‘सुनाइदेऊ हाम्रा चौरी मरेका कुरा’

सरला गौतम

काठमाडौँ — भुइँचालोका बेला जाजरकोट, रुकुम हुँदै डोल्पा पुगेकी थिएँ । १५ दिन गाउँ–गाउँ डुल्दै हिँडें । गाउँलेका घरमा, कहिले मन्दिरमा, कहिले ब्यारेकमा बास पर्‍यो । दुनै बजार पुगें । सामुन्ने घरमा थिए– थिन्ले दाइ ।

तन्नेरी भएका भए ‘झ्यालबाट हेरेको तिमीलाई’ भन्दै गीत गाउँदा हुन् कि ! भेटको सुरुमा त उनले मलाई खासै बाल दिएनन् । काठमाडौंमा घरमा लगेर चियर्स गर्दै, क्याराभान हेर्दै अन्तर्वार्ता लिएको सम्झाउँदा पनि उनले गनेनन् ।


म फोक्सुन्डो पुगेर फिरेपछि भने ट्वाल्ल हेरे । हामी पाँच दिनका लागि छिमेकी थियौं । बजारको बीचमा बसेर बात मार्‍यौं । गिलिल्ल हाँस्यौं । गर्दियौं तमासा । अनि उनले भने, ‘तिमी अझै माथि जानुपर्ने । चौंरीको बिजोक हेर्नुपर्ने !’ एक छिनमा रिस र जोस मिलााएर भने, ‘पहिलो नम्बरमा प्रचण्डा, दोस्रो बाबुराम, तेस्रो सुशील कोइराला, चौथो शेरबहादुर अनि रामचन्द्रालाई गएर भन्देऊ, हाम्रो चौरी मरेको कुरा । डोल्पामा बाटो नआएको कुरा ।’ थिन्लेलाई मैले भनिनँ– सिंहदरबारमा खबर टिप्न जाने हूलमा मिसिन मन लाग्दैन थिन्ले दाजु ! भीर–पाखामा नेता भेटिँदैनन् । बाटो बाटो भन्दा–भन्दै बाटोमै लडेर परलोक भए थिन्ले दाइ । जीवन भन्नु फगत एक

सम्झना ! आफ्नो जिल्लाका लागि उनले देखाएको चासो भने मनमा खील बनेर रोपिएको थियो ।

00000

केही दिनअघि बाबुराम भट्टराईसँग एउटा पुस्तकको विमोचनमा भेट भयो । उनीसँगको मतभेद र दुखेको हृदयलाई एकै छिन छेउ लाएँ । थिन्ले दाइको कुरा सुनाइदिएँ । अरू कति थिन्ले र डोल्माका कुरा त मनबाट निस्केर पहरामा ठोकिँक्दो हो, उनीहरूतिरै फर्कंदो हो । लेखक गंगा श्रेष्ठको ‘मध्य(पहाड यात्रा’ पुस्तकको पानाहरू पल्टाउन थालें । हरेक पानामा बोध भयो– लेखन र राजनीतिका लागि यात्रा प्राण–वायु हो । बोधो भएको लेखक र राजनीतज्ञ जब ‘आम’ भनिने मानिसको आँगनमा पुग्छ, अनि ‘खास’ भएर फर्कन्छ । संसारभरिका विद्वान्को नाम कण्ठ पारी बसेको लेखक आफ्ना ठाउँ र मानिसका मनको बात नजानेर रनभुल्ल हुन्छ । जब गाउँ पुग्छ, गाउँलेले भरिदिन्छन्– स्वादिला लोक ज्ञान, दर्शन र विम्बहरूले । भुत्ते भएको ज्ञानको खुकुरीमा दाउ लाएर फर्कन्छ । आफ्नो माटोमा उब्जेको ज्ञानको स्वादभन्दा मीठो के हुन्छ यो लोकमा !


पुस्तकको सुरुमै लेखकले अब जनतालाई सुन्न जाने पालो भनेका छन् । सुनाउन मात्र हिँडेका, सुन्न नमान्नेलाई कारबाही गरेका पार्टीका मानिसको यतिको बोध नै स्वागतयोग्य लाग्यो । सापटी दर्शनको बोझ बिसाएर मौलिक दर्शन बोकेर फर्केलान् भनी पाठक मन आशावादी बन्छ । नागरिकलाई सुन्न जाने कामलाई ‘महान् कार्य’ भनेको चित्त बुझ्दैन । यो त आधारभूत कुरा हो । आफ्ना मानिसलाई नसुनेकै कारण खिया लागेका छन् हाम्रा मगन्ते दर्शनहरूमा ।


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोली खोटाङको जनजागृति विद्यालय पुग्छ । परम्परागत शिक्षा प्रणालिलाई नगनेर आफ्नै व्यावहारिक शिक्षा प्रणालिमा रमाएको विद्यालय । बारीमा काम गरिरहेका, सुंगुरलाई चारो हालिरहेका, भवन निर्माण गरिरहेका, विद्यार्थीहरू मस्त छन् । नबोली भनिरहेछन् लेखकको टोलीलाई, ‘हेर यस्तो हुन्छ वैज्ञानिक शिक्षा प्रणाली । भाषण र नारा छोड, कर्म गर मानिस कर्म ।’ यस्तो व्यावहारिक वैज्ञानिक शिक्षा सबैतिर फैलिए ! म आफैं कल्पन्छु ।


लेखक टोली धनकुटा नगरपालिका–६ सल्लेरी वनको स्यानिटरी ल्यान्ड फिल्डमा पुग्छ । फोहरको थुप्रोमाथि बगैंचा देख्छ । वातावरणीय चेत घुसेको छैन हाम्रो राजनीतिमा । विकास भन्नु केवल भौतिक संरचना भन्ने बुझेको राजनीतिक दर्शनले हामीलाई कहाँ पुर्‍याउला सम्झेर कहालीलाग्दो छ । यस्ता बगैंचाले भने होलान् कि जाऊ टोली, अरू धेरै ठाउँमा यस्तै हाम्रा साथी बगैंचाहरू बनाऊ । विकास बाँच्न पनि त मानिसले सास फेर्नैपर्छ नि !


एकमहिने यात्रामा लेखक र टोलीले कतै कृषि रोड घुमेको देखे । कतै मूल मार्ग नै बटारिएको देखे । स्थानीय नेताज्यूहरूको दैलोमा जानुपर्‍यो सबै कुरा । जनताले सहने सास्ती र ढिलासुस्ती त दाल–भातजस्तै सामान्य भयो । स्थानीय बदमासीमा नजर नपुर्‍याई केन्द्रीय बदमासीको लेखाजोखा अपुरो हुनेछ । मेरो सम्झनामा दुई कुरा आए, एक भर्खरै पुगेर फर्केको किमाथांका जोड्ने कोसी ल्हासा राजमार्गको ढिलासुस्ती, अर्को भुइँचालोको बेला डोल्पा पुग्दा भेरी नदीमा पल्टिरहेको युवकको मृत शरीर ।


भेरी नदी किनारको होटलमा मानिसहरू साउती गरिरहेथे, ‘जीविसमा भ्रष्टाचारको कुरा उठाउने केटोलाई त मारेछन् । लास किनारमै छ रे !’ मन चिसो भएथ्यो मेरो । नदीतिरबाट बहँदै आएको बतासले रिस भरेर आफ्नै गालामा थप्पड हानेझैं लागेको थियो । नजाने कति कुरा यसरी हावामा आउँछन् र जान्छन् । हिसाब राख्ने फुर्सद यहाँ कसलाई ? भ्रष्टाचारको रकमलाई सुपाडी भन्थे थिन्ले दाइले । सुपाडीको चाँगै लागेका दृष्टान्तको खोजी अपुरो छ । गंगा श्रेष्ठले ‘मध्य(पहाड यात्रा’ पुस्तकमा इन्द्रसरोबर नदीको बिजोग बताएका छन् । नदी कोपरेर नअघाएका दुष्टहरूको प्रसंगले आँत पोल्छ ।


केही समयअघि नदी दोहन जोगाउन धनुषाका दिलीपकुमार महतो लागिपरे । बदलामा माफियाहरूले ज्यान लिएको समाचार आयो । यो केस कहाँ पुग्यो, अहिले समाचारमा ओझेल परेको छ । दिलीपको केस त केही हदसम्म भए पनि चर्चामा आयो । भेरी नदीमा एक्लो पल्टिरहेको त्यो युवकको मृत शरीरले के भन्दो हो हामी पत्रकार र नेतालाई ! देशैभरि कति मानिस होलान्, जो बेखबर एक्लै लडिरहेका होलान् ।


लेखकले रुकुमको चौराजहारीमा सिँचाइ र पुलको प्रसंग निकालेका छन् । एउटै पुलमा बीस वर्षदेखि राजनीति घुमिरहेको छ । ‘धारा बन्ला भनेर बालुवा बोक्दाबोक्दा तालु खुइलियो । पानी आएन,’ धादिङको ताल्ती गाउँका एक प्रौढ सम्झन्छु । दलीय गन्जागोलमा अल्लेको विकास गाँठो कसिलो छ । केन्द्रले बेवास्ता गर्‍यो भन्ने एकोहोरो रटानले मात्र पुग्दैन । स्थानीय बदमासीलाई सफा पार्न, त्यसको खोजीनिदी आवश्यक छ । यसैका लागि ‘हाम्रो गाउँमा पत्रकार आउँदैन । हाम्रो गाउँमा नेताले पाइला राख्न भ्याउँदेन,’ यो नयाँ उखान बदलिने बेला भएको छ ।


अक्सर लामो–लामो पदयात्रा गरेको हुनाले म पुस्तकमा पदयात्राको स्वाद खोज्दिरहेछु । लोपोन्मुख भएको छ हाम्रो पदयात्रा । योसँगै, लोकसंगीत, संस्कृति, खाना, रिवाज र परम्परा मात्र हराउँदै छैन । हराइरहेको हाम्रो लोकदर्शनको माया लागेर आउँछ । लोक दर्शन मिसिएका नीति भए कति जाती हुन्थ्यो । कति बाटाहरू हामीलाई एक्लै पर्खिरहेका होलान् ।


जब आउँछ पानाहरूमा, सिन्धुलीको जुनार, धनकुटाको काउली, कागते बजारको कागती, लसुने बजारको लसुनको कथा, हैसियतको बोक्रा फालेर लेखकको टोली लसुन पोको पार्न दगुर्छन् । रमाइलो लाग्छ, बचपना । बालक हृदय फेरि जागे मात्रै नयाँ कुरा लेख्न सकिएला । ठाउँठाउँमा किसानका कुरा सुन्ने मेसो पनि जुराउँछन् । समस्याका गाथा सुन्दा आत्तिएका छन् मानिसहरू । समाचार हेर्‍यो कि अपराध कि भ्रष्टाचार । नेताको कुरा सुन्यो अर्कोलाई गाली मात्र छ । छैन, छैन, हुँदैन, हुँदैनको आतंकले वायुमण्डलग्रस्त छ । ठाउँ–ठाउँका कृषि सम्भावना र तिनले ल्याउन सक्ने व्यावसायिक उन्नतिमा काम हुन्छ कि भन्ने आस पलाउँछ । एअरपोर्टको लामो लाइन छोटिँदै जाला कि, चम्किएको बाकसमा अस्ताएका सपना फर्कने दिनहरू सकिएलान् कि !


मानिसहरूलाई आफ्नो देश परदेश भएको छ, परदेश देश । ‘नेपालको कमाइले चिया खान्छौं भारतको कमाइले जीवन धान्छौं’ भन्थे सुदूरपश्चिमका नागरिक । लेखकले भेटेका चिवाभञ्ज्याङका एक नागरिकले गाउँको खबरसँग बेखबर भएको बताउँछन् । उनको काम काठमाडौंमा धेरै पर्छ । विकेन्द्रीकरण कागजमा मात्र भएको छ । सिंहदरबार गाउँगाउँमा भनेको, सिंहको पुच्छर पनि पुगेको छैन भन्छन् अचेल ठाउँठाउँमा । गाउँ परपर काठमाडौं वरवर छ देशको धेरै भागमा । यो दैनिकी नागरिकको काँधमा कति बोझ हुन्छ होला, बोध गर्न सकिन्छ ।


च्यांगथापुका नागरिकले लेखकको टोलीसँग आफ्नो सास्ती बिसाउँछन् । सीमाको बाटो जोडिए हुन्थ्यो भन्छन् । सिक्किम, बंगाल र नेपालको सिमाना फालोट जम्मा सत्र किलोमिटर पर छ । यो बाटो खुले नेपालीले लाभ लिन सक्छन् । केही महिनाअघि पुगेको किमाथांका सम्झन्छु । चाइनाको सीमासम्म बाटो पुगे के–के मात्र गरौंला भनेर पर्खेका मानिसहरूको उत्साहको झल्को आउँछ ।

टोली झुलाघाट नाकामा गएर नागरिकका पीर–मर्का र व्यावसायीक अप्ठेरोका कुरा सुन्छन् ।


बाबुराम भट्टराईले ‘संसद्मा कुरा उठाउँछु’ भनेको जिम्मेवार प्रतीत हुन्छ । दुई देशको बराबरी सम्बन्धको कुरा काठमाडौंमा गर्न सजिलो छ, नाकामा एक छिन उभिन हामीलाई हम्मे छ । सिमानाको प्रसंगले म वनबासा नाका पुग्छु सम्झनामा । पचास रुपैयाँको गुँड (सख्खर) किन्दा पैसा जोगाई–जोगाई किन्छन् नेपालीहरू । ठाउँठाउँमा अपमानित हुँदै लुटिन्छन् एकै छिनमा । राज्यका नम्बर नम्बरका जिम्मेवार अंगहरू त्यहाँ उभिनुपर्ने होइन र ?


‘जनयुद्धका’ दिन सम्झेर लेखक भावुक पनि हुन्छन् । २०६० सालमा तेह्रथुमको संक्रान्तीमा कुकर बम पड्केको प्रसंग छ । पूरै घर ध्वस्त भएको र एक किशोरीको ज्यान गएको हुन्छ । ‘युद्ध कति निर्मम हुन्छ । सानासाना असावधानीले कत्रा विपत्तिहरू लिएर आउँछन्,’ विरक्त भएर युद्ध सम्झेपछि अर्को प्रसंगमा उनीहरूकै युद्धको कारण सबै बद्लिएको भन्छन् । राजीखुसीले युद्धमा हिँडेकालाई त कहाली थियो ।


जबरजस्ती घिसारिँदै मारिएकालाई त्यो ‘जनयुद्ध’ के थियो ? लेखक र उनका नेता बाबुरामले कुनै दिन आत्मालोचना गर्ने नै छन् । जनयुद्धको सेल्टर मानिएको लुकुम गाउँ पुग्छन् लेखकको टोली । बेनी फौजी कारबाहीको तयारी गरिएको ठाउँ हो यो । लेखकले बेनीको एक ठाउँमा गोलीले छेडिएको पोलमा उभिएर तस्बिर खिच्छन् । मेरो मन गहिरो पीडामा जान्छ । एक छिन मन मस्तिष्क हल्लन्छ । बल गरेर निस्कन्छु यो दृश्यबाट । कति निर्दोषको छाती छेडेर गए ती गोलीले । लेखकलाई जस्तो मलाई गर्व लाग्दैन ।


न्यायिक निरुपणको सवालमा उनले यो राजनीतिक निर्णयबाट टुंगो लाउनुपर्छ भनेका छन् । यसो भन्न मिल्ला ? पीडितहरूले

आफ्नो घाउ बिर्सन नसकेर बोलिरहेछन् । सरकार र बिपक्षी दुबै मिलेर एकपक्षीय निर्णय थोपर्न मिल्दैन । मंगलसेन दरबारको ऐतिहासिक र पर्यटकीय महत्त्व सम्झाउँछन् अर्को पानामा । यो ध्वस्त भएको दरबार पुनर्निर्माण गर्न सरकारलाई दबाब दिने कुरा गर्छन । कस्तो नमिलेको । ध्वंस आफूले गर्ने पानीमाथिको ओभानो भएर अरूलाई उपदेश दिने । लेखकसँग विमतिमा उभिन्छ मन ।


संकीर्ण राजनीतिक चेतसँग लेखक पनि थाकेको देखिन्छ । ठाउँठाउँमा, मारिएका आफ्ना कार्यकर्ता र सेनाप्रति बराबरी संवेदनशील भएका छन् । यो भने सकारात्मक कुरा हो । सिन्धुलीमा पुग्दा, आठ सालमा दिल्ली सम्झौताको विरोध गर्दा मारिएका नेपाली कांग्रेसका बाबुराम बरालको सालिक देखर प्रसन्न भएका छन् । कांग्रेस, एमाले र माओबादीले सहिदप्रति देखाएको साँघुरो भावनाप्रति दुःखी भएका छन् । यही साँघुरो स्कुलिङकै कारण नेपाली राजनीतिमा वैचारिक विविधता नअटाएको कुरामा लेखक खुल्दै गएका छन् ।


देशका हितका लागि ज्यान दिने सबै विचारका सहिदप्रति उनले देखाएको सम्मान मन छुनेछ । ‘जनयुद्धको’ गढ रुकुमको लुकुम गाउँ बदलिन नसकेकोमा मन दुखाएका पनि छन् । बाबुरामले सहिद परिवार भेटेका र सद्भाव देखाएका पनि छन् । तर, यतिले पुग्दैन । किन बद्लिएनन् गाउँहरू त यतिका मानिस बलि चढ्दा पनि । आत्मबोध अझै गहिराइमा पुग्नैपर्छ ।


राजनीतिक ताता–पिरा कुराबाहेक लेखक हृदय चञ्चल छ । खोटाङमा रातभर साकेला नाच्न नपाएकोमा चुकचुकाउँछन् । दस वर्षअघि भेटेको कालीकोट रेडियोको एउटा ठिटोको सम्झना उभिन्छ मेरो मनमा । उसले भनेथ्यो, ‘हिजो बच्चैमा जनयुद्धमा हिँडियो । जनवादी गीतबाहेक केही सुन्न पाइएन । आज मन लागेको गीत सुन्छु । मेरा लागि उदितनारायणको ‘मलाई यो जिन्दगीले चोट दियो गनीगनी’ भन्ने गीत बजाइदिनू है ।’ मान्छेले मनको रङ कहाँ लुकाउन सक्छ र !


भ्रमण टोलीसँगै हिउँमा रमाउँछन् । फोटो खिच्छन् । लोकभाकाको बखानमा भुल्छन् । ‘बाटो हानिएर तल झयो,’ ‘रिसले टुप्पीबाट धूवाँ आयो’ भनेका छन् । यस्ता अभिव्यक्तिले नियात्रामा जीवन भरेका छन् ।


हिजोको दिनमा कांग्रेस–कम्निस्टवाला पानी बाराबारको राजनीति गाउँगाउँमा छिर्‍यो । दलीय राजनीतिको एक रमाइलो दृष्टान्त भेटिन्छ पुस्तकमा । गोरखाको घ्याम्पेसालमा लेखकको टोली पुग्छ । यो ठाउँ कांगेसको गढ मानिएको ठाउँ हुन्छ । सबका सब व्यापारी पसल बन्द गरेर पिकनिक खान जान्छन् । आफूलाई सुन्न तयार नभएको जमातप्रति उनी आक्रोशित भएका छैनन् । बरु रमाइलोसँग कांग्रेस कम्निस्ट मनोभाव बयान गरेका छन् । यसले अब गरिने राजनीतिको क्षितिज फराकिलो होला कि, आस गर्ने ठाउँ दिन्छ !


हतारहतारमा रेल छोप्न दौडिएको जस्तो यात्राबाट पनि लेखकले धेरै कुरा टिपेका छन् । जनतालाई सुन्नुपर्ने जति भने सुनेका छैनन् । राजनीतिक संकीर्णताको काँडेतार चुँडाउन चाहेको मनोभाव भने ठाउँठाउँमा बुझिन्छ । योजनाबद्ध ढंगले गरिएको यो प्रयास प्रशंसालायक छ । सामाजिक सञ्जालको लाइक र सेयरको भरमा वैकल्पिक राजनीति गर्न तम्सने जमाना छ । लेखकको टोली हिउँ र सिरेटोले सेकिँदै नागरिकको दैलोदैलोमा पुगेको छ । अहिलेका लागि यही सुरुआत नै काफी देखियो । बाँकी गहिराइको यात्रा र आफ्नै माटोबाट निक्लिएको राजनीतिक दर्शन भने अझै पर्खाइको विषय हो । प्रकाशित : चैत्र १, २०७६ १३:०१

प्रतिक्रिया
पठाउनुहोस्

टार्गेट किमाथांका

सरला गौतम

हिले बजारको एउटा घरको पिँढीमा थिएँ  । सँगै बसेका एक युवकले हावामा हात फालेर भने, ‘आम्बो खाँदबारीको मान्छे त रुद्राक्षको बोटैमुनि सुत्छ रे त, चोर ढुकेर  ।

चोरले त फूल देखेरै चिन्छ रे गेडाको क्वालिटी ।’ आडैमा बसेका युवकका बाबुले अगाडिको बाटो देखाउँदै भने, ‘आबो यो बाटो चाइनासम्मै पुग्नु आँटेको छ । त्यताको मान्छे त मालामाल होला ।’ मेरो मनले भन्यो, ‘आम्बो यो बाटो पछ्याउँदै चाइना पुग्न पाए !’
धूलाम्मे सडकको सप्पै धूलो ज्यानमा बोकेर म पुगें खाँदबारी, भोलिपल्टै । बजारमा डुलिहिँड्न थालेँ । चाइना छुने बाटो बन्दै गरेको बजारका मान्छेमा खाँदिएको थियो उत्साह । ‘संघीयताको कारण सदरमुकामको रौनक मुर्झायो,’ व्यापारीहरूले विरह पोखे । ‘यो बाटोले जब चाइना छुन्छ तब हेरौंला,’ उनीहरूको ताक अब अलि पर थियो ।

साँझपख म देवकोटा चोकमा पुगें । ५२ वर्षे कोपिला थुलुंगको अल्लो पसलमा । मानिसहरूले लुगा लगाउने सुरुआत नै अल्लोबाट भएको भन्ने जानकारी दिइन् कोपिलाले । उनको पूरै परिवारले कपडा बुन्यो । आफ्नो गाउँलाई पुर्‍यायो । अब उनले बुनेका कपडा देश–विदेश पुगेका छन् । ‘कोसी ल्हासा राजमार्ग,’ मेरो वाक्य नसकिँदै उनका आँखा नाचे । भनिन्, ‘चाइनाको सामान हाम्रो बजारमा छ्यापछ्याप पारेको छ । हाम्रो सामान पनि त्यसैगरी उनीहरूको बजारमा छ्यापछ्याप्ती पार्न पाए !’ आहा उनको कल्पना !

हिलेसम्म मात्रै मोटरबाटो हुँदा पनि खाँदबारीको व्यापार चकाचक थियो । वरिपरि सप्पै गाउँका मान्छे झोलीतुम्बा भिरेर, सामलतिमल जोहो गरी बजार गर्न आउँथे । साता–पन्ध्र दिनसम्मै बजार गरिहिँड्थे । यहाँका व्यापारीले आइडिया लगाए— तुम्लिङटारदेखि मानेभञ्ज्याङसम्मको बाटो त सीधै छ, यसलाई किन प्रयोग नगर्ने ! लोकल सडकको कल्पना उभियो । श्रमदानमा खटिए गाउँले । बाटो बन्यो । भरिया लगाएर हिलेबाट मिनिबस बोकाएर ल्याए । हेलिकप्टरबाट जिप झारे । तुम्लिङटारमा सामूहिक गोदाम राखे । प्याँ–प्याँ पुँ–पुँ गर्दै ठूल्ठूलो स्वरमा दुइटा मोटर दौडन थाले । दिनकै रमिता भयो । मानिसहरू झ्यालझ्यालबाट निस्केर मोटर हेर्न थाले । मालसामानका लागि लोकल ढुवानी गजब भइहाल्यो । उद्योग वाणिज्य संघ खाँदबारीका अध्यक्ष युवराज शाक्यल,े साउन्ड इफेक्टसहित मोटर महात्म्य सुनाएका थिए दिउँसो ।

चाइनातिर दाउ साँचेर बसेका व्यापारीहरूसँगको कुराकानी बिट मारेँ यत्तिमै । भोलिपल्ट म लागेँ बाटो । जिपको अघिल्लो सिटमा बसेर । हेर्दैहेर्दै झुलेका धानका बाला । खुलेको आकाश । भरेर पेट तातोतातो थुक्पाले । खाँदबारीबाट नुम गाउँसम्म ठीकैको थियो कच्ची बाटो । त्यसपछि त खेलाइहाल्यो पिङ । जिपका पांग्रासँग जोरी खोज्न आउने बडेमानको ढुंगाको के कुरा ! साँझमा नेता भीरमा पुग्यौं । मकालु गाउँपालिकाका अध्यक्ष यही भीरमा खसेर बितेका हुन् । जिप त थालजस्तो भएको थियो रे ! त्यसपछि भीरको नामै नेता भीर ।

गाउँको शिरमा सुस्ताउँदै किमाथांकालीहरु

एकै छिनअघि नुम गाउँमा जिप रोकिएको थियो । गाउँपालिका भवन छिरेकी थिएँ । भवन भव्य थियो । कर्मचारी एकै थिए । अध्यक्ष बितेकाले चुनाव हुँदै थियो । कुराकानीकै क्रममा गाउँपालिका कर्मचारी विपिन पराजुलीले बताएका थिए, बन्दै गरेको कोसी ल्हासा राजमार्गले बटुल्दै गरेको उत्साह । जिपमा अरुण तेस्रोका कर्मचारी र स्थानीय शिक्षकहरू थिए सहयात्री । दुर्घटनाको कथा कसैले सुनायो । नेता खसेको ठाउँ अर्कोले देखायो । चालक रिदार भोटेले भने, ‘भो म त हेर्दिनँ । मुटु काँप्छ । दिनकै कुदाउनुपर्छ यस्तो हेरे त कामै गर्न सकिन्न ।’ मैले पनि हेरिनँ मान्छे खसेको ठाउँ । रिदारको अनुहार हेरें । अहो भीरका जादुगर ! आयो अरुण तेस्रोको ड्याम साइड । बग्दै गरेको अरुणले सम्भावनाको सप्पै उज्यालो आफैँभित्र समेटेर बगेजस्तो लाग्यो । हेर्न पनि आँट चाहिने बाटोमा हाँकेर चालकले गोला पुर्‍याए । उनी राति नै कुइरेको टोली लिएर फर्कंदै थिए । त्यो बाटोमा नाइट यात्रा ! म तर्सेर केही हुनेवाला थिएन । यता यस्तै त हो नि हो !

गोला किन भनेको होला यो ठाउँलाई ? मैले एक शिक्षकलाई सोधेँ । गोला गोलामा नेपाली लडाकु जम्मा भएर बस्थे रे उबेला, भोटसँगको लडाइँमा । त्यसैले गोला भएछ, ठाउँको नाम । गोला पार गरेपछि टुप्लुक्क साँझमा पुगियो वरुण । फोटो हेरेर लोभिएको ठाउँमा म फुत्त छिरें । वरुण सुसायो । सुस्केरा हरायो ।

भोलिपल्ट बरुण उपत्यकाको सेरोफेरो छिचोल्दै बाटो लाग्यौं । बाटैमा भेटिएका थेन्डुक भोटे र वाङ्जा भोटे । दुई युवा मेरा सहयात्री बने । खोलाको खोंच हुँदै लस्करै हिँडेका मान्छे भेटिन्थे । स्थानीय र केही कर्मचारीबाहेक यो ठाउँमा अरू मानिस देख्न मुस्किल थियो । भ्रमण वर्षको तामझामको बाछिटासम्म देखिएन । बाटैमा भेटिएकी थिई, १९ वर्षे तन्नेरी वर्षा भोटे । स्कुल बिदा भएको बेला चाइनासम्म काम गर्न जाँदिरहिछ । पैसा बटुल्यो अनि देश फर्कियो । भोलि बाटो बन्ला र चाइनाको छेउछाउमा मज्जैको होटल चलाम्ला भन्ने उसको दाउ थियो । सँगै हिँडिरहेको थेन्डुकले रेला हान्यो, ‘साहुनी मुसुक्क पैसा भुसुक्क ।’ हाँसो रन्कियो । बडेमानको स्पिकर बोकेको थियो थेन्डुकले । एकै बिसौनी नछोडी हामी नाँच्यौं । सबैको एकै थियो ‘फिलोसोफि’– मरेको भोलिपल्ट दुई दिन । झमक्कै साँझ पर्‍यो । चिप्लो अप्ठेरो उकालो आयो । बर्षाले मेरो हात च्याप्प समाई । समाएरै गाउँ पुर्‍याई । म उसले नदेख्ने गरी भावुक भएँ । भोटेको छोरीले मायाले समाई मेरो हात । यसै भनें मनमनै ।

झिलिमिली हुंगुंङ गाउँ देखियो । कादुरी भन्ने संस्थाले झलमल पारिदिएको रे । मलाई उनीहरूले एउटा होटलमा पुर्‍याएर छोडे । पसिनाले निथ्रुक्क भएको ज्यान लिएर चुलोकै छेउमा बसेँ म । ओदानसरि गाडिएर । साहुनी निमा लामा कोक्रोमा बच्चा लिएर पाउनाहरूका लागि खाना बनाउन लागिन् । तीन छोरीकी आमा । बिहान ६ बजेदेखि लगातार काममा छु भन्थिन् । आठ बज्दा फेरि अर्को लट पाहुना । उनले मलाई हेर्दै भनिन्, ‘रक्सी पार्नु बाँकी छ । साथी बसिदिनुस् है । थकाइले निद्रा आइसक्यो । एक्लै भए निदाउन थाल्छु ।’ बाटो बन्ला, बाटैमा घर बनाम्ला र अझै राम्रो होटल थापम्ला ! सपना उनको यही थियो । जेठी छोरीलाई हिलेमा बोर्डस राखेर पढाएका छन् । भनिन्, ‘भोटेको जातले पहिला पढेन । धेरै दुःख पायो । अब छोरीहरूलाई पढाउने ।’ यसैका लागि बगेको थियो उनको निधारमा पसिना, त्यो चिसोमा पनि ।

थेन्डुक र म बिहानै बाटो लाग्यौं । रोटी र चटनी खाजा बोकेर । दिनभरि हिँडेर किमाथांका नपुगी केही मिल्नेवाला छैन खानेकुरा । ओसिएको मौसम । पानीका छिटा । चिसोले गलेको मेरो ज्यान । हिँड्नै मानेन । लेकको उकालो सुरु हुनै लाग्दा मैले हापें यात्रा । थेन्डुक मलिन अनुहार लगाएर एक्लै बाटो लाग्यो । गाउँ फर्किएँ । गाउँकै नामी तेम्बा सरकहाँ पुगें । बातैबातमा मलाई हिम्मत नहार्न सुझाए तेम्बा सरले । किमाथांका महोत्सव गर्ने योजनामा लागिपरेका थिए उनी । भोटखोलाको हालखबर पुगे हुन्थ्यो देशैभरि, यही चाहन्थे । साँझ गाउँपालिका प्रमुख तेम्वा भोटेकहाँ पुर्‍याए । दुवैको नाम तेम्बा । मीतज्यूहरूका बीचमा बसी भोटखोला विवरण टिप्न थालें मैले । बिजुली आयो । बाटो बन्दै छ । खानेपानी पनि छ । वडावडामा कम्तीमा एउटा स्वास्थ्य एकाइ राख्ने धुनमा छन् दुई मीतज्यू । सञ्चारको सुविधा छैन । भोटखोला गाउँपालिकामा ५६ वटा गाउँ छन् । यति गाउँमा २३ विद्यालय छन् । छोरीहरू स्कुल जाने क्रम बढेको छ । अँध्यारो मुक्त हुने क्रममा छ । मोटर नपुगेकाले हो कि पर्यटनको चमक भने देखिँदैन ।

‘चाइनासँग बाटो जोडेपछि उताको सामान ओसार्ने मात्रै कि यताबाट पनि उता पठाउने ? कुनै बेलाको तिब्बत–नेपाल व्यापारको चमक यो राजमार्गले फर्काउला त ?’ प्रश्न सोझ्याएँ मैले । प्रमुख बोले, ‘अलैँची र कोदोको पकेट एरिया । तरकारी पनि राम्रो फल्छ । चाइनाको खानेकुरा र तरकारीको स्वादै गतिलो छैन । हामीले उनीहरूको बजारमा पठाउने धेरै कुरा हुन सक्छ ।’ जडीबुटी छन् निकैथरीका । नामी छ, भोटे लसुन । कृषिमा क्रान्ति गरेर चाइना–नेपाल व्यापारको हब बनाउने सुनौलो सपना कापीमा लेखेर देखाए गाउँपालिका प्रमुखले ।

एक जना तेम्बाको उपनाम प्रमुख । अर्का तेम्बा सर । अब तेम्बा सर जोसिएर बोले, ‘केही नहुनेले सिस्नोको पात भए पनि बेचौंला भनेर बसेको छ । बाटो मात्र बनोस् न ।’ कसैको ठूला–ठूला योजना हत्याउने दाउ ! कसैको ठूलै होटल व्यवसाय चलाउने ! तेम्बा सर पनि सानदार होटल व्यबसायको दाउ बुनेर बसेका छन् । आफ्नो हैसियतअनुसारको दाउ मुठीमा थुनेका छन् मानिसहरूले । ‘मनाङ र मुस्ताङका शेर्पाजस्तो भोटखोलाको भोटेले हाँक्ला त उन्नति ?’ प्रमुखले राजनीतिक जवाफ दिँदै थिए । तेम्बा सरले थपे, ‘यताको भोटेहरूलाई उता लानुपर्छ । देखाउनु–बुझाउनुपर्छ । एक्सपोजर भिजिट भन्छ नि ।’ उनले अंग्रेजीमा जवाफ दिए । गाउँपालिका प्रमुख बोले, ‘चाइनाका राष्ट्रपति आए । नेपाल–चाइनाको धेरै ठाउँको नाकाको कुरा पनि भयो । किमाथांकाको कोही नामै लिँदैन । चाइनासँग नाता–साइनो जोडिएको, सम्धीज्यू, सोल्टीज्यू भएको नाका ! सबैभन्दा छोटो र छरितो नाका पो त ।’ कान्ला कान्लामा, पाखापाखामा चाइनालाई बेच्न सक्ने खजाना लुकाएर बसेको छ भोटखोला, भन्छन् मान्छेहरू ।

बिहानै उठें । बाटोको नक्सा लिएँ । लेक हापें । गाउँको बाटो चल्दिएँ । सिमसिम गर्दै थियो मौसम । हुंगुंङ गाउँबाट अब चेपुवा पुग्नु छ । कैले खोंच कैले उकालो हिँड्दै थिएँ । चौतारीमा भेटिए, दुई कलिला भरिया । अब उनीहरू साथी बने । फेरि अर्को चौतारो आयो । बिसायौं । परबाट दुई मान्छे आए । मलाई नियालेर हेरे । खबर टिप्न हिँडेकी केटी भनेपछि, गाउँको खबर बताउन तयार भए । नोर्चे भोटे आफैँ अघि सरे । उनी चेपुवा स्वास्थ्य चौकीका प्रमुख । के गर्ला त बाटोले उनको क्षेत्रमा योगदान ? उनले बताए, ‘स्वास्थ्य उपकरण ओसार्न गाह्रो छ । औषधिसमेत बोकी ल्याउन झमेला छ । गम्भीर बिरामीलाई हेलीले नै ओसार्नुपर्नेछ । यति महँगो सुविधा गरिबको पहुँचमा छैन । सदरमुकाम धाउने उपचार यतै गर्न पाइन्थ्यो । बाटो भए कमसेकम चन्दा उठाएरै भए पनि बिरामीलाई परको अस्पतालमा पुर्‍याउन पाइन्थ्यो ।’ केहीबेर कुरा गरे । ‘स्वास्थ्य बिग्रेजस्तो छ, ख्याल राख्नू है’ भन्दै बिदा भए ।

अब फेरि दुई भरिया गोरे र भुवन बाँकी रहे । उनीहरू अरुण खोलाको किनारमा साहुको अलैँची टिप्न हिँडेका । रमाइलो फाँट आयो । परपर कुहिरो उड्यो पहाडमा । वरिपरि कोदो झुलेको थियो । बीचमा चुटुक्कको बाटो लुकेको थियो । हामीले बिसायौं । एकै छिन सँगै बस्यौं । खाजा बाँडेर खायौं । भुवनले बिरह पाख्यो, ‘मलेसिया गएको थिएँ । साह्रै कष्ट भयो । आमासँग निकै बेर फोनमा रोएँ । अनि एक दिन देश फर्किएँ ।’ यति भनिसक्दा मौसमजस्तै ओसिलो भयो ऊ । ‘अनि अब ?’ मैले सोधें । ‘दिदी धन पो छैन, मन त छ नि । बाटो बनेपछि जिप चलाउन पनि सक्छु । त्यति गर्न पाए बिहा गर्थें । बूढीले होटल थाप्थिहोला ।’ सपना बताएर लजाउँदै मुस्कुरायो २२ वर्षे तन्नेरी ।

दोबाटो आयो । हामीलाई छुटायो । उनीहरूले दिएको चाइनिज बिस्किट मैले झोलामा हालेँ, मायाको बासनासहित । निकै बेर एक्लै हिँडें । उकालोमा स्याँ–स्याँ गर्दै थिएँ । पछाडिबाट कोही आयो नजिकै । उसको र मेरो पुग्नुपर्ने ठाउँ एउटै– च्याम्टाङ गाउँ । बीचको चेपुवा हुँदै लिंगम गाउँ पुगियो । यसलाई मानिसहरू भोटखोलाको सानो काठमाडौं भन्दा रहेछन् । उपत्यकामा लुपुक्क परेर बसेको सुन्दर गाउँ । झरीको लुकामारीमा परपर उडेको कुहिरोले झनै सुन्दर पारेको ।

एउटा होटलमा एक हूल कामदार तोंग्वा तान्दै थिए । एक छिन बिसाएपछि म उनीहरूको मन भर्न थालें । समूहका एक किटोक भोटेले भने, ‘बाटो बने त के मा पो फाइदा नहोला र हाउ ! जिन्दगी नै बदलिएला नि ! हाम्रो कामको सामान ओसार्न सजिलो होला । पैसा जोगिएला । हजार रुपैयाँ बोराको सिमेन्टलाई ६ हजार तिर्नुपर्छ । उता १५ सय बोरा पर्ने जिरा मसिनो चामल यता ६ हजार पर्छ । कमाएको पैसा पनि खानपानमै सकिन्छ ।’ धरान र काठमाडौंकै धनी मान्छेसँग प्रतिस्पर्धा गर्नुपरिरहेको थियो, उनीहरूको सानो कमाइले । हिँड्नै लाग्दा एक प्रौढले हातै जोडेर भने, ‘बाटो कुरा पुर्‍याइदिनू बिन्ती ।’

च्याम्टाङ पुग्दा रातै पर्‍यो । भोलिपल्ट झरी बिसायो । सूर्य उदायो । अलमल सकिएन । साथी भेटिएन । यही गाउँमा आएर रोकिएको थियो बाटो । च्याम्टाङ गाउँदेखि छुम्सुर गाउँसम्म तन्किएको भीर जिंग्रिङ्ग उभिएको थियो, सांग्व्वा भीर । सेनाले भीर फुटाउँदै छ । सेनाको घर बन्दै छ । कामदार र ठेकेदारको कुरा नमिलेर काम रोकिएको छ । नेताहरूले मुल सडक आ–आफ्नै दैलोमा पुर्‍याउने प्रपञ्च रचेकाले कामले गति लिन सकेको छैन । दिक्क छन् गाउँले । अममलकै बीच दुई भलाद्मी मानिसलाई बाटोमा भेटें । शिक्षक रहेछन् जेवा भोटे । बाटोसम्म छोड्न आए । भीरको भूगोल बताए । बिस्तारै जानुस् छुम्सुर पुग्न सक्नुहुन्छ भनरे आँट भरिदिए । पकेटको स्काई फोन निकालेर दिए । भेट हुन नपाउँदै यो कस्तो बिश्वास ! जय होस् जेवा सर ।

तल कतै सुसाइरहेको अरुण नदीको आवाज, सरकसरक हुने सुकेका पातहरूको संगीत । सबै सुन्दै भीरको बाटो हिँडे, बिस्तारै बिस्तारै । डरमर्दो बाटोमा स्थानीयहरू खुकुरी भिरेर हिँड्छन् । म त यसै पुगें, छुम्सुर गाउँ । साँझमा गोरु खेद्दै गरेका मानिसको पछि लागेर उनकै घर गए । आगोको छेउमा बसें, उही ओदानी पोजमा । यही घरमा अरू दुई मानिस पाहुना रहेछन्, किमाथांका जान हिँडेका । अजिंगरको आहारा दैवले जुराएन त !

छुम्सुरदेखि किमाथांका पुग्ने बाटोलाई गाउँलेहरू बाँदर पनि नहिँड्ने बाटो भन्दा रहेछन् । कतिपय ठाउँमा आफ्नै जुत्ताले टेकेर बाटो बनाउँदै पनि हिँडे । भीर, पहिरोको के कुरा ! ब्यागप्याकसहित उल्टो झुन्डिएर, बाँसको जरा समात्दै पनि हिँडे । उकालो सकिएपछि रोड खनेको बाटो भेटियो । चाइना छुने रोड । यही बाटोले डोर्‍याएर किमाथांका पुर्‍यायो, साँझमा टुप्लुक्क । भिरालोमा फिँजारिएर बसेको किमाथांका गाउँ । ढुंगाका घरहरू, रंगीचंगी टिनका छाना । बार्दलीमा फूलहरू । पारि सुसाएको अरुण, अनि चाइनाको चाँगा बजार । आहा ! मलाई चेपुवा गाउँमा कसैले भनेको सम्झें, ‘यो नानीको ज्यान त हिँड्न सक्दैन रैछ, हिम्मत त माने हो ।’ ज्यानभन्दा अघिअघि मन हिँडेर आइपुगें । एउटा होटलमा छिरेर आगो ताप्दै थिएँ, हुंगुंङबाट छुट्टिएको थेन्डुक टुप्लुक्क छिर्‍यो ।
दिदी ! भन्दै नजिकै आयो, ‘तपाईं फर्किदैन भन्ने मलाई थाहा थियो । स्याउला लिन जाँदा डाँडाबाट हेरिबस्थें, दिदी कैले आउला भनेर !’ उसको मायाले मेरो त आँतै भरियो ।

होटलकी ८० वर्षे सिदर भोटे, चाइनाकी छोरी नेपालमा बिहे गरी आएकी । पारि चाइनाको मान्छेसँग यताको दोहोरी चल्छ रे ! पारिकाले भन्छन् रे, ‘तिमीहरू राजा नभएको, टुहुरोहरूजस्तो छ, विकास पनि छैन ।’ यताकाले फर्काउँछन् रे, ‘खान–लाउन पाएर मात्र के भयो, तिम्रो देशको हाकिमले भेडा–बाख्राजस्तो थुन्छ ।’ यति सुनाएर उनले भनिन्, ‘मो चाइनाको भए पनि नेपालकै पक्ष लिन्छा ।’ नेपालको सरकार कमजोर भयो । माइतीको अघि लाज भयो । ८० बर्ष भए पनि उनको मनमा एउटा ईख बाँकी छ, किमाथांकाबाट मोटर चढेर खाँदबारी पुग्ने । आफ्नै देशको अस्पतालमा उपचार गराउने । खाँदबारीसँग जोडिनु नै एउटा सपना थियो ।

भोलिपल्ट टहल्दै गर्दा स्थानीय दोर्चे भोटेले पारिको गाउँ देखाए । ठ्याक्क पल्लोपट्टिको पाखामा सानदार भवन थियो । ‘चाइनाको डेन्डाङ् नगरपालिका कार्यालय । लिफ्ट पनि छ । उनीहरूको लिफ्ट हाम्रो लिस्नो,’ यति भनेर उनी मज्जाले हाँसे । कस्तो लाग्ला त पारिको विकास हेरी वारि बस्नु ? मुख छोपेर उनले भने, ‘लाज लाग्छा ।’ बात मारिसकेर म गाउँको पाखातिर झरें । एक जना मानिस चौंरी जोत्दै थिए । म नजिक गएर कुरा गर्न खोजेको, उनले पो स्वाट्ट गोजीबाट स्मार्ट फोन निकालेर मेरै अन्तर्वार्ता लिए, ‘यो किमाथांका पाँच वर्षमा कहाँ पुग्छ भन त ?’ उनी वडासदस्य दमाई नावा रहेछन् ।

अर्को दिन होटलकी पेम्बा दिदीसँग भोटे लुगामा मेला भर्न हिँडेँ । चौंरी जोत्दै थिए केटामान्छेहरू । उवा छर्दै थिए महिलाहरू । पर्म लाउने परम्परा जीवितै थियो । ‘हामी चौंरी जोत्दै छ, पारितिर ट्र्याक्टर,’ एउटाले रेला गरे । सबै हाँसे । मेला भरे, भुटेको गहुँ र जाँडको नास्ता खाए । पारिको सरकारले घर बनाइदिनेदेखि बच्चा पढाइदिनेसम्म सबैथोक गर्छ । यता बाटोसम्म छैन । ‘चाइनातिर ठूला–ठूला घर भए के भो त, हाम्रोजस्तो खान लाउन जान्दैना । ट्वाइलेटमा आची बस्न जान्दैना,’ कोदालो बिसाउँदै पेम्बाले थपिन् । हाँसोले मेला रन्कियो ।

नेपाल सरकारको आँखाबाट कहाँ हो कहाँ छ– किमाथांका । यताका मानिसको मिहिनेत देखेर चाइनाको सरकार नै खुसी भएको छ । चाइनाले आफ्ना अल्छी जनताको सुविधा नै काटिदिएछ एक वर्ष । र, भनेछ– नेपालको मान्छेबाट सिक । एक पुस्ताबाट अर्को पुस्तामा प्राकृतिक जीवनशैली हस्तान्तरण भएको छ । औषधि उपचारदेखि रम्ने–रमाउने उनीहरूको आफ्नै विधि र नीति छन् । बजारको हावा नलागेको भोटखोलाको जीवन प्रकृतिसँगै टाँसिएर बाँचेको छ । कान्ला–कान्लामा दुःख उभिएको छ । उनीहरू हाँस्न र रेला हान्न छोड्दैनन् । रमाएरै दुःख जितेका छन् ।

अर्को दिन किमाथांका प्रहरीले मलाई पारि चाइना घुमायो । नदीमा लगातार डोजरको आवाज झर्कोलाग्दो थियो । प्रकृतिको दोहन गरी बिल्डिङ मात्रै उभ्याउनु विकास हो भनी किमाथांकाले नसिकोस् । बाटो आउनुपर्छ भन्नेमा अडिग भए पनि यसले ल्याउने विनाशसँग हाम्रा मानिसहरू सतर्क भने थिए । बाटैभरि चाइनाको चाउचाउको खोल र मानिसहरूको पाइतालामा चाइनिज जुत्ता देखियो । नेपाली चाउचाउ र जुत्ता किन नपुगेको होला यो भेगमा ! मनमा खल्लो लाग्दै थियो । यत्तिकैमा एक जना मानिसले बडेमानको भाँडोमा जाँड बोकेर पारि चाइना लैजाँदै गरेको देखें । उनले भने, ‘नेपालको कोदो र जाँड भनेपछि चाइनाका मानिस हुरुक्क गर्छा ।’ सन्तोष लाग्यो । सँगै हिँड्दै गरेकी २३ वर्षे पासाङले भनी, ‘तल गोलासम्म बाटो आाउँदा त हामीलाई राहत भएको छ । यहीँसम्म आइदिए त यिनीहरूको हेपाइ कम हुने थियो । कम्ती महँगो छ र !’ जो–जोसँग कुरा गरेँ, सबैको भाव एकै थियो । अर्काको दरबार हुनु र आफ्नो घर हुनु फरक छ । अर्को देशमा भर पर्न मनले मानेको छैन ।

पारिबाट फर्केर आउँदा होटलभरि एक हूल युवा थिए, तोंग्वा तान्दै गरेका । उनीहरू पारि चाइनाबाट फर्केका रे ! राति चाइना–नेपाल गेट च्यातेछन् । ज्यानको माया मारेर खोला किनारै–किनार चाइना पुगेछन् । लेबर काम गरे । पैसा कहीं पाएनन् । कतै हिउँमा टिक्न सकेनन् । सबै छोडेर उनीहरू फर्के । चाइनाको सय, नेपाली सोह्र सय । यही लोभमा काम गर्न जाने मानिसको लर्को दिनकै भेटिन्छ । वैधानिक रूपमा रोजगारमा जाने कुनै सरकारी योजना छैन । केही परे जिम्मा लिने कोही छैन । मेक्सिकोबाट भागेर अमेरिका जानेहरूको जस्तै हाल रहेछ किमाथांकामा ।

अर्को दिन लेक पार गर्दै, फेरि ओरालो झर्दै १२ घण्टामा हुंगुंङ गाउँ फर्किएँ । राति दुर्घटनामा परें । खुट्टा अशक्त भयो । पाँच दिन थलिएर बसें । दुःख हेरेर पुग्दैन, भोग आफैं, भनेझैं लाग्यो प्रकृतिले । प्रदेश नम्बर एकका योजना प्रमुख र स्थानीय सरकारको पहलमा ट्र्याक्टर जोहो भयो । पाँचौँ दिनमा घिस्रिएर ट्र्याक्टरतिर लाग्दै थिएँ । किमाथांकामा भेटिएकी पासाङ नै मलाई डोर्‍याउँदै थिई, ‘दिदी यता त यस्तै हो, उपचार गर्न लिएर गएको मानिसलाई सेलाएर आउने हो । हेली बोलाए पनि आाउँदाआउँदै मान्छे मरिसक्छ । मेरो बा पनि त्यसैगरी बित्यो ।’

बरुण उकालो लागेपछि भोटखोलालाई निषेधित क्षेत्र मानिएको छ । हेलिकोप्टरले पनि अनेक प्रक्रिया छिचोलेर आउनुपर्छ । म ट्र्याक्टर चढें । ऊ बिदा भई । विकराल छ बाटो । दसघण्टे ट्र्याक्टर यात्रामा चालक सुनील गुरुङले भने, ‘दुर्घटनाको कुरा भइरहन्छ । तर, डराएर के गर्ने दिदी, कर्मले जहाँसम्म पुर्‍याउला त्यहीँसम्म जाउँला । तापाईं पनि कर्मकै कारण यो हालतमा ट्र्याक्टरमा हिँडेको छ ।’ कहिले बन्ला नि बाटो !

भोटखोलाका स्थानीय नागरिक सुक्खा बन्दरगाहका लागि जमिन दिन तयार छन् । चाइना अघि सर्न तयार छ, बाटो बनाउन । काठमाडौंको सरकारसँग बलियो गरी बोल्न अरुण नदीपट्टिका मानिसको पहुँच कमजोर छ । नाका महोत्सव गर्न लागिपरेका स्थानीय अगुवा तेम्बा नावा काठमाडौंमा भेटिए । उनीलगायतको टिम लगातार प्रयत्नमा छ । तर, काठमाडौंलाई यो कुरा सुनाउन हम्मे–हम्मे परेको छ । राष्ट्रपतिसँग भेट ढोकैमा पुगेर रोकिएको सम्झेर उनी खिन्न भए । भने, ‘सरकारले किमाथांकालाई नेपालको एपेन्डिक्स मान्छ होला ।’ तमोर नदीपट्टिका मानिस राजाका पालामा मन्त्री थिए । दुई–तिहाइको सरकारमा मन्त्री छन् । अरुण हाँगोका मानिसको आवाज काठमाडौं आउन नपाउँदै बिलाउँछ । ल्हासाबाट सबैभन्दा छोटो नेपाल जोड्ने नाका यही हो । नेपाल र नेपालीको आर्थिक व्यापारको सम्भावना बढाउने नाका यही हो । यही छायामा छ । पुतलीको लार्भाजस्तै लुकेर बसेको उत्साहको पोको फुकाउन आतुर छन्, मानिसहरू । यस्तो सामरिक महत्त्वको नाका कहिले खुल्छ होला ! भोटखोलाले पर्खिरहेछ ।


प्रकाशित : पुस १२, २०७६ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×