२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

याकको खोजीमा 

अर्जुन ढकाल

पूर्वी पहाड तथा हिमाली भेग नेपालीको खासै छनोटमा पर्ने गन्तव्य होइन । केही ठाउँविशेष र तीर्थाटनबाहेक । यसपटक भने हामीले त्यही क्षेत्रलाई गन्तव्य बनायौं । ९ वर्षको छोरा इशानले स्कुल बिदा हुनुभन्दा धेरै अघिदेखि नै जाडो बिदामा कहाँ जाने भनेर सोधिरह्यो । योजनै नबनीकन जवाफ दिएको थिएँ, ‘एभरेस्ट, स्‍नो र याक हेर्न ।’

याकको खोजीमा 

एभरेस्टको देश भने पनि धेरै नेपालीले ‘एभरेस्ट’ नजिकबाट देख्ने अवसर पाएका हुँदैनन् । यसका लागि सबैभन्दा रोचक त आठ हजारभन्दा अग्ला टन्नै हिमाल बोकेर बसेको महालंगुर रेन्ज हेर्न जानु नै हो, त्यो पनि सोलुखुम्बु, जहाँ अहिले आठ–दस घण्टाको यात्रामा सजिलै पुग्न सकिन्छ । सोलुखुम्बुको पातले, दोलखाको कालिञ्चोक वा सैलुङ जाँदा यो सम्भव थियो । हिमाली खर्कमा चौंरी र याकका गोठ पनि हेर्न पाइने । योजनामा पारिवारिक साथी जितेन्द्रजी र दीपाजी पनि जोडिनुभयो । हामी सकेसम्म अंग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म घर फर्कन चाहन्थ्यौं । न्यु इयर इभमा होटलहरूमा हुने अत्यासलाग्दो भीडभाड र अव्यवस्थालाई छल्नु थियो ।


घमाइलो बिहान चालकसहित सात जनाको टोलीले काठमाडौं छाड्यो । शनिबारको बिहानै भए पनि काठमाडौंको प्रदूषण उस्तै थियो, उकुसमुकुस । हामी कोटेश्वरबाट पूर्व लाग्यौं । इँटाभट्टाको धूवाँले ढाकिएको भक्तपुर उठेकै थिएन । तर, धुलिखेलमा बिहानैदेखि चहलपहल देखियो ।


यात्रा भनेको हेर्नु र घुम्नु मात्रै होइन खानु र चाख्नु पनि हो । त्यसैले पहिलो छाक नै, काभ्रेको हसेरा अर्गानिक फार्म, पात्लेखेतमा खाने विचार गरियो । यसका सञ्चालक मित्र गोविन्दजीलाई खबर गर्‍यौं । टाढा जानु छ, त्यसैले पुग्नेबित्तिकै खाएर हिँड्न पाइयोस् भनेर खबर गरेको त उहाँहरू ‘फ्रेस’ नै खुवाउने भनेर नपकाई बस्नुभएछ । गणेश, लाङटाङ, जुगल र गौरीशंकर रेन्जका हिमाल हेर्दै हामीले बिहानी भोजन गर्‍यौं ।


बनेपा–बर्दिबास

यो सडक लामो समय लगाएर जापान सरकारले बनाइदिएको हो । पूर्वी नेपाल जाने सबैभन्दा छोटो र दोस्रो मूल सडक हुनुका कारण यसले नसोचेको सवारी चाप धान्नुपरिरहेको छ । सडक आफूमात्रै बन्दो रहेनछ, यसले नसोचेको ठाउँमा सहर र बस्तीको विकास गर्ने रहेछ । घुर्मी र खुर्कोट यस क्षेत्रका आशालाग्दा विकास हुँदै गएका नयाँ सहर हुन् ।


काभ्रेबाट झरेर सुनकोसीको किनारैकिनार पूर्व लागेर झन्डै दुई सय किलोमिटरको यात्रापछि जयरामघाटबाट ओखलढुंगा उकालियौं । साह्रै सुन्दर व्याख्या गरिएको कविता स्कुलमै पढेकाले होला, ओखलढुंगाको नामसँग अलि बढी अपेक्षा थियो । अझ एक रात त्यहीँ बस्ने पो हो कि भन्ने थियो । तर, हाम्रा चालकले त्यहाँको असुविधा सुनाउँदै नबसौं भन्न थाले ।


बाटोमा छिटपुट देखिने सार्वजनिक यातायातबाहेक खासै गाडीको चाप थिएन । राजमार्गमा सबैभन्दा बढी देखिनेचाहिँ स्कोरपियो, जिप र टिपर । रफ्तारमा हुइँकिइरहेका टिपरले संकेत दिन्थे, जलविद्युत् परियोजनार ढुंगागिट्टी–बालुवाको फस्टाउँदो व्यापार । यो क्षेत्रमा मात्रै होइन, अहिले देशैभरि बालुवाको व्यापार फस्टाएको छ ।


करिब तीन घण्टा घुमाउरो बाटो चढ्दै हामी साँझमा ओखलढुंगाबाट उकालो लाग्यौं । जति माथि लाग्थ्यौं, आकाश नजिकिन्थ्यो । पश्चिम आकाशमा हँसिया आकारको चन्द्रमा–दृश्य लोभलाग्दो थियो । आकाशभरि हजारौं तारा, सल्लाको जंगल, छेउमै थुप्रिएको हिउँ । हामी पातले पुग्यौं । पातले, जहाँबाट संसारका ६ वटा सबैभन्दा अग्ला हिमालमध्ये ४ वटा (एभरेस्ट, कञ्चनजंघा, ल्होत्से, मकालु) नजिकैबाट देख्न सकिन्छ । चोयु, सुन्दरी, आमादब्लम, पुमोरी, दूधकुण्ड, थामसेर्कु पनि देखिन्छन् ।


हामी पुग्दा अँध्यारो भइसकेको थियो । हिमाल देख्ने त कुरा भएन । होटल पुग्दा सिरसिर चिसो हावा चलेको थियो, एभरेस्टबाट आएजस्तो । अँगेनोको छेउमा बसेर आगो ताप्दै लेक नलागोस् भनेर लसुन र टिमुरको सुप, लोकल सागको तरकारी, मुलाको अचारसँगै खाना खायौं ।


कुरैकुरामा होटलकी आमाको उमेर सोध्यौं । दिउँसो बाटोबाट फोन गरेर होटल बुक गर्दा मायालु पाराले ‘बिस्तारै आऊ है बाबुछोरा’ भन्ने आमा त जम्मा ४३ वर्षकी रे ! देख्दा झन्डै ६ दशककी लाग्ने ‘आमा’ र आमालाई सहयोग गरिरहेका युवा आमाको छोरा होलान् भन्ने ठानेको त श्रीमान् पो रहेछन् !सुत्ने कोठा भने बाहिर सिमेन्टको गारो र भित्र प्लाइउड ठोकेर बनाइएको थियो । काठ र सिसाका झ्याल टमक्क थिएनन्, चिसो हावा छिरिरहेको थियो ।बिहानै हिमाल देखियो । होटलका मालिकले एभरेस्ट हेर्न आफ्नो किचनमा बोलाए । अँगेनोछेउ कुर्सी राख्दै भने, ‘यो ढोकाको चरबाट जुन हिमाल देखिन्छ, हो त्यही हो है एभरेस्ट ।’घाम उदाउँदै गर्दा एभरेस्ट सबैभन्दा पहिला रातो देखिन थाल्यो । उनले अर्को उपाय पनि सुल्झाए, बिहान ९/१० बजेतिर जुन हिमालबाट धूवाँ उड्छ, त्यही हो एभरेस्ट । नभन्दै त्यस्तै देखियो । बिहानभरि हिउँ खेल्दै हामी हिमालको काखमा रमायौं ।


त्रिवेणी तीर्थस्थल

हाम्रो उद्देश्य तीर्थाटन गर्नु थिएन । हिमाल र पहाडि बाटोमा गाडी चलाउँदै प्रकृति र संस्कृतिसँग रम्नु थियो । तर, साँझ हलेसी पुगेपछि होटलका म्यानेजरले हलेसी महादेवको साँझको आरती हेर्न सुझाए । सामान्यतया नेपाली मन्दिरभन्दा धेरै सफा र व्यवस्थित हलेसी साँझको आरतीमा अनौठो दृश्य देखियो । भजनमा केही तिब्बती मूलका आनी, केही पहाडी मूलका मानिस र केही मधेसी मूलका महिला सँगसँगै नाचिरहेका थिए । कस्तो सांस्कृतिक र धार्मिक समावेशिता !


हलेसीलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्व धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी अर्थात् मराफिक गुफा र किरात धर्मावलम्बीले आदिम भूमि ठान्छन् । नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेको इतिहास छ । उनैको नाम अपभ्रंस भएर हलेसी भएको हो भनिन्छ । त्यस्तै, बौद्धमार्गीहरूले महान् गुरु पद्मसम्भवले वर्षौं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमिको रूपमा सम्मान गर्छन् ।



अबको हाम्रो यात्रा खुलेको महालंगुर रेन्ज हेर्दै दोलखातिरको थियो । सुनकोसीको किनारैकिनार मन्थलीतिर लाग्यौं । यो बाटोभरि दायाँपट्टि सुनकोसी नदी बग्छ, घुर्मीबाटै । सुनकोसी तिव्बतको जांगजाङ्बो हिमतालबाट उत्पत्ति भएर नेपाल पस्छ । यसलाई बाह्रबिसे बजारमाथि भोटेकोसी र तल सुनकोसी भनिन्छ । ठूलो जलाधार क्षेत्र भएको यो नदीको माथि केही जोखिमपूर्ण हिमताल पनि रहेका छन् ।


रामेछापमा सुनकोसीको पारिपट्टि झन्डै उजाड देखिने पालतो बुट्यान भएका पहाड छन् । यी पहाडमा खासै बस्ती पनि छैन र जीवन कष्टकर छ । वास्तवमा यी पहाडहरूले सताब्दियौंदेखि पानीको समस्या भोग्दै आएका छन् । नेपालका वर्षा कम हुने भूभागमध्ये यो पनि एउटा हो । बर्खामा आउने पानी बोकेको बादल अग्लो महाभारत लेकमा ठोकिएर सीधै गौरीशंकर हिमालतिर पुग्छ । त्यसैले यहाँको ठूलो भूभागमा अन्यत्रको जस्तो ठूलो र नियमित वर्षा हुँदैन । अर्थात् वृष्टि छायामा पर्छ, मुस्ताङजस्तै ।


शान्त मन्थली

जिल्ला सदरमुकाम भए पनि संघीय संरचना र स्थानीय निकायमा अधिकार गएर होला सदरमुकामहरू अब केन्द्र कम र बस्ती बढी हुन थालेछन् ।तामाकोसीको किनारैकिनारै उत्तर लागेर चरिकोटतिर उकालो लाग्यौं । त्यो दिनको बास बस्ने ठाउँको टुंगो लागेको थिएन । जाडो र समय हेरेर चरिकोट बस्ने वा कुरी गाउँ, छलफल गर्दै थियौं । गाडीचालक अनुभवी र त्यो ठाँउमा परिचित रहेछन् । उनले कुरी गाउँ नै जाने सल्लाह दिए । फोन गरेर होटल पनि बुक गरिदिए । हामी साँझको सुनौलो गौरीशंकर हिमाल हेर्दै उकालो लाग्यौं ।


झन्डै साँझ ७ बजे कालिञ्चोकको कुरी गाउँ पुगियो । हिउँले ढपक्कै ढाकेको कुरी नयाँ वर्ष स्वागत गर्न झिलिमिली थियो । कुनै युरोपियन सहरजस्तो । यहाँका अधिकाशं होटल निर्माणाधीन छन् । गत साल मात्रै सुरु भएको केबुलकारपछि बढेको पर्यटक चापले यस बर्षभित्रै दर्जनौं होटल बन्न थालेका छन् । सामुदायिक वनसँग लिज लिएर बनाएका होटलका कालीगढ भने सबै इलामतिरबाट आएका रहेछन् ।


कञ्‍चन कालिञ्चोक

काठमाडौंबाट करिब डेढ सय किलोमिटर टाढा रहेको यो सुन्दर ठाउँ हिउँदमा युवायुवतीका लागि हिउँ खेल्ने र गर्मीमा सबै रमाउन मिल्ने स्टेसन हुन सक्छ । तर, बाटो र होटलको सुविधाले धेरैलाई फेरि जाऊँजस्तो बनाउँदैन । झट्ट सम्झिँदा अव्यवस्थित ठमेलजस्तै लाग्छ ।बाहिर रङ र डिजाइन राम्रो भए पनि कोठामा सुविधा भने थोरै थिए । राम्रो भनिएको होटलमा पनि भित्ताबाट हावा पस्ने । पानी जमेको बाथरुम, भिजेका कार्पेट र सिसा झरेका झ्याल । पैसाअनुसारको सुविधाजनक थिएन । जति सुन्दर ठाउँ भए पनि, होटलको असुविधाले बसाइ लम्ब्याउन मन लाग्दो रहेनछ ।


बिहानै लाग्ने न्यानो घामले न्यानो बढ्दै गयो । पाँच मिनेटजतिको केबुलकारबाट जब ३८४२ मिटरमाथिको चुचुरोमा पुगिन्छ, त्यहाँबाट मनोरम दृश्य वर्णनै गर्ने नसकिने । चुचुरामै कालिञ्चोकको मन्दिर पनि छ ।


मन्दिरको गेटैमा प्लास्टिकको झोलामा पूजा सामग्री बिक्री हुन्छ, त्यसको १० मिटर पर मन्दिरमा प्लास्टिक निषेध भनेर समितिको मान्छेले रोक्छ र विकल्पमा २० रुपैयाँमा प्लास्टिककै टोकरी भाडामा दिन्छ । धर्मको नाममा व्यापार र अव्यवस्थाले केही निराश बनाउँछ ।


कुरी गाउँ झरेपछि छोराछोरीहरूले फेरि हिउँ खेले । अब हामीले भेट्न बाँकी थियो— चौंरी र याक । सामुदायिक वनसँगको विवाद, चरन अभाव र यातायातको विस्तारले चौंरीपालन घटिरहेको छ । सोलुखुम्बुमा सोध्दा, अहिले चौंरी पाल्ने चलन घटेकोले खासै भेटिँदैनन्, भएका पनि जाडोले गर्दा तल खर्कतिर होलान् भनियो । यस्तै उत्तर आयो कालिञ्चोकमा पनि । अब फर्किने बेला चरिकोटमाथिको खर्कमा वा मुडेदेखि ठिक्क पारिको सैलुङ लेकमा पसेर चौंरी हेर्ने योजना बनायौँ ।


फर्किंदा, चरिकोटमाथिको खर्कमा ‘मिक्स’ चौंरी त भेटियो चर्दै गरेको तर बच्चाहरू निदाएकाले उठाउन मन लागेन । चौंरी गोठ र सैलुङ लेकको यात्रा अब अर्कोपटकलाई भन्दै नयाँ वर्ष स्वागत गर्न झन्डै मध्यरातमा घर आइपुगियो । यो रोमाञ्चक यात्रामा आँखाले एभरेस्ट चियाइयो । स्नोको अद्भूत स्पर्श गरियो । तर, याकको खोजी भने अधुरै रह्यो ।

प्रकाशित : फाल्गुन ३, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?