२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वृद्ध पत्रकारको देह–आसक्ति

गाब्रियल गार्सिया मार्खेज (मार्च ६, १९२७–अप्रिल १७, २०१४) का दर्जनौं किताबका लाखौं प्रशंसक छन् । यो युगले विश्वकै एक महान् प्रयोगधर्मी आख्यानकारको रूपमा ठम्याएका मार्खेजको जन्मदिवसको सन्दर्भमा प्रस्तुत छ– उनको बहुचर्चित किताब ‘मेमोरिज अफ माई मेलानकोली होर्ज्’ माथिको पठन–अनुभूति :
बलराम अधिकारी

गाब्रियल गार्सिया मार्खेजको पराजित पाठक हुँ । उनको पाठ्य भूगोलमा विचरण गर्नेपहिलो प्रयासमै म हतोत्साहित भएँ, अझै पनि ममा सहजै आँट आउँदैन । उनको ‘वान हन्ड्रेड इअर्ज अफ सोलिच्युड’ (एक सय वर्षको एकान्तवास) भित्र प्रवेश गर्ने मेरो अनेकौँ पटकको प्रयास विफल भएको छ ।

वृद्ध पत्रकारको देह–आसक्ति

यो किताबको विशाल काया, विषयवस्तु र शैलीको दुर्बोधताबाट दच्केको मेरो मन त्यतिखेर प्रफुल्लित भयो, जतिखेर मैले मार्खेजलाई पाँच वर्षअघि फेला पारेँ– लघु आकारमा, सरल भाषामा, ग्राह्य शैलीमा तर असहज विषयवस्तुमा ।


पहेँलो पृष्ठभूमिमा सेता ठूला अंग्रेजी अक्षरमा गाब्रियल गार्सिया मार्खेज लेखिएको छ र तिनै अक्षरहरूलाई छानो बनाएर एउटी लुरी नवयौवना देब्रे हातको सिरानीमा दाइने हातको आड बनाई मस्त निदाइरहेकी छे । सिल्क स्कर्टमा सजिएकी त्यो लुरीको दायाँ कुहिनाको ठीक तलका अलि साना अक्षरहरू मनमनै पढ्छु, ‘मेमोरिज अफ माई मेलानकोली होर्ज् ।’ ‘होर’ शब्द अपाच्य, असहज र नजानिँदो प्रकारले आकर्षक पनि लाग्छ । शीर्षकलाई नेपालीमा अनुवाद गरी मनन गर्न खोज्छु, ‘मेरा उदासी वेश्याहरूको सम्झना’ ।


नेपालीमा त अझै अपाच्य, असहज लागेर आउँछ र नजानिँदो प्रकारले उत्तिकै चित्ताकर्षक पनि । पुस्तकको आवरणमा लेखिएको छ— आफ्नो ९० औँ जन्मदिनको पूर्वसन्ध्यामा कोलम्बियाको एक स्तम्भकार कुनै नवयौवना कुमारीसँग उन्मत्त प्रणय सुख भोग गरेर रात विताउने निर्णय गर्छ । ऊ त्यस अज्ञात सुन्दरीको मोहपासमा पर्छ । डेल्डाडिनाको प्रेममा परेपछि विगतमा आफूले भोगेका सबै महिलाको सम्झना सजीव भएर सल्बलाउन थाल्छ । त्यसपछि ऊ नवप्रणयिनीसँग आफूले बिताएका पलहरू लेख्दै पत्रिकामा छपाउन थाल्छ ।


‘मेरा उदासी वेश्याहरूको सम्झना’– यस उपन्यासलाई मैले मार्खेजको अगम्यप्रायः आख्यान चेतनामा प्रवेश गर्ने एउटा सहज मार्गका रूपमा फेला पारेँ । यस आख्यान रोज्नुको अर्को कारण शीर्षकले संकेत गरेको कामोत्तेजक विषयवस्तु पनि हुनसक्छ । हुन पनि मेरो पहिलोपटकको पठनले त्यो बेनामी पत्रकारको रासलीलाभन्दा परको भाव समात्न सकेको रहेनछ । त्यसैले समग्र आख्यान अलि फिका र सपाट अनुभव भयो । तर, भित्रभित्रै भने म आफूलाई यस आख्यानको मर्म भेदन गर्न नसकेको भान भइरह्यो ।

सन् २००४ मा स्प्यानिस भाषामा प्रथमपटक प्रकाशित र २००५ मा अंग्रेजीमा एडिथ ग्रोसम्यानद्वारा अनूदित यो लघु उपन्यास मार्खेजले जीवनको उत्तरार्द्धमा लेखेका थिए ।


सम्भवतः यो नै उनको अन्तिम आख्यान कृति हो भन्ने लाग्छ । सरसर्ती हेर्दा यो एक व्यभिचारी बयोवृद्ध संगीत–कला समीक्षकको आत्मकथा हो, जसले जीवनको उत्तरार्द्धसम्म पनि शरीरले थेगेसम्मको आनन्दोत्सव मनाएको छ । पूर्णतः एकाकी जीवन बाँचेको यो बेनामी वृद्ध पत्रकार आफ्नो पेन्सनको अधिकांश हिस्सा वेश्याचरणमा खर्च गर्छ । त्यतिले नपुगेर आफ्नो घरको पुराना बहुमूल्य सामान पनि बेच्न भ्याएको छ । उसमा स्त्री देहको भोक कतिसम्म उत्कट छ भने ऊ आफ्नो आत्मकथा लेख्दै गर्दा गर्वका साथ भन्छ— पचास पुग्दासम्म ५१४ जना स्त्रीसँग शारीरिक सम्पर्क राखिसकेको थिएँ । तर, पछि शक्ति घट्दै गयो, सम्पर्कमा पनि कमी आउन थाल्यो । त्यसपछि कापीमा नटिपीकनै याद गर्न थालेँ (पृ. १२) । यौनको शाश्वत् तृप्तिको खोजीमा रहेको ऊ आफ्नो ९० औँ जन्मदिनमा कुमारी नवयौवनासँग उन्मत्त ढंगले रात बिताउने सोच राखेर रोसा नामकी कोठीवाल्नीलाई फोन गर्छ । उसको चाहनाअनुसार, रोसाले एक नवयौवनाको व्यवस्था गरिदिन्छे ।


९० औँ जन्मदिनको पूर्वसन्ध्यासम्म ऊ केवल शरीर बाँचेको छ र उसको जीवन इद अर्थात् कामतत्त्वबाट निसृत ऊर्जाबाट मात्र परिचालित छ । उसका लागि मानव यौन केवल शरीर र पैसाबीच हुने सहमतिको लेनदेन हो । नारी र पुरुषको देह जोड्ने केवल एउटै तत्त्व पैसा हो भन्ने उसले बुझेको छ । त्यसैले ऊ कुनै दकसबिना भन्छ— पैसा नतिरीकन आजसम्म म कुनै पनि महिलासँग सुतेको छैन (पृ.११) । अतः आफ्ना सम्पर्कमा आएका सम्पूर्ण स्त्रीहरूसँगको उसको सम्बन्ध प्रेमको रसायनबाट पूर्णतः मुक्त छ । सम्बन्धमा कुनै प्रितमय आसक्ति छैन, जुन दैहिक आकर्षण र सन्तुष्टिभन्दा पर फैलिन सकेको छैन । कोठीमा मस्त निद्रामा रहेकी नवयौवनालाई देखेपछि भने पहिलोपटक ऊभित्र प्रेमाभाव रसाउन थाल्छ ।


ऊ भन्छ— त्यस रात मैले भोगको कुनै आकांक्षा नराखीकन सुतिरहेकी महिलाको शरीर ध्यानमग्न भई हेरिरहेँ । जीवनमा पहिलोपटक रहस्यमयी आनन्दको अनुभव गरेँ (पृ.२९) । निदाएकी या निदाएको बहाना गरेकी उक्त केटीलाई ऊ डेल्गाडिना भनी सम्बोधन गर्छ । पहिलोपटक ऊ कुनै स्त्री देहसँग आत्मिक रूपले आकर्षित हुन्छ । भोग्ने हतारमा ऊ देखिँदैन । केबल स्नेहपूर्वक अवलोकनको अपूर्व आनन्द लिन्छ ।


भोक्ताभावको अन्त्यहीन यौन अतृप्ति बोकेर बाँचेको त्यस वृद्ध स्तम्भकारले पहिलोपटक जीवनमा द्रष्टाभाव राख्छ । त्यस क्षण नै जीवनमा पहिलोपटक ऊ आफू कुनै स्त्रीको प्रेममा परेको अनुभव गर्छ । सदा भोक्ताभाव राख्ने ऊ त्यस रात भने केटीको रूपको द्रष्टा बनी केवल मौन अवलोकन गरिरहन्छ । हिजोसम्म स्त्री देहलाई दैहिक आनन्दको स्रोतभन्दा बढी नठान्ने ऊ आज एकाएक त्यसमा आत्मिक आकर्षण देख्छ । अब उसमा शारीरिक रूपले भन्दा पनि आत्मिक रूपले समाहित हुने चाहना उम्लिएर आउँछ । भोक्ताभाव ज्यादा स्वकेन्द्रित हुन्छ, यो स्वामित्व चाहन्छ, अरूमाथि अधिपत्य जमाउने तीव्र इच्छा रहन्छ ।


त्यसैले उत्तिकै हिंसात्मक पनि । सुरुमा कापीमा र पछि मनमनै टिपोट गरेका सम्पूर्ण महिलालाई उसले केवल भोग्य वस्तुका रूपमा लिएको थियो । त्यसैले कुनै पनि स्त्रीसँगको सम्बन्धमा उसले प्रेमको आभाससम्म पनि फेला पारेको थिएन । ती सम्बन्ध केवल वस्तु विनिमयजस्तै थिए । तर, त्यस नवयौवनाको सम्पर्कमा आएपछि भने उसमा दैहिक भोक घट्दै जान्छ र प्रेमको भोक जाग्दै जान्छ । अर्धनग्न अवस्थामा निदाइरहेकी केटीको ध्यानमग्न अवलोकन गरिरहँदा ऊ आफ्नै अन्तस्करणको यात्रामा लाग्छ ।


जीवनभरि देहशक्तिले टालिएका उसका आँखा डेल्गाडिनाप्रतिको प्रेमासक्तिले अकस्मात खुल्छ । वास्तवमा त्यो अवोध नवयौवना त्यस वृद्ध पत्रकारका लागि अन्तस्करणको अवलोकन र यात्रा गर्ने माध्यम बन्दछे । डेल्गाडिनाप्रतिको उसको एकतर्फी प्रेम उसका लागि दर्पण बन्छ, जसमा उसको विगत सजीव भएर सल्बलाउन थाल्छ । जीवनको सुदूर–उत्तरार्द्धमा आएर आफ्नो अँध्यारा पाटाहरूसँग साक्षात्कार भएको ऊ स्वअवलोकनपछि एकाएक भन्छ— आज म अर्कै मानिस भएँ । नब्बे वर्षमा आएर बल्ल ऊ आफ्नो जीवनको नवअध्याय आरम्भ भएको ठान्छ । प्रेम प्यासले व्याकुल ऊ हरेकजसो रात केटीकोमा जान्छ, उसलाई ढोकातिर पिठ्युँ फर्काएर सुतेको भेट्छ, उसको आडैमा बस्छ, कहिले लोरी गुनगुनाउँछ, कहिले कथा सुनाउँछ त कहिले आफूले पत्रिकाका लागि उसकै नाममा लेखेको प्रेमपत्र पढेर सुनाउँछ ।


निद्रा नबिथोलियोस् भनी चुपचाप उसको आडैमा पल्टिरहन्छ । बिहानको पहिलो प्रहरमा केटी जाग्नुअगाडि नै कोठा छाड्छ । अपेक्षारहित एकतर्फी प्रेममा व्याकुल त्यस बयोवृद्ध देह–लम्पट पत्रकारको अन्तस्करण पहिलोपटक खुल्छ र कुनै तत्त्वबोधीझैँ बोल्छ— एकतर्फी अथवा अनुत्तरित प्रेम नै जगत् चलाउने अजेय शक्ति रहेछ ।


प्रेमाभावले रूपान्तरित भएको त्यस वृद्ध पत्रकारको आत्मकथा पढिरहँदा मेरा मनमा दुई प्रश्न बारम्बार उठिरहे । पहिलो, के हुन्छ जब व्यक्तिको कामवासना ‘नेसेसिटी’ बाट ‘डिजायर’ मा रूपान्तरित हुन्छ ? दोस्रो, प्रेम–विमुख दैहिक सम्बन्ध किन अपूर्ण रहन्छ ? पहिलो प्रश्नको जवाफका लागि म मनोविश्लेषक ज्याक लकाँतर्फ फर्किन्छु । लकाँले ‘नेसेसिटी’ अर्थात् आवश्यकता र ‘डिजायर’ अर्थात् इच्छा/चाहनाबीच भेद देखाएका छन् । उनी सम्झाउँछन्— आवश्यकता पूरा गर्न सकिन्छ तर डिजायर कहिल्यै पनि पूरा हुँदैन । आवश्यकताको अन्त्य विन्दु हुन्छ तर डिजायर भने अन्त्यहीन हुन्छ । इच्छाइएको एउटा वस्तु प्राप्त हुनासाथ फेरि अर्को वस्तुको चाहना जाग्छ । वस्तु फेरिँदै जान्छ तर चाहना जस्ताको तस्तै रहन्छ । अन्ततः व्यक्ति चाहनाको अन्त्यहीन जालोमा फस्छ । यस बयोवृद्ध पात्रको जीवन पनि यही अन्त्यहीन जालोमा फसेको देखिन्छ । शारीरिक सम्बन्ध उसका लागि नेसेसिटीबाट डिजायरमा बदलिएको छ । कुनै कुमारी यौवनासँग उन्मत्त रात बिताएर


आफ्नो ९० औँ जन्मदिन मनाउने उसको निर्णय यौन आवश्यकता नभई केवल ‘डिजायर’ हो । मनमा उठेको दोस्रो प्रश्नको जवाफ मलाई अर्मेन्ता नामकी देह कारोबारीले दिन्छे । उमेर ढल्किएपछि चिनियाँसँग प्रेममय वैवाहिक जीवन बिताइरहेकी अर्मेन्ता आफ्नो पूर्वग्राहकलाई सम्झाउँदै भन्छे— हेर मेरा दुःखी विद्वान्, त्यो केटीलाई बिहे गरिहाल । प्रेमयुक्त सम्भोगको आश्चर्य अनुभव नगरी तिमी कदापि मर्नु हुँदैन । देहउन्मुख र प्रेमविमुख हुँदै गइरहेको आजको उत्तरआधुनिक सम्बन्धहरू देखीबुझी ल्याउँदा अर्मेन्ताको यो भनाइमा म निकै गहिरो अर्थ भेट्छु ।


बयोवृद्ध पत्रकारको नाबालिग डेल्गाडिनाप्रतिको अप्राकृत र असहज आकर्षणले उसको विकृत यौन मानसिकताको संकेत गर्छ, जसलाई मनोविज्ञानले हेबेफिलियाको नाम दिएको छ । नाबालिग केटीप्रतिको आकर्षणभित्र बर्जित सम्बन्धको अर्को मनोवैज्ञानिक पक्ष पनि गुप्त छ । उक्त बेनामी केटीको सुन्दरता, निर्दोषिता र पवित्रताबाट सम्मोहित वृद्ध पत्रकार उसलाई डेल्गाडिना नामले पुकार्छ । डेल्गाडिना मेक्सिकन लोकगीतमा वर्णित एक राजकुमारीको नाम हो, जसप्रति उसकै पिता आकर्षित भई विवाहको प्रस्ताव राख्छ । यस प्रकारको यौन झुकाव पाठकका लागि त्यति सहज भने पक्कै लाग्दैन यद्यपि यसलाई पूर्णतः अस्विकार्ने आधार पनि भेटिँदैन ।

यस उपन्यासले पश्चिमी शास्त्रीय संगीत र कलाको कम्तिमा पनि सामान्य चेत भएका पाठकको अपेक्षा गर्छ ।


आफूलाई संगीत र कलाको समीक्षक बताउने कथावाचकले संगीतलाई आफ्नो एकाकी जीवनको सहारा बनाएको छ । ऊ पाठकलाई पोलिस पियानोवादक चोपिनको मंगलाचरण, स्पेनिस भायोलिनवादक ज्याक थिबोल्टको सोनाटा, जर्मन कम्पोजर रिचर्ड वागनरको गाथाजस्ता अनेकौँ पश्चिमी संगीतज्ञका कालजयी सृजनाको यात्रा गराउने चेष्टा गर्छ । तर, संगीतसँग आफूलाई त्यति नजिक नउभ्याउने पाठक भने पठनको प्रवाह टुट्ने गरी अलमलिन सक्छन् । मार्खेज–शैलीका रूपमा चिनिएको मायावी यथार्थवादको भव्य प्रयोग नभए पनि यस शैलीको केही छनक भने यसमा भेटिन्छ । एउटा दृष्टान्त— उक्त पत्रकार उदेकलाग्दो स्वास्थ्य समस्याबाट पीडित छ । त्यो के भने टहटह जून लागेको रात उसको मलद्वार अचम्मै पोल्न थाल्छ ।


जराजीर्ण उमेरको यस पुरुष पात्रको कामासक्ति असहज लाग्छ, नवयौवनासँग रात बिताएर आफ्नो ९० औँ जन्मदिन मनाउने उसको निर्णय झनै असहज भान हुन्छ । नवयौवनाप्रतिको उसको आकर्षण र प्रेम असहज मात्रै होइन, नैतिक रूपले आपत्तिजनक पनि देखिन्छ । तर, असहज विषवस्तुको सहज प्रस्तुतिले पाठकलाई अवाक् पारिदिन्छ । वास्तवमा मार्खेजको ख्याति नै यसैमा अडिएको छ ।


वृद्ध पत्रकारले आफ्नो आत्मकथाको शीर्षक ‘मेरा उदासी वेश्याहरूको सम्झना’ राखेको छ तर यथार्थमा ऊ आफैँ एक उदास पात्र हो । यो उसकै उदास एकाकी जीवनको संक्षिप्त वृतान्त हो, जो अनेकौँ स्त्री देहसँग जोडिए पनि प्रेम अभावले व्याकुल, अधीर र सुक्खा जीवन बाँचिरहेको छ । अन्ततः प्रेमको प्रथम अनुभूतिले उसको जीवन रूपान्तरित हुन्छ । यो जराजीर्ण पात्र मानव जिजीविषाको आद्य प्रतीक पनि हो । बुढ्यौली व्यक्तिको उमेरमा भन्दा पनि उसको अनुभूतिमा व्यक्तिन्छ भन्ने दृढ विश्वासमा यो पात्र बाँचेको छ । उसका लागि उमेर प्रेमको कदापि बाधक हुँदैन ।


ऊ एक जटिल पात्र हो, जसको सकृय यौन–जीवन देखेर पाठक विस्मित् होलान्, केहीलाई उसको प्रेमरहित एक्लो जीवन देखेर टिठ लाग्ला । ऊ कुनै न कुनै रूपबाट पाठकको स्मृतिमा बसिरहनेछ । अभावका कारण कोठीमा पुगेकी त्यो चौधवर्षीय डेल्गाडिनाको अबोध अनुहार र उसको विवशता पनि पाठकको स्मृतिबाट सहजै हट्नेछैन ।

प्रकाशित : फाल्गुन २४, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?