१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महामारीमा कुमारी : एक दुःखान्त

वि.सं. १७७३ को शुरुका ५ महीना काठमान्डौंमा बसेका इमेनोएल फ्रेरले लेखेका छन्, ‘ससाना राजाहरुले अलग अलग राज गरेको ३ शहर नेपाल डरलाग्दो प्लेगले सताइएको थियो । ३ महीनाभन्दा कम अवधिमा दाह गरिएका लाशको संख्या करीब २० हजार थियो ।’
डा. महेशराज पन्त

वि.सं. १७९६–९७ मा चम्केको बिफरभन्दा २५ वर्षअगाडि अर्कै रोगको महामारी यहाँ फैलिएको थियो । अघिल्लो लेखमा (महेशराज पन्त, ‘मरकले राजालाई पनि छोडेन’, ‘कान्तिपुर’ दैनिक, २०७७।१।२०।७, ५ पृ.) बयान गरिएका अरू अरू महामारीको भन्दा यसको विषयमा बढी अभिलेख पाइएकाले यस विषयमा खुलाएर लेख्न सकिने भएको छ ।

महामारीमा कुमारी : एक दुःखान्त

ने.सं. ८३६ तदनुसार १७७२ चैतदेखि काठमाडौँमा महामारी शुरू हुँदा यहाँ भास्कर मल्ल उर्फ महीन्द्रसिंह (वि.सं. १७५३–१७७९, राज्यकाल वि.सं. १७५७–१७७९) राजा थिए । उता ललितपुरमा ऋद्धिनरसिंह (?–१७७४, राज्यकाल वि.सं. १७७१–१७७४) र भक्तपुरमा चाहिँ भूपतीन्द्र मल्ल (वि.सं. १७३१–१७७९, राज्यकाल वि.सं. १७५३–१७७९) गद्दीमा थिए ।

०००

यस उपद्रव महामारीबाट मान्छे मर्नुभन्दा अगाडि सबैको घरमा मूसा मरे, कुखुरा मरे, बाख्रा भेँडा भैँसी गाई घोडा हात्ती अनेकन् अनेकन् मरे, यसपछि घरैपीछे मानिस मरे, असंख्य अपुताली गयो, यस्तो उपद्रव सुनिएको थिएन, देखिएको पनि थिएन, गाउँपीछे डाँडामा जीवजन्तु मृग बँदेल आदि पृथ्वीमा सर्वत्र मरेको सुनियो’ भनी वि.सं. १७४० देखि १७७५ सम्मका घटनाको नेवारी टिपोटमा भएकोमा (डिल्लीरमण रेग्मी ‘मेड्ईइभल् नेपाल्’ ३ भाग २ खण्ड, फर्मा के.एल. मुखोपाध्याय, कलकत्ता, ई.सं. १९६६, १२८ पृ.) ‘पैले सहर ग्रामहरूका घरघरमा मूसाहरू मर्‍या, त्यसपछि हात्तीघोडा भेँडाबाख्रा हाँसकुखुरा गाईभैँसी वनमा जीवजन्तु मृग बँदेल आदि वनचर मर्‍या, पृथ्वीमा सर्वत्र पशुपक्षी जीवजन्तु आदि प्राणनाश भयो’ भनी ‘भाषावंशावली’मा लेखिएकोले (देवीप्रसाद लंसालद्वारा सम्पादित ‘भाषा वंशावली’ २ भाग, नेपाल राष्ट्रिय पुस्तकालय, २०२३, १०२–१०३ पृ.) यी वाक्य नेवारी टिपोटकै कमोबेश उल्था हुन् भनी निर्धक्क भन्न सकिन्छ ।

यो महामारी कुन रोगको रहेछ भन्ने कुरा नेपाली आकरबाट नखुले पनि गर्धन काखी र काँधमा पिलो आएको र कपाल दुखेको २, ३, ४, ५ वा ६ दिनभित्र धेरै मानिस मरे भनी वि.सं. १७७२ देखि १७९२ सम्मका घटनाको नेवारी टिपोटमा लेखिएकोले (‘किलं मनःपौ’, ‘नेपाल ऋतुपौ’ ६४ पूर्णाङ्क, ने.सं. १११३, २ पृ.) र ‘भाषावंशावली’मा पनि ‘महामारी अतिप्रज्वलित भैरहँदा काखीमा काँधमा कर्णसन्धिमा फोका उठी कपाल दुख्ने व्यथा लागी नेपालका सहर ग्रामहरूमा असंख्य मानिस मर्‍या’ (१०३ पृ.) भनी झण्डै झण्डै त्यही टिपोटको जस्तै लक्षण दिइएकोले रोगको प्रकृति बुझ्न सजिलो भएको छ ।

महामारी शुरू भएताकै वि.सं. १७७३ वैशाखको शुरूमै (ई.सं. १७१६ अप्रिल १६ तारीखमा) काठमाडौँ आई यहाँ ५ महीना बिताएका, पोर्चुगलका जेज्युइट पादरी इमेनोएल फ्रेर (वि.सं. १७३६–१७८५ पछि)ले यस महामारीलाई ‘प्लेग’ नै भनेकाले (फिलिप्पो दे फिलिप्पिद्वारा सम्पादित ‘यान् अकाउन्ट् अफ् टिबेट् : ट्र्याभल्ज् अफ् इप्पोलितो देजिदेरि अफ् पिस्तोइआ, एस्. जे. १७१२–१७२७’को परिष्कृत संस्करण, जर्ज रूट्लेज यान्ड सन्ज, लिमिटेड, लन्डन, ई.सं. १९३७ मा परिशिष्टको रूपमा गाभिएको, इमेनेएल फ्रेरको यात्रावृत्तान्तको उल्था ‘रिपोर्ट् अन् टिबेट् यान्ड् इट्स् रूट्स्’, ३६० पृ.), मूसा मर्न थालेपछि मानिस मर्न थाले भनी वि.सं. १७४० देखिका घटनाको टिपोटमा लेखिएकोले र ‘भाषावंशावली’मा पनि त्यस्तै त्यस्तै लेखिएकोले यस रोगलाई डाक्टरी भाषामा ‘ब्यूबोनिक प्लेग’ भन्न नसकिने होइन ।

०००

‘संवत् ८३६मा देशमा (महामारी) उत्पन्न भएर काठमाडौँमा मात्र २१ हजार मान्छे मरे, वर्ष दिनपछि फेरि बढी मरे’ भनी वि.सं. १७७२ देखिका घटनाको टिपोटमा लेखिएकोमा ‘संवत् ८३६ चैतदेखि काठमाडौँमा मानिस मर्न थाले, महामारीको सवारी भएपछि असार र साउनमा दिनको १०० देखि १२० सम्म मानिस काठमाडौँमा मरे, ललितपुरमा असारदेखि मानिस मरे, असोज र कार्तिकमा दिनको १०८ देखि ११० सम्म मानिस मरे, यस्तो उत्पात भएपछि महामारीको सवारी हुँदा अनेकन् प्राणीको मृत्यु भयो, गन्न भने सकिएन’ भनी वि.सं. १७४० देखिका घटनाको टिपोट भन्छ । (महामारीलाई देवीको स्वरूप मानिएको यहाँ ‘सवारी’ शब्दको प्रयोग भएको हो ।)

‘अहिले यहाँ महामारी फैलिएको छ र २० हजार जति मानिसको मृत्यु भइसकेको छ’ भनी काठमाडौँको क्याप्युचिन मिशनमा वि.सं. १७७१ पूसदेखि बस्दै आएका, इटालीका पादरी जूजेप्पे फेलिचे (वि.सं. १७३८–१७७८) वि.सं. १७७३ मङ्सीरमा लेख्छन् (लुच्यानो पेतेकद्वारा रचित, सुरेन्द्र ढकालद्वारा अनूदित ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ, २०६०, २६८–२६८ पृ.) ।

‘ससाना राजाहरूले अलग अलग राज गरेको ३ शहर नेपाल डरलाग्दो प्लेगले सताइएको थियो । ३ महीनाभन्दा कम अवधिमा दाह गरिएका लाशको संख्या करीब २० हजार थियो’ भनी वि.सं. १७७३ को शुरूका ५ महीना यहाँ बिताएका इमेनोएल फ्रेर लेख्छन् (३६० पृ.) ।

‘चैत्र महीनादेखि कान्तिपुरमा मर्‍या, असारमा ललितपुरमा मर्‍या, भक्तपुरमा मर्‍या, यस्तै तरहसँग रोग फैलियो, ... दिनमा १००।१२० मानिस मर्दा धेरैका सन्तान शून्य भै अपुताली लाग्यो’ भनी ‘भाषावंशावली’ भन्छ (१०३ पृ.) ।

पटक पटक प्रतिसंस्कार भएको ‘भाषावंशावली’का केही प्रतिमा भने त्यस वेलाका काजी अर्थात् प्रधानमन्त्री झगल ठकुरले गनेअनुसार जम्माजम्मी १८७१४ जनाको मरण भयो भनी तोकेरै लेखिएको छ (संशोधन–मण्डलको संग्रहमा रहेका लेखोट ‘मण्डलवंशावली–२’, १०९ख पृ. र ‘मण्डलवंशावली–३’, १८१ पृ., बालचन्द्र शर्माद्वारा सम्पादित ‘काठमाडौंउपत्यकाको एक राजवंशावली’, ‘प्राचीन नेपाल’ ६ संख्या, २०२५, नेपाली खण्ड, १० पृ., ‘नेपालको इतिहास राजभोगमाला’, ‘प्राचीन नेपाल’ ११ संख्या, २०२७, ४ पृ., ‘नेपाल देशको इतिहास’, ‘प्राचीन नेपाल’ १९ संख्या, २०२९, ६ पृ., दिनेशराज पन्तद्वारा सम्पादित ‘संक्षिप्त वंशावली’, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, काठमाडौँ, २०६५, ६८ पृ.)।

उता, पद्मगिरिको वंशावली’ भनी प्रख्यात वंशावलीको अङ्ग्रेजी उल्थामा भने त्यो संख्या ‘१८७७४’ छ (विक्रमजित् हसरतद्वारा सम्पादित ‘हिस्टरि अफ् नेपाल्, याज् टोल्ड् बाइ इट्स् वोन् यान्ड् कन्टेम्पोररि क्रनिक्लर्ज्’, होश्यारपुर, ई.सं. १९७०, ८४ पृ.) । मूलको दशस्थानी ‘१’ को अङ्कलाई भ्रमवश ‘७’ पढ्दा पद्मगिरिको वंशावलीको उल्थामा वास्तव संख्याभन्दा ६० जना बढी मरेको भनी लेखिएको हुनु धेरै सम्भव छ ।

वि.सं. १७४० देखिका घटनाको टिपोटमा महामारीको अन्त्यसम्मको कुरा नआएकोले त्यहाँ दिनका दिन मर्नेको मोटामोटी संख्या दिए पनि महामारीबाट मर्नेको कुल संख्या नआएको देखिन्छ । यो महामारीसम्बन्धी, ‘भाषावंशावली’को अघिल्लो भाग दोस्रो टिपोटकै उल्था जस्तो भएकोले ‘भाषावंशावली’को सबभन्दा चल्तीको संस्करण (देवीप्रसाद लंसालद्वारा सम्पादित) मा पनि मर्नेहरूको कुल संख्या छुटेको देखिन्छ ।

काठमाडौँमा २१ हजार मान्छे मरे, वर्ष दिनपछि फेरि धेरै मान्छे मरे भनी वि.सं. १७७२ देखिका घटनाको टिपोटमा लेखिएकोमा महामारी शुरू भए ताका काठमाडौँ आई यहाँ ५ महीना बिताएका इमेनोएल फ्रेरले ३ महीनाभन्दा कम समयमा करीब २० हजार लाश जले भनी लेखेको र महामारी आउँदा काठमाडौँमै बसिरहेका जूजेप्पे फेलिचेले २० हजार जति मानिस मरिसके भनी वि.सं. १७७३ मङ्सीरमा लेखेको देख्दा वि.सं. १७७२ देखिका घटनाको टिपोटमा पहिलो वर्षमा मरेका भनी दिइएको संख्याभन्दा १ हजार कम भए पनि दुवै थरी अर्थात् वि.सं. १७७२ देखिका घटनाको टिपोट र पादरीका लेखमा दिइएका संख्या एक एक गरी गनेर लेखिएका होइनन् भन्ने हामीले सम्झनुपर्छ ।

त्यसमाथि, वि.सं. १७७३ भदौसम्म नेपालमा बसेका इमेनोएल फ्रेरले ३ महीनाभन्दा कम समयमा जति मान्छे मरे भनी लेखे, त्यति नै मान्छे अहिलेसम्म मरिसके भनी उनी फर्केको ३ महीना जतिपछि जूजेप्पे फेलिचेले लेखेको देख्दा विश्वसनीय मृतकसंख्याचाहिँ झगल ठकुरकै गणनाअनुसारको हो भनी भन्नुपर्छ ।

०००

शहरमा महामारीको प्रकोप बढ्दै जाँदा प्रजाहरू शहर छोडी जान थाले । अब जसरी पनि राजालाई रोगबाट बचाउनुपर्‍यो भनी प्रधानमन्त्री झगल ठकुरले गरेको उद्योग र त्यसपछिको अवस्थाको विषयमा ‘भाषावंशावली’मा (१०३–१०४ पृ.) लेखिएको कुरातर्फ लागौँ ।

विवाहिता २ रानी र २ जना मैजु अर्थात् भित्रेनीसँग रसरङ्ग गर्न भनी स्वयम्भूभन्दा अलि दक्षिणमा पर्ने किंडोलमा राजा भास्कर मल्लले एउटा घर बनाएका थिए । त्यही घरमा सब सराजाम ठीक पारेर चारै जना स्त्री र ४ जना टहलुवा साथ गरी अरू बाहिरिया मानिस कोही आउन जान नदिई राजा भास्कर मल्ललाई झगल ठकुरले राखे ।

शान्तिस्वस्ति पूजापाठ जे गरे पनि महामारीको निवारण नहुँदा हनूमान्ढोकामा आए जतिलाई एक जना जोगीले भनेबमोजिम इच्छाभोजन गराएपछि नभन्दै महामारी धेरै शान्त भयो । अनि किंडोलमा खेतमा काम गर्न आएको एक जना ज्यापूलाई देखी दरबार फर्कन आतुरिएका राजाले झ्यालमा प्वाल पारेर शहरको समाचार कस्तो छ भनी सोधे । ४ दिन भयो, रोगनिवारण बहुतै भएको छ भनी ज्यापूले जवाफ दिएपछि त्यही झ्याल खोली राजा हामफाल्न खोजे । रानीहरूले रोक्न खोज्दा खोज्दै पनि नमानी झ्यालबाट हामफालेर राजा दौडदै गए । राजा यसरी आएपछि रानीहरू र मैजुहरू पनि दरबार फर्के । दरबार फर्केकै दिन राति रानीहरू र मैजुहरूसँग बसिरहँदा राजामाथि महामारीको दृष्टि लाग्दा रोग प्राप्त भई ने.सं. ८४२ तदनुसार वि.सं. १७७९ भाद्रकृष्णएकादशीको दिन उनी परलोक भए । अनि उनकी चारै स्त्री उनको शवसाथ पशुपति राजराजेश्वरीनिरको श्मशानमा सती गए ।

२९ वर्ष पनि नपुगेका अपुता भास्कर मल्लको यसरी वि.सं. १७७९ मा अकाल मृत्यु हुँदा स्थितिराज मल्ल (वि.सं. ?–१४५२, राज्यकाल १४३७–१४५२)देखिको वंशपरम्परा १४ पुस्तामा काठमाडौँमा टुट्न गयो ।

०००

भास्कर मल्ल परलोक भएको जुन मिति ‘भाषावंशावली’मा दिइएको छ, त्यो तात्कालिक लेखबाट पनि पुष्ट हुन्छ । खालि फरक के छ भने, अघिल्लोमा तिथि एकादशी छ त पछिल्लोमा दशमी (गौतमवज्र वज्राचार्य, ‘ऐतिहासिक घटनावली’, ‘पूर्णिमा’ १८ पूर्णाङ्क, २०२५, १११ पृ.) । यो फरक दशमीउप्रान्त एकादशीमा अर्थात् दशमीको घडी पला सिद्धिई एकादशी लागेपछि भास्कर मल्ल बितेकोले परेको हुन सक्छ ।

राजा महीन्द्रसिंहको मृत्यु संवत् ८४२ भाद्रकृष्णनवमी सोमवारको दिन भयो । परंयात अर्थात् पर्यङ्कयात्रा (शवलाई म्याना अर्थात् पालकीमा राखी दाह गर्न लगिने यात्रा) मात्र भोलिपल्ट मङ्गलवारको दिन गरियो (‘नेपाल ऋतुपौ’ ६४ पूर्णाङ्क, २ पृ.) भनी लेखिएकोले भास्कर मल्लको मृत्यु नवमीमै भएको, दाहसंस्कारचाहिँ भोलिपल्ट भएको स्पष्ट हुन्छ ।

०००

‘भाषावंशावली’का २ प्रतिमा भास्कर मल्लको मृत्यु ने.सं. ८१२ तदनुसार वि.सं. १७४८ पौषपूर्णिमामा (प्यारिसको आँस्तित्यु द सिभिलिजाँस्यो आँदियन्नमा सिल्विं लेविको सङ्ग्रहमा रहेको लेखोट ‘लेविवंशावली–१’ र ‘संक्षिप्तवंशावली’, ६७ पृ.) र अरू केही प्रतिमा ने.सं. ८१२ तदनुसार वि.सं. १७४९ मा भदौ महीनाको औँसीमा भयो (‘लेविवंशावली–२’, ‘मण्डलवंशावली–२’, १०८ख–१०९क पत्र, ‘प्राचीन नेपाल’ ६ संख्या, ९ पृ.) भनी लेखिएको कुरा स्याँट्ठै काट्न सकिन्छ । किन कि ने.सं. ८१२ मा काठमाडौँको गद्दीमा भास्कर मल्ल होइन कि उनका बाबु भूपालेन्द्र मल्ल (वि.सं. १७३६–१७५७, राज्यकाल वि.सं. १७४४–१७५७) विराजमान थिए (रामजी तेवारी, ‘भूपालेन्द्र मल्ल’, ‘पूर्णिमा’ ३ पूर्णाङ्क, २०२१, ३७–४६ पृ.), भास्कर मल्ल त ने.सं. ८२१ तदनुसार वि.सं. १७५७ मा बाबु बितेपछि मात्र राजा भएका हुन्, त्यसमाथि, ने.सं. ८३६ तदनुसार वि.सं. १७७२ देखि शुरू भएको महामारीले ने.सं. ८४२ तदनुसार वि.सं. १७७९ मा उनलाई पनि लगेको कुरा माथि खुलाएर लेखिसकिएको छ ।

‘भाषावंशावली’को एउटा प्रतिको उल्थामा भने यस महामारीबाट ने.सं. ८२२ तदनुसार वि.सं. १७५९ भाद्रपूर्णिमामा भास्कर मल्ल परलोक भए (ड्यान्यल राइटद्वारा सम्पादित ‘हिस्टरि अफ् नेपाल्’, केम्ब्रिज, यूनिभर्सिटि प्रेस, ई.सं. १८७७, २२२ पृ.) भनी लेखिएको कुरा पनि यसै गरी एकदमै लत्याउन सकिन्छ ।

०००

असोज महीनामा मलमास पर्‍यो भने त्यो साल असोजमा दसैँ नगरी कार्तिकमा दसैँ गर्नुपर्ने नियमको पालना गरी भक्तपुर र ललितपुर राज्यले असोजमा मलमास परेको वर्ष त्यस महीनामा दसैँ नगरे पनि भास्कर मल्लले चाहिँ असोजमै दसैँ गरेकाले जगदम्बाको कोप भई महामारीको प्रवेश भयो भनी ‘भाषावंशावली’का कुनै कुनै प्रतिमा लेखिएको छ (‘लेविवंशावली–२’, माणिक वज्राचार्य र अक्सल मिषायेल्सद्वारा सम्पादित ‘नेपालिकभूपवंशावली, एडिशन्’, सोशल साइन्स बहाः र हिमाल किताब, काठमाडौँ, ई.सं. २०१६, ९४ पृ.) । कुन साल यस्तो भयो भन्ने कुराचाहिँ त्यहाँ खुलाइएको छैन ।

भास्कर मल्लको पालामा कुन साल असोज महीनामा मलमास परेको थियो भनी खोज्दै जाँदा ई.सं. १७०० तदनुसार वि.सं. १७५७ मा परेको देखिएकोले यो घटना त्यही साल भएको हो भनी सिल्विं लेवि (वि.सं. १९१९–१९९२)ले सम्झेको हुन सक्छ (‘ल नेपाल्, एत्यूद् ईस्तोरीक् दाँ र्‍वाइयोम् आँदू, एरनेस्त लरू, प्यारिस, ई.सं. १९०५, २५६ पृ.) । हुन पनि शाके १६२२ तदनुसार वि.सं. १७५७ मा असोजमा मलमास परेको गणनाबाट पुष्ट भएकोले (नयराज पन्त, ‘वेङ्कटेश केतकरको इन्डिअन् यान्ड् फर्इन् क्रोनल्अजिको संस्कृत अनुवाद’, ‘पूर्णिमा’ ७१ पूर्णाङ्क, २०४५, ९ पृ.) लेविको विचार झ्वाट्ट हेर्दा ठीक देखिन्छ । तर भास्कर मल्लका बाबु भूपालेन्द्र मल्ल तीर्थयात्रा गर्न जाँदा बाटोमा ने.सं. ८२१ तदनुसार वि.सं. १७५७ कार्तिककृष्णत्रयोदशीमा बित्दा उनी बितेको खबर आएपछि उनको चिनासँगै उनका रानीहरू माघशुक्लपञ्चमीको दिन सती गएपछि (धनवज्र वज्राचार्यको प्रधान–सम्पादकत्वमा प्रकाशित ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, २२६ र ३५०–३५१ पृ.) मात्र काजक्रिया सिद्ध्याई भास्कर मल्लको सिंहासनारोहण हुनु सम्भव भएकोले वि.सं. १७५७ असोजमा मलमास पर्दा भास्कर मल्ल राजा भइसकेका थिएनन्, युवराज नै थिए । ऐतिहासिक उपकरण त्यति प्रकाशमा नआइसकेको, अहिलेभन्दा सय वर्षभन्दा अगाडिको जमानामा सीमित साधनको भरमा लेविले मितिको जो मिलान गरे, त्यसलाई दाद भने दिनैपर्छ ।

०००

महामारीका यिनै वर्षमा दरबारका कुमारी शून्यमा गएको अर्थात् परलोक भएको कुरा ‘भाषावंशावली’को एउटा प्रतिमा (‘प्राचीन नेपाल’ ११ संख्या, ४ पृ.), अरू प्रतिमा कहीँ ‘दरबारका कुमारी केही कारणले शून्य भै रहिनन्’ (‘लेविवंशावली–२’, ‘संक्षिप्तवंशावली’ ६८ पृ.) र कहीँ कहीँ ‘कान्तिपुर दरबारका कुमारी पनि यसै व्यथाले परलोक भइन्’ (‘प्राचीन नेपाल’ १९ संख्या, ५ पृ., ‘पद्मगिरिवंशावली’, ८३ पृ.) भनी लेखिएकोले यस महामारीबाट राजा मात्र होइन, कुमारी पनि परलोक भएको देखिन्छ ।

‘भाषावंशावली’का कुनै कुनै प्रतिमा चाहिँ ‘कान्तिपुरका तीनै कुमारीहरू यिनै व्यथाले लैगयो’ (‘मण्डलवंशावली–२’, १०८क पृ.,‘प्राचीन नेपाल’ ६ संख्या, नेपाली खण्ड, ९ पृ.) भनी लेखिएकोले ‘राजकीय’ कुमारीसमेत काठमाडौँ शहरका अरू २ कुमारीलाई पनि यही महामारीले लगेको देखिएको छ । तात्कालिक उपकरणमा यसको चर्चा छ कि छैन भन्ने एउटा र अर्को, अरू २ कुमारी काठमाडौँका कुन कुन ठाउँका हुन् भन्ने निर्णय गर्न कोशिश गर्नुपरेको छ ।

असन तछेबहालका गुभाजूहरूको टिपोटमा ने.सं. ८३६ तदनुसार वि.सं. १७७३ आषाढकृष्णचतुर्दशीको दिन झोलछेका कुमारी भवानी र ने.सं. ८३७ तदनुसार वि.सं. १७७४ भाद्रकृष्णतृतीयाको दिन ओतु धर्मचन्द्रको घरमा कुमारी भवानी लीन भएको कुरा छ (‘पूर्णिमा’ ११८ पूर्णाङ्क, १११ पृ.) । यी दुवै कुमारी परलोक भएको मिति महामारी चलिरहेको समयभित्रका भएकाले ‘भाषावंशावली’मा चर्चित कुमारीहरूको देहान्तसँग जोड्न सकिने सम्भावना बढेको छ ।

ने.सं. ७८६ तदनुसार वि.सं. १७२३ वैशाखशुक्लएकादशीको दिन सारिसिद्धिएको एउटा पुस्तकमा आफ्नो परिचय दिँदा ‘तरुमूलमहाविहारका इष्टदेवको चरणको सेवा गर्ने, झोलछेको पूर्वदिशाको घरमा बस्ने वज्राचार्य पूर्णदेव’ भनी सार्ने मान्छेले लेखेकाले (चित्तधर ‘हृदय’, ‘नेपाल भाषा साहित्यया जातः’, नेपालभाषापरिषद्, काठमाडौँ, ने.सं. १०९१, ४८–४९ पृ.) वि.सं. १७७३ मा दिवंगत हुने झोलछेका कुमारी भवानी चिन्न हामीलाई सजिलो भएको छ ।

‘पङ्क्ति/लहर/क्रम’को नेवारी पर्याय ‘झो’ भएकोले ‘लहरै मिलेका घर’ भन्ने अर्थ भएको ‘झोछेँ’ शब्द काठमाडौँ वसन्तपुरको नौतले दरबारबाट अलिकति दक्षिण मोडिएपछि आउने टोलको नाउँमा रूढ छ । त्यही ‘झो’ शब्दको पूर्वरूप ‘झोल’ घर बुझाउने ‘छे’ शब्दसँग जोडिई बनेको ‘झोलछे’ वि.सं. १७२३ को लेखोटमा वर्तमान कुमारीघरसँगैको तरुमूलमहाविहार अर्थात् सिकमुबहाका पूजक वज्राचार्यको वास भएकोले झोलछेकी कुमारी भनी झोछेँकी कुमारीलाई भनेको देखिन्छ ।

काठमाडौँ शहरका कुनै कुनै ठाउँमा भिन्नाभिन्नै कुमारी थाप्ने चलन भए पनि झोछेँमा भिन्नै कुमारी भएको कुराको कुनै अभिलेख वा अनुश्रुति पनि नभएकोले अहिले सिकमुबहाले निकै नै कम ठाउँ ओगटे पनि गद्दीबैठकदेखि नौतले दरबारको बीचको लङको अगाडि पर्ने, अहिले डबली जस्तो बनाइएको ठाउँसम्म सिकमुबहाकै इलाका भएको कुरा त्यहाँका गुभाजूहरूको सम्बन्ध अहिले डबलीमा रहेका देवस्थलसँग भएकोले अनुमान हुन्छ । यसैले कुमारीको लागि अलग्गै घर वि.सं. १८१४ मा मात्र तयार भएकोले (गौतमवज्र वज्राचार्य, ‘हनूमान्ढोका राजदरबार’, नेपाल र एशियाली अध्ययनसंस्थान, २०३३, ४२–४३ पृ.) वि.सं. १७७३ मा परलोक हुने कुमारीको वास सिकमुबहाका गुभाजूको जस्तै झोछेँमा भएको देखिन्छ । यसै कारण, ‘राजकीय’ कुमारीलाई नै ‘झोलछेका कुमारी भवानी’ भनेको हुनुपर्छ ।

वटु मूबहालमा परम्परादेखि कुमारी थाप्ने चलन भएकोले वि.सं. १७७४ मा दिवंगत हुने, ओतु धर्मचन्द्रको घरमा रहेकी कुमारी भवानी भनी तिनै कुमारीलाई भनेको ठहर्छ । काठमाडौँ शहरमा ‘राजकीय’ कुमारी र वटु मूबहालकी कुमारीको अतिरिक्त ठहिटीनिरको क्वाबहालमा, किलागलमा र मखन तानाबहालमा गरी अरू ३ कुमारी थाप्ने गरिएको थियो । जातको हिसाबले हेर्दा राजकीय कुमारी शाक्य, मूबहाल र क्वाबहालका कुमारी वज्राचार्य तथा किलागल र तानाबहालका कुमारीचाहिँ ज्यापू हुन् ।

यसरी काठमाडौँ शहरमा ५ कुमारीको अस्तित्व भए पनि ‘भाषावंशावली’मा काठमाडौँका तीनै कुमारी भनी लेखिएकोले ३ जनालाई मात्र वंशावली जसले लेखे, तिनले मानेको देखिन्छ । तात्कालिक अरू प्रमाणको आधारमा २ जना कुमारीको पहिचान गर्नसकिए पनि तेस्रीचाहिँ कुमारी यिनै हुन् भनी भन्न सक्ने स्थितिमा म छैन ।

०००

यहाँ महामारी फैलन शुरू भएको ५ वर्षपछि ई.सं. १७२० तदनुसार वि.सं. १७७७ मा दक्षिणी फ्रान्समा, भूमध्यसागरको तटमा रहेको मार्से शहरमा हामीकहाँकै जस्तो लक्षण भएको प्लेग फैलिएको विषयमा अलिकति लेखी यो लेख टुङ्ग्याउनुपरेको छ ।

९० हजार जनसंख्या भएको मार्से शहरमा त्यस महामारीबाट २ वर्षभित्र ५० हजार मान्छे बितेको र त्यस शहरसँग उत्तरपट्टि जोडिएका अरू शहरमा अरू थप ५० हजार मानिस मरेको अभिलेख छ । हुन त मैले गडेर हेरिसकेको छैन, धेरै महामारी पूर्वबाट पश्चिमतर्फ फैलेको देखिएको छ । यहाँ महामारी चलिरहेकै वेलामा यूरोपमा पनि त्यही लक्षणको महामारी आउनु संयोग मात्र होइन जस्तो लाग्छ ।

भास्कर मल्लको पालामा आएको यस महामारीलाई ‘१२० वर्षमा आउन्या महामारी’ भनी ‘भाषावंशावली’मा लेखिएकोले (१२० पृ.) हरेक १२० वर्षमा यस्तो महामारी आउने जनधारणा यता देखिएको छ त उता, चार सय वर्षयतादेखि अर्थात् ई.सं. १७२० देखि सय सय वर्षमा यूरोपमा महामारी आइरहेछ भनी अङ्कमा खेली अफवाह फैलाउने काम भइरहेछ । ई.सं. १८२० र १९२० का महामारीतर्फ त म अहिले जान्नँ, तर ई.सं. १७२० को प्लेग धेरै ठाउँमा नफैलिएकोले र त्यसबाट अरू अरू महामारीको दाँजोमा मानिसको त्यति बिदि खति पनि नभएकोले त्यसलाई त्यति ठूलो महामारी मानिँदैनसम्म चाहिँ भन्नैपर्छ (एड्वर्ड ए. एकर्ट, ‘द रिट्रीट् अफ् प्लेग् फ्रम् सेन्ट्रल् युरप्, १६४०–१७२०ः अ जिओमेडिकल् अप्रोच्’, ‘बुलेटिन् अफ् द हिस्टरि अफ् मेडिसिन्’ ७४ ठेली १ अङ्क, ई.सं. २०००, १–२८ पृ.) ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?