२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जहाँ कुनै खराबी छैन 

फिल्मको संरचनादेखि कथा भन्ने शैलीमा मात्र होइन, के कुरा कथा हो, के होइन भन्नेमा समेत बहस भइरहेको छ । परम्परागत रुपमा कथा, विषय र संरचनाका मान्यताहरुलाई सिर्जनशील निर्देशकहरुले वैयक्तिकताको बम हानेर ध्वस्त पारिरहेका छन् । 
यज्ञश

पहिले एउटा फिल्मको कुरा । मोहम्मद रसोउल्फ र उनको गोल्डन वियर विजेता ‘दिअर इज नो इभिल’ मा पछि आउँछु ।बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरियो फिल्म ‘पर्सियन लेसन्स’ को । युक्रेनमा जन्मिएका अमेरिकी फिल्ममेकर भादिम पेरेलमनले निर्देशन गरेको यो फिल्म सन् १९४२ मा हिटलरको नाजी सेनाले पक्राउ गरेको एक बेल्जियन यहुदी केटाको कथा हो । 

जहाँ कुनै खराबी छैन 

नाजी सेनाले फेला परेको यो केटाले ज्यान जोगाउनलाई आफू यहुदी नभएर पर्सियन (इरानी) भएको झूटा दाबा गर्छ । संयोगले उसलाई पक्राउ गर्ने टुकडीको कमान्डर आफूलाई फारसी भाषा सिकाउने मानिसको खोजीमा छ । यसैले सिपाहीहरूले अरू बन्दीलाई ६ इन्चको धातुसहित खोला किनारमा सल्टाए पनि उसलाई हाकिमका अघि उभ्याउँछन् ।

हाकिम आफ्नै सपनाको दुनियाँमा छ । उसको सपनामा दुई वर्षमा विश्वयुद्ध समाप्त हुनेछ । जर्मनीले यो युद्ध जित्नेछ । त्यसपछि ऊ इरानको राजधानी तेहरान गएर एउटा भव्य रेस्टुरेन्ट खोल्नेछ । र, आफ्नो पकवान प्रेममा डुबेर बाँकी जीवन बिताउनेछ । यसकारण ऊ फारसी सिक्न चाहन्छ ।

अब यो बेल्जियमको यहुदीले कसरी सिकाओस्– फारसी ? नसिकाउने हो वा उसलाई फारसी आउँदैन भन्ने थाहा भयो भने ज्यान जोगिनेवाला छैन । यो केटाले कसरी आफ्नो ज्यान जोगाउँछ ? त्यो हाकिमको सपनाको के होला ? भन्ने विषयमा यो फिल्म बनेको छ ।


फिल्मका निर्देशक भादिम इरानबारे निकै रुचि भएका व्यक्ति हुन् । २००३ मा पहिलो फिल्म बनाउँदा नै उनले एक इरानी जनरलको कथा भनेका थिए । ‘हाउस अफ स्यान्ड एन्ड फग’ नामक यो विशादले भरिएको फिल्म इरानमा राजा फालिएपछि देश छोडेर भागेको एक जनरलको कथा थियो, जसले अमेरिकामा सरकारी लिलामीमा परेको घर किन्छ । समस्या तब सुरु हुन्छ, जब यो घर कर तिर्दातिर्दै पनि रेकर्डमा उल्लेख नभएका कारण गल्तीले लिलामीमा चढेको थाहा हुन्छ । घरकी खास मालिक युवती र जनरलको द्वन्द्व यो कथामा थियो ।

रिचर्ड एटेनबरोको फिल्म ‘गान्धी’ मा नसिरुद्धिन शाहजस्ता अभिनेतालाई उछिनेर महात्मा गान्धीको भूमिकामा अभिनय गर्ने बेन किंग्स्ले यसमा इरानी जनरलको भूमिकामा थिए भने जेनिफर क्लुनी घर खोसिएकी युवतीको भूमिकामा ।

०००००

‘पर्सियन लेसन्स’ को यति कुराचाहिँ खासमा मोहम्मद रसोउल्फका बारे कुरा झिक्नलाई गरिएको हो । रसोउल्फको जीवनमा गत साता अचम्मका दुई घटना भए । पहिलो उनले निर्देशन गरेको फिल्मले प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलमा सर्वोच्च पुरस्कार पायो । ‘दिअर इज नो इभिल’ ले गोल्डन वियर जित्दा मोहम्मद भने समारोहमा उपस्थित थिएनन् । कारण, उनलाई दुई वर्षका लागि देश छोड्न प्रतिबन्ध लागेको छ । उनको पासपोर्ट सरकारले फिर्ता दिएको छैन । यसैले उनकी छोरी तथा फिल्मका निर्माता र कलाकारले यो पुरस्कार ग्रहण गरे ।

दोस्रो घटना झन् अचम्मको भयो । प्रायः देशमा कुनै कलाकारले ठूलो अन्तर्राष्ट्रिय अवार्ड वा पुरस्कार जित्यो भने उसको देशमा सम्मान हुन्छ । कति देशमा त नागरिक अभिनन्दन हुन्छ । बग्गीमा राखेर सहर घुमाइन्छ । पर्सियाको अप्ठेरो समाजले भने मोहम्मदलाई अवार्ड जितेको उपलक्ष्यमा जेल पठायो । उनको सम्मान अब एक वर्षसम्म जेलमा कैदीहरूले गर्नेछन् !

यही सोमबार इरानको अदालतले मोहम्मदलाई ‘एक वर्षका लागि जेल जान तयार रहनू’ भन्ने म्यासेज मोबाइलमा पठायो । झन्डै एक वर्षअघि नै उनलाई एक वर्ष कैद, दुई वर्ष देश छोड्न र फिल्म बनाउन प्रतिबन्ध सुनाइएको थियो । त्यसबेला पनि उनी अर्को प्रतिष्ठित फेस्टिभल कानको ‘अन सर्टेन रिगार्ड’ मा पुरस्कृत भएर देश फर्किएका थिए । उनको ‘म्यान अफ इन्टिग्रिटी’ ले यसमा उत्कृष्ट अवार्ड पाएको थियो ।


देश फर्किनासाथ उनलाई इरानको सरकार र राज्यव्यवस्थाको आलोचना गरेको भन्दै मुद्दा दायर गरियो । अदालतले त्यसैबेला उनलाई जेल र प्रतिबन्ध सुनाएको थियो । यसविरुद्ध उनले अपिल गरेका थिए । अपिल चलिरहेकै बेला उनले ‘दिअर इज नो इभिल’ को निर्माण गरेका थिए ।

फिल्मले बर्लिनमा अवार्ड जितेलगत्तै इरानी अदालतले उनको अपिल खारेज गरेर जेल जान आदेश दियो । यो आदेशको युरोपका प्रायः सबैजसो फिल्म फेस्टिभल र फिल्मसम्बन्धी संघसंस्थाले आलोचना गरेका छन् । इरानमा फिल्म बनाएकै कारण यस्तो सजाय भोग्ने मोहम्मद रसोउल्फ पहिलो कलाकार भने होइनन् । यसअघि ठूला फेस्टिभलहरूमा अवार्ड जितिसकेका जफर पनाही पनि यस्तै सजाय भोगिरहेका छन् । उनलाई त झन् ६ वर्ष जेल र २० वर्ष फिल्म बनाउन र देश छोड्न प्रतिबन्ध लगाइएको छ । मोहसिन मखमलबाग अहिले पनि लन्डन निर्वासनमा छन् । इरानका अरू पनि फिल्ममेकर देश छोडेर पलायन भएका छन् । ‘दिअर इज नो इभिल’ कै एक निर्माता पनि इरानबाट पलायन भएर दुबईमा बसिरहेका छन् । मोहम्मदकै परिवार पनि जर्मनीमा बसिरहेका छन् ।

मोहम्मद रसोउल्फ इरानमा राजनीतिक फिल्म बनाउने फिल्ममेकरमा पर्छन् । राजतन्त्र फालेर इस्लामिक क्रान्ति गरेपछि इरानको सत्ता संरचना मात्र फेरिएन, कानुनका आधारहरू पनि फेरिए । यसले फिल्ममेकरहरूलाई नैतिकता र कानुनको साँघुरो घेरामा बन्द गरिदियो । कलाकार स्वभावैले त्यो घेरो तोड्ने खालका हुन्छन् । खुला समाजले त्यसलाई स्वीकार गर्छ, बन्द समाजले त्यसलाई दबाउन खोज्छ ।

०००००

अब आऊँ, ‘दिअर इज नो इभिल’ मा ।


यसको केन्द्रमा एउटा प्रश्न छ— के अपराधीलाई सिध्याएर अपराध सिद्धिन्छ ? दुई–चार अपराधीलाई मृत्युदण्ड दिएर के समाजको आपराधिक प्रवृत्तिको अन्त्य हुन्छ ? अनि के एउटा आँखाले अपराध देखेको कर्म अर्को आँखाका लागि क्रान्ति हुन सक्दैन ? सफल हुनुअघिका सबै क्रान्ति वा हिंसात्मक आन्दोलन अपराध होइनन् ? कानुनको घेरामा बसेर क्रान्ति हुन्छ ? अनि फेरि तिनै क्रान्तिकारी सत्तामा पुगेपछि कानुनको घेरा बनाएर किन बस्छन् ?

यो कुरालाई भन्न मोहम्मद रसोउल्फले चारवटा फरक कथा लिएका छन् । झट्ट हेर्दा लाग्छ, यी चार अलग कथा हुन् । एउटै फिचर फिल्म भए पनि यी चार उपकथाका पात्रहरूबीच कुनै सम्बन्ध वा सम्पर्क छैन । यिनको कहिल्यै भेट हुँदैन । एउटाको काम वा बोलीको अर्को पात्रमा कहीँ कतै कुनै सन्दर्भ छैन, केही असर पर्दैन । यी सबै कथालाई एउटै कुराले जोड्छ— त्यो हो यी सबैमा आउने मृत्युदण्डको विषय ।

‘दिअर इज नो इभिल’ नाम दिइएको फिल्मको पहिलो कथा एक आम इरानीको कथा हो । झन्डै आधी घण्टासम्म यो मानिसको दैनिक जीवनका कथा नै पर्दामा देखिन्छ । श्रीमतीलाई स्कुलबाट ल्याउनु, छोरीलाई पुर्‍याउनु, बैंकको किस्ता तिर्नु, पसलबाट सामान किन्नु, वृद्ध आमाको स्याहार गर्नु । यस्तै दृश्यमा सुस्त चलिरहेको फिल्ममा एक्कासि यस्तो ‘ट्विस्ट’ आउँछ, यसले पूरै कथालाई नै बदल्दिन्छ । दर्शकलाई स्तब्ध बनाइदिने यो कथाले हेर्दा सामान्य देखिने मानिसभित्र कसरी असामान्य कथा लुकेको हुन्छ भन्ने देखाइदिन्छ । र, साथै भन्छ— सतहमा सब ठीक देखिने समाज भित्रैभित्रै कसरी मक्किइरहेको हुन्छ ?


‘सी सेड यु क्यान’ र ‘बर्थ डे’ नामक दोस्रो र तेस्रो कथा सैनिकको हो । यी दुवै आफ्नो सैनिक सेवा सकेर सरकारबाट पासपोर्ट चाहन्छन्, ताकि इरान छोडेर अन्त कतै गएर बस्न सकूँ । यसका लागि एउटा सिपाहीले सरकारको सर्त मान्छ, अर्कोले विद्रोह गर्छ ।

चौथो कथा भने सहरबाट अलग एउटा मरुभूमिजस्तो गाउँमा पुगेर गुँड लगाएको डाक्टरको हो । आफ्नी फर्मासिस्ट श्रीमतीका साथ गाउँमा मौरी पालेर बसेको यो डाक्टरले गाउँमा कसैलाई आपत् पर्दा सहयोग गर्ने गरेको छ । जर्मनीमा बस्दै आएकी उसकी भतिजी गाउँ आइपुगेपछि भने यो कथामा थोरै हलचल आउँछ । काकाले भतिजीलाई केही कुरा भन्नु छ, जसमा यो कथाको चुरो लुकेको छ ।

प्रायः राजनीतिक विषयमा फिल्म नबन्ने इरानमा मोहम्मदले एकदमै व्यक्तिगत तरिकाले राजनीतिलाई छुने फिल्म बनाएका छन् । उनले कथाहरूका यी संग्रहबाट राजनीति र समाजमाथि प्रश्न उठाएका छन् ।


उनको एउटा पात्रले एक ठाउँमा भन्छ, ‘मान्छेको सबभन्दा ठूलो शक्ति ‘नो’ भन्नुमा छ । कुनै कुरा हुँदैन, मान्दिनँ भन्न पाउनु लोकतन्त्रमा व्यक्तिले पाउने सबभन्दा ठूलो अधिकार हो । कुनै विचार वा व्यक्तिलाई अस्वीकार गर्न नपाउनु भनेको अधिनायकतन्त्र हो ।’ मोहम्मदले जुन समाजबारे टिप्पणी गरेका छन्, त्यो यही तन्त्रमा चलेको छ । यसैले मोहम्मद र जफरजस्ता कलाकारहरू कान तथा बर्लिनका रेड कार्पेटको सट्टा जेल पुगिरहेका छन् ।

अन्तिम कथाको अन्त्यतिर निर्देशकको एउटा स्टेटमेन्ट छ, ‘म जिउँदो प्राणीको ज्यान लिन अस्वीकार गर्छु ।’ एउटा हिंस्रक भनिएको जंगली जनावरको विषयमा बोलिएको संवाद भए पनि यसले मृत्युदण्डकै कुरा गर्छ । त्यसैले पो मोहम्मदको फिल्मले भनेजस्तो कुनै खराबी बाँकी नभएको हो कि !

०००००

अहिले संसारमा फिल्म–मेकिङमा निकै प्रयोग भइरहेका छन् । कतिपय निर्देशक स्थापित नियमलाई तोडिरहेका छन् । फिल्मको संरचनादेखि कथा भन्ने शैलीमा मात्र होइन, के कुरा कथा हो, के होइन भन्नेमा समेत बहस भइरहेको छ । परम्परागत रूपमा कथा, विषय र संरचनाका मान्यताहरूलाई सिर्जनशील निर्देशकहरूले वैयक्तिकताको बम हानेर ध्वस्त पारिरहेका छन् ।


खुला बजार र फिल्म बनाउन एक हदसम्मको स्वतन्त्रता भएको देशका फिल्ममेकरहरूलाई यसको महत्त्व पक्कै थाहा होला । सधैं ‘दर्शकको मनोरञ्जनका लागि फिल्म बनाएको’ रटान लगाउनबाट फुर्सद लिएर यसका अन्य आयामबारे पनि सोच्ने हो कि !

प्रकाशित : चैत्र १, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?