाँज्छौं । आफ्नोमा कमी देखिए ‘त्यो बच्चाले गर्न सक्ने, यसले चाहिँ गर्न नसक्ने हुन्छ ?’ भन्छौं । हामी खराबी औंल्याउन एक सेकेन्ड पनि लगाउँदैनौं । बच्चा फेरि जिल्ल पर्छ । खासमा दाँज्ने नै हो भने हामीले आफूलाई असल बच्चा हुर्काउनेहरूसँग दाँज्नुपर्छ र सिक्नुपर्छ उनीहरूसँग कसरी सिकाउँदा बच्चाले सिक्छ भनेर । बच्चालाई सिकाउन कला चाहिन्छ । कमजोरी बच्चाको होइन, कमजोरी त सिकाउनेमा हुन्छ । मार्गदर्शक असल, समझदार भए मात्र मार्ग स्पष्टसँग देखिने हो ।

मोबाइलको युग हो यो । जे कुरा पनि मोबाइलमै पाइन्छ । एक छिन फुर्सद भयो कि मोबाइलको स्क्रिन तल र माथि सारिहाल्ने हामी त्यहाँबाट आँखै नहटाई बच्चालाई गाली गर्छौं, ‘खालि मोबाइल हेरेको छ, बसेको छ । आँखा विग्रिएला है । अचेल मोबाइलले गरेर अरूसँग बोल्दै नबोल्ने भइसक्यो ।’ हामी आफैं पनि त अचेल मोबाइलमै हराइरहन्छौं नि । बच्चा मात्र होइन, अहिलेका प्राय: ठूला मान्छे पनि एकअर्कासँग कुरा कम गरिरहेका र मोबाइल बढी हेरिरहेका हुन्छन् । हामी आफू सुध्रिनु जरुरी छ कि छैन ? अचेल त बच्चाले आमाबुबाबाट पाउने समय पनि मोबाइलले नै पाएको छ । जताबाट पनि घाटा त बच्चालाई नै छ ।

हामी उमेरले तीन दशक नाघिसकेका मान्छे एक दशक पनि पार नगरेका बच्चाबाट यति धेरै आश गर्छौं, जति बेला पनि सिकाउनमै व्यस्त रहन्छौं । हामी आफू र बच्चाको हितका लागि भन्दा धेरै अरूले भेट्दा ‘आहा, कति राम्रो संस्कार सिकाउनुभएको, कसरी बन्छ बच्चा यस्तो ?’ जस्ता कुरा सुन्नका लागि सिकाउँछौं । हामीलाई बच्चा समाजले तोकेको मापदण्ड अनुसारको असल बनाउनु छ । असल बनाउन खोज्नु निश्चय पनि नराम्रो कुरा होइन, तर तरिका गलत भयो भने नतिजा गलत नै निस्कन्छ ।

हाम्रो रहर हामीले केही सिकाउँदा बच्चाले एकैचोटिमा बुझोस् र गल्ती नै नगरी सिकाए जस्तो गरिहालोस् भन्ने हुन्छ । हामीलाई बच्चा ‘अल्लाद्दिनको जिन’ जस्तो चाहिएको छ, तर पाउनलाई त आफूजस्तै पाइएको छ । बच्चा त हाम्रै जिन हो, अल्लाद्दिनको होइन । हाम्रा राम्रा–नराम्रा सारा कुरा आफूभित्र लिएर आएको छ । ऊ हाम्रो अंश हो । उसलाई कस्तो बनाउने भन्ने त हाम्रै हातमा हुन्छ । जे रोप्यो त्यही फल्छ । जसरी मलजल गर्‍यो, त्यही अनुसार सप्रने कि बिग्रने भन्ने निर्भर गर्छ । त्यसैले उसका सँगसँगै आफ्ना कमीकमजोरीमा पनि ध्यान पुर्‍याउन जरुरी छ । ‘फूल टिप्नु हुँदैन है’ भन्दै गाली गरेर उसकै अगाडि राम्राराम्रा फूल टिपी भगवान्लाई चढाएको हामीलाई यादै हुँदैन । हामी यस्ता धेरै काम गर्छौं र बच्चालाई अलमलमा पार्छौं । अनि हामीले सिकाएर बच्चाले के सिक्ला ? हामीले बनाएर भविष्यमा के बन्ला ? कस्तो बन्लान् ?

प्रकाशित : असार ६, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?