‘सुनाइदेऊ हाम्रा चौरी मरेका कुरा’- कोसेली - कान्तिपुर समाचार

‘सुनाइदेऊ हाम्रा चौरी मरेका कुरा’

सरला गौतम

काठमाडौँ — भुइँचालोका बेला जाजरकोट, रुकुम हुँदै डोल्पा पुगेकी थिएँ । १५ दिन गाउँ–गाउँ डुल्दै हिँडें । गाउँलेका घरमा, कहिले मन्दिरमा, कहिले ब्यारेकमा बास पर्‍यो । दुनै बजार पुगें । सामुन्ने घरमा थिए– थिन्ले दाइ ।

तन्नेरी भएका भए ‘झ्यालबाट हेरेको तिमीलाई’ भन्दै गीत गाउँदा हुन् कि ! भेटको सुरुमा त उनले मलाई खासै बाल दिएनन् । काठमाडौंमा घरमा लगेर चियर्स गर्दै, क्याराभान हेर्दै अन्तर्वार्ता लिएको सम्झाउँदा पनि उनले गनेनन् ।


म फोक्सुन्डो पुगेर फिरेपछि भने ट्वाल्ल हेरे । हामी पाँच दिनका लागि छिमेकी थियौं । बजारको बीचमा बसेर बात मार्‍यौं । गिलिल्ल हाँस्यौं । गर्दियौं तमासा । अनि उनले भने, ‘तिमी अझै माथि जानुपर्ने । चौंरीको बिजोक हेर्नुपर्ने !’ एक छिनमा रिस र जोस मिलााएर भने, ‘पहिलो नम्बरमा प्रचण्डा, दोस्रो बाबुराम, तेस्रो सुशील कोइराला, चौथो शेरबहादुर अनि रामचन्द्रालाई गएर भन्देऊ, हाम्रो चौरी मरेको कुरा । डोल्पामा बाटो नआएको कुरा ।’ थिन्लेलाई मैले भनिनँ– सिंहदरबारमा खबर टिप्न जाने हूलमा मिसिन मन लाग्दैन थिन्ले दाजु ! भीर–पाखामा नेता भेटिँदैनन् । बाटो बाटो भन्दा–भन्दै बाटोमै लडेर परलोक भए थिन्ले दाइ । जीवन भन्नु फगत एक

सम्झना ! आफ्नो जिल्लाका लागि उनले देखाएको चासो भने मनमा खील बनेर रोपिएको थियो ।

00000

केही दिनअघि बाबुराम भट्टराईसँग एउटा पुस्तकको विमोचनमा भेट भयो । उनीसँगको मतभेद र दुखेको हृदयलाई एकै छिन छेउ लाएँ । थिन्ले दाइको कुरा सुनाइदिएँ । अरू कति थिन्ले र डोल्माका कुरा त मनबाट निस्केर पहरामा ठोकिँक्दो हो, उनीहरूतिरै फर्कंदो हो । लेखक गंगा श्रेष्ठको ‘मध्य(पहाड यात्रा’ पुस्तकको पानाहरू पल्टाउन थालें । हरेक पानामा बोध भयो– लेखन र राजनीतिका लागि यात्रा प्राण–वायु हो । बोधो भएको लेखक र राजनीतज्ञ जब ‘आम’ भनिने मानिसको आँगनमा पुग्छ, अनि ‘खास’ भएर फर्कन्छ । संसारभरिका विद्वान्को नाम कण्ठ पारी बसेको लेखक आफ्ना ठाउँ र मानिसका मनको बात नजानेर रनभुल्ल हुन्छ । जब गाउँ पुग्छ, गाउँलेले भरिदिन्छन्– स्वादिला लोक ज्ञान, दर्शन र विम्बहरूले । भुत्ते भएको ज्ञानको खुकुरीमा दाउ लाएर फर्कन्छ । आफ्नो माटोमा उब्जेको ज्ञानको स्वादभन्दा मीठो के हुन्छ यो लोकमा !


पुस्तकको सुरुमै लेखकले अब जनतालाई सुन्न जाने पालो भनेका छन् । सुनाउन मात्र हिँडेका, सुन्न नमान्नेलाई कारबाही गरेका पार्टीका मानिसको यतिको बोध नै स्वागतयोग्य लाग्यो । सापटी दर्शनको बोझ बिसाएर मौलिक दर्शन बोकेर फर्केलान् भनी पाठक मन आशावादी बन्छ । नागरिकलाई सुन्न जाने कामलाई ‘महान् कार्य’ भनेको चित्त बुझ्दैन । यो त आधारभूत कुरा हो । आफ्ना मानिसलाई नसुनेकै कारण खिया लागेका छन् हाम्रा मगन्ते दर्शनहरूमा ।


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोली खोटाङको जनजागृति विद्यालय पुग्छ । परम्परागत शिक्षा प्रणालिलाई नगनेर आफ्नै व्यावहारिक शिक्षा प्रणालिमा रमाएको विद्यालय । बारीमा काम गरिरहेका, सुंगुरलाई चारो हालिरहेका, भवन निर्माण गरिरहेका, विद्यार्थीहरू मस्त छन् । नबोली भनिरहेछन् लेखकको टोलीलाई, ‘हेर यस्तो हुन्छ वैज्ञानिक शिक्षा प्रणाली । भाषण र नारा छोड, कर्म गर मानिस कर्म ।’ यस्तो व्यावहारिक वैज्ञानिक शिक्षा सबैतिर फैलिए ! म आफैं कल्पन्छु ।


लेखक टोली धनकुटा नगरपालिका–६ सल्लेरी वनको स्यानिटरी ल्यान्ड फिल्डमा पुग्छ । फोहरको थुप्रोमाथि बगैंचा देख्छ । वातावरणीय चेत घुसेको छैन हाम्रो राजनीतिमा । विकास भन्नु केवल भौतिक संरचना भन्ने बुझेको राजनीतिक दर्शनले हामीलाई कहाँ पुर्‍याउला सम्झेर कहालीलाग्दो छ । यस्ता बगैंचाले भने होलान् कि जाऊ टोली, अरू धेरै ठाउँमा यस्तै हाम्रा साथी बगैंचाहरू बनाऊ । विकास बाँच्न पनि त मानिसले सास फेर्नैपर्छ नि !


एकमहिने यात्रामा लेखक र टोलीले कतै कृषि रोड घुमेको देखे । कतै मूल मार्ग नै बटारिएको देखे । स्थानीय नेताज्यूहरूको दैलोमा जानुपर्‍यो सबै कुरा । जनताले सहने सास्ती र ढिलासुस्ती त दाल–भातजस्तै सामान्य भयो । स्थानीय बदमासीमा नजर नपुर्‍याई केन्द्रीय बदमासीको लेखाजोखा अपुरो हुनेछ । मेरो सम्झनामा दुई कुरा आए, एक भर्खरै पुगेर फर्केको किमाथांका जोड्ने कोसी ल्हासा राजमार्गको ढिलासुस्ती, अर्को भुइँचालोको बेला डोल्पा पुग्दा भेरी नदीमा पल्टिरहेको युवकको मृत शरीर ।


भेरी नदी किनारको होटलमा मानिसहरू साउती गरिरहेथे, ‘जीविसमा भ्रष्टाचारको कुरा उठाउने केटोलाई त मारेछन् । लास किनारमै छ रे !’ मन चिसो भएथ्यो मेरो । नदीतिरबाट बहँदै आएको बतासले रिस भरेर आफ्नै गालामा थप्पड हानेझैं लागेको थियो । नजाने कति कुरा यसरी हावामा आउँछन् र जान्छन् । हिसाब राख्ने फुर्सद यहाँ कसलाई ? भ्रष्टाचारको रकमलाई सुपाडी भन्थे थिन्ले दाइले । सुपाडीको चाँगै लागेका दृष्टान्तको खोजी अपुरो छ । गंगा श्रेष्ठले ‘मध्य(पहाड यात्रा’ पुस्तकमा इन्द्रसरोबर नदीको बिजोग बताएका छन् । नदी कोपरेर नअघाएका दुष्टहरूको प्रसंगले आँत पोल्छ ।


केही समयअघि नदी दोहन जोगाउन धनुषाका दिलीपकुमार महतो लागिपरे । बदलामा माफियाहरूले ज्यान लिएको समाचार आयो । यो केस कहाँ पुग्यो, अहिले समाचारमा ओझेल परेको छ । दिलीपको केस त केही हदसम्म भए पनि चर्चामा आयो । भेरी नदीमा एक्लो पल्टिरहेको त्यो युवकको मृत शरीरले के भन्दो हो हामी पत्रकार र नेतालाई ! देशैभरि कति मानिस होलान्, जो बेखबर एक्लै लडिरहेका होलान् ।


लेखकले रुकुमको चौराजहारीमा सिँचाइ र पुलको प्रसंग निकालेका छन् । एउटै पुलमा बीस वर्षदेखि राजनीति घुमिरहेको छ । ‘धारा बन्ला भनेर बालुवा बोक्दाबोक्दा तालु खुइलियो । पानी आएन,’ धादिङको ताल्ती गाउँका एक प्रौढ सम्झन्छु । दलीय गन्जागोलमा अल्लेको विकास गाँठो कसिलो छ । केन्द्रले बेवास्ता गर्‍यो भन्ने एकोहोरो रटानले मात्र पुग्दैन । स्थानीय बदमासीलाई सफा पार्न, त्यसको खोजीनिदी आवश्यक छ । यसैका लागि ‘हाम्रो गाउँमा पत्रकार आउँदैन । हाम्रो गाउँमा नेताले पाइला राख्न भ्याउँदेन,’ यो नयाँ उखान बदलिने बेला भएको छ ।


अक्सर लामो–लामो पदयात्रा गरेको हुनाले म पुस्तकमा पदयात्राको स्वाद खोज्दिरहेछु । लोपोन्मुख भएको छ हाम्रो पदयात्रा । योसँगै, लोकसंगीत, संस्कृति, खाना, रिवाज र परम्परा मात्र हराउँदै छैन । हराइरहेको हाम्रो लोकदर्शनको माया लागेर आउँछ । लोक दर्शन मिसिएका नीति भए कति जाती हुन्थ्यो । कति बाटाहरू हामीलाई एक्लै पर्खिरहेका होलान् ।


जब आउँछ पानाहरूमा, सिन्धुलीको जुनार, धनकुटाको काउली, कागते बजारको कागती, लसुने बजारको लसुनको कथा, हैसियतको बोक्रा फालेर लेखकको टोली लसुन पोको पार्न दगुर्छन् । रमाइलो लाग्छ, बचपना । बालक हृदय फेरि जागे मात्रै नयाँ कुरा लेख्न सकिएला । ठाउँठाउँमा किसानका कुरा सुन्ने मेसो पनि जुराउँछन् । समस्याका गाथा सुन्दा आत्तिएका छन् मानिसहरू । समाचार हेर्‍यो कि अपराध कि भ्रष्टाचार । नेताको कुरा सुन्यो अर्कोलाई गाली मात्र छ । छैन, छैन, हुँदैन, हुँदैनको आतंकले वायुमण्डलग्रस्त छ । ठाउँ–ठाउँका कृषि सम्भावना र तिनले ल्याउन सक्ने व्यावसायिक उन्नतिमा काम हुन्छ कि भन्ने आस पलाउँछ । एअरपोर्टको लामो लाइन छोटिँदै जाला कि, चम्किएको बाकसमा अस्ताएका सपना फर्कने दिनहरू सकिएलान् कि !


मानिसहरूलाई आफ्नो देश परदेश भएको छ, परदेश देश । ‘नेपालको कमाइले चिया खान्छौं भारतको कमाइले जीवन धान्छौं’ भन्थे सुदूरपश्चिमका नागरिक । लेखकले भेटेका चिवाभञ्ज्याङका एक नागरिकले गाउँको खबरसँग बेखबर भएको बताउँछन् । उनको काम काठमाडौंमा धेरै पर्छ । विकेन्द्रीकरण कागजमा मात्र भएको छ । सिंहदरबार गाउँगाउँमा भनेको, सिंहको पुच्छर पनि पुगेको छैन भन्छन् अचेल ठाउँठाउँमा । गाउँ परपर काठमाडौं वरवर छ देशको धेरै भागमा । यो दैनिकी नागरिकको काँधमा कति बोझ हुन्छ होला, बोध गर्न सकिन्छ ।


च्यांगथापुका नागरिकले लेखकको टोलीसँग आफ्नो सास्ती बिसाउँछन् । सीमाको बाटो जोडिए हुन्थ्यो भन्छन् । सिक्किम, बंगाल र नेपालको सिमाना फालोट जम्मा सत्र किलोमिटर पर छ । यो बाटो खुले नेपालीले लाभ लिन सक्छन् । केही महिनाअघि पुगेको किमाथांका सम्झन्छु । चाइनाको सीमासम्म बाटो पुगे के–के मात्र गरौंला भनेर पर्खेका मानिसहरूको उत्साहको झल्को आउँछ ।

टोली झुलाघाट नाकामा गएर नागरिकका पीर–मर्का र व्यावसायीक अप्ठेरोका कुरा सुन्छन् ।


बाबुराम भट्टराईले ‘संसद्मा कुरा उठाउँछु’ भनेको जिम्मेवार प्रतीत हुन्छ । दुई देशको बराबरी सम्बन्धको कुरा काठमाडौंमा गर्न सजिलो छ, नाकामा एक छिन उभिन हामीलाई हम्मे छ । सिमानाको प्रसंगले म वनबासा नाका पुग्छु सम्झनामा । पचास रुपैयाँको गुँड (सख्खर) किन्दा पैसा जोगाई–जोगाई किन्छन् नेपालीहरू । ठाउँठाउँमा अपमानित हुँदै लुटिन्छन् एकै छिनमा । राज्यका नम्बर नम्बरका जिम्मेवार अंगहरू त्यहाँ उभिनुपर्ने होइन र ?


‘जनयुद्धका’ दिन सम्झेर लेखक भावुक पनि हुन्छन् । २०६० सालमा तेह्रथुमको संक्रान्तीमा कुकर बम पड्केको प्रसंग छ । पूरै घर ध्वस्त भएको र एक किशोरीको ज्यान गएको हुन्छ । ‘युद्ध कति निर्मम हुन्छ । सानासाना असावधानीले कत्रा विपत्तिहरू लिएर आउँछन्,’ विरक्त भएर युद्ध सम्झेपछि अर्को प्रसंगमा उनीहरूकै युद्धको कारण सबै बद्लिएको भन्छन् । राजीखुसीले युद्धमा हिँडेकालाई त कहाली थियो ।


जबरजस्ती घिसारिँदै मारिएकालाई त्यो ‘जनयुद्ध’ के थियो ? लेखक र उनका नेता बाबुरामले कुनै दिन आत्मालोचना गर्ने नै छन् । जनयुद्धको सेल्टर मानिएको लुकुम गाउँ पुग्छन् लेखकको टोली । बेनी फौजी कारबाहीको तयारी गरिएको ठाउँ हो यो । लेखकले बेनीको एक ठाउँमा गोलीले छेडिएको पोलमा उभिएर तस्बिर खिच्छन् । मेरो मन गहिरो पीडामा जान्छ । एक छिन मन मस्तिष्क हल्लन्छ । बल गरेर निस्कन्छु यो दृश्यबाट । कति निर्दोषको छाती छेडेर गए ती गोलीले । लेखकलाई जस्तो मलाई गर्व लाग्दैन ।


न्यायिक निरुपणको सवालमा उनले यो राजनीतिक निर्णयबाट टुंगो लाउनुपर्छ भनेका छन् । यसो भन्न मिल्ला ? पीडितहरूले

आफ्नो घाउ बिर्सन नसकेर बोलिरहेछन् । सरकार र बिपक्षी दुबै मिलेर एकपक्षीय निर्णय थोपर्न मिल्दैन । मंगलसेन दरबारको ऐतिहासिक र पर्यटकीय महत्त्व सम्झाउँछन् अर्को पानामा । यो ध्वस्त भएको दरबार पुनर्निर्माण गर्न सरकारलाई दबाब दिने कुरा गर्छन । कस्तो नमिलेको । ध्वंस आफूले गर्ने पानीमाथिको ओभानो भएर अरूलाई उपदेश दिने । लेखकसँग विमतिमा उभिन्छ मन ।


संकीर्ण राजनीतिक चेतसँग लेखक पनि थाकेको देखिन्छ । ठाउँठाउँमा, मारिएका आफ्ना कार्यकर्ता र सेनाप्रति बराबरी संवेदनशील भएका छन् । यो भने सकारात्मक कुरा हो । सिन्धुलीमा पुग्दा, आठ सालमा दिल्ली सम्झौताको विरोध गर्दा मारिएका नेपाली कांग्रेसका बाबुराम बरालको सालिक देखर प्रसन्न भएका छन् । कांग्रेस, एमाले र माओबादीले सहिदप्रति देखाएको साँघुरो भावनाप्रति दुःखी भएका छन् । यही साँघुरो स्कुलिङकै कारण नेपाली राजनीतिमा वैचारिक विविधता नअटाएको कुरामा लेखक खुल्दै गएका छन् ।


देशका हितका लागि ज्यान दिने सबै विचारका सहिदप्रति उनले देखाएको सम्मान मन छुनेछ । ‘जनयुद्धको’ गढ रुकुमको लुकुम गाउँ बदलिन नसकेकोमा मन दुखाएका पनि छन् । बाबुरामले सहिद परिवार भेटेका र सद्भाव देखाएका पनि छन् । तर, यतिले पुग्दैन । किन बद्लिएनन् गाउँहरू त यतिका मानिस बलि चढ्दा पनि । आत्मबोध अझै गहिराइमा पुग्नैपर्छ ।


राजनीतिक ताता–पिरा कुराबाहेक लेखक हृदय चञ्चल छ । खोटाङमा रातभर साकेला नाच्न नपाएकोमा चुकचुकाउँछन् । दस वर्षअघि भेटेको कालीकोट रेडियोको एउटा ठिटोको सम्झना उभिन्छ मेरो मनमा । उसले भनेथ्यो, ‘हिजो बच्चैमा जनयुद्धमा हिँडियो । जनवादी गीतबाहेक केही सुन्न पाइएन । आज मन लागेको गीत सुन्छु । मेरा लागि उदितनारायणको ‘मलाई यो जिन्दगीले चोट दियो गनीगनी’ भन्ने गीत बजाइदिनू है ।’ मान्छेले मनको रङ कहाँ लुकाउन सक्छ र !


भ्रमण टोलीसँगै हिउँमा रमाउँछन् । फोटो खिच्छन् । लोकभाकाको बखानमा भुल्छन् । ‘बाटो हानिएर तल झयो,’ ‘रिसले टुप्पीबाट धूवाँ आयो’ भनेका छन् । यस्ता अभिव्यक्तिले नियात्रामा जीवन भरेका छन् ।


हिजोको दिनमा कांग्रेस–कम्निस्टवाला पानी बाराबारको राजनीति गाउँगाउँमा छिर्‍यो । दलीय राजनीतिको एक रमाइलो दृष्टान्त भेटिन्छ पुस्तकमा । गोरखाको घ्याम्पेसालमा लेखकको टोली पुग्छ । यो ठाउँ कांगेसको गढ मानिएको ठाउँ हुन्छ । सबका सब व्यापारी पसल बन्द गरेर पिकनिक खान जान्छन् । आफूलाई सुन्न तयार नभएको जमातप्रति उनी आक्रोशित भएका छैनन् । बरु रमाइलोसँग कांग्रेस कम्निस्ट मनोभाव बयान गरेका छन् । यसले अब गरिने राजनीतिको क्षितिज फराकिलो होला कि, आस गर्ने ठाउँ दिन्छ !


हतारहतारमा रेल छोप्न दौडिएको जस्तो यात्राबाट पनि लेखकले धेरै कुरा टिपेका छन् । जनतालाई सुन्नुपर्ने जति भने सुनेका छैनन् । राजनीतिक संकीर्णताको काँडेतार चुँडाउन चाहेको मनोभाव भने ठाउँठाउँमा बुझिन्छ । योजनाबद्ध ढंगले गरिएको यो प्रयास प्रशंसालायक छ । सामाजिक सञ्जालको लाइक र सेयरको भरमा वैकल्पिक राजनीति गर्न तम्सने जमाना छ । लेखकको टोली हिउँ र सिरेटोले सेकिँदै नागरिकको दैलोदैलोमा पुगेको छ । अहिलेका लागि यही सुरुआत नै काफी देखियो । बाँकी गहिराइको यात्रा र आफ्नै माटोबाट निक्लिएको राजनीतिक दर्शन भने अझै पर्खाइको विषय हो ।

प्रकाशित : चैत्र १, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्

‘भोलि’ नभएकाहरूको बोली 

रमेश सायन

दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो ।यसपल्टको हिउँद जान लाग्यो । मधेसमा शीतलहर चल्यो । उसै गरी बित्यो बर्खा । मधेसमा बाढी आयो । तर, उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ । शीतलहर चल्छ । अर्को वर्ष बर्खा हुन्छ । बाढी आउँछ ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो । भोलि आजै आउँदैन ।’

विनोद ब्यादा र उनकी श्रीमती । विनोद चराको सिकारमा जाने तयारीमा छन् । श्रीमती ‘माग्ने काम’ गर्न जाने तयारीमा छिन् ।

यिनीहरू को हुन् ?
सहरतिर काखीमा बच्चा च्यापेर पैसा माग्ने महिलाहरू हुन् । पैदलयात्रुको खुट्टा समातेर भीख माग्ने केटाकेटी हुन् । सहरको ट्राफिक जामभित्र पसेर कारको ढोका ढकढक्याउँदै कचौरा थाप्नेहरू हुन् । गाउँगाउँमा ‘पन्ना’ को भेषमा भविष्यवाणी गर्नेहरू हुन् । भविष्यसँग डराइरहेका ‘डरपोक’ हरूलाई समातेर ईश्वरको नाममा दान लिनेहरू हुन् ।

देश दुनियाँ कहाँ पुग्यो ? दुनियाँ के गर्दै छ ? के हुँदै छ ? स्कुल, कलेज र विश्वविद्यालय कहाँ छ ? यी सब कुरा थाहा पाउने जिम्मा अरूको हो । उनीहरूको जिम्मा माग्नु हो । बाँच्नु हो । पुर्खाले काम गर्न सिकाएनन् । माग्न सिकाए । अहिले उनीहरू आफ्ना कलिला नानीहरूलाई पनि माग्न सिकाउँदै छन् ।

हाम्रा लागि तिनको जिन्दगी, जिन्दगी लाग्दैन । तिनको भावना, भावना हुँदैन । तिनको खुसी, दुख्ख, सुख्ख हाम्रा लागि केही हुँदैन । समाजमा माग्नेहरूको कथा, कथा हुँदैन । ती हाम्रा अक्षरभन्दा पर, शब्दभन्दा टाढा । अवाजभन्दा भिन्न । दृश्यभन्दा फरक । चेतनाभन्दा तल लाग्छन् । उनीहरूका लागि माग्नु नियति होइन । माग्नु परम्परा हो । माग्नु पाप होइन । कर्म हो । धर्म हो ।
00000
म थुप्रै क्याम्पमा पुगें । उनीहरूसँग बसें । कथा सुनें । तीमध्ये जदाहा गाउँपालिका मोरङमा भेटिएका केही हँसिला र रसिला पात्रबारे लेख्छु ।
विनोद ब्यादा बिहान दस बजे लठ्ठी तिखारिरहेका थिए । मैले नमस्ते गरेँ । उनको अनुहारको भाव फेरियो । आत्तिए । फेरि नमस्कार गरें । त्यसपछि हतारिँदै नमस्कार फर्काए ।
‘किन डराउनुभएको ?’
‘अहिलेसम्म मलाई कसैले नमस्कार
गरेको थिएन... !’
‘यो के बनाउनुभएको हो ?’
‘लठ्ठी ।’
‘यसले के गर्छ ?’
‘चरा मार्छ ।’

उनीहरू चराको सिकार बडो कलात्मक ढंगले गर्छन् । एउटा लठ्ठीको टुप्पामा तिखो भाला राख्छन् । त्यसपछि एक लठ्ठीमाथि अर्को थप्दै थप्दै भुइँबाटै रूखको टुप्पामा बसेको चराको छातीसम्म पुर्‍याउँछन् । मुटु भालामा परेपछि मात्र चराले चाल पाउँछ– ‘आफू मर्दै छु !’ (पज्छीलाई माया गर्नेहरू माफ गर्नुहोला ।)
विनोदका दुई छोरा, एक छोरी छिन् । उनलाई आफ्नो उमेरको गणित थाहा छैन । उनको एउटा छोरो आठ–नौ वर्षको जस्तो देखिन्छ । तर, छोराको उमेर गन्न भुलिसके ।
‘यो ठूलो छोरा कहिले जन्मेको हो ?’ मैले सोधें । ‘इन्डियामा जन्मेको हो । वर्षा भएको थियो । सबैतिर पानीपानी थियो । त्यसैबेला जन्मेको हो ।’
‘अनि कसरी बँचाउनुभयो त त्यस्तो बेला सानो बच्चालाई ?’
‘त्यत्तिकै बाँच्यो ।’
कति सरल उत्तर ! मानौं बच्चा बाँच्न अस्पताल, डाक्डर, उपचार सब गलत हो । बच्चा बाँच्न केही चाहिँदैन । आमा चाहिन्छ ।
मैले अर्को छोराको जन्मबारे सोधें ।
‘हामी सिन्धुलीमा थियौं । यो जन्मिएपछि जमिन हल्लिएको थियो । मान्छेले त्रिपाल र खानेकुरा बाँडेका थिए । मैले एक बोरा चामल पनि पाएको थिएँ ।’
एक छोराको उमेरको लगत राख्न सकिने रहेछ । मैले भनें– ‘तपाईंको यो छोरा छ वर्ष पुग्यो । अब सात लाग्छ ।’ उनले औंला भाँचे । भाँचिएका औंला भाँच्चिरहे । तर, सात वर्ष कति समय हो ! कसरी वर्षहरू, एकपछि आर्को थपिँदै जान्छन् ? उनले भेउ पाउन सकेनन् ।
मान्छे कसरी बूढो हुन्छन् ?
उनलाई थाहा छ— एक ठाउँबाट अर्को ठाउँमा हिँड्दाहिँड्दै । गाउँ–सहर पसेर पैसा माग्दामाग्दै । मानिसको गाली र अपमान खाँदाखाँदै मान्छे बूढो हुन्छ । उनका बाबु पनि यसैगरी बूढा भए । उनकी आमा पनि यसैगरी बूढी भइन् । उनी पनि उसै गरी बूढो हुँदै छन् ।

क्याम्पमा थुप्रै केटाकटी थिए । तर, यहाँका बच्चाहरू अरू फिरन्ते क्याम्पका जस्ता थिएनन् । अरू क्याम्पमा यसरी जाँदा बच्चाहरूले चारैतिरबाट घेर्थे । पैसा माग्थे । शान्तिले बोल्न दिँदैन थिए । तिनका बा–आमा आदेश दिन्थे ‘बच्चालाई दस–बीस रुपैयाँ देऊ । केही खाएका छैनन् । बिस्कुट खान्छन् । पहिला पैसा देऊ अनि कुरा गर ।’

तर, यहाँका बच्चाहरू शान्त थिए । हाम्रा बस्तीका बच्चाहरू जस्तै आफ्नै सुरतालमा खेलिरहेका थिए । बच्चाहरू जस्तै ठूलाहरू पनि आफ्नै लयमा थिए । कोही खाँदै थिए । कोही पाल उठाउँदै । कोही कमल पट्याउँदै । कोही ऐना हेर्दै । कोही आगो ताप्दै ।
मैले विनोदलाई सोधें, ‘तपाईंकी श्रीमतीचाहिँ ख्यै नि ?’

मोटी र हँसिली महिला देखाउँदे भने, ‘त्यही मोटी हो ।’
उनको सिउँदोमा रातो सिन्दूर थियो । सारी लगाएकी थिइन् । निकै हँसिली थिइन् ।
मैले नमस्कार गरें । आफ्नो लोग्नेजस्तो आत्तिइनन् । तत्कालै नमस्कार फर्काइन् । र उत्ति नै खेर मुस्कुराइन् । उनको अनुहारलाई मुस्कान सुहायो ।
‘कतै जान लाग्नुभएको हो ?’ मैले सोधें ।
‘गाउँतिर चामल, पैसा माग्न जान लागेको हो ।’ कुनै सरकारी कर्मचारी कार्यालय जान लागेझैँ उनी ‘माग्ने काम’ गर्न जान लागेकी थिइन् ।
‘दिनभर माग्दा कति पैसा हुन्छ ?’
‘दुई–तीन सय हुन्छ । चामल हुन्छ ।’
‘माग्दाभन्दा त काम गर्दा धेरै पैसा हुन्छ होला नि ?’
‘हामीलाई काम गर्न आउँदैन । माग्न आउँछ । सधैँ यसैगरी मागेर खान्छौं ।’
‘तपाईंको बा–आमा पनि यसैगरी माग्दै हिँड्नुहुन्छ हो ?’
‘हाम्रो बुबा, आमा, हजुरबा पनि यसैगरी माग्दै हिँड्छ ।’
‘बा, आमा कहाँ हुनुहुन्छ ?’
‘बा छैन । आमा छ । यहीँ आएको छ । अहिले माग्न गाउँ गइसक्यो ।’
‘बाचाहिँ ?’
‘बा मर्‍यो ।’
‘कति वर्ष भयो ?’
‘धेरै भयो । वर्ष त थाहा छैन ।’
उनी कहाँ जन्मिन् ?– ‘थाहा छैन ।’ यसैगरी हिँड्दाहिँड्दै हुर्किन् । माग्न सिकिन् । नेपाल र भारतका धेरै ठाउँ माग्दै हिँडिन् । उमेर कति भयो ? आफ्नो उमेरको गणित उनलाई पनि थाहा छैन । विनोद ब्यादासँग बिहे भयो । उनीहरू एकै समूहका फिरन्ते थिए ।
अलिक पर मसिना भुरा खेलिरहेका थिए । अचानक झगडा गर्न थाले । विनोदकी श्रीमतीले एउटी बच्ची उठाइन् । काखी च्यापिन् । उनकी छोरी रहिछन् । तीन वर्षजतिकी ।

‘छोरीलाई पनि आफूजस्तै माग्ने नै बनाउनुहुन्छ ?’
‘अरू के गर्नु त । हाम्रो जमिन छैन । एकै ठाउँमा बस्दा पेट मर्छ ।’
विराटनगर जाने बस आयो । उनी बस चढिन् । सहरतिर माग्न हिँडिन् । उनका श्रीमान् विनोदचाहिँ चराको सिकार गर्न हिँड्न लागे ।
‘मलाई पनि लैजानुहुन्छ ?’ सोधें ।
‘हुँदैन’ भनेनन् । मलाई हतार थियो । उनीसँग जान सकिनँ । ‘भोलि फेरि आउँछु । अनि जान्छु है,’ मैले यति भनेपछि उनी बिदा भए ।
00000
त्यो समूहमा सबैभन्दा हँसिली महिला थिइन् कुन्जी । उमेर पचासमाथिकी हुनुपर्छ । उनले लगाएको लुगा निकै सफा थियो । झट्ट हेर्दा नेताजस्तै देखिन्थिन् । अरूले भन्दा राम्रो नेपाली बोल्थिन् ।
मैले सुरुमै अरूलाई जस्तै उनलाई पनि उमेर सोधें । ‘थाहा छैन । हामी लेखे–पढेको छैन नानी,’ उनले भनिन् ।
उनले मलाई ‘नानी’ सम्बोधन गरिन् । त्यो यति मीठो र प्रिय सुनिएको थियो कि मानौं कुनै ‘धनी दानी’ मानिसले कसैको दुख्ख सुन्नुअघि उसलाई सम्बोधन गर्दै ‘नानी’ भनिरहेको छ ।
मैले उनलाई आमा सम्बोधन गर्दै सोधें, ‘आमा पैसा माग्दा सजिलै दिन्छ मान्छेले ?’
‘दिन्छ । दस, बीस रुपैयाँ दिन्छ ।’
‘कसैले कराउँदैन ?’
‘कराउँछ नि । भन्छ– ‘किन आको माग्न ? हात–खुट्टा छैन ? काम गर खाऊ । पैसा माग्न नआऊ भन्छ ।’
‘अनि के भन्नुहुन्छ त ?’
‘के गर्नु नानी ! हाम्रो यही काम छ । दिनु दस रुपैयाँ भन्छु । कसैले दिन्छ । कसैले दिँदैन । कसैले एक–दुई पाउ चामल पनि दिन्छ । सबै एकै मान्छे हुँदैन । दिने पनि हुन्छ । गाली गर्ने पनि हुन्छ । कसैकसैले त लाठ्ठी लिएर लखेट्छ । कसैकसैले चोर भन्छ । तर, हामी चोर्दैन नानी । माग्छ । चोर्न हुँदैन । माग्न हुन्छ ।’

‘काम गर्न मन लाग्दैन ?’
‘लाग्दैन । हामीले कहिल्यै काम गरेको छैन नानी । काम गर्न सक्दैन । जमनादेखि यस्तै सिक्यो । यसैगरी चलेको छ । खुसी छौं ।’
मगेर पनि ‘खुसी छौं’ भनेको सुन्दा लाग्छ– दुख्खको स्रोत अरू नै रहेछ । बुद्धले पनि भिक्षा मागेरै खाए । उनको पनि यस्तै टोली थियो । उनले पनि खुसीकै बाटो हिँडे । यो माग्नेहरूको कथामा बुद्ध मिसाउँदा तपाईं बेठीक मान्नुहोला । तर, ती कुन्जी मैले किताबमा पढेको बुद्धको कथाजस्तै दुख्खविहीन थिइन् । म धनी र समाजका प्रतिष्ठित मानिसको संगत गर्छु तर यी कुन्जी जति खुसी ती छैनन् । सायद दुःखी हुनका लागि सबै थोक हुनपर्दो रहेछ । खुसी हुनका लागि केही नभए हुँदो रहेछ ।
कुन्जीसँगको बात यहीँ बन्द गर्दा हुन्थ्यो । तर, उनको उत्तरको ध्वनि मीठो थियो । लोभ लाग्यो (लोभ मैजस्तालाई लाग्ने हो । जोसँग दुख्खको स्रोत प्रशस्त छ ।)

‘काम गर्न गयो भने कसैले कराउँदैन । कमाइ पनि राम्रो हुन्छ हैन र ?’
‘हामी काम गर्दैनौं । कहिल्यै गर्दैनौं । यसैगरी चलेको छ । खुसी छौं । काम गर्दा दुख्ख हुन्छ ।’
‘कहिल्यै खेतीपातीमा काम गर्नुभएको छ । जस्तै ः धान रोप्ने काट्ने ?
‘छैन छैन । कहिल्यै गरेको छ नानी । अरूको घरमा भाँडा माझ्ने, लुगा धुने काम पनि गरेको छैन ।’
उनी राम्रै नेपाली बोल्थिन् । उनका समूहका अरूअरू पनि नेपाली बोल्थे । तर, नेपालमा पुर्खादेखि माग्दै बाँच्ने जातिबारे कतै सुनेको/पढेको थिइनँ । हुन त सबै कुरा थाहा पाउने न मेरो बुद्धि छ, न क्षमता । आफ्नो बुद्धि र ज्ञानबारे राम्रै ‘ज्ञान’ भए पनि मैले उनको देशबारे सोधें, ‘तपाईंहरू कुन देशको मान्छे हो ?’
‘हामी सबै देशको हो । इन्डियाको हो । नेपालको हो । जहाँ पुग्छौं त्यही हाम्रो देश हो ।’
छेउछाउमा बस्तीका घरहरू थिए । मैले एउटा घर देखाउँदै भनें, ‘यस्तो घरमा बस्न मन लाग्दैन ?’
‘हामीलाई निद्रा पर्दैन यस्तो घरमा । कहिल्यै बसेको छैन । चारैतिर बारबेरा छ । त्यहाँ दुख्ख हुन्छ । हामी खुसी मान्छे हो नानी ।’
कुन्जीको पाखुरामा पुरानो ट्याटुको दाग थियो । सोधे, ‘यो किन खोप्नुभएको हो ।’
‘गोधना हो । यो खोप्यो भने राम्रो हुन्छ ।’

‘के राम्रो हुन्छ ?’ मलाईजस्तै उनलाई पनि थाहा रहेनछ ।
एकै छिन अड्किएपछि केही सम्झिएझैं गर्दै भनिन्– हामी हिन्दु धर्म मान्छौं, त्यसैले खोपेको हो ।
‘हिन्दु धर्म नमान्ने मानिसले दिएको पैसा चामल लिनु हुन्छ कि हुँदैन ?’
‘लिन्छौं नानी । इन्डियामा त शुक्रबार मस्जिद अघि बसेर पनि माग्छौं ।’
वास्तवमा कुनै धर्मले कुनै मानिस चिन्दैन । मानिसले मात्र धर्म चिन्ने हुन् । पशुपतिनाथले मान्छे चिन्दैनन् । मान्छेले मात्र पशुपतिनाथ चिन्ने हुन् । कुन्जीलाई पैगम्बर महम्मदले चिन्दैनन् ।
कुन्जीलाई हतार थियो । आज उनी रंगेली बजारतिर माग्न जाने सुरमा रहिछन् । बस आयो । चढिन् ।
00000
अरूअरू पनि आ–आफ्नो बाटो लागे । क्याम्पमा केही केटाकेटी र एक दुई महिला बाँकी रहे । मैले बच्चाहरूको फोटो खिचें ।
हिँड्ने बेला नजिकै रहेको बालविकास केन्द्रकी शिक्षिका आइन् र बेस्मारी हकारिन्, ‘यिनारुले चारैतिर फोहोर गरे । म पुलिस बोलाउँछु र लखेट्छु । यिनारु चोर हुन् ।’
उनीहरू कुन देशका हुन् ? के धर्मका हुन् ? किन हिँड्छन् ? के हुन् ? के गर्छन् ? यसको उत्तर के हुन्छ ? थाहा छैन ।
मलाई थाहा छ । उनीहरू मानिस् हुन्– हृदय छ । उनीहरू मानिस् हुन्– जीवन छ । उनीहरू मानिस हुन्– प्रेम छ ।
म भोलि आउँछु भनेको थिएँ । तर, उनीहरू त्यहाँ ‘भोलि’ सम्म बसेनन् । कतै हिँडिसकेछन् । म भोलि भएको मानिसका लागि ‘भोलि’ नभएका मानिसले पर्खन सकेनन् । म विनोद ब्यादाको चराको सिकारमा छुटें ।

प्रकाशित : चैत्र १, २०७६ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×