कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नियतका खोटीहरू 

सविता विमली

मोबाइल भर्खरभर्खर सुलभ हुन थालेको थियो । नेपाल टेलिकमको नम्बर लिन निकै लामो लाइन पार गरेर ठेलमठेल गर्नुपरिरहेको थियो । साथीहरूको हातमा मोबाइल आइसकेको थियो । सम्भवतः उनीहरूकै नामको नम्बर हुँदो हो । मैले केही ढिलो गरी नम्बर पाएँ । भीडमा नउभिई हातमा परेको मोबाइल नम्बर अरूकै नामको थियो ।

नियतका खोटीहरू 

कति त आफ्नो नाममा थुप्रै सिम लिएर बढी पैसामा बेच्नेहरू पनि थिए । रु. ११७५ टेलिकमले तोकेकै शुल्कमा हातमा परेको थियो प्रिपेड नम्बर । मोबाइल सहज सम्पर्कका लागि सहायक त बन्यो नै । सँगसँगै यसमा अपरिचित नम्बरबाट अनावश्यक फोन, सन्देश र बेला न कुबेलाको ट्यारट्यार आउने मिस्ड कलले बिस्तारै सकस पनि बढाउँदै थिए । यी सबका कारण दुई साथी बढी तनावमा थिए । तिनमा एउटी विवाहित थिई अर्की अविवाहित ।

बालकैमा आमा–बाबु गुमाएर टुहुरी भएकी उसको एसएलसीलगत्तै विवाह भएको थियो । ऊ जे जति पढ्दै थिई/गर्दै थिई त्यसमा उसका श्रीमान्को शतप्रतिशत सहयोग थियो । एउटै नम्बर थियो श्रीमान्–श्रीमतीको । श्रीमतीका नाममा आएका फोन र म्यासेजले श्रीमान् छक्क परिरहेका थिए– ‘बालकैमा विवाह गरेर ल्याएको यतिका वर्षसम्म केही थिएन, अहिले के हुन लाग्यो यस्तो... !’ भन्दै श्रीमान्ले हालेका सुस्केराले ऊ आत्तिएकी थिई । नम्बर कसको थियो ? मान्छे को हो केही पत्तो थिएन । अर्की साथीलाई त घरबाट निस्किएपिच्छे ‘यस्तो लुगामा यतिखेर कता लागेकी ? मसँग घुम्न हिँड’ भन्ने फोन र म्यासेजले ऊ हैरान थिई । तर, दृश्यमा को हो भन्न सकिने अवस्था थिएन ।

उपाय के छ ? त्यो पनि थाहा थिएन । एउटा कोसिस भने गरियो । विवाहित साथीको नम्बरबाट मैले त्यो अपरिचित नम्बरमा फोन गरें । भनें, ‘मैले तिमीलाई चिनिसकें । तिमी के गर्छौ पनि थाहा पाएँ । तिम्रो सात पुस्ता थाहा पाएकी छु । अब आइन्दा फेरि मेरो नम्बरमा तिम्रो कुनै फोन म्यासेज, मिस्ड कल आयो भने तिमी भएकै ठाउँमा आएर तिम्रो पितृ बुझाउँछु, याद राखेस् ।’ यति भनेर फोन राखेपछि त्यसपर्यन्त उसको नम्बर मेरी साथीको फोनमा देखिएन । बिहान–बेलुका ‘गुड मर्निङ’ र ‘गुड नाइट’, खाना–खाजा र चिया खाने समयमा ‘के खायौ ?’ भन्ने प्रश्नले हैरान भएकी ऊ त्यसपछि यस्ता झन्झटमा परिनँ ।

अर्की साथीको नम्बरबाट त्यसैगरी फोन गर्दा उसले पत्याएन । यो आवाज उसको होइन भन्यो । ऊ उसकै वरिपरिको चिने–जानेकै हो भन्ने थाहा त भयो तर को थियो, हामी अन्धकारमै थियौं । पद्मकन्याको चउरमा बसेर साथीलाई नै फोनमा बोल्न लगाएर ह्यान्डस् फ्री गरी लेख्दै बोल्न लगायौं । लेख्दा हत्केला भरिएपछि हत्त न पत्त कपी निकालेर नोटको बीचमा लेख्यौं । उसले जे भन्छ, जहाँ हिँड भन्छ त्यहीँ जाने भन्दै जवाफ दिन लगायौं । उसको आवाजमा मिसिएको सफलताको उत्कर्ष पनि सुन्यौं र अन्त्यमा उसको पनि सात पुस्ता पत्ता लगाएको र अब खबरदार भनेपछि उसको आवाजको पारो कसरी घट्यो त्यो पनि महसुस गर्‍यौं । यसरी यी दुई फोन काण्ड हाम्रा विद्यार्थी जीवनमा आए र गए ।

यो सब भएको पनि दिव्य बाह्र वर्ष बितेछन् । तर, अब फोनमा अपरिचित नम्बरले त्यति दुःख दिँदैनन् । मानिसलाई ‘फेरि तिमेर्को पितृ बुझाउँछु’ भनिरहन पर्दैन । अहिले त चिनजानकै नम्बर र अनुहारहरू देखिन्छन् मोबाइलको पर्दामा । र, यिनलाई झेल्न त्यति सजिलो भने छैन । तिनका नियतका सातपत्रे उनीहरू आफैं फुकाउँछन् ।

भर्खरै गण्डकी प्रदेशसभाका महिला सांसदहरूले संसद्भित्रै पुरुष सांसदहरूबाटै आफूहरू यौन हिंसामा परेको बताएका छन् । यो समाचार मात्रै हुन्छ कि यसमा थप केही कारबाही पनि हुन्छ, त्यो त हेर्न बाँकी नै छ । यो लेखमा भने त्यस्ता केही घटना उल्लेख गरिएको छ, जुन भोक्ताका लागि आत्मसम्मानमा लागेका असह्य घाउ बनेका छन् र यी भोगाइ तपाईंसँग पनि मिल्न सक्छन् !

कुनै समय विवाहको प्रस्ताव गरिएकी युवतीलाई जीवनको जुनसुकै मोड या समयमा ‘तँलाई पाएरै छोड्छु, हेरिराख्’ भन्ने हिम्मत राख्ने ऊ यति मात्रै भन्दैन, ‘घर बनाउन गाह्रो घर बनेपछि तला थप्न के गाह्रो’ पनि भन्छ । सबैले साहसी र बोल्ड भनिएकी ऊ सार्वजनिक यातायातभित्र टाउको निहुर्‍याएर बस्छे । आफ्नो सुदूर भविष्य कति धेरै असुरक्षित रहेछ भन्ने महसुस गर्दी हो र मनमनै काम्दी हो ! त्यो कम्पनले मात्रै कसरी ऊ सुरक्षित रहली र ?? हाल विद्यार्थी राजनीतिमा राम्रै पकड बनाएको ऊ भोलिका दिनमा सिंहदरबारमा विराजमान हुन सक्छ । अहिले प्रतिपक्षको मोर्चामा रहँदा त त्यतिको धम्की दिन सक्ने भोलि सत्तासँगको हिमचिम र शक्तिको अभ्यास हुँदा के गर्ला ??

असाध्यै आदरणीय मानेको कोही व्यक्ति ! जसलाई उसको सफलताका नाममा बधाई दिँदा जवाफमा हात तेर्स्याउँछ । सम–सम्मान ठानेर हात मिलाउँदा हत्केलामा कोट्याएर निर्लज्ज मुस्कुराउँछ । उसको मुस्कानमा लुकेको कुटिलता ऊ बुझ्न सक्छे, किनकि त्यो हात कोट्याइको अर्थ उहिले क्याम्पस जीवनको सुरुआती दिनमा कुनै साथीले उसलाई बुझाएकी थिई । बाबुको उमेरको ऊप्रतिको सम्मान फेरि औपचारिकताभन्दा माथि कहिल्यै उठेन र उठ्दैन पनि ।

बिहान ४ः२१ मिनेटमा लगालग केही दिनसम्म फोन आउँछ । उठाउँदा कोही बोल्दैन । गर्दा उठ्दैन । कहिलेकाहीँ दिउँसो पनि फोन बज्छ । उठाएर सोध्दा को हो भन्ने स्पष्ट उत्तर दिँदैन । पत्ता लगाउँदै जाँदा साथीको श्रीमान् भेटिन्छ । सोझी साथीलाई सुनाउनु भनेको उसलाई दुःखी बनाउनु हो भन्ठानेर ऊ चुपचाप बस्छे ।

केयूकेएलले बिहान नहुँदै अन्धकारमा छोड्ने खानेपानी थाप्न उठेकी ऊ म्यासेन्जरमा देखिएको म्यासेजले स्तब्ध बन्छे । लेखिएको हुन्छ, ‘श्रीमती घरमा छैन ।... समातेर बसेको छु ।’ प्रविधिले दिएको हरियो बल्ने स्वतन्त्रताको उपभोगबापत यस्तो आइलाग्छ भन्ने उसलाई के थाहा ? छेउमा सुतिरहेको श्रीमान्का आँखा उघ्रिहाल्लान् भने भयले ऊ हतारमा उक्त म्यासेज डिलेट गर्छे ।

आफूसँग ‘गहिरो सम्बन्ध’ (यहाँ गहिरो सम्बन्धले यौनसम्बन्धलाई संकेत गरेको छ) राखेका महिला मित्रको उन्नति भएको बताउने पुरुष उसकै नाममा जीवन बिताइरहेकी पत्नीचैं कहाँ पुगी भन्दा नाजवाफ बन्छ । दशक लामो सम्बन्धको धारमा ऊ कति खिइएर बाँचेकी छ, एक्ला चिसा रात र ओछ्यानले आवाज भए बक्नेथिए किनकि ती सबका साक्षी ती मात्रै नै त छन् ।

एउटा सामान्य सहयोग तथा जानकारीका लागि गरिएको फोनलगत्तै ऊ हाजिर हुन्छ भन्ने के थाहा ? ढोकाको वारिपारि उभिएकी आफू कसरी पुगी उसको नजिक ! यतिका वर्षपछि पनि ऊ सम्झन सक्दिनँ । हठात तानिएकी उसले गरेको अनुरोध र प्रतिकारका बाबजुद उसका ओठमा लपलपाएको कसैको जिब्रोको चिसोले ऊ कसरी हिउँजस्तै जमेकी थिई ? ऊ ढोकैबाट नउम्किएकी भए पर्दाभित्रै लुकेका तमाम बलात्कृतको सूचीमा आफ्नो नाम जीवनभरमा कतिपटक पढ्दी हो ?

विवाहका लागि आएको एनआरएन भविष्यकी अर्धांगिनीसँग शारीरिक सामीप्य चाहन्छ । तर, फर्किएपछि एक फोन गर्न पनि आवश्यक ठान्दैन । ऊ भने यी सब चुपचाप बिर्सिदिन्छे र अर्को संसार बसाउँछे ।

कहिल्यै भेटघाट नभएको ऊ एक्कासि म्यासेज गर्छ र भन्छ— तिम्रा आँखाले मलाई केही भने । उसको यस्तो प्रतिक्रियाले आश्यर्चमा परेकी ऊ मुखले आवाज निकाल्न सक्दिनँ तर यहाँ आँखै जो बोल्ने कुरा गर्छन् । कोही अतिशय प्रशंसाले जित्न खोज्छन् । कोही सहयोगका नाममा, कोही सदाशयताका नाममा तौलिन खोज्छन् ।

आफ्नै निवासमा मित्रलाई स्वागत गरेकी ऊ कसरी उसको अंगालोमा निसासिन्छे ? ऊ कसरी निर्लज्ज ‘एउटा हग मात्रै’, ‘एउटा किस मात्रै’ भन्छ !

बिरामी देवरलाई स्याहार गरिरहेकी भाउजूको बात्सल्यमा किन देवर वासना देख्छ ?? दाइभन्दा भाउजू सानी भएकै नाममा किन कुनै देवर भाउजूको पछि लाग्छ ?? सम्बन्धको घाउले थलिएकी ऊ आफ्नै वकिलका ‘घुम्न जाऊँ, भेटौं’ भन्ने प्रस्तावले कति घायल हुन्छे भन्ने अनुमान कुन कानुनले गर्न सक्छ ?? तर, उही वकिल इजलासमा भने आइदिँदैन । न त उसको फोन नै उठाउँछ !

यस्ता नियतका खोटीहरू कहाँ छैनन् ?? कोही महिला एक्ला छन् या हुन् भन्ने थाहा पाएपछि उनीहरूको जैविक, प्राकृतिक आवश्यकताका पक्षमा वकालत गर्नेहरू प्रशस्त भेटिनेरहेछन्– ‘तिमी आफूलाई नमार, यसरी आफूलाई मार्नुहुँदैन, शरीरमाथि अन्याय गर्नु पाप हो । शरीरलाई अतृप्त राखेमा मरेपछि पनि मोक्ष मिल्दैन । आत्मा अतृप्त नै भड्किन्छ ।’

यसो भन्नेहरूलाई लाग्छ— यो धराका तमाम महिलाको पीर छ उनीहरूलाई, ती ठान्छन्— उनीहरू तिनका उद्धारक हुन्, मसिहा हुन् तर आफ्नै गृहस्थीको नौका डुब्न लागेको हेक्का भने तिनलाई हुँदो हो कि नहुँदो हो ?? उसको गर्भ अडिएन । आमा बन्ने चाहले उसलाई अस्पताल मात्र होइन, ज्योतिषकहाँ पनि पुर्‍यायो । ‘तिम्रो ग्रह खराब रहेछ, तिमी एउटै पुरुषको धर्म (यौनसम्बन्ध) मा रहेकीले गर्भपात भइरहेको हो । तिमीले अन्य कुनै परपुरुषसँग सम्बन्ध राख्यौ भने तिमी आमा बन्न सक्छ्याै ।’ ज्योतिषको कुराले बोली हराएकी ऊ नबोलेपछि ज्योतिष आफैं बोल्छ, ‘कसैले त यो काम गुरु तपाईं आफैं गरिदिनु पनि भन्छन् । के छ विचार ?’ यसपछि उसको बोली मात्रै होइन, आमा बन्ने चाह पनि हराउँछ ।

कोही प्रधानाध्यापक दिउँसै रक्सीले मातेर विद्यालय आउँछ । कुनै शिक्षिकालाई बोलाउन पियन पठाउँछ र पियनलाई मादल बजाउन लगाएर ती शिक्षिकालाई नाच्न लगाउँछ । त्यसबेला पढाउन गएकी गुरुआमाको आत्मसम्मान कता थन्किँदो हो ? ती महिलाका खुट्टाले कस्तो नृत्य गर्दा हुन् ?

ऊ राजनीतिको लामो यात्रा गरेर यहाँसम्म आइपुगेकी छे । समाजको कायापलट राजनीतिले नै गर्छ भन्ने गहिरो विश्वास छ उसलाई । ‘समाज तथा राष्ट्र परिवर्तन गर्ने जिम्मा लिएका नेताहरू ईश्वरीय अवतार नै हुन् भन्ने गरी’ आस्था उसलाई पनि छ । ऊ पार्टी अध्यक्षकहाँ पुग्न चाहन्छे । पार्टी अध्यक्ष घरमै आउन निम्तो गर्छन् । पार्टी प्रमुखको घरमा भीडभाड होला, नेता/कार्यकर्ता घरभरि होलान् भन्ठानिरहेकी ऊ पुग्दा घर चकमन्न हुन्छ । भगवान् ठानेको नेता अगाडि पुग्छे ऊ । त्यहाँ पनि ऊ एक्लै भेटिन्छ । सामान्य भलाकुसारीपछि अध्यक्ष कामरेड बोल्छन्, ‘यौनबारेचाहिँ कामरेडको के धारणा छ ? हामी कम्युनिस्टहरू यौनका मामिलामा उदार छौं । उदार हुनुपर्छ । महिलाहरू एउटै पुरुषसँग आजीवन सन्तुष्ट हुनुपर्छ भन्ने छैन... ।’ उसको आँखा अगाडिको संसार फनन्न घुम्छ । उसको आस्था यसरी हल्लिन्छ, ऊ फेरि राजनीतितर्फ फर्केर हेर्दिनँ । र, कुनै समय उसले भगवान् ठानेको उसको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री पनि भइके । ऊ भने खुम्चिएर यो तमाम भीडभन्दा पर कतै बसिरहेकी छे ।

चुपचाप बसेको कुनै अपराह्नमा बजेको भाइबर म्यासेजमा ‘लंड चुस्ने कि विधि’ आइपुग्छ, कुनै छोरीको बाबु जब मध्यरातमा अविवाहित रहनुका बेफाइदा इन्बक्स गर्छ, जो पत्नीसँगको स्खलनबाट नतग्रिंदै एकाबिहानै नियमित सेक्स गर्नाले मुटु दह्रो हुने लिंक ह्वाट्सएप गर्छ ।

यी को हुन् त ?? यी हाम्रै वरिपरि रहेका, हाम्रै चिनजान र शुभचिन्तक (?) का आवरणमा रहेका व्यक्ति हुन्, नेता हुन्, लेखक हुन्, शिक्षक, प्राध्यापक हुन्, पत्रकार हुन्, वकिल, चिकित्सक, व्यापारी, सहरका नामूद ज्योतिष, ठूलै आयोजनाका हाकिम हुन्, परम्परागत राजनीतिक पार्टीका भ्रातृ संगठन र माउ पार्टीका नेतादेखि वैकल्पिक शक्ति बन्न घस्रिरहेका पार्टीका नेता हुन्, जो प्रत्यक्ष/अप्रत्यक्ष व्यभिचारको बल्छी बोकेर हिँडिरहेका छन् । र, सबैभन्दा ठूलो अफसोच, समग्र महिला उन्नयन र जागृतिको नाममा राजनीति गर्ने ठेक्का झने यिनै नियतका खोटीहरूले लिएका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?