विगतका महामारी- कोसेली - कान्तिपुर समाचार

विगतका महामारी

महामारीबाट सुरक्षित रहन संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो । बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो । त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ कै प्रतिरुप थियो । 
सुजित मैनाली

अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ मा परम्परागत समाजमा मानिसको मृत्यु हुने प्रमुख चार कारणबारे चर्चा गरेका छन्– वातावरणीय समस्या, मानवीय हिंसा, सरुवा तथा परजीवी जीवाणुको संक्रमण र भोकमरी । 




डायमन्डको यो किताबको उपशीर्षक ‘ह्वाट ह्वी क्यान लर्न फ्रम ट्रेडिसनल सोसाइटिज’ अर्थात् ‘परम्परागत समाजबाट हामीले के सिक्न सक्छौं’ भएबाट पनि इतिहासमा सरुवा तथा परजीवी जीवाणुले निम्त्याएको महामारीबारे अहिले चर्चा गर्नु सामयिक ठहर्छ । यसै कारणले विगतको गर्तमा बिलाएका महामारीबारे चिकित्साविज्ञानदेखि समाजविज्ञानका शोधार्थीसम्मले अध्ययन गर्ने गरेका छन् । विगतका महामारीसम्बन्धी विस्तृत बुझाइले हामीलाई वर्तमान र भविष्यमा महामारीसँग जुध्ने क्रममा मार्गनिर्देश गर्न सक्छन् ।


सामाजिक आयाम

संसारका हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । तर, महामारी सबै समाजमा समान रूपले विकराल हुने गरेको चाहिँ छैन । महामारीको सामाजिक पक्षबारे अध्ययन गरेका व्यक्तिहरूका अनुसार, घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो । कृषि अर्थतन्त्रमा सबैभन्दा पहिले अग्रसर हुने समाजमा चीन, पश्चिम एसिया, युरोप आदि पर्छन् । ठूला महामारीका अधिकांश घटना यी क्षेत्रमा घटेको पाइनुले कृषि अर्थतन्त्र र महामारीबीच साइनो रहेको थप स्पष्ट हुन्छ ।


यस्तै खालको विश्लेषण गर्ने अनुसन्धातामा पर्छन्, डायमन्ड । ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ र आफ्नो अर्को बहुचर्चित किताब ‘गन्स, जम्स, एन्ड स्टिलः द फेट्स अफ ह्युमन सोसाइटिज (सन् १९९७)’ मा उनले कृषियुगको आरम्भसँगै मानिसको जीवनशैलीमा आएका दुईवटा परिवर्तनले महामारी निम्त्याएको उल्लेख गरेका छन् । कृषि अर्थतन्त्रसँगै आएको पहिलो परिवर्तन थियो, स्थायी तथा घना बस्तीको विकास । महामारी फैलिन जनघनत्व बढी हुनु अनिवार्य हुन्छ । त्यसैले पनि महामारीलाई ‘क्राउड डिजिज’ अर्थात् भीडलाई लाग्ने रोग भनिएको हो । कृषि अर्थतन्त्रले ल्याएको दोस्रो परिवर्तन थियो, जनावरलाई घरपालुवा बनाउने चलनको थालनी ।


जनावरहरू घरपालुवा बनेपछि मानिस र जनावरबीच सम्पर्क बढ्यो । यसबाट जनावरहरूलाई लाग्ने रोग मानिसमा संक्रमण भयो । यसैले प्रकारान्तरमा महामारीको रूप लियो । बिफर, क्षयरोग, औंलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् । पछिल्लो समय चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताइन्छ । यस्तो खालको विश्लेषणलाई नैतिक मूल्यको कसीमा जोखेर प्रकृतिवादी, पशुअधिकारवादी र शाकाहारी भोजनका पक्षधरहरूले विमति जनाउने गरेका छन् । तर, कसैले पनि वैकल्पिक अवधारणा पेस गर्न सकेका छैनन् ।


महामारीबाट मानव समुदायले बेहोरेका केही ठूला क्षतिबारे डायमन्डले दुवै किताबमा चर्चा गरेका छन् । सन् १३४६–१३५२ तिर युरोपमा फैलिएको प्लेगको महामारीले त्यहाँको करिब एकचौथाइ जनसंख्या सखाप भएको थियो । केही सहरमा ७० प्रतिशतसम्म मानिस मरेका थिए । पहिलो विश्वयुद्ध अन्त्य हुँदाताका फैलिएको इन्फ्लुयेन्जाबाट झन्डै दुई करोड १० लाख मानिसको मृत्यु भएको थियो ।


यस्ता खालका महामारीसँग हामी पनि इतिहासदेखि नै परिचित रहँदै आएका छौं । इतिहासमा हामीले महामारीको त्रासदीलाई पटक–पटक बेहोर्‍यौं, जसको प्रभाव ऐतिहासिक दस्तावेज र हाम्रो सामाजिक मनोविज्ञानमा यत्रतत्र अभिलिखित छन् ।


प्रकार र प्रकृति

विभिन्न वंशावली, विदेशीहरूले लेखेका नेपालसम्बन्धी विवरण, इतिहासमा गरिएका पत्राचार, लोकगीत आदिमा नेपालले विभिन्न समयमा बेहोरेको महामारीबारे प्रशस्तै उल्लेख छन् । यी सन्दर्भ–सामग्रीलाई विचार्दा नेपालमा हैजा र बिफरको महामारी सबैभन्दा बढ्ता फैलिएको पाइन्छ । हुन त भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ को पहिलो भागमा लुतो, गानो, पिलो, आँठे, रुघाखोकी, जुका आदिलाई पनि नेपालीका प्रमुख रोग भनेका छन् । तर, महामारीको रूप लिएर खासगरी काठमाडौं उपत्यकाका बासिन्दालाई त्रसित बनाइरहने रोगचाहिँ हैजा र बिफर थिए ।


नेपालको इतिहासमा महामारी सबैभन्दा धेरै काठमाडौं उपत्यकामा फैलिएको पाइन्छ । काठमाडौंको विगतबारे प्रशस्तै लेख्य प्रमाणहरू उपलब्ध हुनु यसको प्रमुख कारण हो । अर्को प्रमुख कारणचाहिँ उपत्यकाको जनघनत्व नेपालका अन्य क्षेत्रको भन्दा बढ्ता हुनु पनि हो ।


जयस्थिति मल्लको पालामा तयार भएको गोपालराज वंशावलीमा लिच्छवि राजाहरू अमृतदेव, अरिमल्लदेव, अभयमल्लदेव, जयदेव आदिको शासनकालमा काठमाडौंमा महामारी फैलिएको उल्लेख छ । सोही वंशावलीमा विसं ११७१ तिर काठमाडौंमा ठूलो महामारी फैलिएको, यसबाट असंख्य मानिसको मृत्यु भएको र देवता स्थापना गरेपछि मात्रै महामारी रोकिएको विवरण छ । संस्कृत र नेवारी भाषामा लेखिएको यससम्बन्धी विवरणलाई नेपाली भाषामा अनुवाद गर्ने क्रममा वंशावलीका एक जना व्याख्याता धनवज्र वज्राचार्यले त्यतिबेला बिफरको महामारी फैलिएको भनेका छन् । वंशावलीको सोही खण्डको अंग्रेजी अनुवाद गर्ने क्रममा अर्का व्याख्यता कमलप्रकाश मल्लले चाहिँ बिफरको अगाडि प्रश्नचिह्न राखेका छन् । वंशावलीमा बिफरबोधक शब्द कतै छैन । तर, वंशावलीका दुवै व्याख्याताले महामारी बिफरकै हो अथवा हुन सक्छ भनी दाबी र अनुमान गरेकाले र मल्लकालतिर बिफरको महामारी काठमाडौंमा फैलिरहने गरेकाले वज्राचार्य र मल्लको अनुमान अस्वाभाविक ठहर्दैन । सोही वंशावलीमा विसं १३८६ को फाल्गुण शुक्लदेखि भाद्रासम्म दिनको सय जना जतिको ज्यान जाने गरी अर्को भीषण महामारी फैलिएको उल्लेख छ । त्यस महामारीको नाम कनिम्रकः अर्थात् कनि–मरक भनिएको छ । कनी–मरक भनेर कुन रोगलाई संकेत गरिएको हो भन्ने यकिन हुन सकेको छैन ।


काठमाडौंमा बिफरको महामारी फैलिरहन्थ्यो भन्ने कुराको संकेत यहाँका नेवारहरूले शीतलादेवीको पूजा गर्ने गरेकोबाट पनि स्पष्ट हुन्छ । बिफरलाई शीतला पनि भनिन्छ । बिफर निको पार्ने देवी अर्थात् शीतलादेवीको आराधना हुनुले बिफरले यहाँका मानिसमा ठूलो त्रास सिर्जना गरेको थियो भन्ने स्पष्ट हुन्छ । इतिहासकार दिनेशराज पन्तले सम्पादन गरेको ‘संक्षिप्त वंशावली’ (२०६५) मा महामारी देवीबारे पनि उल्लेख छ ।


नेवारहरूमाझ शीतलादेवीप्रति समर्पित भक्ति र विरहका लोकगीत प्रशस्तै छन् । प्रतापसिंह शाह, गीवार्णयुद्धविक्रम शाहलगायत राजाहरू बिफरको महामारीमा परेर मरेको, स्वामी महाराज रणबहादुर शाहले बिफर लागेका मानिसलाई काठमाडौंबाट निकाला गरेकोलगायत इतिहासका घटनाले बिफरको महामारी काठमाडौंका निम्ति कति भयावह थियो भन्ने देखाउँछ ।


मल्लकालताका काठमाडौंमा फैलिएको बिफरबारे सन् १७४० ताका काठमाडौं उपत्यकामा रकेका क्यापुचिन इसाई मिसनरीहरूले पनि लेखेका छन् । त्यतिबेला ११ जना मिसनरी भारतबाट तिब्बत जाने क्रममा काठमाडौं आइपुगेका थिए । उनीहरू काठमाडौंमा छँदै महामारी फैलियो । महामारीलाई अनियन्त्रित हुन नदिन राज्यले काठमाडौंका नाकाहरू बन्द गर्‍यो । नाकाहरू बन्द भएकाले मिसनरीहरूले सन् १७४० को फेब्रुअरी ६ देखि अक्टोबर ४ सम्म काठमाडौंमै रहनुपरेको थियो ।


त्यसपछि पनि महामारी फैलिएको बेला काठमाडौंका नाकाहरू बन्द गर्ने गरिन्थ्यो । उदाहरणका लागि विसं १८६२ को चैतमा चिसापानीमा तैनाथ सुवेदार अन्त्य खवास र सुवेदार निरञ्जनका नाममा जारी राजाज्ञालाई लिन सकिन्छ । रेग्मी रिसर्च सिरिजमा प्रकाशित राजाज्ञाको अंग्रेजी अनुवादमा चिसापानीमा झारा प्रथाअन्तर्गत काम गरिरहेका श्रमिकहरूमाझ बिफर फैलिएको उल्लेख छ । बिफर काठमाडौंतिर नफैलियोस् भनेर दुवै सुवेदारलाई काठमाडौं छिर्ने चिसापानी नाका बन्द गर्न आदेश दिइएको छ । व्यापारीलगायतले काठमाडौं पुग्नैपर्ने भए मालमत्तासहित फर्पिङबाट नख्खु खोला हुँदै भादगाउँसम्म पुग्न अनुमति दिन, तर चित्लाङतिरबाट फर्पिङसम्म जानचाहिँ नदिन आदेश दिइएको छ । राजाज्ञामा एक ठाउँ भनिएको छ, ‘यदि कसैलाई बिफर लागेको फेला परेमा के गर्ने, त्यस्ता मानिसलाई कहाँ राख्ने भन्ने निर्देशन चौतारिया बम शाहलाई दिई पठाएका छौं । तिमीहरूले पनि सोहीबमोजिम गर्नू । त्यहाँबाट महामारी फैलिएछ भने त्यसको जिम्मेवार तिमीहरू हुनेछौ । होस गरेर काम गर्नू ।’


त्यतिबेला बिफरसँगै हैजाको महामारीले पनि काठमाडौंसहित देशभरका मानिसलाई आक्रान्त बनाउने गर्थ्यो । हैजाको महामारीबाट मानिसहरू कति भयभीत थिए भन्ने कुरा कसैलाई गाली गर्नुपर्‍यो भने ‘ए हैजा’ भन्ने शब्दावलीको प्रयोगले आजका मितिसम्म पाएको निरन्तरताले पनि देखाउँछ । २०७१ सालको भूकम्पयता कसैलाई सराप्नुपर्दा जसरी ‘भुइँचालोले लग्न नसकेको’ अर्थात् ‘भुइँचालोमा मर्नुपर्ने खालको स्वभाव भएको तर दुर्भाग्यले बाँचेको’ भनिन्छ, त्यसरी नै कुनै बेला त्यस्ता मानिसलाई ‘हैजाले लग्न नसकेको’ भनिन्थ्यो । यसले भुइँचालोले हामीलाई अहिले जसरी त्रस्त बनाएको छ, त्यसरी नै हैजाको महामारीले यहाँका मानिसलाई कुनै बेला त्रस्त बनाउथ्यो भन्ने देखाउँछ ।


हैजाको प्रकोपबारे पनि इतिहासमा प्रशस्तै उल्लेख छन् । नेपालस्थित इस्ट इन्डिया कम्पनीका आवासीय प्रतिनिधि चार्ल्स थोरेसबीले २३ सेप्टेम्बर १८४७ मा कलकत्तास्थित माथिल्लो निकायलाई लेखेको एउटा पत्रलाई प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ । पत्रमा काठमाडौंमा फैलिएको हैजाको महामारी र त्यसबाट सुरक्षित रहन दरबारले चालेको कदमबारे रोचक विवरण उपलब्ध छ ।


त्यतिबेला एउटा देशको प्रमुखले अर्को देशको प्रमुखलाई लेखेको पत्रलाई खरिता भनिन्थ्यो । नेपालमा सुरेन्द्रविक्रम राजा बनेपछि कलकत्तास्थित कम्पनी सरकारका गर्भनर जनरलले सुरेन्द्रविक्रम र उनका बाबु राजेन्द्रविक्रम दुवैका नाममा आवासीय प्रतिनिधि थोरेस्बीको हात लगाएर खरिता पठाएका थिए । काठमाडौंमा हैजा फैलिएकाले थोरेसबीले खरिता बुझाउन पाएनन् । यसबारे कलकत्तालाई जानकारी गराउन लेखिएको पत्रमा थोरेस्बीले भनेका छन्, ‘अगस्टको मध्यदेखि काठमाडौं सहरमा हैजा फैलिएको थियो र अहिले पनि अवस्था थोरबहुत उस्तै छ । केही समययता त्यसको परिणाम डरलाग्दो बनेको छ । फलस्वरूप दरबार बन्द गरिएको छ । महाराजले दरबारभित्रै बस्ने आफ्ना अत्यन्त निकट मानिसलाई मात्र भेट्ने गरेका छन् । उनीहरूलाई दरबार परिसरबाहिर निस्किन दिइँदैन । सरकारका केही उच्च अधिकारीहरूले पनि महाराजलाई भेट्न पाउँछन्, तर भेट्नुअघि उनीहरूले अनिवार्य नुहाएर कपडा फेर्नुपर्छ । यसकारण हामीले महाराजासमक्ष खरिता अर्पण गर्ने कार्यक्रमलाई थप केही दिन पर सार्नु आवश्यक भएको छ ।’ पत्र लेखेको एक सातापछि हैजाको महामारी कम भएको र आफूले सुरेन्द्रविक्रमलाई भेटेर खरिता बुझाएको थोरेस्बीले अर्को पत्रमा लेखेका छन् ।


विफर र हैजाबाहेक अन्य रोगको महामारी पनि काठमाडौंमा फैलिने गर्थ्यो । काठमाडौंमा रहेका क्यापुचिन मिसनरीहरूले सन् १७१६ ताका काठमाडौंमा प्लेगको महामारी फैलिँदा तीन महिनाभित्र करिब २० हजार मानिस पीडित भएको लेखेका छन् । लुतोले पनि नेपालीलाई सताउने गर्थ्यो भन्ने कुरा साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरेकोबाट पनि स्पष्ट हुन्छ । तर, बिफर र हैजाले इतिहासमा नेपालीलाई सबैभन्दा बढ्ता त्राहिमाम बनाउने गर्थ्यो भन्ने कुरा इतिहासका सन्दर्भ–सामग्रीहरूमा विचरण गर्दा स्पष्ट हुन्छ ।


सुरक्षाका उपाय

महामारी रोक्न इतिहासमा मुख्यतः दुईवटा उपाय अवलम्बन गर्ने गरिन्थ्यो । पहिलो, दैवलाई खुसी पार्ने । दोस्रो, सतर्कतापूर्वक सुरक्षित रहने उपाय अवलम्बन गर्ने । त्यतिबेला महामारीलाई दैवी विपत्ति मानिन्थ्यो । सन् १७१६ तिर काठमाडौंमा प्लेगको महामारी फैलिएको बेला यसको दोष इसाईहरूलाई दिइएको थियो । अलच्छिन मानिने कालो रङको पहिरन लगाएर ‘विधर्मी’ इसाईहरूले काठमाडौंमा धर्म प्रचार गरेपछि रैथाने दैव रिसाएको र महामारी फैलिएको हल्ला चलेको थियो । रिसाएका दैवलाई खुसी बनाए मात्रै महामारी रोकिन्छ भन्ने जनविश्वास काठामडौंवासीमाझ बलियो भएको पाएपछि पहिरनको रङ बदल्न मिसनरीहरू बाध्य भएका थिए । देवताका नाममा उपासना, जप, ध्यान, व्रत, पूजा, भाकल आदि गरेर महामारी रोक्ने प्रयास त्यतिबेला गरिन्थ्यो ।


यसो गर्दैगर्दा महामारीबाट सुरक्षित रहन अन्य उपाय पनि समानान्तर रूपमै अपनाउने गरिन्थ्यो । यही मेसोमा संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो । बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो । हैजा लागेका मानिसलाई खोला कटाएमा अथवा कुष्ठरोगीलाई बस्तीबाट टाढा राखेमा महामारी फैलिन पाउँदैन भन्ने जनविश्वास बेहारेका बूढापाका समाजमा अझै भेटिन्छन् । त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ कै प्रतिरूप थियो ।


महामारीसम्बन्धी यी विवरण अहिलेको अत्यासलाग्दो समयमा हाम्रानिम्ति मार्गदर्शक बन्न सक्छन् । यसबाट हामीले महामारी समय–समयमा आउँदो रहेछ र गुजि्रँदो पनि रहेछ भनि महसुस गर्नुपर्छ । महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै धावा बोल्नचाहिँ नसक्ने रहेछ भनी बुझ्नुपर्छ । पछिल्लो समय चिकित्साविज्ञानले सरुवा रोगविरुद्ध हासिल गरेको अभूतपूर्व उपलब्धिले महामारीलाई हिजोको तुलनामा कम जोखिमपूर्ण बनाएको छ । यी तथ्यलाई हेरेर हामीले संकटको यस घडीमा आत्मबल उँचो बनाउनुपर्छ ।


महामारी फैलिन नदिन मानिसको आन्तरिक अथवा अन्तरदेशीय आवतजावतमाथि मनासिब नियन्त्रण अथवा प्रतिबन्ध लगाउने, संक्रमण भएकाहरूलाई ‘आइसोलेसन’ मा राख्नेलगायत काम विगतदेखि नै अभ्यास हुँदै आएको रहेछ भन्ने बुझेर हामीले आवश्यक परेको खण्डमा यस्ता कार्य गर्ने/गराउने तत्परता देखाउन सक्नुपर्छ । संसारभरिको महामारी नियाल्ने हो भने यसले गाउँभन्दा बढ्ता सहरलाई तारो बनाउने गरेको पाइन्छ । पछिल्लो समय राज्य र जनता सबैको रुझान सहरीकरणतर्फ केन्द्रित छ । महामारीको यस घडीमा भौतिक पूर्वाधारलगायत सेवासुविधा र अवसरको समुचित विकेन्द्रीकरणमार्फत गाउँलाई सुविधासम्पन्न तुल्याएर शहरको विकल्पका रूपमा प्रस्तुत गर्ने विकासको वैकल्पिक ढाँचाबारे बहस आरम्भ गर्नु पनि वाञ्छनीय हुन्छ ।

प्रकाशित : चैत्र १, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

फैलिँदै महिला क्रिकेट

हिमेश

मख्ख छ, अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) । नहोस् पनि किन, वुमेन्स ट्वान्टी–ट्वान्टी वर्ल्डकप चिताएभन्दा बढी सफल रह्यो । त्यसो त क्रिकेट केही बढी पुरुषको खेल हो, महिलाको केही कम । कम्तीमा हामीले यस्तै भनेका थियौं, सुनेका थियौं ।

सायद अब यसमा केही फरक आउनेछ र क्रिकेट हुनेछ, उत्तिकै महिलाको पनि । त्यसैले, प्रतियोगिताका क्रममा आईसीसीको नाराजस्तै थियो, अब महिलाले पनि क्रिकेट खेल्नेछन् ।

महिलाले क्रिकेट यसअघि नखेलेका कहाँ हुन् र ? खेलेका थिए । अब धेरैभन्दा धेरै महिलाले क्रिकेट खेल्नेछन्, खास आशय यस्तो थियो । आईसीसीकै अनुमान हो, यो विश्वकपको सफलतापछि हजारौं किशोरीले क्रिकेट खेल्नेछन् र सपना बुन्नेछन्, व्यावसायिक खेलाडी बनेको । अनि यस्तै–यस्तै ठूलो विश्वकप खेलेको । फेरि यस्ता सपना क्रिकेट खेल्ने पारम्परिक देशमा मात्र बुनिनेछैन, क्रिकेट भनेपछि कोसौं टाढा रहेका देशका खेलाडीले पनि यस्तो दुस्साहस गर्न सक्नेछन् ।

सबैभन्दा पहिले थाइल्यान्डकै प्रसंग । अस्ट्रेलियामा कुल १७ दिन चलेको प्रतियोगितामा सबैको नजरमा पर्न सफल रह्यो, थाइल्यान्ड । क्रिकेटमा थाइल्यान्ड ? धेरैको यस्तै खाले प्रतिक्रिया रह्यो होला पनि । कतिपय थाइल्यान्डकै खेलप्रेमीलाई पनि क्रिकेटबारे राम्रो जानकारी छैन होला, तर यही देशका महिलाले ट्वान्टी–ट्वान्टी क्रिकेटको विश्वकप खेले । यो सहभागितामै मात्र सीमित उपलब्धि पनि थिएन । थाइल्यान्डले राम्रै खेल्यो र सबैको मन जित्यो पनि । त्यसो त थाइल्यान्डले कुनै पनि खेल जित्न सकेन । लिग चरणमा थाइल्यान्ड समूह ‘बी’ मा थियो । दक्षिण अफ्रिका, इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्धको सुरुआती तीनै खेलमा हार बेहोर्‍यो । यी सबै अपेक्षित नतिजा नै थिए । पाकिस्तानविरुद्धको आफ्नो अन्तिम खेलमा त थाइल्यान्डले गज्जबै गर्‍यो र पहिले ब्याटिङ गर्दै तीन विकेटमा १५० रन बनायो । पाकिस्तान अब पराजित हुनेछ भन्ने धेरैलाई लागेको थियो ।

धन्न पाकिस्तानले ब्याटिङले गर्नुपरेन, पानी परेपछि त्यसयता खेल नै हुन सकेन । तर, यो त थाइल्यान्डले जितेजस्तै बराबरको नतिजा थियो । यसै क्रममा सबैले माने, सही योजना बन्नुपर्छ अनि त्यसअनुसार लगानी पनि, खेलाडीले मिहिनेत गर्ने हो भने नसकिने के नै हुन्छ र ? विश्व क्रिकेटमा थाइल्यान्डको कथा यही हो, जबकि धेरै होइन, केही वर्षअगाडिसम्म थाइल्यान्ड तल्लो क्रमका टिमले पनि मज्जाले हराउने टिम हो, त्यो पनि लाज्जै मर्दो किसिमले ।

बंगलादेश र थाइल्यान्ड छनोट चरण पारेर विश्वकप खेल्न सक्षम भएको थियो । सन् २००७ मै थाइल्यान्ड नेपालसँग नमीठोसँग पराजित भएको थियो । नेपालले दिएको ९६ रनको लक्ष्यसामु थाइल्यान्ड ४० रनमै अलआउट भयो । यो हारलाई थाई खेलाडीले पचाउनै सकेनन् । उनीहरूले प्रण गरे, अब हामी मिहिनेत गरेर खेल्नेछौं । त्यसलाई थाई बोर्डले पनि राम्रो साथ दियो । थाई महिलाले क्रिकेट खेल्न थालेको १३ वर्ष भएको छ ।

अब यही टिम विश्वकप खेल्ने टिम भएको छ । थाई टिमका कप्तान हुन्, सोरनारिन टिपोच । उनले खुबै गर्वले भनेकी छन्, ‘त्यो दिन पनि थियो, जब हामी नेपालसँग नराम्रोसँग हारेका थियौं, अब यो दिन पनि आएको छ, हामी विश्वकप खेलिरहेका छौं ।’ खासमा आईसीसी धेरै मख्ख परेको कारण यही थाइल्यान्डको उदयले पनि हो । अब त्यस्तो दिन पनि टाढा हुनेछैन, जति बेला यी थाई महिला खेलाडीले अस्ट्रेलियाको महिला बिग बास खेल्नेछन् । विश्व महिला क्रिकेटका सबैभन्दा ठूलो र व्यावसायिक प्रतियोगिता यही त हो ।

ट्वान्टी–ट्वान्टी महिला विश्वकपको इतिहास पल्टाउने हो भने यसमा पूर्णतः अस्ट्रेलियाको दबदबा छ । यसपल्टसमेत गरेर उसले कीर्तिमान पाँचौंपल्ट उपाधि जित्यो । यसबाहेक एकएकपल्ट उपाधि जित्ने अरू दुई इंग्ल्यान्ड र वेस्ट इन्डिज मात्र हुन् । अस्ट्रेलिया प्रतियोगितामा डिफेन्डिङ च्याम्पियनका रूपमा उत्रेको थियो र उसले मज्जाले उपाधिको रक्षा पनि गर्न सक्यो । यसको सबैभन्दा ठोस कारण यही बिग बास त हो । अस्ट्रेलियाको महिला क्रिकेट अन्य देशको तुलनामा बढी व्यावसायिक छ । उनीहरूलाई राम्रोसँग थाहा छ, कसरी ठीक समयमा ठीक ढंगले खेल्ने भनेर । यसपल्ट फाइनलमा उसको प्रतिद्वन्द्वी थियो, भारत । लिग चरणमा दुवै एउटै समूहमा थिए र भारतले अस्ट्रेलियालाई हराएको पनि थियो । फाइनल अगाडि भारतले कुनै खेल गुमाएको थिएन् । अस्ट्रेलिया भने त्यही एक खेलमा मात्र पराजित रहेको थियो ।

फाइनलमा अस्ट्रेलियाली खेलाडी पूर्णतः पेसेवर ढंगले उत्रे । पहिले ब्याटिङ गरेको घरेलु अस्ट्रेलियाले चार विकेटमा १ सय ८४ रन बनाएको थियो । जवाफमा भारत ९९ रनमै समेटियो । अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याटिङ जोडी एलिसा हेली र बेथ मुनिले धमाकेदार ब्याटिङ गरे । अस्ट्रेलियाली टिम एक से एक स्टार खेलाडीले भरिएको छ र यसमा पनि सबैभन्दा ठूला स्टार हुन्, एलिसा । अनि यी एलिसा हुन्, अस्ट्रेलियाली फास्ट बलर माइकल स्टार्ककी पत्नी ।

स्टार्क अहिलेको पुस्ताका अन्तर्राष्ट्रिय खेलाडीमध्ये सबैभन्दा घातक र प्रभावशाली फास्ट बलर हुन् । अब एलिसालाई आफ्नो परिचय दिँदा स्टार्कको नाम जोडिनु आवश्यक छैन, किनभने उनी आफैंमा अब्बल दर्जाका खेलाडी भइसकेकी छन् । बरू यस्तो पो भन्ने कि, स्टार्क एलिसाका पति हुन् । फाइनल मेलबर्नको प्रसिद्ध क्रिकेट मैदानमा भएको थियो र त्यो दिन दर्शकदीर्घामा ८६ हजारभन्दा बढी दर्शक थिए । त्यो पनि मार्च ८ को अन्तर्राष्ट्रिय महिला दिवस पारेर ।
सुरुमा फाइनल सिड्नीमा गर्ने तय थियो र त्यहाँ ४० हजार जति दर्शक आउने अनुमान थियो । आईसीसीले ठीक यही बेला आँट देखायो र फाइनल मेलबर्नमा सारियो र त्यो दिनको फाइनल हेर्न सामाजिक सञ्जालमा लहर निकाल्ने काम भयो । महिला क्रिकेटमा यति धेरै दर्शकले कुनै खेल हेरेको यो पहिलोपल्ट हो । फाइनलसम्मको यात्रामा भारतले पनि राम्रो गर्‍यो । खालि अन्तिम खुड्किलो पार गर्न सकेन । खासमा भारत महिला विश्व क्रिकेटको उदयमान टिम हो, उसका लागि फाइनल खेल्नु पनि ठूलो थियो ।

अब मूल प्रश्न । के विश्व क्रिकेटमा पुरुष खेलाडीले जति कमाउँछन्, महिला खेलाडीले पनि उत्तिकै कमाउने दिन आए त ? अथवा भनौं, अबको पुरुष ट्वान्टी–ट्वान्टी विश्वकप अस्ट्रेलियामै हुँदै छ र यसका विजेताले पनि त्यति नै पुरस्कार राशि हात पार्नेछ, जति महिला अस्ट्रेलियाले अहिले जितेको छ ? यसको उत्तर हो, छैन । यहाँनिर भने आईसीसी चुकेको छ । तर भन्छ, अब त्यस्तो दिन चाँडै आउनेछ, जति बेला पुरस्कार राशि पनि समान हुनेछ । त्यसो भने हो, साँच्चै महिलाले पनि गम्भीर झएर क्रिकेट खेल्ने समय आएको छ ।

प्रकाशित : चैत्र १, २०७६ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×