२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विश्‍वयुद्धमा पिल्सिएको संगीतकार

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनपिङ कजाकिस्तान पुगे । राष्ट्रपतिले सम्बोधनका क्रममा दुई देशको मित्रता र चीनको वैभवशाली अर्थतन्त्रको बखान गरे । अनपेक्षित रूपमा एक चिनियाँ संगीतकर्मीको प्रसंग उप्काएर चकित पारे । ती संगीतकर्मी थिए— सियान सिंघाई ।

विश्‍वयुद्धमा पिल्सिएको संगीतकार

चीनमा सियानद्वारा सिर्जित ‘येल्लो रिभर क्यान्टाटा’, ‘सेभिङ द नेसन,’ ‘सङ्स अफ गुरिल्लाज’ जस्ता संगीत अति लोकप्रिय छन् र विशिष्ट कोटीमा दरिन्छन् । पियानो र अर्केस्टाको त वादशाह नै हुन् सियान । पश्चिमा शास्त्रीय संगीतबाट खुब प्रभावित थिए उनी । के भनिन्छ भने सियानको संगीत वा नाम नसुन्ने चिनियाँ सायदै छन् तर उनको जीवनको भयानक पछिल्लो ५ वर्षबारे चाहिं कमैलाई थाहा छ । राष्ट्रपति सीले सम्बोधनमा सियानको त्यही कालखण्ड उल्लेख गरेका गिए किनभने त्यो कजाकिस्तानसँग जोडिएको थियो ।


कजाकिस्तानबाट रुसको मस्को पुगेको केही समयपछि सन् १९४५ मा सियानको मृत्यु भएको थियो । कजाकिस्तान बसाइमा उनले ‘लिबरेसन अफ द नेसन’, ‘सेक्रेड वार’ जस्ता सिम्फोनी कम्पोज गरेका थिए । सियानबारे अहिले यत्ति भनौं ।


राष्ट्रप्रेमले ओतप्रोत सियानका संगीत मन पराउने तर उनीबारे अनविज्ञ चिनियाँमध्ये एक थिए, फिल्म निर्माता सेन जियान । राष्ट्रपतिको सियान–बखान सुनेर सेन खोज–अनुसन्धान गर्न लागे । दुई वर्षअगाडि राष्ट्रपति सीले कजाकिस्तानका समकक्षी नुरसुल्तान नज्रवयेभलाई बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा स्वागत गरे । शक्ति राष्ट्रका प्रमुखको औपचारिक भेटमा प्रायः नदेखिने दृश्य त्यतिबेला देखियो । उनीहरूले सँगै एउटा फिल्मको ट्रेलर हेरे । त्यो फिल्म उनै सियानबारे थियो । निर्माता थिए— सेन जियान । ५ वर्षमा तयार भएको फिल्मको नाम राखियो, ‘द कम्पोजर’ । ट्रेलर हेरेपछि दुई राष्ट्रपतिले फिल्म युनिटसँग अन्तरक्रिया गरे । चीन–कजाक सहकार्यमा बनेको पहिलो फिल्म, त्यसमाथि महान् संगीतकर्मीमार्फत दुई देशको मित्रता र गौरवगाथा देखाइएको, दुवै राष्ट्रपतिको प्रिय हुने भइहाल्यो । निर्माता जियानले फिल्मको प्रादुर्भाव बताएपछि त सी थप प्रफुल्लित भए । ‘द कम्पोजर’ को यहाँ चर्चा गर्नुको कारणचाहिँ यत्ति मात्र होइन ।


तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो– ‘द कम्पोजर’ । संयोग कस्तो भने त्यो दिन थियो, फागुन १– माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिन । ‘द कम्पोजर’ मा युद्धमा फसेर आफ्नो घर फर्कन नपाएको बुबा र युद्धमा गएको बुबाको पखाईमा रहेकी छोरीको वेदना र रोदन थियो । दसवर्षे सशस्त्र द्वन्द्वमा कति नेपाली यस्तै रापमा पिल्सिए ? अझ कति नागरिक बेपत्ता छन् ? उनीहरूको आफन्तको पखाइ कहिले सकिएला ? जो बाँचे तर अंगभंग भए, आज कुन स्थितिसँग जुध्दै होलान् ? नेताहरूलाई यस्ता पात्रको पीडाले छुन छोडिसकेको छ सायद । तर, ‘द कम्पोजर’ ले ती पात्रलाई हाम्रो आँखै अगाडि ल्याइदिन्छ । त्यो भयानक युद्धको बर्बरता सम्झाएर झस्काइदिन्छ ।


मचाहिँ न सियान सिंघाईबारे जानकार थिएँ, न यो फिल्मबारे । ‘मन परे हेरौंला, नत्र बीचमै निस्कौंला’ भन्दै फिल्म हेर्न थालियो । पात्र, तिनीहरूको भोगाइ, चालढाल र लोकेसनले दोस्रो विश्वयुद्धको त्रासदीमा लगिहाल्यो । त्यसपछि त फिल्मले तानेको तान्यै । दृश्यमार्फत सिनेमाले निर्माण गर्ने असली शक्ति यस्तै हुन्छ सायद, तपाईंसँग कहिल्यै सरोकार नभएकै पात्रको पीडाले पनि मर्माहत बनाइदिने । उनीहरूको खुसीले फुरुंग बनाइदिने । ‘द कम्पोजर’ सियानको बायोपिक भने होइन, यसले उनको पूरा जीवनकथा भन्दैन । खासगरी सोभियत संघ र कजाकिस्तानको भोगाइ मात्र देखाइएको छ । तर, उनी सिद्धहस्त संगीतकर्मी हुन् भन्ने फिल्म सुरु भएको केही बेरमै भेउ पाइन्छ । उनको सकस दर्शकले अनुभूत गर्न सक्छन् । निर्देशक शेरज्यात थाहुफको कुशलताको परिणाम हो यो । उनले तत्कालीन समयलाई बडो आधिकारिक र विश्वसनीय ढंगले पेस गरेका छन् । बच्चा, वयस्क, मजदुर, संगीतसाधक, वृद्धवृद्धा हरेक उमेर र पृष्ठभूमिका चरित्र जीवन्त लाग्छन् ।


सियान सन् १९४० मा सोभियत संघ गएका थिए । उद्देश्य थियो, डकुमेन्ट्री फिल्मको संगीत कम्पोज गर्ने । उनको अनुसन्धानले पूर्णता पाएकै थिएन, जर्मनले सोभियत संघमाथि आक्रमण गर्‍यो, त्यसपछि स्वदेश फर्कर्नै पाएनन् । अनेक बाटोबाट फर्कने प्रयास गर्दागर्दै कजाकिस्तानको अल्माटीमा अलपत्र पर्छन् । गरिबीले सताउँछ । धन्न ! उनलाई कजाकका संगीतकर्मी बखित्जान बक्दमुभले सहारा दिन्छन् । बखित्जानले आफ्नो आफन्तको घरमा बस्ने बन्दोबस्त गरिदिन्छन्, त्यस घरका मुली पनि युद्धमै हराएका हुन्छन् । सानी छोरी र पत्नी मात्रै घरमा छन् । निर्देशकले यी दुई पात्रसँग सियानको सम्बन्ध केन्द्रमा राखेका छन् ताकी युद्धको त्रासदीको अन्दाज होस् । बाबुविहीन छोरी र छोरीविहीन बाबुले एकअर्कालाई अभिव्यक्त गरेको प्रेम निकै मर्मस्पर्शी छ ।


सियान बल्लतल्ल अल्माटीबाट मस्को पुग्छन् । क्षयरोग र कुपोषणले सताउँछ । तर, न उपचार गर्न पाउँछन्, न स्वदेश फर्कन । चरम कष्टबीच सन् १९४५ मा उनको मस्कोमै मुत्यु भएको थियो । ४० वर्ष पुग्दै थिए । मस्कोमा रहँदा उनले आफ्नो असली परिचय लुकाएका हुन्छन्, कतिसम्म भने सहारा दिने बखित्जानलाई समेत उनी ख्यातिप्राप्त संगीतकार हुन् भन्ने थाहै हुन्न । सियानको मृत्युपछि बल्ल वास्तविकता बाहिर आउँछ । त्यहाँको अखबारले लेखेपछि बखित्जान र सियानले आश्रय लिएको परिवारले थाहा पाउँछन् । पत्रिकामा छापिएको सियानको फोटो समातेर सानी फुच्ची रुने दृश्यले साँच्चै मथिंगल हल्लाउँछ । सन् १९३९ मा सियानले कम्युनिस्ट पार्टीको सदस्यता लिए । ३ सयभन्दा बढी संगीत कम्पोज गरे । ३५ लेख–रचना प्रकाशित छन् । संगीतबाहेक चिनियाँले उनलाई सम्मान गर्ने अर्को कारण हो, चीन–जापान युद्धमा उनको उल्लेख्य भूमिका । यो पाटोलाई चाहिं फिल्ममा खास देखाइएको छैन । यता, चीनले जापानसँग विभिन्न जित हासिल गर्छ, सियानकै संगीत बजाएर उत्सव मनाइन्छ । उता, सियान मस्को र अल्माटीमा छटपटाइरहेका हुन्छन् । अस्वस्थताको बाबजुद कारखानामा कष्टकर काम गर्नुपर्छ ।


फिल्म हेरिरहँदा लाग्छ, हामीकहाँ अहिले जति संगीतचेत छ, उतिबेला मस्को र चीनतिर योभन्दा कम थिएन । युद्धले भयभीत नागरिकलाई संगीतबाट सान्त्वना दिन र जीवनप्रति आशा जगाउन सियान आफैं लागिपर्छन् । संगीत त एउटा माध्यम हो, खासमा यो मानवताको कथा हो । अनि, देशभक्ति पनि । तर, भारतमा आजकल बनिरहेका फिल्ममा झैं अतिरञ्जित चरित्र र गाथा छैन, एकदमै प्रेमिल पात्र र विश्वसनीय भोगाइमार्फत देशप्रेम व्यक्त गरिएको छ । राष्ट्रप्रेम पोखिएका कतिपय गीतहरू सियानले कजाकिस्तानको तीनै सकसपूर्ण बसाइमा सिर्जेका थिए । चीन मात्र होइन, कजाकिस्तानमा आज पनि उनको संगीत मन पराइन्छ । उनले एउटा कम्पोजिसन त्यहाँको राष्ट्रिय हिरोप्रति समर्पित गरेका थिए । फिल्ममा चीन र कजाकका कलाकारले अभिनय गरेका छन् । सियान बनेका छन्, चिनियाँ अभिनेता हु जुन । छायांकनपछि हुले भनेका थिए, ‘सियानको भूमिका निर्वाह गरेपछि बेग्लै ऊर्जा मिल्यो । उनको त्यो समयमा भोगेको कष्टले मन छोयो ।’


कार्यकारी निर्माता इरिस वाङले सिन्ह्वालाई बताएअनुसार, पाँच वर्षको निर्माण–अवधिमा चीन, रुस, कजाकिस्तान र दक्षिण कोरियाका करिब २ हजार व्यक्ति संलग्न रहे । यो फिल्मले केही अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जितिसकेको छ । अघिल्लो वर्ष यो फिल्मको बेइजिङ प्रिमियरले धेरैको ध्यान तान्यो । स्क्रिनिङपछि ८० वर्ष नाघेका दुई वृद्धालाई स्टेजमा बोलाइयो । दुवैको आँखा भरिएको थियो । को थिए उनीहरू अनुमान गर्नुस् त ? एक थिइन्, सियानकी छोरी नीना । अर्कीचाहिं अल्माटीमा सियान बसेको परिवारकी छोरी कल्माकस एरिसल्नोभा । फिल्म हेरेपछि आँसु पुछ्दै कल्माकसले भनेकी थिइन्, ‘सियानबाट मैले बुबाजस्तै माया पाएँ, उहाँसँग कृतघ्न छु । नीनाको बुबाबाट पाएको त्यो असिम मायाको कथा नीनालाई सुनाउन मन थियो । फिल्मबाट सुनाउन पाएँ । एकदमै खुसी छु । साँच्चै उनी मेरो पनि बुबा थिए ।’


कल्माकसले मायाको कथा सुनाइन्, चीनले आफ्नो गर्विलो इतिहास । जब चीनले सिनेमालाई ‘सफ्ट पावर’ का रूपमा अंगीकार गर्‍यो, उसले यस्तै कथाहरू रोजिरहेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?