इपिसेन्टरबाट एयर–लिफ्ट 

नेपाली ध्वजाबाहक विमान फागुन ३ गते दिउसो बुहान पुगेर १४ घण्टापछि नेपाल फर्कियो । त्यो एयर–लिफ्ट मिसन सफल बन्यो । तर, मिसन सजिलै तय भएको थिएन । बुहान उडानपछाडिको कथा भने यस्तो छ ।  
सुरज कुँवर

चीनको बुहान इपिसेन्टर भएको कोरोनाबारे विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि अमेरिका, भारत मात्रै होइन बंगलादेशलगायतका मुलुकले आफ्ना नागरिकलाई विशेष उडानमार्फत भटाभट एयर लिफ्ट (उद्धार) गरे । 

इपिसेन्टरबाट एयर–लिफ्ट 

मध्यमाघमा विश्वका थुप्रै मुलुकका जहाज बुहानतर्फ चार्टर उडान गरिरहँदा यता नेपाल भने अलमलमै देखिन्थ्यो । जब सरकारको तीव्र आलोचना भयो अनि मात्रै मन्त्रीहरूले काठमाडौंबाट जहाज पठाउने निर्णय पहिलोपटक सुनाए । तर, मिति र कसको जहाजबाट उद्धार गर्नेबारे तय भइनसकेको अपुरो जानकारी मात्रै दिए । केन्द्रिय सरकारका मन्त्रीहरूले कहिले निजी क्षेत्रको हिमालय एयरलायन्सबाट भनी हिँडे या त केहिले सरकारी ध्वजाबाहक निगमको जहाज तयारी अवस्थामा रहेको भनी बोले ।


यता उद्धार गरिएकालाई राख्न स्वास्थ्य मन्त्रालयले बनाउने क्वारेन्टाइनबारे फेरि सांसद र जनप्रतिनिधिको विरोध संसद्देखि सञ्चारमाध्यमसम्ममा छचल्कियो भने चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावक काठमाडौंमा स्वास्थ्य मन्त्रालयमै पुगेर रुवाबासी गर्न थाले । भक्तपुरका स्थानीयले पनि क्वारेन्टाइन स्थापना गर्न नदिने भनेपछि प्रधानमन्त्रीले संसद्मै ‘भक्तपुर मेरो पनि गृह जिल्ला हो’ भनी सम्बोधनबाट भन्नुपर्‍यो ।


उता बेइजिङमा मध्यमाघदेखि नै नेपाली दूतावासले हुई–च्याटबाट सूचना प्रेसित गर्दै घर फर्किन चाहनेहरूको नाम संकलन थालिसकेको थियो । जसमा ‘१ सय ८० नेपाली घर फर्किन इच्छुक’ देखिएका थिए । तर, उनीहरूलाई फर्काउने मिति उसले पनि चीनमा रहेका नेपालीमाझ भन्न सकिरहेको थिएन ।


यस्तै अलमलबीच माघ १९ गते बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा एउटा बैठक बस्यो । जुन बैठकको जोडले नेपालीलाई उद्धार गर्न बल पुग्यो । र, नेपाली ध्वजाबाहक विमान बुहान पुगेर फर्कियो । मिसन सफल बन्यो । तर, यो मिसन सजिलै तय भएको थिएन । बुहानको उडानपछाडिको कथा भने बेग्लै छ । र, यसपछाडिको लामो कथा रहस्यमै छ । यो कथा सधैं रहस्यमा रहनुहुँदैन ।


बबरमहलको बैठकमा पर्यटन मन्त्रालयका सहसचिवसहित, ठूला जेट उडाइरहेका नेपाल वायुसेवा निगम र चीनका ५ वटा सहरमा उडान अनुभव भएको हिमालयका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका विज्ञ, स्वास्थ्य मन्त्रालय, अध्यागनम तथा भन्सार विभागका जिम्मेवार प्रतिनिधि पनि थिए । त्यो बैठकको उद्देश्य नेपालीको जतिसक्दो चाँडो उद्धार थियो । तर, नेपालसँग यस्तो महामारीबाट आफ्ना नागरिकलाई उद्धार गरेको अनुभव पहिले कहिल्यै थिएन । एक अधिकारीले भनेअनुसार, हिमालयले नेपालीहरूको उद्धार गरिदिए हुन्थ्यो भन्ने मनसाय सबैको थियो । तर, बैठकमा सहभागी हिमालयका उपाध्यक्ष विजय श्रेष्ठ त्यस दिन बीचैमा निस्केका थिए ।


‘व्यावसायिक उडान अनुमति नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा चार्टर उडान गराउने हिमालय गइहाल्छ कि भन्ने लागेको थियो सरकारी पक्षलाई पनि । तर, पछि उसले आफ्ना तीनवटा एयरबस मध्ये केही मर्मतसम्भारमा रहेकाले नजाने खबर सरकारी संयन्त्रलाई टिपाउँदै पन्छियो । हिमालयले यो उद्धार कार्यमा सरकारी ध्वजाबाहक नै जाओस् भन्ने चाहेको थियो भने निगम चीनमा आफ्नो उडान अनुभव र संरचना नभएकाले हिमालय जाओस् भन्नेमा थियो ।


प्राधिकरणको बैठकमा निगमका तर्फबाट थिए, नायब महाप्रबन्धक गणेशबहादुर चन्द र पाइलट/क्याबिनक्रुहरूको विभाग हेर्ने निर्देशक दीपुराज ज्वार्चन । उनले चुनौतीपूर्ण उडान निगमकै भागमा आइलाग्ने जनाउ दिदै आफ्ना हाकिमहरूलाई, पछि हटेर होइन अघि बढ्नु नै हितकर हुने भन्दै प्लानिङ थाल्नु नै उपयुक्त हुने सल्लाह दिएछन् ।

प्रायः सञ्चारमाध्यममा नकारात्मक चर्चा पाइरहने निगम व्यवस्थापनले यसै कामबाट आफ्नो छबिमा थोरै भए पनि प्रशंसा बटुल्ने अपेक्षा बढायो । उसले आफ्ना सूचीमा रहेका भारत र दुबईका तीनवटा विदेशी एजेन्टलाई बुहानको विमानस्थलमा एक मात्र उडान गर्दा पाइने सेवासुविधा, इन्धन, ग्राउन्ड उपकरण लगायतबारे जानकारी लियो । एयरलायन्सले कुनै विशेष परिस्थितिमा वा छोटो समयका लागि नयाँ विमानस्थलमा उडान गर्नुपरेमा एजेन्टको सहायता नलिई हुँदैन । तिनले ती स्थानमा जहाजलाई चाहिन सक्ने मर्मत–सम्भार, इन्धनदेखि चालकदललाई बास बस्नुपरेमा होटलसम्म खोजिदिन्छन् ।


चीनबाट घर फर्किन इच्छुक १ सय ८० जनालाई निगमको एयरबसको १ सय ५८ सिट भएको न्यारोबडी विमानमा ल्याउन सम्भव थिएन । सप्पै नेपाली नअटाउने भएकाले निगमले २ सय ७४ सिट क्षमताको वाइडबडी विमान पठाउने तयारी गर्‍यो ।


तर, कोरोनाबारे काठमाडौंमा मनोवैज्ञानिक त्रास अत्यधिक पीडादायी रूपमा फैलिरहेको थियो । यो क्रम बढ्दो थियो । निगमले जाने निर्णय त गर्‍यो तर पाइलट, एयरहोस्टेस कसरी छान्ने ? उनीहरू मात्रै भएर हुँदैन, जहाजको प्राविधिक क्षमता हेर्न फ्लाइट डिस्प्याचर, इन्जिनियर र प्राविधिक पनि अनिवार्य उडानमा राख्नैपर्छ । यी सबै समेटिएको टिम कसरी बनाउने ? अनिवार्य गर्ने कि स्वेच्छाले खटाउने ?


उद्धारमा प्रयोग हुने जहाजलाई के गर्ने ? लगत्तै उडानमा प्रयोग गर्न मिल्ने हो वा होइन ? कर्मचारीलाई विशेष भत्ता दिने वा के गर्नेबारे निगमका उच्च अधिकारीमा फेरि दुविधा आइलाग्यो । किनकि यस्तो विशेष परिस्थितिमा हुने उडानबारे निगमकै कानुनले पनि प्रस्ट्याएको थिएन ।


यसैबेला निगमको एउटा पाइलटको समूहले आफ्नाअनुकूलका अनलाइनमा ‘नेपाली पाइलट जानै मानेनन्,’ शीर्षकमा बुहान उडानबारे नकारात्मक समाचार लेखाइहाले । महामारीको त्रासले बाहिर माहोल बिग्रँदो थियो । त्यसैमाथि यस्ता सामाचारले जाने इच्छा देखाउनेहरू पनि पन्छिन थाले ।


निगमकै इतिहासमा यो यस्तो उडान हुँदै थियो, जसमा कर्मचारीलाई अनिवार्य खटाउन सकिने अवस्था थिएन । निगमका अपरेसन विभाग प्रमुख पाइलट दीपुराज ज्वार्चनले वाइडबडीका चिफ–पाइलटमार्फत २६ जना पाइलटलाई इमेलबाट बुहान जानुपर्ने भएकाले नाम टिपाउन आग्रह गरे । एयरहोस्टेस/फलाइट एटेन्डेन्टलाई क्याबिन–क्रु–चिफ सुमिली सुब्बाले भाइबर गुप्रमार्फत नाम टिपाउन आह्वान गरिन् ।


१२ विदेशी र ४ नेपालीसहित १६ जना क्याप्टेनमध्ये सबैभन्दा पहिले सेलिब्रेटी क्याप्टेन विजय लामाले नाम टिपाए । ११ जना कोफाइलटमध्ये चार जना जान इच्छुक देखिए । क्याबिन–त्रुका लागि ६ जना आवश्यक थियो । तर, १५ जना इच्छुक देखिए । ‘देशका लागि केही गरौँ, सधैँ चुनौती र अवसर कहाँ पाइन्छ भन्दै नाम राख्न भनसुन हुन थाल्यो,’ यस विषयमा जोडिएका निगमका एक कर्मचारीले भने, ‘देश र निगमको हित त छँदै छ तर भविष्यमा मैले यस्तो उडानमा सेवा गरेको थिएँ भनेर गर्व गर्नकै लागि फनि त्रुमा हानथाप नै भयो ।’


‘नेपालीहरूको उद्धार गर्न पाइलट विजय लामा जाँदै’ शीर्षकमा युट्युबरले भिडियो सामग्री बनाए । सामाजिक सञ्जालमा प्रचार–प्रसार भयो । पाइलटमा सबैभन्दा पहिले इमेलबाट नाम टिपाउने क्याप्टेन लामा अन्तिम घडीमा आफ्नै निर्णयबाट पछि हटे । निगमलाई छोटो अवधिमा अर्को क्याप्टेन जुटाएर फेरि तालिम दिलाउनुपर्ने भयो । विश्व स्वास्थ्य संगठनको तालिम पनि लिएका क्याप्टेन लामाले नजाने भएपछि निगमले फेरि परराष्ट्र मन्त्रालयमार्फत उनको स्थानमा अर्को क्याप्टेन राखेर प्रक्रिया दोहोर्‍याउनुपर्ने भयो ।


‘जय चन्द्र सूर्य’ भन्दै मातृभूमिप्रेमी पहिचान बनाएका लामाले अन्तिम समयमा बुहान नजाने निर्णय गरेपछि निगम व्यवस्थापन मात्रै नभई सञ्चालक समितिका अध्यक्ष पर्यटन सचिव केदारबहादुर अधिकारी र पर्यटनमन्त्री योगेश भट्टराई पनि रिसाए । ‘सेलिब्रेटी पाइलट विजय लामाले सुरुमा मै जान्छु भनेर सामाजिक सञ्जालमा होहल्ला गरेछ । पछि धोका दियो नि,’ पर्यटनमन्त्री योगेश भट्टराईले उद्धार उडान सकिएपछिको एक बिहान विमानस्थलमा सुनाएका थिए ।


स्वास्थ्य मन्त्रालयले पर्सनल प्रोटेक्टिभ इक्युभमेन्ट (पीपीई) कसरी प्रयोग भनेर दिएको तालिमसमेत लिएर अन्तिममा बुहान जान अस्वीकार गरेका लामालाई पछि निगमले बुहान उडान भएकै अर्को दिन ४८ घण्टाभित्र स्पष्टीकरण माग्यो । निगमले स्वदेशी पाइलट हुँदाहुँदै विदेशी पठाउनुपर्दा निगम र त्यहाँ कार्यरत पाइलटको छविमै आँच पुगेको स्पष्टीकरण–पत्रमा उल्लेख गरेको छ । लामासहित अन्य तीन नेपाली क्याप्टेन नजाने भएपछि निगमले पाकिस्तानी पाइलट मोहम्मद अवेस अरिफको नेतृत्वमा टोली बनायो । ती पाकिस्तानी खुसीका साथ नेपालीको उद्धार गर्न बुहान जान तयार भए । कोपाइलटमा सुनील श्रेष्ठले नाम लेखाए ।


इन्जिनियर जर्जी इभानोभ, फ्लाइट डिस्प्याचर चक्र नकर्मी, टेक्निसियन सुनीलकुमार थारू, क्याबिन क्रुहरू सुमिली सुब्बा, सान्त्वना तुलाचन, क्रिस्मिना राई, सुरज थापा र अरुणदीप भट्टराई थिए । उक्त जहाजका कमान्डर विदेशी, त्यसमाथि पाकिस्तानी नागरिक र भारतमाथिको आकाश भएर उड्नुपर्ने भएकाले उनीबारे निगमले कागजात बनाउनुपर्‍यो । डिप्लोमेटिक च्यानलबाट थालिएको यो प्रक्रियामै दुई दिन थप लाग्यो ।


लामाले बुहान नजाने भनेपछि केही कोरोनाबाट डराए भने केही १४ दिन क्वारेन्टाइन बस्न डराउँदै पछि हटे । यदि बुहानका लागि वाइडबडी उडाउने क्याप्टेन नै अभाव भइदिएको भए निगमले न्यारोबडी जहाजबाट दुई खेप गर्ने पनि ब्याकअप प्लान बनाइराखेको थियो । तर, परराष्ट्र मन्त्रालयमार्फत सोझै थालिएको प्रक्रियाबाट पाकिस्तानी क्याप्टेनलाई भारतीय आकाश हुँदै चीनको बुहान पुग्ने ओभर फ्लाइङ अनुमति मिलेपछि वाइडबडी नै उड्ने भयो ।


निगमको अपरेसन विभागको अगुवाइमा बबरमहल बैठकबाट १८ बुँदे (पछि मन्त्रालयले २६ बुँदे बनायो) कार्यविधि बनाइएको थियो । ‘चीनबाट ल्याइने नेपाली नागरिकका लागि क्वारेन्टाइनसम्बन्धी प्रोटोकल तथा कार्ययोजना २०७६’ नामको कार्यविधिलाई मन्त्रिपरिषद्ले पारित गरेपछि त्यसैमा टेकेर बुहान जानेहरूका लागि स्वास्थ्य मन्त्रालयका विशेषज्ञले निगममै पुगेर पाइलट/क्याबिन–क्रु, टेक्निसियनलाई तालिम दिएका थिए ।


विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तय गरिएको त्यो तालिमले पन्जा, मास्कलगायत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) कसरी लगाउने, कसरी डिस्पोज गर्ने, जहाजमा रहँदा के गर्ने/नगर्नेलगायत विषयमा सिकाएको थियो । त्यस्तै जहाजभित्र कसरी रहने, यात्रुलाई सेवा प्रवाह गर्दा वा सम्पर्क गर्दा के गर्ने ? भन्ने विषय पनि समेटिएका थिए ।


त्यसै कार्यविधिले जहाजलाई ४८ घण्टा र चालकदललाई १४ दिन आइसोलेसनमा राख्नुपर्ने तोक्यो । निगमले तालिमका साथसाथै आँधीबेरीको गतिमा फैलिरहेको नकारात्मकतालाई पनि कम गर्नुपर्ने थियो । अर्थात् नकारात्मक टिप्पणीबाट आफ्ना बुहान जान लागेका सहकर्मीलाई जोगाउनु थियो । यसो गर्न मात्रै निगमले थुप्रै सकारात्मक सोच भएका ब्रिफिङ गर्नुपर्‍यो ।


निगमको जहाज त्यस रुटमा पहिले नउडेकाले रुटको जानकारी अनिवार्य हुनुपर्छ । त्यो बाटोको आधिकारिक डाटा किन्नुपर्छ । संसारभरका हवाई रुटको डाटा एयरलायन्सलाई बिक्री गर्ने काम हनिवेल नामको कम्पनीले गर्छ । काठमाडौंदेखि बुहान पुग्ने बाटो निगमले हनिवेलसँग २ सय डलरमा खरिद गर्‍यो । त्यो बुहान उड्ने वाइडबडी जहाजमा डाउनलोड गरियो । उक्त डाटामा बुहानसम्म पुग्ने हवाईमार्गका कुन–कुन विन्दुबाट एयरट्राफिकलाई सम्पर्क गर्ने, कति उचाइमा उड्नेलगायतका उड्डयनसम्बन्धी सूचना हुन्छन् ।


यदि बुहानमा जहाज अवतरण हुन नसक्ने भएमा वा कुनै प्राविधिकि खराबी आइरेमा आपत्कालीन अवस्थामा सांघाईलाई वैकल्पिक विमानस्थलका रूपमा बनाइयो । यसका लागि चीनसँग अनुमति लिइयो । निगमले कतिसम्म गर्‍यो भने, मन्त्रिपरिषद्ले जहाज उड्ने निर्णय गरेपछि एक दिनमै पाइलटसहित १२ जनाका लागि किनमेल गरिदियो । त्यो किनमेलमा १५ दिन क्वारेन्टाइनमा बस्दा आवश्यक पर्ने व्यक्तिगत उपयोगी सामग्री थिए । उडान हुने दिन पोसाकमा जान नमिल्ने अवस्था थियो । एयरहोस्टेसले बख्खु र सारीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउन मिल्दैनथ्यो । त्यसैले दुई दिनअघि मात्रै बनाइयो निगमको लोगो भएको टिसर्ट ।


बुहान पुगेर फर्किहाल्नुपर्ने भएकाले उता सिमकार्ड किनेर सर्म्पक गर्न वा वाईफाई कनेक्सन सम्भव थिएन । नेपालमा केही अतिआवश्यक सर्म्पक गर्नुपरे के गर्ने ? यसको समाधान खोजियो । निगमको टोलीमा रहेका फलाइट डिस्प्याचर चक्र नकर्मीको नेपालको एनसेल नम्बरलाई त्यस रात अन्तर्राष्ट्रिय रोमिङमा बदलेर अनलिमिटेड डाटा प्याक राखियो । अन्तिम सयममा व्यक्तिगत चिनजानका आधारमा अपरेसन निर्देशक ज्वारचनले यसो गरेका थिए, जसले गर्दा अब बुहानमा केही भइहाले उनले नेपालमा सजिलै सर्म्पक गर्न सक्ने भए ।


जहाज चीनमा अवतरण भएपछि त्यस रात कति बजे पार्किङमा पुग्यो, ढोका कति बजे खोलियो, यात्रु कति समयमा बोर्डिङ गरिए, कति चढे, कति फर्किए आदि जानकारी नकर्मीले निगममा पठाइरहे । जहाज नेपाल फर्किनुअघिसम्म नकर्मीले मिनेट–मिनेटमा दिएका खबर यता काठमाडौंमा निगमका नायब महाप्रबन्धकदेखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, पर्यटन मन्त्रालयका सहसचिव, सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीको निजी सचिवालयसम्मलाई छिनछिनमा टिपाइएको थियो । यो क्रम काठमाडौंमा बिहान जहाज अवतरण गर्दासम्म चलिरह्यो ।


यसरी तयारी गरेर मात्रै निगमले फागुन ३ गते शनिबार दिउसो आफ्नो १२ अर्ब रुपैयाँ बराबरको ब्रान्ड–न्यु जहाजलाई कोरोना भाइरसको इपिसेन्टर मानिने हुवेई प्रान्तको बुहान पठायो । जब बुहानमा नेपाली ध्वजाबाहक विमान आफ्ना नागरिकलाई लिन अवतरण भयो, जहाज कुरेर बसेका थुप्रै नेपालीका आँखामा खुसीका आँसु बगे । उनीहरूले ध्वजाबाहक निगमलाई ढोगे । आफ्ना कारण दुई साता क्वारेन्टाइन बस्न बाध्य भएका निगमका कर्मचारीलाई तिनीहरूका अभिभावकले क्वारेन्टाइनमै पुगेर अभिनन्दन पनि गरे ।

प्रकाशित : चैत्र ८, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?