१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कमरेड रोशी

फूलमान वल

चिवा स्टेसन पुग्नुअघि मैले मोनोरेलभित्र निकै बेर गम खाएँ । किनकिन मलाई जापान बसाइ निकै पट्यारलाग्दो हुँदै गइरहेको थियो । विशेषगरी एउटा आकृतिले पछ्याइरहेको प्रति मलाई ताज्जुब लागिरहेको थियो ।

कमरेड रोशी

डा. तोसिआकी सेन्सेई नहुँदो हो त मैले उहिल्यै जापान छाडिसक्थें । शिरीषको फूल, सकम्बरी, मुडुलो टाउको अनि तोसिआकी । नागोयाबाट चिवा सर्नुपर्दा उनै तोसिआकी जमानत बसिदिएका थिए मेरो अपार्टमेन्टका लागि ।


चिवा स्टेसनमा मोनोरेल रोकियो । एक तमासको मन बोकेर म ओर्लिएँ । खासमा मैले मोनोरेल हुँदै जेआर लाइन समाउनुपर्ने थियो— सिनओगोबुका लागि । साँझ एउटा नेपाली रेस्टुरेन्टमा तोसिआकीको नेपाली फिल्म ‘कठपुतली’ सो हुनेवाला थियो । तर, म सीधै चिवा पोर्ट टावरतिर अघि बढें । टोकियो बे चुमेर आएको समुद्री हावाले दुवै गालामा बेस्सरी हान्दै थियो ।


सपनामा पछ्याउन आइरहने त्यो मलिन अनुहार कसको हुन सक्छ ?


कलेज पढ्दा ‘म्याजिक अफ द वर्ड’ मा ‘द रिकरिङ ड्रिम’ त पढेकै थिएँ । के म त्यही ड्रिमकी किम्बरली क्लार्क हुँ त ? मेरो सपनाको खास विशेषताचाहिँ के थियो भने हरेक रात दृश्य अघि बढ्दै जान्थ्यो । सिरियल ड्रिम ।


पोर्टतिर अघि बढ्दै गर्दा अघिल्लो रात देखेको सपनाको अन्तिम शृंखला रिवाइन्ड गरें— एउटा अग्लो पर्वत । लेकाली सालको घना जंगल । घुर्माइलो मौसम । घाम डाँडापारि डुबिसकेको भए पनि आकाश रातो थियो । रक्तिम किरणले डढेको बादल मन रुवाउनेगरी साम्राज्य विस्तार गरिरहेझैं देखिन्थ्यो । एउटा लोभलाग्दो नागबेली बाटो लेकतिर मोडिन्थ्यो ।


म यही सुनसान बाटोमा उभिएरहेको थिएँ ।


यही बेला एउटा पहेंलो पुतली लेकतिरबाट उड्दै–उड्दै आयो । लेकाली सालको रूखमा सुनाखरी फक्रिरहेको थियो । एउटा फूलको बैजनी पत्रमाथि पुतली नाच्दै–नाच्दै बस्यो । म पुतली नजिक गएँ । ऊ नाच्दै मेरो औंलामा थपक्क बस्न आइपुग्यो । मैले पुतलीसित आँखा जुधाएँ । पुतलीले पनि मुसुक्क हाँसेझैं गर्‍यो । ठीक यही बेला पछिल्तिरबाट बम पड्केको झैं भयंकार आवाज आयो ।
झस्किँदै म पछाडि फर्कें ।


पछिल्तिर एकदमै निख्खर कालो र अँध्यारो छाया उभिरहेको थियो । एकाएक मेरो आङ चिसो भयो । हठात फनक्क फर्केर पुतलीतिर हेरें– पुतलीको रंगीन पखेटा त छरफस्टिएर हावामा फैलिरहेको थियो । बिस्तारै हावामा तैरिरहेको पँखेटाको रङले एउटा इन्द्रेणी निर्माण गर्‍यो । अचम्म ! इन्द्रेणीभित्र एउटी युवतीको मधौरु आकृति देखियो ।


‘एक्स्क्युज मी ! तपाईंलाई कतिवटा टिकट चाहिएको हो र ?’


म झस्कें ।


चिवा पोर्ट टावर पुगिसकेको रहेछु । टिकट काउन्टरवालीले सोध्दै थिइन्, ‘एक्लै कि गर्लफ्रेन्ड पनि छ ?’


‘एक्लै’ मैले भनें ।


‘ए...ए... कसैलाई पर्खिरहनुभएको हो कि भनेर...’ चस्मावाली जापानी मुस्कुराइन्, मेरो एकोहोरो टोलाइलाई सायद उनले पर्खाइको अर्थ लगाएको हुनुपर्छ । हतार–हतार टिकट लिएर म टावरको फस्ट फ्लोरतिर अघि बढें ।


अघिपछि केटा–केटीहरू सपिङमा व्यस्त हुन्थे यहाँ । कोही कफिसपमा एकअर्काको अनुहार नियाल्दै भावुकता पिइरहेका हुन्थे । कोही एक्जिविसन रुमभित्र तस्बिर लिँदै देखिन्थे । यसपटक मैले केही पनि देखिनँ । मात्र लिफ्ट देखें । सीधै थर्ड फ्लोरका लागि बटम दबाएँ । दायाँपट्टिको थिएटर पनि ख्याल गरिनँ । मानसपटलमा उही सपनाले एकोहोरो हानिरहेको थियो ।


सेकेन्ड फ्लोरको वाल पेन्टिङ ‘अक्वा फ्यान्टासी’ पनि हेर्ने मन भएन यसपटक । सोझै थर्ड फ्लोर उक्लेँ क्याफे ला प्लेजमा । अहँ, यहाँ पनि मन स्थिर हुन मानेन । एउटा अमेरिकानो हातमै बोकेर फोर्थ फ्लोर उक्लें । टोकियो बेको फराकिलो सुन्दरता मुर्दाजस्तै लमतन्न पल्टियो आँखैअघिल्तिर । उत्तरतिर चिबा मारिन स्टेडियम, जुलोजिकल पार्क र माउन्ट सुकुबा आशौच बारिरहेझैं लाग्यो । पूर्वतिर अग्ला गगनचुम्बी भवनहरू मलामी गइरहेझैं झोक्रिरहेका थिए । नारिता एयरपोर्ट पनि धुम्म शिर निहुरिरहेझैं थियो ।
यही एयरपोर्ट हुँदै जापान पसेको थिएँ १५ वर्ष वर्षअघि । मुलुकमा संकटकाल थियो । साँच्चि कमरेड रोशी कहाँ बेपत्ता भई ?

कमरेड रोशीलाई मैले जनयुद्ध सुरु भएपछि भेटेको हुँ । त्यसअघि त उनी कमरेड रोशी थिइनन् । लासाङ थियो उनको नाम । लासाङसितचाहिँ मेरो सानैमा भेट भएको हो ।


सानो छँदा एक दिन ठूलीआमाले मलाई आफ्नो माइती लिएर जानुभएको थियो । काभ्रेको रोशी खोला किनारैकिनार महाभारतको खोँचतिर अघि बढेपछि आइपुग्थ्यो लुर्पुङबेंसी । दसैंको बेला थियो । आँपको रूखमा पिङ खेल्दै गर्दा एउटी सुशील अनुहारसित मेरो भेट भयो । उनी नै थिइन् लासाङ । त्यतिबेला उनी ललिपप चुस्दै पिङ खोस्न आइपुगेकी थिइन् । पिङ खोसाखोसमै हाम्रो घनिष्ठता बढेको थियो । मंगलटारमाथि महाभारतको उचाइमा वाल्टिङ गाउँ छ । त्यहीँ थियो लासाङको घर । लुर्पुङमा चाहिँ मामाघर । उनी त्यहीँ बसेर पढ्दै रहेछिन् ।


त्यसको चार वर्षपछि नमोबुद्धको जात्रामा हाम्रो भेट भयो । मंसिर पूर्णिमाको दिन थियो त्यो । म दिवंगत हजुरआमाको सम्झनामा बत्ती बाल्दै थिएँ छ्योर्तेनछेउ । हजुरबा ङो गर्नतिर व्यस्त हुनुहुन्थ्यो । अचानक कसैले पछिल्तिरबाट मेरो कपाल तान्यो । फर्केर हेरें, एक सम्मोहित युवती मुस्कुराउँदै उभिएकी थिइन् ।


‘मलाई चिनेनौ ?’ अनुहारमा उमेरको आभा पोखाउँदै उनले सोधिन् ।


म असमन्जस्यतामा परें । सायद मेरो गाला पनि रातो भएको थियो त्यसबखत ।


‘लु हेर हेर लजाको...’ युवतीले त सीधै मेरो गाला पो चिमोट्न थालिन्, ‘पिङ खेल्दा झगडा गरेको बिर्स्यौ ?’ लासाङका औंलाहरूमा बैंस चढेको हुनुपर्छ । मलाई हल्ला दुःखाइ महसुसु भयो ।


त्यो एउटा अल्लारे समय थियो ।


त्यही दिन हामी बनेपा बजार गयौं । उनी एकदमै फरासिली भइछिन् । नयाँ बन्दै गरेको बसपार्कछेउ उनले मलाई गलबन्दी किनिदिइन् । मसित पैसा थिएन, निकै अप्ठ्यारो मान्दै उनको उपहार स्विकारें । उनका मामाचाहिँ खोपासी–तालढुंगा सडकको ठेकेदार थिए । पैसाको खाँचै थिएन ।


मयूर हलमा हिन्दी फिल्म ‘रंगिला’ चलिरहेको थियो । उनैले फिल्मको टिकट काटिन् । लासाङले मेरो पाखुरा च्याप्प समातेकी थिइन् । मलाई भने कस्तो–कस्तो लागिरहेको थियो । हलभित्र पुग्नासाथ एउटा अज्ञात न्यापोपनको महसुस भयो । फिल्म चल्दै गर्दा लासाङले बिस्तारै मेरो हातमा आफ्ना औंलाहरू ल्याएर खप्ट्याइन् । उनका औंला एकदमै तातिएका थिए । फिल्म सकिँदा हामी दुवैका औंलाहरू पसिनाले लछप्प भिजेका थिए ।


यसपछि हामी चारदोबाटो छेवैको सूर्य फोटो स्टुडियो गयौं । उनकै आग्रहमा दुवै जना उभिएर तस्बिर खिच्यौं । पैसा उनैले तिरिन् ।
त्यसको एक महिना नबित्दै हाम्रो तिमाल गाउँको स्कुलमा लासाङको चिठ्ठी आयो । खामबाहिर लेखिएको थियो, ‘लैजा चरी हावा सरी, पेम्बाको हातमा पर्ने गरी ।’


चिठ्ठी दिनुअघि हेडसरले मलाई निकै घुरेर हेर्नुभयो । मलाई एकदमै अप्ठ्यारो लाग्यो । चिठ्ठी पाएपछिचाहिँ मनमा बेस्मारी उत्सुकता उम्लियो । कसैले नदेख्नेगरी सुटुक्क पिठौलीघारी गएँ । खाम खोलेर हेरें, बनेपामा खिचेको फोटोमा लासाङ मुसुक्क हाँसिरहेकी थिइन् । छेवैमा म हल्का लजाउँदै उभिएको थिएँ । पृष्ठभूमिमा सबैभन्दा माथि सुन्दर हिमाल, तल राता फूलहरू र दुबो लेपिएको सुन्दर बगैंचा ।


यसपछि नै हो मैले जीवनको पहिलो प्रेमपत्र लेखेको ।

मुलुकमा ‘जनयुद्ध’ चर्किँदै थियो ।


मेच्छेगाउँमा दौलतसिंहको घर लुटिएको चर्चासँगै रामेछापको बेथान चौकी आक्रमणको घटनाले हंगामा मच्चाइरहेको बेला लासाङ र मबिच भने प्रेमयुद्धको हंगामा मच्चिरहेको थियो । स्कुल, गाउँ, पाखाबारी, मेलादेखि गाउँका स–साना चियापसलसम्म हाम्रो प्रेमको सनसनी फैलियो । बुबा–आमा खेती किसानीमै व्यस्त– उहाँहरूलाई यतातिर केको चासो ?


प्रेमपत्र आदान–प्रदान जारी नै रह्यो । सायद प्रेममा अधीरता बढी हुन्छ क्यारे ! छ महिनामा हामीले सात–सातवटा चिठ्ठी आदान–प्रदान गरेछौं । यसपछि ? यसपछि भने उनी लासाङ रहिनन्– कमरेड रोशी बनिन् । हजुरबुबाले ठीकै भन्नुभएको रहेछ— साउनको भेल ह्वात्तै आउँछ, छिट्टै सुक्छ ।


तर, म त यति गहिरोसित प्रेममा परिसकेको थिएँ कि मनको खाटा सुक्नै मानेन । ढिँडो खाँदै गर्दा थालमा लासाङकै आकृति आएर थपक्क बसिदिन्थ्यो । पानी पिउँदै गर्दा अमखोरामा उनकै आकृति टिलटिलटिलपिल नाचेझैं लाग्थ्यो । विशेषगरी साँझपख असाध्यै नरमाइलो लाग्थ्यो । हाम्रो गाउँको आकाश हुँदै घाम महाभारत पर्वतमाथि अस्ताउँथ्यो । घरमास्तिरको छ्योर्तेनछेउ बसेर म लासाङको गाउँमाथि अस्ताउँदै गरेको घामको पहेंला किरण हेर्दै निकै बेर कोक्किएर रुन्थें । तिनताक हमेसा म घरको पश्चिमी झ्यालमा बसेर टोलाइरहन्थें । पश्चिमतिर लासाङको गाउँ पर्थ्यो ।


समय बित्दै गयो ।


मेरो एसएलसी बिग्रियो । दोस्रोपटक जसोतसो थर्ड डिभिजनमा पास भएँ । त्यसपछि पढ्न काठमाडौं आएँ । सहरको भुलभुलैया मनको मह्लम बन्यो ।


लासाङको चिठ्ठी आउन छोडेको डेढ वर्ष भइसकेको थियो ।


एक दिन गाउँ फर्किंदा मलाई दिनु भन्दै पसलमा कसैले बेनामे चिठ्ठी छोडेको थाहा पाएँ । जनवादी गीत गाउने एउटा टोलीले छाडिराखेको चिठ्ठी रहेछ त्यो । गाउँलेहरू निकै तर्सिएका रहेछन् । समय ठीक थिएन । सबैतिर त्रासको साम्राज्य थियो । स्कुलबाट केही विद्यार्थी जंगल पसेका थिए । तिनताक त्यस्ता बेनामे चिठ्ठीमा कि त अपरणको अग्रिम सूचना हुन्थ्यो, कि त चन्दा तोकिएको निर्णय ।


तर, त्यो चिठ्ठीमा भने रातो धागो बाँधिएको थियो । खोल्नुअघि निकै बेर सोचें । भयको भयंकर आँधी उठ्यो मनमा । अन्ततः हिम्मत गरें । सोचेभन्दा विपरीत भयो । अक्षरहरूमा त लासाङका औंलाका स्पर्श छरपस्टिएका थिए । मलाई एकाएक मयूर सिनेमाघरको सम्झनाले हिर्कायो । कस्तो विरोधाभास ! पानाभरि प्रणय हैन, क्रान्तिकारी स्पर्शका डोबहरू सल्बलाइरहेका थिए ।

प्रिय पेम्बा,
युद्ध मैदानबाट सम्झनाको दुई थुंगा फूल !
तिमी रिसाएका छौ भनेर मलाई राम्रोसँग थाहा छ । के गर्नु, तिमीलाई भन्नै नपाई समयको क्रान्तिकारी छलाङले मलाई अग्रगामी बाटोतिर हिँडाइदियो । मलाई लाग्छ— यही बाटो आजका युवाहरूले हिँड्ने उज्यालो बाटो हो ।
महाभारतको घना जंगलहरूमा बम र बारुदहरूसित लुकामारी खेल्दै गर्दा म तिमीलाई नै सम्झिरहेकी हुन्छु । चुरेको नागबेली उकालीहरूमा परिवर्तनको आवेग गाइरहेको बेला मेरा गीतको हर लयमा तिमी नै गुन्जिरहेको पाउँछु । आशा छ— एक दिन पक्कै पनि तिमीसित यही उज्यालो बाटोमा भेट हुनेछ । त्यसपछि हामी राता र क्रान्तिकारी मान्छेहरूको अग्रगामी मोर्चा साक्षी राखेर प्रेमको शंखघोष गर्नेछौं ।
–उही तिम्रो
लासाङ उर्फ रोशी

चिठ्ठीका धेरैजसो शब्द बुझ्न मलाई कठिन भयो । रोशी खोलासँग त उनको खास प्रेम नै थियो । त्यही भएर उनले आफ्नो नाम बदलेर रोशी राखिछन् । मेरो भने मन नै बदलिसकेको थियो । त्यही भएर चिठ्ठीका शब्दहरूले खासै स्पर्श गर्न सकेन । तर, जति कोसिस गरे पनि उनको यादले भने मनको भित्री तहमा झड्का दिई नै रहन्थ्यो ।


भोलिपल्ट बिहानै काठमाडौं फर्कें । तिनताक काठमाडौं पुग्न बनेपाबाट अर्को गाडी चढ्नुपर्ने पर्थ्यो । बनेपा आइपुगेपछि मनभित्र फेरि सम्झना भुलुक्क उम्लिएर आयो । मयूर सिनेमाहलको अघिल्तिरबाट गाडी गुड्दै गर्दा बलियोसित मन थामेर आँखा चिम्लिएँ ।
दिनहरू बित्दै गए ।


म सहर, उनी जंगल । मैले अब उनलाई बिर्सिनैपर्थ्यो । युद्ध र राजनीतिक अस्थिरताले सहरी युवाहरूमा क्रमशः निराशा बढ्दै थियो । धेरैजसो त विदेश पलायन हुने सोच राख्थे । म पनि जापानी भाषा सिक्न जान थालें । आरआर क्याम्पसपछाडि हवलचन्द्रको इन्स्टिच्युट थियो । तिनताक जापानी भाषाका लागि यो एकदमै राम्रो इन्स्टिच्युट मानिन्थ्यो ।


एक दिन इन्स्टिच्युटको फ्रन्ट डेस्कमा पल्टिरहेको एउटा समाचारले आँखा तान्यो । मानवअधिकारकर्मीहरूले सार्वजनिक गरेको सूचीको आधारमा लेखिएको समाचार थियो त्यो । राज्य र विद्रोही दुवैको तर्फबाट बेपत्ता पारिएकाहरूको नाम पनि त्यसमा थियो । तीमध्ये एउटा नाम थियो— लासाङ मोक्तान उर्फ रोशी । आमा भेट्न आएकी उनलाई साँझ खाना खाँदै गर्दा घरबाटै सैनिकहरूले उठाएका रहेछन् । मन भाउन्न भएर आयो— जापान जाऊँ कि गाउँ फर्कौं ?


द्वन्द्वकालमा गाउँ फर्किने कुरै भएन ।

टोकियो बेलाई चुमेर चिवा पोर्ट टावरमा ठोक्किन आइपुगेको हावाले मेरो गालामा बेस्सरी हिर्कायो । म झल्याँस्स भएँ । साँझ पर्न थालिसकेछ । अहो ! मलाई जेआर लाइन हुँदै सिनओगोबु पुग्नु छ । तर, मैले निर्णय फेरें । मलाई सपनामा पछ्याउने आकृतिले झन चिमोट्दै लगेको थियो । टावरबाट ओर्लिएर सोझै अपार्टमेन्टतिर फर्किएँ ।


अप्रिलको याम । अपार्टमेन्ट अघिल्तिरको फराकिलो सडक छेउछाउ बैजनी रङको साकुरा फुल्न थालिसकेको थियो । साँझ निकै बेर साकुराको बोटमुनि टोलाइरहें । अचम्म के भने मेरो सपनामा आउने सुनाखरी फूल, पुतली र साकुराको रङ एउटै थियो ।
त्यो साँझ पनि सपना दोहोरियो । यसपटक भयंकर आवाजसहित छरपस्टिएको पुतलीको बैजनी रङको पँखेटाले निर्माण गरेको इन्द्रेणीमा आकृति झन् स्पष्ट भएझैं लाग्यो । इन्द्रेणीबाट त्यो आकृति तलतल खस्दै गयो । लेकाली सालको घना जंगलभित्र दगुर्दै म आकृति पछ्याउन थालें । आकृति तलतल पुगेर निकै तल खोलाको अनकन्टार सुसाइमा बिलायो ।


त्यो आकृति लासाङको जस्तै थियो ।


मलाई रातभर निद्रा लागेन ।


भोलिपल्टै टोकियो युनिभर्सिटीको मास कम्युनिकेसन्स डिपार्टमेन्ट पुगेर प्रोफेसर डा. तोसिआकी सेन्सेईलाई भेटें । अघिल्लो दिन आउन नसकेकोमा माफी माग्नु त छँदै थियो तर मैले सदाका लागि जापान छाड्ने निर्णय पनि उनलाई सुनाउनुपर्थ्यो ।


‘अहो, सुयोगवीर बन्न लागेजस्तै छौ त...’ उनले मलाई गिज्याएझैं गरे ।


पारिजातको उपन्यास ‘शिरीषको फूल’ माथि फिल्म बनाएको उनलाई सुयोगवीर मनोदशा राम्रैसँग थाहा थियो । उनले गिज्याएपछि मैले उनको फिल्मको दृश्य सम्झें । के म जताततै सकम्बरीको मुडुलो टाउको र उनको छाया मात्रै देखेर तडपिने सुयोगवीर सिन्ड्रोमबाट ग्रसित भएकै हुँ त ?


मेरो एकतमासको गम्भीरता देखेपछि भने डा. तोसिआकी पनि गम्भीर भए ।


नेपाल फर्किनुअघिको साँझ हामीले सिवुयामा गएर अन्तिमपटक रक्सी पियौं ।

भुइँचालो गएको वर्ष दिन भइसकेको थियो ।


काठमाडौं उपत्यका निकै विरूप बनेको रहेछ । जापानको कमाइबाट बौद्धमा घर किन्न लगाएको थिएँ भाइलाई । मलाई घर एकदमै चिसो लाग्यो । सायद जापानको सिकनेस बाँकी नै थियो । डेढ दशकपछि देश फिरेको मान्छे । मुलुकमा के–के मात्रै भएन ? लोकतान्त्रिक आन्दोलन, राजाको बहिर्गमन चुनाव, माओवादी सरकार अनि भुइँचालो ।


मैले भाइलाई कमरेड रोशीबारे सोधें । लोकतान्त्रिक आन्दोलनको बेला उनी माओवादीसँग नजिक भएका थिए । उनले लामो निःश्वास ताने, ‘क्रान्तिकारी विचलन ! न सहिदको सम्मान, न बेपत्ताको खोजी । न त परिवारलाई राहत ।’


उनका अनुसार कमरेड रोशीको नाम सहिदहरूको सूचीमै थिएन । त्यसो भए के उनी जिउँदै छिन् त ? मन ढक्क फुल्यो । केही आशाको सुनाखरी पलायो ।


भाइले नै मलाई कमरेड छिन्ताङको नम्बर दिए । तिनताक छिन्ताङ राजनीतिक कमिसार थिए सायद । छिन्ताङलाई भेट्न भोलिपल्टै म बनेपातिर हानिएँ ।


उनको मोबाइल लामो समय व्यस्त भयो । म मयूर सिनेमाहल पुगें । हल बन्द थियो । फिल्म चल्न छाडेछ नेपालमा । मैले पालेलाई पाँच सय रुपैयाँ दिएर फकाएँ । भित्र छिरें । बाल्कोनीको सिटमा गएर बसें । दाहिनेतिर अनुहार फर्काएँ । लासाङ त्यहाँ थिएन । उनको हातको स्पर्श पनि थिएन ।


मेरो अनौठो व्यवहार देखेर पाले छक्क परे । मैले उनको हातमा अर्को पाँच सय थमाइदिएँ ।

अर्को दिन हामी खोपासी तालढुंगाको कच्ची बाटो बाइकमा हुइँकिरहेका थियौं । छिन्ताङ चुपचाप थिए । खासमा मलाई उनले केही पनि भनेका थिएनन् । यति भनेका थिए कि म तपाईंलाई कमरेड रोशी भेटाइदिनेछु ।’


मचाहिँ उनको बाइककै पछाडि घना उत्सुकता बोकेर मनको हावामा कावा खाइरहेका थिए— के कमरेड रोशीको बिहे भयो होला ? कतै तालढुंगातिर जाँडको भट्टी थापेर त बसेकी छैन ? स्याउँस्याउँती बालबच्चा जन्माइन् कि ? तिनले मलाई कसरी भुल्न सक्छिन् हँ ?
बाइक खानीखोलासम्म मात्रै जाँदोरहेछ । पहिरोले खाएको रहेछ बाटो । त्यहाँबाट हामी हिँडेरै तालढुंगा पुग्यौं । काठमाडौं उपत्यकाबाट फोहोर बगेको वाग्मती त यहाँ सङलो भएर बग्दोरहेछ ।


‘खै कमरेड रोशी ?’ मैले सोधें ।


‘आज हैन भोलि भेट हुन्छ,’ छिन्ताङले भने ।


त्यो साँझ उनकै काकाको घरमा बास बस्यौं । अनौठो के भने नेपाल आएपछि मलाई सपनाले पछ्याउन छाडेको थियो ।
भोलिपल्ट बिहानै छिन्ताङले गाउँको गोरेटो बाटो हिँडायो । घर्तीछापतिर जाने बाटो रहेछ त्यो । तीन घण्टा हिँडेपछि एउटा गाउँ आयो । कमरेड रोशीले बिहे गरेको गाउँ यही पो हो कि ? तर छिन्ताङ केही बोलेनन् ।


गाउँमास्तिरको नागबेली बाटो महाभारत लेकतिर उक्लिन्थ्यो । अघिअघि छिन्ताङ, पछिपछि म । अचम्म, सपनामा देखिएको जस्तै लेकाली सालको घना जंगल आइपुग्यो ।


घुर्माइलो मौसम । घाम डाँडापारि डुबिसकेको भए पनि आकाश रातो थियो । रक्तिम किरणले डढेको बादल मन रुवाउने गरी साम्राज्य विस्तार गरिरहेझैं देखिन्थ्यो । एउटा लोभलाग्दो नागबेली बाटो लेकतिर मोडिन्थ्यो ।


हामी त्यही बाटोमा उभियौं, जसरी म सपनामा सुनसान उभिएको थिएँ ।


‘अब ऊ त्याँ ढिस्कोमा जाऊँ,’ छिन्ताङको स्वर कामेजस्तो भयो ।


हामी सरासर ढिस्कोमा पुग्यौं । अक्करे भीरको तल निकै तल एउटा खोला बगिरहेको थियो— कोखाजोर खोला ।
‘कमरेड रोशीलाई यहीँनेर नांगै उभ्याइयोको थियो,’ छिन्ताङको स्वर झन् काम्यो ।


मेरो मनमा एकाएक भयको ढ्याङ्ग्रो बज्यो ।


‘हामी तीन जना यहाँ लस्करै बाँधिएका थियौं । आँखामा पट्टी लगाइएको थियो । कमरेड रोशी ‘जनयुद्ध जिन्दावाद’ भन्दै जोड–जोडले चिच्याइरहेकी थिइन् ।’


‘अनि ?’ म अधीर हुँदै गएँ ।


छिन्ताङ भन्दै थिए—
‘यही बेला गोली चलेको आवाज सुनियो । कमरेड रोशीको आवाज बन्द भयो । मेरो दाहिने पाखुरामा तातो पदार्थ सल्बलाएको जस्तो भयो । तत्क्षण एउटा अँध्यारो सुरुङजस्तो खाडलमा खस्यौं हामी । निकैपछि एउटा भयंकर आवाजसहित चिसो पानीको दहमा खसेको झैं भयो । पानीको छालले मेरो आँखाको पट्टी खुल्यो । हामीलाई यही ढिस्कोबाट गोली हानेर तल खोलामा खसाइएको रहेछ । दाहिने पाखुराबाट रगत बगिरहेको थियो । पानीमुन्तिर लुक्दै निकै तल पुगेर म निस्केँ । अनि राति नै मकवानपुर राईगाउँको सेल्टर पुगेर पार्टीलाई रिपोर्ट गरें कि ‘कमरेड रोशीलाई बचाउन सकिएन... ।’


यति भनेपछि छिन्ताङ भक्कानिदै रुन थाले । एकाएक मेरो मुटुको चाल रोकियो । आँखामा आक्रोशको आँसु बग्न थाल्यो । आँसुमा एउटा इन्द्रेणी खडा भयो । इन्द्रेणीभित्र सपनामा आइरहने लासाङको उही आकृति मुस्कुराउँदै उभियो । एक छिनपछि आकृतिको अनुहार सुस्तरी मलिन बन्दै गयो । तल–तल खस्दै गयो । म फेरि दौडिदै ढिस्कोमाथि पुगें । आकृति निकै तल पुगिसकेको थियो । कोखाजोर खोलाको सुसाइमा बिलाउनुअघि लासाङको आकृति झन् स्पष्ट भयो । उनी भन्न खोज्दै थिइन्, ‘पेम्बा, मलाई माफ गर, मैले तिमीलाई भुलेकी छैन ।’


म भावशून्य टोलाइरहें ।

प्रकाशित : माघ २५, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?