१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महँगो लुवाक कफी

विमल खतिवडा

बंगलादेशका पत्रकार अलामगिर अपु त्यो कफी चाख्न तम्सिए । कफीको स्वादमा उनी जति उत्सुक थिए, त्यो महँगो हुनुमा पनि उत्तिकै जिज्ञासु थिए । फरासिला वेटरले लुवाक कफीको भेद खोलिदिए– लुवाक (हाम्रोतिर मलसाप्रोजस्तै जन्तु) ले खाएर दिसा गरेका कफीका बिन्सलाई प्रोसेसिङ गरेर बन्छ यो महँगो प्रिमियम ब्रान्ड । 

महँगो लुवाक कफी

सी प्लस च्यानलका प्रधानसम्पादक अपु त्यसपछि इन्डोनेसियाको बालीमा करिब ५५ डलर खर्च गरेर सबै कफी–प्रक्रियाको भिडियो बनाउन तयार भए । युट्युबका दर्शकले भिडियो व्यापक रुचाउनेमा उनी आशावादी देखिन्थे ।


भिडियो खिच्दा थाहा भयो— पाकेको दाना खुवाउन लुवाकलाई बगैंचामै लगिँदो रहेछ । दाना खाएको केही समयपछि प्रायः लुवाकले बगैंचामै र केहीले खोरमा कफीको दानासहित दिसा गर्दा रहेछन् । यी दाना संकलन गरेर सफा गरिन्छ र घाममा सुकाइन्छ । त्यसपछि सुकेको दाना भुटेर ओखलमा कुटेर धूलो बनाइन्छ । त्यही धूलोबाट बन्छ— लुवाक कफी ।


वन्यजन्तुको दिसामा रहेका बिन्सलाई प्रोसेसिङ गरेर बनाइने कफी भनेपछि सबैको नजरमा यो परेको हो, जसले गर्दा डिमान्ड धेरै भयो र सप्लाई कम । त्यसैले यो महँगो भएको कफी हाउसका सञ्चालक साप्पा वडी बताउँछन् । अपुले मगाएको कफी केही समयमा आयो । उनले त्यसको चुस्की लिँदै स्वाद वर्णन गर्न थाले । भिडियोमा उनले यसको विशेषता र यो महँगो हुनुको कारण पनि खुलाए । अपुले भने, ‘सुरुमा त दिसाबाट बनेको कफी भन्ने सुनेपछि पिउन अप्ठ्यारो लाग्यो । तर, मेरा दर्शकलाई लुवाक कफीबारे बुझाउनु थियो । त्यसैले जबर्जस्ती पिएँ । तर, स्वादमा अरू कफीभन्दा फरक पाइनँ ।’


लुवाक निशाचर जीव हो । यो जीव दिनमा लाटोजस्तै हुन्छ तर रातमा बाठो हुन्छ । कफी हाउसको एक छेउमा लुवाकलाई थुनेर राखिएको छ भने कतै लुवाकले खाएर दिसा गरेको दाना जस्ताको त्यस्तै छ । कतै भने तिनै दानालाई सफा गरेर राखिएको छ । बालीका भित्री लोकेसनमा लुवाक कफीको स्वाद लिने धेरै ठाउँ भेटिन्छन् । यो विश्वकै महँगो कफीमा पर्छ ।


विदेशीहरू अनिवार्यजस्तै बालीको उपहारका रूपमा लुवाक कफी किन्छन् । कफी हाउस घुम्न आउनेलाई चिनाउन कफीसमेत रोपिएको छ । ‘कफीलाई व्यावसायिक रूपमा प्रोसेसिङ गर्दा ट्यांकीमा राखेर कुहाउने गरिन्छ,’ नेपालका कफी विज्ञ डा. राजकुमार बन्जारा भन्छन्, ‘तर लुवाक कफी भने लुवाकको पेटभित्रै कुहिएर बिन्स मात्रै बाहिर निस्किन्छ । प्राकृतिक रूपमै प्रोसेसिङ हुने भएकाले पनि यो धेरैले रुचाएको हुनुपर्छ ।’ उनका अनुसार, इन्डोनेसियाको ट्यांगामस क्षेत्रको लामपुङ प्रान्त र लेम्बाङको सिकोले गाउँ क्षेत्र तथा बानदुङ र पश्चिमी जाभामा लुवाक कफी पाइन्छ । नेपालमा यो विधि खासै प्रयोगमा छैन । नेपालमा पनि मलसाप्रो वा कतै वनचरी भनिने जीवले कफी खाइदिने गर्छ । तर, बालीमा जस्तो यहाँ त्यसलाई संकलन गरेर प्रोसेसिङ गर्ने चलन छैन ।


इन्डोनेसियामा लुवाक कफीको मागसँगै लुवाकलाई बन्धक बनाएर घरमै खोर बनाएर पाल्न थालिएको छ । पशु अधिकारकर्मीले त्यसको विरोध गरेका छन् । लुवाकलाई थुनेर राखिन्छ र केही खान दिइँदैन, लुवाक जति भोको भयो उति कफी खान्छ र बिस्ट्याउँछ भनिन्छ । इन्डोनेसिया लुवाक मात्र नभई अन्य कफी ब्रान्डका लागि पनि सुपरिचित छ । त्यहाँको जाभा प्रान्तको नामबाटै कफीको प्रख्यात वैकल्पि क नाम जाभा रहन गएको छ ।




प्रकाशित : चैत्र ८, २०७६ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?