कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

महिला मुक्तिको माल बजार

यदि पितृसत्तावादको ‘म्याउँ’ गर्ने मुख्य स्थानमा आक्रमण नथाल्ने हो भने जति वर्ष महिला अधिकारको गमस्ता गरे पनि पुस्ता गुजार्ने काम त होला तर समाधानको यात्रा डेक चल्ने देखिँदैन । आज नारीवाद वा नारी मुक्तिका सन्दर्भमा जे–जति वकालत भैरहेको छ, त्यो प्रयत्न दुम्सीको एउटा काँडा उखेल्ने मात्र काममा त सीमित भएको छैन ?
आहुति

पौने युग बित्यो, संयुक्त राष्ट्र संघ जन्मिएको अर्थात् पचहत्तर वर्ष । तर, आजसम्म त्यसको महासचिवको कुर्सीमा न कुनै महिला बस्न पाए, न त्यस्तो पनि हुनुपर्छ भन्ने आधिकारिक छलफल नै भयो । यो विषय अस्वाभाविक पनि होइन किनकि पित्तृसत्तावादी विश्वका राष्ट्रहरूको संघ पित्तृसत्तावादी संयुक्त राष्ट्र संघ !

महिला मुक्तिको माल बजार

केही वर्षदेखि त्यसले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) का सन्दर्भमा हरेक वर्ष एउटा खास संकल्प नारा (थिम) तय गर्ने गरेको छ । यस वर्ष सन् २०२० को नारा छ, ‘म समानता पुस्ता : महिला अधिकार स्थापनाका लागि अग्रसर !’ (आई एम जेनेरेसन इक्वालिटी : रिअलाइजिङ विमिन्स राइट्स !) ।

संयुक्त राष्ट्र संघले तय गर्ने यस्ता नाराहरूमार्फत सम्बन्धित विषयमा भिटो प्रयोगकर्ता शक्तिशाली देशहरू र तिनलाई पछ्याउने संसारका शासकहरूले कसरी सोच्छन् भन्ने सुराक सार्वजनिक हुन्छ । यस वर्षको नाराले पनि आजको विश्व व्यवस्थाले महिला अधिकारको विषयलाई कसरी बुझ्दछ र प्रस्तुत गर्न चाहन्छ भन्ने यथार्थ स्पष्ट हुन्छ । यो नाराभित्र आजको विश्व व्यवस्थाको पितृसत्तावादी नियतपूर्ण हर्कतहरूको चाङ एकमाथि अर्को खप्टिएर लुकेका छन् ।

पहिलो, यस नारामा प्रयुक्त भाषा अंग्रेजी व्याकरण र भाषा–संस्कृतिसँग मेल खाँदैन बरु यस्तो भाषा माल–बिक्रीका निम्ति उपभोक्तामा अति लोभ, कृत्रिम आकर्षण वा फजुल उत्सुकता उत्पन्न गराउन विज्ञापनमा प्रयोग गर्ने गरिएको छ । सुन्दरी प्रतियोगिता, महिलाको नग्नता र बीभत्स पोर्नोग्राफीमार्फत निर्मित विशाल महिला माल–बजारको प्रवर्द्धनका निम्ति प्रयोग गरिने भाषाको विज्ञापन शैलीसँग यस नाराको भाषाको शैलीको एकात्मकता कदापि संयोग मात्रै भन्न सकिँदैन । दोस्रो, नारामा ‘म’ लाई मुख्य जिम्मेवारका रूपमा उभ्याएर सामूहिक सामाजिक दायित्व, पितृसत्ताको आत्मालोचनाको पक्ष अनि राज्यहरूको भूमिकालाई पूरै लुकाउने काम गरिएको छ ।

यसभन्दा पहिले दिइएका नाराहरूको शृङ्खलामा हेरियो भने अझै सार बुझ्न सजिलो हुनेछ– ‘महिलाको आँखाबाट हेरौं !’, ‘समानता घरबाटै सुरु गरौँ !’, ‘हामी (महिलाहरू) सक्छौं !’ आदि । यस्ता नाराले महिला मुक्तिका विषयलाई व्यक्तिगत जिम्मेवारीको सीमामा, महिला मात्रको सचेतनामा कुण्ठित बनाएका छन् र समाज एवं राज्यको नकारात्मक भूमिकालाई लुकाइएका छन् । तेस्रो र सबैभन्दा घातक पक्षचाहिँ यस नारामा पुस्ताको अवधारणालाई अघि सारिएको छ ।

पुस्ताको अवधारणा काल र उमेर समूहसँग सम्बन्धित छ । पशु जगत्लाई हेर्‍यो भने लाखौँ पुस्ता एउटै क्रियाकलापको गोलचक्करमा घुमेको छ । संस्कृतियुक्त मानव समाजलाई हेर्दा पुस्ता–अन्तरले केवल मात्रात्मक प्रगतिशीलता मात्र हासिल गरेको देखिन्छ । केही हजार वर्ष मानव समाजले झेलेको सामन्तवादी युगभित्र सयौं पुस्ता गुज्रिए तर कुनै पुस्ताले पनि महिला स्वतन्त्रताको नारा लगाएन । सामन्तवादी युगभित्रका नयाँ–नयाँ पुस्ताले महिलामाथि धेरथोर राहतका कुरा गरे नै तर आधारभूत स्वतन्त्रताको विषय पुस्ताले होइन पुँजीवादी समाज व्यवस्थाले मात्र लिएर आयो । पुँजीवादी समाज व्यवस्था तब नै अगाडि आयो जब पुँजी, मेसिन र सामूहिक मानव श्रमको औद्योगिक युग सुरु भयो ।

भूपतिमाथि पुँजीपतिको हस्तक्षेपको युगले ल्यायो स्वतन्त्रताको विचारधारा अनि त्यसलाई लिएर अघि बढ्ने सचेत मानव क्रान्तिकारी जमात ! एउटै पुस्तामा हिट्लर र ग्राम्स्की थिए, एउटै पुस्तामा शोषक र शोषित हुन्छन् र आजसम्मको हरेक उही पुस्तामा अत्याचारी पुरुष र उत्पीडित महिला रहँदै आए । तब पुस्ताको अवधारणाले महिला अधिकारलाई सम्बोधन गर्छ कसरी ? वास्तवमा पुस्तामा आधारित राष्ट्र संघको यस नाराले आजको पितृसत्तात्मक विश्व पुँजीवादी व्यवस्था महिला मुक्तिको विषयलाई पुस्तान्तरको अनन्त गुफाको यात्रामा दिशाहीन बनाउन चाहन्छ भन्ने नियत छर्लङ्ग हुन्छ । हरेक वर्ष विश्वव्यापी रूपमा महिला मुक्तिका सन्दर्भमा छरिने यसप्रकारको विषादीमय षड्यन्त्रको भण्डाफोर जरुरी छ ।

आज संसारभरि महिलामाथिको अत्याचारका विरुद्ध लेखिँदै छ, बोलिँदै पनि छ । सम्पत्तिमा अधिकारहीनता, घरेलु हिंसा, असमान ज्याला, बलात्कार, अप्रतिनिधित्व, महिला शरीरको मालकरण, यौनजन्य हिंसा, भ्रूणहत्या, बेचबिखन, यौन दासता आदि विषयहरू लेखाइ, बोलाइ, संघर्षका मुद्दाका रूपमा छरपस्टै अगाडि आएका छन् र मुद्दाका हिसाबले सही छन् । यसरी लगातार विषयहरू उठ्दा पनि महिलामाथिको अत्याचारको घनत्व झन्–झन् नयाँ आयाममा बढ्दै गरेको देख्दा एउटा लोककथाको सम्झना हुन्छ ।

बिरालोबाट पीडित मुसा–समाजको एक दिन गमस्ता बसेछ र बिरालोलाई सिध्याउने योजनाबारे छलफल भएछ ।

एउटा मुसा बिरालोको अगाडिको दायाँ खुट्टा र अर्को मुसा बायाँ खुट्टामा झम्टिन तयार भएछन् । त्यसैगरी कुनै पछाडिको खुट्टामा झम्टिन तयार त कुनै ढाडमा टोक्न तयार । गमस्तामा उपस्थित मुसाहरूले आक्रमणको जिम्मा लिँदै जाँदा बिरालो खत्तम हुने सम्झेर मुसाहरू हर्षित भएछन् । तर, सबैभन्दा अनुभवी बूढो बिरालोले चिन्ताका साथ सोधेछ, ‘सबैले बहादुरी देखाएको ठीक छ तर बिरालोको एउटा अंग छ,, जसबाट निस्कने आवाज सुन्दा हामी सबै भाग्न थाल्छौं अर्थात् त्यो ‘म्याउँ’ गर्ने मुखमा आक्रमण कसले गर्ने हो ?’ यो प्रश्नको उत्तर कसैले नदिएपछि बिरालोमाथि आक्रमणको योजना तुहिएछ । वास्तवमा यदि पितृसत्तावादको ‘म्याउँ’ गर्ने मुख्य स्थानमा आक्रमण नथाल्ने हो भने जति वर्ष महिला अधिकारको गमस्ता गरे पनि पुस्ता गुजार्ने काम त होला तर समाधानको यात्रा डेक चल्ने देखिँदैन ।

आज नारीवाद वा नारी मुक्तिका सन्दर्भमा जे जति वकालत भैरहेको छ, त्यो प्रयत्न दुम्सीको एउटा काँडा उखेल्ने मात्र काममा त सीमित भएको छैन ? दुम्सीलाई दुश्मनको प्रतीक मानेर हेर्दा उसका सबै काँडा उखेले पनि दुम्सीको मृत्यु हुनेछैन बरु झन्झन् नयाँनयाँ काँडा उसको शरीरले उत्पादन गरिरहनेछ । त्यसैले आजको मुख्य आवश्यकता हो– महिलामािथको उत्पीडन र त्यसबाट मुक्तिको आधारभूत विषयहरूमा प्रवेश गर्ने साहस गर्नॅ, ती विषयको पुनः उत्खननसहित नयाँ युगमा नयाँ हमलाको तयारीमा जुट्नु । त्यसका निम्ति कम्तीमा तीनवटा प्रश्नहरूको पूर्वाग्रहबाट मुक्त उत्तर खोज्नैपर्ने आवश्यकता छ ।

प्रश्न एक : महिला उत्पीडनको उत्पत्तिको मूल कारण के हो र यो उत्पीडनको प्रकृति कस्तो हो ?

समाज विज्ञानका क्षेत्रमा मार्क्सवादी विचारधाराको प्रादुर्भावभन्दा पहिले महिलामाथिको उत्पीडन वा उनीहरूको गए गुज्रनुपर्ने अवस्थाको मुख्य कारण उनीहरूको भाग्य वा शरीरको बनावटलाई नै दोषी अर्थ्याउने आदर्शवादी विचार र संस्कृतिको एकछत्र राज थियो । मार्क्सवादले भने मानव इतिहासको भौतिकवादी अध्ययनमार्फत महिला उत्पीडनको मुख्य उत्पत्तिको कारण निजी सम्पत्तिको उत्पत्ति र त्यसमाथि पुरुषको वर्चस्व भएको तथ्य अघि सार्‍यो । मानव समाजमा निजी सम्पत्तिको उत्पत्तिपश्चात् निजी सम्पत्तिमा नै आधारित दास–मालिक युग, सामन्तवादी युग र आजको पुँजीवादी युग चल्दै आए । ती बितेका र हाल क्रियाशील युगभित्र शोषण उत्पीडनका कैयौँ प्रकारका व्यवस्था, प्रथा, परम्पराहरूको अन्त्य भयो तर महिलामाथिको शोषण, उत्पीडन भने नयाँ–नयाँ रूपमा विगत आठ हजार वर्षदेखि निरन्तर जारी रह्यो ।

त्यसो हुनुका पछाडि विगतका युगहरूमा परिवर्तनहरू भए पनि निजी स्वामित्वको मूल सामाजिक स्वरूप भने निरन्तर रही आउनु नै मुल कारण बुझ्न कठिनाइ पर्दैन । आज राजनीतिमा लोकतन्त्रका विभिन्न मोडलसहित क्रियाशील विश्व पुँजीवादी व्यवस्थाले महिलाहरूको समानता र प्रगतिका सम्बन्धमा धेरै प्रकारका अधिकारको वकालत गरे पनि त्यसले निजी सम्पत्ति नै महिला उत्पीडनको जननी कारण हो र त्यसको जगमा उभिएको समाज व्यवस्थाको पितृसत्तावादी स्वरूप नै महिला मुक्तिको मुख्य बाधक हो भन्ने यथार्थलाई उच्चारणसमेत गर्न चाहँदैन । महिलाका सम्बन्धमा लोकतान्त्रिक उपायका नाममा पुँजीवादी व्यवस्थाले गर्दै आएका तमाम असमानताको निरन्तर उत्पादनकारी क्रियाकलापले समेत नपुगेर धर्म, भाग्यवादजस्ता सामन्तवादी युगका महिलाविरोधी वैचारिक हतियारको प्रचार–प्रसारलाई तीव्र पार्न थालेको देखिनु आजको निकै नै डरलाग्दो परिदृश्य हो ।

महिला उत्पीडन र पितृसत्ता त्यति नै लामो हो, जति लामो वर्गीय उत्पीडन र वर्गीय सत्ता । यस अर्थमा वर्गीय समाजको इतिहास यथार्थमा पितृसत्तात्मक वर्गीय समाजको इतिहास हो । कुनै पनि सामाजिक उत्पीडन जुन कारणले जन्मिन पुग्यो, त्यस कारणको अन्त्यबिना त्यो उत्पीडन कसरी अन्त्य हुन सक्छ र ? त्यसैले महिला मुक्तिको सवालमा चल्ने विमर्शलाई निजी स्वामित्वमा आधारित पितृसत्ताको जन्म तथा त्यसको निरन्तरताको व्यवस्थासँग जोडेर नचलाउने हो भने त्यसले खास फरक पार्ने देखिँदैन ।

विगतको मार्क्सवादी आन्दोलनले महिला उत्पीडनको मुख्य जरो कारणको उत्खनन मात्र गरेको होइन बरु तत्कालीन समाजवादी देशहरूले महिलाहरूका पक्षमा मतदानको अधिकार, श्रम स्वतन्त्रता, ज्यालामा एकरूपता, महिला बेचबिखनमा व्यवहारमै प्रतिबन्ध आदि महत्त्वपूर्ण सुरुआत गरेको देखिन्छ तर महिला उत्पीडनको समस्याको प्रकृति निरुपनमा गम्भीर समस्या पाइन्छ । वर्गीय समस्या मुख्य हो र वर्गीय समस्याको समाधानसँगै स्वतः महिला मुक्तिको समस्या पनि समाधान हुन्छ भन्ने आधारभूत सिद्धान्तलाई अत्यन्तै सरलीकृत ढंगको बुझाइले समस्या उत्पन्न गरेको देखिन्छ । महिला वर्ग होइन तर महिलामाथिको पितृसत्तात्मक उत्पीडन वर्गीय उत्पीडनभन्दा कम घनत्वको पनि होइन भन्ने उचाइमा विचार बन्न सकेन ।

जसरी रंगभेद र जात व्यवस्थामा आधारित उत्पीडन निख्खर वर्गीय मुद्दा होइन तर ती उत्पीडन वर्गीय उत्पीडनभन्दा कम घनत्वका पनि होइनन् । वर्गीय समस्या सबै सामाजिक उत्पीडनको जरा त हो तर बुझाइलाई उठाउनुपर्ने आवश्यकताचाहिँ कहाँ छ भने विषको बोटको जराभन्दा त्यस बोटमा फुल्ने विष–फूल झनै घातक हुने गर्छ । विष बोटको जरा नष्ट नगरी बिष फूल फूल्ने क्रम रोकिनेछैन तर विषको कोपिला लाग्नै रोक्ने ध्याउन्नमा फुलिसकेको विष फूललाई कम आँक्न पनि घातक हुन्छ । तसर्थ, महिला मुक्तिसम्बन्धी अबको विमर्शले महिला उत्पीडनको विषय वर्गीय उत्पीडनकै स्तरको घनत्व भएको समस्याका रूपमा समझदारीलाई सैद्धान्तीकृत गर्न सक्नुपर्छ । यसको व्यवहारमा परिणाम के आउनेछ भने अब महिलालाई क्रान्तिमा, राज्य र समाजमा सहभागी गराउनुपर्छ होइन बरु उनीहरू पुरुषसरह अगाडि आउन सक्दैनन् वा पाउँदैनन् भने न त यथार्थमा क्रान्ति हुन्छ, न त राज्य र समाज न्यायपूर्ण नै बन्छ ।

प्रश्न दुई : के पुँजीवादी व्यवस्थाभित्रै महिला मुक्ति सम्भव छ ?

आजसम्मको वर्गीय समाजलाई अध्ययन गर्दा एउटा विषय अकाट्य रूपमा प्रमाणित हुन आउँछ कि खास राजनीतिक–आर्थिक समाजव्यवस्था निश्चित वर्ग वा समुदायका निम्ति हितकारी हुन्छ र अन्य वर्ग एवं समुदायका निम्ति दमनकारी हुन्छ । यो विषय आजको पितृसत्तावादी पुँजीवादी विश्व व्यवस्थाका सन्दर्भमा पनि लागू हुन्छ नै । त्यसैले आज महिला मुक्तिको विमर्शमा उत्तर खोज्नैपर्ने अर्को आधारभूत प्रश्न हो— पितृसत्तात्मक पुँजीवादी व्यवस्थाको आधारभूत पक्ष नै महिलाविरोधी हो कि यसका केही पक्ष मात्रै महिलाविरोधी हो ? वास्तवमा निजी सम्पत्तिमा आधारित राजनीतिक सामाजिक आजसम्मका व्यवस्थाहरूमध्ये आजको भूमण्डलीकृत पुँजीवाद अन्य श्रमिक वर्गका निम्ति जस्तै महिलाका निम्ति समेत सबैभन्दा षड्यन्त्रकारी र क्रूर अवतारमा प्रकट भएको छ । आज जति महिला शरीरलाई मालकरण गर्ने काम कहिल्यै भएको थिएन ।

सामन्तवादले लुकाएर यौन व्यापार गर्न बाध्य पारेको थियो भने आज त खुल्लमखुला हातहातमा पोर्न उद्योगमार्फत महिलालाई नांगै पारेर बेचिएको छ । प्रत्येक दिन एक अर्ब महिलामाथि हिंसा र प्रत्येक चार सेकेन्डमा एक महिला बलात्कृत हुने तथ्यांक, अनुहार नै देखाउन नदिने अरबको पुँजीवाददेखि प्रत्यक्ष यौनक्रिया पर्यटनको विषय बनाउँने युरोपेली कथित समृद्ध पुँजीवादसम्मको प्रवृत्तिलाई मूल्यांकन गर्दा आज महिलामाथि भइरहेको अत्याचार पुँजीवादी व्यवस्थाभित्रका सहायक नराम्रा पक्षका कारण भइरहेको कदापि स्वीकार गर्न सकिने ठाउँ छैन, बरु पुँजीवादी व्यवस्थाको आधारभूत चरित्र नै यही हो भनी मान्नैपर्ने हुन्छ ।

पुँजीवादी व्यवस्थामा मुक्ति भनेको जीविका संकटमा नपर्ने गरी पुँजीपति बन्न सक्नु हो । यसरी पुँजीपति बन्नका निम्ति अरूको श्रमको लुट अनिवार्य हुन्छ । जसरी पुँजीवादमा मुठ्ठीभर पुरुष पुँजीपति र अरू पुरुष शोषित हुन बाध्य छन्, त्यसैगरी यस पुँजीवादी व्यवस्थामा मुठ्ठीभर पुरुषसँगै मुठ्ठीभर महिला पुँजीपति भएछन् भने पनि अरू सबै महिला त शोषित नै हुने हो । अर्को कुरा यदि पुँजी मात्र महिला उत्पीडनको एक मात्र कारण रहिरहेको भए एकसूत्रीय महिला–पुरुष बराबरको नारामार्फत अगाडि बढौं भन्ने सम्भावना पनि हुन सक्थ्यो होला तर आज त नगद पुँजी मात्र पित्तृसत्ताको आधार रहेको स्थिति छैन । परिवार, राजनीति, कर्मचारीतन्त्र, समग्र शिक्षा प्रणाली, सौन्दर्य दृष्टि र मूल्यहरू, धर्म र संस्कारहरू आदि सबैजसो बौद्धिक सम्पदा पुँजीवादी पितृसत्ताका निम्ति पुँजीकै विस्तारित रूपहरू बनेर प्रकट भएका छन्, जसमुनि महिला अस्तित्व निर्मित हुन्छ र किचिन बाध्य हुन्छ ।

पुँजीवादी व्यवस्थाअन्तर्गत पित्तृसत्ताका यी सहस्र औजारहरूविरुद्ध छुट्टाछुट्टै त्यो पनि सुधारको संघर्ष गरेर सम्पूर्ण पुँजीवाद कति हजार वर्षमा महिलामैत्री बन्ने हो ? शिक्षित महिला पुरुष हुँदा समस्या समाधान हुन्छ भन्ने नारा दिइयो तर शिक्षा यति पितृसत्तावादी बनिसकेको रहेछ कि शिक्षित भएपछि महिलाले बल्ल पो चाल पाई कथित शिक्षित पुरुष त झनै कुटिल अत्याचारी पो रहेछ । यसर्थ, पुँजीवादी व्यवस्थाभित्रै यसको आधारभूत पितृसत्तावादी निजी सम्पत्तिमा आधारित चरित्रलाई जोगाएर महिला मुक्तिको विमर्श चलाउने या पुँजीवादी राजनीतिक–सामाजिक व्यवस्थाकै विकल्प खोजको बहस सुरु गर्ने ? एउटा संकल्पमा पुग्नैपर्ने अवस्था आइपुगेको छ ।

प्रश्न तीन : के महिला मुक्तिका सन्दर्भमा दर्शन, राजनीतिक सिद्धान्त र राजनीतिक व्यवस्थाको परिकल्पना वा वकालत जरुरी छ ?

मानव समाजमा कुनै पनि सामाजिक समस्या पर्दा प्रत्येक मानिस त्यसबाट मुक्त हुन चाहन्छ तर चाहनेबित्तिकै मुक्ति सम्भव हुँदैन । सामन्तवादी युगको उत्पीडित भूदास किसानको तबसम्म मुक्तिको प्रक्रिया सुरु भएन जबसम्म पुँजीवादी राजनीतिक सिद्धान्त र पुँजीवादी व्यवस्थाको परिकल्पना अगाडि आएन । छिटफुट विद्रोह वा तत्कालीन उत्पीडनका विरुद्ध संघर्ष एउटा कुरा हो, त्यो अत्याचारविरुद्धको मानव स्वभावजन्य प्रवृत्तिबाट पनि सम्भव हुन्छ । तर, पित्तृसत्ता भनेको विश्वव्यापी व्यवस्था हो, यो शोषण–उत्पीडनको फुट्टा घटना होइन । सिंगो विश्वव्यवस्थाविरुद्धको संघर्ष भनेको नयाँ विश्वव्यवस्था निर्माण गर्ने दिशा हो ।

त्यसैले नयाँ विश्वव्यवस्था निर्माणका निम्ति दार्शनिक विश्व दृष्टिकोण, राजनीतिक सिद्धान्त र विश्वको नयाँ राजनीतिक व्यवस्थाको स्पष्ट परिकल्पना अनिवार्य हुन्छ । महिला मुक्तिको पक्षमा ठीक नियत राखेर संवाद सृजना गर्ने वा वकालत गर्ने कैयौं व्यक्ति र जमातको अभिव्यक्ति र पहलहरू हेर्दा यस्तोसमेत भान हुन्छ कि सायद उनीहरू सोच्दछन्— महिलाविरुद्ध जे–जे खराबी देखापर्छ, त्यसका विरुद्ध लाग्दै जानु नै समाधानसम्म पुग्ने यात्रा हो ।

यसरी सोच्ने हो भने एउटा गाउँका महिलाहरूमाथिका दिनदिनै हुने अत्याचारका घटनाविरुद्ध मात्र लाग्दै जाने हो भने केही न्यायप्रेमीको उमेर सकिनेछ तर महिलामाथिको अत्याचारको घटना हुन रोकिनेछैन । योचाहिँ रोगीको उपचार विधि हो, रोग उत्पत्तिको कारण नष्ट गर्ने विधि होइन । यस विधिको सट्टा पीडित र न्यायप्रेमी महिला पुरुषको बीचमा वैज्ञानिक समतावादी विश्वदृष्टिकोणमा आधारित संगठन बनाउनु, त्यसलाई राजनीतिक सिद्धान्तबाट प्रशिक्षित गर्नॅ, भविष्यको महिला मुक्तिको राजनीतिक व्यवस्थाको परिकल्पना र त्यसलाई प्राप्त गर्ने राजनीतिक संघर्ष सुरु गर्ने हो भनेचाहिँ त्यसले व्यापक समाजलाई नयाँ चेतनासहित परिवर्तनतिर लैजाने यात्र सुरु गर्नेछ ।

तसर्थ, पितृसत्तात्मक पुँजीवादी व्यवस्थाले आज महिलालाई मात्र होइन, महिला मुक्तिको विषयलाई समेत माल–बजारको व्यवहार गरिरहेको सन्दर्भमा महिला मुक्तिको विमर्श त्यस माल–बजारबाट उत्पन्न महिला रोदनको ऐय्या–अत्थाको विश्लेषक साक्षी मात्र बन्ने स्तरबाट माथि उठ्नु आवश्यक छ, बरु महिला मुक्तिको विमर्श र पहलले पितृसत्ताको अन्त्य हुने नयाँ विश्व व्यवस्था निर्माणको संकल्प पो गर्नुपर्ने हो !

प्रकाशित : फाल्गुन २४, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?