रेडियोको रङ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियोको रङ

आजकल रेडियोको रङ किन खुइलिँदै गइरहेको छ ? पछिल्लो समय आएका नयाँ मिडियाका कारण ? नयाँ मिडियाको आगमन भइरहँदा रेडियो स्टेसनले आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । त्यो आवश्यक प्रविधि र माध्यममार्फत गरिनुपर्ने परिमार्जन नै हो ।
भूपेन्द्र खड्का

अघिल्लो साता मैले एक युट्युबर विश्व लिम्बूलाई अन्तर्वार्ता दिएँ । मूलतः विषय समसामयिक रेडियो प्रसारण र रेडियो जीवनका बारेमा थियो । उनको युट्युब च्यानलमा हजारौंले अन्तर्वार्ता हेरे र मलाई प्रतिक्रिया दिए, ‘तपाईं अझै रेडियोमा बोल्दै हुनुहुन्छ ? अझै रेडियोमा हुनुहुन्छ ? अब टीभी वा युट्युब च्यानलमा आउनुपर्‍यो ।’

रेडियोमा मलाई सुनेका स्रोताका दर्शकरूपी सुझावले समकालीन नेपाली रेडियोको प्रस्तुति, समसामयिकता र इतिहासप्रति घोत्लिन बाध्य बनायो ।फेब्रुअरी १३ तारिख (फागुन १ गते) विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा सन् २०११ नोभेम्बर ३ तारिखको युनेस्कोको ३६ औं सम्मेलनले हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१२ देखि यस तारिखलाई विश्व रेडियो दिसको रूपमा मनाउँदै यसपालि नवौं विश्व रेडियो दिवस मनाइएको छ ।


सात सालको रेडियो–स्वर

अठारौं शताब्दीको अन्तिम दशकमा इटालियन इन्जिनियर (जसले भौतिक शास्त्रमा नोबेल पुरस्कारसमेत पाए) मार्कोनीको सोचले मूर्तरूप पाएको रेडियो यो दुई सय वर्षको सर्वाधिक शक्तिशाली सञ्चारको साधन बन्यो । यसले संसारका हरेक देशका परिवर्तनलाई जनताका साझा आकांक्षासँग जोड्दै परिवर्तनको संवाहक बन्नमा पनि अहम् भूमिका निर्वाह गर्‍यो । कुनै समय विकसित र विकासशील मुलुकका खानदानीहरूको सबैभन्दा ठूलो वैभवको पहिचान बनेको रेडियो नेपालमा पनि राणाकालको अन्तिम समयतिर सन् १९५० मा भित्रियो ।

‘मोहनशमशेरका पिए मि.सु. हरिबहादुरको घरमा फर्गुसन भन्ने रेडियो थियो । आम जनताले पहिलोपटक नेपालमा देखेको रेडियो त्यही हो’, वरिष्ठ साहित्यकार एवं संस्कृतिकर्मी श्यामदास वैष्णवले भनेका छन्, ‘त्यस रेडियोमा धेरै प्रस्ट आवाज आउँदैनथ्यो र क्यार्र गर्दै बज्थ्यो । रेडियो सुनेर हामीले त्यो समयमा चीनमा क्रान्ति भइरहेको कुरा थाहा पाएका थियौँ । त्यतिबेला बाकसजस्तो रेडियोबाट आउने आवाज सुन्दा हामीलाई विचित्र लाग्थ्यो । अर्कै लोकमा पुगेको जस्तो महसुस हुन्थ्यो । २००३ सालमा पद्मशमशेरको पालामा नेपालमै रेडियो प्रसारण हुन्छ भन्ने कुरा अरूबाट सुने पनि मैले उक्त रेडियो सुनेको थिइनँ ।’


‘रेडियो नेपाल’ आउनुपहिले विराटनगरको जुट मिल्स एरियामा ‘क्रान्तिको आवाज’ को रूपमा आकाशवाणीबाट ‘नेपाल प्रजातन्त्र रेडियो’ को जन्म भएको थियो । राणाको निरंकुशताविरुद्ध तारिणीप्रसाद कोइरालाले सुरु गरेको सो रेडियोबाट उनैले २००७ साल मंसिर २८ गते बिहान ८ः३० बजे समाचारवाचन गरेका थिए, ‘यो नेपाल प्रजातन्त्र रेडियो हो । हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौं ।’ सो रेडियोबाटै १६ वर्षीया बाला रानुदेवी अधिकारीले पहिलोपटक प्रत्यक्ष गीतसमेत गएकी थिइन्, ‘नेपाली, नेपाली, अघि बढौं हातमा क्रान्ति झन्डा लिई ।’ यो गीत कांग्रेसको प्रचार नाराका रूपमा आएपछि प्रतिबन्धित भएको थियो ।

त्यही नेपाल प्रजातन्त्र रेडियो मोहनशमशेर प्रधानमन्त्री भएका बेला तत्कालीन बिजुली अड्डाबाट पनि परीक्षणका रूपमा प्रसारण भएको थियो । राणा शासकका परिवारले पुस्तकालयको रूपमा उपयोग गर्दै आएको भवनलाई प्रजातन्त्रको आगमनपछि ‘रेडियो नेपाल’ बनाई २००७ चैत २० गतेदेखि काठमाडौं सिंहदरबारबाट रेडियो प्रसारण सुरु भयो । रेडियो नेपाल परिसरभित्रको अहिलेको पुरानो भवन त्यही हो ।त्यसपछि रेडियोले दैनिक बिहान–बेलुकी समाचार र प्रत्यक्ष गायनको कार्यक्रम गर्ने गर्थ्यो, दैनिक २ घण्टा । त्यसरी सुरुआत भएको रेडियोको इतिहास आज एफएम रेडियोको तरंगसँगै नयाँ स्वरूपमा आइसकेको छ ।


रेडियोको स्वर

बालकृष्ण समको प्रशासकीय निर्देशनमा उनका छोरा जनार्दन सम, श्यामदास वैष्णवलगायतबाट सुरु भएको रेडियो नेपालको आजको समयसम्मको इतिहासमा धेरै व्यक्तिले आफ्नो वैयक्तिक इतिहास बनाउने मौका पाएका छन् । प्रथम गायक, गायिका, संगीतकार, गीतकार, रेकर्डिस्ट, समाचारवाचक, वाद्यवादकदेखि प्रथम गीत फर्माइस गर्ने स्रोतासम्मको इतिहास छ । महेन्द्रको ‘कु’ सँगै संकटमा परेको त्यतिबेलाको सञ्चारले सरकारी आवाजबाहेक जनताका आवाजलाई समेट्न नसकेपछि पञ्चायतका ३० वर्ष जनताका निम्ति सञ्चारबाट टाढा रहेको समय बन्यो । यद्यपि त्यतिबेला गीत–संगीतको विकास भने भएको देखिन्छ । जब २०४७ मा प्रजातन्त्रको पुनःस्थापना भयो, प्रविधिको विकाससँगै नेपालमा पनि एफएम रेडियोको सुरुआत भयो । निजीस्तरमा स्थापना भएका रेडियोले जनताका साझा मुद्दालाई सम्बोधन गर्न सकेकाले नेपालमा रेडियो संस्कृति चाँडै लोकप्रिय भयो । दक्षिण एसियामै छोटो समयमा धेरै रेडियो खुल्ने देश नेपाल बन्यो । त्यति मात्र नभई पहिलो सामुदायिक रेडियो सञ्चालन गर्ने देश पनि नेपाल नै बन्यो ।


एफएम रेडियोको बाढी

मैले रेडियो सुन्न सुरु गर्दा ‘रेडियोमा बोल्छु’ भन्ने कहिल्यै कल्पना गरेको थिइनँ । मेरो रेडियो–करियर ‘रेडियो कान्तिपुर’ भित्र आइपुगेको पनि १२ वर्ष भइसकेको छ । आफ्नो बोल्ने बानीका कारण म रेडियोप्रति आकर्षित भएको थिएँ । २०४८ सालमा जन्मघर बागलुङमा बुबाले किनेर ल्याएको फिलिप्सको रेडियोले मलाई रेडियोमा बोल्नेसम्मको यात्रा तय गराएको थियो ।


सर्ट वेभ र मिडियम वेभको तरंग आज डिजिटल दुनियाँमा पुगिसकेको छ । मानिसको आवाजलाई हामी डिजिटल आवाज बनाइरहेका छौं । अहिले रेडियो नेपालका नयाँ स्वरूपहरू करिब ७ सय एफएम रेडियोमा बिस्तार भएका छन् । समुदायको कुरा भन्नेदेखि विशुद्ध व्यवसायको स्वरूपमा सरकारी नीतिभित्र रहेर सञ्चालन भएका रेडियोहरूको अहिलेको अवस्था के हो ? आफैं रेडियोमा बोल्दै गर्दा मेरो मनमा आउने पेचिलो प्रश्न हो यो ।


जब ०५२ र ०५३ पछि घर–घर, टोल–टोल र गाउँ–गाउँमा रेडियो खुले, रेडियोमा बोल्ने मान्छे ‘विशेष मान्छे’ हो भन्ने दर्जा खोसियो । सबैलाई लाग्यो, रेडियोमा जो पनि बोल्न सक्छ । र, यो यथार्थ पनि हो, रेडियोमा जो पनि बोल्न सक्छ । तर, जो पनि बोलिएकोलाई कति ‘जो–कोही’ले सुन्छन् भन्ने प्रश्न गहिरो हो ।


हिजो बीबीसी नेपाली सेवामा सुनिएका नामहरू आज गुमनाम छन्, हिजोका रेडियो नेपालका स्टार रेडियो प्रसारकहरू बिलाइसकेका छन् । भन्नुको अर्थ रेडियोमा बोल्नेको स्वर–आवाजको प्रभाव र घनत्व खोइ ? लामो समय आफ्नो प्रभावशाली प्रशारणले प्रभाव पारेका ती व्यक्तिको सामाजिक छविको आयतन कस्तो र कत्रो छ अहिले ? समाज परिवर्तनका निम्ति सञ्चारको एउटा अंग रेडियोमा जीवनको सर्वाधिक ऊर्जाशील जीवन बिताएकाहरूको सामाजिक स्थान कहाँ छ ?हुन त संसारभर सत्ताको कुर्सीमा बसेका वा आफ्नो फरक कामले चर्चामा रहने केही व्यक्ति कुनै समयका रेडियोकर्मी हुन् पनि । नेपालमै पनि त्यस्ता केही व्यक्ति नभएका होइनन् ।


प्रस्तोताको घट्दो क्रेज

रेडियोकर्मीको सामाजिक जीवनको आयतन किन गहिरो भएन भनेर घोत्लिँदा भने यसमा केही अस्पष्ट धर्साहरू पक्कै छन् । पहिलो कुरा बोल्नु र रेडियोमा बोल्नुको तात्त्विक भिन्नता थाहा हुनु जरुरी छ । रेडियो कार्यक्रम प्रस्तोता केही त्यस्ता गुणले विभूषित व्यक्तित्व हो, जसको भाषा र ध्वनिमा समाज, सभ्यता, संस्कृति, भूगोल र इतिहासको ज्ञान प्रचुर भएकै हुनुपर्छ । प्रस्तोताले बोलेको आवाजले रेडियो सुन्ने श्रोतालाई आफूतर्फ खिच्न सकेन भने ऊ सफल प्रस्तोता हुने सक्दैन । त्यो आवाजमा उसको भाषा, शैली र शिल्प असल मूर्तिकारको मूर्तिजस्तै कुँदिएको हुनु जरुरी छ । त्यो कुँदिएको लवजमा समाज बन्ने तत्वहरू मिसिएको हुनु जरुरी छ । भनाइको अर्थ के भने कुनै गीत–संगीत बजाउने रेडियो प्रस्तोताले पनि सामान्य संगीतको ज्ञान, संगीतको विधा, सिर्जना शिल्प, संगीतको इतिहासलगायत कुराको ज्ञान हुनैपर्छ, नत्र प्रस्तोताको अब्बल सूचीमा पर्न सकिन्न ।


रेडियो प्रस्तोताको गुण केलाउँदै गर्दा रेडियो संस्थापक र रेडियोको वातावरण पनि विचरण गर्नुपर्ने हुन्छ । कुनै मापदण्डबिना सरकारले निजी एफएम रेडियो खोल्ने लाइसेन्स दिएपछि मनलाग्दी रूपमा स्टेसनहरू स्थापना भए । सञ्चारजस्तो संवेदनशील क्षेत्रमा लाइसेन्स बाँडिनुअघि सञ्चालकको शिक्षा, लगानीको स्रोत आदि पक्ष हेरिएन । र, हाम्रो देशका सात सयभन्दा बढी एफएमका साहुजीहरूमध्ये ९० प्रतिशतको अवस्था यस्तै नै छ, जसको रेडियो स्टेसन स्थापना गर्ने स्तर नै छैन । सरकारी नीतिभित्र स्पष्ट हुनुपर्थ्यो— सञ्चारगृह स्थापना र सञ्चालन गर्ने व्यक्तिको शिक्षा, सामाजिक छवि, आय र अन्यान्य कुराको निश्चितता । तर, हुन सकेन, तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले मासुको बिलो लगाएजस्तै एफएम स्टेसनलाई बिलो लगाए । फलतः अहिले कमजोर हालतमा रडियो स्टेसनहरू छन् ।


अर्को कुरा रेडियो स्टेसन एउटा ‘सिर्जनात्मक थलो’ हो र हुनुपर्छ । तर, त्यसो हुन सकेको छैन । केही राम्रा र अब्बल भनिएका रेडियोहरू सरकारी कार्यालयजस्ता बनाइएका छन् । नीति–नियम सबै छन्, भनेका काम हुन्नन् तर बोल्नुचाहिँ पर्छ । सिर्जनशील थलोका लागि चाहिने स्वतन्त्रता, पेसाप्रतिको गर्वबोधका निम्ति चाहिने वातावरण, अध्ययन कक्ष, लाइब्रेरीलगायतका अनुसन्धान र अध्ययनका लागि स्वतन्त्र स्थल छैनन्, जसका कारण प्रस्तोता फगत प्रस्तोता मात्रै बनिरहेका छन् ।


रेडियो प्रस्तोता भनेको फगत रेडियोमा बोल्ने मान्छे मात्र हो भन्ने आमधारणा परिवर्तन गराउन उसको सामाजिक छवि र जीवनशैली आम जनमानसको भन्दा फरक हुनु जरुरी छ । त्यसका लागि सञ्चार गृहले उसको उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँ रेडियोमा बोल्ने लोभ र प्रस्तोता बन्ने हुटहुटीले बिनापारिश्रमिक बोलिरहेकाहरूको बिगबिगी धेरै छ । केही राम्रा भनिएका रेडियोको प्रस्तोताप्रतिको व्यवहार समयानुकूल हुनु जरुरी छ । रेडियोमा बोलेर स्टार बनिरहेको प्रस्तोताको जीवनप्रति रेडियो सञ्चालकले बेइमानी गर्नुहुन्न ।


खुइलिँदो रेडियोको रङ

सबै चीजको रङ आजकल झन् गाढा हुँदै गइरहेको छ तर रेडियोको रङ किन खुइलिँदै गइरहेको छ त ? पछिल्लो समयमा आएका नयाँ मिडियाका कारण ? यो एउटा आम धारणा मात्र हो । नयाँ मिडियाको आगमन भइरहँदा रेडियो स्टेसनले आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । त्यो आवश्यक प्रविधि र माध्यममार्फत गरिनुपर्ने परिमार्जन नै हो । रेडियोले, रेडियोमा प्रस्तुत हुने सम्पूर्ण सामग्रीको लिपि अनलाइनमा प्रस्तुत गर्न सक्छ । त्यसको अडियो पोडकास्ट गर्न सक्छ । त्यसको भिडियो युट्युबमा अपलोड गर्न सक्छ । रेडियोका निम्ति ती तीनै माध्यम नयाँ मिडियाको यात्रा मात्रै होइन, कमाइका माध्यम पनि हुन् ।


श्रोताको घट्दो सङ्ख्या

अब रेडियो कसले सुन्छ ? भन्ने प्रश्नको यकिन जवाफ नभए पनि संसारका धेरै मुलुकको जीवनशैली रेडियो नै हो । वास्तवमा एउटा असल रेडियोले बिहान उठेदेखि राति सुत्ने बेलासम्म प्रसारण गर्ने समाचार र अन्य सामग्रीका कार्यक्रमले मानिसको जीवनमा प्रभाव पारेको हुन्छ । समाजको स्वरूप र सोचअनुसार रेडियो प्रशारण गर्न सकियो भने हाम्रो जीवनशैलीबाट रेडियो कहिल्यै टाढा जाँदैन । अझै उमेर, सामाजिक चेत, सोच र विचारअनुसारका कार्यक्रम उत्पादन गर्न सकियो भने रेडियो जीवनशैलीबाट जीवनको अंग बन्न सक्छ । अहिले आफ्नो अब्बल प्रसारणले केही रेडियो प्रस्तोताका कार्यक्रमहरू सुनेको पाइन्छ । छिटपुट प्रतिक्रिया पाइन्छ । हिजो रेडियोमा बोल्नेहरूको नाम मानस–बोर्डबाट मेटिएर जाँदै छन् । तर, रेडियो सुनिन्छ, जुनसुकै बेला पनि भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । जस्तो कि २००७ सालको परिवर्तनपूर्व, २०६२–०६३ को परिवर्तनको समय र ०७२ को भूकम्पको समयलाई लिन सक्छौं । त्यसबेला सूचना र मनोरन्जनका संवाहक बन्न सके रेडियोहरू ।


रेडियोलाई सामाजिक उत्तरदायित्वको अंग बनाउन श्रोतासँग गरिने संवादमा अपनत्व हुनु जरुरी छ । अझै रेडियो व्यक्तिगत जीवनदेखि सामाजिक जीवनको अपरिहार्य पाटो बन्न सक्यो भने यसको रङ कहिल्यै खुइलिनेछैन । हुन त रेडियो चम्कने समाजको रङसँगै हो । तर, सबैको सोच परिवर्तन नभएसम्म न त समाजको रङ परिवर्तन हुनेछ, न त रेडियोको रङ नै ।

प्रकाशित : फाल्गुन ३, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्

कवि बोले- ‘जय नेपाल’

शार्दूल भट्टराई

सुवानन्दको ‘पृथ्वीस्तुति’ र पृथ्वीनारायणको ‘दिव्योपदेश’ लाई नै लिखित प्रस्थानविन्दु मान्दा पनि नेपाली साहित्यले लगभग अढाई सय वर्ष पार गरिसकेको छ । 

मलाई बाबुआमा भन्न कर परिरहेका
राक्षसहरूबाट छुट्कारा दिन कम्मर कस
म राक्षसहरूलाई आँसुले छकाएर
तिनीहरूको काल पत्ता लगाइदिन्छु
तिमी उनीहरूलाई मार, मलाई हेर ।

माथिका पद्य–पङ्क्तिहरू सात सालको क्रान्तिका नायक–कवि गोपालप्रसाद रिमालका हुन् । उनको संवेदना आततायी राणातन्त्रको विरोधमा र जनतन्त्रका पक्षमा ‘सपनामा’ शीर्षकको कवितामा यसरी अभिव्यक्त भएको थियो ।

नेपाली भाषामा साहित्य लेखनको थालनी ‘वीरधारा’ बाट भएको मानिन्छ । तर, ‘वीरधारा’ मा देश वा जनताको कुनै वीरताको कुरा भने पाइँदैन । त्यसअन्तर्गत देवीदेउता, राजा–महाराजा तथा सामन्तहरूको प्रशंसा गर्ने, उनीहरूको स्तुति गाउने र उनीहरूलाई अद्भुत पराक्रमी बताउँदै अनेक ढङ्गले वर्णन गर्ने गरिन्थ्यो । यस किसिमका ‘वीरधारा’ का ‘रचनाहरू’ सँगै केही समयपछि ‘भक्तिधारा’ देखियो । ‘भक्तिधारा’ अन्तर्गत ‘रामभक्ति’ र ‘कृष्णभक्ति’ का धार्मिक रचनाहरू लेखिन थाले । त्यसबाहेक साहित्यका नाममा सत्ता वा शासकको स्तुति लेख्नेहरू पनि भए ।

‘वीरधारा’ र ‘भक्तिधारा’ को अवधि लामै रह्यो । यी दुवै ‘धारा’ को अस्तित्व कायमै रहेको अवस्थामा ‘शृङ्गाररस’ ले जन्म लियो । ‘रामभक्ति’, ‘कृष्णभक्ति’ ‘शृङ्गाररस’ र ‘शासक–स्तुति’ को हालीमुहाली रहेकै अवस्थामा राष्ट्र एवम् जनताप्रति चिन्तित तथा सचेत व्यक्तिहरूले साहित्यमा सामाजिक जागरण र विद्रोहको स्वर मुखरित गरेको पाइन्छ ।

नेपाली पद्यको लिखित इतिहास सुवानन्द दासबाट र गद्यको लिखित इतिहास पृथ्वीनारायण शाहबाट सुरु भएको मानिन्छ । सुवानन्दको ‘पृथ्वीस्तुति’ र पृथ्वीनारायणको ‘दिव्योपदेश’ लाई नै नेपाली साहित्यका लिखित प्रस्थानविन्दु मान्दा पनि नेपाली साहित्यले लगभग अढाई सय वर्ष पार गरिसकेको छ ।

निरङ्कुश राणा शासनअघिको शाहकालमा त्यतिबेलाका लेखकहरू राजनीतिबाट टाढै रहे । सुगौली सन्धिबाट जनता निराश बने पनि ‘साहित्यकारहरू’ भने राम र कृष्णका गाथा गाउनमै रमाए । थापा र पाँडेबीचको मारकाटमा लेखकहरू बोलेनन् । दरबारिया षड्यन्त्रबाट कतिलाई निर्ममतापूर्वक काटिँदा र कतिलाई देश निकाला गरिँदा पनि ‘साहित्यकारहरू’ मौन रहे । अधिकांश ‘साहित्यकारहरू’ दरबार नजिकका वा दरबारद्वारा संरक्षित भएकै कारणले पनि उनीहरू राजनीतिक घटना र जनताको दमनलाई बेवास्ता गर्दै शासकहरूलाई नचिढ्याउने बरु खुसी बनाउने धार्मिक भजन अनि ‘सत्तास्तुति’ लेख्नमै सीमित रहेको देखिन्छ ।

जङ्गबहादुरले रक्तपातपूर्ण कोतपर्व मच्चाए । यही समयदेखि नेपालमा राणाशासन सुरु भयो । भानुभक्त आचार्यजस्ता कविसमेत यस्ता ठूला राजनीतिक घटनाक्रमबाट टाढै रहे । उनीजस्तै प्रमुख कविहरू ‘रामभक्ति’ का कवितामै चुर्लुम्म डुबिरहे ।

जोसमनी सन्त ज्ञानदिलदास नाम चलेका लेखक थिए । उनी जनतामा पनि लोकप्रिय थिए । धार्मिक आडमै भए पनि यिनले ब्राह्मणवाद, मूर्तिपूजा र अड्डाअदालतको नोकरशाही प्रवृत्तिको विरोध गरे । सन्तपरम्परावादीहरू चिन्तनका दृष्टिले थोरै मात्र भए पनि सुधारवादी देखिएकाले जङ्गबहादुरले उनीहरूलाई खेद्ने काम गरेका थिए । खेदाइमा ज्ञानदिलदास पनि परे । ओखलढुङ्गाको रुम्जाटारबाट सन्त ज्ञानदिलदास, उनकी पत्नी शीतलामाई र अन्य केही जोसमनी साधुहरूलाई पक्राउ गरी काठमाडौँ ल्याइयो । ज्ञानदिलदासलाई ६ महिनासम्म नजरबन्दमा राखियो । उनलाई ठूलै विद्वान्का रूपमा पाएपछि नजरबन्दबाट मुक्त गरियो । उल्टो जङ्गबहादुरले आफ्ना भाइभारदारहरूलाई ज्ञानदिलदाससँग ज्ञानबुद्धि लिन आदेश दिए । जङ्गबहादुरका भाइ रणोद्दीप सिंहलगायत केही भाइभारदार यिनीबाट दीक्षित पनि भए ।

त्यसपछि ज्ञानदिलदास आफ्नो मत प्रचार गर्न पूर्वतिर लागे । इलाममा पुग्दा उनलाई फेरि गिरफ्तार गरियो । दुई महिनापछि फेरि छोडियो । यसबाट उनी निराश बने । उनी दार्जिलिङतिर स्वनिर्वासित भए । उनका दुई कृति ‘उदयलहरी’ र ‘दोहाहरू’ त्यसबेलाका लोकप्रिय कृतिमा पर्छन् ।

बझाङका रजौटा जयपृथ्वीबहादुर सिंह चन्द्रशमशेरका ज्वाइँ थिए । लेखक सिंह ‘गोरखापत्र’ का मुख्य अधिकारी पनि रहे । यिनी सुधारवादी विचारका थिए । ससुरालीसित युरोप भ्रमणमा गएपछि जयपृथ्वीबहादुर मानवतावादी बने । उनको मानवतावादी स्वझाव र चन्द्रशमशेरको त्रूर स्वभावबीच झगडा चल्न थाल्यो । उनी चन्द्रशमशेरको स्वभावसँग डराउन थाले । अन्ततः आफूलाई सुरक्षित राख्नकै लागि उनी देश छोडेर भारत पुगे र ‘मानवतावादी समाज’ भन्ने संस्था खोलेर बसे । जङ्गबहादुरका भाइ रणेद्दीपसिंह ज्ञानदिलदासबाट दीक्षित भएपछि जोसमनी मतबाट प्रभावित बन्न पुगे । त्यसैका आधारमा उनले ‘वेदान्त गीतसार’ भन्ने पुस्तक लेखे । त्यो पुस्तक काशीबाट प्रकाशित पनि गरे । पछि वीरशमशेर, खड्गशमशेर, चन्द्रशमशेर र डम्बरशमशेर मिलेर रणोद्दीपको हत्या गरे । राणाहरूको आपसी सत्तास्वार्थमा मारिएका यिनीलाई जोसमनी मतमा लागेकै कारण मारिएको दाबी गर्नेहरू पनि छन् । केहीले नेपालको इतिहासमा हत्या गरिएका पहिलो लेखकको रूपमा पनि यिनको चर्चा गर्ने गरेका छन् ।

लेखकहरू असन्तुष्ट थिए यद्यपि राणाशाहीविरुद्ध खुलेर लेख्न भने सकिरहेका थिएनन् । राणाहरूको स्तुति लेख्न नचाहने र राणा शासनको विरुद्ध लेख्ने हिम्मत पनि गर्न नसक्ने केही लेखक चलिरहेको रामभक्तिधारा र कृष्णभक्तिधारालाई छोडेर शृङ्गाररसतिर लागे । केही लेखक भने आफ्नो आक्रोशलाई छिटफुट रूपमा व्यक्त गर्न अग्रसर भए ।

पहलमान सिंह स्वाँरले ‘अटलबहादुर’ नाटकमार्फत चन्द्रशमशेरको शासनकालका विकृतिपूर्ण घटनाहरूलाई सार्वजनिक गरे । चन्द्रशमशेरको शासनकालको प्रशासनिक अत्याचारलाई नाटककारले एउटा दृश्यमा यसरी प्रस्तुत गरेका छन् :
(स्थान : सहर, राजा, मन्त्रीहरू)
राजा : हेर इनी बनिञाहरूले कति माल दोकानमा राखेका छन् अब उप्रान्त सौ रुपैया भन्दा बड्ताको माल कसैले पनि दोकानमा न राखून् । राँडाका छोरा ठूला मानिस हुँ भन्या झै धेरै माल देखाएर लुट्न्या रहेछन् हो कि मन्त्री ?
मन्त्री : गरीब परवर बिलकुल जाली, बदमाश ।
बनिञा : सरकार, धेरै माल नराख्या ग्राहकहरू हेर्दै हेर्दैनन्, सबै बाना मिलाउनु पर्छ ।
राजा : इनीहरू सब बदमाश हुन् । इन्का घर सब उठाएर पूर्वतर्फ बनाउ भन ।
मन्त्री : हवस् ।

जनता वा सानोतिनो व्यापार गरी खानेले राम्रो घर बनाएको र धन कमाएको देख्नै नसक्ने चन्द्रशमशेरको मानसिकतामाथिको दृश्यमा व्यक्त भएको छ । उनको व्यापारविरोधी नीतिलाई पनि उक्त दृश्यले छर्लङ्ग पारेको छ । सचेत रूपमा लेखिएको होस् अथवा असचेत रूपमा, विसं १९७४ मा लेखिएको लेखनाथ पौड्यालको ‘पिँजराको सुगा’ कविताले निरङ्कुश राणा शासनमा पिँजराको सुगाजस्तो भएर बस्नुपर्ने जनताको विवशतालाई प्रस्तुत गरेको छ । केहीले यो कविता पूर्णतः गैरराजनीतिक सन्दर्भमा लेखिएको दाबी गर्दै आएका छन् । केहीले भने यसलाई युगध्वनिको रूपमा व्याख्या गरेको पाइन्छ ।

नेपाली साहित्यमा विद्रोही अभिव्यक्तिको आरम्भ विसं १९७७ बाट भएको थियो । विसं २००७ को परिवर्तनअघि, ३० वर्षको अवधिमा साहित्यिक अभिव्यक्तिमा पनि ठूलै परिवर्तन भयो । फलस्वरूप राजनीतिक उथलपुथलमा साहित्यले पनि अहम् महत्त्व राख्न पुगेको छ ।

भारतका विभिन्न ठाउँबाट नेपाली भाषामा विभिन्न पत्रपत्रिका प्रकाशित हुन थाले । तिनमा सुन्दरी, माधवी, गोर्खाली, चन्द्रिका, जन्मभूमि, गोर्खा संसार आदि थिए । यी पत्रिकाहरूमध्ये केहीले चन्द्रशमशेरका विभिन्न अत्याचारहरूको विरोध गर्दै राणाशाहीविरुद्ध सामाजिक सुधार एवम् जागरणका साहित्यिक रचनाहरू प्रकाशित गर्ने गरेका थिए ।

‘गोरखापत्र’ को प्रकाशन र ‘गोरखा भाषा प्रकाशिनी समिति’ को स्थापना राणा शासकका चाहना थिएनन्, बाध्यता थिए । ब्रिटिसहरूको चाकरी गर्न त्रिचन्द्र कलेज स्थापना गरे पनि चन्द्रशमशेरले उक्त कलेज उद्घाटन गर्दा ‘आफ्नो खुट्टामा आफैँले बन्चरो हानेको’ भनाइ व्यक्त गरेका थिए । ‘आर्य समाज’, ‘चर्खा प्रचारक सङ्घ’, ‘नागरिक अधिकार समिति’ जस्ता संस्थाका गतिविधिले पनि राणा शासनविरोधी जनमतलाई बलियो बनाउने काम गरेका थिए ।

राणाशाहीको विरुद्ध सामाजिक जागरण बढ्दै गयो । भित्रभित्रै निरङ्कुशताविरोधी राजनीतिक गतिविधि पनि सुरु हुन थाल्यो । यो स्थितिबाट साहित्यकारहरू पनि अप्रभावित रहन सकेनन् । दुम्जाली कवि धरणीधर कोइराला यसरी जागृतिको शङ्खघोष गर्न पुगे : जाग जाग अब जागन जाग / लाग उन्नति विषे अब लाग / घोर नीद अबता परित्याग / भो भयो अति सुत्यौ अब जाग । कवि धरणीधरको कविता सँगालो ‘नैवेद्य’ विसं १९७७ मा भारतबाट प्रकाशित भयो । यो सँगालो जागरण, विद्रोह र शिक्षाका दृष्टिले महत्त्वपूर्ण थियो । त्यसैले राणा शासकले त्यसलाई नेपाल ल्याउन दिएका थिएनन् ।

विसं १९७७ सालको ‘मकै पर्व’ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा पहिलो विद्रोहात्मक घटना थियो । कृष्णलाल अधिकारीद्वारा लिखित ‘मकैको खेती’ पुस्तकले ठूलै हलचल ल्यायो । गद्यमा लेखिएको यस पुस्तकमा केही सिलोक पनि थिए । तिनको रचना भने शम्भुप्रसाद ढुङ्गेल र साम्बभक्त सुवेदीद्वारा भएको थियो । विसं १९७७ को साउन ११ गते कृष्णलाल अधिकारी र शम्भुप्रसाद ढुङ्गेललाई समाती भीमशमशेर राणाको टङ्गाल दरबारमा थुनियो ।

भोजराज काफ्ले र रामहरि अधिकारी भन्ने दुई जनाले पोल लगाएको भरमा मात्र कृष्णलाल अधिकारीको ‘मकैको खेती’ लाई जफत गरी उनलाई जेलमा थुनेको भन्ने कुरालाई अधिकांश समालोचकहरू स्वीकार गर्दैनन् । पुस्तकमा प्रयुक्त कतिपय शब्द–सङ्केतले पनि यो पुस्तक राणाशाहीविरोधी रहेको र कतिपय वाक्यांशहरू राजनीतिक सन्दर्भयुक्त छन् भन्ने पुष्टि हुन्छ । जस्तै : प्रतीकात्मक सन्दर्भका साथ प्रयोग गरिएका यी वाक्यांशलाई हेरौँ : ‘रातो टाउके कीरा र कालो टाउके कीरा’, ‘विदेशी कुकुर र स्वदेशी कुकुर’, ‘सं. १९०३ देखि नै राच्छेसहरूले प्रवेश गरेको’, ‘बालकलाई आमाको दूधले जस्तो चन्द्रोदयले फाइदा गर्दैन’, आदि ।

पुस्तकमा चन्द्रशमशेरलाई रातो टाउके कीरा र भीमशमशेरलाई कालो टाउके कीरा भनिएको भन्दै लेखक कृष्णलाल अधिकारीलाई यातनासहित जेल सजाय तोकियो । यस घटनालाई नेपालको इतिहासमा ‘मकै पर्व’ का नामले चिन्ने गरिन्छ ।

कृष्णलाल अधिकारीलाई ९ वर्षको जेल सजाय दिइए पनि ४ वर्ष पनि नहुँदै उनको निधन भयो । जेलमा यातनासमेत दिइएका कारण विसं १९८० साल मंसिरमा उनको निधन भएको थियो । उनी चन्द्रशमशेरको शासनमा कडा दण्ड पाउने पहिलो व्यक्ति हुन् । पुस्तकमा शासकहरूको विरोध गरिएकै कारण कानुनी फैसलाअनुसार जेल पर्ने लेखकमा पनि उनी पहिलो हुन् । यातनाका कारण जेलमै मृत्यु हुने लेखकमा पनि उनी पहिलो हुन् । ‘मकैको खेती’ मा पद्य भाग लेखेको आरोपमा शम्भुप्रसाद ढुङ्गेल, भूमिका लेखेको आरोपमा ऋषिभक्त पौडेल र शुद्धाशुद्धि हेरेको आरोपमा सोमनाथ सिग्देलमाथि पनि सजायको कारबाही चलाइएको थियो ।

विसं १९८२ मा कलकत्ताबाट धर्मादित्य धर्माचार्यको सम्पादनमा ‘बुद्ध धर्म र नेपालभाषा’ पत्रिका प्रकाशित भयो । त्यसमा चित्तधर हृदय, वैकुण्ठप्रसाद लाकौल र योगवीरसिंहका कविता प्रकाशित भएका थिए । ती राणाशाहीविरोधी कविता थिए । त्यसमा लाकौलले ‘फुल्नै लागेको फूल’ भन्ने कविता प्रकाशित गरेका थिए । उनले ‘राणाशासनका विरुद्ध क्रान्तिको फूल फुलेरै छाड्ने’ दृढता व्यक्त गरेका थिए ।

विसं १९८८ मा केही राजनीतिक व्यक्तिहरूले ‘प्रचण्ड गोर्खा’ को स्थापना गरे । खड्गमान सिंहलाई क्रान्तिकारी बनेर यसैमा लागेबापत जन्मकैदमा राखिएको थियो । यसको केही समयपछि दशरथ चन्दको नेतृत्वमा ‘नेपाल प्रजापरिषद्’ को स्थापना भएको थियो । १९९१ सालदेखि नेपालभित्रैबाट साहित्यिक मासिक पत्रिका ‘शारदा’ को प्रकाशन सुरु भयो । त्यस्तै १९९२ सालमा ‘उद्योग’ को प्रकाशन सुरु भयो । २००४ सालमा ‘साहित्यस्रोत’, ‘आँखा’ पत्रिकाको प्रकाशन आरम्भ भयो । जनताको जागरण र साहित्यकारहरूको विद्रोहमा यस्ता प्रकाशनले बल पुर्‍याउनु स्वाभाविक थियो ।

भीमशमशेरका शासनकालमा वैकुण्ठप्रसाद लाकौल, योगवीरसिंह कंसाकारलगायतले ‘पुस्तकालय राख्न पाऊँ’ भनी बिन्तीपत्र दिने तयारी गरे । यो कुरा थाहा पाएपछि शासकहरूले लाकौललगायतलाई समातेर दण्डित गरेका थिए । पुस्तकालय स्थापना गर्ने कुरामा लक्ष्मीप्रसाद देवकोटासमेत लागेका थिए । यसमा उनलाई समेत दण्डित गरिएको थियो । यो घटना नेपालको इतिहासमा ‘पुस्तकालय पर्व’ का नामले चर्चित रहेको छ ।

मान्छेको हकअधिकार र समाज सुधारका बारेमा कविता लेख्थिन् योगमाया । उनको नेतृत्वमा राणा शासक भीमशमशेरसमक्ष सुधारका विभिन्न मागहरू प्रस्तुत गरिएका थिए । ती माग पूरा नगरिएमा सामूहिक आत्मदाह गर्ने चुनौती दिइएको थियो । मागहरू पूरा नगरिएपछि योगमायासहित ५७ जनाले अरुण नदीमा हाम फालेका थिए । राणाकालीन अत्याचार तथा शोषण–उत्पीडनविरुद्ध योगमायाको स्वर यस्तो थियो : थितिदेखि बिथितिता भएकै छ अैले / यही थिति बिग्रनाले बिन्ती गरेँ मैले / आसामीले पैले कर्जा तिरिसकेछ / साहू भन्ने लोभीले त बाँकी भनेछ ।।

विसं १९९३ देखि जहानियाँ शासनविरुद्ध राजनीतिक आन्दोलनका प्रयासहरू हुन थाले । सङ्गठित बन्दै गएको विद्रोही भावनालाई दबाउन जुद्धशमशेरले कठोर नीति लिए । विद्रोहमा संलग्न भएको आरोपमा मानिसहरूलाई गिरफ्तार गरेर जेलमा हाल्न थालियो । तर, प्रजातन्त्रको पक्षमा उभिएका युवाहरू राणाहरूको अत्याचारबाट आत्तिएनन् । गङ्गालाललगायतका क्रान्तिकारी युवाहरूलाई गिरफ्तार गरेर जेलमा राखियो । गङ्गालालले जेलभित्रैबाट आफ्नो साहसको परिचय यसरी दिए : किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको / हुँ एक वीर पुत्र माँ नेपालको ।

विसं १९९७ सालमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गङ्गालालको हत्या गरियो । यस घटनाबाट कवि–लेखकहरू आक्रोशित बन्न पुगे । उनीहरू राणाशाहीका विरुद्ध क्रान्तिको आह्वान गर्न थाले । चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, पूर्णबहादुर मानव, लक्ष्मीनन्दन चालिसे, युद्धप्रसाद मिश्र, तारिणीप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मालगायतका साहित्यकारहरू आफ्ना अभिव्यक्तिमार्फत निरङ्कुश राणा शासनका विरुद्ध प्रजातन्त्रको माग गर्न थाले । राणाशाहीका विरुद्ध महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रखर ढङ्गले प्रस्तुत भए : जङ्गलको कानून / जसले हाँक्यो उसको पाक्यो / काँतरको हक थाक्यो / नलडी कोही हुन्न विजेता ।

‘साँढे’, ‘बाघले बच्चा किन खान्छ’, ‘भाँचूँ भाँचूँ लाग्छ यो कलम’ जस्ता विद्रोही कविता लेखेर देवकोटा राणा शासकलाई थर्काउन पुगे । उनी २००४ सालमा बनारस पुगे र ‘युगवाणी’ पत्रिकाको सम्पादक मण्डलमा रही राणाशाहीविरुद्ध अझै कडा ढङ्गले कलम चलाउन थाले । ‘पहाडी पुकार’ मार्फत त उनी निरङ्कुशताको समाप्ति मात्र हैन शोषित–पीडित गरिब किसानको मुक्तिको गीत गाउन पुगे ।

क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले राणाशाहीविरुद्धको ‘जनक्रान्ति’ लाई जूनसँग र राणाशाही अत्याचारलाई जडतासँग दाँज्दै ‘आमाको सपना’ कवितामा क्रान्तिको आह्वान यसरी गरे : हेरौँला, त्यो हुरी भएर आउनेछ / तिमी पात भएर पछ्याउनेछौ । कवि सिद्धिचरण श्रेष्ठले ‘क्रान्तिविना शान्ति हुँदैन’ भनेर कवितामार्फत खुल्ला रूपमा क्रान्तिको आह्वान गरे भने कवि महानन्द सापकोटाले राणाशासनसँगै सामन्ती हैकमवाद, विभेद एवम् शोषण–उत्पीडनको आयु नै समाप्त भएको घोषणा गरे । अर्का क्रान्तिकारी कवि युद्धप्रसाद मिश्र राणाशाहीविरोधी राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदैं विद्रोही कविताहरू लेख्न थाले । विसं १९९२ मै उनले लेखेका थिए : कलम लुक्दछ यो दिल दुख्दछ / हृदयमा अब कम्पन उठ्दछ । राजा–महाराजा, राजपरिवार, सामन्त र देवीदेउता आदिलाई मात्र पात्र बनाएर धार्मिक खालका र भक्ति–स्तुतिका रचनाहरू सिर्जना गर्ने र शृङ्गार रसका साहित्यको नाममा अश्लीलतालाई प्रश्रय दिने युगलाई समाप्त गरी नेपाली साहित्यकारहरू जनसाधारणका दुःखलाई अभिव्यक्त गर्ने काममा मात्र लागेनन्, उनीहरू प्रजातन्त्रको माग गरेर लेख्न थाले । राणाशाहीविरुद्ध लागेकै कारण लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधान, फत्तेबहादुर सिंह, चित्तधर हृदय, केदारमान व्यथित, लक्ष्मीनन्दन चालिसे, युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, गणेशबहादुर प्रसाईजस्ता लेखकहरूले यातना, जेल र निर्वासनलाई बेहोर्नुपरेको थियो । राणाशाहीलाई ढाल्ने र प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले जागरुक र सचेत युवाहरूको अगुवाइमा नेपाली काङ्ग्रेस पार्टी र नेपाल कम्युनिष्ट पार्टी स्थापना भए । ठूला र शक्तिशाली राजनीतिक पार्टीहरूको गठनबाट राणाहरू त्रस्त थिए भने लेखकहरू हौसिएका थिए । यसपछि लेखकहरू लेखेर मात्र होइन, आफैँ पनि सक्रिय भएर राणाविरोधी सङ्घर्षमा सामेल भएका थिए ।

सात सालअघि केही प्रगतिशील साहित्यकारहरू मिलेर ‘जनसाहित्य मण्डल’ गठन गरेको देखिन्छ । तर, त्यसले सङ्गठनको अस्तित्व कायम गर्न भने सकेन । त्यस्तै, कवि गोपालप्रसाद रिमालले आफ्नै पहलमा ‘नेपाल प्रजापञ्चायत’ को गठन गरेका थिए । उनले लेखकहरूलाई सङ्गठित गर्नकै लागि यस्तो सङ्गठन बनाएका थिए । त्यसमा उनले विजय मल्ल, गोपालदास, त्रिपुवरसिंह आदिलाई सङ्गठित गरेका थिए । यसकै माध्यमबाट क्रान्तिको नारा चर्काउने काम भएको थियो । कवि रिमालले कसैलाई भेट्दा र कसैसँग छुट्टिँदा हरेकपटक ‘जय नेपाल’ भन्ने चलन पनि यसै बेला सुरु गरेका थिए । सबैभन्दा पहिले उनी आफैँले ठूलो स्वरमा भने– ‘जय नेपाल ।’ त्यसपछि अरू कवि–लेखकले पनि भन्न थाले । पछिपछि त राणाविरोधी क्रान्तिकारीहरूको थेगो नै बन्न पुग्यो– ‘जय नेपाल ।’

कवि रिमाल राजनीति र साहित्य दुवैतिर सक्रिय रहे । सात सालको परिवर्तनका सन्दर्भमा उनी कविता र क्रान्तिको नेतृत्व नै गर्न पुगे । उनी क्रान्तिका नायक–कविका रूपमा चिनिए । २००४ सालमा उनी राणाशाहीविरुद्ध कुर्लिएका थिए : एक जुगमा एक दिन एकचोटि आउँछ । राणशासनविरुद्ध कवि रिमालले प्रार्थनाको अभियान पनि चलाए । बिहान पशुपतिमा र बेलुका शोभाभगवतीमा गएर ‘राणाशासनको विनाश होस्’ भन्ने कामनासहित प्रार्थना गर्ने अभियान पनि उनले चलाए । उनको प्रार्थनामा सहभागी हुनेहरूमा विजय मल्ल, श्यामदास वैष्णव, दमनराज तुलाधर, कृष्णप्रसाद रिमाल आदि थिए ।

सात सालअघिका पद्यमा मौलिकतासँगै नयाँनयाँ प्रयोगहरू पनि भएका छन् । शास्त्रीय छन्दमा कविता लेख्ने प्रचलन रहेकामा यसै समयमा गद्यको प्रयोग सुरु भयो । गोपालप्रसाद रिमाल र लक्ष्मीप्रसाद देवकोटाका कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यस्तै झ्याउरे शैलीको आरम्भ पनि यसै समयबाट भयो । महानन्द सापकोटाको ‘मनलहरी’ र लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ ।

कवितामा झैं गद्य विधामा भने विद्रोहको स्वर त्यति मुखरित भएको पाइँदैन । तथापि, सामाजिक दृष्टिले केही यथार्थवादी र केही आदर्शवादी कृतिहरू यस समयका उपलब्धिका रूपमा रहे । रुद्रराज पाँडेको ‘रूपमती’, बालकृष्ण समका ‘मुटुको व्यथा’, ‘मुकुन्द–इन्दिरा’, लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’, गोपालप्रसाद रिमालको ‘मसान’ लक्ष्मीप्रसाद देवकोटाका ‘कुञ्जिनी’, ‘वसन्ती’, ‘राजकुमार प्रभाकर’, रूपनारायण सिंहको ‘भ्रमर’, लेखनाथ पौड्यालका ‘लक्ष्मीपूजा’, ‘बुद्धिविनोद’, ‘सत्यकलि संवाद’ भीमनिधि तिवारीका ‘सहनशीला सुशीला’, ‘किसान’ हृदयचन्द्रसिंह प्रधानको ‘छेउ लागेर’ जस्ता कृति यसै समयमा लेखिए । गुरुप्रसाद मैनालीको ‘नासो’, पुष्करशमशेरको ‘परिबन्द’, भवानी भिक्षुको ‘त्यो फेरि फर्केला ?’ विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्नेलको घोडा’ जस्ता कथा, बालकृष्ण समको ‘बर्दहामा शिकार’, लक्ष्मीप्रसाद देवकोटाका ‘आषाढको पन्ध्र’, ‘निद्रा’ जस्ता निबन्ध पनि यसै समयमा लेखिएका थिए ।

शासकको स्तुतिबाट आरम्भ भएको नेपाली साहित्यको मूलप्रवृत्ति सातसालमा आइपुग्दा शासककै विरुद्धमा उभियो । त्यसैकारण पनि सात सालको परिवर्तनमा साहित्यको भूमिका महत्त्वपूर्ण रह्यो ।

प्रकाशित : फाल्गुन ३, २०७६ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×