गिद्धहरु गीत गाउँदैनन् !
कावा खाँदैमा उचाइमा
कहाँ होइँदो रै’छ र उच्च ?
भिर्दैमा उधारोको छिर्केमिर्के आस्कोट
कहाँ भइँदो रै’छ र
हिमालझैँ शुभ्र, हिमनदीझैँ स्वच्छ ?
आकाशमै उडे पनि
भुइँतिरै फर्केका हुन्छन् गिद्धका नजर
आँधीजस्तो वेग हुँदैमा
कहाँ सोहोरिँदो रै’छ र आँगनको कसिङ्गर ?
सधैँ सिनोकै खोजीमा हुन्छन् गिद्धका दृष्टि
गिद्धहरु गीत गाउँदैनन् !
कसिसकेको पटुकीको सुर्केनी पासो फुकाएर
सुसेल्दै पिङमा झुल्न सिकाउँछन् गीतहरूले
आँखाबाट बगेको साउने झरी पुछेर
मंसिरमा तोरीबारी फुल्न सिकाउँछन् गीतहरुले
तर,
जीवनको गीतसिके भने सबैले
मृत्युको महाभोज कहाँ पाउनु ?
मुस्कानको लय सिके भने सबैले
परपीडाको धुन सुन्न कहाँ पाउनु ?
त्यसैले गिद्धहरु गीत गाउँदैनन् !
न छोर्तेनमाथि जगमगाइरहेका लुङ्दर
न त मन्दिरमा मगमगाइरहेको धूपबत्ती
न आमाले कानेताती गराइदिँदा
गुन्द्रीमा खिलखिलाइरहेको नानी
न त बिहानी घाममा झल्झलाइरहेको
पातमाथिको एक थोपा पानी
अहँ, देख्दैनन् तिनले
सिन्दूरले नुहाइरहेको कञ्चनजङ्घा
सपनाहरु बोकी हिँड्ने
श्रमजीवी कमिलाहरुको जन्ती र
जाडो छल्न बेंसीतिर बगिरहेका मालचराहरुको गङ्गा !
गिद्धहरू गीत गाउँदैनन् !
बस्, यौटै खोजी छ तिनको–
कहाँ भेटिएलान्
मृत्युले आग्लो लगाएका
आँखाका शून्य परेलीहरु ?
कहाँ देखिएलान्
निभ्नै लागेका
छातीभित्रका निस्तेज टुकीहरु ?
खै कहाँ भेटिएलान्–
जिन्दगीको सुवास नै बिर्साउने
दुर्गन्धित मोजाजस्ता
महामृत्युका काला छायाहरु ?
हो, गिद्धहरु गीत गाउँदैनन् !
माघ, २०७६
प्रकाशित : फाल्गुन ३, २०७६ १३:११