नियतका खोटीहरू 

सविता विमली

मोबाइल भर्खरभर्खर सुलभ हुन थालेको थियो । नेपाल टेलिकमको नम्बर लिन निकै लामो लाइन पार गरेर ठेलमठेल गर्नुपरिरहेको थियो । साथीहरूको हातमा मोबाइल आइसकेको थियो । सम्भवतः उनीहरूकै नामको नम्बर हुँदो हो । मैले केही ढिलो गरी नम्बर पाएँ । भीडमा नउभिई हातमा परेको मोबाइल नम्बर अरूकै नामको थियो ।

कति त आफ्नो नाममा थुप्रै सिम लिएर बढी पैसामा बेच्नेहरू पनि थिए । रु. ११७५ टेलिकमले तोकेकै शुल्कमा हातमा परेको थियो प्रिपेड नम्बर ।मोबाइल सहज सम्पर्कका लागि सहायक त बन्यो नै । सँगसँगै यसमा अपरिचित नम्बरबाट अनावश्यक फोन, सन्देश र बेला न कुबेलाको ट्यारट्यार आउने मिस्ड कलले बिस्तारै सकस पनि बढाउँदै थिए । यी सबका कारण दुई साथी बढी तनावमा थिए । तिनमा एउटी विवाहित थिई अर्की अविवाहित ।


बालकैमा आमा–बाबु गुमाएर टुहुरी भएकी उसको एसएलसीलगत्तै विवाह भएको थियो । ऊ जे जति पढ्दै थिई/गर्दै थिई त्यसमा उसका श्रीमान्को शतप्रतिशत सहयोग थियो । एउटै नम्बर थियो श्रीमान्–श्रीमतीको । श्रीमतीका नाममा आएका फोन र म्यासेजले श्रीमान् छक्क परिरहेका थिए– ‘बालकैमा विवाह गरेर ल्याएको यतिका वर्षसम्म केही थिएन, अहिले के हुन लाग्यो यस्तो... !’ भन्दै श्रीमान्ले हालेका सुस्केराले ऊ आत्तिएकी थिई । नम्बर कसको थियो ? मान्छे को हो केही पत्तो थिएन । अर्की साथीलाई त घरबाट निस्किएपिच्छे ‘यस्तो लुगामा यतिखेर कता लागेकी ? मसँग घुम्न हिँड’ भन्ने फोन र म्यासेजले ऊ हैरान थिई । तर, दृश्यमा को हो भन्न सकिने अवस्था थिएन ।


उपाय के छ ? त्यो पनि थाहा थिएन । एउटा कोसिस भने गरियो । विवाहित साथीको नम्बरबाट मैले त्यो अपरिचित नम्बरमा फोन गरें । भनें, ‘मैले तिमीलाई चिनिसकें । तिमी के गर्छौ पनि थाहा पाएँ । तिम्रो सात पुस्ता थाहा पाएकी छु । अब आइन्दा फेरि मेरो नम्बरमा तिम्रो कुनै फोन म्यासेज, मिस्ड कल आयो भने तिमी भएकै ठाउँमा आएर तिम्रो पितृ बुझाउँछु, याद राखेस् ।’ यति भनेर फोन राखेपछि त्यसपर्यन्त उसको नम्बर मेरी साथीको फोनमा देखिएन । बिहान–बेलुका ‘गुड मर्निङ’ र ‘गुड नाइट’, खाना–खाजा र चिया खाने समयमा ‘के खायौ ?’ भन्ने प्रश्नले हैरान भएकी ऊ त्यसपछि यस्ता झन्झटमा परिनँ ।


अर्की साथीको नम्बरबाट त्यसैगरी फोन गर्दा उसले पत्याएन । यो आवाज उसको होइन भन्यो । ऊ उसकै वरिपरिको चिने–जानेकै हो भन्ने थाहा त भयो तर को थियो, हामी अन्धकारमै थियौं । पद्मकन्याको चउरमा बसेर साथीलाई नै फोनमा बोल्न लगाएर ह्यान्डस् फ्री गरी लेख्दै बोल्न लगायौं । लेख्दा हत्केला भरिएपछि हत्त न पत्त कपी निकालेर नोटको बीचमा लेख्यौं । उसले जे भन्छ, जहाँ हिँड भन्छ त्यहीँ जाने भन्दै जवाफ दिन लगायौं । उसको आवाजमा मिसिएको सफलताको उत्कर्ष पनि सुन्यौं र अन्त्यमा उसको पनि सात पुस्ता पत्ता लगाएको र अब खबरदार भनेपछि उसको आवाजको पारो कसरी घट्यो त्यो पनि महसुस गर्‍यौं । यसरी यी दुई फोन काण्ड हाम्रा विद्यार्थी जीवनमा आए र गए ।


यो सब भएको पनि दिव्य बाह्र वर्ष बितेछन् । तर, अब फोनमा अपरिचित नम्बरले त्यति दुःख दिँदैनन् । मानिसलाई ‘फेरि तिमेर्को पितृ बुझाउँछु’ भनिरहन पर्दैन । अहिले त चिनजानकै नम्बर र अनुहारहरू देखिन्छन् मोबाइलको पर्दामा । र, यिनलाई झेल्न त्यति सजिलो भने छैन । तिनका नियतका सातपत्रे उनीहरू आफैं फुकाउँछन् ।


भर्खरै गण्डकी प्रदेशसभाका महिला सांसदहरूले संसद्भित्रै पुरुष सांसदहरूबाटै आफूहरू यौन हिंसामा परेको बताएका छन् । यो समाचार मात्रै हुन्छ कि यसमा थप केही कारबाही पनि हुन्छ, त्यो त हेर्न बाँकी नै छ । यो लेखमा भने त्यस्ता केही घटना उल्लेख गरिएको छ, जुन भोक्ताका लागि आत्मसम्मानमा लागेका असह्य घाउ बनेका छन् र यी भोगाइ तपाईंसँग पनि मिल्न सक्छन् !


कुनै समय विवाहको प्रस्ताव गरिएकी युवतीलाई जीवनको जुनसुकै मोड या समयमा ‘तँलाई पाएरै छोड्छु, हेरिराख्’ भन्ने हिम्मत राख्ने ऊ यति मात्रै भन्दैन, ‘घर बनाउन गाह्रो घर बनेपछि तला थप्न के गाह्रो’ पनि भन्छ । सबैले साहसी र बोल्ड भनिएकी ऊ सार्वजनिक यातायातभित्र टाउको निहुर्‍याएर बस्छे । आफ्नो सुदूर भविष्य कति धेरै असुरक्षित रहेछ भन्ने महसुस गर्दी हो र मनमनै काम्दी हो ! त्यो कम्पनले मात्रै कसरी ऊ सुरक्षित रहली र ?? हाल विद्यार्थी राजनीतिमा राम्रै पकड बनाएको ऊ भोलिका दिनमा सिंहदरबारमा विराजमान हुन सक्छ । अहिले प्रतिपक्षको मोर्चामा रहँदा त त्यतिको धम्की दिन सक्ने भोलि सत्तासँगको हिमचिम र शक्तिको अभ्यास हुँदा के गर्ला ??


असाध्यै आदरणीय मानेको कोही व्यक्ति ! जसलाई उसको सफलताका नाममा बधाई दिँदा जवाफमा हात तेर्स्याउँछ । सम–सम्मान ठानेर हात मिलाउँदा हत्केलामा कोट्याएर निर्लज्ज मुस्कुराउँछ । उसको मुस्कानमा लुकेको कुटिलता ऊ बुझ्न सक्छे, किनकि त्यो हात कोट्याइको अर्थ उहिले क्याम्पस जीवनको सुरुआती दिनमा कुनै साथीले उसलाई बुझाएकी थिई । बाबुको उमेरको ऊप्रतिको सम्मान फेरि औपचारिकताभन्दा माथि कहिल्यै उठेन र उठ्दैन पनि ।

बिहान ४ः२१ मिनेटमा लगालग केही दिनसम्म फोन आउँछ । उठाउँदा कोही बोल्दैन । गर्दा उठ्दैन । कहिलेकाहीँ दिउँसो पनि फोन बज्छ । उठाएर सोध्दा को हो भन्ने स्पष्ट उत्तर दिँदैन । पत्ता लगाउँदै जाँदा साथीको श्रीमान् भेटिन्छ । सोझी साथीलाई सुनाउनु भनेको उसलाई दुःखी बनाउनु हो भन्ठानेर ऊ चुपचाप बस्छे ।


केयूकेएलले बिहान नहुँदै अन्धकारमा छोड्ने खानेपानी थाप्न उठेकी ऊ म्यासेन्जरमा देखिएको म्यासेजले स्तब्ध बन्छे । लेखिएको हुन्छ, ‘श्रीमती घरमा छैन ।... समातेर बसेको छु ।’ प्रविधिले दिएको हरियो बल्ने स्वतन्त्रताको उपभोगबापत यस्तो आइलाग्छ भन्ने उसलाई के थाहा ? छेउमा सुतिरहेको श्रीमान्का आँखा उघ्रिहाल्लान् भने भयले ऊ हतारमा उक्त म्यासेज डिलेट गर्छे ।


आफूसँग ‘गहिरो सम्बन्ध’ (यहाँ गहिरो सम्बन्धले यौनसम्बन्धलाई संकेत गरेको छ) राखेका महिला मित्रको उन्नति भएको बताउने पुरुष उसकै नाममा जीवन बिताइरहेकी पत्नीचैं कहाँ पुगी भन्दा नाजवाफ बन्छ । दशक लामो सम्बन्धको धारमा ऊ कति खिइएर बाँचेकी छ, एक्ला चिसा रात र ओछ्यानले आवाज भए बक्नेथिए किनकि ती सबका साक्षी ती मात्रै नै त छन् ।


एउटा सामान्य सहयोग तथा जानकारीका लागि गरिएको फोनलगत्तै ऊ हाजिर हुन्छ भन्ने के थाहा ? ढोकाको वारिपारि उभिएकी आफू कसरी पुगी उसको नजिक ! यतिका वर्षपछि पनि ऊ सम्झन सक्दिनँ । हठात तानिएकी उसले गरेको अनुरोध र प्रतिकारका बाबजुद उसका ओठमा लपलपाएको कसैको जिब्रोको चिसोले ऊ कसरी हिउँजस्तै जमेकी थिई ? ऊ ढोकैबाट नउम्किएकी भए पर्दाभित्रै लुकेका तमाम बलात्कृतको सूचीमा आफ्नो नाम जीवनभरमा कतिपटक पढ्दी हो ?


विवाहका लागि आएको एनआरएन भविष्यकी अर्धांगिनीसँग शारीरिक सामीप्य चाहन्छ । तर, फर्किएपछि एक फोन गर्न पनि आवश्यक ठान्दैन । ऊ भने यी सब चुपचाप बिर्सिदिन्छे र अर्को संसार बसाउँछे ।


कहिल्यै भेटघाट नभएको ऊ एक्कासि म्यासेज गर्छ र भन्छ— तिम्रा आँखाले मलाई केही भने । उसको यस्तो प्रतिक्रियाले आश्यर्चमा परेकी ऊ मुखले आवाज निकाल्न सक्दिनँ तर यहाँ आँखै जो बोल्ने कुरा गर्छन् । कोही अतिशय प्रशंसाले जित्न खोज्छन् । कोही सहयोगका नाममा, कोही सदाशयताका नाममा तौलिन खोज्छन् ।

आफ्नै निवासमा मित्रलाई स्वागत गरेकी ऊ कसरी उसको अंगालोमा निसासिन्छे ? ऊ कसरी निर्लज्ज ‘एउटा हग मात्रै’, ‘एउटा किस मात्रै’ भन्छ !


बिरामी देवरलाई स्याहार गरिरहेकी भाउजूको बात्सल्यमा किन देवर वासना देख्छ ?? दाइभन्दा भाउजू सानी भएकै नाममा किन कुनै देवर भाउजूको पछि लाग्छ ??सम्बन्धको घाउले थलिएकी ऊ आफ्नै वकिलका ‘घुम्न जाऊँ, भेटौं’ भन्ने प्रस्तावले कति घायल हुन्छे भन्ने अनुमान कुन कानुनले गर्न सक्छ ?? तर, उही वकिल इजलासमा भने आइदिँदैन । न त उसको फोन नै उठाउँछ !


यस्ता नियतका खोटीहरू कहाँ छैनन् ??कोही महिला एक्ला छन् या हुन् भन्ने थाहा पाएपछि उनीहरूको जैविक, प्राकृतिक आवश्यकताका पक्षमा वकालत गर्नेहरू प्रशस्त भेटिनेरहेछन्– ‘तिमी आफूलाई नमार, यसरी आफूलाई मार्नुहुँदैन, शरीरमाथि अन्याय गर्नु पाप हो । शरीरलाई अतृप्त राखेमा मरेपछि पनि मोक्ष मिल्दैन । आत्मा अतृप्त नै भड्किन्छ ।’


यसो भन्नेहरूलाई लाग्छ— यो धराका तमाम महिलाको पीर छ उनीहरूलाई, ती ठान्छन्— उनीहरू तिनका उद्धारक हुन्, मसिहा हुन् तर आफ्नै गृहस्थीको नौका डुब्न लागेको हेक्का भने तिनलाई हुँदो हो कि नहुँदो हो ??उसको गर्भ अडिएन । आमा बन्ने चाहले उसलाई अस्पताल मात्र होइन, ज्योतिषकहाँ पनि पुर्‍यायो । ‘तिम्रो ग्रह खराब रहेछ, तिमी एउटै पुरुषको धर्म (यौनसम्बन्ध) मा रहेकीले गर्भपात भइरहेको हो । तिमीले अन्य कुनै परपुरुषसँग सम्बन्ध राख्यौ भने तिमी आमा बन्न सक्छ्याै ।’ ज्योतिषको कुराले बोली हराएकी ऊ नबोलेपछि ज्योतिष आफैं बोल्छ, ‘कसैले त यो काम गुरु तपाईं आफैं गरिदिनु पनि भन्छन् । के छ विचार ?’ यसपछि उसको बोली मात्रै होइन, आमा बन्ने चाह पनि हराउँछ ।

कोही प्रधानाध्यापक दिउँसै रक्सीले मातेर विद्यालय आउँछ । कुनै शिक्षिकालाई बोलाउन पियन पठाउँछ र पियनलाई मादल बजाउन लगाएर ती शिक्षिकालाई नाच्न लगाउँछ । त्यसबेला पढाउन गएकी गुरुआमाको आत्मसम्मान कता थन्किँदो हो ? ती महिलाका खुट्टाले कस्तो नृत्य गर्दा हुन् ?


ऊ राजनीतिको लामो यात्रा गरेर यहाँसम्म आइपुगेकी छे । समाजको कायापलट राजनीतिले नै गर्छ भन्ने गहिरो विश्वास छ उसलाई । ‘समाज तथा राष्ट्र परिवर्तन गर्ने जिम्मा लिएका नेताहरू ईश्वरीय अवतार नै हुन् भन्ने गरी’ आस्था उसलाई पनि छ । ऊ पार्टी अध्यक्षकहाँ पुग्न चाहन्छे । पार्टी अध्यक्ष घरमै आउन निम्तो गर्छन् । पार्टी प्रमुखको घरमा भीडभाड होला, नेता/कार्यकर्ता घरभरि होलान् भन्ठानिरहेकी ऊ पुग्दा घर चकमन्न हुन्छ । भगवान् ठानेको नेता अगाडि पुग्छे ऊ । त्यहाँ पनि ऊ एक्लै भेटिन्छ । सामान्य भलाकुसारीपछि अध्यक्ष कामरेड बोल्छन्, ‘यौनबारेचाहिँ कामरेडको के धारणा छ ? हामी कम्युनिस्टहरू यौनका मामिलामा उदार छौं । उदार हुनुपर्छ । महिलाहरू एउटै पुरुषसँग आजीवन सन्तुष्ट हुनुपर्छ भन्ने छैन... ।’ उसको आँखा अगाडिको संसार फनन्न घुम्छ । उसको आस्था यसरी हल्लिन्छ, ऊ फेरि राजनीतितर्फ फर्केर हेर्दिनँ । र, कुनै समय उसले भगवान् ठानेको उसको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री पनि भइके । ऊ भने खुम्चिएर यो तमाम भीडभन्दा पर कतै बसिरहेकी छे ।


चुपचाप बसेको कुनै अपराह्नमा बजेको भाइबर म्यासेजमा ‘लंड चुस्ने कि विधि’ आइपुग्छ, कुनै छोरीको बाबु जब मध्यरातमा अविवाहित रहनुका बेफाइदा इन्बक्स गर्छ, जो पत्नीसँगको स्खलनबाट नतग्रिंदै एकाबिहानै नियमित सेक्स गर्नाले मुटु दह्रो हुने लिंक ह्वाट्सएप गर्छ ।


यी को हुन् त ?? यी हाम्रै वरिपरि रहेका, हाम्रै चिनजान र शुभचिन्तक (?) का आवरणमा रहेका व्यक्ति हुन्, नेता हुन्, लेखक हुन्, शिक्षक, प्राध्यापक हुन्, पत्रकार हुन्, वकिल, चिकित्सक, व्यापारी, सहरका नामूद ज्योतिष, ठूलै आयोजनाका हाकिम हुन्, परम्परागत राजनीतिक पार्टीका भ्रातृ संगठन र माउ पार्टीका नेतादेखि वैकल्पिक शक्ति बन्न घस्रिरहेका पार्टीका नेता हुन्, जो प्रत्यक्ष/अप्रत्यक्ष व्यभिचारको बल्छी बोकेर हिँडिरहेका छन् । र, सबैभन्दा ठूलो अफसोच, समग्र महिला उन्नयन र जागृतिको नाममा राजनीति गर्ने ठेक्का झने यिनै नियतका खोटीहरूले लिएका छन् । प्रकाशित : चैत्र ८, २०७६ १३:४६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

माफी पाऊँ डीपी सर !

कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो । उहाँ रङहरुको हिसाब–किताबमा होइन, रङहरुमा बाँच्नुभयो, अझ आफैं रङहरु भएर । डीपी सरबारे म के लेखूँ ? सम्झनाहरु ठेलमठेल छन् । 
सञ्जय घिमिरे

डीपी सर रहनुभएन । सधैंभर चर्का स्मृतिका कुरा गर्ने सरलाई आखिरमा विस्मृतिको रोगले लग्यो । यो खबर सुनेदेखि एक किसिमको नोस्टाल्जियामा छु । कहाँबाट सुरु गरौं लेख्न ? 

एउटा यस्तो व्यक्ति, जो कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पूर्वीय धर्म, अध्यात्म र अनुशासनको ज्ञाताजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो ।

कहिले उमेरमा मात्तिएको सुदूर गाउँको एउटा उन्मत्त ठिटोजस्तो, जो अक्सर मौकाको पर्खाइमा हुन्छ । तर, खासमा एउटा यस्तो प्रोफेसर, जो साँच्चिकै प्रोफेसरजस्तो । अर्थात् ज्ञान, चिन्तन, बोली र लेखनमा लय भएको एउटा मान्छे । त्यस्तो मान्छेको बारेमा म के लेखूँ ? सम्झनाहरू ठेलमठेल छन्, स्मृति उकुसमुकुस ।

यसैले कठिन भइरहेको छ उहाँका बारे लेख्न । सम्झिरहेको छु— उहाँसँग मृगस्थलीतिर डुलेको, ‘रंगीला’ फिल्म हेर्न गएको, कुनै एउटी युवतीलाई उहाँको सान्निध्यमा पुर्‍याएको । उहाँसँगका संवादहरूको रोमाञ्चकता र गहिराइका बारेमा त के भनिरहनु ?

के गरिएन ? र, के भएन उहाँको साथ संगत सान्निध्यतामा ?२५ वर्षअघिको लक्ष्मीपूजाको दिन, जुन दिन मैले लक्ष्मी–पुत्र होइन, सरस्वती पुत्र उनै डा. दुर्गाप्रसाद भण्डारी (डीपी सर) लाई पहिलोपटक भेटेको थिएँ— काठमाडौं, पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी स्कुलको प्रांगणमा, जहाँ हरेक वर्ष लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा कार्यक्रम हुने गर्छ ।

त्यो दिनको कार्यक्रममा प्रमुख अतिथि थिए पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र प्रमुख वक्ता थिए— डा. डीपी भण्डारी ।म भर्खर राजधानी काठमाडौं छिरेको, शरीर र विचारले पनि एउटा दुब्लो–पातलो मान्छे । कत्तिले लुरे पनि भन्थे ।त्यो कार्यक्रममा भण्डारी सरको भाषण सुनेपछि म यसरी प्रभावित भएँ कि, मञ्चबाट ओर्लनेबित्तिकै मैले उहाँलाई निकै आँट जुटाएर सोधें, ‘सर म तपाईंसँग कुरा गर्न चाहन्छु । तपाईं मलाई समय दिन सक्नुहुन्छ ?’

उहाँले मलाई बहुत विनम्रतापूर्वक आफ्नो घरको ठेगाना दिनुभयो ।एउटा प्रोफेसर, त्यो पनि अंग्रेजीको, जसले मजस्तो उमेर, शरीर र विचारको दुब्लो–पातलो मान्छेलाईआफ्नो घरमा आमन्त्रित गरिरहेको छ । मलाई खपिनसक्नुको खुसी र छटपटी भएको थियो त्यतिबेला । केही दिनपछि उहाँको घर खोज्दै म पुगेँ उहाँलाई भेट्न । उहाँलाई भेट्न जाँदा म जीवन र जगत्बारेका अनगिन्ती जिज्ञासाहरूले भरिएर पुगेको थिएँ ।

तिनै जिज्ञासामध्येबाट चार जिज्ञासा मैले सरसमक्ष राखें । जिज्ञासाहरू धूमिलप्रायः रूपमा अझै सम्झनामा छन् । तीमध्ये एउटा जिज्ञासा थियो— सर, प्रायः सबै धर्म–उत्पत्तिका सन्दर्भहरू दुःखहरूसँग जोडिएका छन्, जस्तो हिन्दुमा युद्धका कथाहरू छन्, बौद्धमा सिद्धार्थ गौतमले दरबार छाडेका कथाहरू छन्, क्रिस्चियनमा सुलीमा चढाइएका सन्दर्भहरू छन् । यसको साटो यदि धर्म सुखबाट उत्पत्ति भएको भए अझ राम्रो हुन्थ्यो कि ?

हो, यो एउटा यस्तो प्रश्न भैदियो, जसले भण्डारी सरसँगको संगत बाक्लो बनाइदियो । उहाँले त्यतिबेला दिनुभएको जवाफ अहिले पूरापूर सम्झनामा छैन, तर त्यसपछि उहाँले मेरा लागि आफूसँगको सान्निध्यताको ढोका खोली दिनुभयो । र, यो सान्निध्यता अझ–अझ गहिरिँदै र बाक्लिँदै गयो ।

यसै पनि हामी त्यतिबेला ‘सुरुचि’ साप्ताहिकमा मीनाक्षीका नाममा उहाँले लेखेका लेखहरूका फ्यान छँदै थियौं । एकदमै प्रेमिल सम्बोधन मीनाक्षीलाई, तर विचरण समाज, राजनीति, जीवन–जगत्का विशाल र गहिरा समुद्रहरूमा । अद्भुत लेखनशैली थियो, भण्डारी सरको । चिन्तन र तर्कलाई सरल रूपमा राख्ने । निकै उदारतापूर्वक राख्ने ।
प्रेम र यौनका बारेमा उहाँका लेखन पढेर वा युवतीहरूसँग अलि बढी निकट हुने उहाँको व्यवहारलाई लिएर कतिपय मान्छेहरू ठान्थे, ‘भण्डारी सर अलि छाडा हुनुहुन्छ । प्रेम र प्रणयमा अलि बढी रमाउनुहुन्छ आदि ।’

हामी पनि त्यसै ठान्थ्यौं । र, युवतीका नाम राखेर पाठक पत्रहरू पठाउँथ्यौं । हामीले सिर्जना गरेका नक्कली पाठक– युवतीहरूलाई उहाँ जवाफ फर्काउनुहुन्थ्यो । हामी पुलकित हुन्थ्यौं । ती शर्मिष्ठा वा शीला थिएनन् । अहिले स्वीकार गर्नैपर्छ– ती हामी नै थियौं ।

अहिले भन्नैपर्ने भएको छ— भण्डारी सर माफ गर्नुहोला, हामी कच्चा थियौँ ।हामी ठान्थ्यौँ— हामीले तपाईंलाई झुक्याइरहेका छौं । खासमा हामी झुक्किरहेका थियौं । तपाईं अक्सर भन्ने गर्नुहुन्थ्यो, ‘नेपाली समाज ढोंगी छ, सोचेभन्दाबढी ढोंगी... !’

हो, हामी पनि त्यस्तै थियौं । अझै पनि त्यस्तै छौं । पशुपतिका नागा बाबाका लिंग वा टुँडालका चित्रहरू हेरर उत्तेजित हुने तर तिनैका बारे कुरा गर्न डर मान्ने वा तिनका भाव र गहिराइहरूमा पुग्न नसक्ने हाम्रो चरित्र उस्तै छ— विरोधाभासले भरिएको ।तर, तपाईं त्यहाँभन्दा माथि हुनुहुन्थ्यो भण्डारी सर । तपाईंमा जस्तो विराट बुझाइ हामी बिचराहरूसँग कहाँ थियो र सर ? तपाईंको सौन्दर्यचेत र जीवनका खास रङरूपहरूलाई हेर्ने तपार्इंको सोचलाई हामीले मदालसा, शर्मिष्ठा वा शीलासँगका हल्काफुल्का प्रेमका रूपमा बुझेका थियौं ।

‘सुरुचि’ साप्ताहिकमा भण्डारी सरका लेख पढेर उद्वेलित हुने हामी संयोगले पछि आफैँ उहाँका लेखहरू लिन घरमा जाने ठाउँमा पुग्यौं । ‘हिमालय टाइम्स’ मा आबद्ध रहँदा मित्र देवेन्द्र भट्टराई र म अक्सर साताको एकपटक लेख लिन उहाँको घरमा जान्थ्यौं । त्यो लर्कोमा यदाकदा थानेश्वर सापकोटा, शीला सैंजूहरू पनि जोडिन्थे । हाम्रो काम हुन्थ्यो— उहाँले किरिमिर लेखेको लेख पढेर उहाँलाई सुनाउने वा उहाँले बोल्ने अनिहामीले टिप्ने ।

देवेन्द्र र मैले यो काम कैंयौं महिनासम्म गरिरह्यौं ।हाम्रो सम्बन्ध बाक्लिँदो थियो । कहिले मृगस्थलीतिर, कहिले पुरानो बानेश्वरको पुस्तक पसलतिर– हामी भण्डारी सरसँगै हुन्थ्यौं ।
०००००
त्यसैताका उर्मिला मातोडकर, आमिर खान, जैकी श्राफ अभिनीत एउटा चलचित्र आयो– रंगीला । रामगोपाल बर्माको यो फिल्ममा एआर रहमानको म्युजिक थियो, जसमा उर्मिलाका उत्तेजक नृत्य र भावभंगिमा थिए । यो २०५२ सालको असोज अन्तिम साता हुनुपर्छ, देवेन्द्र र मैले सल्लाह गर्‍यौं— भण्डारी सरलाई ‘रंगीला’ फिल्म हेर्न लिएर जानेबारे । सरलाई अनुरोध गर्‍यौं । सहजै अनुमति पायौं । र, गयौं विश्वज्योति हलमा । अहिलेजस्तो टिकट लिन सजिलो थिएन । त्यसमाथि उर्मिलाको उत्तेजक नृत्यको युवा क्रेज । मुस्किलले टिकट लिइयो । सर बीचमा, म र देवेन्द्र दायाँ–बायाँ ।

एउटा प्रोफेसरलाई बीचमा राखेर हामी उर्मिलाका उत्तेजक नृत्य हेरिरहेका थियौं । सर हामीसँग भएभन्दा बढी रंगीला र उर्मिलामा रमाइरहनुभएको थियो ।जसै फिल्म सकेर हामी हलबाहिर निस्केर मण्डला बुक्सतिर लाग्यौं, बाटैमा अभि सुवेदी, एमपी लोहनी, माधवलाल महर्जन सरहरू भेटिनुभयो । अभि सरले विनयी स्वरमा नमस्कारको अभिवादनसँगै सोध्नुभयो, ‘सर, यी केटाहरूसँग कता हिंड्नुभएको र ?’

डीपी सर, बडो स्वादिलो लयमा हाँस्नुभयो सुरुमा । अनि विश्वज्योतितिर इसारा गर्दै भन्नुभयो– ‘ए, रंगीला हेर्न आएको थिएँ । ३/४ जना केटीले हत्ते गरेर ल्याए, मजै आयो... रमाइलो रैछ ।’ अनि फेरि डीपी सर हाँस्नुभयो, राम्रैगरी ।
एक छिन अरू अर्थ–अनर्थका केही कुरा भए, बाटोमा उभिएरै । अनि हामी मण्डलातिर छिर्‍यौं ।

यो एकदमै प्रश्नातीत घटना थियो, हाम्रा लागि । हिजो मात्रै, फिल्म हेर्न जाने अफर म र देवेन्द्रले गरेका हौं । बाल्कोनीको टिकट ‘ब्ल्याक’ मा किनेर देवेन्द्रले ल्याएको छ । हलभित्र फ्रुटी, केक ख्वाउँदै डीपी सरलाई हाम्रा बीचैमा राखेर ‘रंगीला’ हेराएका छौं । अब कहाँबाट आए एकाएक यी केटीहरू ?

ट्याक्सीमा जमलबाट पुरानो बानेश्वर डीपी सरका घरतिर फर्कंदै गरेका बेला देवेन्द्रले जिज्ञासा राख्यो, ‘सर, यो त हामीमाथि सरासर अन्याय भयो नि ! सारागर्ने हामी, सरलाई उर्मिला देखाउने हामी । अनिनामचैं केटीहरूको ?’
ट्याक्सीको अघिल्लो सिटमा बस्नुभएका डीपी सरले आफ्नो सनातनी ‘मु लवज’ निकाल्दै टाउको पछाडि फर्काउनुभयो र, रमाइलो मानिरहेको स्वरमा भन्नुभयो, ‘तिमीहरूलाई के थाहा छ ? तिमेरु अज्ञानी नै छौ । अब यसरी रंगीला हेर्न केटीहरूले ल्याएका थिए, केटीहरूका बीचमा बसेर हेरें भनेपछि यी बूढाहरू भित्रभित्रै जलिरहन्छन्... हेर्दै जाऊ न ! रातभर सुत्नै सक्दैनन् अब... हाहाहा !’
०००००
म आज पछाडि फर्किएर सोच्छु— यो तहको प्रोफेसर आज कोही होला नेपालमा, जो जीवनलाई त्यसका रङहरूमा भोग्छ, बिनाढोंग, बिनाघमण्ड, बिनातथाकथित सामाजिक भय !भण्डारी सरले उर्मिलाको उत्तेजक नृत्य र तिघ्रामाथि पछि एउटा लेख नै लेख्नुभयो– ‘रंगीलाकी उर्मिला र सेक्सी जनमानस’ शीर्षकमा । त्यसमा सम्झेसम्मको सार थियो, ‘प्रिय, नेपाली मानस सेक्सग्रस्त छ, विरोधमा ग्रस्त छ, समर्थनमा पनि ग्रस्त ।

त्यसैले रंगीला यति लोकप्रिय भयो । निर्देशकले त्यहाँ सेक्स नभए पनि सेक्स भन्ने भ्रान्ति दिन सकेको छ । यहाँ सेक्सको अर्थ हुन्छ, नायक–नायिकाको हाउभाउबाट, स्पर्श, नृत्य आदिबाट द्रवित हुने, श्रावित हुने र मनमा दुई–तीन दिनसम्म गुदगुदी, टिटिलेसन आइरहने । जतिजति ३–४ स्वास्नीका स्वामी लामो टुपी पालेका, तीनधर्के टीका लगाएका, भागवतवाचन गर्ने, लामो पूजापाठ गर्ने पण्डित पुरोहितहरूदेखि लिएर समाजका अन्य पाखण्डी राजनीतिज्ञ र स्कुल शिक्षकसम्म सक्दो निन्दा गर्नेछन्, त्यति नै यहाँका युवायुवतीहरू, प्रौढहरू, पोर्नोग्राफी मन पराउनेछन् ।

रंगीला हेर्ने त उनीहरूको अधिकारभित्रै आउँछ, समाज स्वीकृत अधिकार । कुनै बेला जब काठमाडौंमा भीड थिएन, धूवाँ थिएन, गाडीहरू एकदमै कम थिए, स्वतन्त्र रूपले सडकमा विचरण गर्दागर्दै अभिसाररत साँढे र गाई देखेर यहाँका फुर्सदवाला नगरवासीहरू सिट्ठी बजाउँथे, आज रंगीला हेरेरसिट्ठी बजाउँछन् ।’
०००००
अनि, कतिपय लेखहरूमा भण्डारी सर आफ्नी प्रेमिकाहरूलाई डोलीमा चढाउनुहुन्थ्यो र, हामीलाई डोलेहरूका रूपमा चित्रण गर्नुहुन्थ्यो । भण्डारी सरका यस्ता लेखहरू पढ्न युवायुवतीहरू हुरुक्क हुन्थे ।सरका लेखहरूमा तिघ्रा वा वक्षस्थलका कुरा मात्र हुँदैनथे, त्यहाँ लोभ, मोह, काम, क्रोध, समाज र राजनीति पनि जोडिएको हुन्थ्यो । बुद्धका मन्त्रहरू, कुरान, वेद, उपनिषद्, बाइबल... के हुँदैनथ्यो त्यहाँ ? लेखनमा विम्बहरूको प्रयोग गर्न पनि भण्डारी सर माहिर हुनुहुन्थ्यो । २०५१ सालमा जब तत्कालीन एमालेले अल्पमतको सरकार बनायो, त्यतिबेला उहाँले एउटा लामो लेख लेख्नुभएको थियो ‘कान्तिपुर’ दैनिकमा, जसको शीर्षक थियो, ‘हेमा मालिनीको गालामा झुसे दाह्री ।’ यो लेख निकै चर्चित भयो, धेरैका मुखमा शीर्षक र गुदी कण्ठस्थ थियो ।

भलै, नेपाली समाज र कतिपय पढे–लेखेका भनाउँदाहरूसमेत डीपी सरका कतीपय व्यंग्यहरू बुझ्ने हैसियत अहिले त राख्दैनन्, त्यतिबेला अझ के राख्थे र ? मलाई सम्झना छ— एकताका पुरानो बानेश्वरस्थित विनोद भट्टराईको घरमा प्रत्येक शनिबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आउने गर्नुहुन्थ्यो, जहाँ सर पनि पुग्नुहुन्थ्यो । जब भण्डारी सर र भट्टराईबीच संवाद र ठट्टा सुरु हुन्थ्यो, तब यस्तो लाग्थ्यो जीवनका सबै रङहरू यहीं छन् ।

भण्डारी सर र कृष्णप्रसाद भट्टराईजस्तो दार्शनिक, आध्यात्मिक र मानवीय चेतको जोडी, जसको ठट्टामा पनि अनन्त गहिराइ हुन्छ, त्यो परिहास र विनोदप्रियता ! त्यस्तो जोडी अब पाउनु कहाँ ?यसरी भण्डारी सर रङहरूको हिसाब–किताबमा होइन, रङहरूमा बाँच्नुभयो । अझ आफैं रङहरूभएर बाँच्नुभयो ।

एक दिन पुरानो बानेश्वर चोकको एउटा रेस्टुरेन्टमा भण्डारी सर, डा. पुरुषोत्तम बास्कोटा र किशोर नेपालका बीचमा म थिएँ । उहाँहरू मदिरा पिइरहनुभएको थियो । र, संवाद विषयका रूपमा आएकी थिइन्— एउटी युवती । त्यो दिन ५० काटेका ती बूढाहरूका संवाद सुनेर म बालक–बबुरो भएको थिएँ, आफैंसँग लज्जित पनि ।

त्योबेला ती युवतीको रूप र रङमा भण्डारी सर मोहित हुनुहुन्थ्यो । तर, त्यो मोहमा उत्ताउलोपन थिएन । गहिरो सौन्दर्यचेत र मानवीय प्रेम थियो । ती युवतीका साथ हामी यदाकदा भण्डारी सरका घरमा जान्थ्यौँ ।

सर, ती युवतीलाई अलिक बढ्ता माया गरेको देखाउन म र देवेन्द्रलाई अलि भिन्न व्यवहार गरेजस्तो गर्नुहुन्थ्यो । सँगै बसेकी ती युवतीलाई डीपी सरले पाकेका जहाजी केरा ल्याएर ‘ल खाऊ’ भनेर बोक्रा छोडाउँदै दिनुहुन्थ्यो, हामीलाई भने तिहारमा पकाएर रहेका दाउराझैं बनिसकेका एक–एक सेलरोटी हातमा राखिदिनुहुन्थ्यो । त्यो प्रेम, त्यो अपनत्वको के कुरा भयो र ? अनि हामी जिस्क्याउँथ्यौं । यस्ता निजी सन्दर्भहरू कति छन् कति । अझ मैलेभन्दा बढ्ता निजात्मक कुरा देवेन्द्रले देखे–भोगेको छ । देवेन्द्रले चितवनदेखि नगरकोटसम्मका डीपी सरसँगका यात्राबारेका अनेक अन्तरंग बात सुनाएको थियो, डीपी सर छँदै–डीपीसरकै सामुमा ।
०००००
सामान्यजनका लागि भण्डारी सर कहिलेकाहीं हल्का रूपमा प्रकट भैदिनुहुन्थ्यो पनि । तर, अहिले बुझ्दा लाग्छ— कहिले कृष्णजस्तो, कहिले रजनीशजस्तो, कहिले खुशवन्त सिंहजस्तो, कहिलो पहाडिया पठ्ठोजस्तो, कहिले बनारसको पण्डाजस्तो । कहिले सुकराजजस्तो, कहिले लाओत्सेजस्तो । एउटा प्रोफेसर, साँच्चिकै प्रोफेसरजस्तो ।
चेतनाले भरिएको र खारिएको एउटा प्रोफेसर, जो शरीरसँग र आफ्नै स्मृतिसँग हार्‍यो र लड्यो ।

हामी तपाईंलाई सम्झिरहनेछौं । र, पखर्नेछौं— हाम्रो समाजमा तपाईंजस्तै चिन्तक, तपाईंजस्तै प्रोफेसर, जो साँच्चिकै प्रोफेसर थियो । सर, तपाईंलाई जस्तै स्वर्ग वा नर्कको मलाई पनि विश्वास छैन, भरोसा छैन । तपाई सधैंजसो आफ्ना भाषण वा आलेखमा सम्झना गरिरहनुहुन्थ्यो, कवि खलिल जिब्रानलाई । आज तपाईं बितेर गएपछि म यो दूरोदेशबाट तपाईंको पावरफुल चस्मा, अलिकति उछिट्टिन खोजेका बज्र दाँत र अट्टाहासको मनकारी हाँसो सम्झिरहेको छु । अनि सम्झिरहेको छु, उनै जिब्रानको भनाइ साभारमा, ‘कुनै मान्छेले जीवन कति सुवासपूर्ण सौन्दर्यसित बाँच्यो भन्ने सत्य त्यसबेला थाहा हुन्छ, जब उसको मृत्यु हुन्छ । र, त्यो मृत्युले कतिलाई अश्रुपूर्ण बनायो, कति बिह्वल पार्‍यो भन्नेबाट थाहा हुन्छ ।’
म यतिखेर अश्रुपूर्ण, विह्वल मुद्रामै यी पंक्ति लेखिरहेको छु । हार्दिक श्रद्धाञ्जली छ प्रिय डीपी सर ।

प्रकाशित : चैत्र ८, २०७६ १३:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×