सम्बन्ध र संवेदनाका आख्यान - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्बन्ध र संवेदनाका आख्यान 

जीवन क्षत्री

यो वर्ष रोअल्ड डाह्लका कथाहरू पढेपछि यतिका वर्षसम्म साहित्यको कथा विधालाई बेवास्ता गरेकोमा मलाई थकथकी लाग्यो । ‘पिग’ र ‘द भिजिटर’ जस्ता कथा पढेपछि लाग्यो– मानिसको संवेदनालाई यसरी हल्लाउने गरी कथा लेख्न सकिँदोरहेछ र कथाको अन्त्यलाई त्यति झंकारपूर्ण र स्मरणीय बनाउन सकिने रहेछ ।

यसरी कथा विधाप्रति गहिरो मोह जागेका बेला म दुर्गा कार्कीको कथा संग्रह ‘कुमारी प्रश्नहरू’ पढ्न बसें । पुस्तकबाट मेरो एउटै अपेक्षा थियो : फरक स्वादका पठनीय कथा ।दुई दिनमा किताब पढिसिध्याएसँगै लाग्यो— संग्रहका हरेक कथा मानव संवेदनाका अन्तरकुन्तर छिरेर लेखिएका छन् । कथाहरूमा उपस्थित मुख्य पात्रहरू मनका पत्रपत्र खोलेर पाठकसामु हाजिर छन् ।


अनि ती संवेदनालाई उजागर गर्ने बलियो माध्यम बनाइएको छ– मानिसबीचका सम्बन्धलाई । सम्बन्धको उतारचढावसँगै तिनको मनोभावका अनेक रङ पनि आउँछन्, फिका हुन्छन् र हराउँछन् । प्रथम पुरुषमा भनिएका कथामा एकाधबाहेक कथा भन्ने पात्र महिला छन् । अक्सर सबैभन्दा बलियो उपस्थिति पनि तिनैको छ । तिनको माध्यमले केही कथाले यस्ता विषयवस्तुलाई उठाएका छन्, जसलाई न्याय गर्नु असाध्यै चुनौतीपूर्ण हुन्छ ।


त्यसमा पनि अनावश्यक रूपमा लेखकको विश्वास नथोपरी पात्रलाई सन्तुलित र अर्थपूर्ण कथा भन्न दिनु झनै ठूलो चुनौती हो । जस्तो कि, स्कुल पढ्दा शिक्षकसँग शारीरिक सम्पर्क राख्न पुगेकी किशोरीले वर्षौंपछि आफ्नो कथा कसरी भन्छे ? त्यो कथा उसबाट कुमारीत्व अपेक्षा गरेको उसको भावी पतिको भावना र संवेदनासित कसरी जोडिन्छ ? असमयमा र गलत संगतमा तोडिएको कुमारीत्वबारे अनेक कथा लेखिन्छन् तर कुमारीत्वको रक्षा गर्दा सम्बन्ध टुटेको तोडमा परेकी केटीका कथा कति लेखिएका होलान् ?


त्यस्तै, आत्महत्याको संघारमा पुगेर धेरै मानिस फर्कन्छन् तर त्यस्ता कतिको भावनालाई तिनले आफैं लेखेझैं साहित्यमा उतार गर्न सकिन्छ ? महिलामाथिको यौनहिंसा केन्द्रित ‘मी–टु’ आन्दोलनमाथि अनेक कथा लेखिएका होलान् तर त्यसले सिर्जना गरेको माहोलमा गलत चित्रण हुने मानवीय भंगिमाका कथाहरू लेख्नु के सजिलो काम हो ? अनपेक्षित रूपमा आइलाग्ने मृत्युबारे पनि धेरै लेखिन्छ तर आवेशप्रेरित हत्याको लहरो समातेर उत्पीडन र हिंसाको जीवनकाल उतार्नु ?


लेखकले खासगरी प्रेम र यौनको विषय धेरै कथामा जसरी विस्तार र सन्तुलनसहित उठाएकी छन्, सायद नेपाली आख्यान लेखनमा त्यो उहिल्यैदेखि भइआउनुपर्ने कुरा थियो । संगीत र सिनेमामाझैं अहिले पनि सायद नेपाली आख्यान लेखनमा सबैभन्दा लोकप्रिय विषय रोमान्टिक प्रेम अनि प्रेमी–प्रेमिकाको सम्बन्ध होला । तर, प्रेम र सम्बन्धका अन्य आयामले अझै आवश्यक प्राथमिकता पाउन सकेका छैनन् ।


कार्कीका कथामध्ये ‘चाउमिन’ बाउ–छोरी सम्बन्धको वरिपरि घुमेको छ भने अरू धेरै कथामा परिवारका सदस्यबीचका असामान्य अवस्थाका सम्बन्धसमेत चित्रित छन् । भर्खरकी युवतीको छिप्पिएको श्रीमान्सितको सम्बन्ध (पोइल) देखि कोमामा रहेको श्रीमान्सित जवान श्रीमतीको सम्बन्ध (मनमाया) ले बदलिँदो समाजमा बदलिँदै गरेका सम्बन्धहरूको झलक दिन्छन् । ती यस्ता सम्बन्ध हुन, जुन समाजमा कम संख्यामा भेटिन्छन् तर मानिसको मनोसामाजिक चरित्रबारे धेरै बोल्छन् ।


यी कथाको अर्को विशेषता के भने कथाअनुसार विषय, पात्र र परिवेश फरक भए पनि पुस्तकको पहिलो पृष्ठदेखि अन्तिमसम्म अविच्छिन्न रहने एउटा धागो छ ः ‘मेलानकोली’ को । त्यसको भौतिक रूप छ पात्रलाई लुछुप्प भिजाउने आँसु । पढ्दै जाँदा त्यो मेलानकोली पात्रहरूको मात्रै होइन कि भन्ने प्रश्न पनि उठ्छ बेलाबेला । खासगरी अभावग्रस्त ग्रामीण जीवनका सधैंभरि दबाइएका महिला पात्रमा त्यस्तो भावना अस्वाभाविक पनि लाग्दैन । तर, त्यसको अर्थ कथाहरू निराशा र दुःखका एकनासे शृंखला हुन् भन्ने होइन । अक्सर उत्पन्न हुने विद्रोहभाव, कहिलेकाहीं व्यवहारमा प्रकट हुने विद्रोह, त्यसले व्यक्ति र परिवारको जीवनमा ल्याउने उथलपुथल अनि दशकौंपछि फर्केर हेर्दा देखिने त्यसको प्रभाव पनि कथामा प्रशस्त छन् । खुसी र सन्तुष्टिका मानवीय भावना पनि आवधिक रूपमा कथामा देखापर्छन्, वास्तविक जीवनमा झैं ।


सबैजसो कथाको अर्को साझा विशेषता– ग्रामीण जनजीवनको मिहिन चित्रण हो । समाजशास्त्री चैतन्य मिश्रका शब्दमा नेपालमा सहर गाउँ भित्रिँदै र गाउँ, सहर पस्दै गरेकाले अब गरिने गाउँका चित्रणले त्यस खाले परिवर्तनलाई पनि प्रतिविम्बित गर्नुपर्छ । धेरैजसो कथाले गायब हुँदै गरेको गाउँको पुरानो रूपलाई मिहिन रूपमा चित्रित गरे पनि लगभग सबै गाउँको चित्रणमा सहर वा मोबाइल फोनलगायत सहरी मानिने गरेका सुविधा जोडिएर आउँछन्, जुन

स्वाभाविक लाग्छ ।


पुस्तक सिध्याइसकेपछि लाग्यो, लेखनको भावनात्मक पक्षले हरेक कथा र तिनका पात्रहरूलाई जीवित बनाउँछ, एकअर्कासँग जोड्छ र पुस्तक पढिसक्दा नेपाली समाजको एउटै बृहत् कथाका अनेक उपकथाहरू पढेको भान गराउँछ । त्यही भावका कारण हरेक कथामा आउने नयाँ पात्र कतै चिने चिनेजस्तो लाग्छ । नयाँ कथा पढ्दै जाँदा लाग्छ, मानिसको जुन जेलिएको भौतिक र मानसिक अस्तित्वबारे अघिल्लो कथा बोलेको थियो, यो कथाले पनि त्यही कथा बोल्नेछ । तर, यस्तो फरक कोणबाट बोल्नेछ कि यहाँ दुरूह यथार्थको बिलकुलै नयाँ पाटोमा प्रकाश पर्नेछ ।


सबैजसो कथामा समाजको पितृसत्ता बलियो पृष्ठभूमि बनेर बसेको छ । तर, सतहमा चाहिँ केही पात्र र घटनासित जोडिएर मात्रै त्यो प्रकट हुन्छ । पितृसत्ताविरुद्ध आवाज उठाउने पात्रहरूले बलियोसँग त्यसो गर्छन् तर समाजमा झैं त्यहाँ पनि त्यसको (अक्सर अप्रिय) परिणामबाट बच्न सक्दैनन् । तर, पुस्तकको अन्तिम कथा ‘संघार’ चाहिं मूल पात्र अनुराधाको विद्रोहसँगै टुंगिन्छ । सम्भवतः लेखकले अन्तिममा राखेको त्यो कथाले थप सांकेतिक अर्थ पनि राख्छ : हाम्रो समाज पनि अहिले संघारमा छ । यहाँ समाजलाई संघारको यतापट्टि नै राख्न चाहने र उतापट्टि धकेल्न चाहनेहरूबीच द्वन्द्व छ । तिनमा बेचैनी र अधीरता छ । तर, कति मानिस संक्रमणको यही अवधिलाई जस्ताको तस्तै स्विकारेर सन्तोषमय जीवन पनि बाँचिरहेका छन् । मधुरो रूपमा भए पनि त्यो कथामा लेखकको वैचारिक पक्षधरता प्रकट हुन्छ ।


चेखव, टल्सटाय वा टैगोरजस्ता कथा लेखनका हस्तीहरू अब हामीसँग छैनन् तर उनीहरूको बहिर्गमनपछि पनि विश्व साहित्यले अरू धेरै कुशाग्र कथाकार पाएको छ । तिनले कथा लेखनमा अनगिन्ती नयाँ प्रयोग गरेका छन् । समयसँगै कथा विधा झनै समृद्ध हुँदै पनि छ । त्यससँगै कथाजस्तो केही लेख्ने र त्यसको पहिलो ‘ड्राफ्ट’ सामाजिक सञ्जालमा प्रकाशित गरेर वाहवाही बटुलिहाल्ने मानिसहरूको भीड पनि छ । तर, निरन्तर साधना गरेर यो विधालाई नै फराकिलो पार्नेहरू नयाँ प्रविधिलाई सदुपयोग गर्न उत्तिकै माहिर छन् । भारतकी मेहक मिर्जा प्रभुले लोकप्रिय बनाएको मौखिक कथावाचन त्यस्तै एउटा प्रयोग हो ।


आख्यान लेखन यसरी गतिशील रहेको विश्व परिदृश्यमा हामी कहाँ छौं ? जहाँ छौं, त्यहाँबाट अघि बढ्न नेपालमा पढ्ने र लेख्ने दुवै जनसंख्याको गति तीव्र रूपले बढ्नु आवश्यक छ । दुर्गा कार्कीजस्ता नयाँ लेखकहरूले फरक स्वाद र सबलताका कथाहरू लिएर आउनु त्यसैले पनि खुसीको कुरा हो ।

प्रकाशित : चैत्र ८, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना नियन्त्रणका जटिलता

संक्रमणको फैलावट रोक्ने, समयमै परीक्षण गरेर पत्ता लगाउने र उपचार गर्ने तीनै मोर्चामा हाम्रो तयारी फितलो भयो भने इरान र इटालीझैं नेपाललाई पनि यसले तहसनहस बनाउनेछ ।
जीवन क्षत्री

यी  पंक्ति लेखिंदै गर्दा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ लाख १९ हजार मानिसमध्ये ८५ हजार मात्रै ठीक भएर दैनिक जीवनमा फर्केका छन् । अर्थात्, १ लाख ३० हजारभन्दा बढी मानिस एकसाथ यो भाइरसका कारण सामान्यदेखि जटिलसम्मको स्वास्थ्य समस्यामा छन् । त्यसरी बिरामी हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ । ८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विश्व अर्थतन्त्रमा अचानक ब्रेक लागेको छ । धेरै उद्योग र कलकारखाना बन्द छन् । महामारीको प्रभाव कम हुने क्षेत्रहरूमा समेत छोटो दूरीका अत्यावश्यक यात्रा गर्नबाहेक मानिसहरू बाहिर निस्कने क्रम घट्दो छ । विश्व अर्थतन्त्रमा मन्दीको डरसँगै सेवामा आधारित व्यवसायका बीसौं करोड मानिसहरूका लागि दिगो बेरोजगारी डरलाग्दो सम्भावना बनेर अगाडि आएको छ ।

महामारीका यी आर्थिक चुनौतीसँग अन्यत्रका जस्तै हाम्रो राज्यले पनि नजुधी धर पाउनेछैन । तत्काललाई भने सरकार लगायत हामी सबैको पहिलो प्राथमिकता संक्रमणको फैलावट रोक्ने र मानिसको ज्यान बचाउने हुनुपर्छ । यसबीच सम्भावित बिरामीहरूको उपचारका लागि पूर्वाधार र उपकरणको जोहो जति महत्त्वपूर्ण छ, महामारीको असर न्यूनीकरणका माध्यमहरूबारे सही सूचनाको प्रवाह र विश्वासको वातावरण निर्माण पनि उत्तिकै महत्त्वपूर्ण छ ।

सरकारले यो चुनौती खेप्ने तयारी गर्दैगर्दा के स्विकार्नु जरुरी छ भने नेपालमा अहिले कायम स्वास्थ्य सेवा प्रवाह प्रणाली सामान्य अवस्थामा समेत सबै नागरिकलाई आवश्यक सेवा दिन अपर्याप्त छ । त्यसमा पनि सरकारी वा सार्वजनिक स्वास्थ्य संस्थाहरूको आवश्यकता अनुसार क्षमता विस्तार नहुँदा ती अहिले नै क्षमताभन्दा निकै बढी बिरामीलाई सेवा दिनुपर्ने अवस्थामा छन् । हाम्रो स्वास्थ्य सेवाको पूर्वाधार कति नाजुक र अपर्याप्त छ भन्ने त अघिल्लो वर्षको डेंगु महामारीका बेला उदांगो भएको थियो । त्यो महामारीको उत्कर्षका बेला केही सहरका सबै सरकारी र निजी अस्पतालका सबै बेड भरिएपछि भर्ना गर्नुपर्ने बिरामीलाई समेत घरै फर्काएर उपचार गरिएको थियो ।

अर्कातिर, कोरोनाका बिरामीका लागि अस्पताल र आईसीयु बेडहरू छुट्याउने योजना बनाउँदै गर्दा के पनि भुल्नु हुँदैन भने, संक्रमण फैलिएको अवस्थामा हामीलाई सामान्यतया अस्पतालमा भर्ना भएर उपचार गराउने आम बिरामी र कोरोना संक्रमित बिरामीको उपचार एकसाथ गर्नुपर्नेछ । कुनै पनि अस्पतालको साबिक सेवा अवरुद्ध गरेर स्रोतसाधन यो महामारीका लागि छुट्याउने सुविधा हामीसँग छैन ।

यसबीच सरकारले २३५ आईसीयु बेड र १ हजार आइसोलेसन बेड तयारी राख्ने निर्णय गरेको छ । काठमाडौंका शुक्रराजसहित छ अस्पतालमा १२० र वाग्मती बाहिरका ६ प्रदेशमा ११५ आईसीयु बेड तयार गर्ने भनिएको छ । त्यसको अर्थ सबै बेड थप्ने हो वा हाल अन्य बिरामी रहेका बेड छुट्याउने मात्रै हो भन्नेमा महामारी रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिले प्रस्ट पारेको छैन । वीर र पाटनजस्ता अस्पतालमा रहेका साबिक आईसीयु बेड कोरोनाका लागि छुट्याइएको हो भने त्यसले आम बिरामीको आईसीयु सेवामा रहेको यसै निम्छरो पहुँचलाई झनै संकुचित गर्ने देखिन्छ ।

कीर्तिपुरको आयुर्वेदसहित अन्य अस्पतालमा पनि आईसीयु बेड थप्ने निर्णय गरिएको भए त्यो अवश्य स्वागतयोग्य कुरा हो । तर आईसीयु बेडहरू बढाउनु भनेको वार्डका बेड थप्नुभन्दा फरक हो । कोरोना भाइरसले गराउने जटिलताहरूको प्रकृति हेर्दा भेन्टिलेटरलगायत श्वास–प्रश्वास सहज गर्ने सुविधा त्यस्ता बेडका लागि अनिवार्य हुनेछ । सरकारले केही दिन वा सातामा सयौं भेन्टिलेटर खरिद गर्न सक्छ? सबैतिर एकैचोटि माग बढेको अहिलेको समयमा अन्तर्राष्ट्रिय बजारमा तिनको आपूर्तिको अवस्था के छ? बजारमा सहज रूपमा उपलब्ध नभएका भेन्टिलेटरजस्ता उपकरण हात पार्न सरकारले कस्ता कूटनीतिक पहलहरू गरिरहेको छ? यी प्रश्नको जवाफ नपाई सरकारको तयारीबारे ढुक्क हुने अवस्था छैन ।

उपकरण र पूर्वाधार भए पनि आइसोलेसन वा सामान्य वार्डझैं रातारात आईसीयु बेडहरू सञ्चालनमा ल्याउन सम्भव हुँदैन । अन्य प्रयोजनका लागि बनेका भवनलाई आईसीयुमा परिणत गर्न भित्ताहरू भत्काउने लगायत भवनको संरचनामै बदलाव ल्याउने काम गर्नुपर्ने हुन्छ । तिनका भुइँ र भित्तालाई सहजै सफाइ र निर्मलीकृत गर्न मिल्ने बनाउनुपर्ने हुन्छ । अक्सिजन आपूर्तिको अलग्गै व्यवस्था गर्नुपर्छ । यी सबै भएर बेड तथा उपकरणहरू राखिसकेपछि सेवा दिन तत्पर अतिरिक्त जनशक्ति परिचालन गरिनुपर्छ ।

कोरोना महामारीको तयारीस्वरूप सयौं आईसीयु बेड तयार गर्ने निर्णय गरेको सरकारले त्यसयता यस्ता कति काम गर्‍यो? भेन्टिलेटर खरिदमा केकति प्रगति भयो? अक्सिजन आपूर्तिको व्यवस्था गर्दा कस्ता कमजोरी वा चुनौती फेला परे? मेडिकल अक्सिजन बनाउने नयाँ प्लान्ट नै पो बनाउनुपर्ने भयो कि? आईसीयु सञ्चालनका लागि सरकारी सेवामा आवश्यक कति जनशक्ति थपियो? खोजेजति जनशक्ति पाइयो कि पाइएन? यदि केही अस्पतालमा कोरोनाको उपचार केन्द्रित गर्ने हो भने त्यहाँका साबिक बिरामी अन्य सरकारी अस्पतालमा पठाउनुपर्ने हुन सक्छ । तिनको उपचार गर्न ती अरू अस्पतालको क्षमता कति विस्तार भयो? तिनका अपरेसन थिएटर र आईसीयुको क्षमता बढाउने काम कति भयो? सम्भावित महामारीसित जुध्ने कामको नेतृत्व गर्न सरकार तयार छ भन्ने सन्देश दिनयी सबै प्रश्नको नियमित रूपमा उत्तर दिने गरी उच्चस्तरीय समन्वय समितिले सूचना प्रवाह गर्नु आवश्यक छ ।
हाम्रोभन्दा कैयौं गुणा राम्रो र बलियो स्वास्थ्य सेवा प्रणाली भएका विकसित देशहरूका हकमा समेत महामारीसँग जुध्ने यस्तो तयारी अपूरो देखिएको छ । हाम्रोभन्दा निकै बलियो अर्थतन्त्र रहेका देशहरू पनि यो महामारीबाट निकै त्रस्त छन् । त्यसैले हाम्रा लागि यो तयारी निकै चुनौतीपूर्ण छ । तर अहिले चाहिँदो तयारी नगर्नु भनेको महामारी फैलिसकेको अवस्थामा अनावश्यक रूपमा मानिसको ज्यान गएको टुलुटुलु हेरेर बस्नु हो ।

चीनमा उक्त संक्रमण देखा परेयता यसै पनि झन्डै अढाई महिनाको समय हामीले असमञ्जसमा खेर फालिसकेका छौं । देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई विश्वासमा लिएर महामारीविरुद्ध युद्धस्तरको तयारी गर्नुपर्ने सरकार डाक्टरलाई पढ्न वा तालिम गर्न विकसित देश जानबाट रोक्ने तथा सेवाबाट बाहिरिन चाहने एकाध डाक्टरको राजीनामा स्वीकार नगरेर प्रतिशोध साध्नेजस्ता नाजायज र फाल्तू काम गरेर बसिरहेको छ । पछिल्लो समय घोषणा गरिएका ठोस तयारीका जुन कदमहरू छन्, ती अनुसार काम भइरहेको छ भन्नेमा सरकारले यो विषयका जानकारहरूलाई आश्वस्त गराउन सकेको छैन ।

यो संवेदनशील समयमा सरकारमा भएका व्यक्तिहरूले आय–आर्जन र प्रतिशोधको साँघुरो घेराबाट माथि उठेर विज्ञहरूका सुझाव ग्रहण गर्दै सही अर्थमा जनताको सेवकको भूमिका निभाउनु जरुरी छ । जुन दिन महामारी नियन्त्रण भइसक्छ, त्यसपछि समेत देशको थलिएको अर्थतन्त्रलाई बौराउने झनै चुनौतीपूर्ण काम हाम्रा सामु बाँकी रहनेछ । अरबका तेल कम्पनीदेखि नेपालको पर्यटन व्यवसायसम्मलाई प्रभावित गरेको यो महामारीको आर्थिक प्रभावसित आउने लामो समयसम्म हामीले लड्नुपर्नेछ ।

यो महामारी आएपछि पक्कै गुज्रेर जानेछ । संक्रमणको फैलावट रोक्ने, समयमै परीक्षण गरेर पत्ता लगाउने र उपचार गर्ने तीनै मोर्चामा हाम्रो तयारी फितलो भयो भने इरान र इटालीझैं नेपाललाई पनि यसले तहसनहस बनाउनेछ । अर्कातिर, दक्षिण कोरियाले झैं तीनै मोर्चामा राम्रो तयारी गर्न सक्यौं भने हामीले पनि न्यूनतम क्षतिमा यो कहरबाट मुक्ति पाउनेछौं । उल्टै महामारी सकिएपछि हामीसित अतिरिक्त उपलब्धि पनि हुनेछ— नेपालका सरकारी अस्पतालहरूको सघन उपचार क्षमता उल्लेख्य रूपमा बढेका कारण विपन्न नेपालीहरूले घरखेत बेचेर निजी अस्पतालका आईसीयुमै उपचार गराउनुपर्ने वा सेवा नै नपाई ज्यान गुमाउने क्रम घट्नेछ ।

प्रकाशित : चैत्र ७, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×