बेपत्ता आख्यान विशेष–२०७६

कान्तिपुर संवाददाता

सशस्त्र द्वन्द्व टुंगिएको डेढ दशक भइसक्यो । तर, सो द्वन्द्वमा हराएका नागरिकको खोजीनिधिले अझै टुंगो पाएको छैन । सरकारद्वारा गठित आयोगमा बेपत्ता परिवारका तीन हजार उजुरी परेका छन् । युद्धावधिमा हराएका १२ सयभन्दा बढी नागरिकका परिवारले आइसीआरसी (इन्टरनेसनल कमिटी अफ् द रेडक्रस)मा उजुरी गरेका थिए ।

ZenTravel

सरकारले दुई साताअघि नयाँ पदाधिकारीसहित बेपत्ता आयोग गठन गरेको छ। युद्ध र अन्य बेलामा बेखबर भएका परिवारको कष्टकर पर्खाइसम्बन्धी केही आख्यान यसपालि ‘कोसेली’मा पस्केका छौं। फागुन १– जनयुद्ध दिवसका सन्दर्भमा प्रकाशित बेपत्ता आख्यान विशेष–२०७६ सम्पूर्ण बेपत्ताहरूमा समर्पित।
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फोबिया

सरस्वती प्रतीक्षा

हल्काफुल्का डराउनु एउटा कुरा हो, डराउने रोग नै लाग्नु अर्को कुरा हो । आफूलाई भित्रबाटै एकदमै बलियो ठान्ने मजस्तो निडर स्वास्नीमान्छे पनि एक दिन डराउने रोगको सिकार हुन सक्छु भन्ने अन्दाज नै थिएन । जबजब डाक्टरलाई भेट्छु, प्रत्येक भेटमा डाक्टर मेरो रोगलाई मानसिक डिसअर्डर हो भन्नुहुन्छ । मलाई लागेको रोग राजनीतिक डिसअर्डर हो भन्ने केवल मलाई मात्र थाहा छ ।

कुकुर देखेर डराउने रोग अर्थात् साइनोफोबिया । भीडभाड देखेर डराउने रोग अर्थात् अकोलोफोबिया । नग्नता देखेर डराउने रोग अर्थात् न्युडोफोबिया । पानी देखेर डराउने रोग अर्थात् अक्वाफोबिया । डराउने रोग अर्थात् फोबियाका अनेकन् प्रकार हुन्छन् । भनिन्छ, संसारमा प्रत्येक सय जनामध्ये दस जना कुनै न कुनै फोबियाले ग्रस्त हुन्छन् ।

हो, म पनि फोबियाले ग्रस्त बिरामी हुँ । आफूलाई फोबियाग्रस्त भनिरहँदा मलाई कुनै ग्लानि छैन तर कुनै गौरव पनि छैन । मलाई लागेको फोबिया संसारका ७.७ अर्ब मान्छेहरूमध्ये सायद एक जनालाई मात्र लागेको रोग हो । ममा अलि फरक खालको फोबिया छ । हो, म खीरफोबियाले पीडित छु ।


खीरफोबिया रे ? पहिलोपटक आफ्नो रोगबारे सुन्दा म आफैँलाई पनि पत्याउन मुस्किल परेको थियो । त्यही खीर, जुन स्वादका लागि प्रख्यात छ, त्यही खीरसित जोडिएको यति बेस्वादिलो रोग लाग्ला भनेर कहिल्यै सोचिनँ । कहिले हप्ताको अन्तरालमा, कहिले महिनाको अन्तरालमा म खीरफोबियाले इन्तु न चिन्तु हुन पुग्छु । संसारमा कसैलाई नलागेको खीरफोबिया रोग मलाई मात्र कसरी लाग्यो ? यो रोगसँग जोडिएको स्मृति उत्खनन गर्नु भनेको अलिकति आफैँलाई उत्खनन गर्नु हो, अलिकति उसलाई उत्खनन गर्नु हो ।

उसलाई भेटेको दिन मेरो निम्ति ऐतिहासिक दिन त थियो नै, उसलाई भेटेको अघिल्लो दिन पनि कम्ता ऐतिहासिक दिन थिएन ।

देशका अन्य ठाउँहरूमा गणतन्त्रको मन्दमन्द हावा चल्दा कीर्तिपुर केन्द्रीय क्याम्पसमा भने गणतन्त्रको चर्को बतास चलिरहेको थियो । ऊसित भेट हुनुभन्दा अघिल्लो दिन त्यो बतासले अलि गर्जनयुक्त रूप देखाएको थियो । देशमा राजाको एक प्रकारको निरंकुश शासन चलिरहेको बेला हामी अध्ययनरत क्याम्पसमा भने संवैधानिक राजतन्त्र कि गणतन्त्र भन्ने सवालमा मत सर्वेक्षण भइरहेको थियो । मत सर्वेक्षणमा मतदान गरेर सकिँदा नसकिँदै क्याम्पस हाताभित्रै आर्मीहरूको हस्तक्षेप, मतपेटिका क्याप्चरको प्रयास, धरपकड, ढुंगा हानाहान, ४–५ राउन्ड टियर ग्यास प्रहार–नेपालको राजनीतिक इतिहासमा कहीँकतै नलेखिएको यी सब घटनाहरू नजिकबाट देखेकी थिएँ, भोगेकी थिएँ ।


त्यही साँझ मैले चिनेको एक जना विद्यार्थी नेता मलाई भेट्न आउनुभयो । भन्नुभयो, ‘दिउँसोको मतदानको कारण प्रहरी तथा आर्मी जुनसुकै बेला होस्टलमा छापा मार्न आउनसक्छ । तपाईं होस्टलको प्रिफेक्ट भएको नाताले आफ्नो ब्लकका सबै साथीहरूलाई यो खबर पुर्‍याइदिनुहोला र सतर्क रहन भनिदिनुहोला । तपाईंसित राजनीतिक किताबहरू छन् भने मलाई दिनुहोला, म लुकाएर राख्दिन्छु । वातावरण अलि मत्थर भएपछि फिर्ता लग्नुभए हुन्छ ।’


रातको खानापछि आफ्नो ब्लकका सबै साथीलाई जम्मा गरेर आर्मी वा प्रहरीले छापा मार्न आउन सक्ने सम्बन्धमा जानकारी गराएँ र आफूसित भएका अलि क्रान्तिकारी मार्काका किताबहरूचाहिँ तुरुन्त लुकाउन आग्रह गरेँ । छापा मार्दा सबैभन्दा बढी खतरा कसैलाई हुन सक्थ्यो भने त्यो मलाई नै हुन सक्थ्यो किनभने निरंकुश राजतन्त्रले नरुचाउने सबैजसो क्रान्तिकारी किताबहरू मेरो टेबलमा थिए । राजनीतिमा चासो राख्ने हुनाले तिनताका म राजनीतिक किताबहरूको लतीजस्तै भएकी थिएँ । कविता लेख्थेँ । कविता पनि सबै–सबै राजनीतिक कविताहरू ।


माक्सिम गोर्कीको ‘आमा’, निकोलाई आस्त्रोवस्कीको ‘अग्निदीक्षा’, कार्लमार्क्सको ‘दास क्यापिटल’, लेनिनको ‘राज्य र क्रान्ति’, एंगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’, याङ मोको ‘युवाहरूको गीत’, माओको ‘रेड बुक’ र ‘माओका संकलित रचनाहरू’, मोहनविक्रम सिंहको ‘पेमा लामा प्रश्नोत्तर माला’, बाबुराम भट्टराईको ‘मोनार्की भर्सेस डेमोक्रेसी’ जस्ता थुप्रै किताब थिए मसित । एउटा प्लास्टिकको झोलामा ती सबै किताब राखेर त्यो रात होस्टल पछाडिको झाडीमा लगेर लुकाएँ । अन्य केही साथीले पनि त्यसै गरे ।


भोलिपल्ट दिउँसो कलेजमा मत सर्वेक्षणको नतिजा सुनाइयो । ९० प्रतिशतभन्दा बढी मत गणतन्त्रको पक्षमा खसेछ । त्यही साँझ खतरनाक मानिएका किताबहरू लिएर सोही विद्यार्थी नेताले दिएको ठेगानातर्फ लागेँ । कोठामा विद्यार्थी नेतासित भेट भएन तर उनै विद्यार्थी नेताको कोठामा ऊ भेटिएका थियो । केही सहजता, केही असहजताका साथ मैले आफू आउनुको कारण बताउँदै उसलाई ती किताब जिम्मा लगाएको थिएँ । किताब लिन म उभिएको ठाउँसम्म आउने बेला मैले याद गरेँ कि ऊ निकै अप्ठ्यारोसित खोच्याउँदै हिँडिरहेको छ । घाइते छ ।


‘तपाईं दुर्घटनामा पो पर्नुभएको हो ?’ अनायसै मेरो मुखबाट प्रश्न फुत्कियो ।


‘होइन, म जनयुद्घमा घाइते भएर उपचारका लागि काठमाडौं आएको हुँ,’ उसले सहजै बतायो ।


‘तपाईं जनमुक्ति सेना पो ?’ पहिलोपटक म कुनै भूमिगत माओवादी देखिरहेकी थिएँ । आँखैसामु कुनै लडाकु योद्घा देखिरहेकी थिएँ।


मैले कतै सूचना चुहाइदिएको भए उसको र विद्यार्थी नेता दुवैको ज्यान जान सक्थ्यो किनकि शाही सरकारको नजरमा माओवादी हुनु वा माओवादीलाई संरक्षण दिनु अक्षम्य अपराध जो मानिन्थ्यो । कुन विश्वासमा मलाई त्यति ठूलो सत्य यसै बतायो उसले ? मैले आजसम्म त्यसको कारण थाहा पाएकी छैन ।


उसको अनुहारभरि आला तथा पुराना घाउहरू थिए । मोजा लगाएको हुनाले खुट्टा त देख्न पाइनँ तर यसो उसका हातहरूतिर आँखा दौडाएँ । उसका हातका औँला र पञ्जाहरू यति खस्रा थिए कि अनायासै मलाई सौराहा घुम्न जाँदा देखेको गैंडाको खस्रो छालाको याद आएको थियो । के बन्दुक बोक्ने हातहरू यिनै हुन् ?


उसका आँखाहरू गडेका थिए तर गलेका थिएनन् । एकदमै वाचाल थिए । के रात–रातभर सेन्ट्रीमा तैनाथ आँखाहरू यिनै हुन् ?
उसलाई देखेपछि म मेरै मनसित कुरा गरिरहेको थिएँ । अनायासै उसले परिचयको पर्दा उठायो— म सिद्घार्थ भट्टराई । पार्टीमा चाहिँ मलाई कमरेड आलोक भनेर चिन्छन् । घरचाहिँ घाटी छिना, पोखरा ।


जवाफमा मैले पनि आफ्नो परिचय उघारेँ— म दुर्गा नेपाली । घर लंकु, चितवन । यहाँ होस्टलमा बसेर पढ्दैछु ।


‘उतिबेलाका सिद्घार्थ ध्यान गर्न जंगल पसेका थिए । यतिबेलाका सिद्घार्थचाहिँ जनयुद्घ गर्न जंगल पस्नुभएछ है !’ उसितको कुरा लम्ब्याउने ध्येयले फिस्स हाँस्दै भनेँ ।


‘जनयुद्घ पनि आफैँमा एक ध्यान नै हो दुर्गाजी !’ दार्शनिक पारामा मुस्कुराउँदै उसले भन्यो । उसको जवाफले एक छिन त म झनन्न भएँ ।


‘जनयुद्घमा चाहिँ किन लाग्नुभयो नि ?’ जिज्ञासावश मैले सोधेँ ।


‘खीरको कारणले लागेँ’, उसले छोटो तर अमूर्त जवाफ दियो । उसको अमूर्त जवाफले म पुनः झनन्न हुन पुगेँ ।


‘जनयुद्घ’ र खीरको बीचमा पनि कुनै सम्बन्ध हुन सक्छ ? उसको कुरा नबुझेर म अलमलमा परेँ । मेरो अलमल देखेर होला, उसले आफैँ रहस्यको पोको खोल्यो ।


‘त्यतिबेला म पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्ष थिएँ । भोलिपल्ट माओवादीले बन्दको आयोजना गरेको थियो र म अघिल्लो साँझ नै बाआमालाई भेट्न आफ्नो गाउँ घाटी छिना गएको थिएँ । बन्दको बिहान दूधको गाडी क्याम्पस हुँदै जाँदै रहेछ । बन्दका समर्थक हाम्रै विद्यार्थी संगठनका केही साथीले बन्दमा गाडी चलाउने भन्दै दूधको गाडी जलाइदिएछन् र दूध भने होस्टलमा लगेर सबै मिलेर खीर पकाएर खाएछन् । खीर पकाएर खाएका साथीहरू त जसोतसो उम्किए, तर गाडी जलाएको र खीर पकाएर खाएको आरोपमा कसै न कसैलाई पक्रनैपर्ने थियो । पक्राउ गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा छ भन्ने हल्ला सुनेँ । पटकपटक मलाई खोज्दै आर्मी होस्टलमा आएको रहेछ । साथीहरूले पकाएर खाएको खीरको मूल्य चुकाउन म ‘जनयुद्घ’ मा होमिनैपर्ने थियो किनकि माओवादी समथर्कलाई पक्रेर लगेपछि फिर्ता आउन लगभग असम्भवजस्तै थियो ।

ज्यान जोखिममै हाल्नु छ भने किन भूमिगत भएर राजनीतिक योद्घा नबन्ने? त्यसपछि म आफ्नो क्याम्पस, घर सब छोडेर भूमिगत हुनपुगेँ। यसरी आफूले नखाएको त्यो खीर नै मेरो जिन्दगीको निर्णायक मोड बनिदियो।’

ऊ हेर्दा सामान्यजस्तो देखिन्थ्यो तर उसका कुराहरू असामान्य लाग्थे। मलाई त्यही असामान्यपन मन परिरहेको थियो।

‘लडाइँमा हिँडेको मान्छे। बाहिर बलियो छु भने पनि भित्र कतै मर्नदेखि डर लाग्दैन तपाईंलाई?’, मैले भावुकतावशः सोधेँ।

‘मृत्यु त बस् एक घटना न हो, यो कतिबेला घटित हुन्छ, कसैलाई थाहा हुँदैन। म त झन् दुर्घटनाहरूलाई प्रेम गर्ने मान्छे परेँ,’ उसले भावुक नभई फिस्स हाँस्दै भन्यो।

म आफूलाई जब्बर सोच्थेँ। मेरोसामु महाजब्बर कोही उभिइरहेको थियो। त्यो महाजब्बरलाई मैले सोधिनँ—हाम्रो यो भेटलाई तपार्इं घटना मान्नुहुन्छ कि दुर्घटना?

०००

उसलाई भेटेको एक हप्ताभित्रै मैले चिनेको उनै विद्यार्थी नेताको बस दुर्घटनामा परी मृत्यु भयो भन्ने खबर क्याम्पसमा फैलियो। त्यो मृत्युसँगै ऊसितको सम्पर्कको सारा सम्भावनाको पनि मृत्यु भयो।

एकपटक मात्र भेटेको मान्छेको अनुहार त मान्छेले बिर्सन्छ पनि। उसको अनुहार भने मैले कहिल्यै बिर्सन सकिनँ। जबजब घरमा खीर पाक्थ्यो, त्यो खीरमा म उसको अनुहार देख्थेँ। कहिले बन्दुक बोकेर हिँडिरहेको अनुहार देख्थेँ। कहिले हिँड्दाहिँड्दै थाकेर लखतरान भएको अनुहार देख्थेँ। कुन्नि किन !प्रत्येकपटक उसको अनुहार देख्दा जनमुक्ति सेनाको अनुहार कम कुनै दार्शनिकको अनुहार बढी देख्थेँ।

कीर्तिपुरमा मेरो पढाइ सकिनु र ६२,६३ को जनआन्दोलन टुंगोमा पुग्नु लगभग एकै समयमा भयो। देशमा गणतन्त्र आयो। गणतन्त्रको निम्ति लड्ने ऊचाहिँ यतिबेला कहाँ, के गर्दै होला? मेरो मनले पटकपटक उसको बारेमा प्रश्न सोध्थ्यो। प्रश्न सधैं प्रश्नको रूपमै रह्यो किनकि तिनलाई दिने जवाफ मसित थिएन। यसरी उसित दोस्रोपटक भेट नै नभए पनि म बारबार उसलाई भेटिरहेकी हुन्थेँ–यादहरूमा।

पढाइ सकिएलगत्तै बैंक अफ काठमाडौंमा मेरो जागीरे जीवन सुरु भयो। जागिरे जीवन सुरु भएपछि चितवनबाट आमालाई ल्याएर आफ्नै फल्याटमा राखेँ। मेरो निम्ति आमाले धेरै दुःख गर्नुभएको थियो, अब भने म आमालाई सुख दिन चाहन्थेँ। विवाहको नाममा आमाले भोग्नुभएको प्रताडना देखेकी थिएँ। त्यसैले विवाह गर्न इच्छुक थिइनँ तर सन्तान भने चाहन्थेँ।

‘बिहे नगरी कसरी सन्तान पाउँछेस् तैँले?’ आमा बारम्बार सोध्नुहुन्थ्यो।

‘उचित समय आएपछि तपाईंको प्रश्नले आफैँ जवाफ पाउनेछ,’ म बारम्बार यसै भन्थेँ।

एकपटक अफिसले तालिमको सिलसिलामा पोखरा पठाउने भयो। पोखरा जाने भन्नासाथ मेरा खुट्टा तीन बित्ता उफ्रिए, मन भने तीन सय बित्ता। पोखरामा दुईदिने तालिम सकिएकै पल अरू साथीहरू घुम्न फेवातालतिर लागे, म भने उसलाई खोज्न उसको घरतिर लागेँ।

घाटी छिना, ठाउँको नाम नै अचम्मको हुनाले पनि उसको ठेगाना मेरो मनमा नमेटिने गरी कुँदिएको थियो। लेकसाइड सकिएलगत्तै आउँदो रहेछ खपौदी। खपौदी, लौरुख, ठूलाखेत, डुडाफाँट हुँदै घाटी छिना पुगेँ। घाटी छिनामा उसको घर पत्ता लगाउन मलाई खासै गाह्रो परेन। घाटी छिनाको पुल नजिकै रहेछ उसको घर।

घरको पिँढीमा एकजना वृद्घ महिला हुनुहुन्थ्यो।

‘नमस्ते आमा!’ मैले हात जोड्दै भने।

‘मलाई आमा नभन्नुस्। दिदी,काकी,फुपू, म्याडम अरू जे भने पनि भन्नुस् तर आमा नभन्नुस्’, अचानक ती बूढीआमा यसरी रन्किन् कि मेरो होस नै उडेजस्तो भयो।

अलि उमेर गएकी स्वास्नीमान्छेलाई ‘तपाईं मेरी आमाजस्तै लाग्यो’ भन्दा एकदम खुसी हुन्छन् तर ‘तपाईं मेरो बाउकी स्वास्नीजस्ती लाग्यो’ भन्दा रिसाउँछन् भन्ने चुट्किला सुनेथेँ। यहाँ त प्रचलित चुट्किलाले समेत हावा खाइरहेको थियो। मैले ‘आमा’ भन्दा कोही बेस्कन रिसाइरहेकी थिइन्। पहिलोपटक कसैलाई ‘आमा’ सम्बोधन गर्दा गाली खाइरहेकी थिएँ म।

‘ठीकै छ, म काकी भन्छु हजुरलाई त्यसो भए,’ यति बोलिसकेपछि मलाई केही बोल्न आएन। म मौन बसेँ निकैबेर। उनी पनि मौन बसिरहिन्। मौनतामा पनि म उनलाई नै हेरिरहेकी थिएँ। उनी भने पर कतैको क्षितिज हेर्दै टोलाइरहेकी थिइन्।

केही मिनेटको मौनतापछि उनी आफैँले मौनता तोडिन्, ‘नानी किन आउनुभएको थियो कुन्नि?’

‘मैले आजभन्दा तीन वर्षअगाडि हजुरको छोरा सिद्घार्थलाई कीर्तिपुरमा भेटेकी थिएँ। त्यतिबेला उनी लडाइँमा घाइते भएर उपचार गर्न आएका थिए। योपटक बल्ल पोखरा आउने साइत जुर्‍यो र सिद्घार्थको खबर के छ भनेर बुझ्न आएकी,’ मैले आफू आउनुको कारण बताएँ।

मेरो कुरा सकिँदा–नसकिँदै काकी आँखाबाट बरर्र आँसु झार्दै रुन थालिन्। उनको रुवाइले म अन्यमनस्क भएँ। उनी झन्झन् चर्को रुन थालिन् र रुँदैरुँदै भनिन्, ‘तीन वर्षअगाडि उपचारका लागि काठमाडौं गएको मेरो छोरा निको भएपछि एकपटक घर आएको थियो। जानेबेला अब व्यवस्था नफेरिएसम्म घर फर्कन्न भनेर गएको थियो। त्यसपछि कहाँ गयो? ज्युँदै छ कि मरिसक्यो? कुनै खबर आएको छैन। मेरो छोरा बेपत्ता छ। जुन दिनबाट मलाई आमा भन्ने मेरो एक्लो छोरा बेपत्ता भयो, त्यो दिनबाट मलाई कसैले आमा भनेको मन पर्दैन। जब कसैले आमा भन्छ, छोराको यादले मेरो छाती चिरिन्छ र म सहनै सक्दिना।’

सिद्घार्थ बेपत्ता छ त्यसो भए? उसको यादले पो हरदिनजसो हाजिरी जनाउन आउँथ्यो, मान्छे त उहिल्यै बेपत्ता भइसकेको रहेछ।

सिद्घार्थकी आमाले दुःखको पोको खोल्दै थिइन्, ‘सिद्घार्थका बा र म नजिकैको स्कुलमा पढाउँथ्यौं। छोरा बेपत्ता भएको पीडा सहन नसकेर उनले यो संसार छोडेर गए। छोरा बेपत्ता हुनाले बाँच्न त म पनि सकिरहेकी छैन। कुनै दिन छोरा फर्केर आयो भने उसले घरमा कोही पनि नदेख्दा के सोच्ला भन्ने सोचेर मर्न पनि सकिरहेकी छैन।’

– बेपत्ता छोराको खोजी त गर्नुभयो होला नि काकी?

–खोजी त गरेँ नि, किन नगर्नु? तर, दुःखको कुरा बेपत्ता भएको मेरो छोराको नाम बेपत्ताहरूको सूचीमा छैन।

–बेपत्ता छ तर बेपत्ताहरूको सूचीमा नाम छैन रे?

–उसले जुन पार्टीको निम्ति रगत र पसिना बगायो, त्यो पार्टी भन्छ, ‘कहीँकतै कसैले पक्राउ गरेर लगेको जानकारीमा आएन। त्यसैले बेपत्ताको सूचीमा उसको नाम राख्न मिल्दैन।’ प्रहरी वा आर्मीसित सोध्न गए हामीलाई तपाईंको छोराको बारेमा केही थाहा छैन भन्छ। म दुवै पक्षकालाई सोध्छु—त्यसो भए मलाई बताइदिनुस्, मेरो छोरालाई कसले खायो? जमिनले निल्यो कि आकाशले चपायो? मान्छे यसै त बेपत्ता हुँदैन। छोराले लडाइँमा शहादत प्राप्त गर्‍यो भनेर चित्त बुझाऊँ भने सहिदको सूचीमा छैन उसको नाम। बेपत्ता छ तर बेपत्ताहरूको सूचीमा पनि छैन उसको नाम। छोराले कसको निम्ति लडाइँ लड्यो? म भन्न सक्दिनँ। मेरो लडाइँं भने मेरो छोराको निम्ति चलिरहेको छ।’

–कस्तो लडाइँ काकी?

–मेरो छोराको नाम बेपत्ताहरूको सूचीमा राखियोस्। उसको पार्टी र राज्य दुवैसँग मेरो अन्तिम लडाइँ पनि यही हो र अन्तिम इच्छा पनि।

एउटा योद्घा छोरा बेपत्ता हुँदाको पीडामा पीडाको सिंगल डोज हुन्छ। बेपत्ता भएर पनि बेपत्ताहरूको सूचीमा पर्न नसक्दाको पीडामा भने पीडाको डबल डोज हुँदोरहेछ। म त्यो दिन सिद्घार्थकी आमालाई भेटेर फर्कंदा डबल डोजवाला पीडाको आहालमा डुबेर फर्किएँ।

जनयुद्घ रोकिएपछि जनयुद्घका थुप्रै पाटा उजागर भए। कतिको नायकत्व स्थापित गरियो, कतिको महिमामण्डन भो ! जनयुद्घअघि चप्पल पड्काएर हिँड्नेहरू रातारात करोडपतिको सूचीमा सूचीकृत भए। राजनीतिक लडाइँकै क्रममा बेपत्ता हुनु तर बेपत्ताको सूचीमा नपर्नु–यो पाटोलाई लिएर किन कसैले बोल्न आवश्यक ठानेन? किन सबै मौनताले साँधे?

घर फर्किएपछिको एक साता म औडाहाले निदाउन सकिनँ। त्यही औडाहामा मध्यरातमा एउटा कविता लेखेँ र शीर्षक राखेँ—बेपत्ताको सूचीमा नपरेको मान्छे। त्यसपछि भने असामान्यबाट हल्का सामान्य महसुस गर्दै थिएँ।

एकदिन अफिसबाट घर फर्कंदा आमा खीर पकाउँदै हुनुहुन्थ्यो। खीरको बास्ना पहिलोपटक मन परेन मलाई।

‘छोरी, आज भातको साटो खीर खाने है!खीर पकाउँदैछु। तिमीलाई पनि खीर एकदमै मनपर्छ,’ आमाको माया बोल्यो। मैले उहाँको मायालाई इन्कार गर्न सकिनँ। त्यसैले भन्न सकिनँ—म अबदेखि कहिल्यै खीर खादिनँ आमा। मलाई खीरले तीरले जस्तै घोच्छ।

त्यही रात डाइनिङ टेबलमा आमाले हामी दुवैका निम्ति कचौरामा खीर राख्नुभयो। पहिलोपटक खीर देख्दा आँसुले आँखा भरिए र मैले आफ्नो आँसुको कारण खीरको रङ ठम्याउन सकिनँ। सेतो हुनुपर्ने खीर रातोरातो देखेँ। पत्यार नलागेर आँसु पुछेर फेरि खीर हेरेँ। योपटक भने खीर निख्खर रातो देखेँ, एकदमै रातो। यस्तो लाग्यो, खीर दूधमा होइन, रगतमा पकाइएको हो। पहिले–पहिले खीरमा सिद्घार्थको अनुहार देख्थेँ, योपटक भने खीरमा सिद्घार्थको रगत देखेँ। बेपत्ता भएर पनि बेपत्ता हुनेहरूको सूचीमा पर्न नसकेको सिद्घार्थ।

‘नाईँ, खीर मेरो सामुन्ने नराख्नुस्। मलाई खीरसित डर लागिरहेछ आमा’, अचानक् पागलझैं चिच्याएँ म र चिच्याइरहेँ। मेरो चिच्याहट र असामान्यपन देखेर आमा निकै आत्तिनुभयो। त्यो रात चिच्याउँदा चिच्याउँदै म बेहोस हुन पुगेछु। भोलिपल्ट होसमा आउँदा म अस्पतालको बेडमा थिएँ र कहिल्यै निको नहुने नयाँ खाले फोबियाको रोगी भइसकेकी थिएँ।


प्रकाशित : माघ २५, २०७६ १३:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×