जसले छिचोल्छ, अनुसन्धाता बन्छ

खस जातिको इतिहास नेपाली समाजको महत्वपूर्ण हिस्सा ओगटिरहेको खस र खसहरुको अरु समुदायसँगको ऐतिहासिक-सांस्कृतिक अन्तरघुलनबारे थाहा पाउन सबैभन्दा महत्वपूर्ण आधारग्रन्थ हो । प्रा. पोखरेलको आधारभन्दा बढी उमेर यही किताबको अनुसन्धानमा बितेको थियो ।
भोगीराज चाम्लिङ

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल (१९९० साउन ३०– २०७५ फागुन १२) को बहुचर्चित किताब हो– ‘खस जातिको इतिहास’ । उनका ‘पाँच सय वर्ष’, ‘नेपाली भाषा र साहित्य’, ‘राष्ट्रभाषा’, ‘एक मन सात चिन्तन’ लगायत सयभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रा. पोखरेलको स्मृति–दिवसको सन्दर्भमा ‘खस जातिको इतिहास’ माथिको समीक्षा प्रस्तुत छ ।

प्रा. बालकृष्ण पोखरेलले एउटा लेखमा यस्तो आशय आउने गरी लेख्नुभएको रहेछ, ‘पश्चिम नेपालका दलितहरूमा पाइने मौखिक मान्दम–काव्य फेला पारेर एक जना अमेरिकी नागरिकले प्रकाशन गरेका छन् । लिम्बू मुन्थुम, राईको मुन्धुम र दलितहरूको मान्दम वा मान्धमको एउटै अर्थ हो मानसरोवर’ (सेवा नेपाल, डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क, साउन २०७३) ।


यो पढेपछि मलाई उग्र खुलदुली भयो । मैले विराटनगरमा रहनुभएको उहाँलाई फोन गरेँ । उहाँले अर्को नयाँ तर्क पनि गर्नुभयो, ‘जसरी भैंसी शब्द किरात राईहरूमा पुगेर भुइँसी बन्छ, त्यसरी नै मान्दम पनि मुन्दुम हुन पुगेको हो ।’ उहाँले किरात र मुन्दुमबारे लगातार आधा घण्टाजति आफ्नो कुरा बताउनुभयो तर अमेरिकी नागरिक र पुस्तकको नामचाहिँ सम्झन सक्नुभएन । बरु ‘त्यो किताब मैले मदनमणि दीक्षितबाट फोटोकपी गरेर पढेको हुँ, त्यहाँ सम्पर्क गर्नू’ भन्नुभयो । म डिल्लीबजारस्थित मदनमणि दीक्षितको निवासमा पनि पुगेँ । तर, उहाँले त्यसबारे जानकारी नभएको बताउनुभयो । म हिस्रिक्क परेर फर्किएँ । र, फेरि बालकृष्ण पोखरेललाई फोन गरेँ, ‘सर, मदनमणि दीक्षितज्यूले त थाहा भएन पो भन्नुभयो ।’ प्रा. पोखरेलले हँस्यौली गर्दै भन्नुभो, ‘बाबु ! भैंसीलाई पनि दूध दुहुन फकाउन जान्नुपर्छ । फकाइ पुगेन ।’


पछि खोज्दै जाँदा थाहा पाएँ, उहाँले भन्नुभएको अमेरिकी नागरिक ग्रेगोरी जी. मस्कारिनेक रहेछन् । उनको एउटा लेख शीलू घिमिरेको अनुवादमा प्रज्ञा (२०४३, पूर्णांक ५५) मा ‘नेपाली झाँक्री र यिनीहरूको मन्तर’ शीर्षकमा प्रकाशित रहेछ । उहाँले भन्नुभएको किताबचाहिँ मस्कारिनेकको ‘रुलिङ्स अफ द नाइट’ रहेछ, जुन पश्चिम नेपालका कामी धामीहरूबारे गरिएको अनुसन्धान हो । मौखिक ज्ञानबारे मानवशास्त्रीय अध्ययनका हिसाबले नाम कहलिएकै पुस्तक मानिँदो रहेछ यो ।

***

भौतिक रूपमा बिदा भइसक्नुभएका प्रा. बालकृष्ण पोखरेलका केही अमूल्य कृति भने हामीमाझ सदा जीवित रहनेछन् । त्यसमध्ये एउटा हो– खस जातिको इतिहास (२०५५) । फिनिक्स बुक्सले पुनः (२०७६) प्रकाशन गरेको यो पुस्तक नेपाली समाजको महत्त्वपूर्ण हिस्सा ओगटिरहेको खस र खसहरूको अरू समुदायसँगको ऐतिहासिक–सांस्कृतिक अन्तरघुलनबारे थाहा पाउन सबैभन्दा महत्त्वपूर्ण आधारग्रन्थ हो । ८५ वर्षमा बित्नुभएको प्रा. पोखरेलको आधाभन्दा बढी उमेर खस जातिको इतिहास अनुसन्धानमा बितेको थियो । तब न जन्मियो यस्तो ग्रन्थतुल्य पुस्तक !


यो पुस्तकलाई अन्तिम रूप दिने बखतको कष्टकर कहानीबारे मैले पनि अप्रत्यक्ष रूपमा केही कुरा थाहा पाएको थिएँ । उहाँ त्यसबखत चर्चित रेडियो कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिको ‘दाहालको दैलो’ नाम दिइएको अनामनगरस्थित निवासको माथिल्लो तलामा बस्नुहुन्थ्यो । त्यहीँ स–परिवार बस्नुहुन्थ्यो कवि बाल आवारा पनि । प्रा. पोखरेल दिनरात नभनी किताबलाई अन्तिम रूप दिन मरिहत्ते गरेर परिश्रम गर्दै हुनुहुन्थ्यो । र, उहाँको कोठा भूकम्पले हल्लाउँदा दराजका पुस्तकहरू खसेझैं छरपस्ट भएको हुन्थ्यो । त्यहीँ चिया खाएर खाली भएका गिलास असरल्ल हुन्थे । त्यहीँ कागजका टिपोटहरू मिल्किएका हुन्थे । यो विद्रूप अवस्था देख्न नसकेर बाल आवारालाई खसखस लाग्थ्यो र ‘गुरु म मिलाइदिन्छु’ भनेर पुस्तकहरू मिलाइदिनुहुन्थ्यो । फेरि भोलिपल्ट त अवस्था उस्तै ! यो क्रम केही दिन चलेपछि प्रा. पोखरेलले भन्नुभयो, ‘बाबु ! मेरो किताब मिलाइदिएर साध्यै छैन । एक दिन होइन, दुई दिन होइन । मलाई कुन बेला कुन किताब चाहिन्छ, खोज्दा सबै भताभुङ्ग भैहाल्छ । यसै छोडिदेऊ ।’


अनामनगरको असरल्ल कोठामा अन्तिम रूप दिइएको त्यो किताब साढे सात सय पृष्ठको भीमकाय शरीरमा प्रकाशित भयो (फिनिक्स बुक्सले यो पुस्तकको पहिलो संस्करण २०५६ भनेर उल्लेख गरेको छ तर २०५५ हो) । यो सजिलै छिचोलिने किताबचाहिँ होइन, हाडे ओखरजस्तो हो । कडा बोक्रालाई तह लगाएपछि गुदी भेटिएझैं मिहिनेत गर्नैपर्छ । सायद यही गाम्भीर्यका कारण सार्वजनिक छलफल र विमर्श कम भए पनि धेरैले पढेको अथवा पढ्न चाहेको किताब हो यो । यसबारे मलाई लागेका सार कुरा केही बुँदामा भन्ने जमर्को गरेको छु ।


एक, यो खस जातिबारे तिर्सना मेट्ने किताब होइन, बरु झन् बढी तिर्सना जगाउने किताब हो । कोही कसैले खस जातिबारे प्रस्ट हुनका लागि पढेर यो किताब छिचोल्यो भने ऊ अवश्य पनि अनुसन्धाता भएर निस्कनेछ । किनभने, प्रा. पोखरेलले खस जातिबारे जति अनुसन्धान गरेर यो पुस्तकमा प्रकाशन गर्नुभएको छ, त्योभन्दा धेरै संकेत छोडिदिनुभएको छ । नेपालभन्दा बाहिर धेरै परसम्म पुगेर, नेपालको इतिहासका हजार–पन्ध्र सय वर्षभन्दा धेरै परसम्म पुगेर लेखिएको यो किताबले खसहरूको जरा र फैलावटबारे अवश्य नै विस्तारमा चर्चा गरेको छ । त्यसरी नै पाठकलाई थुप्रै प्रश्न र नयाँ दृष्टिकोण पनि बोकेर बाहिरिने बनाउँछ ।


दुई, यो पुस्तकको सर्वथा महत्त्वपूर्ण पक्ष भनेको मिथक अथवा धार्मिक व्याख्यानभित्र हराएको इतिहासको उद्धार हो । जस्तो कि एउटा उदाहरण मार्फत चर्चा गरौं । हिन्दु धर्ममा जुन स्वर्ग, नर्क अनि पाताल लोकको अवधारणा छ, त्यो अलौकिक नभएर ऐतिहासिक कुरा हो भनेर प्रा. पोखरेलले प्रमाणित गर्ने प्रयास गर्नुभएको छ । पोखरेलका अनुसार, पाताल भनेको प्राण रक्षाका लागि अनुकूल स्थान भन्ने अर्थमा प्रयुक्त स्थानबोधक शब्द हो । पाताल–लोकलाई प्राचीनकालमा कानन, मणिपुर (फोनिसिया) र पौलस्त्य (फिलिस्ता) भनिन्थ्यो, अहिले लेबनान र प्यालेस्टाइन भनिन्छ । त्यस्तै मर्त्यलोक अहिलेको इराक हो (पृष्ठ १०१) । स्वर्गलोक भनेको प्राचीन सुरिया जातिको देश हो, जसलाई सिरिया भनिन्छ (पृष्ठ १३१) । ठीक यहाँनिर चाम्लिङ राई भाषामा प्रयोग हुने ‘सिरिया’ र ‘हि’ शब्दबारे चर्चा गर्नु उपयुक्त हुन्छ । चाम्लिङ भाषामा ‘सिरिया’ को अर्थ हुन्छ— ‘अचम्म, आश्चर्य’ ! त्यस्तै सिरियासँगै जोडिएको क्षुद्रेसिया (आनातोलिया) का हित्तीहरू (पृष्ठ १४४) सँग मिल्दोजुल्दो शब्द हो ‘हि’ । चाम्लिङ भाषामा रातो रगतलाई ‘हि’ भनिन्छ र हित्तीहरू पनि रातो वर्णकै थिए । रातो वर्णका हित्ती र रातो बुझाउने ‘हि’ शब्दका बीचमा कुनै साइनो छ कि संयोग मात्रै हो ? के सुर जाति र सुरदेश अर्थात् सिरियासँग अहिलेका किरातका पुर्खाहरू परिचित थिए ? यो अध्ययनको विषय हो । यसमा मुन्दुममा वर्णित ‘योँला’ चाहिँ सिन्धुघाँटी सभ्यताको कुरा हो भन्नेचाहिँ मेरो पनि तर्क छ ।


तीन, मलाई लागेको यो पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष भनेको विशुद्ध सांस्कृतिक अभ्यासमा परिणत भइसकेको इतिहासको उत्खनन गर्नु हो । यस्ता अनेकौं सन्दर्भ यो पुस्तकमा छन् । तर, यहाँ तिहार र काठमाडौं उपत्यकाको गठेमंगल चाडको मात्र कुरा गरौं । काठमाडौंमा हरेक वर्ष मनाइन्छ, गठेमंगल चाड । त्यो चाड खासमा घुँटीमुँगल हो अर्थात् मध्यकालमा काठमाडौं उपत्यकामा आक्रमण गर्ने मुसलमान राजा समसुद्दिन इलियासलाई बिदाइ गर्न गरिएको तयारीको सम्झनामा सुरु भएको हो । त्यस्तै तिहारमा खेलिने भैलोमा मागिने दान भनेको तिमूर–लङलाई दिन संकलन गरिएको चन्दाको सांस्कृतिक अवशेष हो (पृष्ठ ५७६) । त्यसैले लिखित सामग्रीमा मात्र भर परेर लेखिने इतिहासभन्दा माथि उठेर मौखिक ज्ञान, सांस्कृतिक अभ्यास, भाषा इत्यादि पनि इतिहास अध्ययन र लेखनका स्रोत हुन्, हुनुपर्छ भन्ने नयाँ जमर्को हो यो पुस्तक ।


चार, इतिहासका नसुल्झिएका कतिपय घटनालाई सुल्झाउने प्रयास गर्नुभएको छ, प्रा. पोखरेलले । आजसम्म पनि लिच्छविकालका चर्चित राजा अंशुवर्माका बारेमा इतिहासकारबीच मतैक्यता भइसकेको छैन । उनलाई अधिकांशले ठकुरी मानेका छन् । प्रा. पोखरेलले केही तथ्यका आधारमा अंशुवर्मालाई मगर ठकुरी मान्नुभएको छ (पृष्ठ ५४३) । मामाकी छोरीसँग बिहे गर्ने प्रचलन रहेका कारण ठकुरीहरू मगर थिए (पृष्ठ ४०१) । मल्ल, गोलेश, कल्यालझैं सीमित ठकुरीबाहेकको मूल लाङ्गाली (मगर) हो, त्यही वंशका हुन्, स्रङ–चङ–गम्पो पनि । उहाँको तर्क के हो भने नेपालका खस–मगरहरूले मानसरोवर पुगेर लिगवंश स्थापना गरे । त्यही लिगवंशका थिए— तिब्बतका राजा स्रङ–चङ–गम्पो (पृष्ठ ६०१) । अंशुवर्मा पनि त्यही लाङ्गाली वंशकै भएका कारण स्रङ–चङ–गम्पो र उनकी छोरी भृकुटीबीच विवाह भएको हुन सक्छ (पृष्ठ ६०२) । पोखरेलले अगाडि सारेको तर्क सही पनि हुन सक्छ, गलत पनि तर इतिहासका नसुल्झिएका कुरालाई सुल्झाउने नयाँ दृष्टिकोणचाहिँ यो पक्कै हो ।


***

तुलनात्मक भाषाशास्त्रका अध्येयता भएका कारण प्रा. बालकृष्ण पोखरेलले त्यो ज्ञानको पनि धेरै प्रयोग गरेका छन् यो पुस्तकमा । तर, विशुद्ध भाषाशास्त्रीय आँखाले मात्र सबै सन्दर्भमा सही निचोडमा पुग्न सकिँदैन कि भन्ने मेरो ठम्याइ छ । त्यसैले उहाँले नै प्रयोग गर्नुभएको शब्द सापटी लिएर केही खुरे टिप्पणी गर्न मन लागेको छ ।


एक, कतिपय कुरामा चाहिँ भाषामा मात्रै निर्भर हुन खोज्दा प्रा. बालकृष्ण पोखरेल चिप्लिनुभएको महसुस हुन्छ । उहाँ तामाङलाई थ्रेसबाट क्षुद्रेसिया हुँदै आर्मेनियाबाट नेपाल प्रवेश गरेको भनी व्याख्या गर्नुहुन्छ (पृष्ठ १५९) । त्यसको आधार बनाउनुभएको छ ‘तामाङ’ को ‘माङ’ (ईश्वर) शब्दलाई र त्यसलाई महाभारतको अम्बा र अम्बालिकासँग जोड्नुभएको छ । तर, सजिलो कुराचाहिँ के हो भने माङ भनेको तिब्बतमा विकास भएको प्राचीन बोन–धर्मसँग सम्बन्धित पितृ हो । नेपालमा माङ मान्ने समुदायभित्र किरातहरू पनि पर्छन् ।


दुई, प्रा. पोखरेलको अहिलेका किरात र खस (छाग) का पुर्खा दुई निकटत्तम शाखाका हुन् (पृष्ठ १४७) भन्ने तर्क छ । पोखरेलले किर (अथवा किन) शब्दको अर्थ घोडो हुने भएकोले छाग (खस) निकट हुन् भन्ने शब्दार्थको त्यान्द्रो समात्नुभएको छ । तर, संस्कृति, भाषा र मुख्यतः आनुवंशीयता (जेनेटिक्स) ले यो कुरा पुष्टि भएको छैन । बरु हालसम्मका अध्ययनले किरातहरूलाई चिनियाँ ह्वाङ हो नदी सभ्यताकै भनेर देखाइरहेको छ । यसमा पोखरेलले किरातीहरूले बोकाको मासु नखाने सांस्कृतिक सन्दर्भका आधारमा पनि किरात र खसका पुर्खा निकट हुन् भन्न खोज्नुभएको छ । तर, मुन्दुमी मिथकअनुसार किरातहरूले बोकाको मासु खान छोडेको भनेको सप्तकोसी क्षेत्रमा आइपुगेपछि मात्र हो, त्यसभन्दा पहिला उनीहरूले बोकाको मासु खान्थे ।


अर्को एक स्थानमा किरात समुदायभित्रका याक्खा र याक्थुम्बा (लिम्बू) पनि यक्ष (खस) हुन् (पृष्ठ १०) भन्ने तर्क गर्नुभएको छ, जबकि याक्खा र याक्थुम्बा शब्दबारे सम्बन्धित समुदायको व्याख्याचाहिँ प्रा. पोखरेलले भनेजस्तो यक्षसँग मिल्दो छैन ।


तीन, अर्को रोचक व्याख्या उहाँले सुनुवारबारे गर्नुभएको छ । उहाँ के तर्क गर्नुहुन्छ भने कुलुबाट कुनु (शुन वा शुनु) हुन बाध्य भएका आफ्ना बान्धवहरूको विजोग देखेर कत्युरी समुदायको एक शाखा बाहिङ राईहरूको शरणमा पुगेर सुनुवार भएको हो (पृष्ठ ५७१) । यस विपरीत किरातहरूमा प्रचलित मुन्दुमी मिथकमा चाहिँ लिम्बू, याक्खाबा, राई र सुनुवारका पुर्खाहरू वराहक्षेत्रबाट अलग भएका हुन् भनिन्छ । त्यसैले सम्बन्धित समाजमा प्रचलित तथ्यहरू नसमातीकन गरिने शाब्दिक अर्थ लगाउँदा पोखरेल अन्यत्रै पुग्नुभएको देखिन्छ ।


चार, खसहरूको मौखिक ज्ञान अर्थात् कैरनको उपयोग भने प्रा. पोखरेलले यस पुस्तममा गर्नुभएको देखिँदैन । मेरो हिसाबमा खसहरूबारे अध्ययन गर्न सकिने जीवित सम्पदामध्ये यो पनि एक हो । मैले सुनेअनुसार, खसहरूले कैरनमा आफ्नो आदिम बसाइँसराइको कथा पनि भन्ने गर्छन् । इतिहासको कुरा गर्छन् । खस जातिबारे अनुसन्धान गर्नका लागि कैरन महत्त्वपूर्ण स्रोत हो । प्रकाशित : फाल्गुन १०, २०७६ १३:३०

प्रतिक्रिया
पठाउनुहोस्

मुन्दुम : लयको महासागर

किरात राई समुदायभित्र मात्र मुन्दुम गायन गर्ने चार–पाँच सय धामी र रिसिमी होलान् । भन्नुको अर्थ अहिलेसम्म करिब पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन, नेपाली समाज र संगीतका लागि ।
भोगीराज चाम्लिङ

सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर नसोध्नू । बरु सीधै सोध्नू— खोटाङ कुन ठाउँको हो ?’ हुन पनि हो, ‘राई इज किङ’ अर्थात् राजेशपायल राईदेखि अहिलेकी ‘हिट’ गायिका मेलिना राईसम्म खोटाङकै हुन् ।

किन किराती समुदाय संगीतमा यसरी अगाडि आइरहेको छ ? संगीत क्षेत्रमा किन उनीहरूको उपस्थिति बाक्लो छ ? यसका थुप्रै कारण होलान् तर एउटा हो— किराती समुदाय मुन्दुम परम्परामा हुर्किएको हुनाले संगीतसँग उनीहरूको जन्मजात लगाब ।
किरात राई मात्र नभएर सिङ्गै किराती समाजमा संस्कार गर्दाका बखत नछुङ (धामी) र रिसिमीहरूले मुन्दुम गायन गर्छन् । हजारौं वर्षदेखि उनीहरूको जीवनको अभिन्न पक्ष भएर अहिलेसम्म निरन्तर छ मुन्दुम गायन । त्यसकारण मुन्दुमको लय सुन्दै हुर्किएका किरातीहरू गीत–संगीतमा आएनन् भनेचाहिँ आश्चर्यको कुरा हुन्छ । उनीहरू साहित्यमा, अभिनयमा, ललितकला इत्यादिमा आएनन् भनेचाहिँ आश्चर्य हुन्छ । उनीहरूले नयाँ सिद्धान्त निर्माणको कुरा गरेनन् भनेचाहिँ आश्चर्य हुन्छ ।

मेरो विचारमा किराती संगीतलाई दुई भागमा विभाजन गर्न सकिन्छ— मुन्दुमी र लोकगीत । मुन्दुम समग्र किरातीहरूमा प्रचलित आदिम संस्कारगीत हो । किराती लोकगीत–संगीतको बीउ मुन्दुम नै हो । यसका थुप्रैमध्ये चार मौलिक विशेषता निम्न बुँदामा समेट्न सकिन्छ : एक, नछुङ (धामी) अथवा संस्कार गर्ने व्यक्ति मात्र मुन्दुमको गायक हुन्छ । आम सर्वसाधारणले मुन्दुम गाउनु हुँदैन, हानि गर्छ भन्ने मान्यता छ । तर, धामीहरू किराती समाजका मुन्दुमी गायक मात्र होइनन्, आदिम समाजले विकास गरेको बौद्धिक पनि हुन् । उनीहरू गायक पनि हुन्, व्याख्याता पनि हुन् ।

दुई, मुन्दुम गायनको लयमा विविधता छ । २०६८ सालदेखि मुन्दुम संकलन र अध्ययन गर्दाको मेरो अनुभवले भन्छ, मुन्दुम गायन गर्ने लयमा विविधता मात्रै होइन, ज्यादै धेरै विविधता छ । जति छन् धामीहरू, त्यतिथरी नै छ लय पनि । त्यसैले गीत–संगीतको आँखाबाट हेर्दा मुन्दुम भनेको लयको महासागर हो । मुन्दुमी लयको विविधता एक धामी र अर्को धामी अथवा एक रिसिमी र अर्को रिसिमीबीच मात्रै छैन, एउटा संस्कार र अर्को संस्कारबीच पनि छ । त्यही धामीले एउटा संस्कार गर्दा एउटा लयमा मुन्दुम गायन गर्छ, त्यही धामीले अर्को संस्कार गर्दा अर्को लयमा मुन्दुम गायन गर्छ । किरात राई समुदायभित्र मात्र चार–पाँच सय हाराहारीमा मुन्दुम गायन गर्ने धामी र रिसिमीहरू होलान् । भन्नुको अर्थ अहिलेसम्म पनि चार–पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन नेपाली समाज र संगीतका लागि ।

अर्को महत्त्वपूर्ण कुरा, धामीहरूले चिन्ता बस्दा सबैभन्दा पहिला एउटा आवाज निकाल्छन्— सुइऽऽऽ । यो अर्थबिनाको ध्वनि मात्र हो । तर, मलाई लागेको चाहिँ के भने यो आदिम ध्वनि हो जुन सिकार खेल्दा अथवा सामूहिक संकेत गर्नुपर्दा प्रयोग हुन्थ्यो । अहिले पनि सिकारी र फिरन्ते जीवनमै रहेका राउटेहरूले सिकार गर्नुपर्दा यस्ता सांकेतिक ध्वनि निकाल्ने गरेको पाइन्छ जो । यसरी हेर्दा मुन्दुम भनेको सिकारी युगका ध्वनिदेखि कृषियुगसम्मका शब्द–संगीतको मौखिक संग्रह हो ।

मान्छेहरूले यसरी गाउन सक्ने भएको कहिलेदेखि होला ? वैज्ञानिकहरूका अनुसार हाम्रो नाक चुच्चो भएर माथि उठेको १५ लाख वर्ष भयो । भन्नुको अर्थ गाउनका लागि चाहिने श्वासप्रश्वास प्रणालीको विकास १५ लाख वर्षपहिले भयो । त्यो बेला हाम्रा पुर्खाहरूले गीत गाए कि गाएनन्, त्यो आफ्नो ठाउँमा छ तर गायनका लागि अनुकूल शारीरिक विकास भने १५ लाख वर्ष पुरानो हो । आवाज र बोलीको विकास गर्नु मानवजातिका लागि धेरै ठूलो उपलब्धि थियो (द ओरिजिन अफ म्युजिक, सम्पादक निल्स डब्ल्यू वालिन, बिजोर्न मर्कर एन्ड स्टेभन ब्राउन) जसको उपज हो अहिलेको मानवजातिको सवर्तोमुखी उच्चत्तम विकास ।

मानवशास्त्रीहरू के अनुमान गर्छन् भने मान्छेले लगभग ४ लाख वर्षपहिले अथवा अझ अगाडि नै प्रारम्भिक स्वरूपको संगीतको विकास गरे । चार–पाँच लाख वर्षपहिले नै मानव पुर्खाहरूको मस्तिष्कको आकार बढिसकेको थियो र त्योसँगै संवेगात्मक क्षमता पनि विकास भएको थियो । सम्भवतः त्यसबखत मान्छेले शारीरिक हाउभाउ मात्र होइन, आफ्नो भावना अभिव्यक्त गर्न आवाजको पनि प्रयोग गर्न थालेको थियो (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । संगीतको विकास लाखौं वर्ष र हजारौं पुस्ताको सिर्जनात्मक देन हो । सामूहिक श्रमको उपज हो । किनभने, आदिम समयमा संगीत मनोरञ्जनभन्दा आवश्यकता थियो ।

कामलाई अझ बढी उत्पादनशील बनाउन पुर्खाहरूले धुनको विकास गरेका थिए (मार्क्सवाद र संगीत, अनुवाद निनु चापागाई, २०६७) । त्यो पछि गएर समाज र संस्कार–संस्कृतिको अभिन्न अंग बन्न पुग्यो जसको प्रत्यक्ष साक्ष्य हो मुन्दुम । तीन, मुन्दुमी संगीत संस्कारसँग अभिन्न रूपमा सम्बद्ध रहेको छ । जन्मदेखि मृत्युसम्म हरेक संस्कार र संस्कृतिमा नछुङ (धामी) हरूले मुन्दुम गाउने गर्छन् । संस्कारसँग नजोडिएको भए सायद मुन्दुमी संगीत बाँकी रहने थिएन । फेरि मुन्दुम नजोडिएको भए संस्कार पनि जीवन्त हुने थिएन ।

चार, मुन्दुम गायन गर्दा एकै खालको मात्र धुन निस्कने बाजा प्रयोग हुन्छ । मुन्दुम गाउँदा प्रयोग हुने बाजा भनेको मूलतः ढोल, थाल, झ्याम्टा र घण्टी हो । जसरी सारंगीको तार रेट्दा थरीथरी धुन पैदा हुन्छ, मुन्दुम गायन गर्दा बजाइने यी बाजाबाट त्यस्तो विविध धुन पैदा हुँदैन । यी बाजाका लयका आधारमा धामी या आम किरातीहरूले नृत्य गर्ने गर्छन् जसलाई सिली टिप्नु, सिली गर्नु भनिन्छ । त्यस्तै गरेर पात बजाउने प्रचलन पनि किरात राई जातिमा ज्यादै धेरै छ । रूखका चिल्लो पात ओठमा च्यापेर निकालिने धुनले किरात राई बस्तीका रनवन घन्किरहेको हुन्छ । सम्भवतः सिकारी जीवनमा छँदाको बखत प्रयोग सुरु भएको आदिम बाजा हुनुपर्छ पात ।

पुरातत्त्वविद्हरू अनुमान गर्छन् कि हातको ताली नै पहिलो बाजा हो । त्यस्तै लाठी जुधाएर आउने आवाज, ढुंगा बजाएर आउने आवाज नै प्रारम्भिक बाजा र संगीतका ध्वनि हुन् । त्यसपछि मानवले प्रयोग गरेको संगीतको साधन भनेको पशुपन्छीहरूको हाड हो । सायद त्यसैको झल्को आजकलका धामीहरूले चलाउने सामग्रीमा देख्न सकिन्छ । उनीहरूले पशुपन्छीका हाड आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्ने गर्छन् । चिन्ताहरू गर्दा उनीहरूले यस्तो हाड थानमा राख्ने गर्छन् र कतिपय संस्कारमा बजाउने पनि गर्छन् । त्यस्तै अर्नाको सिङ पनि किरात राई धामीहरूले प्रयोग गर्ने अर्को बाजा हो जसले प्राग्ऐतिहासिक समयको झल्को गराउँछ ।

उत्तर अमेरिकाका सिकारी जीवन बिताइरहेका एउटा जातिको अध्ययनले के देखाएको छ भने उनीहरूका बाजाबाट एक प्रकारको मात्र आवाज आउने गर्छ जसमा ठोक्दा बज्ने ढोल, घर्षण गर्दा बज्ने बाजा अनि गोरुको सिङजस्तो बाजाहरू पाइएका छन् । उनीहरूको ढोल छालाले मोहरेर बनाइएको हुन्छ । काठका लठ्ठीहरू जुधाएर आवाज निकालिन्छ । किरातीहरूले अहिले प्रयोग गर्ने बाजाहरू पनि यस्तै छन् । उनीहरू संस्कार गर्दा, सामाजिक नृत्यहरू गर्दा, युद्धका नृत्य गर्दा संगीत बजाउने गर्छन् । उनीहरूका शब्दभन्दा ध्वनि मात्र निकाल्छन् । र, त्यस्तै सांकेतिक नृत्य गर्छन् । जस्तो कि किरात राईहरूको साकेला र लिम्बूहरूको केलाङ नृत्य । समाजका सबैभन्दा जान्ने मान्छेले गीत गाउँछ अथवा जसले गीत गाउँछ उसलाई सबैभन्दा धेरै ज्ञानी मानिन्छ ।

जस्तो कि किराती धामीहरू । उनीहरूले गीतमा आफ्नो अलिखित इतिहास, सामाजिक नियमका कुराहरू गर्छन् । आत्मिक कुरा, आफ्नो थातथलो र प्रकृतिप्रेमका कुराहरू गर्छन् । बिरामी निको पार्ने, रोग हटाउने कुराहरू गर्छन् । जस्तो कि किराती मुन्दुम । यो सानो तुलनाले पनि किरातीहरूको मुन्दुमको लय र बाजाहरूको आदिमता आकलन गर्न सकिन्छ ।

आजसम्म मानवजातिले विकास गरेको संगीतबारे अध्ययन गरेका विद्वान् विलियम एल बेन्जोन समग्र संगीतलाई तीन चरणमा विभाजन गरेर हेर्छन् । उनी के भन्छन् भने प्रथम चरणको संगीतमा ताल या लयमा नियन्त्रण गरेर धुन निकालिन्थ्यो । यो भनेको भाषाको विकास भएको लगभग एक लाख वर्षदेखि लेखनकलाको विकास नभएसम्मको अवधि थियो । सायद यही अवधिको बाजा हो अहिले प्रचलित किराती धामीको ढोल ।

दोस्रो चरण थियो रागमा आधारित संगीतको । यो भनेको लेखनकला र सहरको विकास अनि कृषि गरेर स्थायी बसोबास गरिसकेपछिको अवधिको संगीत हो । यो अवधिमा विकास गरिएका किराती बाजाहरू हुन् थाल, झ्याम्टा र घण्टी । अनि तेस्रो चरणचाहिँ औद्योगिक क्रान्तिपछिको अवधि हो जुन ताल र रागलाई एकताबद्ध गरेर विकास भयो (‘स्टेजेज इन द इभोलुसन अफ म्युजिक’, सन् १९९३) ।

मुन्दुमचाहिँ ताल या लयमा नियन्त्रण गरेर गायन गरिने प्रथम चरणको संस्कारगीत हो । यसमा रागको कुरा हुँदैन । बरु यसमा दस हजार वर्षअघि खेतीपाती सुरु भएको कागुनी प्रजातिका अन्नहरूको सन्दर्भ खुबै आउँछ । आत्मवाद र पितृपूजाको कुरा महत्त्वपूर्ण विषयका रूपमा आउँछ । आदिम मानवहरूले विकास गरेको चिन्तन ‘एनिमिजम’ (जीवात्मवाद) को कुरा एकदमै धेरै आउँछ । जुन कुराका आधारमा मुन्दुम र मुन्दुमको लय आदिम हो भन्न सकिन्छ ।

एनिमिजम अर्थात् जीवात्मवादी अवधारणाले पशुपन्छी र प्रकृतिलाई पनि मानवीकरण गर्छ अर्थात् मानवस्व रूपमा परिकल्पना गर्छ । चराचुरुंगीहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । पशुहरू मानवसँग संवाद गर्छन्, मानवका सहयोगी बन्छन् । यसप्रकारका अनेकौं मुन्दुमी मिथक छन् । जस्तो कि सुम्निमा (नाइमा) का लागि केटा खोज्न जाने लमी चरा थियो । सुम्निमा (नाइमा) गर्भवती हुने बखत पानी खोज्न जाने चराहरू नै थिए । किरात राईहरूले खुबै श्रद्धा गर्ने मातृहरू तयामा र खियामा पनि चरा नै थिए । अन्य पशुप्राणीसँग सम्बन्धित यस्ता मिथकहरू पनि थुप्रै पाइन्छन् तर मुन्दुममा संगीतसँग सम्बन्धित मिथक चराको मात्र पाइन्छ ।
मुन्दुमी मिथकअनुसार आदिम समयमा मान्छे होइन चराहरू धामी थिए । त्यो चराधामीलाई अहिले पनि मुन्दुममा ‘मबुमी कुपुमी’ भनेर पुकार गरिन्छ । खस–नेपाली भाषामा यो भनेको काफलपाक्यो चरा हो ।

मुन्दुमअनुसार त्यही मबुमी कुपुमी (काफलपाक्यो) चराबाट सिकेर मानवहरू धामी बनेका हुन् । र, प्रथम मानवधामी हर्कबुङ थियो । किरात राईहरू हर्कबुङका सन्तान मानिन्छन् । चराहरूलाई प्रथम धामी मान्नुको अर्थ हो— चराहरूबाट गायन कला अनुकरण गर्नु । गायन मात्रै होइन, बाजाका तालहरू पनि चराबाट सिकेको कुरा मुन्दुममा आउँछ । धामीले घरपरिवारको शान्तिसुरक्षा अथवा मृतात्मालाई बाटो लगाउने चिन्ता गर्दा ढोलको एउटा ताल बजाइन्छ जसलाई धोबी ताल भनिन्छ । धोबी चरा भुइँमा जसरी उफ्रिन्छ, कुद्छ त्यही चालको अनुकरण गरेर बजाइने ताल हो धोबी ताल । यसरी किराती गायन र वाद्यवादन दुवै चराबाट धेरै हदसम्म प्रभावित भएको मुन्दुमी मिथकबाट थाहा हुन्छ । पुरातात्विक अध्ययनहरूले पनि यो कुरा तथ्ययुक्त रहेको देखाउँछ ।

आजसम्मको अध्ययनको कुरा गर्दा मानवले प्रयोग गरेको सबैभन्दा पुरानो बाजा ४० हजार वर्ष पुरानो बताइएको छ । र, त्यो बाजा बाँसुरी हो । र, त्यो बाँसुरी चराको नलीहाडबाट बनेको छ जुन जर्मनीमा उत्खननका क्रममा प्राप्त भएको हो । ती बाँसुरी गिद्ध र हाँसका हाडबाट बनाइएका हुन् (एन्टोन किल्लिन, ‘द ओरिजिन अफ म्युजिक’, सन् २०१८) । यस्तै चराकै हाडबाट बनाइएको बाँसुरी जर्मनीकै गेइसेनक्लोस्टेर्ल गुफा र फ्रान्सको इस्तुरिज गुफामा पनि फेला परेको छ जुन ३२ हजार वर्ष पुरानो मानिन्छ (रिचार्ड जी क्लेन एन्ड ब्लेक एडगर, द डन अफ् ह्युमन कल्चर, सन् २००२) ।

बाजाहरूमध्ये सबैभन्दा बढी पाइएको चराका हाडहरूकै हो । पुरातत्त्वविद्हरूले चराबाहेक बाह्रसिंगेको अगाडिको खुट्टाको नलीहाडलगायत पशुहरूका हाडबाट बनेका बाजाहरू पनि फेला पारेका छन्, तर तुलानात्मक रूपमा कम । सायद प्वाल पारेर बाँसुरी बनाउने कलाको विकास गर्नुभन्दा पहिले प्वाल नपारिएका हाड बजाइन्थ्यो जुन किराती धामीहरूले अहिले पनि आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गरिरहेका छन् । चराकै हाडबाट बाँसुरी किन ? सायद यो प्रश्नको जवाफ मुन्दुमले केही हदसम्म दिएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×