२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

ममीलाई सलामी

सुजित मैनाली

सहर–बजारको साँघुरोपनासँग अभ्यस्त मान्छे प्रकृतिको खुला काखमा बढी रमाउँछ । प्रकृतिको बीचमा हुर्किएको गाउँलेलाई चाहिँ सहरको वैभव भोग्ने मोह हुन्छ । यस्तै मनोभावका कारण हुनेखाने सहरियाहरू हिमाल, पहाड, नदी, कन्दरा, जंगल, सागर चहारी हिँड्ने गर्छन् । विकसित सहर भोग्न नपाएका नेपालजस्ता अल्पविकसित देशका मानिसचाहिँ विदेशका भव्य सहर टेक्ने चाँजोपाजो मिलाउनमै जीवनको महत्त्वपूर्ण ऊर्जा क्षय गरिरहेका हुन्छन् । 

ममीलाई सलामी

प्रकृति र विकसित सहर घुम्ने यस्तो खालको होडबाजीबाट इतिहास–संस्कृतिप्रति अभिरुचि राख्नेहरू एक हदसम्म मुक्त हुन्छन्जस्तो मलाई लाग्छ । उनीहरूका लागि संसारको सबैभन्दा घुम्नलायक ठाउँ त्यो हो जुन प्राचीन छ, जहाँका प्राचीन भग्नावशेष नियालेर आफू पनि त्यही समयमा बाँचिरहेको महसुस गर्न पाइन्छ । यस्तो अभिरुचि भएका व्यक्तिलाई संसारकै प्राचीनतम सभ्यताको अवशेष बोकेको ठाउँ घुम्नुजस्तो सुखद सन्दर्भ अर्को के होला र ? त्यस्तै महसुस गरें मैले, गत कात्तिकको मध्यतिर इजिप्ट पुग्दा ।


***

संसारकै प्राचीन सभ्यता उद्भव भएर चरमचुलीमा पुगेको स्थान हुनुको नाताले इजिप्ट विशिष्ट महत्त्व बोकेको देशमध्येमा पर्छ । इजिप्टको प्राचीनताबारे कायरो, लक्सोरलगायत सहरका हजारौं वर्ष पुराना स्मारक, चिहान, भित्तेचित्र, भौतिक निर्माणका अवशेष आदिले साबिति बकिरहेका हुन्छन् । यति हुँदाहुँदै पनि इजिप्टको प्राचीनता नाप्ने महत्त्वपूर्ण अवशेषका रूपमा अधिकांशले कायरोछेउको गिजा सहरस्थित पिरामिड र लक्सोर सहरको गर्तमा फेला परेर कायरोलगायत ठाउँमा राखिएका ममीलाई लिने गरेका छन् ।


इजिप्टबारे सुन्नासाथ धेरैको मनमा पिरामिडको बिम्ब बन्ने गर्छ । अतीतको भव्य स्मृतिसहित ठडिएका गिजा सहरका तीनवटा विशाल पिरामिड इसापूर्व करिब २५ सय वर्षअघि निर्माण भएको अनुमान गरिन्छ । त्यति प्राचीन समयमा त्यत्रो स्मारक निर्माण गर्न सक्ने प्रविधिबारे पुराविद्याका शोधार्थी, आर्किटेक्टहरूले अध्ययन गरिरहेका छन् । इजिप्ट भ्रमणका क्रममा पिरामिड भएको स्थल घुम्नुअगावै मैले लक्सोर सहर पुगेर आलिशान प्राचीन महल, ममी फेला परेका चिहान, पुराना भित्तेचित्र आदि हेरिसकेकाले आँखैअगाडि ठडिएको पिरामिडले मेरो मनमा कौतूहल र उत्साहका लहर उतिसाह्रो पैदा गर्न सकेनन् ।


इजिप्टमा मलाई सबैभन्दा अद्भुत लागेको कुरो मृत्युसँग सम्बन्धित थियो । इजिप्टको गर्तमा पाइएका चिहान र त्यहाँभित्र फेला परेर हाल कायरोस्थित इजिप्सियन म्युजियमको ‘रोयल ममिज हल’ मा राखिएका ममीहरूले प्राचीन जीवनबारे अनेक खुलासा गरिरहेका थिए । मृत्युले जीवनबारे बताइरहेको क्षणको साक्षी बन्न पाउनु अद्भुत थियो । प्राचीन चिहानको कलाकौशल र ममी हेर्दै गर्दा मलाई मृत्युको पुरातत्त्वप्रति अभिरुचि राख्नेहरूका लागि इजिप्ट खुला संग्रहालय रै’छ भन्ने महसुस भयो ।


कायरोको प्रसिद्ध ताहिरिर स्क्वायरछेउको म्युजिममा राखिएका प्रायः सबै ममी लक्सोर सहरमा उत्खनन गर्दा पाइएका रहेछन् । ताजा शवको भित्र्याँस झिकेर बाँकीलाई नकुहिने गरी मानवाकृतिमै सुकुटी बनाएर हजारौं वर्षसम्म सुरक्षित राखिएको वस्तुलाई ममी भनिन्छ । लक्सोर इजिप्टको सबैभन्दा पुरानो सहर हो । प्राचीन समयमा इजिप्टको राजधानी त्यहीँ रै’छ । त्यतिबेला लक्सोरलाई वासेट भनिँदो रै’छ । इजिप्टमा प्राचीन सभ्यता छँदा छिमेकी ग्रीसमा प्राचीन एथेन्स सभ्यता मौलाइरहेको थियो । भू–मध्यसागरले छुट्याएका यी दुई सभ्यताबीच कला/संस्कृति र विचारसँगै वैरको पनि आदानप्रदान हुने गर्थ्यो । एथेन्सवासीले लक्सोरलाई त्यतिबेला थिब्स भन्दा रै’छन् । बाहिरबाट आएका मानिसको इजिप्ट बसाइलाई मोहक बनाउने र इजिप्टको सुदूर विगतलाई रहस्यमय तुल्याउने अधिकांश सामग्री लक्सोरमै उपलब्ध रहेको मैले पाएँ । कायरो, गिजा अथवा एलेक्जेन्ड्रिया सहर पुगेर कसैले लक्सोर घुम्न छुटायो भने उसले प्राचीन इजिप्टको आत्मासँग साक्षत्कार गर्न पनि छुटाउने रै’छ ।


लुम्बिनी र तिलौराकोटको प्राचीनतासँग अभ्यस्त मलाई प्राचीन समयको अवशेष भनेकै घर बनाउन प्रयोग गरिएका ढुंगा अथवा इँटाका टुक्रा, आवास अथवा सहरका पुराना नाली झल्काउने भग्न आकृति हुन् भन्ने लाग्थ्यो । प्राचीन भौतिक निर्माणका अवशेष हामीकहाँ रुग्ण अवस्थामा उपलब्ध छन् । तर, इजिप्टको प्रसंग बेग्लै रै’छ । ग्रेनाइटको विशाल खानीछेउ लक्सोर ठडिएको रै’छ । त्यहाँका प्राचीन भौतिक पूर्वाधारहरू ग्रेनाइटबाट बनेका रै’छन् । त्यसैले ती आजका मितिसम्म जिउँदोजाग्दो स्वरूपमा उपलब्ध हुन सकेका रै’छन् । त्यहाँका हजारौं वर्ष पुराना पाषाण प्रतिमा, पाषणकै खाँबा र भित्तामा कपिएका अक्षर अथवा आकृति हेर्दा यस्तो लाग्छ, मानौं ती केही वर्षअघि मात्र बनाइएका हुन् ।


लक्सोरको भव्य प्राचीनतालाई सुरक्षित राख्न राज्य र जनताले पनि दिलोज्यान दिएका रै’छन् । मित्रराष्ट्रहरूबाट पनि ठूलै सहयोग मिलेको रै’छ । लक्सोरका प्राचीन बस्ती, उपत्यका, चिहान, भित्तेचित्र आदिको सुरक्षणमा जापानले गरेको सहयोग मलाई अद्वितीय लाग्यो । लक्सोरका ‘भ्याली अफ क्विन्स’ र ‘भ्याली अफ किङ्स’ नाम दिइएका पुरातात्त्विक महत्त्वका दुई साना उपत्यकालाई प्रकृति अथवा मानिसको अतिक्रमणबाट जोगाउन जापान सरकारले ठूलो धनराशि खर्चिएर पूर्वाधार बनाइदिएको रै’छ । मित्रराष्ट्रलाई गरिने मनकारी सहयोगको भव्य नमुना कस्तो हुन्छ भन्ने कुरा जापानले लक्सोरमा पेस गरेको रै’छ ।


पिरामिडदेखि चिहान र ममीसम्म अवलोकन गर्दैगर्दा मैले ‘शासकको इतिहास’ लेख्नेहरूलाई अहोरात्र सराप्ने ‘प्रगतिशीलता’ लाई सम्झिएको थिएँ । वश चल्थ्यो भने ती ‘प्रगतिशील’ हरूले पिरामिड, चिहान र ममीलाई ‘शासकको आततायी विगतका साक्षी’ ठहर गरेर जलाइदिने थिए । त्यसो गर्ने आँट किञ्चित जुटाउन नसके प्रकृतिको गर्तमा क्रमशः बिलाउँदै जाने गरी चरम बेवास्ता गरेर अलपत्र छोडिदिने थिए । उनीहरूका लागि चार हजार वर्षभन्दा पुराना ती अवशेषले शासकको इतिहास मात्र कहन्थ्यो, जुन भुइँमान्छेको इतिहासको चिहानमाथि ठडिएको थियो । भूइँमान्छेको जीवन नियाल्ने आँखीझ्याल पनि आखिरमा यस्तै सामग्रीले न उपलब्ध गराउँछन् भन्ने तथ्य उनीहरूको दृष्टिबाट ओझेल पर्ने थियो ।

***

कायरोस्थित म्युजियमको ‘रोयल ममिज हल’ भित्र पारदर्शी सीसाका बाकसमा ममीहरू लमतन्न सुतेका थिए । ममीबारे त्यसअघि सुनेको थिएँ । पढेको थिएँ । ममीहरूले भूत बनेर तर्साएका फिल्म पनि हेरेको थिएँ । तर, आँखैअगाडि हजारौं वर्षअघि मरेको मानिस देख्दा मलाई विचित्रको महसुस भयो । कौतूहल, ज्ञान पिपासा र मसिनो भयमिश्रित अनौठो अनुभूति !


कायरो घुम्नुअघि लक्सोर डुल्दै गर्दा आकाशबाट सूर्यले प्रचण्ड अग्नि बर्साइरहेका थिए । अतिशय गर्मीले गर्दा त्यहाँको हावापानी ओसरहित रै’छ । एकदम सुक्खा । कालो चस्मा नलगाईकन आँखा उघार्नै नसकिने । त्यस्तो वातावरणकै कारण हजारौं वर्षअघि दिवंगत मानिसका ममी लक्सोरको गर्तबाट जिउँदोजाग्दो स्वरूपमा फेला पार्न सकिएका रै’छन् । फेला परेका एकाध ममी विदेशतिर लगिएछन् । बाँकी कायरो ल्याएर संग्रहालयमा राखिएछन् । कायरोको अपेक्षाकृत ओसिलो हावापानीमा ममी नसडोस् भनेर उचित तापक्रमको व्यवस्थापन मिल्ने गरी सीसाका पारदर्शी बाकसमा तिनलाई राखिएका रै’छन् । संग्रहालयको भुइँ तल्लामा केही थान विशाल बाकस थिए, सुनले मोरिएका । बाकस वरिपरि अनेकन चित्र र आकृति कोरिएका, खोपिएका थिए । उत्खननका क्रममा ती बाकसभित्र ममीहरू फेला परेका रै’छन् । राजपरवारका सदस्यहरूको शवलाई ममी बनाएर त्यस्तै खालका किम्ती बाकसमा राख्ने चलन त्यतिबेला रै’छ ।


गाइडले चोर औंलाले देखाउँदै सीसाभित्रका ममीहरूको परिचय दिँदा मलाई फेरि एकपटक अनौठो महसुस भयो । ‘यो फलानो राजा हो, त्यो ढिस्कानो राजा हो, यी राजा फलानो ठाउँको लडाइँमा मारिएका थिए, तीचाहिँ डाइबिटिज लागेर बयोवृद्ध उमेरमा कालगतिले मरेका थिए,’ गाइडको कुरा सुनेर बाँकी सबैझैं म पनि विष्मित नजरले ममीतिर अपलक हेरिरहेको थिएँ ।


कायरो र लक्सोरका टुरिस्ट गाइडलाई अन्ततिरका गाइडलाई झैं केही महिनाको प्रशिक्षण पर्याप्त नहुँदो रै’छ । त्यसैले त्यहाँका गाइडहरूले विश्वविद्यालयबाट इतिहास, मानवशास्त्र, पुरातत्त्वलगायत विषयमा उच्चशिक्षा हासिल गरेका हुँदा रै’छन् । केही महिनाको प्रशिक्षणबाट त्यति सुदूर विगतका पात्र र तिनका जनजीवनबारे अरूलाई ससर्ती जानकारी दिन सक्ने खुबी हासिल गर्न सम्भव पनि त छैन !


ममीहरूसँग हाम्रो परिचय गराउने क्रममा गाइडले अर्को एउटा ममीतिर औँल्याएर भन्यो, ‘ऊ त्यो सीसाभित्रका राजालाई युद्धमा ढिस्कानो देशका लडाकुले झम्पल प्रहार गरेछन् र उनको मृत्यु भएछ । नपत्याए पसांगिएको उनको च्यापु हेर्नुस् त !’ हामी प्राचीन इजिप्टका सबैभन्दा चर्चित राजा रामसेस द्वितीय (इपू १३००) को ममी तेर्सिएको बाकसअगाडि पुग्यौं । उनी इजिप्टको इतिहासका सबैभन्दा चर्चित पात्र रै’छन् । उनको ममीको हाल सालैको इतिहास पनि अत्यन्तै रोचक रहेकाले जनस्तरमा पनि उनी बढ्तै लोकप्रिय रै’छन् ।

***

औपनिवेशकालतिरै रामसेस द्वितीयको ममी लक्सोरको ‘भ्याली अफ किङ्स’ मा फेला परेको थियो । त्यहाँबाट ल्याएर कायरोको संग्रहालयमा त्यसलाई सुरक्षित राखिएको रै’छ । रामसेस द्वितीयले लक्सोरमा बसेर झन्डै ६५ वर्ष शासन गरेका रै’छन् । जीवित छँदै उनले आफ्ना प्रशस्तै मूर्तिहरू बनाएका रै’छन्, जुन हालको इजिप्ट र प्राचीन समयमा इजिप्टको सीमा अथवा प्रभावअन्तर्गत रहेका प्यालेस्टाइनदेखि सुडानसम्मका भूभागमा यत्रतत्र फेला परेका छन् । तीमध्ये केही मूर्ति कायरोका संग्रहालयमा प्रदर्शनार्थ राखिएका छन् । केही मूर्ति लक्सोरमा यथावत् स्थानमै संरक्षित छन् । उनको शासनकालमा इजिप्टमा ठूल्ठूला भवनलगायत पूर्वाधार निर्माण भएका रै’छन्, जुन जिउँदोजाग्दो रूपमा आजका मितिसम्म ठडिएको हेर्न सकिन्छ । इजिप्टको र छेउछाउका अन्य समुदायको इतिहासमा उनका प्रसंग र उनीसम्बन्धी किंवदन्ती बर्गेल्ती पाइँदा रै’छन् । उनको पालामा इजिप्ट कैयौं युद्धमा होमिएको पनि रै’छ । भौतिक निर्माणदेखि अनेकन युद्धसम्ममा होमिएर ६५ वर्ष शासन गरी करिब ९० वर्षको उमेरमा उनी दिवंगत भएका रै’छन् ।


रामसेस द्वितीय वयोवृद्ध उमेरमा कालगतिले मरेका थिए भनि गाइडले भनिरहँदा म सिसाभित्र लमतन्न सुतेको खिरिलो बयोवृद्ध मानिसको शवलाई विष्मयका साथ हेरिरहेको थिएँ । लक्सोरलगायत ठाउँमा उपलब्ध उनका प्राचीन प्रतिमा र बजारमा बिक्रीका लागि राखिएका तिनका नक्कलमा उनलाई बलिष्ठ ज्यान भएको व्यक्तिको रूपमा चित्रण गरिएको पाइन्छ । तर, जतिसुकै बलिष्ठ शरीरले पनि समयको वेगले गर्ने निरन्तर प्रहारलाई थेग्न कहाँ सक्दो रहेछ ! उनको ममी हेर्दै गर्दा मैले समयको सर्वसत्तावादलाई पुनः एकपटक गहिरोसँग महसुस गरेँ । टाउको, काँध र कम्मरको टेकोमा उनको शरीर अडिएको थियो । बुढ्यौलीले चाउरिएका उनको छाला हड्डीमा बेस्कन टाँसिएका थिए । खबटे गाला प्रस्टसँग देखिन्थे । एउटा नाडी अर्कोमाथि खप्टिएर छातीमाथि तेर्सिएको थियो । शरीरको मध्यभाग त्यतिबेलैको सुतिको सेतो कपडाले मोरिएको थियो । बुढ्यौलीका कारण निधारमास्तिरको कपाल झरेर अर्धखल्वाट भएको थियो । कन्सिरीमाथि र पछाडिपट्टिका कपाल छोटा, मसिना थिए । कुनै समय संसारलाई आफ्नो इसारामा नचाउन सक्ने शक्तिशाली शासक आज मेरो अगाडि निरीह बनेर पल्टिएको थियो । मेरा आँखाले उसलाई ओल्टाईपल्टाई हेरिरहेका थिए ।


मृत्यु भएको करिब ३३ सय वर्षपछि उनको ममी एउटा रोचक क्षणको साक्षी बनेको कुरा हामीलाई गाइडले सुनाए । होटल फर्किएर गाइडको कुरा साँचो हो/होइन भनी इन्टरनेटमा त्यतिबेलाका पत्रपत्रिका हेर्दा सबै विवरण साँचो भेटियो । सन् १९७४ तिर संग्रहालयमा राखिएको उनको ममी फंगस, ब्याक्टेरियालगायतको संक्रमणले बिग्रिँदै गएको थाहा भएछ । त्यति सुदूर विगतको साक्षीलाई नष्ट हुन दिन कोही तयार भएनन् । रामसेस द्वितीयको शरीरको ‘उपचार’ गर्नुपर्ने निधो गरियो । त्यतिबेला इजिप्टमा राष्ट्रपति अनवर सदातको प्रशासन थियो । कायरोमा उनको ‘उपचार’ गर्न सक्ने योग्य जनशक्ति र प्रविधि उपलब्ध भएन । कहाँ लगेर उपचार गर्ने भनी छलफल हुँदा पेरिसमा प्रभावकारी उपचार हुन सक्ने निधो भयो । यसमा राष्ट्रपति सदातको पनि सम्मति जुट्यो ।

ममीलाई पेरिस लैजाने सबै चाँजोपाँजो मिलिसकेपछि एउटा कानुनी झन्झट आइलाग्यो । विदेशबाट आउने शवको राष्ट्रियतासहित पूर्ण परिचय खुल्ने प्रामाणिक दस्तावेज फ्रान्सको अध्यागमन कार्यलयले अनिवार्य माग्दो रै’छ । ३३ सय वर्षअघि दिवंगत भएका रामसेस द्वितीयको शवको हकमा पनि त्यही कानुन आकर्षित हुने भयो । त्यसको हल खोजियो । इजिप्ट सरकारले उनको परिचय खुल्ने गरी राहदानी जारी गर्‍यो ।

नाम– रामसेस द्वितीय

जन्म– १३०३ इसापूर्व

राष्ट्रियता– इजिप्सियन

लिंग– पुरुष

पेसा– राजा

राहदानी नं– ए१७७५८०२४ आदि ।


रामसेस द्वितीयका नामको राहदानी

राहदानीमा दुइटै कान देखिने गरी खिचिएको ममीको अर्धकदको फोटो टाँसियो । राहदानीसहित रामसेस द्वितीय र उनका इजिप्सियन ‘सहयोगी’ हरूलाई बोकेर फ्रेन्च सेनाको विमान कायरोबाट उड्यो । पेरिसमा विमान अवतरण हुँदा रामसेस द्वितीयलाई इजिप्टका दिवंगत पूर्वराष्ट्रप्रमुख मानेर फ्रान्सले राजकीय व्यवहार गर्‍यो । उनको ममीलाई ‘रिसिभ’ गर्न फ्रेन्च राजप्रतिनिधि विमानस्थल पुगे । राजकीय ध्वनिसहित फ्रेन्स सेनाले ममीको सम्मानमा सलामी अर्पण गर्‍यो । त्यहाँबाट पेरिसको संग्रहालय लगेर ममीको ‘उपचार’ गरियो । उपचारपछि कायरो फर्काइयो ।


उपचारमा संलग्न फ्रान्सका एक जना चिकित्सकले कसैलाई पत्तै नदिई रामसेस द्वितीयका केही कपाल चुँडेर लुकाएका रै’छन् । ममी कायरो फर्किएको दशकौंपछि उनको कपाल चोरी भएको तथ्य सार्वजनिक भयो । फ्रान्स सरकारले चोरीमा संलग्न दोषीलाई पक्रेर कानुनी कारबाही अघि बढायो । बरामद गरिएका कपाल इजिप्ट सरकारको जिम्मा लगाइयो । सानो पारदर्शी प्लास्टिकको थैलीमा राखिएका कपालका ती त्यान्द्रा रामसेस द्वितीयको ममीछेउ राखिएको छ, जुन कायरो जाने जोकसैले देख्न सक्छ ।

***

प्राचीन इजिप्टलगायत अन्य केही ठाउँका मानिसले पनि ममी बनाएर शवलाई सुरक्षित राख्ने गर्थे । त्यस्तो किन गरिन्थ्यो होला भन्नेबारे अनेकन अनुमान र व्याख्या/विश्लेषण उपलब्ध होलान् । यसबारे चिन्तन गर्दै गर्दा मैले मृत्युलाई लिएर हाम्रोतिर प्रचलित परम्परागत अभ्यास र व्याख्यानलाई ममीकै आलोकमा हेरेर आफ्नै खालको धारणा बनाएको छु ।


म्युजियममा गाइडले एउटा ममीप्रति औँल्याउँदै भनेको थियो, ‘यो ममीका आँखीभौं हेर्नुस् त, कालो रङ पोतिएको छ । मर्ने बेलामा उसका आँखीभौं झरेका थिए । अर्को जन्ममा उसले आँखीभौंरहित हुन नपरोस् भनेर निधनपछि आफन्तले कालो रङ पोतिदिएका हुन् ।’ मर्ने बेलामा शरीर अपूर्ण छ भने अर्को जन्ममा पनि त्यस्तै अपूर्ण शरीरसहित जन्म हुन्छ भन्ने विश्वासको अवशेष थुप्रै संस्कृतिमा झल्किएको हामी पाउन सक्छौं । प्राचीनकालको चीनलगायत ठाउँमा अण्डकोश झिकेर नपुंसक तुल्याइने व्यक्तिहरूले मरणोपरान्त अण्डकोश साथमा राख्ने गरेको चलनलाई उदाहरणका रूपमा लिन सकिन्छ ।


सभ्यताको सिँडी चढ्नुअघिको जंगली युगमा मृत्युलाई बुझ्न मानिसहरूलाई पक्कै अप्ठेरो भयो होला । एक छिनअघि हलचल गरिरहेको मानिस अकस्मात हलचल गर्न छोड्नुलाई मृत्युका रूपमा अर्थ्याउन थालियो होला । शरीरमा रहेको कुनै तत्त्व (आत्मा) बाहिरिएपछि मानिस मर्दो रहेछ भन्ने महसुस गरेर आत्मा पुनः शरीरमा प्रवेश गर्ने क्षण पर्खिँदै आफन्तहरू बसे होलान् । शव कुहिएर गन्हाउन थालेपछि अन्तै हिँडे होलान् । आत्मा कदाचित शरीर खोज्दै फर्किने पो हो कि भन्ने झिनो आस सँगै लिएर गए होलान् । त्यस्तै आस प्रकारान्तरमा विश्वासमा परिणत भयो । सम्भवतः त्यस्तै आसको उपज थियो, शरीरलाई ममी बनाएर सुरक्षित राखी चिरञ्जीवी बन्ने सम्भावना खुलै राख्ने प्राचीन इजिप्सियनहरूको संस्कार । अमरत्वको चाहना नराख्ने नश्वर प्राणी आखिरमा को नै होला !


मृत्युसम्बन्धी यस्तोखालको आदिम विश्वासको अवशेष नेपाली संस्कृतिमा पनि भेट्टाउन सकिन्छ । योगेश राजको किताब ‘हिन्दु नेवारहरूको मृत्युचेतना’ मा उपलब्ध अनेक प्रसंगले पनि त्यसतर्फ संकेत गर्छन् । किताबमा एक ठाउँ लेखिएको छ, ‘स्मार्त सम्प्रदायकाहरूले लासलाई घरको चुलोछेउ राख्छन् । आहिताग्निहरू लासलाई यज्ञशालामा लगेर राख्छन् । प्राग्एतिहासिक समयमा भारतीय उपमहाद्वीपभरि मृतकलाई उसको घरमा चुलोछेउ गाड्ने चलन थियो । सिन्धुसभ्यतामा भने बस्तीको दक्षिणी प्रदेशमा लास वा अस्थि गाडिन्थ्यो ।’ मानिसको मृत्युपछि शवलाई घर अथवा वरिपरिको चिरपरिचित ठाउँमा समाधिस्त गर्ने चलन कुनै बेला थियो भन्ने प्रमाण यसबाट मिल्छ । उडेर गएको आत्मा कदाचित फर्किएमा आफ्नो शरीर भेट्टाउन उसलाई गाह्रो नपरोस् भनेर त्यस्तो चलन चलाइएको हो । शव दहन गर्ने हिन्दु संस्कार यस्तै मान्यताको परिस्कृत रूप हो । शरीरप्रतिको मोहका कारण भौंतारिने आत्मालाई निर्धो तुल्याएर अर्को योनीमा प्रवेश गराउन प्रेरित गर्ने उद्देश्यले शव दहनको संस्कार हिन्दु धर्मले ग्रहण गरेको हो । संन्यासीहरूको आत्मा शरीरसहित सबैखालका मोहबाट निस्पृयः हुन्छन् भन्ने ठानेर उनीहरूको शवलाई चाहिँ ध्यानमुद्रामा समाधिस्त गर्ने गरिएको हो ।


किरातीहरूको मृत्युसंस्कारमा पनि यस्तो खालको आदिम विश्वासको अवशेष पाइन्छ । भोगीराज चाम्लिङको लेख ‘किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन’ मा उपलब्ध विवरणानुसार, नक्मई (सहज मरण) बेहोर्ने आत्मालाई किरात राईहरूले पितृ कुलमा राख्ने गर्छन् । कुलुक र खालिङ राईले त्यस्तो मरण बेहोर्नेलाई घरकै वरिपरि गाड्छन् र तीन महिनासम्म चिहान पाल्छन् (चिहानमा खाने कुरा राखिदिन्छन्) ।


पीडादायी अथवा विद्रूप किसिमले हुने अकालको मरणलाई चाहिँ अधिकांश संस्कृतिले अनिच्छुक, अमांगलिक ठहर गर्छन् । त्यस्तो मरण बेहोरेको आत्माले आफ्नो शरीर फेला पार्न नसकोस् भनेर शवलाई घरबाट टाढै समाधिस्त गरिन्छ । किरात राईकै प्रसंग लिऔं । असहज (दुर्घटना, आत्महत्या, सुत्केरी व्यथा आदि) मरणलाई किरात राईहरू झेत्मई भन्छन् । चाम्लिङका अनुसार, त्यस्तो मरण बेहोर्नेलाई कुलुङ र खालिङ राईहरूले जंगलमा लगेर समाधिस्त गर्छन् । त्यस्ता आत्मालाई पितृकुलमा पनि राख्दैनन् । चिहान पनि पाल्दैनन् । अप्राकृतिक रूपमा अकालमै ज्यान गुमाएर जीवन भोग्नबाट वञ्चित भएकाहरू भूतप्रेत बन्छन् र भड्किन्छन् भन्ने विश्वास अधिकांश समाजमा छ । हिन्दु धर्मावलम्बीहरूले मृतक व्यक्तिको आत्मा १० दिनसम्म अर्थात् ढिकुर नफोरुन्जेल घरवरिपरि भौंतारिरहन्छ भनी गरेको विश्वासलाई पनि यही प्रसंगमा उल्लेख गर्नु उपयुक्त हुन्छ ।


दुर्घटनामा परेर मृत्युवरण गरेको शरीरमा पुनः आत्मा प्रवेश गरे त्यसले क्षतविक्षत अवस्थाको विद्रूप शरीर हासिल गर्छ, मृत शरीरमा आत्मा पुनर्प्रवेश गर्न सक्छ भन्ने विश्वासकै कारण कायरोको संग्रहालयमा राखिएको एउटा ममीको आँखीभौंमा कालो पोतिएको हो भन्ने मेरो अनुमान छ ।


इजिप्टमा रहँदा मैले प्राइम मिनिस्टर जंगबहादुर राणालाई पनि सम्झिएको थिएँ । उनी इजिप्ट पुग्ने पहिलो नेपाली राजप्रतिनिधि हुन् । बेलायतको भ्रमण गर्न उनी इजिप्ट हुँदै गुज्रिएका थिए । उनीभन्दा अगाडि मोतिलाल सिंह नाम गरेका एक जना नेपाली बेलायत पुगेका थिए भन्ने तथ्य पछिल्लो अनुसन्धानबाट पुष्टि भइसकेको छ । जंगबहादुर हिँडेकै जलमार्ग हुँदै मोतीलाल सिंह पनि बेलायततिर गए होलान् भनी अनुमान गर्न सकिन्छ । त्यसैले इजिप्ट टेक्ने पहिलो नेपाली मोतीलाल सिंहलाई नै मान्न सकिन्छ । यद्यपि यसलाई पुष्टि गर्ने एतिहासिक विवरण उपलब्ध छैन । जंगबहादुरको इजिप्ट भ्रमणसम्बन्धी विवरणहरूचाहिँ उपलब्ध छन् ।


भारतको मद्रासछेउको बन्दरगाहबाट पानीजहाज चढेर जंगबहादुर बेलायततिर हिँडेका थिए । मद्रासबाट श्रीलंका हुँदै इडेन द्वीप (पश्चिम एसिया) पार गरेर उनी इजिप्ट पुगे । यात्राको विवरण जंगबहादुरको भ्रमण दलमा सम्मिलित एक जना अज्ञात व्यक्तिले लेखेका छन् । ती व्यक्तिले लेखेको यात्रा विवरण कमल दीक्षितको सम्पादनमा छापिएको ‘जंगबहादुरको बेलायत यात्रा’ शीर्षकको किताबमा उपलब्ध छ । यात्रा विवरणमा लेखिएको छ, ‘ताहांदेखि (इडेन टापुदेखि) आठ दिनमा सुइज (स्वेज) बादशाहको मुलुकमा पुगियो । त्यस जग्गामा जाहाज फिरदो रहेछ... त्यस जग्गामा... अंग्रेजले तीन लाख रूपैयाँ दी त्यो ३० कोस जमीनमा ६/६ घोडा लाग्याको बग्गी...राख्याका छन् ।’ जंगबहादुरले पानीजाहाजबाट ओर्लिएर सोही बग्गी चढी दलबलसहित अलखजंजरिनदी (एलेक्जेन्ड्रिया) पुगेर इजिप्टका तत्कालीन बादशाहसँग भेट गरेका रै’छन् । यात्रा विवरणमा एलेक्जेन्ड्रियाको वर्णन गरिएको छ, ‘मुसलमानदेखि अर्को जात छैन । मानिस राम्रा राम्रा छन् । जनाना (स्त्री) हरू मुख कपडाले छोपी हिंड्दछन् । त्यस जग्गामा भाजी, तरकारी, फलफूल, गहुको खेती गर्न्या समर्थ जग्गा छ । हाट, दोकान, बहुत गुलजार सहर छ ।’ जंगबहादुरले इजिप्टका बादशाहलाई एलेक्जेन्ड्रियाको प्रख्यात किल्लामा भेटेका रै’छन्, जुन अहिले काइटबे सिटडेलको नामले प्रख्यात छ ।’ त्यस दुर्गको चर्चा गर्दै यात्राविवरणमा लेखिएको छ, ‘पर्खाल मजबुत जग्गा रहेछ । ताहांका बादसाहाले श्री प्राइम मिनिष्टरलाई मुलाकात गरी बहुत खातिर गर्‍या ।’ जंगबहादुरले अवलोकन गरेको सोही किल्ला पुगेर मैले पनि त्यसका दरिला पर्खाल छामेको थिएँ । जंगबहादुरले अवलोकन गरेको केही दशकपछि ब्रिटिसहरूले हमला गरेर त्यस किल्लालाई जीर्ण तुल्याइदिएका थिए । मर्मत–सम्भारपछि किल्लालाई अहिले संग्रहालय बनाइएको छ ।


एलेक्जेन्ड्रियाबाट म कायरो फर्किएँ । त्यसपछि मात्रै गिजा पुगेर पिरामिड र कायरो पुगेर ममी हेरेँ । पिरामिड र ममी हेर्दै गर्दा मैले आफूलाई जंगबहादुरसँग तुलना गरेँ । जंगबहादुर एलेक्जेन्ड्रियाबाट भूमध्यसागर हुँदै बेलायततिर फर्किए । मैलेजस्तै उनले गिजा, कायरो अथवा लक्सोर घुमेनन् । पिरामिड, ममी, प्राचीन आलिशान महल, मूर्ति, चिहान आदि हेर्नबाट पनि वञ्चित भए । त्यस्ता ‘किम्ती’ अवशेष हेर्न नपाएका जंगबहादुरलाई अभागी ठान्न नसके पनि मैले आफूलाई चाहिँ भाग्यमानी ठानेँ ।

प्रकाशित : फाल्गुन ३, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?