प्रकृतिमाथि मानवको विजय

जेठ १६ (मे २९) लाई ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ का रुपमा मनाइँदै आइएको छ । विश्वको सर्वोच्च शिखरमा पहिलोपटक मानव पाइला टेकिएको दिनको सम्झनामा यो दिवस मनाइन्छ । पहिलो सगरमाथा आरोहणमाथि धेरै लेखिसकिएको छ । सो आरोहणसँग गाँसिएका तर हालसम्म खासै चर्चा नभएका नेपाल सम्बन्धित केही पक्षमाथि यो आलेखमा चर्चा गरिएको छ ।
लाेकरञ्जन पराजुली

आजभन्दा ६७ वर्षअघि (शुक्रबार, १६ जेठ २०१० अर्थात् २९ मे १९५३) हिजोको दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको थियो ।

तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले त्यस दिन सगरमाथा शिखरमा पुगेर नेपाल, बेलायत र संयुक्त राष्ट्र संघका झन्डा फहराएका थिए । यससँगै मानवका लागि अगम्य मानिँदै आएको पृथ्वीको एउटा हिस्सा गम्य हुन पुगेको थियो । त्यसयता करिब ५,८०० मानिसले सगरमाथा आरोहण गरिसके पनि यो हिमाच्छादित भीमकाय चट्टानको आकर्षण अझै रत्तिभर घटेको छैन ।

सर्वोच्च शिखर सगरमाथाउपरको यो विजय सहजै प्राप्त भएको चाहिँ थिएन । सन् १९२१ र २२ मा पहिलोपटक ब्रिटिस आरोहण दलले सगरमाथामा चढ्ने प्रयत्न गरेको थियो । तत्पश्चात् अरू करिब एक दर्जनपटक विभिन्न समूहले सगरमाथाको चुचुरोमा पुग्ने असफल प्रयास गरेका थिए । त्यस क्रममा कतिपय आरोहीले ज्यानसमेत गुमाएका थिए ।

नेपालमा राणा शासन भएकाले र राणा शासकहरूले विदेशीहरूलाई नेपालभित्र घुम्न सहजै अनुमति नदिने हुनाले सन् १९५० अघि सगरमाथा चढ्न गरिएका प्रयास तिब्बततर्फ अर्थात् उत्तरी मोहडाबाट भएको थियो । यसबीच उत्तर र दक्षिण दुवैतर्फ राजनीतिक परिवर्तन भए । चीनले आक्रमण गरी सन् १९५० मा तिब्बतलाई आफूमा गाभ्यो । र, त्यससँगै सगरमाथामा उत्तरी मोहडाबाट चढ्ने ढोका तत्कालका लागि बन्द भयो । अर्कोतर्फ, राणाशाहीको चंगुलबाट नेपाल मुक्त भयो र बाहिरी विश्वतर्फ आफ्नो पँखेटा फिँजाउन थाल्यो । नेपालतर्फबाट सगरमाथा आरोहणका प्रयास सुरु गरिन थालिए । सन् १९५१ र ५२ मा नेपालतर्फबाट गरिएका दुई स्विस आरोहण प्रयासमा तेन्जिङ नोर्गे स्वयं सामेल थिए ।

सन् १९५३ को वसन्त ऋतुमा ब्रिटिस आरोहण दलसँग सामेल भएर तेन्जिङ नोर्गे पुन: सगरमाथा चढ्न हिँडे । कर्नेल जोन हन्टको नेतृत्वमा ३८० भन्दा बढी भरियासहितको सो दल मार्च १० तारिख काठमाडौंबाट प्रस्थान गरेको थियो । उनीहरूले एकैपटकमा सो सफलता हासिल गरेका थिएनन् । २०१० साल जेठ १२ (२५ मे) गतेको ‘गोरखापत्र’ ले बीबीसीको हवाला दिँदै उनीहरूले जेठ ९ (मे २२) गते प्रयास गरेकामा सो असफल भएकाले जेठ १० (मे २३) गते पुन: प्रयास गर्ने भन्ने समाचार छापिएको छ ।

सो समूहले आफ्नो प्रयास जारी राखेर अन्तत: काठमाडौंबाट हिँडेको ८० औं दिनमा (जेठ १६, मे २९) सगरमाथाको चुचुरोमा आफ्ना पाइला टेकाउन सफल भएको थियो । उनीहरू सफल भएको खबर पहिले बेलायत पुगेको थियो । सबभन्दा पहिले महारानी एलिजाबेथलाई उनको राज्याभिषेकको उपहारको रूपमा जेठ २० (जुन २) तारिखको बिहान सो ‘शुभ समाचार’ सुनाइएको थियो । नेपालमा कायम गरिएको सो कीर्तिको समाचार बेलायत पुगेर घुमीवरी बल्ल नेपाल छिरेको थियो ।

‘गोरखापत्र’ त्यतिखेर हप्ताको तीन दिन छापिन्थ्यो । जेठ १९ (१ जुन) गतेको अंकमा नाम्चे बजारको १६ जेठ (मे २९) को डेटलाइनसहितको प्रेस ट्रस्ट (?) को समाचार छापिएको छ, जसमा सगरमाथा चढ्ने प्रयास विफल भएको उल्लेख छ । सो दल २७, ५०० फिटमाथिसम्म पुगेको तर मौसम खराब भएकाले बाध्य भएर फर्कनुपरेको समाचारमा लेखिएको छ । उक्त ब्रिटिस दलले पुन: एकपटक चुचुरोमा पुग्न प्रयास गर्ने र जुनको ७ तारिखका दिन सगरमाथा छाड्ने विचार गरिरहेको पनि सो समाचारमा जनाइएको थियो ।

तेन्जिङ र एडमन्डहरू सगरमाथामा पुगिसकेपछि पनि यो गलत समाचार छापिनुको कारण समाचार ब्रेकका लागि अपनाइएको गोपनीयता थियो । आरोहण दलमा रहेका बेलायतको ‘द टाइम्स’ समाचारपत्रका संवाददाताले सो खबर भोलिपल्ट (१७ जेठ- ३० मेमा) पाएका थिए । नाम्चे बजारबाट काठमाडौंस्थित बेलायती राजदूतावासलाई ‘कोड’ मार्फत उनले सो समाचारको जानकारी दिए, जसमा आरोहण असफल भएको भनिएको थियो, जबकि त्यसको अर्थ सफल भएको भन्ने हुन्थ्यो ।

बेलायतकी महारानीलाई सुनाइसकेपछि सो खबर विश्वभर महामारीसरी फैलियो । त्यतिखेरका सबैजसो चल्तीका पत्रिकामा सो खबर प्रमुखतासाथ छापियो । ‘गोरखापत्र’ को अर्को अंक (२१ जेठ- ३ जुन) मा पनि सगरमाथाको सफल आरोहणको रिपोर्ट पहिलो पृष्ठमा साढे तीन कोलमको मुख्य समाचार बनेर छापियो । ‘गोरखापत्र’ ले यसलाई ‘प्रकृतिमाथि मानव विजय’ संज्ञा दियो ।

यो समाचारबाट नेपालीहरू पनि निकै आह्लादित थिए । यो प्रसन्नता खासमा सो पहिलो सफल आरोहण गर्ने दुई व्यक्तिमध्येका तेन्जिङ नोर्गे ‘नेपाली नागरिक’ भएकाले ज्यादा थियो । भर्खर राणाशाहीबाट मुक्ति पाएर आपसमा विभिन्न दल, समूह, गुटमा बाँडिएर काटाकाट, बाझाबाझ गरिरहेका नेपालीहरूका लागि तेन्जिङ एक हिसाबले ‘साझा नायक’ बनेर देखापरेका थिए । सबैखाले गुट, समूह र दल उनको स्वागत गर्न व्यग्र देखिन्थे ।

काठमाडौंमा तेन्जिङहरूको स्वागतका लागि एक होइन, थुप्रै समिति बनेका थिए । तीमध्येको मुख्य समितिमा मातृकाप्रसाद कोइराला (जो केही दिनपछि प्रधानमन्त्री नियुक्त भए), टंकप्रसाद आचार्य, सुवर्णशमशेर राणा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, डिल्लीरमण रेग्मीलगायत थिए । यसबाहेक महिला, शिक्षक-विद्यार्थीदेखि, टोल रक्षा समूह एवं ड्राइभरहरूले समेत छुट्टाछुट्टै स्वागत समितिहरू बनाएका थिए । महिलाहरूको एउटा समूहले तेन्जिङकी श्रीमती (जो दार्जिलिङबाट नेपाल आउँदै थिइन्) को समेत स्वागतका लागि समिति संघटित गरेको थियो ।

आरोही दललाई सगरमाथाबाट काठमाडौं फर्किंदै गर्दा बाटोमा पर्ने सहरमा पनि भव्य स्वागत गरिएको थियो । उक्त टोली असार ७ गते काठमाडौं आइपुगेको थियो । टोलीलाई लिन बनेपासम्म मिलिटरी जिप पुगेको थियो । सेतो दौरा-सुरुवाल र विभूति रङको कस्मिराको कोट तथा भादगाउँले टोपीमा सजिएका तेन्जिङ तथा एडमन्ड हिलरी एवं जोन हन्टहरू उक्त खुला जिपमा सवार थिए । उनीहरू बनेपा, भक्तपुरलगायतका सहरमा अभिनन्दित हुँदै बडो तामझामका साथ काठमाडौं भित्रिएका थिए ।

भोलिपल्ट असार ८ गते काठमाडौं टुँडिखेल खरिबोटमा सगरमाथा आरोहण दलको भव्य स्वागत गरियो । उनीहरूलाई त्यसअघि बग्गीमा राखेर सहर परिक्रमा गरिएको थियो । यसअघि नै ‘नेपाल प्रतापवर्द्धक’ तक्मा दिइसकेको नेपाल सरकारले तेन्जिङलाई दस हजार रुपैयाँ नगदका अतिरिक्त ‘सुप्रदीप्त मान्यवर नेपालतारा’ पदकले विभूषित गर्‍यो । ‘ओजस्वी राजन्य’ पछिको यो नेपालको दोस्रो ठूलो पदक थियो । आरोही दलको स्वागतका लागि विभिन्न स्थानमा कलात्मक स्वागतद्वारसमेत बनाइएका थिए ।

सहभागीहरूले ‘वीर तेन्जिङ जिन्दावाद : तेन्जिङ नेपाली हुन्’ जस्ता नारा लगाएका थिए । धर्मराज थापाले रचेर गाएको गीत ‘हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा’ पछिसम्म गाइँदै थियो ।

‘गोरखापत्र’ का अनुसार, एक लाख जनता सामेल भएको सो समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, बीपी कोइरालालगायतका नेताहरूको पनि उपस्थिति थियो । समारोहका स्वागताध्यक्ष बाबुराम आचार्य थिए, जसले नै खासमा सो शिखरको ‘नेपाली’ नाम जुराएका थिए । ‘गोरखापत्र’ का १९९५ र ९६ सालका अंकमा सो शिखरको नाउँ ‘एभरेष्ट’ प्रयुक्त भएको देखिन्छ । वास्तवमा २००९ सालको पुसमा समेत ‘गोरखापत्र’ ले सो शिखरलाई ‘एभरेष्ट’ भनिरहेको थियो । २०१० जेठ १२ गतेको अंकदेखि भने उसले ‘सगरमाथा’ नै प्रयोगमा ल्याएको देखिन्छ ।

विश्वको सर्वोच्च शिखरको नाउँको राजनीति पनि रोचक छ र त्यो नेपाली ‘राष्ट्रियता’ सँग गाँसिएको छ । अनि सर्वोच्च शिखरको नाउँ कसरी ‘माउन्ट एभरेष्ट’ रहन गयो, त्यसका पुराना एवं स्थानीय नाउँ के थिए भन्ने विषय पनि महत्त्वपूर्ण छ । स्थानीय र तिब्बतीले ‘चोमोलुङ्मा’ भन्ने यो शिखरलाई अन्य पहाडेले भने ‘देवढुंगा’ र ‘देउढुंगा’ समेत भन्ने गरेको बुझिन्छ । कसैले ‘गौरीशंकर’ समेत भने पनि सोही नाम गरेको छुट्टै चुचुरो अलि पश्चिमपट्टि काठमाडौनजिक छँदै छ ।

त्यतिबेलै तेन्जिङको ‘राष्ट्रियता’ को विषय पनि अलि पेचिलो बनेको थियो । नेपालको सोलुखुम्बुमा जन्मेका तेन्जिङ (काठमाडौंमा दिएको रेडियो वक्तब्य (हेर्नुहोस् बक्स) मा उनी आफैँले सोलुखुम्बुमा जन्मेको भने तापनि धेरैपछि उनका छोराले तेन्जिङ तिब्बतमा जन्मेको भने) केही समयदेखि भारतको दार्जिलिङमा बसेर पर्वतारोहणसम्बन्धी काम गरिरहेका थिए । उनकी श्रीमती पनि दार्जिलिङमै थिइन् र उनका दुई छोरी त्यहीँ पढिरहेका थिए । यसै कारण उनलाई भारतीय समाचारमाध्यमहरूले आफ्नो नागरिक भनेर प्रचारसमेत गरे ।

आफूले बल्लबल्ल पाएको साझा नवनायक कतै खोसिएला कि भनेर चिन्तित नेपालीहरूले त्यही भएर नारा लगाएका थिए- ‘तेन्जिङ नेपाली हुन् ।’ त्यसबाहेक, उनीहरूलाई हिलरीभन्दा तेन्जिङले नै पहिले सगरमाथा टेकेका हुन् भनाउन पनि उत्तिकै रहर थियो र अद्यापि छ । तर, तेन्जिङ नेपाल बसेनन्, दार्जिलिङमै बस्न रुचाए । यसले नेपालीहरूलाई खिन्न बनायो । उहिलेदेखिकै नेपालीहरूको त्यो ‘फ्रजायल राष्ट्रियता’ अझै उस्तै छ । त्यो सहजै कुँडिन्छ, सहजै बहकिन्छ- भर्खरै नेपाल-भारतबीचको सीमा विवाद क्रममा अभिव्यक्त विचार केलाउने हो भने पनि यो प्रस्ट हुन्छ ।

श्री तेनजिङको रेडियो भाषण

काठमाडौं, आषाढ ८ गते । आज बिहान नेपाल रेडियोबाट भाषण प्रसारित गर्दै सुप्रदीप्त मान्यवर नेपाल तारा श्री तेनजिङले निम्न लिखित कुरा भन्नुभयो-

जय नेपाल !

रेडियो नेपालद्वारा मेरा नेपाली दाजु भाइहरूलाई केही सुनाउन पाउँदा मलाई साह्रै खुसी लागेको छ । मेरो साथमा मेरी जहान पनि आएकी छन् । उनले पनि तपाईंहरूसँग केही बोल्नेछन् ।

माउण्ट एभरेष्ट जसलाई हामी सगरमाथा भन्दछौं, त्यसको टाकुरामा पुगेर नेपालको राष्ट्रिय झण्डा गाड्न पाउँदा नेपाल आमाको एउटा सेवा गर्न पाएँ भनी मलाई जिन्दगीमा ठूलो खुशी भो । मलाई केटाकेटीदेखि नै पहाड चढ्ने ठूलो सोख थियो । सन् १९३७ देखि जब म विदेशी पहाड चढ्नेहरूको दलसित हिमालयका विभिन्न चुलीहरू चढ्न जान थालें, त्यसै बेलादेखि मेरो मनमा सगरमाथा पुग्ने कुरा सधैं रह्यो । गत महीनाको २९ तारीख (ज्येष्ठ १६ गते) को दिन सगरमाथाको टुप्पोमा पुग्दा मेरो पहिला आशा पूरा भयो ।

म उनंचालीस वर्ष अघि पूर्व ३ नम्बरको सोलो खम्बामा जन्मेको थिएँ । पछि आफ्नो देशमा खाने कमाउने बाटो नपाएर जीविका चलाउन दार्जिलिंगमा गई बसें । दार्जलिंगका दाजुभाइहरूले मलाइ धेरै मद्दत दिएका छन् । मेरा दुई छोरी पम्पेम र नेमा दार्जिलिंगमा पढ्दै छन् । तर, भारतमा बसोबास गर्ने सबै नेपाली सरह म आफूलाई पहिले नेपाली नै ठान्दछु । नेपाल र सोलो खम्बासित मेरो ठूलो प्रेम छ ।

हिजो मलाइ बनेपा, भक्तपुर र काठमाडौंका दाजुभाइहरूले गरेको स्वागतले म सारै खुशी भएको छु । तर, उहाँहरूले मलाइ दर्शाउनु भएको त्यत्रो स्वागतको लायक म छैन भन्ने लाग्दछ । मैले त नेपालआमाको एउटा छोरोले गर्नुपर्ने काम मात्र गरेको हुँ ।

श्री ५ महाराजाधिराजबाट मलाई सुप्रदीप्त मान्यवर नेपाल ताराको तक्मा दिइबक्सिएकोमा मौसूफमा धन्यवाद चढाउँछु ।

नेपाल सरकारले मेरो स्वागत गरेकोमा माननीय प्रधानमन्त्री श्री मातृकाप्रसाद कोइराला तथा बनेपा, भक्तपुर र काठमाडौंका दाजुभाइ, दिदी बहिनीहरूलाई दिलैले धन्यवाद दिन्छु ।

म मेरो दलका नेता सर जोन हण्टको योग्यता र मेरो साथ सगरमाथा टुप्पामा पुग्ने सर एडमण्ड हिलरीको साहसको पनि ठूलो कदर गर्दछु ।

तपाईंहरू सबैलाई मेरो धन्यवाद छ ।

(गोरखापत्र, असार ९, २०१० मा प्रकाशित) प्रकाशित : जेष्ठ १७, २०७७ ११:०२

प्रतिक्रिया
पठाउनुहोस्

असहिष्णु मिडियाका विपक्षमा

भारतका मिडिया आजको ग्लोबल नागरिकको अवधारणा, दोहोरो नागरिकको वैचारिक दृष्टिकोण, सांस्कृतिक राष्ट्रवादबारे प्रस्ट छैनन् । सिमानामाथि छलफल गर्न उनीहरु असक्षम छन् ।
अरुण गुप्तो

मनीषा कोइरालाले नेपालको सिमानामाथि बोल्नासाथ भारतका हिन्दीभाषी टेलिभिजन च्यानलले दक्षिण एसियाको प्रसिद्ध अभिनेत्रीमाथि आक्षेप लगाए, ‘भारतका खाओगी, चीनका गाना गाओगी !’

संसारका कुनै पनि जानकार वर्गले सांस्कृतिक व्यापकताको परिवेशमा मनिषाको अभिव्यक्तिलाई बुझ्न सक्नेछ । संकुचित सांस्कृतिक धारणा बोकेका मानिस यस्ता स्वतन्त्र विचारलाई सम्मान गर्न सक्दैनन् । मनीषा त नेपाली हुन् र भारतीय संस्कृतिमा योगदान गरेकी अभिनेत्री, जहाँ उनको बहुसांस्कृतिक योगदान छ ।

हामी ब्रिटेनमा भएको क्रिकेट प्रतियोगिताका दृश्यहरू याद गरौँ । भारत र ब्रिटेनबीचका खेलमा ब्रिटेनमा बस्ने भारतका हजारौँ आप्रवासी बेलायती नागरिक भारतको विजयमा भारतकै झन्डा बोक्दै खुसी हुन्छन् । उनीहरू अनेकौँ भाव प्रदर्शन गर्छन्, जुन विषयलाई भारतीय मिडियाले पटाका बनाएर विस्फोट गर्छ । कुनै पनि भारतीय रिपोर्टरले तिनलाई भन्दैन, ‘खाते हो ब्रिटेन कि और गाते हो भारत कि १’ मनीषामाथिको आरोप मिडियाको मानसिक दरिद्रता हो । अशिक्षा हो । राजनीतिक राष्ट्रवाद र सांस्कृतिक राष्ट्रवादबारे पछि कुरा गरूँला । अहिले केही दृष्टान्त हेरौँ ।

अमेरिकामा भएको फुटबल विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी राष्ट्रहरूको संयुक्त राज्य अमेरिकासँग खेल हुँदा आफूले छोडेको देशको समर्थन गरेको देखिन्छ । अस्ट्रेलियामा बसेका धेरै भारतीयले त्यही गर्छन् । हजारौँ लेटिनोहरू आफ्नो देशकै समर्थन गर्छन् । झन्डा बोक्दै क्रिकेट मैदानमा आफ्नो देशको गीत गाउँदै नृत्य गर्दा आफ्नो देशप्रति प्रेम, अन्य देशप्रतिको रिस, उल्लास, गर्जन आदि अनेकौँ भाव प्रकट हुन्छन् । अस्ट्रेलियामा बसेर भारत हारेपछि प्रवासी भारतीयहरू रुन्छन् र जितेपछि नाच्छन् । मनीषाले त सभ्य भाषामा आफ्नो विचार मात्रै राखेकी हुन् ।

नेपालका मिडियाले यस्तो भड्काउने परम्परा कहिल्यै नसिकून् । भारत त दृष्टान्त राख्ने भाषा र विचारको थलो हो । यति धेरै द्वेष किन ? एकपटक बंगलादेशले क्रिकेटमा भारतलाई हराउँदा भारतीय च्यानलका एक एङ्कर रिसले पागल बने । भारतका नामी क्रिकेट उद्घोषक हर्ष भोग्लेले अङ्ग्रेजी कमेन्टरीमा भारतको विरोधी देशबारे बोल्दा हिन्दी फिल्म जगत्का महानायक अमिताभ बच्चनले ट्विट गर्दै त्यस कमेन्टरीलाई पूर्वाग्रही भनेका थिए । तर, उनीहरूले भाषाको अन्तर्राष्ट्रिय सन्दर्भ पनि हुन्छ भन्ने बुझेनन् । बच्चनले भोग्लेमाथि व्यङ्ग्य गरेपछि उक्त कमेन्टरी हटाइएको थियो । हिन्दी कमेन्टरीको स्वरूप भारतमुखी हुन्छ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले एक पत्रकारसँग भनेका थिए, ‘भारतीय ब्याट्सम्यान मन पर्दैन भने भारतमा नबस ।’ यस्तै कुरा मलाई एक शिक्षकले सोधेका थिए, ‘नेपाली क्रिकेट खेल हेर्दैनौ ?’ ‘हेर्दिनँ । नेपाली फुटबल पनि हेर्दिनँ ।’ अनि उनले भने, ‘तिमी कस्तो नेपाली ?’

यो उनको राष्ट्रियताले भरिएको औसत टिप्पणी थियो । मलाई ब्राजिलको खेल हेर्न मन पर्छ । पाकिस्तानका खेलाडी मन पर्छ । टैगोरका गीत र सिद्धिचरणका कविता मन पर्छन् । नेपाली क्रिकेट हेर्दिनँ । माथि उल्लिखित एङ्कर, कोहली, बच्चन र शिक्षक एउटै स्केलमा पर्छन्- असहिष्णु । कोही हिंसात्मक । कोही क्षुद्र । कोही कुण्ठित । मिडियामा असभ्य भाषा, उत्तेजनाले भरिएको अशान्त स्वर बोकेका अशिक्षित एङ्करले गर्दा अन्तर्राष्ट्रिय समाजमा भारतको हास्यास्पद चरित्र देखिएको छ । यिनीहरू आजको ग्लोबल नागरिकको अवधारणा, दोहोरो नागरिकको वैचारिक दृष्टिकोण, सांस्कृतिक राष्ट्रवादबारे प्रस्ट हुन सकेका छैनन् । त्यसबारे पारदर्शी छैनन् । सिमानाबारे छलफल गर्न अक्षम छन् ।

मनीषाको भाषा असाध्यै सभ्य र बौद्धिक छ । उनी रिसाएर बोले पनि उनीसँग वाक् स्वतन्त्रता हुन्थ्यो । राष्ट्रलाई कसले के दिएको छ भन्ने विषय एक प्रतिगामी विचारधारा हो । यसबारे पछि छलफल गर्न सकिन्छ । एक छिनका लागि मानौँ एउटा राष्ट्रले एउटी अभिनेत्रीलाई धेरै धन-मान दिएको छ तर त्यसका लागि मनीषाले पनि आफ्ना रचनात्मक गतिविधि, बौद्धिक शक्ति, कला-कौशल, अभिनय आदि दिएकी छन् । उनी बलिउडमा एक विचारकका रूपमा स्थापित छिन् । भारतीय धरातलमा उनको बहुसांस्कृतिक योगदान आफैंमा कदरयोग्य छ । नेपाल, बंगलादेश, पाकिस्तान, इरान, अमेरिका, बेलायतका कलाकारको संलग्नताले कुनै देशको कला-संस्कृतिलाई प्रतिष्ठा प्राप्त हुन्छ । हलिउडको विश्वव्यापी प्रभाव विदेशी कलाकारको बहुसांस्कृतिक सम्मान गर्नाले पनि हुन जान्छ । कलाकारको योगदानको सम्मान गर्नु सभ्य शत्रुको पनि सांस्कृतिक कर्तव्य हो । भारत त नेपालको पुरानो मित्र मात्रै होइन, मिथकीय धरातलका सहभागी पनि हो ।

अन्त्यमा सांस्कृतिक राष्ट्रवादको तथ्य बुझ्नु रुचिकर हुन्छ होला । उत्तरऔपनिवेशिक लेखकहरूमा होमी भाभाजस्ताले सांस्कृतिक राष्ट्रवादबारे गम्भिर छलफल गरेका छन् । संस्कृतिसँगको सम्बन्ध राजनीतिक र नागरिकताको निकायबाट मात्रै हुँदैन । देशप्रतिको प्रेम र भावना त्यस देशको नागरिक नभए पनि सम्भव हुन्छ । स्मृति, इतिहास र भावनाले पनि राष्ट्रियता ल्याउँछ । मेरो तर्क के हो भने एकजना बेलायती-भारतीय बेलायतविरुद्ध भारतको जितमा खुसी हुँदैमा ऊ बेलायतविरोधी हुन जाँदैन । यति सांस्कृतिक साक्षरता भइदिएको भए भारतीय मिडियाले मनीषा कोइरालाको अपमान सायद गर्दैनथे । ती मिडियाको सांस्कृतिक र शैक्षिक पतन डरलाग्दो छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×