२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मोन्टगोमेरीको त्यो बस

रंगभेदविरोधी आन्दोलनले जन्माएकी नागरिक–नायक हुन् रोजा पार्क्स । १९१३ को फेब्रुअरी ४ मा जन्मेकी रोजाको स्मृतिमा फेब्रुअरी महिनालाई ‘ब्ल्याक हिस्ट्री मन्थ’ का रूपमा मनाइन्छ । ‘मदर अफ फ्रिडम’ उपाधिले सम्मानित रोजा एक अनिवार्य पाठशाला हुन्, सबैले पढ्नुपर्ने ।
सरिता तिवारी

डिपार्टमेन्टल स्टोरको दिनभरको जागिर सकेपछि घर फर्कँदै थिइन् उनी । सधैंझैं मोन्टगोमेरी–नगर बसमा उक्लिइन् । ड्राइभरको सिटसँगै रहेको पैसा तिर्ने मेसिनमा सिक्का खसालेर भाडा तिरिन् र बसको आधाउधी भाग जहाँ ‘कलर्ड’ लेखेको चिह्न राखिएको थियो, त्योभन्दा ठीक पछिल्लो सिटमा बसिन् । 

मोन्टगोमेरीको त्यो बस

त्यतिबेला मोन्टगोमेरी नगर प्रशासनको नियम र प्रचलित अमेरिकी कानुनअनुसार, मान्छेका छालाको रङका आधारमा हरेक सार्वजनिक ठाउँहरू विभाजित थिए । सार्वजनिक धारा, शौचालय, अस्पतालका क्यु आदिदेखि बसका सिटसमेत ‘ह्वाइट’ र ‘कलर्ड’ भनी छुट्याइएका हुन्थे । गोराहरू जन्मजात विशेषाधिकार प्राप्त थिए भने ‘कलर्ड’ भनिने कालो छाला भएका नागरिकहरू अक्सर सार्वजनिक अपमानको सिकार भैरहन्थे ।


तीनओटा बिसौनी कटेपछि एउटा सिनेमाहलअगाडिको स्टेसनमा बस रोकियो ।


बसमा केही गोराहरू चढे तर उनीहरू बस्न छुट्याइएका अघिल्लो आधा भागका सिट सबै भरिएका थिए । गोराहरू उभिइरहेको र ‘कलर्ड’ भनिएकाहरू बसिरहेको दृश्य गोरो छाला भएको ड्राइभरका लागि सह्य भएन । तिनलाई बसाउन ड्राइभरले ‘कलर्ड’ लेखिएको बोर्ड सारेर उनी बसेको सिटपछिल्तिर पुर्‍याइदियो र सिटमा बसिरहेका चार जनालाई उठ्न भन्यो । अरू तीन जना चुपचाप उठेर उभिए तर उनी उठ्न मानिनन् । बस ड्राइभरले तुरुन्तै प्रहरी बोलायो । उनलाई कानुन मिचेको आरोपमा उत्तिखेरै पक्राउ गरियो ।

कहानी त्यहीँदेखि थालिन्छ ।

***

रोजा पार्क्स ! अमेरिकाको नागरिक आन्दोलनकी ‘हिरो’ ! रंगभेदविरोधी प्रतिरोधकी सशक्त प्रतीक ।


मोन्टगोमेरीको त्यो बसभित्र १९५५ को डिसेम्बर १ मा जे भयो, त्यो इतिहास रेकर्ड गर्ने दिन साबित भयो । बसमा सवार रोजा पार्क्सले गोरा बस ड्राइभरको अपमानको डटेर प्रतिकार गर्नु र रोजाविरुद्ध कानुन अवज्ञाको मुद्दा लाग्नु नागरिक प्रतिकारका लागि विस्फोटक घटना बन्यो । दास प्रथा उन्मूलन (१८६५) र नागरिक अधिकार ऐन (१८६६) घोषणा भएको झन्डै सय वर्ष बित्न लागेको थियो । तर, कालो छाला हुने मान्छेमाथि गरिने घृणा र हिंसामा तात्त्विक अन्तर अनुभव हुन सकेको थिएन । लामो समयदेखि ‘बराबरी तर फरक’ ढाँचाको गोरा प्रभुत्वकै कानुनको अभ्यासमा कालो वर्णका मानिसहरूको चेतना जति गहिरोसँग थिलथिलो थियो त्यो अब आगो भएर, आँधी भएर कुनै न कुनै कारण बाहिर आउने अवस्था थियो । मोन्टगोमेरीको त्यो बसभित्रको अवज्ञा एउटा निर्णायक विद्रोहको कारण भैदियो ।

रोजा जमानतमा छुटिन्, दस डलर जरिवाना र चार डलर कोर्ट फी तिरेर ।


तर, उनलाई पक्राउ गरेलगत्तै सुरु भएको आन्दोलनले थामिने नाम लिएन । कानुनका कागजमा दासमोचन भए पनि ब्यवहारमा श्वेत आधिपत्यको क्रूर हलाहल पिएर बाँचेका मान्छेहरू बारुदजस्ता बने । आन्दोलन शान्तिपूर्ण थियो तर त्यसको मोहोरी यस्तरी मडारियो, सार्वजनिक यातायातलगायत कुनै पनि ठाउँमा छालाको रङका आधारमा भेदभाव गर्न नपाइने भनी सर्वोच्च अदालतले गरेको फैसलापछि मात्रै त्यो शान्त भयो ।


त्यसबीचको ३८१ दिनसम्म प्रतिरोधस्वरूप काला समुदायका मानिसहरूले मन्टगोमेरीका कुनै पनि नगर बस चढेनन् । काममा निस्कँदा पैदलै हिँडे या भैपरी आउँदा ट्याक्सीको उपयोग गरे । यो आन्दोलन ‘मोन्टगोमेरी बस बहिष्कार’ का नामले चर्चित छ, जसको नेतृत्व मार्टिन लुथर किङ (जुनियर) ले गरेका थिए । यसलाई रंगभेदी पृथकताको कानुनविरुद्ध सबैभन्दा ठूलो र सफल आन्दोलन मानिन्छ ।


आन्दोलन चलिरहँदा अफ्रिकी मूलका अमेरिकीले अविवेकी, हिंस्रक गोराहरूबाट झनै सास्ती पाए । सहरको ठूलो जनसंख्याले बस बहिष्कार गरेपछि मोन्टगोमेरीका आधा बढी नगर बसहरू ग्यारेजमा थन्किने अवस्था आयो । व्यवसायीहरूले ठूलो मात्रामा वित्तीय क्षति बेहोर्नुपर्‍यो । यसबाट क्रुद्ध गोराहरू भौतिक हिंसामा उत्रिन थाले । कालाहरूको सम्मानका लागि नागरिक अधिकार आन्दोलनको नेतृत्व गरेका मार्टिन लुथर किङ (जुनियर) र एडवर्ड निक्सनका घरमा बम फ्याँकियो । काला समुदायले सञ्चालन गरेका चर्चहरू जलाइए । तिनले चलाएका नगर ट्याक्सीका बिमा खारेज गरिए । कैयौं काला मानिसहरू विभिन्न निहुँमा थुनामा परे ।


रोजालाई लागेको कानुन अवहेलनाको मुद्दा प्रारम्भिक अदालत हुँदै सर्वोच्चसम्मै पुग्यो । तल्लो अदालतले नै जातीय पृथकताका सबै कानुनहरूलाई असंवैधानिक भनेर फैसला गरे पनि नगरपालिका त्यसलाई मान्न तयार भएन । आखिरमा १९५६ को नोभेम्बर १३ मा सर्वोच्चले तल्लो अदालतको फैसलाकै समर्थन गर्दै सार्वजनिक यातायातमा हुने विभेदलाई संविधानविपरीत घोषणा गरिदियो ।


यो मुद्दाको परिणामले रंगभेदी आन्दोलनलाई एउटा तार्किक नतिजा दिनेवाला त थियो तर रोजाको जीवन अब ब्यक्तिगत मात्रै रहेन । त्यो आन्दोलनबाट चुकाउनुपरेको सार्वजनिक मूल्यले रोजालाई अकल्पनीय दुःख र संघर्षको कुण्डमा धकेलिदियो । उनको छँदाखाँदाको जागिर चैट् मात्रै भएन मोन्टगोमेरी सहरमा बस्न–खानै नसक्ने गरी धम्की र त्रासको सामना गर्नुपर्‍यो । उनका श्रीमान्ले समेत जागिरबाट हात धुनुपर्‍यो ।


‘पब्लिक हिरोइजम’ को मूल्यमा तिर्नुपरेको व्यक्तिगत तनाब कतिसम्म पीडादायी भयो भने उनी जन्मेको, बाल्यकालदेखि बस्दै आएको अलाबामा राज्यको मोन्टगोमेरी छोडेर सपरिवार मिचिगनको डेट्रोइटमा बसाईं नै सरिन् । त्यहाँ फेरि उनको जागिरे जीवन सुरु त भयो तर उनको सार्वजनिक व्यक्तित्वका कारण त्यहाँको बसाइ पनि कम बोझिलो भएन । दैनिक गुजाराको जिन्दगी संकटमा पर्‍यो तर आफूले गरेको अवज्ञाकै कारण चुलिएको प्रतिरोध र त्यसले दिएको नतिजाले उनलाई निराश हुन, लत्रिन दिएन । नागरिक अधिकारका बाँकी संघर्षहरूमा अहर्निश लड्दै रोजा ९२ वर्षसम्म बाँचिन् । ‘मेडल अफ फ्रिडम’ सहित दर्जनौं पुरस्कार र सयौं सम्मान कार्यक्रममार्फत अमेरिकी समाजले उनलाई जीवित छँदै ठूलो कृतज्ञता प्रकट गर्‍यो । अमेरिकी नागरिक आन्दोलनकी पूववर्ती बुलन्द क्रान्तिकारी ह्यारियट टबम्यानसँगै रोजा ‘मदर अफ फ्रिडम’ उपाधिले समेत सम्मानित भइन् ।


उनले रंगभेदविरोधी आन्दोलनमा बिताएका क्षणहरूलाई बुनेर १९९२ मा ‘माई स्टोरी’ नामक प्रेरणादायी आत्मकथा लेखेकी छन् । उनको अर्को संस्मरणसंग्रह पनि प्रकाशित छ , ‘क्वाइट स्ट्रेन्थ’ । उनीमाथि थुप्रै किताब, जीवनी लेखिएका छन् र ती पाठ्यक्रममा समेत राखिएका छन् । उनको जीवनगाथामा अनेक गीत गाइएका छन्, सिनेमा बनेका छन् । अनगिन्ती भिडियो र डकुमेन्ट्री, बालबालिकाका लागि समेत उपयोगी एनिमेटेड फिल्म बनाइएका छन् । उनीसँग जोडिएका स्मृति संकलन गरेर संग्रहालय निर्माण गरिएको छ । पार्क र स्मारक बनाइएका छन् । सडकहरू नामकरण गरिएका छन् ।


२००५ को अक्टोबर २४ मा उनको निधन भयो । मिचिगन राज्यले पचासौं हजारको संख्यामा जम्मा भएका प्रशंसकलाई साक्षी राखेर राष्ट्रिय सलामीसहित उनको अन्त्येष्टि सम्पन्न गर्‍यो । साधारण जिन्दगी, साधारण दैनिकीको एउटा घटनाले नयाँ मोड दिएको उनको जीवन अधिकारसचेत, हक्की र निरन्तर प्रतिरोधी मानिसको उदाहरण हो । उनलाई स्मरण गर्दै ओजस्वी लेखक/अधिकारकर्मी माया एन्जेलोले भनेकी छन्, ‘रोजा पार्क्स अप्रत्याशित तर महान आन्दोलनकी सूत्रधार थिइन् । उनी त्यसैका लागि जन्मेकी थिइन् सायद । उनको त्यो दिनको प्रतिरोधका कारण हामीले फरक देश ,फरक संसार पाएका छौं ।’

***

रोजा पार्क्सबिना योजना अचानकसँग इतिहास निर्माणको निर्णायक बन्न पुगिन् । एक साँझको एउटा अस्वीकार, एउटा ‘नो’, एउटा हठले उनको जिन्दगीलाई अद्भुत मोडतर्फ नडोर्‍याइदिएको भए उनी एक आम कामकाजी महिलाका रूपमै बाँच्थिन् होला । गुमनाम भएरै बितिजान्थिन् होला । यो अनुमानको मात्रै कुरा हो । हो, ४२ वर्षे उमेरसम्म उनी केवल एउटा नाम थिइन् । तर, त्यो नामको आत्माभित्र प्रतिकारको बारुद हुर्कंदो थियो । मोन्टगोमेरीको त्यो बस, त्यो घटना सलाईको काँटी भएर आयो । त्यसपछि उनको नाम, नाम मात्रै रहेन । अधिकार आन्दोलनको शानदार बिम्ब भयो ।


बिर्सनु हुँदैन, मानिसमा प्रतिरोधको चेतना यत्तिकै र सजिलैसँग आउँदैन । उनीभित्र बाल्यकालदेखि नै रंगभेदविरोधी हठ र अस्वीकारको आँधी थियो, जुन कालान्तरमा एउटा विशाल आन्दोलनको बीउ बन्न पुग्यो ।


१९१३ को फेब्रुअरी ४ मा जन्मेकी रोजा लुइस म्याक्लेका (बिबाहपछि पार्क्स) पूर्वज कुनै बेला दास थिए । हृदयको अतल गहिराइसम्म पुगेर डामेको दासत्वविरुद्ध कहिले अरुसँग र कहिले आफैँसँग लड्दै तिनी हुर्किइन् । सानी छँदा सधैंजसो बिरामी भैरहने हुनाले रोजा खिनाउरी फुच्ची थिइन् । तिनलाई जो कोही गोरा केटाकेटीले सजिलै घचेट्थे, लडाइदिन्थे र खिसिट्युरी गरेर भाग्थे । फुच्ची, लिखुरी भए पनि उनी त्यसरी आफूलाई घचेट्नेविरुद्ध प्रतिकार गर्न, बदला लिइहाल्न चाहन्थिन् र गर्थिन् पनि । त्यसो गर्दा कहिलेकाहीं गोरा केटाकेटीका बाबुआमाको समेत गाली खान्थिन् तर यो कुराले उनलाई झन्झन् प्रतिबद्ध र ज्याद्रो बनाइदिन्थ्यो ।


बा जेम्स म्याक्ले र आमा लियोनाको सम्बन्धविच्छेद हुँदा उनी जम्मा दुई वर्षकी थिइन् । सानो भाइ र उनलाई लिएर आमा मामाघर बस्न आइन् । अलाबामालगायत अमेरिकाका प्रायः सबै राज्यमा पूर्वदासका परिवारहरूलाई छुट्टै कोलोनीमा बस्ने ब्यवस्था गरिएको थियो । उनको मामाघर पनि ‘कलर्ड’ कोलोनीमै थियो । मावली हजुरबा समानताका लागि छाती फुकाएर लड्ने हक्की मानिस थिए । हजुरबा र हजुरामाको अपार माया र पारिवारिक शिक्षा पाएर हुर्कने संयोगले उनलाई रंगभेद र दासप्रथाको क्रूर परम्परा बुझ्ने अवसर दियो । बेलाबेलामा उनको घर अगाडिको बाटो हुँदै अतिवादी गोराहरूको समूह मार्च गर्दै आउँथ्यो । ‘ट्रिपल के’ (कु क्लुक्स क्लान) भनिने त्यो समूहको मुख्य निसाना निग्रो र आदिवासी अमेरिकी हुन्थे । घृणा, हिंसा र द्वेषले भरिएका ती अति–पन्थी हुल्डबाजहरूको मार्च आउँदा रोजाका हजुरबा जहिल्यै घरको गेटमा छाती तानेर उभिएका हुन्थे र साथमा हुन्थ्यो बन्दुक । यस्तो दृश्यले रोजालाई सानै उमेरदेखि नै हक्की र निर्भयी बन्ने चेतना दिएको थियो ।


१६१९ मा एउटा डच पानीजहाजले बोकेर ल्याएका २० जना अफ्रिकीको कथाबाट थालिएको अमेरिकाको दास प्रथालाई १८६५ मा अमेरिकी संविधानको १३ औं संशोधनले औपचारिक रूपमा विराम लगाइदिएको त थियो तर विभेदकारी कानुनहरूको दबदबा कायमै थियो । काला र गोरा बच्चाहरू पढ्ने स्कुल छुट्टै थिए । गोरा विद्यार्थीका लागि बस उपलब्ध गराइन्थ्यो तर कालो छाला भएका नानीहरू हिँडेरै मिलौं टाढाको स्कुल पुग्नुपर्थ्यो । यो विभेद झेल्दै माध्यमिक शिक्षासम्म पुगेकी रोजाको दिमाग बाल्यकालदेखि नै अनेकौं प्रश्न र प्रतिरोधले भरिएको थियो ।


सार्वजनिक सुविधा लिने ठाउँमा जहाँतहीँ झुन्ड्याइएका ‘हृवाइट’ र ‘कलर्ड’ लेखिएका बोर्ड देख्दा रङभेदको भाषाले भयंकर अल्मलिन्थिन् उनी । एउटा वार्तामा उनले भनेकी छन्, ‘सानी छँदा सार्वजनिक धारामा अलगअलग सेतो र रंगीन पानी खस्ने होला भनेर म घण्टौं कुरेर धाराको पानी हेर्थें तर पानीको रङ त एउटै हुँदोरहेछ !’


१९३२ मा उनले बिहे गरिन् रेमन्ड पार्कसँग । अत्यन्तै उदार र मायालु रेमन्डले रोजालाई उच्च शिक्षाका लागि मात्रै प्रेरित गरेनन् आफू सम्मिलित नागरिक अधिकार आन्दोलन ‘एनएएसीपी’ सँग समेत जोडे । त्यही आन्दोलन, जसमा पछि मार्टिन लुथर किङ (जुनियर) पनि जोडिए । १९०९ मा स्थापित ‘एनएएसीपी’ को मुख्य उद्देश्य थियो राजनीतिक, शैक्षिक, आर्थिक, सामाजिक समानताको हकका लागि लड्नु । रोजा यो संगठनको क्रियाशील कार्यकर्ता बनिन् ।


मोन्टगोमेरी नगर–बसभित्र उनले गरेको प्रतिवादकै कारण कालाहरूको मुक्ति आन्दोलनले निर्णायक गति लिएको जति साँचो हो, उनको त्यो प्रतिकार एकाएक र आकस्मिक मात्रै पनि थिएन भन्ने पनि त्यत्तिकै साँचो हो । यो घटनाले इतिहासको निर्माण गर्न ठूलो नाम, ठूलो इरादा बोकेको, धेरै पढालेखा मान्छे नै हुनुपर्छ भन्ने कुरालाई इन्कार गर्छ । हामीभित्र जीवित प्रश्नको अस्तित्व छ भने, हामीभित्र अन्यायको प्रतिकार गर्ने हठ छ भने, आइपर्दा जस्तोसुकै हन्डर खान सक्छु भन्ने दह्रो संकल्प छ भने त्यस्तो जोसुकै पनि व्यक्ति इतिहास बदल्ने शानदार कारण बन्न सक्छ । यो कुरा रोजा पार्क्सको नकार र प्रतिरोधले बताउँछ ।

प्रकाशित : फाल्गुन ३, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?