१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देवी र मुक्ति

अभय श्रेष्ठ

तिनको चिर इच्छाविपरीत,माथिबाट मायाको भिक्षादान गर्दै उनीहरुले भने, ‘साँचिराख्नू अञ्जुलीमा यो मायाको सरोवर ! देवी, नदीको पानीझैँ यसलाई बग्न नदिनू !’

देवी र मुक्ति

उनीहरुको सारा क्रूरतालाई भुलेर

अनि बर्साइदिइन् तिनले पनि माफी र मायाको झरना

र, फेरि उनीहरुले भने, ‘कति विशाल तिम्रो हृदय !

देवी, त्यसले नै यो धरती र आकाश ढाकिदिनू ।’


जसरी बेरिन्छ थााक्रामा लहरा

ठीक त्यसरी नै

बेरिदिइन् तिनले आफूलाई

उनीहरुकै मायाको गलबन्दीमा

जवाफमा उनीहरुले भने,

‘पुज्न पाऊँ सधैं तिम्रो शक्ति !

देवी, छाडेर हामीलाई तिमी कतै नजानू ।’


यसरी बाँधियो

साँझको बतासजस्तो ऊर्जाशील

तिनको दिमाग ।


यसरी नै बाँधिए

चराका पखेटाजस्ता उन्मुक्त

तिनका हातपाउहरु ।


फेरि उनीहरुले तिनको महान् सौन्दर्यको गीत गाए

र, तिनलाई द्रौपदी बनाए ।


मान्यजनले तिनको महान् पतिव्रतको भजन गाए

र, व्यभिचारी पतिहरुले लिए अग्निपरीक्षा

यसरी तिनी पवित्र सीता भइन् ।


कविहरु, जसले तिनको दूधको धाराको महाकाव्य लेखे

र, तिनको जिब्रो थुते

लुकाएर सिङ्गै ब्रहृमाण्डको बोझ

अनि राखिदिए तिनको शिरमाथि

तर, निष्ठुरी छोराहरुले तिनको नामबाट

देशको दस्ताबेजमा लेखाउन आफ्नो नाम

गरिदिए सर्वथा अस्वीकार ।


तिनले केवल मौन भाषाको सङ्गीत सुनिन्

पार गरेर अग्निपरीक्षा

चुपचाप लिइन् भूमि समाधि

अथवा निरीह ढेगनीदेवीझैँ

बोक्सी भइन् र मारिइन्

यसरी उपाख्यानहरुमा तिनी महान् भइन् ।


अब त

शिवजीको धनुषझौ नुहिसक्यो तिनको मेरूदण्ड

कहीा त तिनले बिसाउनैपर्छ यो महानताको भारी

जसरी ‘आकाश देखाइरहेको तर्जनी चन्द्रमा हुँदैन’

उसरी नै सीधा पाएको मुक्ति मुक्ति हुँदैन

तेज धारको नदीले सीमा भत्काएझैँ

यो महानताको लेखामा जब गर्नेछिन्

स्वयं तिनले सारा बेरूजुको हिसाब–किताब

तब नै इतिहासको सबभन्दा ठूलो ठगी

पर्ने छ एक दिन पक्राउ

र, तिनको महान् हृदयको ग्राफ झर्नेछ एकाएक शून्यमा ।


त्यसपछि नै देवीबाट तिनी हुनेछिन्

साधारण नारी

र, दिनको चौडा आयतनमा आकाश खुलेझैँ

खोलिनेछ तिनको दिमागमा

ठोकिएको नेल बिस्तारै ।

प्रकाशित : फाल्गुन २४, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?