प्रतिष्ठाको विषय (?)

विवाहेत्तर यौनसम्बन्ध र विवाह फरक विषय हो । तर, विवाहेत्तर यौनसम्बन्धको सन्दर्भमा पनि समाजले निर्धारण गरेको मापदण्ड पुरुष र महिलालाई फरकफरक छ ।
सम्झना वाग्ले भट्टराई

हालै काठमाडौँको एउटा चल्तीको कफी सपमा थिएँ । कफीको बिलको पछाडिपट्टि केही ठूला अंग्रेजी अक्षरमा ‘एस ई एक्स’ लेखिएको थियो । बिलको पछाडि यस्तो देखेपछि अनौठो लाग्यो र नियालेर हेरेँ । कुनै आफूलाई रचनात्मक दाबी गर्ने कम्पनीको उत्पादनको विज्ञापन रहेछ ।

प्रतिष्ठाको विषय (?)

ठूला अंग्रेजी अक्षरको तलपट्टि तिनले लक्षित गर्ने पूरा शब्दहरू राखिएको रहेछ : ‘एस माने सिम्पल’, ‘ई माने इलिजेन्ट’, र ‘एक्स माने एक्स्ट्राअर्डिनरी’ अर्थात् सरल, सुरुचिपूर्ण र असाधारण । उत्पादन राम्रो भए तिनका गुणबारे व्याख्या गर्न यी शब्दहरू आफैँमा प्रभावशाली लाग्छन् । तर, किन यसलाई प्रस्तुत गर्न ‘सेक्स’ शब्दको प्रयोग आवश्यक होला ?


त्यसै दिन ठमेलमा हिँड्दै गर्दा कुनै रेस्टुरेन्टको अगाडि ठूला अंग्रजी अक्षरमा लेखिएको ‘एस ई एक्स’ देखेँ । अलि नजिक गएर हेरेको ‘फुड इज एक्सेप्सनल’ लेखिएको रहेछ । तर, यस लेखाइमा पनि अन्य अक्षर सामान्य राखिएका तर ‘इज’को ‘एस’ र ‘एक्सेप्सनल’को ‘ई’ र ‘एक्स’लाई ठूलो र चम्किलो अक्षरमा राखिएको छ, ताकि अन्य अक्षर नदेखिउन् र ‘सेक्स’मा मात्र आँखामा परोस् जसरी । ‘खाना अतुलनीय मीठो छ’ भन्न पनि ‘एस ई एक्स’ को प्रयोग गर्नुपर्ने कुन मनोविज्ञानको प्रभाव होला ? सोचेरै हैरान भएँ ।


त्यसो त यौनजन्य विषयलाई जोडेर वस्तुको विज्ञापन गर्ने चलन विश्वमै नौलो होइन । सन् १८७१ मा पर्ल सुर्तीको खोलमा नग्न महिला शरीरको तस्बिर प्रयोगलाई विज्ञापनमा नग्नताको पहिलो प्रयोग मानिएको छ । त्यसपछि बिस्तारै चुरोट तथा मदिराका विज्ञापनमा नग्नताको प्रयोग गरिएका उदाहरण छन् । अहिले त यस्ता अभ्यास व्यापक प्रचलनमा छन् । यस लेखको सुरुआतमा उल्लिखित प्रसंगहरू त्यसकै उदाहरण हुन् । तर, यसपछाडिको मनोविज्ञान भने अध्ययन तथा विश्लेषणको विषय पक्कै हो ।


के विज्ञापनमा नग्नता वा यौनजन्य सामग्रीले वस्तुको व्यापारमा सकारात्मक प्रभाव पार्छ त ? यसबारे पश्चिमा तथा भारतलगायतका मुलुकमा प्रशस्त शोध–अध्ययन भएका छन् । यस लेख लेख्ने क्रममा मैले यसै विषयसँग सम्बन्धित विगत दस वर्षमा गरिएका दर्जनभन्दा बढी अध्ययन प्रतिवेदन तथा अनुसन्धानमूलक लेख अध्ययन गरेकी थिएँ । तीमध्ये अधिकांश अध्ययनको निचोड विज्ञापनमा यौनजन्य सामग्रीको प्रयोगले उत्पादनको बजार बढाएको नतिजा छैनन् तर यसले बजारमा उत्पादनको उपस्थिति भने देखाउने गर्छ । केही अध्ययनका निष्कर्षले यस्ता विज्ञापनले अमेरिकी उपभोक्तामा सकारात्मक प्रभाव परेको देखिए पनि युरोप तथा एसियाका बजारमा नकारात्मक प्रभाव परेको देखाएका छन् । यसै विषयमा सन् २०१६ मा भारतीय उपभोक्तबीच गरिएको सर्वेक्षणमा बहुसंख्यक ‘महिलाले यस्ता विज्ञापनले आफूलाई होच्याएको महसुस गरेका र पुरुषले यी विज्ञापनलाई ठट्टाको विषयको रूपमा लिने तर वस्तु खरिदमा यस्ता विज्ञापनले प्रभाव नपार्ने’ बताएका थिए । नेपालको सन्दर्भमा यससम्बन्धी अध्ययन भएको सामग्री मैले भेटिन ।


यौन स्वाभाविक हुँदाहुँदै पनि किन यति धेरै चासोको विषय बन्यो ? हाम्रो समाजमा किन यो रहस्य तर अतिरञ्जित बन्यो, बनाइयो ? यसको पृष्ठभूमिमा कस्तो मनोविज्ञानले भूमिका खेलेको होला ? कस्तो सामाजिक पृष्ठभूमिले यसलाई मलजल गरेको होला ?


यौनजन्य विषयलाई रहस्य बनाएर विज्ञापनको रूपमा प्रयोग हुनु एउटा पक्ष हो भने यौनकै व्यापार अर्को पक्ष हो । त्यसो त देहव्यापार वा आम रूपमा भनिने बेश्यावृत्तिलाई मानव सभ्यताकै सबैभन्दा पुरानो व्यवसाय/व्यापार भन्ने गरेको पनि यदाकदा पढ्न/सुन्न पाइन्छ तर यसको विश्वस्त प्रमाण भने पाइँदैन । तर, कतिपयले यौन व्यापारका विस्तारको जिम्मेवार पुँजीवाद हो भन्ने पनि गर्छन् । यस तर्कका पछाडि केही तथ्य हेरौँ । विभिन्न कानुनी अवरोधका बाबजुद आर्थिक गतिविधिका केन्दमा अहिले पनि देहव्यापार फस्टाउँदो छ । त्यस्तै यौनजन्य विषयलाई केन्द्रमा राखेर मौलाएको अर्को व्यवसाय ‘पोर्नोग्राफी’ पनि झनै व्यापक हुँदै गएको छ । आम रूपमा प्रयोग गरिने शब्द ‘पोर्नोग्राफी’ को सुरुआती प्रयोग ग्रीक भाषाको ‘पोर्नी (देहव्यापारी) बारे लेखिएको’ भन्ने रहेछ । ‘पोर्नोग्राफी’ को शब्द व्युत्पत्ति तथा प्रविधि विकासको आजको स्तरले पनि यौन भिडियोका आधार र बजार बढाएको हुन सक्छ ।


अठारौँ शताब्दीमा पेरिसमा छपाइ हुने ‘फ्रेन्च पोस्टकार्ड’ (युवतीहरूका अर्धनग्न, नग्न तस्बिरहरू प्रयोग गरिएका हुन्थे) लाई नग्नताको सुरुआती व्यवसायको रूपमा लिने गरिन्छ । बीसौँ शताब्दीको मध्यतिर ‘प्लेब्वाय’ जस्ता पत्रिकाको प्रकाशन सुरु भएपछि यस्ता व्यवसाय झनै विस्तार हुँदै गए । भिडियोग्राफीको विकासले यौन चलचित्रलाई व्यावसायिक रूप दिन थाल्यो । भीसीडी तथा डीभीडीमार्फत यौन चलचित्र विश्व बजारमा फैलिए । नेपालका भित्री गल्लीहरूमा पनि यस्ता चलचित्रको प्रदर्शन हुने र हेर्न गएका संस्मरणजन्य आलेख पढ्न पाइन्छ ।


सन् १९९० पछि त इन्टरनेटको विस्तारले ‘पोर्न भिडियो’ लाई विश्वभर फैलाएको छ । पछिल्लो समय यस्ता सामग्रीको अर्थतन्त्रबारे पनि टीकाटिप्प्णी हुने गरेको छ । सन् २००१ को मेमा न्युयोर्क टाइम्स म्यागेजिनमा ‘पोर्न व्यवसायजस्तो अर्को कुनै व्यवसाय छैन’ भन्ने आलेख प्रकाशन भएको थियो । उक्त आलेखका अनुसार, त्यस समयमा पार्नोग्राफीको वार्षिक कारोबार १० देखि १४ बिलियन अमेरिकी डलर हुने उल्लेख रहेछ । सन् २०१९ मा आइपुग्दा यस व्यवसायले विश्वभर वार्षिक ९७ बिलियन अमेरिकी डलर कारोबार गर्ने गरेको पढ्न पाइन्छ । यौनजन्य भिडियोहरूको एक अग्रणी वेबसाइट ‘पोर्नहब’ को सन् २०१९ को प्रतिवेदनअनुसार, गत वर्ष मात्र यो वेबसाइट ४२ अर्बपटक हेरियो । यस हिसाबले विश्वभरबाट दैनिक एघार करोड पचास लाखपटक यी साइट खोलिने रहेछन् । त्यस्तै यस वर्ष मात्र यस साइटमा ६८ लाखभन्दा बढी यौनजन्य भिडियो अपलोड भएको उक्त प्रतिवेदनमा उल्लेख छ । अन्य साइटका पनि यस्ता तथ्यांक जोड्ने हो भने यौनजन्य भिडियामा हामीले गर्ने समय तथा पैसाको लगानी भयावह देखिन आउँछ । प्रतिवेदनमा शीर्षस्थानमा पर्न नसके पनि यसको सानो ठूलो हिस्सा नेपालले अवश्य बेहोरेको छँदै छ । स्मरण रहोस, बलात्कारलगायत यौनहिंसा बढेको भनी नेपाल सरकारले यस्ता वेबसाइटहरूमा प्रतिबन्ध लगाएको छ । यो तथ्य पनि बिर्सनुहुन्न कि प्रतिबन्ध लागेका यस्ता विषयहरू भूमिगत शैलीमा झनै चलायमान हुने गर्छन् र यसका लागि प्रशस्त चोर बाटाहरू नभएका होइनन् ।


सभ्यताको विकास क्रममा यस्ता विविध पक्ष हुन्छन् नै । हरेक उत्पादनसँगै त्यसका सहउत्पादनहरू पनि आएका हुन्छन् । यौनजन्य विषयको बढ्दो व्यवसायीकरणले लैंगिक प्रभाव कस्तो पारेको छ त ?


यौनको सन्दर्भमा हाम्रो समाज तुलनात्मक रूपमा उदार हुँदै गएको मानिन्छ । तर, त्यो उदारता महिला र पुरुषका लागि उस्तै छ त ? कतिपय सन्दर्भमा असामाजिक प्रयोग बढ्दै गएको एक सामाजिक सञ्जालमा कुनै उट्पटाङ नामको आईडीबाट लेखिएको थियो ‘नेपालमा लोग्ने मरेपछि स्वास्नी सती जाने प्रथा अन्त्य भयो । यो लोग्ने विदेश गएपछि स्वास्नी परपुरुषसँग लाग्ने प्रथाचाहिँ कहिले अन्त्य होला है ?’


त्यसो त सामाजिक सञ्जाल सार्वजनिक भित्तो हो, जसले जे पनि लेखेका हुन सक्छन् । जे नै लेखिए पनि त्यसले समाजको मनोविज्ञान प्रतिविम्बित भने गरेको हुन्छ । यस स्टाटसले पनि हाम्रो समाजको एक सोचको प्रतिनिधित्व अवश्य गर्छ । वैदेशिक रोजगारीले ल्याएको विकृतिमध्ये यौन विचलन र त्यसले ल्याएको पारिवारिक बिखण्डनलाई देखाउने गरिन्छ । तथ्यगत रूपमा यो यथार्थ पनि हो । तर, यौन विचलन र पारिवारिक विखण्डनमा आरोप भने मूलतः महिलालाई लगाउने गरिन्छ । यो आरोपमा भने तथ्यगत सत्यता छैन । २०७६ साउन २१ मा ‘नेपाल’ साप्ताहिकमा छापिएको कैलाश राईको ‘बदलिँदो दाम्पत्य’ शीर्षक लेखमा वैदेशिक रोजगारी र त्यसैले पारिवारिक विखण्डनमा पारेको प्रभावबारे विश्लेषण गरिएको छ । उक्त लेखमा उनले वैदेशिक रोजगारमा गएका ८ हजार ९ सय ३३ घरपरिवारमा श्रीमती विदेश गएकामा ३६ प्रतिशत श्रीमान् र श्रीमान् विदेश गएकामा दुई प्रतिशत श्रीमतीले दोस्रो विवाह गरेका तथ्यांक प्रस्तुत गरेकी छन् ।


विवाहेत्तर यौनसम्बन्ध र विवाह फरक विषय हो । तर, विवाहेत्तर यौनसम्बन्धको सन्दर्भमा पनि समाजले निर्धारण गरेको मापदण्ड पुरुष र महिलालाई फरकफरक छ । विवाहेत्तर यौनसम्बन्धमा महिलालाई लाञ्छना लगाइने तर पुरुषलाई छुट दिने प्रचलन छ । यौनसम्वन्ध जैविक आवश्यकता हो, यसमा महिला वा पुरुष भनेर विभेद गर्नु नपर्ने हो । तर, एउटै प्रकृत्तिको आवश्यकता र कर्ममा पुरुषलाई छुट र महिलालाई आरोपित गर्नुमा सामाजिक मनोविज्ञानमा खोट देखिन्छ ।


कलेज पढ्दाकी एक साथीसँग अस्ति भर्खर लामो कुराकानी भयो । प्रेम बिहे गरेकी उसको वैवाहिक जीवन अहिले तनावपूर्ण छ । दुई छोरा छन्, सात र चार वर्षका । श्रीमान् सरकारी जागिरे छन् । ऊ पनि निजी बैंकमा काम गर्छे । बिहे गरेको झन्डै १० वर्षपछि उसले अनौठो र दिक्कलाग्दो सत्य थाहा पाई रे ! उसका श्रीमान्ले श्रीमतीको नाममा फेसबुक खोलेका रहेछन् तर उसैलाई थाहा नदिई । साथीको आफ्नै पनि फेसबुक अकाउन्ट छ । अधिकांश साथी उसको नामका दुवै अकाउन्टमा साथी रहेछन् । धेरैलाई उसले दुई अकाउन्ट खोलेकी लाग्दो रहेछ । तर, ऊ भने आफ्नै दोहोरो अकाउन्टबारे बेखबर रहिछे ।


हुने रहेछ के भने श्रीमान्‌ले उसको नाममा खोलेर आफैँले चलाउने गरेका फेसबुक म्यासेन्जरबाट विशेष गरी पुरुष साथीहरूसँग उट्पटाङ र छाडा कुरा गर्ने रहेछन् । जब उसले यस हर्कतबारे सोधी श्रीमान्ले सहज उत्तर दिए रे, ‘तेरो चरित्र जाँचेको ।’


ए बाबा ऊ नक्कली आवरणमा श्रीमतीको नाममा अश्लील कुरा गर्छ र भन्छ ‘तेरो चरित्र जाँचेको ।’ साथी भन्छे, ‘मेरो चरित्र जाँचेको भने पनि खासमा उसको प्रदूषित मनको विकारयुक्त उत्पादन हो यो । उसको यौनलगायतका चरित्रसँग म त भलिभाँती परिचित छु नि ।’ यस कथाका अन्य विद्रूप पाटाहरू प्रशस्त छन् । तर, यस लेखमा उठाउन खोजेको कुरा भने यौनजस्तो प्राकृतिक कुरालाई पनि चरित्रको मापदण्ड बनाउने कस्तो सामाजिक मनोविज्ञान हो ? त्यो पनि महिला पुरुषलाई छुट्टाछुट्टै मापदण्ड ?


अर्को एउटा प्रसंग सम्झन्छु । एउटा शनिबार आफन्त दिदीको परिवारसँग घुम्न गएका थियौँ । एकअर्काका मोबाइलबाट केही फोटाहरू खिचियो । पछि ती दिदीको छोराको मोबाइलमा फोटोहरू हेर्दै थिएँ, केही अरू फोटाहरू पनि हेरेँ । साथीहरूसँग घुम्न गएको रहेछ कतै । केटाहरू, केटीहरू दुवै थिए । फोटोमा उसँगै भएकी केटीको फोटोलाई औल्याउँदै ऊसँग जिस्किएँ, ‘तेरो गर्लफ्रेन्ड हो बाबु यो ?’


उसले अपेक्षा नै नगरेको उत्तर दियो, ‘यस्ती केटीलाई को गर्लफ्रेन्ड बनाउँछ ?’

‘किन नि, मान्छे राम्री छ त ?’

‘अनुहार मात्र त्यस्तो हो, हामीसँगै क्लास बंक गर्छे, चुरोट खान्छे ।’

‘तँ पनि त्यस्तै गर्दोरहेछस् त !’

‘केटा मान्छेको कुरा अर्कै हो, केटी भएपछि आफ्नो ठाउँमा बस्नुपर्छ नि !’


ऊ भर्खर १७/१८ वर्षको, देशको राजधानी सहरमा जन्मे, हुर्केको युवा हो । थाहा छैन उसको जस्तै सोच राख्ने अहिलेका युवा कति छन् । सामाजिक मनोविज्ञान निर्माण प्रक्रिया उस्तै छ भने त्यसले उत्पादन गर्ने सोच पनि त उस्तै होलान् ।


र अन्त्यमा, यौन प्राकृतिक विषय हो भने किन बन्यो/बनाइयो महिलाको हकमा मात्र सामाजिक प्रतिष्ठाको विषय ? त्यही समाज, जसले बजारमा महिलाको नग्नतालाई विज्ञापनको वस्तु बनाउँछ, व्यापारको वस्तु बनाउँछ र घरमा आएर त्यसैलाई इज्जत र प्रतिष्ठाको विषय बनाउँछ भने भन्नैपर्ने हुन्छ— पितृसत्ताले बहुसंख्यक पुरुषलाई दोहोरो चरित्रका यौनविकृत व्यक्ति बनाएको छ । त्यसै विकृत मानसिकतालाई पुँजीवादले मलजल गरेको छ र केही पुरुष त्यसैको आडमा मैमक्त बनेका छन् ।

पत्याउनुहुन्न (?) त्यही मानसिकता त हो जसले खानाको स्वादको विज्ञापनमा पनि यौनको अपरिहार्यता देख्छ ।


(नोट : समाजवाद वा साम्यवाद शब्दमा मात्र सुनेकाले सम्पूर्ण अपजसको जिम्मेवारी पुँजीवादलाई मात्र थोपर्नुपरेको व्यहोरा जानकारी गराउँछु ।)

प्रकाशित : फाल्गुन १०, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?