‘देउपितृ खुसी छन्’- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘देउपितृ खुसी छन्’

झाँक्रीले अन्तिम दिन जोखाना हेरेर भनेको सम्झेँ– भेडा, कुखुराको भित्री अंग हेर्दा, सपनीमा आएको बिचार्दा कुलपूजा राम्रोसँग सम्पन्न भएकोमा देउपितृ खुसी छन्, देउपितृ हाँसेका छन् । झाँक्रीले नै देउपितृ खुसी छन् भनेपछि सन्तति स्वाभाविक रुपमा प्रसन्न हुँदा रहेछन् । मानव जाति यस्तै सामूहिक मनोविज्ञान अडेसो समाएरै यहाँसम्म आइपुगेको रहेछ ।
रोशन शेरचन

काठमाडौँ — झाँक्री विधाबाट कुलपूजा
मेरा पुर्खा प्रकृतिपूजक हुन् भन्ने अनुमान थियो तर यस पाटोतिर खासै पसेको थिइनँ । म आफूलाई बौद्वमार्गी भनी चिनाउँथेँ । कहिलेकाहीँ बोन हुँ कि भन्ने भाव आउँथ्यो । मुवा, पत्नी हिन्दु धर्म पनि मान्ने भएकाले त्यसप्रति मेरो सम्मानभाव थियो नै ।

कर्मकाण्डप्रति भने आलोचनात्मक हुने प्रयास गर्थें । यस्तै पृष्ठभूमिमा यही मंसिर अन्तिम साताको मुस्ताङ भ्रमणले आफ्नो परम्परालाई नजिकबाट नियाल्ने अवसर दिलायो ।


झन्डै १९ बर्षपछि हुन थालेको कुलपूजाको निम्ति गंगबु बसपार्कवाट रात्रि बस समातेँ । थकाली झाँक्रीसँग साइत हेरेर मिति जुराइएको थियो । मंसिर २४ मा थालेर २५ मा सकिने कुलपूजा मेरालागि कौतुकमय विषय थियो । झाँक्रीको सन्तान भए पनि त्यसले मेरो भौतिक जीवनमा केही प्रभाव पारेको थिएन । सुदूर मुस्ताङको झाँक्री परम्पराको रहस्यमयी बतास विगतको भैरहवा, पोखरा र वर्तमानको काठमाडौंसम्म कहिल्यै आइपुगेन ।


यात्रामा मसंँग बहिनी सलमा शेरचन पनि थिइन् । लामै अन्तरालमा आफ्नो गाउँको यात्रामा पुलकित थिइन् । बसमै अशोक गौचन दाइ भेटिए । उहाँ पूजाकै निम्ति मुस्ताङ जाँदै रहेछन् ।


पोखरा पुग्दा झमक्कै रात परेको थियो । बुद्धचोकबाट सन्तोष शेरचन पनि त्यही बस चढे । कस्तो संयोग ! कुलपूजा सन्तोषकै घरमा हुँदै थियो । उनका बुबा र मेरो बुबा, दुई भाइ । सन्तोषको बुबा दाइ । मेरो बुबा विसं ०२६/०२७ सालमा मुस्ताङबाट बसाइ झरेपछि कुलघर सन्तोषको घर बन्यो । अन्यथा प्रचलनले कान्छा भाइको घर कुलघर हुन्छ । कारण बुबा–आमा कान्छो छोरासँग बस्छन् । झाँक्री पूर्वको ढ्याङ्ग्रो, पित्तलका भाँडा, शालीग्राम र समग पूजा सामग्री सन्तोषकै घरमा राखिएको थियो । तीन–चार बजे राति कोबाङस्थित कालीगण्डकी बगरमा बसले ओरालेपछि टर्च बाल्दै घर पुग्यौं ।


अर्को बिहान, डाँडामाथि सूर्य चढ्दै गएपछि, कोबाङ गाउँ पनि दृष्टिमा चढ्दै गयो । साँझ झाँक्री पनि आइपुगे । मेरो बुबा, मुवा, भाइ दुई साताअघि नै गाउँ पुगिसकेका थिए । मुवाले बहिनीहरूसँग मिलेर घरको सरसफाइ, लिपपोत गरिसकेकी थिइन् । जाँड बनाउन भात र मर्चा हालिसकेकी थिइन् । सन्तोषले मलाई भित्री कोठा देखायो । साँघुरो त्यो कोठामा चामल राख्ने माटाले लिपेका आठ दस घैंटा थिए । पश्चिम भित्ताछेउ काठका दुईटा मदुस देखिन्थ्यो । बलिया न बलिया लाग्ने, कालै भइसकेका । सन्तोषले एउटा मदुस खोल्यो, त्यहाँ देउता र पूजासामग्री राखिएका थिए । त्यसको ढक्कन खोल्दा अनौठो गन्ध कोठाभरि फैलियो । जालो लागिसकेको, धूलोको मोटो परत जमेको, मिनिएचर खण्डहर सादृश्य थियो मदुस । त्यसभित्रबाट पित्तलको चारवटा कलश, धुपी र सल्लाका सुकेका हाँगा, दर्जनौं शालिग्राम, चराको आकृति भएको धातुजडित लौरो, हाडखोर, अक्षता, पुराना सिक्का र नोट, सानो फलामे त्रिशूल, चुप्पी, तरबार निस्किए । सन्तोष र मैले पालैपालो ती सामग्री झिकेर डेक्चीमा राख्दै, मनतातो पानीले पखालेर, शालिग्राम र हतियारको हकमा तोरीको तेलले घसेर चोखो स्थानमा राख्यौं । भाइ उज्ज्वल, गौतम र उत्तमले सघायो ।


कुलपूजा अर्थात् पूर्वजले थालेको पूजा । कति पुस्ता अघिसम्म कुलपूजा तन्किन्छ, थाहै छैन । तर, मेरा बाजे पुर्खा नन्दबहादुर शेरचन उहिल्यै थाक सात सय क्षेत्रमै कहलिएका झाँक्री थिए रे । अधिकांश सामग्री सायद उनैले जुटाएका हुन् । सात सय कुरिया भएकाले सात सय क्षेत्र भनिएको रहेछ । नन्दबहादुर बाजेको नाम मात्र सुनेथेँ । देउता र पूजा सामग्री सफा गर्दा बाजे हाम्रै अघिल्तिर उभिइरहेका छन्झैं लाग्ने । मैले धेरै तादात्म्य भाव देखाएकाले सायद त्यस्तो भयो । मान्छे इमोसनल क्रियचर पनि हो, थाहा थियो । बेस्सरी अनुभव गरेँ । थाक सात सयकै कुलपूजा र अन्य कर्ममा उनी नै डाकिन्थे रे । कालीगण्डकीपारि सौरु गाउँतिर कोही दुःखबिमार भएर फाकफुक गर्न जानुपर्दा वर्षामासमा कालीगण्डकीको पानी टेकेर पुग्थे रे । लख काट्न सकिन्थ्यो— उनी नामूद झाँक्री थिए । किंवदन्तीहरू साधारण र सामान्य व्यक्तिमाथि कहाँ बनेको छ र ?


हाम्रो सन्तानमा कसैले झाँक्री विधालाई निरन्तरता दिएनन् । खासमा कान्छा छोराले त्यस अर्थमा मेरो बुबाले नै निरन्तरता दिन पर्ने प्रचलन हो । बुबाले युवा उमेरमा उक्त विधा सिकेका पनि रहेछन् । गुरु झाँक्रीलाई एकाध कर्मकाण्डमा सघाएका पनि रहेछन् । ‘तर २००७ सालको जागरणले हामीलाई पनि छोयो । तसर्थ पढ्नुपर्छ भनेर बनारसतिर हिँडेँ’, बुबाले बताउनुभयो ।


बनारसबाट फर्किएपछि छत्र मास्टर थकाली र बुबाहरू मिली जोमसोमको स्कुल स्थापना गरेका थिए । प्रारम्भिक वर्षहरू जोमसोमै पढाए पनि । एकाध बाजेहरूले भने झाँक्री परम्परा थामेको देखिन्छ । तर, उपल्लो तहको झाँक्रीमा नन्दबहादुरकै नाम आउँछ । आफ्नो सन्ततिमा कसैले इच्छा राखे सपनामा आई मन्त्र फुकेर भए पनि झाँक्री विधा सिकाउँछु भनेका थिए रे !

०००००

थकाली समुदायमा ज्वाइँ हुन सजिलो छैन । मर्दा–पर्दा, विवाह कर्ममा ज्वाइँ नभई कामै सर्दैन । यता गर ज्वाइँ, उता गर ज्वाइँ । एक जना ज्वाइँ काठमाडौंबाटै सँगै थिए । अर्को ज्वाइँ मुस्ताङमै व्यवस्था भए । थमसेल भनिने विधिप्रक्रियाबाट अर्को दिन कुलपूजा सुरु भयो । झाँक्री श्रुति–परम्परामा आधारित विधा रहेछ । शिष्य नभए, विधा लोपै हुने । झाँक्री नवीन युवा थिए । थकाली सेवा समितिले परम्पराको जगेर्ना गर्न तालिमको व्यवस्था गरेकोले उनी झाँक्री परम्पराको पछिल्ला कडी थिए । उहिल्यै पूर्वज म्याग्दीमा सरेकाले मुस्ताङलाई पुर्खाभूमि मानेर नतमस्तक हुन्थे । नन्दबहादुरकै घरमा आई उनकै देउता र पूजासामग्री अघि राखी कुलपूजा गर्न पाउनुलाई अहोभाग्य मानेको थिएँ ।


पहिलो दिन, भेडाको भोग दिँदा रहेछन् । भेडा पनि सेतो, दाग कतै नलागेको, स्वस्थ हुनुपर्ने । भोग दिने भएकाले पूर्वज प्रकृति पूजक रहेछन् । बसाइसराइको क्रममा वा अहिंसा र करुणाको दर्शनबाट प्रभावित भएर बौद्धमार्गी हुने धेरै थकाली छन् तर परम्परा अर्कै रहेछ । मन्त्रोच्चारण गरीवरी, सबै परिवार, ज्वाइँहरूले गिलासको रक्सीमा धुपीको पातले चोपल्दै, झाँक्रीको पछि थेमो थेमो... उच्चारण गर्दै रक्सी छर्कन्थ्यौं । सबै पूर्वजको नाम लिँदै उनीहरूलाई रक्सी, जाँड, चुरोट र स्वादिला खाने कुरा चढाउने चलन रहेछ ।


धुपी र दियालो जलेर वातावरणमा सुगन्ध व्याप्त छ । काठको सिन्कामा धुपी, सल्ला र राता काला ध्वजा टाँगिएका छन् । सानो अग्निकुण्डबाट चरुको बास्ना र धूवाँको कुइरीमण्डलीबीच सबैले क्रमशः भेडामाथि पानी छर्क्यौं । पर्सिए मात्र त्यो भेडा भोग दिन योग्य मानिँदो रहेछ । लामो समय लिएर भेडा पर्सिइयो । मंसिरको जाडोमा, निथ्रुक्क भिजेको भेडासँग मन पनि भिज्दै गयो । सानो छँदा कसैले कुखुरा मारे रुने म, त्यो स्वाभाविक थियो । शताब्दियौंदेखि चलिआएको मार्ने तरिका अनौठो लाग्यो । छातीमा चुप्पी घोप्ने, चिर्ने र मुटु थुत्ने ! मन बिथोलिँदै थियो तर तर्कले भन्न थाल्यो— सयौं वर्षअघि पूर्वजको सबैभन्दा ठूलो लडाइँ नै प्रकृति र जंगली जनावरसँग थियो । त्यसैको सिम्बोल थियो त्यो ।


बिजुलीबिना जंगलछेउ बस्नुपर्ने भएकाले हिंस्रक वन्यजन्तुको भय सधैँ थियो । त्यस्तोमा जनावरको मानवीय स्वरूपको कल्पना सम्भव थिएन । शत्रु भएपछि जनावरलाई मार्ने नै ध्येय हुन्छ । त्यस्तै प्रकृतिप्रदत्त हिमपात, हावाहुरी, भेलबाढी, खग्रास ग्रहण आदिले पनि मान्छेलाई जति दुःख दिएका थिए, उति रनभुल्लमा पारेका थिए । प्रकृतिजन्य अनेकन विपत्तिहरूको वैज्ञानिक कारण थाहा नभएको बेला प्रकृतिलाई मनाएर हुन्छ कि, भोग चढाएर हुन्छ, मान्छेले आफ्नो समुदायलाई ढाडस दिँदै, आश्वस्त पार्दै आएका हुँदा हुन् । त्यही परम्परा त्यही स्वरूपमा अहिलेको समयसम्म आउँदा आश्चर्य लाग्ने नै भयो । भेडा मार्दा भाइ र बहिनी बाहिरिए । मचाहिँ भित्रै बसेँ । तर, नजर फेरेँ । त्यस क्षणलाई अनुभव गर्नुपर्छ भन्ने भावना बलियो थियो । यता भेडा पीडाले चिच्याउन थाल्यो, उता वातावरण रहस्यमयी बन्दै गयो ।

झाँक्रीले कसैले नदेख्ने गरी कालीगण्डकीको चोखो पानीले पूजा सामग्री पखाल्नु र जल ल्याउन भनेका थिए । बिहानै ३ बजे कालीगण्डकी जाने सल्लाह भयो । कालीगण्डकीे सबैभन्दा फराकिलो भएर बग्ने गाउँ सायद कोवाङ लार्जुङ नै होला । अर्को टुकुचे । मार्फामा कालीगण्डकी थोरै साँघुरिन्छ । जोमसोममा त झन् साँघुरिएको छ । त्यसकै किनारमा एयरपोर्टको रनवे बनेको छ ।


केही दिनयता घाम शिथिल थियो । चिसोले कालीगण्डकी उपत्यका कब्जा गरेको थियो । ३ बजे घरबाट निस्कियौं । सन्तोष, उज्ज्वल, उत्तम, अशोक दाइ र म टर्च बालेर कालीगण्डकीतर्फ अघि बढ्यौं । त्यो निस्पट्ट अन्धकारमा कोही सुतेका छैन भने कालीगण्डकी र हामी मात्रै । काठमाडौंबाट हिँड्दा कुलपूजामा उपस्थित हुनेजस्तो मात्र सोचेथेँ । तर, यहा त भिड्नु नै पर्ने रहेछ ।


करिब २० मिनेट हिँडेपछि कालीगण्डकीको पिलन्धरे भंगालो पार गरेर अलि ठूलो भंगालाछेउ रोकियौं । क्रमशः चारवटा पित्तलका भाँडा र पूजा सामग्रीलाई चोखो पानीले पखाल्यौं । चोखो जल भर्‍यौं । छोइनसक्नुको ठिहिराउने चिसो थियो पानी तर भावनात्मक बल कैयन गुणा तातो थियो । थेमो थेमो... गरेर निविड अँध्यारोमा पुर्खालाई सम्झनु धेरै भावुक बनाउने कर्म रहेछ । खोला, नदी र समग्रमा पानी किन संस्कृति हो भन्ने विषय थप प्रस्ट हुँदै गयो । सानैदेखि भैरहवा, पोखरा र अहिले काठमाडौंमा बसोबास गरेको, मुस्ताङमा घुम्न र जागिरको दौरानमा मात्रै पुगेकाले त्यो पाटो छुटेछ । आफ्ना रुटलाई थोरै भए पनि खोतलेँ यसपालि । पुर्खा पितृहरूका निम्ति गरिने भएकाले यसै भावनात्मक भइने, झाँक्रीको दर्बिलो स्वर र रौद्र स्वरूप, मन्त्रोच्चारणले मनोदशालाई तरंगित गरिरहने, अतियथार्थिक अनुभव भयो ।

०००००

दोस्रो दिन सबै गाउँलेलाई खाना खान सामुदायिक भवनमा आमन्त्रण गरिएको थियो । झाँक्रीको निर्देशनअनुसार थेमो गर्ने, चामल छर्कने, पूजा सामग्री पखाल्ने, चोखो ठाउँमा सार्ने, ध्वजालाई स्याउको बोटमा चारै दिशा अक्षता छर्कंदै सिमेभुमेबाट रक्षा गर्ने, सबैको मंगल हुने र केही बिराम भए क्षमा गर्न भन्दै ध्वजा बाँध्यौं, सन्तोष र मैले । रातो भालेको पनि भोग दिइएको थियो । वास्तवमा कोबाङमा कुलपूजा छत (थकाली भाषामा थारा) मा गर्ने चलन रहेछ । छत समथर र कमेरो माटो खाँदेर बनाइएको हुनाले बिस्कुन सुकाउन, अन्न झाड्न र पूजा गर्न उपयुक्त छ । तर, यो कुलपूजा कोठाभित्र गरिएको थियो । झाँक्रीका अनुसार, यस परम्परामा गुरुबाट जे–जस्तो सिकिन्छ, त्यही गरिन्छ । त्यसलाई अन्यथा लिनुहुन्न । झाँक्री विनम्र र व्यावहारिक थिए ।


भेडाको मासुझोलसँग भात, ससेज (थकाली भाषा काढुङ) खायौं । सबै ज्वाइँ र माइतीलाई बिदा गरियो, आशिष थाप्यौं । लामो अन्तरालमा कुलपूजा सम्पन्न भएकोमा एउटा राम्रो काम भयो भन्ने सबैको मनमा परेको थियो ।


प्रकृतिको हिमकला


हिँड्ने बेला भारी हिमपात भयो । जोमसोमबाट बस नछुट्ला कि शंका थियो । तैपनि खन्तीको बगरमा बस कुरेँ । सम्पूर्ण ल्यान्डस्केप सेताम्मे देखिएको थियो । दिउँसोको साढे बाह्र बजे बस आइपुग्यो । करिब डेढ घण्टा घट्टेखोलाको पुलमा हिउँमा चढ्न नसकेर गाडी रोकियो । बल्लबल्ल उक्ल्यो । लेतेनेर कालीगण्डकी बगर जमेको हिमतालजस्तो देखिन्थ्यो । त्यहाँ पनि गाडी उक्लन गाह्रै पर्‍यो । बेलुकीसम्म जसै पोखरा पुग्नु छ । लेतेको चढाइ कटेपछि भने गाडीले गति समात्यो ।


सेताम्मे धौलागिरि नीलगिरि ल्यान्डस्केपमा गाडी गुडिरहेको थियो । मेरो मनमा धेरै कुरा खेलिरहेका थिए । यसपालि आफ्ना पुर्खाको विश्वासपद्धति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएकोमा भिन्न अनुभव गर्दै थिएँ । झाँक्रीले अन्तिम दिन जोखना हेरेर भनेको सम्झेँ— भेडा, कुखुराको भित्री अंग हेर्दा, सपनीमा आएको पनि विचार्दा देउपितृहरू कुलपूजा राम्रोसँग सम्पन्न भएकोमा खुसी छन्, देउपितृहरू हाँसेका छन् । थेमो थेमो... उच्चारण गर्दै भावविह्वल बन्यौं । सबै प्रसन्न भयौं । मुवा धेरै खुसी हुनुभएको थियो । धेरै अन्तराल बितेकाले कुलपूजा गर्न अब ढिलाइ गर्नुहुन्न भन्नेमा मुवा नै प्रमुख हुनुहुन्थ्यो । परिवारका सबै सदस्यले सहभागी जनाउँदै साथ दिए । झाँक्रीले नै देउपितृ खुसी छन् भनेपछि सन्ततिहरू स्वाभाविक रूपमा प्रसन्न हुँदा रहेछन् । मानव जाति यस्तै सामूहिक मनोविज्ञान अडेसो समाएरै यहाँसम्म आइपुगेको रहेछ । हिमदृश्य पनि बससँगै गुडिरहेको थियो । घाँसामा हिउँ देखिन छाडेपछि भने लाग्यो, अब पूर्वजभूमि छाडिएको छ ।


हिउँमा लेखेर आएका छौं

हामीले आ–आफ्ना नामहरू

एकै छिनपछि घाम लाग्यो भने

रहने छैनन् हाम्रा नामहरू

एकै छिनपछि हिउँ थपियो भने

पनि रहने छैनन् हाम्रा नामहरू

हामी हुँदै नरहने हाम्रा नामहरू,

हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू

तीर्थ श्रेष्ठ

प्रकाशित : फाल्गुन १०, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहमा कमजोर सुशासन

गत आर्थिक वर्षमा प्रदेश सरकारले पूर्वाधार योजनामा १२ करोड खर्च गर्‍यो । अधिकांश योजनाको न सार्वजनिक सुनुवाइ भयो न त सामाजिक लेखापरीक्षण गरियो ।
राजबहादुर शाही

(मुगु) — छायानाथरारा नगरपालिका–१ मा गठन भएको बसपार्क निर्माण उपभोक्ता समितिले गत असारमा सार्वजनिक सुनुवाइको आयोजना गर्‍यो । सुनुवाइका क्रममा स्थानीयले गुनासा मात्र पोखेनन्, समितिको पारदर्शिताको खुलेरै प्रशंसा गरे । 

जनप्रतिनिधि, स्थानीय र अन्य सरोकारवालाको सहभागितामा नगरपालिकाबाट गत वर्ष सञ्चालित योजनाको सार्वजनिक सुनुवाइ गर्ने उक्त समिति पहिलो हो । ६० लाख रुपैयाँको उक्त योजनामा खर्च र आम्दानी रकमबारे चित्त बुझेको स्थानीयको प्रतिक्रिया थियो ।

नगरपालिकाले गत वर्ष बसपार्कसहित दुई सय ७० योजना निर्माण गरे पनि अधिकांश योजनाका सार्वजनिक सुनुवाइ कागजमै सीमित बने । नगरपालिकाका अधिकांश योजनामा तीन/तीन महिनामा योजनाको खर्च र आम्दानी सार्वजनिक, सूचनापाटी राख्ने, सार्वजनिक सुनुवाइ गर्नेलगायत सुशासनका सूचक कागजमै सीमित बने ।

सोरु गाउँपालिकामा महत्त्वाकांक्षी योजना मानिएको सिप– सोरुकोट सडकको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले गुनासो मात्रै गरे । योजनाप्रति सुनुवाइमा सहभागी अधिकांशले असन्तुष्टि पोखेको स्थानीय कमल मल्लले बताए । ‘१९ किलोमिटर सडक निर्माणका क्रममा डोजरवालालाई मात्र महँगो रकम भुक्तानी गरेको पाइयो,’ उनले भने, ‘योजना सुरु हुनुअघि सूचनापाटी पनि राखिएन, सार्वजनिक सुनुवाइ पनि औपचारिकताका लागि मात्र गरियो ।’ गाउँपालिकाले सडक निर्माणमा दुई करोड रुपैयाँ विनियोजन गरेको थियो ।

स्थानीय तहमात्र होइन, जिल्लामा बर्सेनि कराडौं रकम खर्च गर्दै आएका कृषि, वन, पशुलगायत विकासे कार्यालयमा पनि सुशासनको अवस्था कमजोर देखिएको छ । सरकारी निकाय पारदर्शी नबन्दा गुनासो बढेको छ नै, जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लाग्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार यस वर्ष मुगुका २१ उजुरी परेका छन् ।

गत आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न कार्यालयमार्फत पूर्वाधार योजनामा करिव १२ करोड रुपैयाँ खर्च भएको छ । अधिकांश योजना सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण र सूचनापाटीबीनै सम्पन्न गरिएको स्थानीयको गुनासो । पछिल्लो समय सबै स्थानीय तहबाट आउने उजुरीको संख्या बढेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनका अनुसार नियमानुसार विकास योजना सञ्चालन नहुँदा मुद्दा पर्ने क्रम बढेको हो । ‘स्थानीय आवश्यकताभन्दा भनसुनका आधारमा सञ्चालन भएका योजनामा बढी अनियमितता हुने गरेको पाइयो,’ उनले भने, ‘आफैं योजना ल्याउने, आफैं उपभोक्ता समितिमा बस्ने र आफैं बिल फरफारक गर्ने प्रवृत्तिले जिल्लाभरि सुशासनको पक्ष कमजोर देखियो ।’

पछिल्लो समय सञ्चालन भएका अधिकांश योजना गुणस्तरहीन बन्न थालेको स्थानीय टोपबहादुर रावलले बताए । ‘योजनामा डुव्लिकेशन बढिरहेको छ, अघिल्लो वर्ष योजना निर्माण गर्ने र पछिल्लो वर्ष मर्मतमा सरकारी बजेट खर्च गर्ने प्रवृत्ति धेरै छ,’ उनले भने, ‘कतिपय योजनामा ७५ प्रतिशत रकम उपभोक्ता समितिबीच बाँडफाट हुन्छ भने २५ प्रतिशतमात्रै पूर्वाधार निर्माणमा खर्च गरिन्छ ।’ उनले संघीय व्यवस्थापछि सरकारी बजेटको दुरुपयोग बढ्दै गएको आरोप लगाए ।

हुन छाडे गाउँभेला
गाउँ भेलामार्फत आवश्यकता पहिचान गरी विकास निर्माण योजनामा रकम विनियोजन गर्ने कानुनी व्यवस्था छ । तर, अधिकांश योजना पहुँचवाला र राजनीतिक कार्यकर्ताको भनसुनका आधारमा विनियोजन हुन थालेपछि गाउँभेला हुनै छाडेका छन् । स्थानीय तहले भने गाउँभेला गराएरै योजना छनोट गर्दै आएको दाबी गरेका छन् । ‘हामीले वडास्तरका योजना सञ्चालन गर्दा गाउँभेला अनिवार्य गराउने गरेका छौं,’ छायानाथरारा–४ का वडाध्यक्ष बिष्णुकुमार भामले भने, ‘भेला गरी प्राथमिकताअनुसार आवश्यकत्ताकै आधारमा बजेट विनियोजन गर्ने गरिएको छ ।’ उनले प्रदेश सरकारबाट विनियोजन हुने योजना मन्त्रीका आसेपासेले मात्र पाउने गरेको आरोप लगाए ।

टाँगिँदैनन् सूचनापाटी, हुँदैनन् सार्वजनिक सुनुवाइ
विकास निर्माण सञ्चालन गर्नुपूर्व योजनाको बिषयमा पूर्ण विवरण उल्लेख गरी सूचनापाटी राख्नुपर्ने कानुनी व्यवस्था भए पनि निर्माण व्यवसायी र उपभोक्ता समितिले बेवास्ता गर्दै आएका छन् ।

सूचनापाटीमा योजनाको लागत, भुक्तानी विवरण, उपभोक्ता समितिका पदाधिकारीको नामावलीलगायत सूचना अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय सूचनापाटी कागजमा सीमित बन्न थालेको स्थानीय अगुवा बेदराज मल्लले बताए । उनका अनुसार सार्वजनिक सुनुवाइ पनि उपभोक्ता समितिमा आवद्ध व्यक्तिका आसेपासेलाई राखेर मात्र गर्ने चलन बढ्दै गएको छ । ‘सार्वजनिक सुनुवाइ गरेको किर्ते कागज बनाएर पनि भुक्तानी लिने क्रम बढेको छ,’ उनले भने, ‘सुशासनका सूचक अबलम्बन नगर्दा जसका लागि योजना सञ्चालन गरिएको हो, तिनैले समेत योजनाबारे जानकारी पाउँदैनन् ।

कतिपय योजना सञ्चालन भएकोबारे उद्घाटनका बेला मात्र जानकारी पाइने गरेको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए । ‘अधिकांश सरकारी योजनाको अनुगमनसमेत कागजमा सीमित हुन्छ,’ उनले भने, ‘असार मसान्तको बेला काम हुने प्रवृत्तिले पनि भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ ।’ उनका अनुसार सार्वजनिक सुनुवाइ गरिसकेपछि त्यसको मल्यांकनका आधारमा सम्झौताबमोजिम किस्तामा निकासा दिनुपर्ने सरकारी नियमको पनि पालना भएको छैन ।

हटाइए सुझाव पेटिका
सार्वजनिक सेवाप्रवाहको क्रममा हुने जनगुनासा कम गर्न सबै सार्वजनिक निकायमा सुझावपेटिका राख्ने व्यवस्था गरिए पनि अधिकांश सरकारी कार्यालय सुझाव पेटिकाविहीन बनेका छन् । उजुरी नपरेको भन्दै संघीय व्यवस्थापछि अधिकांश सरकारी कार्यालयका पेटिका हटेका हुन् ।

जिल्लामा सुझाव पेटिका राख्ने स्थानीय तह, विषयगत र वडा कार्यालयको संख्या न्यून छ । कार्यालयमा सझावपेटिका राखिए पनि उजुरी नपर्दा माकुराको जालो लागेको जिल्ला कृषि विकास कार्यालय प्रमुख केबी रोकायाले बताए । ‘उजुरीका माध्यम फेरिएसँगै उजुरीपेटिका प्रयोगविहीन छन्,’ उनले भने, ‘त्यसैले अधिकांश सरकारी कार्यालय पेटिकाविहीन बनेका हुन् ।’

अनुगमन समिति निष्क्रिय
स्थानीय सरकार सञ्चालन कार्यविधिअनुसार सबै स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठनको व्यवस्था गरिएको छ । कार्यविधिअनुसार सबै स्थानीय तहमा समिति गठन गरिए पनि निष्कृय हुँदा विकास निर्माण गुणस्तरीय बन्न सकेका छैनन ।

समितिले अनुगमन प्रतिवेदन पेश गरेपछि योजनाको अन्तिम किस्ता भुक्तानी गर्ने कानुनी व्यवस्था छ । ‘आफै योजना दिने र आफै अनुगमन गर्ने कानुनी व्यवस्था नै गलत छ,’ समाजका अध्यक्ष मल्लले भने, ‘असार मसान्तको बेला हतारहतारमा गरिएका अनुगमनले कसरी विकास निर्माण पारदर्शी बन्न सक्छ ?’ अनुगमनले विकास निर्माण गुणस्तरीय बन्न थालेको जनप्रतिनिधिको दाबी छ ।

सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सबै योजनाको अनुमगनलाई प्रभावकारी बनाइएको बताए । ‘समितिको नियमित बैठक गरी आवश्यक पर्दा स्थलगत अनुगमनलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘सुशासनका अन्य सूचक पूरा गर्न पनि मातहतका जनप्रतिनिधि र कर्मचारीलाई सक्रिय बनाइएको छ ।’

प्रकाशित : फाल्गुन १०, २०७६ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×