यी साना खुसी

मीरा ढकाल

चालीस वा पचासको दशक ! पश्चिम पहाडको जिल्ला स्याङ्जा ! आँधिखोला किनारको कुनै एक गाउँ । तपाईंको दिमागमा कस्तो दृश्य आयो ? कल्पना गर्नुस् न ! गर्नुभयो ? पख्नुस् है ! प्रकृति, खोलानाला, पहरा, छहरा, चरा, कीरा, पुतली यस्तै–यस्तै दृश्य आयो ?

यी साना खुसी

हो, मेरो बाल्यकाल यस्तै हुनपर्ने हो । यस्तै यावत् यादहरूले मेरो बाल्यकाल भरिपूर्ण हुनपर्ने हो । तर, विडम्बना मेरो बाल्यकाल यस्तो भएन र यसको जिम्मेवार म आफैँ हुँ । आजकलका केटाकेटीलाई जसरी हातमा मोबाइल, कम्प्युटर, ट्याब पनि दिइएको थिएन मलाई । त्यो अवस्थामा इन्टरनेटको अम्मल लाग्ने सम्भावनै रहेन । तर, पनि मचाहिँ घरको चार भित्ताभन्दा पर पुग्दै पुगिनँ । आँगन नाघेर कतै जान आफैँले कुनै कसरत गरिनँ । तर, मेरो भाइ डुलिबस्थ्यो । कहिले जीउभरि सिस्नोले पोलिएर आउँथ्यो । कहिले हिलोमा दलिएर आउँथ्यो । अझै कहिले त स्कुल हापेर लिँड्कोमा चढेर आनन्द लिन्थ्यो । अटेरी भनेर गाली पनि खान्थ्यो । आफ्नै भाइले यस्ता हर्कत गरे पनि मचाहिँ खै किन हो, घरमै रमाउँथेँ । मेरै साथीहरू छेउकै खोलामा माछा मार्न जान्थे । थालमा कपडाले बेरेर सानो प्वालमा पिठो दलेर माछा पार्थे । उनीहरू रूखबिरुवा, चरा कीराको नाम जान्दथे । कहिले त गोजीमा भएको गुलेली निकालेर भुर्र चरालाई ठहरै पार्थे । फुर्र उडेका पुतली समाउन सक्थे । गाइनेकीरा समातेर धागोमा डोरी बाँध्थे । गाउँकै छेउको काउरोटीको रहको गहिराइ मापन गर्थे । टाप्रेको डिल कति डरलाग्दो छ बताउँथे । भालु पहाडको भीमकायपनाको विस्तार लगाउँथे । तर, म ? त्यसै मौन बसिदिन्थेँ । किनकि मसँग उनीहरूलाई सुनाउने विशेष अनुभव नै थिएन ।



साथीहरू खेल्थे, कुद्थे, उफ्रिन्थेँ । अहिले फर्केर आफ्नै विगत हेर्दा मैले सायद साँघुरो घेरामा आफैँलाई कैद गरेँ र प्रकृतिको सान्निध्यतामा प्राप्त गर्ने असिम आनन्द र सानासाना खुसीबाट आफैँलाई वञ्चित गरेको थिएँ भन्ने लाग्छ ।



यो त मेरो हिजोको कथा हो । आजको कथा भने फेरिएको छ । म त्यसै फेरिएको भने होइन । फोटोग्राफीमा रुचि बढेपश्चात् म बिस्तारै फेरिएँ । फोटोसँग मात्र होइन, प्रकृतिसँगको अभिरुचि पनि बढ्दै गयो । घरबाट निस्केर बाहिरको वातावरणमा रमाउन थालेँ । पहिले पैदल हिँड्न आनाकानी गर्ने म फुर्सद निकालेरै भए पनि हिँड्न थालेँ । र, सुरु भयो नयाँ सिलसिला । साथीसँग हिँड्दा म फेरि पछाडि छुट्न थालेँ । सबै अगाडि पुगिसक्दा म स–साना कुरामै अल्झिन थालेँ । एक्लै–एक्लै जंगल डुल्दा दंग पर्न थालेँ । अरूले यादसम्म नगर्ने मसिना कुराले मेरो ध्यान तानिदिन्थे । सानासाना कुरालाई तस्बिरमा कैद गर्न थालेँ । म्याक्रो फोटोग्राफीमा चासो बढ्यो ।



अझै चरा, कीरा र पुतलीमा विशेष लगाव हुन थाल्यो । पुतलीजस्ता साना जीवको तस्बिर कैद गर्न सहज त छैन । तर, तस्बिरले दिने आनन्द भने अद्वितीय छ । सानासाना जीवले गर्ने साना हर्कतले दिने खसीको पल भने ठूलो र अनौठो ! मेरा लागि फोटोग्राफी बृहत् वस्तुको सानो दृष्टि होइन, बरु सानो वस्तुप्रतिको बृहत् दृष्टि हो । सृष्टिमा भएका सानासाना कुरालाई मिहिन ढंगले हेर्नु हो र साना वस्तुको विशिष्ट गहनतालाई चाखपूर्वक नियाल्नु हो । क्षणभरमा बिलाइजाने पल कैद गरेर ती पलले दिने खुसी लम्याउनु पनि हो ।


सानासाना पुतलीमा देखिने विविधता, रङको गहनता हिरक्कलाग्दो हुन्छ । व्यस्त दैनिकीमा हामी साना–साना जीवलाई देखेनदेखै गरिदिन्छौँ । पुतली सुन्दर जीव हुन् । तर, पुतली सुन्दर जीव मात्र होइन । हामीले सामान्य हिसाबमा हेर्दा एक बोटबाट अर्को बोट, एक फूलबाट अर्को फूल डुल्ने पुतली । अझ एक छिन नअडिएर प्वाँख फरफराउँदै वा तातो ढुंगामा घाम तापेर बस्ने पुतली ।



परागशेचकको रूपमा मौरीजस्तै पुतलीले पनि समग्र खाद्य सुरक्षा, पोषण सूरक्षामा अहं भूमिका निर्वाह गर्छन् र कृषि पर्यावरणीय सेवामा योगदान गर्छन् । अझ भनौँ, दिगो विकासको शून्य भोकमरीको लक्ष्यमा यी मौरी र पुतलीजस्ता साना परागशेचकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।



बढ्दो सहरीकरण, कृषिमा बढ्दो बिषादीको प्रयोगले पुतलीजस्ता हितकारी जीवलाई नकारात्मक असर परिरहेको छ । वैज्ञानिकले पुतलीको व्यवहार परिवर्तनलाई स्थानीय वातावरणको अवस्था मापनको सूचकांकको रूपमा समेत लिन्छन् । पुतलीको भविष्य संकटमा छ । यसले हामीसम्म चुनौती ल्याउनेछ ।



हामीले अब पुतलीजस्ता साना तर पर्यावरणमा योगदान गर्ने जीवलाई चिन्न, चिनाउन र जोगाउन जरुरी छ । हामी ठूला–ठूला कुरा खोजिबस्छौँ, खुसी हुन पनि बृहत् कारण खोज्छौँ । तर, खुसीको स्वरूप साना–साना कुरामा हुन सक्छन् भन्ने याद गर्दैर्नौँ । मलाई लाग्छ, जिन्दगीमा साना कुरामा ठूलो खुसी खोज्ने प्रयास जारी राख्नुपर्छ । मैले त्यस्तै साना खुसी खोज्ने प्रयासलाई फोटोग्राफीमार्फत जीवन्त राख्ने कोसिस गरेको छु ।

प्रकाशित : फाल्गुन ३, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?