१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उकुच

उमा सुवेदी

जमुना र नरमायाबीच आज पनि झगडा भयो । झगडा बढ्दै गएपछि भुत्लाभुत्ली सुरु भयो । कुनै बेला उनीहरूको झगडा झोडा गाउँका लागि निकै दिनसम्म छलफल भइरहने विषय बन्थ्यो । तर, बिस्तारै गाउँलेका लागि यो सामान्य कुरा हुँदै गयो । केही समयपछि गाउँलेले यी दुई बूढीहरूको झैझगडामा चासो राख्नै छाडिदिए ।

उकुच


बाइस–पच्चीस वर्षअघिसम्म जमुना र नरमाया असाध्यै मिल्ने साथी थिए । उनीहरू एउटै गाउँमा हुर्के । एउटै स्कुलमा दस कक्षासम्म पढे । दुबै पढाइमा अब्बल थिए तर दुवैका बाआमाले दस कक्षा नसक्दै उनीहरूको बिहे गरिदिए । संयोगवश, दुवै एउटै गाउँमा बिहे भएर गए । बाल्यकालदेखिका साथी उनीहरू मेलापात र हाटबजार सँगसँगै जान्थे । तिनचुले जंगलमा सँगै गएर दाउरा र गाईबाख्राका लागि स्याउला ल्याउँथे । उनीहरूको मित्रता साँच्चै लोभलाग्दो थियो ।

जमुनाका श्रीमान् नेपाली सेनामा हल्दार थिए । उनको पोस्टिङ गोर्खातिर थियो । बिदामा बरोबर गाउँ आइरहन्थे । उनी आएसँगै झोडागाउँमा रौनक आउँथ्यो । गाउँका चिया पसलमा बसेर उनले आफ्नो तालिम र सैनिक जीवनका बारेमा रोचक र रोमान्चक किस्साहरू सुनाइरहन्थे । त्यसैले गाउँलेका लागि उनी नायकजस्तै थिए । गाउँका युवाहरूका लागि उनी आदर्श व्यक्ति थिए । उनकै कारण तिनीहरूले पनि सेनामा भर्ती हुने सपना देख्न थालेका थिए ।


नरमायाका श्रीमान् भने झोडा गाउँमै पसल चलाएर बसेका थिए । सानो भए पनि उनको पसलमा नपाइने केही थिएन । दालचामलदेखि भाँडाकुँडासम्म, सियोधागोदेखि जुत्ताचप्पलसम्म । कतिपय सामान त हाट बजारमा भन्दा उनकै पसलमा सस्तो पाइन्थ्यो । पसललाई आवश्यक पर्ने इन्डियन सामान किन्न मेची तरेर नक्सालबाडी जानुपर्दा नरमायाले गाडी भाडा हालेर आफूसँग जमुनालाई पनि लैजान्थिन् ।


जमुनाका तीन सन्तान जन्मिए पनि छोरी मात्र जीवित जन्मेकी थिई । दुइटा छोरा मरेका जन्मिए । नरमायाको एक छोरापछि अनेक उपाय गर्दा पनि गर्भ बसेन । जमुनाकी छोरी थिई सुरक्षा र नरमायाका छोरा सुबोध । दुवै जना भद्रपुरतिर डेरा बसेर मेची क्याम्पसमा पढ्थे र बिदाका दिन प्रायः सँगै गाउँ फर्किन्थे । एउटै गाउँ, एउटै स्कुल र क्याम्पस पनि एउटै भएकाले सुबोध र सुरक्षालाई एकअर्कासँग हिँड्न र कुरा गर्न कुनै संकोच थिएन । जमुना र नरमायालाई गाउँलेले उनीहरूका छोराछोरीको मित्रतालाई लिएर धेरैथरी कुरा सुनाउँथे । उनीहरूको मित्रतालाई कसैले सकारात्मक नजरले हेरेका थिए भने कसैले शंकाको दृष्टिले । जमुना र नरमायासँग बिनाप्रसंग छोराछोरीको कुरा गर्थे । उनीहरूको भनाइको सार एउटै हुन्थ्यो, ‘बढेका छोराछोरी यसरी टाँसिँदै हिँड्नु ठीक हैन ।’
तर, नरमाया र जमुनालाई कुनै आपत्ति थिएन । बरु उनीहरूको भित्री इच्छा थियो वर्षौदेखिको मित्रता सम्बन्धमा परिणत होस् भन्ने ।
तर, समयको खेल न हो । त्यति घनिष्ठ सम्बन्धको नियति यति खराब हुन्छ भनेर झोडा गाउँलेहरू आज पनि विश्वास गर्न सक्दैनन् । मित्रताको यो हदसम्मको पतन कसैका लागि पनि विश्वास गर्न सकिने कुरा थिएन । तर, त्यस्तै भैदियो ।

अन्ततः यो सानो, शान्त र सुन्दर झोडा गाउँमा पनि जनयुद्धको बाछिटा आइछाड्यो । जनयुद्ध सुरु भएपछिका दुई–तीन वर्ष त गाउँमा शान्ति नै थियो । तर, त्यसपछि गाउँको हावामा बिस्तारै बारुदको गन्ध फैलिन थाल्यो । गाविसमा विस्फोट हुन थाल्यो । गाउँमा माओवादी चहलपहल बढ्न थाल्यो । जततातै पर्चाहरू छरिन थाले । सेनाको सर्च अपरेसन र गाउँलेहरूसित केरकार गर्ने क्रम पनि बढ्न थाल्यो ।


पछिल्लो समय नरमायाका श्रीमान्ले आफ्नो पसल अलिक विस्तार गरेका थिए । पसलको एउटा खण्डमा हार्डवेयरहरू राख्न थाले । उनले बिजुलीका तारहरू पनि बेच्न थाले । एक दिन झोडा गाउँ आउँदै गरेको सेनाको जिप गाउँ नजिकै एम्बुसमा पर्‍यो । जिपमा भएका आधाउधी एम्बुसमै मारिए । बाँकी तीन–चार जना घाइते सेना भाग्न खोज्दाखोज्दै मारिए । त्यस घटनापछि झोडा गाउँमा सेनाको गस्ती र सर्च अपरेसन झनै तीव्र भयो । एक दिन दिउँसै नरमायाहरूको पसलमा छापा हाने । सेनाले भन्यो, ‘माओवादीहरूले प्रयोग गरेको पाइप, सकेट र बिजुलीका तारहरू यही पसलबाट लिएका हुन् । पसलका साहु र माओवादीबीच साँठगाँठ छ ।’
नरमायाका पतिलाई सेनाले नियन्त्रणमा लियो । त्यसपछि उनलाई कहाँ लगियो, कहाँ बेपत्ता भए भन्ने कसैले पत्ता लाउन सकेन । सेनाकहाँ जाँदा गिरफ्तारै गरिएको छैन भन्ने जवाफ आउँथ्यो । आफ्नै आँखासामु गिरफ्तार गरेर लगिएका आफ्ना श्रीमान्लाई सेनाले समातेकै छैन भनेपछि नरमाया कहाँकहाँ धाइनन् । तर, कसैबाट पनि सहयोग पाइनन् । आफ्नो बाबुलाई बिनाकसुर बेपत्ता पारेको कुराले सुबोध रातभरि निदाउन सकेको थिएन । एक त युवा जोस, त्यसमाथि सेनाको यस्तो ब्यवहार । सुबोधको रगत उम्लिन थाल्यो । एक रात ऊ घर छाडेर हिँड्यो । उसको सिरानमा भेटिएको चिठीमा लेखेको थियो, ‘आमा, हामीमाथि भएको अन्यायको प्रतिकार गर्न म पनि जनयुद्धमा सामेल भएँ ।’


सुबोध जनयुद्धमा लागेको केही दिनमै जमुनालाई पत्र आयो । पत्रमा लेखिएको थियो, ‘तपाईँका श्रीमान् हाम्रा शत्रु पक्षको सेनामा कार्यरत छन् । उनलाई यो पत्र पाएको तीन महिनाभित्र जागिर छाड्न लगाउनुस् । अन्यथा हामी भौतिक कारबाही गर्न पनि पछि पर्नेछैनौँ ।’


पत्र पाएर जमुना आत्तिइन् । तर, उनका श्रीमान् आत्तिएनन् । फोनमा जहानलाई सम्झाए, ‘त्यस्ता भुसुनासित डराइन्न ।’
एक दिन उनी हाकाहाकी गाउँ आए । उनी आएको केही दिन गाउँमा फेरि उल्लास छायो । उनका साथी संगातीबीच हँसिमजाक हुन थाल्यो । उनलाई विश्वास थियो, माओवादीहरूले उनको केही बिगार गर्न सक्दैनन् ।


तर, यो उनको अति आत्मविश्वास थियो र यही नै उनका लागि घातक सावित भयो ।


एक रात उनको घरमा माओवादीको एउटा जत्था आयो र उनलाई सुतिरहेकै ठाउँबाट नियन्त्रणमा लियो । जमुनाले श्रीमान्लाई छाडिदिन अनेक अनुनयविनय गरिन् ।


उनीहरूले भने, ‘उहाँसित केही कुरा बुझ्नु छ । तपाईँका श्रीमान् फिर्ता आउनुहुनेछ ।’


तर भोलिपल्टै लास बिरिङ खोलाको किनारमा फेला पर्‍यो ।


जमुना बेहोस भएर डङ्रङ्ग भुइँमा ढलिन् । आमालाई त छोरी सुरक्षाले सम्हाली तर उसको दिमाग भुल्भुली उम्लिन थाल्यो । पिताका हत्याराप्रतिको आक्रोशले उसलाई दिनरात पिरोल्न थाल्यो । के गरूँ र कसो गरूँको स्थितिमा उसको पढाइ पूरै डामाडोल भयो ।
त्यही महिनाको अन्त्यतिर सेनाको कारबाहीमा केही छापामारहरू मारिए । त्यो कारबाहीसँगै झोडा गाउँमा एउटा हल्ला फैलियो । नरमायाको छोरा सुबोधलाई सेनाले कब्जामा लिएर बेपत्ता बनाएको अपुष्ट खबर आयो । त्यो खबर सेलाउन नपाउँदै जमुनाको जीवनमा अर्को विपत्ति आइलाग्यो । माओवादीले सुरक्षाकै सुराकीले गर्दा छापामारहरू मारिएको र सुबोधलाई सेनाले कब्जामा लिएको आरोप लगाए । तिनीहरूले सुरक्षाका लागि कब्जामा लिए र जमुनालाई भने, ‘उहाँसित केही कुरा बुझ्नु छ । पछि
फिर्ता ल्याइदिनेछौं ।’


तर, उनका श्रीमान्झैँ छोरी पनि फर्केर आइन ।

‘सुबोधले गर्दा माओवादीहरूले जमुनाका श्रीमान् बेपत्ता बनाए ।’


‘सुरक्षाकै कारण सेनाले सुबोधलाई बेपत्ता पार्‍यो ।’


यी अपुष्ट हल्ला बढ्दै गएर बिस्तारै जमुना र नरमायाको मनमा जरा गाडे । जब भ्रम विश्वासमा परिणत हुन्छ, त्यो जति खतरनाक अरू केही हुन्न । त्यही खतरा बिस्तारै जमुना र नरमायाको जिन्दगीमा भित्रियो र त्यसले उनीहरूबीचको आत्मीय सम्बन्धलाई धरापमा पार्‍यो ।


सबैभन्दा पहिला जमुना र नरमायाबीच आउजाउ बन्द भयो । त्यसपछि बोलचाल बन्द भयो । त्यसपछि उनीहरू हिँड्ने बाटो फेरियो । उनीहरूले दाउरा र स्याउला ल्याउने जंगल फेरियो । एकअर्कालाई झुक्किएर देखिहाले भने हान्ने गोरुले हेरेझैँ हेर्दै प्याच्च थुक्क थाले । दुवैले एकअर्काको दुर्दशा, दुर्दिन र असमय मृत्युको कामना गर्न थाले ।


सुरुसुरुमा त गाउँलेहरूलाई लागेको थियो, यो मनमुटाव अस्थायी हो । समयले उनीहरू दुवैको घाउमा खाटा बसालिदिन्छ र एक दिन फेरि उनीहरू आपसमा उस्तै आत्मीय साथी बन्नेछन् । तर, गाउँलेहरूले सोचेजस्तो भएन । उनीहरूको घाउमा कहिल्यै खाटा बसेन । खाटा बस्न लागे पनि उनीहरू आफैँले आफ्नो घाउ कोट्याइहाल्थे । कुनै बेला झोडा गाउँमा उनीहरूबीचको मित्रता उदाहरणीय थियो तर अब भने उनीहरूबीचको शत्रुता चर्चित हुन थाल्यो ।


तर, हरेक साँझ उनीहरूको भेट बिरिंग खोलाको किनारमा भइछाड्थ्यो । किनाराको डिलमा बसेर घण्टौँ खोलापारि टाढाटाढासम्म हेरिरहन्थे । खोलापारिको गोरेटो हुँदै बेपत्ता भएका आफ्ना सन्तानहरू आई पो हाल्छन् कि भनेर हरेक दिन दुवै जना बाटो हेर्न जान्थे ।
खोलाको डिलमा फरकफरक ठाउँमा रहेका ठूलाठूला ढुंगाहरूमाथि बस्थे र घण्टौं आआफ्ना सन्तानको बाटो हेरिरहन्थे । दुवैलाई विश्वास थियो, एक न एक दिन आफ्नो सन्तान हाँस्दै, मुस्कुराउँदै आइपुग्नेछ । दुवैले हरेक रात देख्ने सपना उस्तैउस्तै हुन्छन् । हरेक रात सपनामा तिनका सन्तानहरू आउँछन् र भन्छन्, ‘म चाँडै आउँछु आमा ।’


सुरुसुरुमा त जमुना र नरमाया सन्तानको बाटो हेर्दै एक्लैएक्लै फत्फताइरहन्थे । तर, बिस्तारै उनीहरूले त्यहीँ ढुंगामाथि बसेर एकअर्कालाई सराप्न थाले । नरमायाले भन्थिन्, ‘यही जमुनीको लोग्ने र छोरीले मेरो घर बर्बाद पारे ।’


जमुना भन्थिन्, ‘यही नरी र यसको छोरोको कारण मेरा श्रीमान् मारिए र मेरी छोरी हराई ।’


बिस्तारै त्यो फत्फतले झगडाको रूप लियो । उनीहरू आआफ्नो ढुंगोमा बसेर एकअर्कातिर धारेहात लगाएर बाझाबाझ गर्न थाले ।
‘अइ नरी, खुब माओवादी हुनुपरेको हैन तेरो बूढो र छोरोलाई ? तिमीहरू त कुहिएर मर्नुपर्ने ।’ गणतन्त्र ल्यार के नापिस् तैँले ?
‘एइ जमुनी, तेरो लोग्ने र छोरी त सामन्ती सत्ताका मतियार पो थिए त । बुझिस् तैंले ? सामन्तीहरूले वर्षौँसम्म देशलाई लुटेर जनतालाई गरिब बनाएको कुरा कसलाई थाहा छैन गाउँमा ? तिमीहरू सबै यो गाउँका कलंक हौ । तिमीहरूको सत्यानाश होस् ।’
उनीहरूको दुस्मनीको यो रूपले कतिपय गाउँलेहरूलाई मनोरञ्जन दिलायो त केही चिन्तित पनि भए । उनीहरूको शत्रुता र झैझगडाका घटनामा मरमसला थपथाप गरेर गाउँलेहरूले एकअर्कालाई सुनाएर दिन कटाउन थाले ।


झगडाको विषय गाउँलेका लागि पुरानो भयो र नरमाया र जमुनाको झगडा पनि सामान्य दैनिकीजस्तो भयो ।


अब त जनयुद्ध सकिएर माओवादी सत्तामा पुगिसकेको पनि वर्षौं भइसकेको छ । नेपालमा एउटा युग समाप्त भएर अर्को युग सुरु भइसकेको छ । शोषण र दमनले निर्माण गरिदिएको चेतनाका पर्खालहरू भत्किएर पहिचान, आत्मसम्मान र अधिकारका कुराहरू मुद्दाका रूपमा परिणत हुन थालेका छन् । तर, पनि नरमाया र जमुनाको जीवनमा रत्तिभर यसले प्रभाव पारेको छैन । उनीहरू आज पनि जनयुद्धकै दिनमा छन् र आज पनि युद्ध सकिएर आफ्ना सन्तानहरू गाउँ फर्किएर आउँछन् भनेर पर्खिरहका छन् । उनीहरूको युग र चेतना फेरिएकै छैन । उनीहरूले हरेक दिन आफ्नो घाउ कोट्याएर आफ्नो दुखाइलाई सधैँ ताजा बनाइराखेका छन् ।

एक दिन नरमाया खोला किनारमा आइनन् । भोलिपल्ट, तेस्रो, चौथो र पाँचौं दिन पनि नरमाया नआएपछि जमुना एक्लै परिन् र उनले नरमायामाथि आरोप लगाउन पाइनन् । नरमायालाई सत्तोसराप गर्न नपाउँदा कताकता खल्लो महसुस गरिन् ।


साता दिन बित्यो । मनभित्रको आक्रोश र नरमायाप्रतिको घृणाले निकास नपाउँदा जमुनाको छटपटी बढ्न थाल्यो । उनले केही दिन त्यो छटपटी सहिन पनि । तर, धेरै दिन सहिराख्न सकिनन् ।


एक दिन झगडा गर्ने अनेक विषय र आरोप लगाउने मुद्दा लिएर उनी नरमायाको घरमै पुगिन् । नरमायाको घरको ढोका आधा खुलेको थियो । उनले जोडले ढोका खोलिन् र भित्र पसिन् ।


नरमाया उठ्नै नसक्ने भएर ओछ्यानमा टाँस्सिएकी थिइन् । उनको हाडछाला मात्र बाँकी थियो । अनुहारबाट उत्साह, आशा र विश्वास सबै धमिलिएर गैसकेका थिए । त्यस्ती कमजोर नरमायासित कसरी झगडा गर्नु ? कसरी उनलाई तथानाम भन्नु ? कसरी उनलाई भुत्ल्याउनु ? जमुना लाचार भइन् ।


कति दिनदेखि खाना खाएकै रहिनछिन् नरमायाले । जमुनाले आगो सल्काइन् । चुल्होमा कसौँडी बसालिन् । बट्टाबट्टीमा सोरसार रहेछ चामल । त्यही हालिन् । बारीमा मुला रहेछ । उखेलेर ल्याइन् । काटकुट पारेर आलु र मुलाको झोल तरकारी बनाइदिइन् । थालमा पस्किदिइन् र नरमायाको अगाडि तेर्स्याइन् ।


‘म एक्लै खान्नँ,’ नरमायाले भनिन् ।


जमुनाले नाइँ भन्न सकिनन् । आफूलाई पनि पस्किइन् । करिब बीस वर्षपछि उनीहरूले सँगै खाना खाए ।
‘मीठो पकाउन बिर्सेकी रहिनछस्,’ नरमायाले भनिन् ।


‘तेरो मुख मीठो हो,’ जमुनाले जवाफ दिइन् ।


दुई दिन दुई रात जमुनाको स्याहार पाएपछि नरमाया तंग्रिइहालिन् ।

त्यसपछि फेरि उनीहरू एकअर्काको हात समात्दै सँगसँगै बिरिंग खोलाको किनारमा पुगे । उही आआफ्नो ढुंगामा बसे । उसरी नै खोलापारि बाटोतिर हेरिरहे । हेर्दाहेर्दै फेरि झगडा गर्न थाले ।


झगडा गर्दागर्दै रात पर्‍यो । दुवै उठे । एकअर्काको हात समातेर फर्किए । जमुनाको घर पहिला आयो । नरमायाले छुट्टिने बेलामा अँध्यारो अनुहार पारेर भनिन्, ‘भोलि पनि सँगै जाऊँ । हाम्रा छोराछोरी चाँडै आउँछन् ।’


जमुनाले उसैगरी अनुहार अँध्यारो पारेर भनिन्, ‘उनीहरू गएको पनि त धेरै दिन भएको छैन नि ।’

प्रकाशित : माघ २५, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?