कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अ ड्याम प्रोफेसर !

केदारभक्त माथेमा

अंग्रेजीमा भनिन्छ– गिभ अ ड्याम ! भन्नुपर्ने कुरा भन्ने हो, लेख्ने हो । यही कारणले कसैले नराम्रो सम्झिएला, गलत बुझ्ला वा आफ्नो हित नहोला भन्ने कहिल्यै सम्झिराखेको हुन्न । नेपालीमा भनिन्छ नि– बाल मतलब ।

अ ड्याम प्रोफेसर !

भण्डारी सर त्यही ‘गिभ अ ड्याम प्रोफेसर’ हो । यदाकदा भण्डारी सरको कुरा बुझ्न पनि गाह्रो हुन्छ । ठाडो अर्थ नभेटिने, गहिरो र गम्भीर । शब्दहरू खाँदिएर बस्छन्, बोलिसकेपछि अथवा भण्डारी सर बोलेर बाटा लागिसकेपछि मात्रै थाहा लाग्छ— ए, बूढाले यसो पो भनेको रहेछ ।


भण्डारी सर ‘घर चलाउने’ मान्छे होइन, दिमागी मात्रै हो । फ्रेन्च क्रिटिक मोलियर भन्छन्, ‘एज फर माई लिभिङ, माई सर्भेन्ट क्यान डु इट... ।’ जीवन निर्वाह मात्रैको कुनै मतलबै छैन ।


यस्ता केही मान्छे हुन्छन् जो समाजसँग, यहाँको चलनचल्तीसँग ‘फिट’ रहन्न, हुन्न । आफ्नै लयमा बहिरहने स्वभाव होला यो । म सम्झन्छु— म आफैं एकताका दिनरात ढोका थुनेर उपन्यास, कथा, कविताहरू पढिरहन्थेँ । कहिले अंग्रेजी र कहिले फ्रेन्च मूलका अनूदितहरू । साँझपख टहल्न निस्कँदा बाटोघाटोमा आफूले पढेको उपन्यासको पात्र भेटेजस्तो, उसैसँग कुरा रहिरहेजस्तो बोध हुन्थ्यो । बढी दिमागी सक्रियताको परिणाम होला । भण्डारी सर भने सधैंसधैं यही हालतमा हुनुहुन्थ्यो कि ?


यस्ता केही नमिल्दा पात्र हुन्छन् नै यो समाजमा । मेरो क्लास–फेलो हो, श्रीधर लोहनी । भण्डारी सरको निकटतम मित्र पनि । अब म त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएँ, संसारका सबै चिनारुले फोन गरेर बधाई भनिसके । श्रीधरलाई बाल मतलब । यो ‘इग्नोर’ गरेको पनि होइन, यो स्वभाव हो । श्रीधर, भण्डारी, रामेश्वर अधिकारी भनेका यस्तै दुर्लभ मान्छे हुन् । कमलप्रकाश मल्ल पनि त्यस्तै अर्कै लयमा हिँड्ने प्रोफेसर हो ।


विशुद्ध एकेडेमिक भनेको साधारण मानिस हुँदै होइन, यसलाई यही रूपमा बुझ्नुपर्छ । छुस्स दाह्री पलाएको छ, सर्ट–पेन्ट पनि रफटफ छ । कुनै औपचारिकता छैन । पुरानो झोला र जुत्तामा हिँडिरहेकै छ । संसारको के मतलब ? प्राज्ञहरू हुनुपर्ने यस्तै हो । कृतिगत रूपमा मैले ‘मृगस्थली’ लगायतका भण्डारी सरका किताब पढेको हुँ । भण्डारी सरले एकपटक गोथे इन्स्टिच्युटमा ‘इन्टेलेक्च्युवल्स इन नेपाल’ शीर्षकमा प्रवचन दिनुभएको थियो– कसलाई बौद्धिक भन्ने, विद्वान्कोअर्थ के हो भन्नेबारे । त्यसमा नेपाली विद्वान्को सन्दर्भ, अखबारी पठन वा सतही ज्ञानका भरमा विद्वता झल्काउन खोज्नेलाई भण्डारी सरले तिखो प्रहार गर्नुभएको थियो । पछि उहाँले लेख्नु पनि भयो— अखबारी बुद्धिजीवी भनेर ।


हो पनि । ‘पब्लिक इन्टेलेक्चुअल’ अर्थात् कहीं कुनै विषयमा लगातार सूचनायुक्त प्रवचन दिने विद्वान् र विद्वतायुक्त

विद्वान्बीचमा फरक हुन्छ नै । डा. श्रीधरले कतै मञ्चमा बसेर भाषण गरेको सुनिन्छ र ? बरु मजस्ता साधारण र धेरै ‘पब्लिक इन्टेलेक्च्युअल’ ले कराइरहने हो, बोलिरहने हो । भण्डारी, लोहनीहरूलाई यी साधारण विषयमा मतलब रहन्न । सामान्य सूचना र विद्वता फरक कुरा हो ।


यसरी भण्डारी सरलाई ‘अराजक बुद्धिजीवी’ पनि भन्न मिल्छ । कुनै नियम, दायरा र घेरामा बाँध्नै नहुने प्राणी हुन् भण्डारीहरू । यो अराजक भनेको ‘रिबेल’ हो, विद्रोही स्वभावसमेत हो । जनसाधारणले हेर्दा मजस्ता मान्छेलाई सफल भन्ठान्छन्, तर यो क्षणिक कुरा हो । विद्वता, विचार र चिन्तनमा भण्डारी, श्रीधरहरू अर्कै लोकमा छन्, तिनको उचाइ अतुलनीय छ ।


म त्रिविमा उपकुलपति भएका बेला श्रीधर लोहनीलाई मानविकी संकायको डिन बनाउन मैंले कैयौंपटक चाकडी गर्नुपर्‍यो, अनेक बिन्तीभाउ गरेर मात्रै उनी डिन बने । त्यो पनि ससर्त, ‘तिमीले (उपकुलपति) पद छाड्नुभन्दा ३ दिनअघि डिनबाट हट्नेछु’ भनेर । भयो पनि त्यस्तै । यस्ता केही विद्वान् बढीजसो समाज, परिवार सबैतिर ‘लोन्लिनेस’ (एक्लोपना) बाट गुज्रिएका हुन् कि ? हामीहरू बरु बढी घुलमिलमा छौं, सामाजिक अर्थमा सम्पर्कमा हुन्छौं ।


बौद्धिकता, चिन्तन र विचारको तहमा (समानस्तर) कुरा नमिलेपछिको ‘लोन्लिनेस’ बाट भण्डारी सरहरू गुज्रिनुपरेको हो कि जस्तो लाग्छ । बाहिरी समाजको कुरा नगरौं— घरभित्रै पनि श्रीमतीहरू बढी ‘सांसारिक’ हुन्छन्, श्रीमान् सधैं अव्यावहारिक र असांसारिक भैदिएको अवस्थामा के हुन्छ ? सन् १९६८ मा त्रिचन्द्रमा अस्थायी लेक्चरर थिएँ । आईए तहमा पढाउने काम गर्थेँ । म युवा जोसको थिएँ, लोकप्रिय पनि थिएँ । त्यही बेला भण्डारी सर स्थायी लेक्चररको नियुक्तिपत्र लिएर त्रिचन्द्र आउनुभएको थियो । उहाँ कलेज अफ एजुकेसनबाट आउनुभएको थियो । अनि मेरो जागिर खुस्किहाल्यो । त्यहाँ हरि भट्टराई पनि थिए, आईएस्सी पढ्ने । उनकै नेतृत्वमा नारा लाग्न सुरु भैहाल्यो— इन्क्लाब जिन्दावाद ! माथेमा नै चाहिन्छ !!


अनि भण्डारी सरसँग पहिलोपटक मेरो भेटवार्ता भएको थियो । ‘केदारजी, केटाहरूलाई सम्झाइदिनुपर्‍यो’ भन्दै सरले मसँग कुरा थालेपछि मैले ‘यसरी स्थायी शिक्षकको विरोध नगर्न र पढाइमा बस्न’ केटाहरूलाई सम्झाएको थिएँ । त्यसबेला डीपी सरको ‘क्रेज’ बनिसकेको थिएन । पछि गएर उही डीपी सर भन्नासाथै एउटा ‘मानक’ बन्नुभयो । अनि कीर्तिपुर क्यान्टिनमा कुरा चल्थ्यो, ‘आज डीपी बूढाले कक्षामा यस्तो भने नि... !’ रत्नपार्क–कीर्तिपुर बसमा उभिएका विद्यार्थीमाझ गाइँगुइँ हुन्थ्यो, ‘बूढाले रोमान्टिसिजम यसरी बुझाए नि... !’


हो, यस्तो स्वर चाहिन्छ, सबैले सुन्ने स्वर । सबैमाझ सुनिने स्वर । भण्डारी थिए, मल्ल थिए, लोहनी थिए विश्वविद्यालयमा । उनीहरू आवाज थिए । आज को छ, के छ ? यो एकेडेमिक थलोमा मुर्दा शान्ति छाएको छ । म यो त्यसै भनिरहेको छैन ।

(प्राध्यापक माथेमासँगको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र ८, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?