कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुन्दुमबाट मार्क्सवाद

मार्क्सभन्दा पहिले नै थियो ‘मार्क्सवाद’ तर फरक नामहरूमा । ती थुप्रैमध्ये एउटा नाम हो– मुन्दुम । आफूभन्दा पहिले विकास भएका यस्ता थुप्रै ‘मार्क्सवादहरु’ को उच्चतम संश्लेषण गरेका हुन्– कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले । मार्क्सवाद एउटा चिन्तन र चिन्तन प्रणाली हो, जुन आदिम समयमा पनि थियो ।
भोगीराज चाम्लिङ

काठमाडौँ — केकार्ल मार्क्स पहिलो ‘मार्क्सवादी’ हुन् ? अहँ पटक्कै होइनन् । उनी त सबैभन्दा कान्छो ‘मार्क्सवादी’ हुन् । मार्क्सभन्दा पहिले नै थियो ‘मार्क्सवाद’ तर फरक नामहरूमा । ती थुप्रैमध्ये एउटा नाम हो मुन्दुम । आफूभन्दा पहिले विकास भएका यस्ता थुप्रै ‘मार्क्सवादहरू’ को उच्चतम संश्लेषण गरेका हुन् कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले ।

मुन्दुमबाट मार्क्सवाद

मार्क्सवाद एउटा चिन्तन र चिन्तन प्रणाली हो जुन आदिम समयमा पनि थियो । मार्क्स–एङ्गेल्सले आदिमदेखि आधुनिक युगका समाजलाई हेरेर, आदिमदेखि आधुनिक युगसम्मका चिन्तनहरू अध्ययन गरेर मार्क्सवादका रूपमा सैद्धान्तीकरण गरेका हुन् । त्यसैले मुन्दुमहरूको गर्भबाट जन्मिएको हो मार्क्सवाद । अथवा यसो पनि भन्न सकिन्छ— मुन्दुममा आदिम प्राकृतिक भौतिकवादी चिन्तन पाइन्छ, मार्क्सवादचाहिँ आजको वैज्ञानिक भौतिकवाद हो ।

000


मार्क्सवादले के भन्छ भने विश्वमा जति पनि दार्शनिक दृष्टिकोणहरू छन्, ती दुईथरी छन्— आदर्शवाद र भौतिकवाद । आदर्शवादले भन्छ, ‘हाम्रो चेतना प्राथमिक कुरा हो, भौतिक वस्तु चाहिँ चेतनाको उपज हो ।’ यो आदर्शवादी दृष्टिकोणलाई सजिलो बनाउन सानो उदाहरणबाट छलफल गर्ने हो भने हाम्रो मस्तिष्कमा आगोसम्बन्धी चेतना पहिल्यै थियो, त्यही चेतनाले आगो पैदा गरेको हो । आगोसम्बन्धी चेतना हुँदैनथ्यो भने आगो भन्ने वस्तु नै हुँदैनथ्यो भनेर भन्छ आदर्शवादले ।


यसो भन्दै गएर यो सिङ्गो ब्रह्माण्ड र प्राणीहरूको निर्माण ईश्वर भन्ने चेतनाले गर्‍यो भनेर आदर्शवादले व्याख्या गर्छ । यसको विपरीत भौतिकवादले चाहिँ भौतिक वस्तु प्राथमिक हो, त्यसले चेतना पैदा गर्छ अर्थात् भौतिक वस्तुविना चेतना पैदा हुन सक्दैन भनेर भन्छ । जस्तो कि आगो भएकाले नै तातोले पोल्छ, तातोले खानेकुरा पाक्छ भन्ने चेतना मान्छेको मस्तिष्कमा पैदा हुन्छ । यो सृष्टि ईश्वर भन्ने चेतनाको उपज होइन, भौतिक प्रक्रियाको परिणाम हो, प्राणीहरू ईश्वरले होइन, उद्विकासको प्रक्रियाबाट बनेको हो भनेर भौतिकवादले भन्छ । अब यी दुई दार्शनिक मान्यताका बीचमा मुन्दुम कहाँ पर्छ ? कुन दर्शनसँग नजिक छ ? यसबारे केही उदाहरण दिएर चर्चा गर्न सकिन्छ ।


माथि आगोको उदाहरण दिएका कारण म यहाँ आगोकै कुरा गर्छु । मुन्दुममा आगोको आविष्कारबारे पनि केही कुरा उल्लेख भएको पाइन्छ । अझ किरातीहरू त आगोलाई केन्द्रमा राखेर संस्कार गर्ने समुदाय हो । उनीहरूको आगो संस्कृतिमा आदिम युगको सांस्कृतिक अवशेष फेला पर्छ । अहिले पनि किरातीहरूले अगेनामा आगो निभ्नु हुँदैन भनेर आगोको बीउ बचाइराखेका हुन्छन् । यो दुई कारणले गर्दा हो । एक, उहिलेउहिले जतिखेर पनि बाल्न सकिने सलाइ, लाइटरजस्ता प्रविधि थिएनन् ।


त्यसैले आगो निभ्यो भने पुनः जगाउन मुस्किल पर्थ्यो । दोस्रो, घरखेती गरेर स्थायी बसोबास गर्नुभन्दा पहिले न्यानोका लागि र जंगली जनावरहरूको आक्रमणबाट बच्नका लागि आगो सहारा थियो । आगो देखेपछि जंगली जनावरहरू भाग्ने भएकाले आदिम युगमा आगोको बीउ बचाइन्थ्यो । त्यही आगो बचाउने कुराको सांस्कृतिक अवशेष हो अहिले किरात राईहरूको चुलामा अनिवार्य आगोको बीउ जोगाइराख्नुपर्छ भन्ने प्रचलन । सम्भवतः अहिलेजस्तो छ्यासछ्यास्ती आगो पाइने भए किरातीहरूमा अहिलेको जस्तो आगो संस्कृति विकास हुँदैनथ्यो । आगो संस्कृति उहिले पुर्खाहरूले खेपेको संकटको उपज हो ।


मुन्दुमअनुसार आगो कुनै अलौकिक शक्ति अर्थात् ‘भगवान्’ ले उपहार दिएको वस्तु होइन । बरु मुन्दुममा त जंगली काठहरू घर्षण भएर डढेलो लागेको, डढेलोले मरेका पशुपन्छीका मासु खाँदा स्वादिलो भएकाले पोलेर खान सिकेको, आगोले न्यानो र उज्यालो दिएकाले प्रयोग गर्न सुरु गरेको कथा आउँछ । म यहाँ आगोसम्बन्धी दुईवटा मुन्दुमी मिथकको सार उल्लेख गर्छु ः


आगो एक : उहिले आमा चिनिमा बसेको ठाउँतिर ठूल्ठूला रूखका डाला जोडिएका थिए । ती रूखहरू मरे । सुख्खा समय आउँदा घामको ताप लाग्यो । हावाले ती रूखहरू हल्लायो । जोडिएका डाला घोटिँदा, पेलिँदा प्रकृतिले फिलिङ्गो बनायो । आगो बल्दै गयो । आमा चिनिमाले आगो पछ्याउँदै, आगो ताप्दै गइन् । यो आगो दाउरा जोत्दा बल्छ, दाउरा तानिदिँदा मर्छ, दाउरा गाड्दा रहन्छ, एक्लै हुँदा साथी हुन्छ, अँध्यारोमा देखिन्छ भनेर आफू बस्ने ठाउँमा ल्याएर बालिन् (जितराज राई, मुन्दुमसम्बन्धी प्रकाशोन्मुख पुस्तकबाट) ।


आगो दुई : उहिले किरातीहरू जंगलतिर ओडारमा झ्याउ ओछ्याएर, झ्याउ नै ओढेर बस्थे । उनीहरू जंगली जनावर र पानीमा पाइने जीवजन्तु सिकार गरेर काँचै खान्थे । एक दिन धनुमा काँड चढाएर हान्दा बँदेल उफ्रेर भाग्यो । काँड दल्छिन ढुंगामा ठोकियो र आगोको झिल्का निस्क्यो । त्यो झिल्का झ्याउमा खसेर आगो उत्पन्न भयो । आगोले डढेलो गयो । जंगल डढेलोले खाग भयो । त्यहाँ जंगली जनावरहरू डढेर मरे । डढेको मासु धनुकाँडले अच्याएर खाँदा ज्यादै मीठो भयो । त्यस समयदेखि किरातीहरूले आगोमा पोलेर खान जाने (गडुलमान राई, किरात संस्कार, २०६६) ।


यी दुई मिथकबाट बुझ्न सकिन्छ— एक, किरातीहरू आगोलाई ईश्वरको उपहार मान्दैनन् बरु यसलाई प्राकृतिक परिघटना मान्छन् । दुई, भौतिक वस्तुले चेतना निर्माण गर्छ अर्थात् आगो भन्ने भौतिक वस्तु भएकाले गर्दा नै पोल्छ भन्ने चेतना विकास भएको हो भनेर भौतिक वस्तुलाई प्राथमिक मान्छन् । आफ्नो जीवनमा पारेको असीम प्रभावका कारण आगोप्रति उनीहरू अत्यधिक अनुगृहीत छन् । त्यही कारण किरात राईहरूले अधिकांश संस्कार आगो र चुलालाई केन्द्र मानेर गर्छन् । त्यस्तै सृष्टिबारे मुन्दुमी अवधारणा पनि किरातीहरूमा रहेको भौतिकवादी दृष्टिकोणको अर्को बलियो साक्ष्य हो । सृष्टिसम्बन्धी उनीहरूको परिकल्पना कस्तो रहेछ भन्ने झलक लिन मुन्दुमी मिथककै कुरा गरौं ।


सृष्टि एक : उहिले आकाश भत्किएर यो धर्ती बनेको हो । यो धर्तीमा खाल्डो भयो । त्यो खाल्डोमा पानी उब्जेर तलाउ भयो । तलाउ माझमा लेउ उब्ज्यो । लेउ बढ्दै, कक्रिँदै गयो । कक्रिएको लेउमाथि निगुरो र दुबो उब्जियो । दुबो त पाँजिएर डाला हान्दै लहलह बढ्दै तलाउ छेउको भूमिमा जरा गाडेर साँघु (पुल) जस्तो झ्यांगियो । बूढोपाको भएर मरेपछि निगुरोको जरा खाँदै जाँदा धमिराले भूमि (माटो) भेट्टायो । पानीभित्रबाट माटो खाँदै थुपार्दै मकाएको निगुरोको फेदबाट पानीमाथि देवल झिक्यो । त्यो देवललाई माथिबाट घामको तापले ततायो, तलबाट चिसो पानीले भिजायो । तातो–चिसोले भेटेको देवलको माझमा प्रकृतिले नाभि बनायो । त्यो नाभिमा सृष्टिको पहिलो मानव आमा चिनिमा पैदा भइन् (जितराज राई) ।


सृष्टि दुई : अर्को मुन्दुमी अवधारणाअनुसार सुरुमा यो संसारमा पानी–पानी थियो । त्यो पानीको फिँजबाट दर्सनढुंगा उत्पत्ति भयो । त्यो ढुंगोको चेपमा ठाडो उन्यु उम्रियो । उन्यु बूढो भएर झरेको पातमा धमिरा पैदा भयो । धमिराले पानीमुनिबाट माटोको ढिस्को बनायो जहाँ निभू च्याउ उम्रियो । च्याउमा खुम्लेकीरा उत्पत्ति भयो । त्यो खुम्लेकीराबाट रिभ्याँमा (चेली) र रिकपा (माइती) पैदा भए (गडुलमान राई) ।


आधुनिक वैज्ञानिक अनुसन्धानले ब्रह्माण्ड, पृथ्वी र प्राणीहरूको उत्पत्ति कसरी भयो भनेर प्रशस्त बताइसकेको छ । त्यसअनुसार सृष्टिसम्बन्धी किरातीहरूको अवधारणा एउटा कोरा कल्पना मात्र हो । तर, यो अवधारणाको महत्त्व केमा छ भने किरातीहरू भौतिकवादी तरिकाले सोच्छन्, उनीहरू भौतिक पदार्थलाई प्राथमिक मान्छन् भन्ने कुरा यो मिथकबाट स्पष्ट हुन्छ । किरातीहरूमा अलौकिक शक्तिले सृष्टि गरेको भन्ने मान्यताभन्दा पनि सृष्टिलाई भौतिक–प्राकृतिक प्रक्रियाका रूपमा हेरिँदो रहेछ भन्ने स्पष्ट हुन्छ । यो अवधारणा बाँच्नका लागि प्रकृतिसँग संघर्ष गर्ने क्रममा विकास भएको हो । थुप्रै पुस्ताको अनुभवबाट उनीहरूको सृष्टिसम्बन्धी अवधारणा बनेको हो । वैज्ञानिक परीक्षण नगरीकन अनुभवका आधारमा विकास भएकाले यसप्रकारको भौतिकवादी चिन्तनलाई प्राकृतिक भौतिकवाद, आदिम भौतिकवाद र स्वतःस्फूर्त भौतिकवाद भन्ने गरिएको छ ।

000


मुन्दुममा पाइने द्वन्द्वात्मक भौतिकवादबारे कुरा गर्नका लागि म सात–आठ वर्षअघिको एउटा सन्दर्भ उल्लेख गर्छु । किरात राई चाम्लिङ खाम्बातिम भन्ने सामाजिक संस्थामार्फत भर्खरभर्खर मुन्दुम संकलन गर्न सुरु गरेका थियौं । बडाबा (तिप्पा) का छोरा अमल दाइको घरमा शिवराज राईले ग्रहदशा शान्त गर्न अर्थात् खड्गो काट्न चिन्ता गर्दै हुनुहुन्छ भन्ने थाहा पाएँ । संयोगवश म गाउँमै भएकाले रेकर्ड गर्न गएँ । खड्गो काट्ने क्रममा पैसामाथि राखेर कुभिन्डो काटियो ।


मैले धामीलाई सोधेँ, ‘किन पैसामाथि कुभिन्डो राखेर काट्नुपरेको बाजे ?’ धामीले भन्नुभो, ‘कुभिन्डो भनेको काल (मृत्यु) हो । अनि हामी किरातीलाई मासेका (सत्ताच्यूत गरेका) कारण हाम्रा लागि राजा पनि कालबराबर भयो । त्यसैले पैसामाथि कुभिन्डो राखेर काटेको ।’ नयाँ कुरा थाहा पाएँ भनेर त्यतिखेर म खुसीले मखलेल भएको थिएँ किनभने मैले नयाँ कुरा थाहा पाएँ– किरातीहरूमा गणतान्त्रिक चेतना संस्कृतिकै अंग बनिसकेको रहेछ ।


शिवराज राईले खड्गो काट्ने क्रममा गायन गरेको सृष्टि र कुभिन्डोसँग सम्बन्धित मुन्दुमको रिसिया (श्लोक) उल्लेख गर्दा अझ बढी गज्जब हुने छ । खसनेपाली भाषामा रिसियाको अनुवाद यस्तो छ–

उहिले पो

नागले समुद्रमा ढुंगा उब्जायो है

उहिले पो ढुंगाको चेपमा उन्यु पलायो है

उहिले पो उन्युले धमिरा उब्जायो है

उहिले पो धमिराले माटो उब्जायो है

उहिले पो धर्तीमा दुवो, हडबडे पलायो है

उहिले नै माटोमा चिन्डोको मुना टुसायो है

एक आँख्लामा कुभिन्डो फल्यो

एक आँख्लामा चिन्डो फल्यो

अर्को आँख्लामा सेलुइमा–मालुइमा फल्यो है

निवामामा सुर्लुमी, मुबुमी, कुबुमी

अगेना पुज्ने र अजिङ्गर पुज्ने जन्मिए है


यो रिसिया संकलन गरेको एक वर्षजति पछि मुन्दुम संकलनकै सिलसिलामा हिकेम्पा बाजे (जितराज राई) सँग भेट भयो । मैले उहाँलाई सोधेँ, ‘बाजे ! धामी शिवराज राईले गाउनुहुने मुन्दुममा चिन्डोको लहरामा चिन्डो र कुभिन्डो फल्यो भन्नुहुँदो रहेछ । यसको अर्थ के हो ?’ बाजेले भन्नुभो, ‘नाति ! चिन्डो भनेको जीवन हो, कुभिन्डो भनेको काल (मृत्यु) हो ।’


बाजेको कुरा सुनेपछि म फेरि दोस्रोपटक मखलेल भएँ । किनभने, किरातीहरूमा द्वन्द्वात्मक चिन्तन प्रणाली रहेछ भन्ने कुरा थाहा पाएँ । आदिम युगका किराती पुर्खाहरूको नजरमा हाम्रो मानव चोला जीवन (प्राण) र मृत्युजस्ता दुई विपरीत कुरा एकअर्कामा अभिन्न रूपमा जोडिएर बनेको छ । त्यसलाई उनीहरूले चिन्डोको लहरा, चिन्डो र कुभिन्डोमार्फत प्रतीकात्मक रूपमा अभिव्यक्त गरे । मुन्दुमी भाषामा भन्दाखेरि चिन्डोको लहरा भनेको जीवन हो, त्यसमा प्राणरुपी चिन्डो र मृत्युरूपी कुभिन्डोजस्ता दुई विपरीत कुरा एकअर्कामा अभिन्न रूपमा गाँसिएका छन् । यो द्वन्द्ववादी चिन्तनको आदिम संश्लेषण हो जसलाई मार्क्सवादले द्वन्द्वात्मक भौतिकवाद भनेको छ । ठीक यहाँनिर ‘द्वन्द्ववाद शब्द प्रयोग हुनुभन्दा धेरै पहिला मान्छेले द्वन्द्वात्मक तरिकाले सोच्थ्यो’ (मार्क्स–एङ्गेल्स, कलेक्टेड वर्क्स, भोलुम २५, १९८७, पृष्ठ १३२) भन्ने एङ्गेल्सलाई सम्झिनैपर्छ ।


द्वन्द्वात्मक भौतिकवादमा मूल नियम भनेर तीनवटा नियमको कुरा हुने गरेको छ– परिमाणबाट गुणमा परिवर्तन, निषेधको निषेध (अर्थात् पुरानो कुरालाई निषेध गरेर त्यसैको गर्भमा जन्मिएर नयाँ मान्यता–शक्तिले स्थान लिन्छ भन्ने विचार) अनि विपरीत तत्वहरूको एकता र संघर्ष । जसरी चुम्बक हुनका लागि उत्तरी र दक्षिणीजस्ता दुई विपरीत ध्रुव अभिन्न रुपमा गाँसिनैपर्छ त्यसरी नै समाजमा शोषक र शोषित, उत्पीडक र उत्पीडित जस्ता कहिल्यै मिल्न नसक्ने दुई विपरीत सामाजिक तत्वहरू हुन्छन् । एउटा सानो उदाहरणबाटै चर्चा गर्ने हो भने नेपालमा राजतन्त्रवादी र गणतन्त्रवादी जस्ता दुई विपरीत शक्तिहरू थिए ।


यी दुईबीच संघर्ष हुँदा राजतन्त्र मासिएर गणतन्त्र स्थापना भयो । यसरी समाज, प्रकृति र ब्रह्माण्ड नै विपरीत तत्वहरूको एकता र संघर्षबाट बनेको छ भन्ने मान्यता राख्छ मार्क्सवादले । र, यसलाई द्वन्द्वात्मक भौतिकवादको गुदी मानिन्छ । यसमा अझ माओत्सेतुङ त द्वन्द्वात्मक भौतिकवादको तीनवटा नियम हुँदैन, बरु विपरीत तत्वको एकता र संघर्ष भन्ने एउटा नियम मात्र हुन्छ भन्छन् (सम्पादक स्टुआर्ट स्क्रोम, चेयरम्यान माओ टक्स टु पिपल, १९७४, पृष्ठ २२६) । यसरी मार्क्सवादले सबैभन्दा महत्व दिएको द्वन्द्वात्मक भौतिकवादी चिन्तनको जरा मुन्दुममा पाइन्छ ।


यही कारणले त एंगेल्सले भनेका हुन्– आधुनिक भौतिकवादको जन्म आदिम युगको भौतिकवादको गर्भबाट भएको हो (ड्युहरिङ मत–खण्डन, १९८०, पृष्ठ ५४८) । त्यसैले त भौतिकवादी चिन्तनमा मार्क्सवादभन्दा धेरै जेठो हो मुन्दुम ।

प्रकाशित : फाल्गुन २४, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?