कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नुमाइश

शिवानीसिंह थारू

धेरै–धेरै वर्ष पहिले ...एकादेशमा बाल्यकाल थियो, म थिएँ र तिनटा अजंगका ‘डर’ थिए । आकाशमा मान्छेका छाया डढाउने सूर्य उदाउँथ्यो, हावामा ‘लू’ हुनहुनाउँथ्यो, मध्याह्नपछि एकजोर आँखा डराई–डराई ढोकाको चरबाट बाहिर चियाउँथ्यो । यो डरको कथा हो । 

नुमाइश

डर देखिन्न थियो । खालि ऐनाको पारोझैं टलटल गर्थ्यो । तिरमिराएर आँखा खान्थ्यो । त्यतिबेला घडीमा दिनको एक बजिरहेको हुन्थ्यो । क्यालेन्डरमा जरजर जेठ झुन्डिएको हुन्थ्यो । र, हामी केटाकेटीहरू लिलिपुट देशका बासिन्दाझैं हरेक दिन जत्राको त्यत्रै भइरहेका हुन्थ्यौैं ।

म त्यतिबेला नेपालगन्ज देशको नागरिक थिएँ । मेरो संसार सय–सय मिटर परको एकुन्टा पानको गुम्टीसम्म थियो । मेरो खेल्ने आँगन ती दुई गुम्टीसम्म तन्किएको उत्तर–दख्खिन रोड थियो । फराकिलो साम्राज्य थियो । दुई–दुइटा चन्दा मामा थिए । एउटा शीतलु आकाशमा उदाउँथे, अर्को धरतीमा मसँगै हुन्थे । डर खालि ती तिनटा मडारिरहने ‘डर’ हरूसँग मात्र थियो । र, सारा फरक त्यसैले पारिदिन्थ्यो ।

भुमरी परेको पानीमा एक थोपा नीर चुहाउँदा कस्तरी घोलिन्छ, ठ्याक्कै त्यस्तै ! गंगाजलियाको गधा ढेचुँऽऽ ढेचुँऽऽ गर्दै जब टोलमा कोलाहल मच्चाउँथ्यो, घडीमा सवा बाह्र बजिरहेको हुन्थ्यो । त्यतिबेला म टोलका केटीहरूसित खेलिरहेको हुन्थेँ । केटीहरूसित बिहान मात्र खेल्न पाइन्थ्यो । जुन उमेरका केटीहरूसित मलाई खेल्न मन पर्थ्यो, तिनलाई बिहान मात्र खेल्ने अनुमति हुन्थ्यो । त्यो पनि कति अनुनय–विनय गरेर । ती मधेसी समुदायका केटीहरू थिए । मभन्दा चार–पाँच वर्षले जेठी तेह्र–चौध उमेरका । उनीहरूको चल्दै आएको मान्यताअनुसार, ती केटीहरू खेल्ने उमेर पार गरेर बिहे गर्ने ‘ढाडी’ भइसकेका थिए । त्यसैले उनीहरू स्कुलमा होइन, भान्छामा जाँच दिइरहेका थिए । गरम मसला सिलौटामा मसिनो गरी कसरी पिन्ने ? चनाको सागको घोटुवा कसरी बनाउने ? कालो दालको बरियामा बीचमा प्वाल कसरी पार्ने ? यी पाठ्यक्रममा पास हुन उनीहरूका आमा र काकीहरूले हकार्दै, काल्पनिक सासू र नन्द–आमाजूको हौवा देखाउँदै सिकाउँथे ।

एघार बजेतिर चुल्होबाट फुत्केर जब उनीहरू रोडमा देखापर्थे, म खुर्रर्र लाएर छेउमा पुग्थेँ । उनीहरू रोडछेउ एक्कल–दुक्कल खेल्न थाल्थे । म पनि त्यसमै मिसिन्थेँ । घ्वाइँजस्तो गरी खेलिन्छ यो खेल । खेल्नमा उनीहरू तगडा थिए । घ्वाइँ उनीहरू ताकेकै कोठामा पार्थे । एक खुट्टीमा दसदस मिनेट वारपार भ्याइदिन्थे । म भने लड्ने, पछारिने, हात नपुगेर छिनछिनमा बाहिरिने । कहाँबाट उनीहरूलाई उछिन्न सक्नु ! तर, एक दिन जितेरै छाड्छु भन्ने थियो । र, यही चुनौती नै मलाई रोमाञ्चक लाग्थ्यो ।

आफ्नो पालो आउँदा ‘अब जित्छु’ भन्दाभन्दै समय गएको पत्तो पाइँदैनथ्यो । जब गंगाजलियाको गधा ढेचुँऽऽ ढेचुँऽऽ गर्न थाल्थ्यो, हामीलाई हतारो हुन थाल्थ्यो । अब कुनै पनि बेला हामीलाई घरबाट बोलावट आउन सक्थ्यो । नभन्दै मेरी हजुरआमा जोडले कराउन थाल्नुहुन्थ्यो । घर आउनुपर्ने हकारो कानमै चिर्र लाग्थ्यो । तैपनि केहीबेर म अटेरी गर्थेँ । किनभने ती केटीहरूसित साँझ खेल्न पाइँदैनथ्यो । जहिल्यै साँझमा ‘मसाला पिन्नु छ, फुल्का बनाउनु छ, चुल्हा पोत्नु छ’ भन्थे । साँझ उनीहरूका भाइ वा दाइहरूसित खेल्नुपर्थ्यो ।

दुई–तीनचोटि बोलाउँदा पनि नगएपछि घरबाट चेतावनी आउँथ्यो, ‘छिटो आइज नत्र लू लाग्छ ।’ ‘लू !’ मेरो ढाड सीधा हुन्थ्यो । बिस्तारै मास्तिर हेर्‍यो, आकाश धूलौटे सुक्खा देखिन्थ्यो । कहिलेकाहीँ देखिने धूलोको भुमरी दिमागमा फनफनिन थाल्थ्यो । टोलभरि आवारा घुमिरहेको गंगाजलियाको गधा कताकताबाट झुपडी फर्किरहेको हुन्थ्यो । अगाडिका दुई खुट्टा सँगै बाँधिएका हुन्थे त्यसका । बुर्कुसी मार्दै ढाई पाइला चाल्दै हतारिरहेको हुन्थ्यो । बस् म आफ्नो घ्वाइँ उठाउँथेँ । घरतिर दगुर्थें । म घर पुग्दानपुग्दै अरूहरूका घरबाट पनि बोलावट आउँथ्यो । उनीहरू त सुधी ‘बिटिया’ थिए । एकै बोलाइमा खुरुक्क घरतिर लाग्थे ।

घर पुगेर पहिला गाली खाइन्थ्यो । त्यसपछि भात खानुपर्थ्यो । यतिन्जेल घरको मोहडापट्टिको ढोका र झ्यालहरू ड्यामडुम्म बन्द गर्न थालिन्थे । ‘लू’ आउनै लाग्यो रे ! सो हजुरआमाले भन्नुहुन्थ्यो । र, त्यसबाट बच्न मध्याह्नपछि ढाई–तीन घण्टा घरभित्रै थुनिनुपर्थ्यो ।

हरेक साल ‘लू’ लागेर कतिकति मान्छे मरेको सुन्नुपर्थ्यो । त्यसमा पनि बच्चाहरूलाई चाँडै ‘लू’ लाग्छ रे ! बाफ रे ! बच्चाहरूलाई छानीछानी लाग्ने ‘लू’ कति क्रूर होला, यस्तै सोच्थेँ म । मलाई के थाहा ‘लू’ जेठमा चल्ने तातो हावालाई भनिन्छ ! तराईमा जब तापक्रम चालीस डिग्री पुग्छ पश्चिमबाट तातो हावा चल्न थाल्छ । त्यैसँगै धूलौटे हावाको झोक्का पनि आउन थाल्छ । सुक्खा हावाको झोक्का हेर्दाहेर्दै धूलोको चक्र बन्न थाल्छ र फिनिनि घुम्दै माथिमाथि आकासिन थाल्छ ।

तातो हावाको वेगलाई ‘लू’ भनिए पनि मलाई यो नदेखिने दुष्टात्मा होजस्तो लाग्थ्यो । त्यतिबेला कुख्यात भएको कलकत्ताको बच्चा चोर्ने गिरोहको सदस्यझैं भान हुन्थ्यो । त्यसबेला कसैले मलाई ‘लू’ भनेको तातो हावा हो भनेको भए पनि, मैले पत्याउने थिइनँ । त्यो हावा ‘मात्र’ कसरी हुन सक्थ्यो ! ‘लू’ को आकार र आकृति मैले नदेखे पनि महसुस गरेकी थिएँ । आँखाले सुनेकी थिएँ । कानले छामेकी थिएँ । ‘लू’ को ‘डर’ मैले जेठभरि बाँच्दै आएकी थिएँ ।

‘लू’ घरभित्र नछिरोस् भनेर बडा सावधानी अपनाइन्थ्यो । राजारजौटाका किल्ला दुश्मनहरूबाट सुरक्षित गरेजस्तो । यो पक्की घर हुनेले गर्नुपर्दैनथ्यो । हाम्रो खपरैला घर थियो । ढोका चार ठाउँमा चिरिएको । चुकुलको सट्टा सिक्री लगाएर किल्लाले अड्काउनुपर्ने । चिरा परेको ढोकाबाट ‘लू’ सजिलै छिर्छ रे ! सो हजुरआमाले भन्नुहुन्थ्यो । त्यसैले ढोकामा बोरा झुन्ड्याइन्थ्यो, त्यसमाथि तन्ना ओढाइन्थ्यो । तन्नालाई पानीले छ्याप्पछ्याप्प पारिरहनुपर्थ्यो । यसरी ‘लू’ भित्र छिरेर मलाई ‘लाग्न’ पाउँदैनथ्यो र भिजेको तन्नाले घर शीतल भइरहन्थ्यो । क्या काइदा !

तर जब बाहिर ‘लू’ हुनहुनाउन थाल्थ्यो, घरभित्र छिरुँला छिरुँला गर्थ्यो, ढोकालाई झ्याप्प आफूतिर बाहिर तान्थ्यो र ढ्याप्प छोड्थ्यो । हावालाई थेगेर बाहिरै रोकिराख्न जीर्ण ढोका भने दिनभरि डटिरहन्थ्यो । तर, उसको संघर्ष देखिँदैनथ्यो । खालि आवाज मात्र सुनिन्थ्यो । घरी सिक्री हल्लिन्थ्यो एकाएक, घरी ढोकाको फल्याक धकेलिन्थ्यो पछिल्तिर । मानौं ‘लू’ ले उडीउडीकन ढोकालाई घुस्सा मारिरहेको छ ।

बन्द झ्याल र ढोकाको चरबाट ‘ऽऽसऽऽ’ गर्दै सिटी बजाइराखेको ‘लू’ देखि मलाई डर लाग्न थाल्थ्यो । साथसाथै कौतूहल तुलबुलाउन पनि थाल्थ्यो । आखिर यो ‘लू’ देखिन्छ कस्तो ?

धक मान्दै म ढोकाको जोर्नीमा परेको चरनिर जान्थेँ । मुखै च्याप्टिने गरी एउटा आँखा चरनिर जोत्थेँ । त्यसपछि नजरले भ्याएसम्म आँखा च्यातीच्याती बाहिरफेर हेर्थें । बाटोमा कोही हिँडेको हुँदैनथ्यो । ढोका–झ्याल सबैका ढ्याम्मढुम्म हुन्थे । टोल पूरा चकमन्न हुन्थ्यो । सुनिन्थ्यो त खालि हावाको हुँऽऽहुँऽऽ ।

बाहिर सबै चीजको रङ खुइलिएको हुन्थ्यो । रङ उडेको संसार हेरिरहँदा आँखा तिरमिराउन थाल्थ्यो । त्यसपछि सबै कुरा ऐनाको पारोझैं टलटल गर्न थाल्थ्यो ।

‘लू’ कतै नदेखिए पनि यी सबैमा देखिन्थ्यो । यसको आकार र उकार पत्तो नलागे पनि भेउ पाइन्थ्यो । देखिने खतराभन्दा नदेखिने खतरा हाउगुजी हुन्छ । त्यसैले नदेखिने हाउगुजीको पदचाप सुन्दै चार बजेलाई कुर्न थाल्थेँ । किनभने चार बजेपछि ‘लू’ फू–मन्तर हुन्छ रे ! सो हजुरआमाले भन्नुहुन्थ्यो । तर चार बजेपछि अर्को डर सुरु हुन्थ्यो ।

‘लू’ को प्रहर सक्किएपछि खुइलिएको संसार आफ्नै रङमा फर्किआउँथ्यो । टोलको ध्वनिमा तरान ब्युँतिन्थ्यो । र, त्यसमै थपिन्थ्यो टिकिया, खस्ता र दहीबडाको आगमन । चाटवालाको पन्यु तावासित बोल्न थाल्थ्यो– टङटङ ठक । अरे ! पीपलबोटनिर ठेला लागिसक्यो ?

सुक्खा गर्मीमा पानीपुरीको तिर्खा हरहराएर आउँथ्यो । झुम्मिन थाल्थे टोलेहरू चाटको ठेला वरिपरि । हामी भुराभुरीको खेल्ने ‘काम’ त बल्ल सुरु हुन्थ्यो । र, यहीसँगै सुरु हुन्थ्यो मेरो अर्को चिन्ता । खेल्ने बेलामा टुनटुन नआइदियोस् । टुनटुनसित खेल्नुपर्‍यो भने डराईडराई खेल्नुपर्थ्यो । मेरो दोस्रो ‘डर’ यही ढाडे टुनटुनसित थियो ।

टोलमा मेरो उमेरका दौंतरी भनेका केटाहरू मात्र थिए । हाम्रो टोलमा मधेसी समुदायको बाहुल्य भएकाले ती सबै मधेसी थिए । उस्तै आर्थिक अवस्था, कल्साउँदो रङरूप, अवधी बोलीचालीले म पनि गैरमधेसी कहाँ लाग्थेँ र ! गुडिया–गुड्डाभन्दा गुच्चा खेल्न मन पराउने, लंगड्खुट्टी खेल्दा छातीछाती थाप्ने, गुडिराखेको एक्कापछाडि झुन्डिएर एक्कावालको गाली खाँदा म पनि कम ‘लौंडा’ त कहाँ लाग्थे र ! तर, टुनटुन खेल्न आएपछि मैले तल खस्नुपर्थ्यो । ऊ हेप्दै भन्थ्यो– ‘हट् लौंडिया !’

टुनटुन हामीभन्दा आधी फुट मात्र अग्लो थियो । तर, ऊ ‘डेभिड एन्ड गोलायथ’ कथाको भीमकाय गोलायथ जत्रो लाग्थ्यो । हो ऊ हामीभन्दा हृष्टपुष्ट टुन्न देखिन्थ्यो । तबै घरकाले न्वारन गरिदिए– टुनटुन । तर, यतिमै ऊ ‘गोलायथ’ जत्रो नदेखिनुपर्ने । त्यस्तो देख्नु खासमा उसको धिङन्याइँ र ज्याद्रोपनको प्रभाव थियो ।

उसको दायाँ गालामा पोलेको निसान थियो । हेर्दा बिँडीको ठुटा कसैले झोसिदिएको जस्तो । त्यो निसानले ऊ जब्बरे लाग्थ्यो । ओठको दुवै काप मसीले लतपलिएको हुन्थ्यो । नीलो मसीको दागले ऊ विचित्र देखिन्थ्यो । घरमा उसका दाइ र काकाहरू एक से एक पढैया थिए । उनीहरूको मसीदानी र पेनसित ऊ खेल्दो हो । आफू पढैया भएर छाद्ने पेन मुखमा राख्दा त्यसो भएको कुनै गुन्जायस दिएन । किनभने घरकाहरू पढाकुलाल भए पनि ऊचाहिँ जिरोलाल थियो । तबै त उसका बाबुले रोडमा देख्नेबित्तिकै भन्ने गर्थे– ‘अब्बे उठाय के पटकबे !’ बाउ न साउ ! ऊ कसैलाई टेर्दैनथ्यो । आदेश होस् वा अनुरोध जो–कसैलाई साँढे जवाफ फर्काउन सक्थ्यो ।

टुनटुन बल लिएर आइज न– ‘नलैबे’ !

टुनटुन पढ्न जा– ‘नजैबे’ !

टुनटुन यति गर्दे न– ‘नकर्बे’ !

अब यस्तो टुनटुनसित खेल्नुपर्दा हाम्रो मनस्थिति कस्तो हुन्थ्यो होला ! खेलको अन्त्यमा झेल्ली र झगडाको नियति स्विकारेर खेल्नुपर्थ्यो । टुनटुनसित खेल्दिन भन्न पाइन्थ्यो तर हामी दुई–तीन जना मात्र बाँकी बच्थ्यौं । खेलबाट बाहिरिएका हरूवाजस्ता ठिंग ! किनभने आधी बगाल त उसकै भाइहरू हुन्थे । उनीहरू एउटै बाबुका छ सन्तान थिए । र, बाँकीकाहरू काकाबाबुका सन्तान हुनेगर्थे । यो अर्कै कुरा हो । टुनटुनले झेल्ली गर्दा उसका काकाबाबुका सन्तानहरू मसँगै लागेर ऊसित बाझ्थे ।

बाझ्न आउने केटाहरूलाई ऊ पेल्दै भन्थ्यो– ‘घण्टा चिल्लावत हो ? फुटो !’

म सुरिएर अघि बढ्दा ऊ हेप्दै भन्थ्यो– ‘हट् लौंडिया !’

मेरो हीनग्रन्थिमा चड्याम्मै लाग्थ्यो । कता हो कता दुख्थ्यो, ठ्याक्कै भन्न नसकिने । तर, रिसचाहिँ भयंकरै उठ्थ्यो । टुनटुनले अचानक मेरो नाम बिर्सेर मलाई जातिवाचक नामले बोलाएको थिएन । उसले मेरो हैसियत सम्झाएको थियो । लौंडाभन्दा तल लौंडियाको ‘ठाउँ’ देखाएको थियो । समाजको आधिकारिक मान्यतामलाई बुझाएको थियो । यसको मतलब ऊसित बाझ्ने मेरो लिंगीय हैसियत छैन भनेको थियो ।

‘मलाई ‘लौंडिया’ भन्छस् ?’ भन्दै दोहोरो दिन मन नलागेको होइन । तर, भन्थेँ कसरी ? त्यसको जवाफ टुनटुनले मुख मिठ्याई–मिठ्याई दिने थियो । ताडित हुँदै भित्रभित्रै मुरमुरियो, खेल छाडेर घर गयो अनि धुम्धुम्ती एक्लै बसिरह्यो । मलाई केटीमान्छे हुनु थिएन । पटक्कै थिएन । मेरो तेस्रो र सबैभन्दा ठूलो ‘डर’ यही थियो । ठूली हुँदै गएपछि म झन्झन् केटीमान्छे बनुँला

भन्ने ‘डर’ !

मैले पछ्याउने केटीमान्छेहरू सबैले सिलौटामा गरम मसला पिनिरहेका थिए । मसिनो हुन नमान्ने सुकेका खुर्सानीका बियाँसित ठूलो संघर्ष गरिरहेका थिए । मलाई खुर्सानीको बियाँसित संघर्ष गर्नु थिएन । म हुर्किरहेको संसारमा केटीमान्छेले के–के गर्नु हुँदैनको नियमावली सुनाइरहिन्थ्यो । जुन ‘छोरीमान्छे भएर’ को पदावलीबाट सुरु हुन्थ्यो र टुंगिन्थ्यो– घाममा नडुल्, पान नखा, लौंडेहरूसित नखेल्, खाली खुट्टा नदौडीमा । मलाई ‘छोरीमान्छे भएर’ नियममा बाँधिनु थिएन ।

मैले खेल्ने सँगातीहरूमाझ केटीमान्छेलाई ‘लौंडिया’ भनेर हेपेको स्वाभाविक मानिँदै आएको थियो । मलाई ‘लौंडिया’ हुनु थिएन । टुनटुनको ‘लौंडिया’ त झनै नाइँ ! तर, भइसकेपछि नहुन सकिन्छ र ?

सकिन्छ ! मेरो कलिलो दिमागले ठम्यायो । मेरो शरीर र आनीबानीले आफूलाई म केटामान्छेभन्दा फरक पाउँदिनथेँ । त्यतिन्जेल उनीहरूलाई मैले फरक देख्ने भनेको एउटै कुरामा थियो– उनीहरू उभ्भेर पिसाब फेर्थे, मचाहिँ बसेर । बस् मैले उनीहरूसित बराबरी गर्न एउटै कुरा देखेँ, उभ्भेर पिसाब फेर्नु । मैले त्यही नै गर्ने भएँ । कस्तो उल्का !

तर, मैले देखेजस्तो उभ्भेर पिसाब फेर्नु गाह्रो रहेछ । हाम्रो घर अगाडि टुनटुनहरू बस्थे । उसका भाइहरू भित्रबाट खुर्रर्र दौडेर आउँथे, नालीछेउ उभिन्थे अनि हाम्रो घरपट्टि ढाड फर्काएर पिसाब फेरी जान्थे । पछाडिबाट हेर्दा सजिलै लाग्थ्यो । मैले पनि त्यसै गरेको थिएँ । आफ्नो त गंगाजमुना बहेर लुगै बर्बाद ।

लाग्यो, लुगाको कारणले नमिलेको होला । त्यसपछि हाफ पाइन्ट र स्कर्ट लगाएर प्रयास गरेँ । भएन । खुट्टा फट्याएर, घुँडा खुम्च्याएर पनि प्रयास गरेँ । अहँ भएन । लुगा भिजेकै छ, जाँघमा दर्किएकै छ, चारैतिर छिटा लागेकै छ ।

उभ्भेर पिसाब फेर्न म असक्षम ठहरिएँ । त्यसोभए म केटामान्छेभन्दा कम मान्छे हुने भएँ त ? म ठूली भएपछि गुड्डी, पुष्पा, फुलौरी र नन्हीहरूजस्तै ‘लौंडिया’ हुने हो त ?

एकादेशको बाल्यकालमा जब आकाशमा मान्छेका छाया डढाउने सूर्य उदाउँथ्यो, हावामा ‘लू’ हुनहुनाउँथ्यो र म ‘डर’ हरूसित डराउँदै बसेको थिएँ, त्यतिबेला हाम्रो सहरमा ‘नुमाइश’ आइपुग्यो । ‘नुमाइश’ को जादुयी संसारले अबचाहिँ मेरो कथा फेरिन लागेको थियो । पारिबाट आएर भारतीयहरूले लगाउने मेलालाई ‘नुमाइश’ भनिन्थ्यो ।

मेरा बनाइएका मामा मुसलमान थिए । हाम्रोतिर नेपाली मुसलमान हुनु भनेको तीनतिनटा भाषाले स्पन्दित हुनु हो– खस, अवधी र उर्दू/फारसी । ती भाषाको शब्दभण्डारले उनको ‘मेला’ सम्बन्धी बुझाइ विशिष्ट थियो । देहाती गाउँमा लाग्ने मेलालाई उनी ‘मेला’ भन्थे । जाडोमा स्थानीयहरूले लगाउने मेलालाई ‘रमाइलो मेला’ भन्थे । र, भारतबाट आएर लगाउने मेलालाई उनी ‘नुमाइश’ भन्थे ।

‘नुमाइश’ फारसी शब्द हो । यसको शाब्दिक अर्थ ‘प्रदर्शनी’ हुन्छ । मेलाका पनि मेलालाई उनले ‘नुमाइश’ भनेका हुन् । किनभने नुमाइशमा सर्कस, जादू, कलाबाजी, कठपुतली नाच आदिको एक से एक प्रस्तुति हुन्थ्यो । पूरा नेपालगन्जलाई पुग्ने बत्ती ‘नुमाइश’ मा झलझलाकार हुन्थ्यो । अजब र गजबको भव्यतम प्रदशर्नीलाई ‘नुमाइश’ शब्द बडो ठीक जँच्थ्यो ।

सहरमा ‘नुमाइश’ आइपुगेको खबर कल्लु मामाले नै घरमा ल्याएका थिए । ‘नुमाइश’ हेर्न बच्चाबच्चीदेखि बूढाबूढीसम्म रहर गर्थे । बीस–पच्चीस दिनसम्म लाग्ने ‘नुमाइश’ मा जान को पो छुट्थ्यो होला र !

तर, यसपालि हजुरआमा नजाने हुनुभयो । म र मामा मात्र भयौं जाने । म भित्रभित्रै रमाएँ । हजुरआमा जाँदा त्यै ‘कालाजादू’ हेरेर घर फर्किनुपर्थ्यो । त्यो पनि पोस्टरमा देखाइएको ‘मुख्य आकर्षण’ मैले कहाँ हेर्न पाउनु ! घाँटी काटेर जोडेको, केटीको शरीरलाई तीन टुक्रा पारेकोजस्ता आइटम जादूगरले अन्तिमका लागि साँचिराखेको हुन्थ्यो । तर, त्यस्ता आइटम मैले हेर्न पाउँदिनथेँ । बच्चाहरूको सातो जान्छ रे ! सो हजुरआमाले भन्नुहुन्थ्यो । त्यसैले त्यो जादू सुरु हुनासाथ मेरा आँखा धोतीको सप्कोले छोपिन्थे । ‘द एन्ड’ !

हजुरआमा नजाने भएपछि म र मामा जता पनि बरालिन पाउने भयौं । त्यही सम्झेर म दिउँसैदेखि अँध्यारो कतिखेर होला भन्दै पर्खेर बसेँ । ‘नुमाइश’ राति नै किन लाग्थ्यो, मलाई थाहा छैन । तर, राति लागेरै यो बडा रहस्यमयी लाग्थ्यो ।

‘नुमाइश’ जाने दिन हामी मामा र भान्जी रातको खाना खाएर निस्कियौं । नौ बजिराखेको थियो । चोकबजार पुग्दा ‘नुमाइश’ जानेको चहलपहलमा हामी पनि मिसियौं । ‘नुमाइश’ टाढैबाट गुन्जिरहेको थियो । त्यसको आवाजले हाम्रा पाइला झनै हतारिएका थिए ।

‘नुमाइश’ को झिलिमिली देखिन थालेपछि जेनरेटरको भटभटे पनि सुनिन थाल्यो । तर, यो कर्कशले हाम्रो कान खाएन । के–के नै बित्लाझैं गरी हाम्रा पाइलाले रफ्तार अझ बढायो ।

‘नुमाइश’ को जादूयी यथार्थमा हामी आइपुगेका थियौं । आँखा फारेर जति हेर्दा पनि र जता हेर्दा पनि लाग्थ्यो, प्रकाशको दुनियाँमा प्रकट भएका छौं । ट्युबलाइटका पर्खालले लाग्थ्यो, पारिको संसार कतै लुप्त भएको छ । लाउडस्पिकरमा गीत, संवाद, हाँसो, चिच्याइको मिस्रित ध्वनिले कान डम्म भएका थिए । कतै कठपुतली नाचमा काठका प्रेमीप्रेमिका विरह गाइरहेका थिए । जोकरहरू सर्कसको टिकट किन्न आग्रह गरिरहेका थिए ।

पोस्टरबाट निस्कुँलाझैं गरिरहेको जादूगर ‘कालाजादू’ भन्दा तिलस्मी लागिरहेको थियो । सबैका तम्बु रहस्यले भरिएझैं चारैतिरबाट डामडुम छोपिएका थिए । प्रवेशद्वारको पर्दाबाट चियाउनेलाई हपार्दै कसैलाई छिसिक्क हेर्न दिइएको थिएन । त्यसले रहस्य झन् गाढा बनाउँदो थियो ।

तर, यसपालि हामी ‘कालाजादू’ हेर्नेवाला थिएनौं । पक्का ! यसपालि हामी ‘मौत का कुँवा’ हेर्ने भयौं । ‘मौत का कुँवा’ मोटरसाइकलमा गरिने स्टन्टलाई भनिन्थ्यो, जुन तख्तैतख्ताले बनाइएको इनारजस्तो गोलाकार गहिरोमा देखाइन्थ्यो । टिकट काटेर हामी तीन तलाजति भर्‍याङ उक्लेर माथि पुग्यौं । माथि इनारको खुला घेरा थियो ।

दर्शकहरू रेलिङमा अडेसिएर वरिपरिबाट तल हेरिरहेका थिए । तल इनारजस्तै गहिरो परेको थियो । फेदमा तिनटा मोटरसाइकल चालक एक्सिलेटर बटारेको बटार्‍यै थिए । साइलेन्सर निकालिएका मोटरसाइकलबाट कान चिर्रिने, मुटु थर्किने आवाज आइरहेको थियो । चालकहरूका अनुहार कालो हेल्मेटमा कैद थिए । कालो प्यान्ट र ज्याकेट लगाएका चालकहरू हामी आममान्छेभन्दा विशेष लागिरहेका थिए ।

मोटरसाइकल चलाउने ठाउँ नदेखेर मैले के गर्न लागेको भन्ने बुझिनँ । मामालाई सोध्दा उनले हेर्दै जाऊ भने । अनुहारमा उनको ‘सस्पेन्स’ खेलिरहेको थियो । मेरो कौतूहल झन् बढ्यो । पाइला तनक्क तन्काउँदै म अझ घोप्टिएँ । एउटा–एउटा गर्दै तिनटा मोटरसाइकल इनारको ठाडो काठमा चढ्न थाले । आम्मै ! मर्छन् कि क्या हो ! भन्ने लाग्यो । तर, कहाँ हुनु ! ती मोटरसाइकल झनै बेस्सरी कुद्न थाले । हेर्दाहेर्दै ती त माथिमाथि उक्लिँदै हामीसम्मै आइपुगे ।


क्या खतरा !

ती तिनटा मोटरसाइकल तीव्र गतिमा गोलोगोलो हुँदै यसरी हुइँकिरहेका थिए, मानौं एकअर्कालाई लखेटिरहेका हुन् । हामी उभिएको काठ थर्रर्र थर्किएर रोमाञ्च शरीरभरि अनुभूत भइरहेको थियो । बिस्तारै तीनमध्ये दुइटा मोटरसाइकल एक–एक गर्दै तल ओर्लिए । बाँकी रह्यो एउटा मोटरसाइकल । त्यो त झन् एक्लैमा मुटु कमाउने कलाबाजी देखाउन थाल्यो । कहिले एउटा हात छोडेको छ, कहिले दुवै हात । त कहिले दुवै खुट्टा छोडेर मोटरसाइकल कुदाएको छ । बाफ रे बाफ ! यो पो गजब रहेछ ।

सबैका मुखबाट आफ से आफ विस्मय छुटिरहेको थियो । मेरो त ढुकढुक बढिरहेको थियो । सबैका आँखालाई ट्वाँ बनाएर, त्यो चालक बिस्तारै फेदतिर अवतरण गर्‍यो । सबैभन्दा अचम्म त अब हुन लागेको थियो, जसका लागि कम से कम मचाहिँ तयार थिइनँ ।

त्यो मोटरसाइकल फेदमा पुगेपछि चालक ओर्लियो । बिस्तारै हेल्मेट फुकाल्यो । यो के ? नपत्याएर मैले गढेर हेरेँ । मामा तीनछक्क पर्दै कराए, ‘अरे लौंडिया !’

विजयीभावमा चालकले मास्तिर हेरिन्, दर्शकतिर फर्कीफर्की हेल्मेट हल्लाइन् । सबैले थपडी बजाए, सिठी फुके । कोहीकोही ठूलो स्वरमा कराए– ‘जियो ! जियो !’ शो सक्किएपछि दर्शकहरू तल ओर्लिन थाले । हामी पनि लाग्यौं । ओर्लिरहँदा सबैका मुखमा एउटै कुरा झुन्डिएको थियो– ‘लौंडिया बवाल कर दिहिस !’

हामीले ‘नुमाइश’ को प्रदशर्नीहरूमा केटामान्छेलाई मुख्य भूमिकामा हेर्दै आएका थियौं । चाहे सर्कसको ‘रिंग मास्टर’ होस् वा ‘कालाजादू’ को जादूगर, चाहे ‘मौत की छलाङ’ को छलाङकारी होस्, थपडी र स्याबासी तिनैले पाउँथे । महिलाहरू त हुन्थे तर थपडी दिलाउने माध्यमको रूपमा मात्र । भनौं भने परेवा, सिंह, हात्तीजस्तै एउटा ‘आइटम’ को रूपमा । तर, यसपालि ‘मौत का कुँवा’ ले गजबै गर्‍यो ।

‘मौत का कुँवा’ मा मोटरसाइकलचालक केटामान्छेहरू मात्र हुन्थे अरे ! तर, यसपालि केटीमान्छे नै मुख्य स्टन्टकारी भएको देख्न पाइयो । हामी स्यानो सहरका मान्छेहरू चित खायौं । सबैले यसलाई अपवादको रूपमा लिए । केटीमान्छे पनि यति ‘जाँबाज’ हुन्छन् भनेर लिएनन्, जस्तो सधैं मान्दै आएका थिए ।

दिमाग जर्रो नभइसकेको त्यो उमेरमा ममा भने सीधा कुरा सीधै भएर घुस्यो– केटीमान्छे ‘छोरीमान्छे भएर’ पनि स्टन्टकारी हुन सक्छन् । मेरो दिमाग गह्रुंगो र छाती हलुंगो भएर आयो । यसपछि ‘नुमाइश’ मा बाँकीको फिराइ फिका लाग्दै गयो ।

हामीले खेलका स्टल चहार्‍यौं । खानाका स्टल पनि चाख्यौं । रातको साढे एघार बजेतिर हाउसी खुल्यो । मामाले मजा लिईलिई हाउसीको टिकटमा नम्बर मिलाए । अन्तिममा तात्तातो बदाम खाँदै हामी ‘नुमाइश’ बाट फर्कियौं । सुनसान सडकमा हिँडिरहँदा मामाले एकाएक प्रसंग झिके, ‘कस्तो कमालको लौंडिया है ?’

त्यत्रो ‘नुमाइश’ को रमाइलोमा मामाको ध्यान त्यही एउटाले खिचेको रहेछ । मेरो त कानमा अझ पनि मोटरसाइकलको भट्टट रुमल्लिएको थियो । उत्सुकता र कौतूहलमा उल्टै मैले सोधेँ, ‘त्यसलाई डर लागेन ?’

‘सुरुसुरुमा लाग्यो होला ।’

‘सुरुसुरुमा लाग्यो भने पछि लाग्दैन ?’

‘हार नमाने भने लाग्दैन ।’

‘तपाईंले गर्न सक्नुहुन्छ ?’

‘सक्दिनँ ।’

‘म गर्न सक्छु ?’

मामा हाँसे तर मलाई नउडाई भने, ‘सकिहाल्छौ नि ।’

‘कसरी ?’

‘ठूलो भएपछि ।’

‘ठूलो भएपछि सबै लौंडियाले गर्न सक्छन् ?’

मामा फेरि हाँसे र नलाडीकन भने, ‘तगडा भएपछि सबैले गर्न सक्छन् ।’

कुरोको चुरोले कहाँ टेस पर्‍यो, पर्‍यो । यसपछि भने ममा अनौठो व्यवहार देखिन थाल्यो ।

म बिरालोजस्तै अपायक ठाउँहरूमा चढेर हिँड्न थालेँ । झोल्लिएको खटियाको डन्डीमाथिमाथि हिँडेँ । काठको संघारमाथि चढेर अडिन खोजेँ । घरपछाडि काठको मिल थियो । मिलसँगै किक्रेट खेल्ने खेतारा थियो । खेताराभरि मिलको रूखका मुढा लडेका हुन्थे । म तेर्सिएका मुढामाथिमाथि हिँड्न थालेँ । हिँड्दाहिँड्दै एक मुढाबाट अर्कोमा फँदाल्न थालेँ । अलि लामा मुढाहरूमा कुद्न खोज्थेँ । कुद्न थाल्दा नराम्ररी पछारिन्थेँ । ‘मौत का कुँवा’ ममा हावी भएको थियो । मोटरसाइकलचालक पुरुष भइदिएको भए सायद यो लहड चल्ने थिएन । तर, चालक महिला भएकाले म अभिप्रेरित भएको थिएँ । एउटा छविले मलाई मेरा सीमाहरू भत्काउने स्वीकृति दिएको थियो ।

बांगाटिंगा मुढामा चढेर दगुर्न खोज्ने सानी केटीलाई देख्दा मिलको मुन्सीले बिठ्याइँ सम्झेको हुनुपर्छ । त्यसैले हपार्दै धेरैपटक घर फर्काइदिएको थियो । उसलाई के थाहा, त्यो सानी केटीले ‘मौत का कुँवा’ की स्टन्टकारीको देखासिकी गर्दै थिई ।

यसो गर्दा म धेरैपटक लडेँ । चोटपटक लाग्नेगरी लड्दा म रुन्थेँ । तर, रुँदै घर जान्न थिएँ । जथाभावी लडिरहँदा मलाई बिस्तारै

लड्नबाट डर लाग्न छाड्यो । यता लड्नबाट डराउन छाड्दै गएपछि उता टुनटुनसित बाझाबाझ बढ्दै गयो । यो जानाजान गरेर आएको बदलाव थिएन । टुनटुनको हाँकडाँकसित जुध्दा भोग्नुपर्ने परिणतिदेखि डराउन छाडेकाले थियो । यसो सोचिल्याउँदा उसले धेरै गरे मुख छाड्ला, कुनामा पार्ला, धकालिदेला । गरे बेहोरुँला ! भन्ने बल सृजित भएको थियो । आखिर त्यत्रो लडेर खतहरू बेहोरिएकै छ ।

जहिलेजहिले टुनटुनसित जम्का पर्थ्यो, उसले कुहिनाले कोखामा हान्ने गर्थ्यो । खुट्टामा बेस्सरी कुल्चिदिन्थ्यो । लंगडखुट्टीमा आफ्ना दह्रिला काँधले ठक्कर दिएर लडाइदिन्थ्यो । अरूजस्तो मचाहिँ रुँदै घरमा गुहार्न जाँदैनथे । उल्टै झगडा गर्न सुरिन्थेँ ।

हामी ठूला भइदिएका भए एकअर्काको जानीदुश्मन भइसक्थ्यौं होला । तर, हामी त अहंमा सिङजुरो नपलाइसकेका बालक थियौं । त्यसैले विपरीत हुन गयो । जतिजति टुनटुनसित मेरो झगडा बढ्न थाल्यो, त्यतित्यति उसले मलाई बराबरीको व्यवहार गर्न थाल्यो । हुँदाहुँदा यस्तो समय पनि आयो ऊ म नभई नखेल्ने भयो । पछिपछि त ऊ र म एक्लै पाँच पैसाको ‘गाई कि त्रिशूल’ खेल्ने भयौं । खेलको रन्कोमा ऊ बेलाबेला मलाई ‘हट् लौंडिया !’ भनिहाल्थ्यो । मलाई सनक्क रिस उठ्थ्यो । अनि फेरि बाझाबाझ पर्न थाल्थ्यो ।

बाझाबाझ परे पनि मलाई ‘लौंडिया’ हुनुको हीनग्रन्थिले खुम्च्याउन छाडेको थियो । टुनटुनसित डराउन छाडेपछि आफू केटी भएकोमा मलाई गुनासो पनि हुन छाडेको थियो । आफूलाई कमजोर नठान्न थालेपछि आफूले देख्दै आएको जस्तो ‘केटी बनाइएला’ भन्ने डरले सताउन छाडेको थियो । उल्टै कहिले ठूली बनुँला र तगडुँला भन्ने हतारो हुन थाल्यो । मलाई तिनै स्टन्टकारीजस्तो ‘कमालको लौंडिया’ बन्नु जो थियो ।

मेरा ‘डर’ हरू बाहिरी तत्त्वका कारणले थिए । बाहिरी तत्त्वबाट लाग्ने डरको प्रतिक्रियामा हामी सके पन्छिन खोज्छौं, नसके आफूभित्र दबाउँछौं । तर, डरको ओखती हामी सबैको नाभिमा रहँदै आएको छ, जुन ओखती डरलाई सामना गर्दा मात्र सक्रिय हुन्छ र हाम्रो शक्ति बन्छ । त्यत्ति हो सामना गर्न लगाउने प्रेरक तत्त्व हरेकको भोगाइमा भिन्नभिन्न हुन सक्छ । हामीले मानेका आदर्शले हाम्रो निष्ठालाई निर्देशित गरिरहन्छ । तर, जिन्दगीका चुनौतीहरू सामना गर्न उदाहरणीय पात्र र प्रेरित गर्ने छविहरूले नै बल दिन्छन् ।


उपसंहार

हुनहुनाउँदै आज पनि चल्छ

लू

सहर पातलिएको थियो उतिबेला,

सुनिन्थ्यो हुङ्कारफुङ्कार यसको

सहर बाक्लिएको छ यतिबेला,

पाइलाहरूमुनि दब्बिएको छ हुँहुँ

तैपनि लू लाग्छ रे,

भन्छन् हजुरआमाहरू

आज पनि खोकिलामा लुकाइन्छ नातिनातिनालाई,

लू चल्दा

लूसित डराउनुपर्छ रे,

भन्छन् हजुरआमाहरू

अलिअलि ‘डर’ लागेकै राम्रो अरे,

आफूलाई माया गर्ने मान्छेको चित्त दुखाउँछु कि भनेर

भरोसा कसैको टुटाउँछु कि भनेर

साथ कसैको छुटाउँछु कि भनेर

‘डर’ मनमा साँचिराखे रे

भन्छन् हजुरआमाहरू

मायाको न्यानो ताप्न पनि ‘डर’ को चिसो चाहिन्छ रे

त्यसैले अलिकति ‘डर’

मैले नि साँचिराखेकी छु

सास लिँदा र छोड्दा बीचको अन्तरालमा

त्यसैले हुनहुनाउँदा पश्चिमी हावा

डर मान्छु तिमीसित

लू !

प्रकाशित : फाल्गुन २४, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?