१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महामारीमा आदिवासी

पर्यावरणीय संरक्षणका लागि आदिवासीले विभिन्न समयमा आफ्नै किसिमको भूमिका निर्वाह गरेका छन् । तर, यो महामारीको समयमा आदिवासीकै संरक्षण आवश्यक छ ।
स्मृति रानाभाट

सन् १९५० ताका डाभी कोपेनवाका हजुरबुबा र हजुरआमाले पहिलोपटक आफ्नो समुदायइतरका मानिसलाई भेटेका थिए । आर्का नदी किनारमा भेटिएका गोरा मानिसहरूसँग बन्चरोलगायतका फलामे औजार थिए । कोपेनवाका हजुरआमा–हजुरबुबाले उनीहरूसँग ती औजार माग्थे । र, औजार कोपेनवाको समुदायभरि नै चलाइन्थ्यो ।

महामारीमा आदिवासी

४० वर्षपछि कोपेनवाले यी कुरा सुनाए । सन् १९५० र १९६० को दशकमा भेनेजुएलाको सिमानामा बस्ने आदिवासी यानोमामी समुदाय पूर्णरूपले लोप हुने स्थितिमा पुग्दा बाँच्न सफलमध्येका एक हुन्– कोपेनवा । सन् २०१० मा विभिन्न सञ्चार माध्यममा उनले यी कुरा सुनाएका थिए । कोपेनवाका अनुसार, समुदायमा दादुरा र अन्य संक्रामक रोग फैलिएको थियो, जसले समुदायलाई लोप हुने स्थितिमा पुर्‍यायो ।

विगतमा आदिवासी समुदायमा संक्रामक महामारीले प्रभाव पारेका घटना थुप्रै छन् । महामारीका कारण कतिपय समुदाय लोप भए, कतिपय जसोतसो तंग्रिएका छन् ।

डाभीको समुदाय पनि पटकपटक महामारीको चपेटामा परेको विगत छ । सन् १९७० ताका अमेजनको योनामामी आदिवासी बस्ने क्षेत्र नजिकबाट बाटो बनेपछि तस्करसँगै महामारी आउने सम्भावना बढ्यो । महामारीको प्रवेशले सन् ८० र ९० को दशकमा आफ्नो पूर्ण जनसंख्याको २० प्रतिशत गुमायो त्यस समुदायले । सन् २००७ मा यानोमामीलाई सम्बोधन गरेको भाषणमा डाभी भन्छन्, ‘बाहिरका मान्छेसँगको सम्पर्ककै कारण म अनाथ भएँ । सरकारले सडक बनाएसँगै महामारीले प्रवेश गर्‍यो र समुदायका थुप्रैको ज्यान गयो ।’

१५ औं शताब्दीमा युरोपियन उपनिवेशवादीहरूले अमेरिका जाँदा दादुरा, टीबी, प्लेग, बिफरलगायतका सरुवा रोग आफूसँगै लगेका थिए । स्थानान्तरणको क्रममा अस्ट्रेलियाका आदिवासीहरू यो रोगको सिकार भए । प्रतिरक्षा शक्ति कम भएका आदिवासीलाई सन् १५२० देखि फैलिएको महामारीले सोत्तर बनायो । बिफर (स्मलपक्स) ले अमेरिकी र मेक्सिकोका आदिवासीको बस्ती नै खाली बनाएको थियो । एक शताब्दीमा अमेरिका र मेक्सिकोमा रहेका आदिवासीमध्ये ९० देखि ९५ प्रतिशतले ज्यान गुमाए । सन् १९१७ मा सामान निर्यात गर्ने ‘हार्मोनी’ नामको जहाज हालको क्यानडाको ओकाक क्षेत्रमा पुगेको पाँच दिनमै स्प्यानिस फ्लुका कारण आठ व्यक्तिको मृत्यु भयो । डिसेम्बरसम्ममा ओकाकका २६३ आदिवासीमध्ये २०४ को मृत्यु भयो ।

बाहिरी दुनियाँसँग सम्पर्कमा आउँदा आदिवासी समुदायमा महामारी फैलिएको देखिन्छ । सम्पर्कमा नहुनेहरूमा असर परेका उदाहरण कम छन् । १९८० को दशकपूर्व पेरुको रेन–फरेस्टमा बसोबास गर्ने नहुवा समुदाय यसका उदाहरण हुन् । सन् १९८४ सम्म यो समुदायमा कुनै संक्रमण फैलिएको थिएन । तर, त्यसपछि आफ्ना उत्पादन बेच्न काष्ठ व्यापारीसँग सम्पर्कमा आएका नहुवा आदिवासीमा तत्कालै इन्फ्लुएन्जाले प्रवेश गर्‍यो । ६ महिनामा नहुवा समुदायको आधाभन्दा बढी जनसंख्याले इन्फ्लुएन्जाको सिकार भएर ज्यान गुमाए ।

आदिवासी समुदायमा सामान्य रोगले पनि महामारीको रूप लिन्छ । आदिवासीहरू प्राय: अलग्गै रहन्छन् । उनीहरूमा आफ्नै किसिमको बसोबासको शैली हुन्छ । उनीहरू हरसमय समूहमा आवतजावत गर्छन् र सामानको साझा प्रयोग गर्छन् । बस्तीमा रोगको प्रवेश नहुँदासम्म जटिलताको सम्भावना कम हुन्छ । तर, आफ्नो उत्पादनको बिक्री, खाद्यान्नको व्यवस्थापनजस्ता कारणले बाहिरी दुनियाँसँग अप्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।

प्राय: आदिवासी समुदायले पाउने स्वास्थ्य सेवाको अवस्था निकै दयनीय हुन्छ । उनीहरू आफैँ पनि यो सेवा लिन चाहँदैनन् । कसैले सेवा लिइहाले पनि उनीहरूले असमानता भोग्नुपर्ने जोखिम भएको संयुक्त राष्ट्र संघले बताएको छ । राष्ट्र संघअन्तर्गतको आदिवासी समुदायको आर्थिक तथा सामाजिक विभागका अनुसार, आदिवासी समुदायले स्वास्थ्य सेवा पाइहालेमा पनि उनीहरूमा एक प्रकारको डर भइदिन्छ । सँगसँगै आदिवासी समुदायको जीवनशैली, सफा पानीको अभाव, सरसफाइका आधारभूत आधारहरूमा पर्याप्त उपलब्धता र प्रयोग नहुँदा उनीहरू संक्रामक रोगको उच्च जोखिममा हुन्छन् ।

आदिवासीको बसोबासको प्रकृति परम्परागत हुन्छ । प्राय: तीन पुस्तासम्मले एकै ठाउँमा बसोबास गर्छन् । समुदायले परिवारको रूपमा साझा जीवन चलाउँछन् । यो स्वरूपमा कतैबाट संक्रमणले प्रवेश मात्रै गर्‍यो भने समुदायभरि नै त्यो फैलिन्छ । रोगको जोखिमसँगै त्यसले उत्पन्न गर्न सक्ने समस्याको अर्को जोखिम छ । महामारीको समयमा व्यापार–व्यवसाय ठप्प हुँदा र आफ्ना उत्पादनको बिक्री नहुँदा कतिपय आदिवासी समुदायमा भोकमरी सुरु हुन्छ । उत्पादन बिक्री गर्न बजार सञ्चालन भइदिँदैन, सञ्चालन भए पनि बिक्री गर्न जाँदा संक्रमित हुने डर हुन्छ भने बिक्री नगर्दा खाद्यान्नको अभाव हुने जोखिम हुन्छ । सूचनाको अभावले पनि कतिपय महामारीले विकराल स्थिति सिर्जना गरिदिन्छ । आदिवासी समुदायमा उनीहरूकै स्तरको चेतनालाई सम्बोधन गर्ने सूचना प्रसारित नहुनु र उनीहरूको भाषामा सूचना नदिइनुले संक्रमणसँग उनीहरू अनविज्ञ भइरहेका हुन्छन् । जानकारीको अभावमा अन्य समयजस्तै सामान्य दैनिकी गुजारिरहन्छन् । समुदायमा कसैको मृत्यु भएमा त्यसलाई कुनै दैविक शक्तिको प्रकोप ठानिदिन्छन् ।

कोभिड–१९ र आदिवासी

विगत १२ वर्षदेखि उत्तरी केन्यामा तस्करबाट जंगली जनावारलाई रक्षा गर्दै आएका रेन्जर पिटर मेसेमी अहिले डराएका छन् । आफूसँगै अन्य ७० साथीहरूको समूहमा उनलाई एकातिर सिकारीहरूबाट जंगली जनावारलाई बचाउने चुनौती छ भने अर्कातिर विश्वव्यापी फैलिएको कारोना संक्रमणबाट आफूलाई । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर नै वन्यजन्तुको गैरकानुनी सिकारको सम्भावना बढाएको छ ।

नेसनल जिओग्राफिकले गरेको अन्तर्वार्तामा उनीहरूले सामुहिक आवाजमा भनेका छन्, ‘सम्भव त छैन तर एकआपसमा दूरी राख्न कडा कदम चालिरहेका छौं । कहिलेकाहीं मास्क र पञ्जा लगाउँछौं । नियमित हात धोइरहेका छौं ।’ हरसमय जंगलमा रहिरहँदा वन्यजन्तुसँग अपनत्व महसुस भएको छ । तर, यो मात्र त उनीहरूको संसार होइन । समस्या सामान्य नभएर झन् जटिल भएमा उनीहरूले फर्किनुपर्ने घर छ, उनीहरूलाई पर्खिने आफन्तहरू छन् । रेन्जरहरूले निगरानी गरिरहने ठाउँभन्दा केही पर जस्तोसुकै समस्या आए पनि कतै जान नसक्ने आदिवासी छन् । घर भन्नु जंगल र आफन्त भन्नु जंगलमा छन् । परिस्थिति जस्तोसुकै आए पनि परम्परागत जीवनशैलीलाई छाडेर कतै जाने ठाउँ छैन उनीहरूको ।

ब्राजिल र भेनेजुएलाको सिमानामा रहेको रेहेबे गाउँको उरारिकोएरा खोलाकिनारमा बस्ने यानोमामी समुदायका एक किशोरको कोभिड– १९ का कारण मृत्यु भएको पुष्टि भयो । श्वास–प्रश्वासमा समस्या भएसँगै ब्राजिलको रोराइमा जेनरल हस्पिटलमा परीक्षण गर्दा उनलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । अप्रिल ३ मा कोरोना भाइरसको परीक्षण गरिएका किशोरको केही दिनपछि मृत्यु भएको खबरसँगै अमेजोन क्षेत्रका आदिवासी समुदायमा खतराको घण्टी बजेको हो । उनको मृत्युपश्चात् सोसियो इन्भेरोमेन्टल इन्स्टिच्युटले निकालेको विज्ञप्तिले बताउँछ, ‘यानोमामी आदिवासीको क्षेत्रमा कोभिड–१९ फैलिन सक्ने मुख्य कारण त्यहाँबिना कुनै रोकतोक आवतजावत गर्ने २० हजारभन्दा बढी गैरकानुनी उत्खननकर्ताहरू हुन् ।’

विश्व नै जोखिममा भएको यो समय अर्थतन्त्र, राजनीति र सामाजिक परिस्थितिमाथि बहस भइरहँदा आदिवासी समुदायमा कोभिड–१९ को जोखिम कति छ भन्ने विषय छायामा परेको छ । आफ्नो समुदायमा संक्रमणले ल्याउन सक्ने विकराल स्थिति र दीर्घकालमा हुन सक्ने भोकमरी दुवैको जोखिममा आदिवासी छन् ।

अहिले विश्व स्वास्थ्य संगठनसँगै अन्य स्वास्थ्य क्षेत्रका विश्वव्यापी संघसंस्थाले सामाजिक दूरी कायम गर्नुलाई प्रमुख प्राथमिकतामा राखेका छन् । महामारीको जोखिमसँग डराएका आदिवासी समुदायले भने आफ्नो परम्परागत ज्ञान र सीपअनुसार केही विधि अपनाएका छन् । विगत नदोहोरियोस् भनेर केहीले आफ्नो समुदायलाई साना–साना समूहमा विभाजन गरेका छन् । आदिवासी समुदायले आफ्नै घरेलु सीपबाट बनाएका पातको मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । त्रासकै कारण आफू बसिरहेको क्षेत्रभन्दा भित्र बसिरहेका छन् आदिवासीहरू ।

जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ, आफ्नो समुदायमा भेटिएका पहिलो संक्रमितलाई अस्पतालमा गरिएको व्यवहारका कारण उनीहरूमा त्रास छ । ‘न्युयोर्क टाइम्स’ ले तयार पारेको एक रिपोर्टअनुसार, मध्यमार्च महिनामा श्वास–प्रश्वासमा समस्या देखिएका युवकलाई चार पटकसम्म अस्पताल लैजाँदा पनि उनको उपचार भएन । अवस्था अत्यन्तै जटिल भएपछि अप्रिल ३ मा मात्रै कोभिड– १९ परीक्षण गरिएको थियो ।

कोभिड–१९ को विषयमा आदिवासीमा सूचना प्रवाह कम भएको छ । उनीहरूको भाषा र सोचलाई सम्बोधन गर्ने किसिमका सूचना कमै प्रवाह भएका छन् । संक्रमणबाट बच्न जंगल पस्दा उनीहरूलाई जंगली जनावरको जोखिम छ । विगतका कतिपय महामारी वन्यजन्तुबाट मानिसमा सरेको पनि पुष्टि भएका छन् ।

पर्यावरणीय संरक्षणका लागि आदिवासीले विभिन्न समयमा आफ्नै किसिमको भूमिका निर्वाह गरेका छन् । तर, यो महामारीको समयमा आदिवासीकै संरक्षण आवश्यक देखिएको छ । ब्राजिलको अमेजोन रेन–फरेस्ट क्षेत्रका कतिपय भाग अहिले सखाप भइसकेका छन्, गैरकानुनी तस्करीका कारण । कतिपय भाग जोगाउन डाभी कोपेनवाजस्ता आदिवासी समुदायका अगुवा लागिपरेका छन् । यो महामारीबीच आदिवासी समुदायमाथि षड्यन्त्र भएमा त्यसको प्रत्यक्ष फाइदा तिनै तस्करलाई हुन्छ । अहिले आदिवासी समुदायलाई कम प्राथमिकतामा राख्दा उनीहरूको परम्परा र अस्तित्व नै धरापमा पर्न सक्छ । आदिवासीको अस्तित्व नहुनु भनेको प्रकृति संकटमा पर्नु हो । यो महामारीमा आदिवासीको संरक्षण हुन सकेन भने आउँदा दिनमा पर्यावरणमा आउन सक्ने असन्तुलनको असरले विगतमा जस्तै आपत् निम्त्याउनेछ ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?