ब्याडमिन्टनका ‘राजकुमार’- कोसेली - कान्तिपुर समाचार

ब्याडमिन्टनका ‘राजकुमार’

पवन आचार्य

दार्चुला खलंगाका नारायण दाहाल आफ्नो समयका औसत खेलाडी थिए, ब्याडमिन्टनका । तीन छोरीपछि कान्छो सन्तानका रूपमा जन्मिएका छोरालाई उनले दाहाल परिवारको युवराज मानेर नाम दिए— प्रिन्स । उनै प्रिन्स अहिले ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा ७ औं स्थानमा उक्लिएका छन् ।

छोराले यत्रो सफलता तय गर्ला भन्ने उतिबेलै लागेको भए सायद नारायण र राजुमतीले कान्छाको नाम बादशाह नै जुराउँथे होलान् । हुन पनि इन्डिभिज्युअलतर्फ विश्व वरीयताको यो शीर्ष उचाइ नाप्ने प्रिन्स एक्ला खेलाडी हुन्, ‘ब्याडमिन्टनका बादशाह’ ।


वनको काँडालाई तिखार्न पर्दैन– प्रिन्स पनि वनकै काँडा भएर निक्लिए । ६० सालमा खलंगामा जन्मिएका प्रिन्स ६९ सालमा कृष्णमोहन स्मृति ब्याडमिन्टनमा सहभागिता जनाउन काठमाडौं आउँदा ९ वर्षका मात्रै थिए । खलंगामा बुबासँग ब्याडमिन्टन सिकेको भरमा उनले राष्ट्रिय प्रतियोगितामा त्यति राम्रो छाप छोड्न सकेनन् । पहिलो राउन्डमै पराजित भएर उनी खलंगा नै फर्किर्ए । तर, उनको मनमा ब्याडमिन्टनमा केही गर्ने अठोट बिस्तारै अंकुराउँदै थियो । ‘पहिलो खेलमै पराजित भएर फर्किंदा नरमाइलो लागेको थियो । मैले ब्याडमिन्टन खेल्नै नजानेजस्तो व्यवहार अरूले गर्दा मन दुःखी भयो । तर, बुबाले सम्झाउनुभयो,’ उनले भने ।


अर्को वर्ष प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरे । जुनियर स्पर्धाको सेमिफाइनलको स्पर्धामा पराजित भएपनि उनको प्रदर्शनले पुलिस स्कुलमा भर्ना हुने अवसर जुराइदियो । कक्षा ४ देखि ७ सम्म काभ्रेको साँगास्थित पुलिस स्कुलमा उनले पढाइ मात्रै होइन, ब्याडमिन्टन कौशल पनि तिखार्दै लगे । स्कुलमा पढ्दा उनी ब्याडमिन्टनका अलावा बास्केटबल पनि खेल्थे । तर, प्रशिक्षक पूर्ण थापाले ब्याडमिन्टनप्रतिको उनको लगावलाई देखेर बास्केटबलको लत छुटाए । स्कुलमै रहँदा प्रिन्सले १४, १६ र १९ वर्षमुनिका प्रतियोगितामा आफूलाई प्रमाणित गर्दै लगे । हिमालयन स्कुल च्याम्पियनसिप, जुनियर राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि बल्ल यिनमा हौसला पलायो ।


तर, सन् २०१६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भारतको पूणे पुगेका प्रिन्स दाहालसँगै ८ नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए । भारतमा प्रतिस्पर्धा गर्नका लागि काठमाडौंमा आयोजना भएको छनोट स्पर्धामा यिनी आठौं नम्बरमा छानिए । त्यतिबेला यिनलाई आफू त ब्याडमिन्टनको अनाडीजस्तो भान भएछ । भन्छन्, ‘खेल्नै नजानेजस्तो भएर स्ट्रेट सेटमा हार्नुपर्दा निकै नरमाइलो लाग्यो ।’ तर, २०१७ मा सोही प्रतियोगितामा छनोट चरण पार गरेर मुख्य प्रतियोगितासम्म पुग्नु नै यिनको सफलता भयो । गएको वर्ष भने यिनी प्रि–क्वार्टरफाइनलसम्म पुगे । हरेक वर्ष सफलताको सिंढी उक्लिँदै गरेका प्रिन्सलाई एक दिन सो प्रतियोगिताको च्याम्पियन बन्ने धोको छ । जुन अझै मरेको छैन ।


प्रिन्सले १५ वर्षमुनिको स्पर्धामा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । म्यानमार र भारतमा हासिल गरेको अनुभवले उनको प्रतिभा तिखार्ने काम मात्रै गरेन, आत्मविश्वास पनि बढाइदियो । त्यसको जगमा उनले सन् २०१८ मा दुबई इन्टरनेसनल सिरिजको १५ वर्षमुनिको स्पर्धामा पहिलो स्थान हात पारे । गत वर्ष उनले १९ वर्षमुनिको स्पर्धामा भारतका वरुण कपुरलाई हराउँदै स्वर्ण जिते । त्यतिबेला वरुण विश्व वरीयताको नवौं स्थानमा थिए । एकपछि अर्को सफलता हात पारेका प्रिन्स त्यसपछि जुनियरको विश्व वरीयतामा अट्न थाले । त्यसअघि ३२ औं स्थानमा रहेका प्रिन्स १४ औं हुँदै हाल सातौंमा छन् ।


प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा उनले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा गर्दा ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका हुन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकाले । त्यसपछि यिनको वरीयतामा लोभलाग्दो सुधार भएको हो ।


सन् २०१९ मै थाइल्यान्डमा भएको योनेक्स सिंघा रोजा जुनियर इन्टरनेसनलमा यिनी दोस्रा भए । सो प्रतियोगिता हेर्न यिनको साथमा आमा राजुमती पनि बैंकक पुगेकी थिइन् । आमाको अगाडि फाइनलमा हार्दा नमज्जा लागेको क्षण प्रिन्सले भुलेका छैनन् ।


प्रिन्सका आदर्श खेलाडी लिन डान हुन् । चीनका लागि २ पटक ओलम्पिक मेडल र ५ पटक विश्व च्याम्पियनसिप जितेका लिन डानजस्तै कम्तीमा जुनियर ओलम्पिकमा नेपाललाई पदक दिलाउने प्रिन्सको लक्ष्य छ । सन् २०२१ मा हुने जुनियर ओलम्पिकमा छनोट चरण पार गर्दै नेपाललाई पदक दिलाउने योजनामा उनी छन् । शीर्ष १०० मा अटाउनेले बिना वाइल्डकार्ड प्रतिस्पर्धा गर्न पाउने हुँदा प्रिन्स त्यसमा नपर्ने कुरै छैन ।


नेपालमा यिनलाई मन पर्ने खेलाडी रत्नजित तामाङ हुन् । आठौं राष्ट्रिय खेलकुदमा यिनले आफ्नै आदर्श रत्नजितलाई माथ खुवाइदिए । त्यसपछि रत्नजितले दिएको प्रतिक्रिया यिनले अझै भुलेका छैनन् । मुस्कुराउँदै यिनले सुनाए, ‘मसँग हारेपछि रत्न दाइले आएर बधाई दिनुभयो । नेपालबाट ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय पदक जित्ने अब तँ नै होस् । राम्ररी खेल्नू । अझै प्रगति गर्नू ।’


नख्खुको बुल्स क्लबमा ब्याडमिन्टनसँगै फिटनेसको पनि ट्रेनिङ गर्ने प्रिन्सका गुरु कृष्ण पुन हुन् । गुरुले जुनसुकै समयमा पनि ट्रेनिङको व्यवस्था मिलाएपछि पढाइ र प्रशिक्षणको मेलोमेसो मिलाउन सहज भएको छ अचेल उनलाई । फुर्सद खासै हुन्न प्रिन्सलाई । विश्व वरीयताको सातौं स्थानमा उक्लिएपछि सम्मान थाप्ने क्रमको व्यस्तता बढेको छ ।


विदेश गएका बेला पनि यिनी नयाँनयाँ बाइक र कार अगाडि उभिएर फोटो खिच्न रुचाउँछन् । मामा कमलेश निरौला जो यिनका म्यानेजर पनि हुन्, उनैले भान्जालाई लाइसेन्स नलिएसम्म मोटरसाइकल कुदाउन नदिएका हुन् । तर, मामाको आँखा छलेर र कहिलेकाहीं दार्चुला पुगेका बेला यिनी मोटरसाइकलमा सवार हुन्छन् ।


१३ औं सागका कांश्यपदक विजेता प्रिन्सले त्यसपछि आयोजित प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिजमा पुरुष एकल र डबल्समा दोस्रो स्थान हासिल गरे । उनलाई पनि इन्डिभिज्युल स्पर्धा बढी मन पर्छ । भन्छन्, ‘अरूसँग तालमेल गर्नुपर्ने अवस्था आउँदा आफूले मात्रै उत्कृष्ट प्रदर्शन गरेर हुन्न । अरूमा पनि निर्भर हुनुपर्ने भएपछि त्यति मजा पनि आउँदैन ।’


प्रिन्सको अबको लक्ष्य भनेकै बुबाले खेलाडीका रूपमा देशलाई दिलाउन नसकेको ठूलो अन्तर्राष्ट्रिय पदक भित्राउने हो । हुन त बुबा नारायण त्यति कहलिएका खेलाडी थिएनन् । अहिले भने, उनी प्रिन्स दाहालको बुबाका रूपमा कहलिन थालेका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

अन्ततः बदलिन्छ फैसला

क्लासिक फिल्म
किरण विक

निकै सिनेमा–प्रेमीले रुचाएको अर्थपूर्ण हिन्दी सिनेमा हो ‘एक रुका हुवा फैसला’ । यो थियो सिड्नी ल्युमेटले बनाएको ‘ट्वेल्भ एन्ग्री मेन’ (सन् १९५७) को रिमेक । नेपालीमा पनि यसको नाटक बन्यो— राजन खतिवडाको निर्देशनमा ‘बाह्र दुर्वासा’ भनेर । वास्तवमा, ‘ट्वेल्भ एन्ग्री मेन’ नाटककै रूपमा लेखिएको थियो । सन् १९५४ मा रेगिनाल्ड रोजले एउटा अमेरिकी टीभी च्यानलका लागि लेखेको नाटक जुन विभिन्न भाषामा अनुवाद भएर विभिन्न मुलुकमा नाटककै रूपमा यसको थुप्रै प्रदर्शन भइसकेको छ । सन् असीको दशकमा रञ्जित कपुरले यसलाई हिन्दीमा उल्था गरे । र, सन् १९८६ मा वासु चटर्जीले सिल्भर स्क्रिनमा उतारे । 


न्यायविधिमा एउटा त्यस्तो व्यवस्था हुन्छ जसलाई एमिकस क्युरी भनिन्छ, जसअन्तर्गत आवश्यक मानिएको खण्डमा समाजका लब्धप्रतिष्ठित र निष्पक्ष व्यक्तिहरूबाट जटिल मुद्दाहरूको फैसला सहज बनाउन सहयोग लिइन्छ । फैसलामा त्यस समूहका सबैको एकै राय हुनुपर्छ । फिल्म र नाटक यही समूहको आपसी छलफल र द्वन्द्वको कथा होः एक जना युवक आरोपित छ आफ्नै बाउको हत्या गरेकोमा ।

जटिल परिस्थितिका कारण अदालतले १२ जना प्रतिष्ठित व्यक्तिको एमिकस क्युरी खडा गर्छ । उनीहरू एउटा कोठामा जम्मा हुन्छन् र सुरु हुन्छ बहस । समूहमध्ये एक जनाले सही–गलतको निष्कर्ष निकाल्न पूरै केस सुरुदेखि अध्ययन गर्नु जरुरी छ भनेपछि मुद्दाको चिरफार सुरु हुन्छ । समूहको एघारै जना एकमत हुन्छन् केटो दोषी भएकोमा । तर, एक जना त्यसको विपक्षमा हुन्छ । द्वन्द्वको सुरुआत यहीँबाट हुन्छ ।

सिनेमामा कुनै पनि पात्रको नाउँ दिइएको छैन, नम्बर दिइएको छ । पात्र नम्बर एक छलफलको अनौपचारिक नेतृत्व गर्ने भूमिकामा छ । ऊ कुनै हाइस्कुलमा फुटबल कोचका रूपमा काम गर्छ । तर, ऊ सभाको प्रमुखचाहिँ होइन । सभामा सबैको बराबर हैसियत छ । दोस्रो नम्बरको पात्र युवक दोषी हो भन्नेमा एकोहोरो रूपमा विश्वस्त छ, उसलाई कारणको वास्ता छैन । ऊ बैंकमा काम गर्ने कर्मचारी हुन्छ । तेस्रो नम्बरको पात्र यस फिल्मको एक जना महत्त्वपूर्ण पात्रमध्येको एक हो । ऊ स्वयं सिनियर वकिल हो । ऊसले यसप्रकारका अनेकौँ केस लडिसकेको छ । ऊ पनि दोषी युवकलाई नै ठान्छ, किनभने सबै प्रमाण युवकको विरुद्धमा छ । युवकले किनेको चक्कु, बाउ–छोराको चर्काचर्की सुन्ने छिमेकी बूढो र झगडापछि घरबाहिर निस्केको देख्ने छिमेकी आइमाई यस केसका मुख्य प्रमाण हुन् । चौथो नम्बरको पात्र अरूभन्दा अलि भिन्न स्वभावको छ । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न हिच्किचाउँदैन । ऊ स्टक मार्केटको दलाल हुन्छ । तर, ऊ पनि युवकलाई नै दोषी ठान्छ । पाँचौ पात्रको आफ्नो कुनै राय हुँदैन । अरूको लहैलहैमा आफ्नो राय राख्छ । आरोपित युवकजस्तै ऊ पनि सुकुम्बासी बस्तीमै हुर्केको हुन्छ । छैटौं पात्र पनि केटोको विपक्षमै रहन्छ । ऊ हाउस पेन्टर हो । सातौं पात्र पनि पटकपटक जेल गएको युवकको पृष्ठभूमिका कारण उसैलाई दोषी ठान्छ । ऊ सेल्सम्यान हो । आठौं नम्बरको पात्र सुरुदेखि नै युवक दोषी वा निर्दोष भन्नेमा निश्चित छैन । ऊ आर्किटेक्ट हो । एक जना तन्नेरी ठिटोलाई फाँसी दिइन लागेको हुनाले यो मुद्दालाई उसले गम्भीरतापूर्वक लिएको छ । ऊ अलि भावुक पनि छ । केटाको पक्षबाट सित्तैंमा लडिदिने अवैतनिक वकिलले बिनापैसा लड्नुपरेकाले केटाको पक्षमा राम्ररी लडेकै छैन भन्ने उसको जिकिर हुन्छ । नवौं नम्बरको प्रौढ मान्छेलाई आठौं नम्बरका तर्कहरू जायज लाग्छन् । दसौं नम्बरको पात्रको बोली चर्को छ, ऊ मोटर–गराज व्यवसायी हो । ऊसको रायमा अहिलेका पुस्ता आपराधिक मनोवृत्तिका छन् । त्यसैले उसको विचारमा युवक दोषी छ । एघारौं नम्बरको पात्रको युरोपमा जन्मिए तापनि अमेरिकी नागरिकता लिएर अमेरिकामै घडीको व्यापारी हुन्छ । बाह्रौं नम्बरको पात्र एडभर्टाइजिङ एजेन्सीमा काम गर्छ । यो छलफलमा आफूलाई सामेल गरेकोमा ऊ खिन्न छ । बेलाबेलामा ऊ पत्रिकामा शब्द–पहेली खेलेर बस्छ । सुरु भएको सिनेमामा आठपटक मतदान गरिन्छ । चर्को बहस र तर्कसँगै बिस्तारै एकको संख्या बढ्दै जान्छ । अलग पृष्ठभूमि, फरक उमेर र भिन्न मनस्थितिमा पात्रहरू भएकाले उनीहरूको विचार पनि पृथक् छ । उनीहरूको तर्कका आधार पनि भिन्नाभिन्नै छन् ।

पूरै फिल्म जम्मा दुईवटा कोठामा सिध्याइएको छ । एउटा बैठककक्ष र अर्को शौचालय जानुअघिको कक्ष । यति सानो स्पेसमा यति गम्भीर कथा बुन्न सक्नु लेखकको कौशल र निर्देशकको कल्पनाशीलताबिना सम्भव थिएन । तर, एउटै फ्रेममा विविध क्रियाकलाप देखाइएकाले पनि स्पेस सानो महसुस हुँदैन । बहस गर्दागर्दै पहिले जुन आधारमा केटो दोषी मानिएको थियो, ती प्रमाणहरू नै फितला हुादै जान्छन् । बहसका क्रममा तेस्रो पात्रले पटकपटक युवकले बाउलाई ‘तँलाई नमारी छाड्दिनँ’ भनेको कुरा दोहोर्‍याइरहन्छ । ऊसको नजरमा यो कारण नै पर्याप्त छ केटोलाई हत्यारा साबित गर्न । एक ठाउँ पुगेपछि आठौं पात्रले तेस्रो पात्रलाई कुराकानीको क्रममा यति उत्तेजित र आक्रोशित बनाइदिन्छ कि तेस्रो पात्रको मुखबाट ‘तँलाई नमारी छाड्दिनँ’ भन्ने वाक्य फुस्किन्छ । तर, उसको मनसाय मार्छु नै भन्ने थिएन । यही कुरा संवादको क्रममा उसलाई बोध हुन्छ । ऊ पनि केटो निर्दोष भएको टुंगोमा पुग्छ । ‘तँलाई नमारी छाड्दिनँ’ भन्ने सुनेको प्रौढ छिमेकीले बडो मधुरो आवाजमा सुनेको हुन्छ । त्यो आवाज जसको पनि हुन सक्छ भन्ने टुंगो लाग्छ । आँखा कमजोर भएकी महिलाले बिनाचस्मा केटोलाई निस्किँदै गरेको देख्नु पनि तर्कसंगत नभएको कुरा बहसमै स्विकारिन्छ । आ–आफ्ना पूर्वाग्रहका कारण युवकलाई फाँसी दिनुपर्छ र ऊ दोषी हो भन्ने पक्षमा रहेका प्रतिष्ठितहरूको राय समयसँगै बदलिँदै जान्छ ।

कुनै पनि व्यक्तिको, घटनाको, मुद्दाको विश्लेषण गर्दा पहिलो विचारलाई नै अन्तिम बनाउनुहुँदैन, अरूको आँखाबाट त्यसलाई हेर्नु हुँदैन भन्ने कुरा लेखकले राखेका छन् । निर्देशकले बडो सुझबुझका साथ रोचक ढंगले यसलाई सिनेमामा रूपान्तरण गरेका छन् । क्लासिक सिनेमाको लर्कोमा यो सिनेमा पनि आफ्नो अर्थपूर्ण स्थान बनाएर बस्नेछ । गम्भीर र विचारोत्तेजक सिनेमाका प्रेमीका निम्ति यस फिल्मको महत्त्व सम्झाइरहनु नपर्ला ।

प्रकाशित : चैत्र ८, २०७६ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×