‘भोलि’ नभएकाहरूको बोली - कोसेली - कान्तिपुर समाचार

‘भोलि’ नभएकाहरूको बोली 

रमेश सायन

दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो ।यसपल्टको हिउँद जान लाग्यो । मधेसमा शीतलहर चल्यो । उसै गरी बित्यो बर्खा । मधेसमा बाढी आयो । तर, उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ । शीतलहर चल्छ । अर्को वर्ष बर्खा हुन्छ । बाढी आउँछ ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो । भोलि आजै आउँदैन ।’

विनोद ब्यादा र उनकी श्रीमती । विनोद चराको सिकारमा जाने तयारीमा छन् । श्रीमती ‘माग्ने काम’ गर्न जाने तयारीमा छिन् ।


यिनीहरू को हुन् ?

सहरतिर काखीमा बच्चा च्यापेर पैसा माग्ने महिलाहरू हुन् । पैदलयात्रुको खुट्टा समातेर भीख माग्ने केटाकेटी हुन् । सहरको ट्राफिक जामभित्र पसेर कारको ढोका ढकढक्याउँदै कचौरा थाप्नेहरू हुन् । गाउँगाउँमा ‘पन्ना’ को भेषमा भविष्यवाणी गर्नेहरू हुन् । भविष्यसँग डराइरहेका ‘डरपोक’ हरूलाई समातेर ईश्वरको नाममा दान लिनेहरू हुन् ।


देश दुनियाँ कहाँ पुग्यो ? दुनियाँ के गर्दै छ ? के हुँदै छ ? स्कुल, कलेज र विश्वविद्यालय कहाँ छ ? यी सब कुरा थाहा पाउने जिम्मा अरूको हो । उनीहरूको जिम्मा माग्नु हो । बाँच्नु हो । पुर्खाले काम गर्न सिकाएनन् । माग्न सिकाए । अहिले उनीहरू आफ्ना कलिला नानीहरूलाई पनि माग्न सिकाउँदै छन् ।


हाम्रा लागि तिनको जिन्दगी, जिन्दगी लाग्दैन । तिनको भावना, भावना हुँदैन । तिनको खुसी, दुख्ख, सुख्ख हाम्रा लागि केही हुँदैन । समाजमा माग्नेहरूको कथा, कथा हुँदैन । ती हाम्रा अक्षरभन्दा पर, शब्दभन्दा टाढा । अवाजभन्दा भिन्न । दृश्यभन्दा फरक । चेतनाभन्दा तल लाग्छन् । उनीहरूका लागि माग्नु नियति होइन । माग्नु परम्परा हो । माग्नु पाप होइन । कर्म हो । धर्म हो ।

00000

म थुप्रै क्याम्पमा पुगें । उनीहरूसँग बसें । कथा सुनें । तीमध्ये जदाहा गाउँपालिका मोरङमा भेटिएका केही हँसिला र रसिला पात्रबारे लेख्छु ।

विनोद ब्यादा बिहान दस बजे लठ्ठी तिखारिरहेका थिए । मैले नमस्ते गरेँ । उनको अनुहारको भाव फेरियो । आत्तिए । फेरि नमस्कार गरें । त्यसपछि हतारिँदै नमस्कार फर्काए ।

‘किन डराउनुभएको ?’

‘अहिलेसम्म मलाई कसैले नमस्कार

गरेको थिएन... !’

‘यो के बनाउनुभएको हो ?’

‘लठ्ठी ।’

‘यसले के गर्छ ?’

‘चरा मार्छ ।’


उनीहरू चराको सिकार बडो कलात्मक ढंगले गर्छन् । एउटा लठ्ठीको टुप्पामा तिखो भाला राख्छन् । त्यसपछि एक लठ्ठीमाथि अर्को थप्दै थप्दै भुइँबाटै रूखको टुप्पामा बसेको चराको छातीसम्म पुर्‍याउँछन् । मुटु भालामा परेपछि मात्र चराले चाल पाउँछ– ‘आफू मर्दै छु !’ (पज्छीलाई माया गर्नेहरू माफ गर्नुहोला ।)

विनोदका दुई छोरा, एक छोरी छिन् । उनलाई आफ्नो उमेरको गणित थाहा छैन । उनको एउटा छोरो आठ–नौ वर्षको जस्तो देखिन्छ । तर, छोराको उमेर गन्न भुलिसके ।

‘यो ठूलो छोरा कहिले जन्मेको हो ?’ मैले सोधें । ‘इन्डियामा जन्मेको हो । वर्षा भएको थियो । सबैतिर पानीपानी थियो । त्यसैबेला जन्मेको हो ।’

‘अनि कसरी बँचाउनुभयो त त्यस्तो बेला सानो बच्चालाई ?’

‘त्यत्तिकै बाँच्यो ।’

कति सरल उत्तर ! मानौं बच्चा बाँच्न अस्पताल, डाक्डर, उपचार सब गलत हो । बच्चा बाँच्न केही चाहिँदैन । आमा चाहिन्छ ।

मैले अर्को छोराको जन्मबारे सोधें ।

‘हामी सिन्धुलीमा थियौं । यो जन्मिएपछि जमिन हल्लिएको थियो । मान्छेले त्रिपाल र खानेकुरा बाँडेका थिए । मैले एक बोरा चामल पनि पाएको थिएँ ।’

एक छोराको उमेरको लगत राख्न सकिने रहेछ । मैले भनें– ‘तपाईंको यो छोरा छ वर्ष पुग्यो । अब सात लाग्छ ।’ उनले औंला भाँचे । भाँचिएका औंला भाँच्चिरहे । तर, सात वर्ष कति समय हो ! कसरी वर्षहरू, एकपछि आर्को थपिँदै जान्छन् ? उनले भेउ पाउन सकेनन् ।

मान्छे कसरी बूढो हुन्छन् ?

उनलाई थाहा छ— एक ठाउँबाट अर्को ठाउँमा हिँड्दाहिँड्दै । गाउँ–सहर पसेर पैसा माग्दामाग्दै । मानिसको गाली र अपमान खाँदाखाँदै मान्छे बूढो हुन्छ । उनका बाबु पनि यसैगरी बूढा भए । उनकी आमा पनि यसैगरी बूढी भइन् । उनी पनि उसै गरी बूढो हुँदै छन् ।


क्याम्पमा थुप्रै केटाकटी थिए । तर, यहाँका बच्चाहरू अरू फिरन्ते क्याम्पका जस्ता थिएनन् । अरू क्याम्पमा यसरी जाँदा बच्चाहरूले चारैतिरबाट घेर्थे । पैसा माग्थे । शान्तिले बोल्न दिँदैन थिए । तिनका बा–आमा आदेश दिन्थे ‘बच्चालाई दस–बीस रुपैयाँ देऊ । केही खाएका छैनन् । बिस्कुट खान्छन् । पहिला पैसा देऊ अनि कुरा गर ।’


तर, यहाँका बच्चाहरू शान्त थिए । हाम्रा बस्तीका बच्चाहरू जस्तै आफ्नै सुरतालमा खेलिरहेका थिए । बच्चाहरू जस्तै ठूलाहरू पनि आफ्नै लयमा थिए । कोही खाँदै थिए । कोही पाल उठाउँदै । कोही कमल पट्याउँदै । कोही ऐना हेर्दै । कोही आगो ताप्दै ।

मैले विनोदलाई सोधें, ‘तपाईंकी श्रीमतीचाहिँ ख्यै नि ?’


मोटी र हँसिली महिला देखाउँदे भने, ‘त्यही मोटी हो ।’

उनको सिउँदोमा रातो सिन्दूर थियो । सारी लगाएकी थिइन् । निकै हँसिली थिइन् ।

मैले नमस्कार गरें । आफ्नो लोग्नेजस्तो आत्तिइनन् । तत्कालै नमस्कार फर्काइन् । र उत्ति नै खेर मुस्कुराइन् । उनको अनुहारलाई मुस्कान सुहायो ।

‘कतै जान लाग्नुभएको हो ?’ मैले सोधें ।

‘गाउँतिर चामल, पैसा माग्न जान लागेको हो ।’ कुनै सरकारी कर्मचारी कार्यालय जान लागेझैँ उनी ‘माग्ने काम’ गर्न जान लागेकी थिइन् ।

‘दिनभर माग्दा कति पैसा हुन्छ ?’

‘दुई–तीन सय हुन्छ । चामल हुन्छ ।’

‘माग्दाभन्दा त काम गर्दा धेरै पैसा हुन्छ होला नि ?’

‘हामीलाई काम गर्न आउँदैन । माग्न आउँछ । सधैँ यसैगरी मागेर खान्छौं ।’

‘तपाईंको बा–आमा पनि यसैगरी माग्दै हिँड्नुहुन्छ हो ?’

‘हाम्रो बुबा, आमा, हजुरबा पनि यसैगरी माग्दै हिँड्छ ।’

‘बा, आमा कहाँ हुनुहुन्छ ?’

‘बा छैन । आमा छ । यहीँ आएको छ । अहिले माग्न गाउँ गइसक्यो ।’

‘बाचाहिँ ?’

‘बा मर्‍यो ।’

‘कति वर्ष भयो ?’

‘धेरै भयो । वर्ष त थाहा छैन ।’

उनी कहाँ जन्मिन् ?– ‘थाहा छैन ।’ यसैगरी हिँड्दाहिँड्दै हुर्किन् । माग्न सिकिन् । नेपाल र भारतका धेरै ठाउँ माग्दै हिँडिन् । उमेर कति भयो ? आफ्नो उमेरको गणित उनलाई पनि थाहा छैन । विनोद ब्यादासँग बिहे भयो । उनीहरू एकै समूहका फिरन्ते थिए ।

अलिक पर मसिना भुरा खेलिरहेका थिए । अचानक झगडा गर्न थाले । विनोदकी श्रीमतीले एउटी बच्ची उठाइन् । काखी च्यापिन् । उनकी छोरी रहिछन् । तीन वर्षजतिकी ।


‘छोरीलाई पनि आफूजस्तै माग्ने नै बनाउनुहुन्छ ?’

‘अरू के गर्नु त । हाम्रो जमिन छैन । एकै ठाउँमा बस्दा पेट मर्छ ।’

विराटनगर जाने बस आयो । उनी बस चढिन् । सहरतिर माग्न हिँडिन् । उनका श्रीमान् विनोदचाहिँ चराको सिकार गर्न हिँड्न लागे ।

‘मलाई पनि लैजानुहुन्छ ?’ सोधें ।

‘हुँदैन’ भनेनन् । मलाई हतार थियो । उनीसँग जान सकिनँ । ‘भोलि फेरि आउँछु । अनि जान्छु है,’ मैले यति भनेपछि उनी बिदा भए ।

00000

त्यो समूहमा सबैभन्दा हँसिली महिला थिइन् कुन्जी । उमेर पचासमाथिकी हुनुपर्छ । उनले लगाएको लुगा निकै सफा थियो । झट्ट हेर्दा नेताजस्तै देखिन्थिन् । अरूले भन्दा राम्रो नेपाली बोल्थिन् ।

मैले सुरुमै अरूलाई जस्तै उनलाई पनि उमेर सोधें । ‘थाहा छैन । हामी लेखे–पढेको छैन नानी,’ उनले भनिन् ।

उनले मलाई ‘नानी’ सम्बोधन गरिन् । त्यो यति मीठो र प्रिय सुनिएको थियो कि मानौं कुनै ‘धनी दानी’ मानिसले कसैको दुख्ख सुन्नुअघि उसलाई सम्बोधन गर्दै ‘नानी’ भनिरहेको छ ।

मैले उनलाई आमा सम्बोधन गर्दै सोधें, ‘आमा पैसा माग्दा सजिलै दिन्छ मान्छेले ?’

‘दिन्छ । दस, बीस रुपैयाँ दिन्छ ।’

‘कसैले कराउँदैन ?’

‘कराउँछ नि । भन्छ– ‘किन आको माग्न ? हात–खुट्टा छैन ? काम गर खाऊ । पैसा माग्न नआऊ भन्छ ।’

‘अनि के भन्नुहुन्छ त ?’

‘के गर्नु नानी ! हाम्रो यही काम छ । दिनु दस रुपैयाँ भन्छु । कसैले दिन्छ । कसैले दिँदैन । कसैले एक–दुई पाउ चामल पनि दिन्छ । सबै एकै मान्छे हुँदैन । दिने पनि हुन्छ । गाली गर्ने पनि हुन्छ । कसैकसैले त लाठ्ठी लिएर लखेट्छ । कसैकसैले चोर भन्छ । तर, हामी चोर्दैन नानी । माग्छ । चोर्न हुँदैन । माग्न हुन्छ ।’


‘काम गर्न मन लाग्दैन ?’

‘लाग्दैन । हामीले कहिल्यै काम गरेको छैन नानी । काम गर्न सक्दैन । जमनादेखि यस्तै सिक्यो । यसैगरी चलेको छ । खुसी छौं ।’

मगेर पनि ‘खुसी छौं’ भनेको सुन्दा लाग्छ– दुख्खको स्रोत अरू नै रहेछ । बुद्धले पनि भिक्षा मागेरै खाए । उनको पनि यस्तै टोली थियो । उनले पनि खुसीकै बाटो हिँडे । यो माग्नेहरूको कथामा बुद्ध मिसाउँदा तपाईं बेठीक मान्नुहोला । तर, ती कुन्जी मैले किताबमा पढेको बुद्धको कथाजस्तै दुख्खविहीन थिइन् । म धनी र समाजका प्रतिष्ठित मानिसको संगत गर्छु तर यी कुन्जी जति खुसी ती छैनन् । सायद दुःखी हुनका लागि सबै थोक हुनपर्दो रहेछ । खुसी हुनका लागि केही नभए हुँदो रहेछ ।

कुन्जीसँगको बात यहीँ बन्द गर्दा हुन्थ्यो । तर, उनको उत्तरको ध्वनि मीठो थियो । लोभ लाग्यो (लोभ मैजस्तालाई लाग्ने हो । जोसँग दुख्खको स्रोत प्रशस्त छ ।)


‘काम गर्न गयो भने कसैले कराउँदैन । कमाइ पनि राम्रो हुन्छ हैन र ?’

‘हामी काम गर्दैनौं । कहिल्यै गर्दैनौं । यसैगरी चलेको छ । खुसी छौं । काम गर्दा दुख्ख हुन्छ ।’

‘कहिल्यै खेतीपातीमा काम गर्नुभएको छ । जस्तै ः धान रोप्ने काट्ने ?

‘छैन छैन । कहिल्यै गरेको छ नानी । अरूको घरमा भाँडा माझ्ने, लुगा धुने काम पनि गरेको छैन ।’

उनी राम्रै नेपाली बोल्थिन् । उनका समूहका अरूअरू पनि नेपाली बोल्थे । तर, नेपालमा पुर्खादेखि माग्दै बाँच्ने जातिबारे कतै सुनेको/पढेको थिइनँ । हुन त सबै कुरा थाहा पाउने न मेरो बुद्धि छ, न क्षमता । आफ्नो बुद्धि र ज्ञानबारे राम्रै ‘ज्ञान’ भए पनि मैले उनको देशबारे सोधें, ‘तपाईंहरू कुन देशको मान्छे हो ?’

‘हामी सबै देशको हो । इन्डियाको हो । नेपालको हो । जहाँ पुग्छौं त्यही हाम्रो देश हो ।’

छेउछाउमा बस्तीका घरहरू थिए । मैले एउटा घर देखाउँदै भनें, ‘यस्तो घरमा बस्न मन लाग्दैन ?’

‘हामीलाई निद्रा पर्दैन यस्तो घरमा । कहिल्यै बसेको छैन । चारैतिर बारबेरा छ । त्यहाँ दुख्ख हुन्छ । हामी खुसी मान्छे हो नानी ।’

कुन्जीको पाखुरामा पुरानो ट्याटुको दाग थियो । सोधे, ‘यो किन खोप्नुभएको हो ।’

‘गोधना हो । यो खोप्यो भने राम्रो हुन्छ ।’


‘के राम्रो हुन्छ ?’ मलाईजस्तै उनलाई पनि थाहा रहेनछ ।

एकै छिन अड्किएपछि केही सम्झिएझैं गर्दै भनिन्– हामी हिन्दु धर्म मान्छौं, त्यसैले खोपेको हो ।

‘हिन्दु धर्म नमान्ने मानिसले दिएको पैसा चामल लिनु हुन्छ कि हुँदैन ?’

‘लिन्छौं नानी । इन्डियामा त शुक्रबार मस्जिद अघि बसेर पनि माग्छौं ।’

वास्तवमा कुनै धर्मले कुनै मानिस चिन्दैन । मानिसले मात्र धर्म चिन्ने हुन् । पशुपतिनाथले मान्छे चिन्दैनन् । मान्छेले मात्र पशुपतिनाथ चिन्ने हुन् । कुन्जीलाई पैगम्बर महम्मदले चिन्दैनन् ।

कुन्जीलाई हतार थियो । आज उनी रंगेली बजारतिर माग्न जाने सुरमा रहिछन् । बस आयो । चढिन् ।

00000

अरूअरू पनि आ–आफ्नो बाटो लागे । क्याम्पमा केही केटाकेटी र एक दुई महिला बाँकी रहे । मैले बच्चाहरूको फोटो खिचें ।

हिँड्ने बेला नजिकै रहेको बालविकास केन्द्रकी शिक्षिका आइन् र बेस्मारी हकारिन्, ‘यिनारुले चारैतिर फोहोर गरे । म पुलिस बोलाउँछु र लखेट्छु । यिनारु चोर हुन् ।’

उनीहरू कुन देशका हुन् ? के धर्मका हुन् ? किन हिँड्छन् ? के हुन् ? के गर्छन् ? यसको उत्तर के हुन्छ ? थाहा छैन ।

मलाई थाहा छ । उनीहरू मानिस् हुन्– हृदय छ । उनीहरू मानिस् हुन्– जीवन छ । उनीहरू मानिस हुन्– प्रेम छ ।

म भोलि आउँछु भनेको थिएँ । तर, उनीहरू त्यहाँ ‘भोलि’ सम्म बसेनन् । कतै हिँडिसकेछन् । म भोलि भएको मानिसका लागि ‘भोलि’ नभएका मानिसले पर्खन सकेनन् । म विनोद ब्यादाको चराको सिकारमा छुटें ।

प्रकाशित : चैत्र १, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

चीनतिर फर्किरहेका अरनिको 

दुई देशको सम्बन्ध युगयुगान्तरसम्म मजबुत हुन अरनिकोको चीन गमनले ठूलो महत्व राख्छ । सन् १२४४ मा जन्मेका उनी १७ वर्षे उमेरमा ८० जना कलाकारको नेतृत्व गर्दै भोट गएका थिए । अद्भुत कलाकार अरनिकोको ६२ वर्षको उमेरमा सन् १३०६ मार्च ११ तारिखका दिन निधन भयो । अरनिको स्मृति–दिवसको सन्दर्भमा यो आलेख :
केके कर्माचार्य

चीन र नेपालको सम्बन्ध सुमधुर बनाउन हाम्रो इतिहासमा धेरै महत्त्वपूर्ण घटना भए । भृकुटीको विवाहपछि महत्त्वपूर्ण घटना मानिन्छ– कलाकार अरनिकोको चीनगमन । दुई देशको सम्बन्ध युगयुगान्तरसम्म मजबुत हुन उनको चीनगमनले ठूलो महत्त्व राख्छ ।

सन् १२४४ मा जन्मेका उनी १७ वर्षमा ८० जना कलाकारको नेतृत्व गर्दै भोट गएका थिए । र, त्यहाँ दुई वर्ष लगाएर भोटको शाक्या गुम्बामा आकर्षक सुवर्ण स्तूप निर्माण गरी उनले अद्वितीय प्रतिभा प्रस्तुत गरेका थिए । उनको प्रतिभाबाट भोटका तत्कालीन धर्मगुरु भिक्षु पाहसपा अत्यन्त प्रभावित भएर पेचिङ (बेइजिङ) को बादशाह कुब्ला खाँको दरबारमा लिएर गए । त्यहाँ पनि नौ–जवान कलाकारले कलाकारिता देखाएर बादशाहलाई मन्त्रमुग्ध पारे । कलाकार अरनिकोले बेइजिङमा अत्यन्त ठूलो सम्मान पाए । ६२ वर्षमा सन् १३०६ मार्च ११ मा उनको मृत्यु भयो । यसको आधिकारिक अभिलेख बेइजिङदेखि पश्चिमपट्टि युआन्पिङ जिल्लाको साङसन गाउँमा अझै छ ।

उनको समाधिस्थलमा सन् १३१६ मा स्थापित शिलास्तम्भमा उल्लिखित इस्वी मितिलाई रूपान्तरण गरी इतिहास शिरोमणि बाबुराम आचार्यले विसं १३६३ चैत १७ गते उनको मृत्यु भएको उल्लेख गरेका छन् । पञ्चांग समितिले रूपान्तरण गरिदिएको आधारमा हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाइँदै आएको छन् । ७ सय वर्षअगाडिको इस्वी मितिलाई गरेको रूपान्तरणमा तथ्यता हुन नसक्ने र त्यसरी भिन्नभिन्न मितिमा मनाउने गर्दा वास्तविक मितिमै अन्योल पैदा भएको छ । चीनमा अरनिकोको समाधिस्थलमा स्थापित शिलास्तम्भमा रहेको मिति आधिकारिक मान्नुपर्छ भन्ने मेरो मत छ ।

अनिको, अनिक, अरनिको र बलबाहु अनेक नाम छन् । बाबुराम आचार्यले स्थानविशेष चिनियाँ शब्द पालेपाओलाई बलबाहु भनेर उल्लेख गरे । उनको खास नाम अनिको हो । चिनियाँ भाषामा रूपान्तरित नाम अरनिको रहेको र उही नामबाट राष्ट्रिय विभूति घोषणा भएको छ । अरनिकोले चीन पुगेर कलाकारिताको चमत्कार देखाएर नेपाली कलाको व्यापकता बढाउनुका साथै जापान, मलेसिया, इन्डोनेसिया, कोरियालगायत एसियाभरि नै नेपाली कला विस्तार गरे । उनले चीनमा स्थापित गरेका नेपाली कलाको विषयमा युआन वृत्तान्तमा फ्रान्सका इतिहासकार सिल्भाँ लेभीले १०९ वर्ष अघि पेरिसमा प्रकाशित पुस्तक र इटलीका इतिहासकार पेटेकले ५९ वर्ष अघि रोममा प्रकाशित पुस्तकमा लेखेका छन् ।


चीन जानुअगाडि उनका कुनै चिह्नसम्म पनि नेपालमा भेटिँदैनन् । त्यस्ता प्रतिभाशाली कलाकारले पक्कै पनि प्रतिभा देखाइसकेको हुनुपर्छ । सामन्ती राजा रजौटा र शासकको मात्र इतिहास निर्माण गर्ने परापूर्वकालदेखिको संस्कार र परम्पराका कारण पनि यस्तो भएको हुन सक्छ । अनुमानित र काल्पनिक कथाबाहेक तथ्यमा आधारित कतै उल्लेख भएको पाइँदैन । सिद्धहस्त र प्रतिभाशाली कलाकारले अद्वितीय र अलौलिक कलाकृति निर्माण गर्दा हात–खुट्टा काटिने र शरीर अंगभग गरिनेजस्ता ऐतिहासिक किंवदन्ती सुनेका छौं, पढेका छौं । अरनिको चीन जानुअगाडि नेपालमै दीक्षित भएका होलान् । उपत्यकामा भएका कैयन अज्ञात नेपाली शैलीका मठ, मन्दिर र मूर्ति उनीबाटै निर्माण भएका हुन सक्छन् । यसबारे खोज अनुसन्धान हुन बाँकी नै छ । चीनमा भएका उनका तीनपुस्ते र परिवारका नामबाहेक जन्मस्थान र गतिविधि सम्बन्धमा पनि विभिन्न विद्वान्का विभिन्न अड्कल छन् । लेभी र पेटेकले प्रयोग गरेका पालेपाओ शब्दका कारणले पाल्पा हुन सक्छ भनी अड्कल गरेका छन् । पनौतीको पनि अनुमान गरेका छन् । मूलतः भक्तपुर, पाटन र काठमाडौं हुन सक्छ भन्ने पनि धेरै छन् । वंशको सम्बन्धमा कसैले क्षत्री त कसैले शाक्य भनी आ–आफ्नो वंशमा तान्ने पनि छन् । यथार्थ त खोजी गर्न बाँकी नै छ ।

चीनमा रहेका ऐतिहासिक सम्पदा, तिब्बतको सुवर्ण चैत्य, बेइजिङको बुथाई शानका अशोक स्तूप र शरीर स्तुप, पाइथाको श्वेत स्तूप र उनको समाधिस्थलका कृतिस्तम्भका अभिलेख र ताइवानको राष्ट्रिय संग्रहालयमा संगृहीत अरनिकोले कोरेका सम्राट् कुब्ला खाँ र रानीका मुहारचित्रलगायत । सुरुमै उनलाई युआन वंशका संस्थापक शचु (कुब्लाई खाँ) का धर्मगुरु पागसपाको निर्देशनमा तिब्बतको शाक्या गुम्बामा स्वर्ण चैत्य बनाउन लगाए । उनको सम्बन्धमा इतिहास शिरोमणि बाबुराम आचार्य र संस्कृतविद् सत्यमोहन जोशी, निरञ्जन भट्टराईको विशेष अध्ययन, अनुसन्धान र खोजले योगदान हुन पुगेको छ ।

राजनीतिक–सामाजिक क्षेत्रबाट जति मैत्री सम्बन्ध जोडिन्छ, त्योभन्दा बढी कसिलो कला संस्कृति, वास्तुकला र मूर्तिकलाबाट हुन्छ । वास्तु र मूर्तिकला युगौंयुगसम्म रहन सक्ने क्षमता हुन्छ र त्यसबाट आधिकारिकता, सत्यतथ्य र प्रमाणहरूले ऐतिहासिक घटनालाई ताजा राख्छ । नेपाल र चीनको दौत्य सम्बन्धको सन्दर्भमा कलाकार अरनिकोको चीनगमन कोसेढुंगा हो ।

अरनिकोलाई पञ्चायतकालमै राजा महेन्द्रले राष्ट्रिय विभूति घोषणा गरेका थिए । त्यसपछि सन् १३ अप्रिल १९७२ मा नेपाल सरकार, हुलाक सेवा विभागले राष्ट्रिय विभूतिको संस्मरणमा अरनिको चिनाउने पूर्णकद र पृष्ठभूमिमा पैचिङको श्वेत चैत्य चित्रांकित हुलाक टिकट प्रकाशन गर्‍यो, जसको चित्रांकन र डिजाइन मैले नै गरेको थिएँ । त्यसभन्दा अगाडि अरनिको चिनाउने अमर चित्रकारले कोरेका रेखाआकृति सूचना विभागद्वारा प्रकाशित ‘नेपालका राष्ट्रिय विभूतिहरू’ पुस्तकमा मात्र देखापरेका थिए । केही नेपाली तथा संघसंस्थाले अरनिकोको सम्झनामा एकाध स्थानमा साना–ठूला सालिक बनाएका छन् । ललितपुर महानगरपालिका परिसरभित्र एउटा पूर्ण कदको मूर्ति छ । बेइजिङको पाइथामा अरनिकोले निर्माण गरेको श्वेत चैत्य परिसरभित्र पनि मेरै संरचना, डिजाइन र निर्देशनमा निर्मित पूर्ण कदको सालिक छ । यो काठमाडौंस्थित अरनिको समाजको पहलमा प्रतिस्थापन गरिएको हो । त्यसैगरी कीर्तिपुरको नेपाल भाषा एकेडेमीमा संस्कृतिविद् सत्यमोहन जोशीबाट संकलित अरनिको अभिलेख संग्रहालय स्थापना भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पनि आफ्नो परिसरमा अरनिकोको मूर्ति शिलान्यास गरेको छ । अहिले त्यहाँ १७ फिट अग्लो धातुको मूर्ति बनिरहेको छ । १७ फिटकै अर्को मूर्ति माइतीघर मण्डलास्थित अरनिको राजमार्गको प्रारम्भिक विन्दुमा काठमाडौं महानगरपालिकाले बनाउँदै छ । चीनतिर फर्किरहने अरनिकोको यो सालिकले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मात्रै हैन, नेपाली कलाको गौरवशाली इतिहासको बयान र पर्यटकीय सम्भावनाको उज्यालो छरिरहनेछ ।

-(लेखक ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् ।)

प्रकाशित : चैत्र १, २०७६ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×