उकुच- कोसेली - कान्तिपुर समाचार

उकुच

उमा सुवेदी

जमुना र नरमायाबीच आज पनि झगडा भयो । झगडा बढ्दै गएपछि भुत्लाभुत्ली सुरु भयो । कुनै बेला उनीहरूको झगडा झोडा गाउँका लागि निकै दिनसम्म छलफल भइरहने विषय बन्थ्यो । तर, बिस्तारै गाउँलेका लागि यो सामान्य कुरा हुँदै गयो । केही समयपछि गाउँलेले यी दुई बूढीहरूको झैझगडामा चासो राख्नै छाडिदिए ।


बाइस–पच्चीस वर्षअघिसम्म जमुना र नरमाया असाध्यै मिल्ने साथी थिए । उनीहरू एउटै गाउँमा हुर्के । एउटै स्कुलमा दस कक्षासम्म पढे । दुबै पढाइमा अब्बल थिए तर दुवैका बाआमाले दस कक्षा नसक्दै उनीहरूको बिहे गरिदिए । संयोगवश, दुवै एउटै गाउँमा बिहे भएर गए । बाल्यकालदेखिका साथी उनीहरू मेलापात र हाटबजार सँगसँगै जान्थे । तिनचुले जंगलमा सँगै गएर दाउरा र गाईबाख्राका लागि स्याउला ल्याउँथे । उनीहरूको मित्रता साँच्चै लोभलाग्दो थियो ।

जमुनाका श्रीमान् नेपाली सेनामा हल्दार थिए । उनको पोस्टिङ गोर्खातिर थियो । बिदामा बरोबर गाउँ आइरहन्थे । उनी आएसँगै झोडागाउँमा रौनक आउँथ्यो । गाउँका चिया पसलमा बसेर उनले आफ्नो तालिम र सैनिक जीवनका बारेमा रोचक र रोमान्चक किस्साहरू सुनाइरहन्थे । त्यसैले गाउँलेका लागि उनी नायकजस्तै थिए । गाउँका युवाहरूका लागि उनी आदर्श व्यक्ति थिए । उनकै कारण तिनीहरूले पनि सेनामा भर्ती हुने सपना देख्न थालेका थिए ।


नरमायाका श्रीमान् भने झोडा गाउँमै पसल चलाएर बसेका थिए । सानो भए पनि उनको पसलमा नपाइने केही थिएन । दालचामलदेखि भाँडाकुँडासम्म, सियोधागोदेखि जुत्ताचप्पलसम्म । कतिपय सामान त हाट बजारमा भन्दा उनकै पसलमा सस्तो पाइन्थ्यो । पसललाई आवश्यक पर्ने इन्डियन सामान किन्न मेची तरेर नक्सालबाडी जानुपर्दा नरमायाले गाडी भाडा हालेर आफूसँग जमुनालाई पनि लैजान्थिन् ।


जमुनाका तीन सन्तान जन्मिए पनि छोरी मात्र जीवित जन्मेकी थिई । दुइटा छोरा मरेका जन्मिए । नरमायाको एक छोरापछि अनेक उपाय गर्दा पनि गर्भ बसेन । जमुनाकी छोरी थिई सुरक्षा र नरमायाका छोरा सुबोध । दुवै जना भद्रपुरतिर डेरा बसेर मेची क्याम्पसमा पढ्थे र बिदाका दिन प्रायः सँगै गाउँ फर्किन्थे । एउटै गाउँ, एउटै स्कुल र क्याम्पस पनि एउटै भएकाले सुबोध र सुरक्षालाई एकअर्कासँग हिँड्न र कुरा गर्न कुनै संकोच थिएन । जमुना र नरमायालाई गाउँलेले उनीहरूका छोराछोरीको मित्रतालाई लिएर धेरैथरी कुरा सुनाउँथे । उनीहरूको मित्रतालाई कसैले सकारात्मक नजरले हेरेका थिए भने कसैले शंकाको दृष्टिले । जमुना र नरमायासँग बिनाप्रसंग छोराछोरीको कुरा गर्थे । उनीहरूको भनाइको सार एउटै हुन्थ्यो, ‘बढेका छोराछोरी यसरी टाँसिँदै हिँड्नु ठीक हैन ।’
तर, नरमाया र जमुनालाई कुनै आपत्ति थिएन । बरु उनीहरूको भित्री इच्छा थियो वर्षौदेखिको मित्रता सम्बन्धमा परिणत होस् भन्ने ।
तर, समयको खेल न हो । त्यति घनिष्ठ सम्बन्धको नियति यति खराब हुन्छ भनेर झोडा गाउँलेहरू आज पनि विश्वास गर्न सक्दैनन् । मित्रताको यो हदसम्मको पतन कसैका लागि पनि विश्वास गर्न सकिने कुरा थिएन । तर, त्यस्तै भैदियो ।

अन्ततः यो सानो, शान्त र सुन्दर झोडा गाउँमा पनि जनयुद्धको बाछिटा आइछाड्यो । जनयुद्ध सुरु भएपछिका दुई–तीन वर्ष त गाउँमा शान्ति नै थियो । तर, त्यसपछि गाउँको हावामा बिस्तारै बारुदको गन्ध फैलिन थाल्यो । गाविसमा विस्फोट हुन थाल्यो । गाउँमा माओवादी चहलपहल बढ्न थाल्यो । जततातै पर्चाहरू छरिन थाले । सेनाको सर्च अपरेसन र गाउँलेहरूसित केरकार गर्ने क्रम पनि बढ्न थाल्यो ।


पछिल्लो समय नरमायाका श्रीमान्ले आफ्नो पसल अलिक विस्तार गरेका थिए । पसलको एउटा खण्डमा हार्डवेयरहरू राख्न थाले । उनले बिजुलीका तारहरू पनि बेच्न थाले । एक दिन झोडा गाउँ आउँदै गरेको सेनाको जिप गाउँ नजिकै एम्बुसमा पर्‍यो । जिपमा भएका आधाउधी एम्बुसमै मारिए । बाँकी तीन–चार जना घाइते सेना भाग्न खोज्दाखोज्दै मारिए । त्यस घटनापछि झोडा गाउँमा सेनाको गस्ती र सर्च अपरेसन झनै तीव्र भयो । एक दिन दिउँसै नरमायाहरूको पसलमा छापा हाने । सेनाले भन्यो, ‘माओवादीहरूले प्रयोग गरेको पाइप, सकेट र बिजुलीका तारहरू यही पसलबाट लिएका हुन् । पसलका साहु र माओवादीबीच साँठगाँठ छ ।’
नरमायाका पतिलाई सेनाले नियन्त्रणमा लियो । त्यसपछि उनलाई कहाँ लगियो, कहाँ बेपत्ता भए भन्ने कसैले पत्ता लाउन सकेन । सेनाकहाँ जाँदा गिरफ्तारै गरिएको छैन भन्ने जवाफ आउँथ्यो । आफ्नै आँखासामु गिरफ्तार गरेर लगिएका आफ्ना श्रीमान्लाई सेनाले समातेकै छैन भनेपछि नरमाया कहाँकहाँ धाइनन् । तर, कसैबाट पनि सहयोग पाइनन् । आफ्नो बाबुलाई बिनाकसुर बेपत्ता पारेको कुराले सुबोध रातभरि निदाउन सकेको थिएन । एक त युवा जोस, त्यसमाथि सेनाको यस्तो ब्यवहार । सुबोधको रगत उम्लिन थाल्यो । एक रात ऊ घर छाडेर हिँड्यो । उसको सिरानमा भेटिएको चिठीमा लेखेको थियो, ‘आमा, हामीमाथि भएको अन्यायको प्रतिकार गर्न म पनि जनयुद्धमा सामेल भएँ ।’


सुबोध जनयुद्धमा लागेको केही दिनमै जमुनालाई पत्र आयो । पत्रमा लेखिएको थियो, ‘तपाईँका श्रीमान् हाम्रा शत्रु पक्षको सेनामा कार्यरत छन् । उनलाई यो पत्र पाएको तीन महिनाभित्र जागिर छाड्न लगाउनुस् । अन्यथा हामी भौतिक कारबाही गर्न पनि पछि पर्नेछैनौँ ।’


पत्र पाएर जमुना आत्तिइन् । तर, उनका श्रीमान् आत्तिएनन् । फोनमा जहानलाई सम्झाए, ‘त्यस्ता भुसुनासित डराइन्न ।’
एक दिन उनी हाकाहाकी गाउँ आए । उनी आएको केही दिन गाउँमा फेरि उल्लास छायो । उनका साथी संगातीबीच हँसिमजाक हुन थाल्यो । उनलाई विश्वास थियो, माओवादीहरूले उनको केही बिगार गर्न सक्दैनन् ।


तर, यो उनको अति आत्मविश्वास थियो र यही नै उनका लागि घातक सावित भयो ।


एक रात उनको घरमा माओवादीको एउटा जत्था आयो र उनलाई सुतिरहेकै ठाउँबाट नियन्त्रणमा लियो । जमुनाले श्रीमान्लाई छाडिदिन अनेक अनुनयविनय गरिन् ।


उनीहरूले भने, ‘उहाँसित केही कुरा बुझ्नु छ । तपाईँका श्रीमान् फिर्ता आउनुहुनेछ ।’


तर भोलिपल्टै लास बिरिङ खोलाको किनारमा फेला पर्‍यो ।


जमुना बेहोस भएर डङ्रङ्ग भुइँमा ढलिन् । आमालाई त छोरी सुरक्षाले सम्हाली तर उसको दिमाग भुल्भुली उम्लिन थाल्यो । पिताका हत्याराप्रतिको आक्रोशले उसलाई दिनरात पिरोल्न थाल्यो । के गरूँ र कसो गरूँको स्थितिमा उसको पढाइ पूरै डामाडोल भयो ।
त्यही महिनाको अन्त्यतिर सेनाको कारबाहीमा केही छापामारहरू मारिए । त्यो कारबाहीसँगै झोडा गाउँमा एउटा हल्ला फैलियो । नरमायाको छोरा सुबोधलाई सेनाले कब्जामा लिएर बेपत्ता बनाएको अपुष्ट खबर आयो । त्यो खबर सेलाउन नपाउँदै जमुनाको जीवनमा अर्को विपत्ति आइलाग्यो । माओवादीले सुरक्षाकै सुराकीले गर्दा छापामारहरू मारिएको र सुबोधलाई सेनाले कब्जामा लिएको आरोप लगाए । तिनीहरूले सुरक्षाका लागि कब्जामा लिए र जमुनालाई भने, ‘उहाँसित केही कुरा बुझ्नु छ । पछि
फिर्ता ल्याइदिनेछौं ।’


तर, उनका श्रीमान्झैँ छोरी पनि फर्केर आइन ।

‘सुबोधले गर्दा माओवादीहरूले जमुनाका श्रीमान् बेपत्ता बनाए ।’


‘सुरक्षाकै कारण सेनाले सुबोधलाई बेपत्ता पार्‍यो ।’


यी अपुष्ट हल्ला बढ्दै गएर बिस्तारै जमुना र नरमायाको मनमा जरा गाडे । जब भ्रम विश्वासमा परिणत हुन्छ, त्यो जति खतरनाक अरू केही हुन्न । त्यही खतरा बिस्तारै जमुना र नरमायाको जिन्दगीमा भित्रियो र त्यसले उनीहरूबीचको आत्मीय सम्बन्धलाई धरापमा पार्‍यो ।


सबैभन्दा पहिला जमुना र नरमायाबीच आउजाउ बन्द भयो । त्यसपछि बोलचाल बन्द भयो । त्यसपछि उनीहरू हिँड्ने बाटो फेरियो । उनीहरूले दाउरा र स्याउला ल्याउने जंगल फेरियो । एकअर्कालाई झुक्किएर देखिहाले भने हान्ने गोरुले हेरेझैँ हेर्दै प्याच्च थुक्क थाले । दुवैले एकअर्काको दुर्दशा, दुर्दिन र असमय मृत्युको कामना गर्न थाले ।


सुरुसुरुमा त गाउँलेहरूलाई लागेको थियो, यो मनमुटाव अस्थायी हो । समयले उनीहरू दुवैको घाउमा खाटा बसालिदिन्छ र एक दिन फेरि उनीहरू आपसमा उस्तै आत्मीय साथी बन्नेछन् । तर, गाउँलेहरूले सोचेजस्तो भएन । उनीहरूको घाउमा कहिल्यै खाटा बसेन । खाटा बस्न लागे पनि उनीहरू आफैँले आफ्नो घाउ कोट्याइहाल्थे । कुनै बेला झोडा गाउँमा उनीहरूबीचको मित्रता उदाहरणीय थियो तर अब भने उनीहरूबीचको शत्रुता चर्चित हुन थाल्यो ।


तर, हरेक साँझ उनीहरूको भेट बिरिंग खोलाको किनारमा भइछाड्थ्यो । किनाराको डिलमा बसेर घण्टौँ खोलापारि टाढाटाढासम्म हेरिरहन्थे । खोलापारिको गोरेटो हुँदै बेपत्ता भएका आफ्ना सन्तानहरू आई पो हाल्छन् कि भनेर हरेक दिन दुवै जना बाटो हेर्न जान्थे ।
खोलाको डिलमा फरकफरक ठाउँमा रहेका ठूलाठूला ढुंगाहरूमाथि बस्थे र घण्टौं आआफ्ना सन्तानको बाटो हेरिरहन्थे । दुवैलाई विश्वास थियो, एक न एक दिन आफ्नो सन्तान हाँस्दै, मुस्कुराउँदै आइपुग्नेछ । दुवैले हरेक रात देख्ने सपना उस्तैउस्तै हुन्छन् । हरेक रात सपनामा तिनका सन्तानहरू आउँछन् र भन्छन्, ‘म चाँडै आउँछु आमा ।’


सुरुसुरुमा त जमुना र नरमाया सन्तानको बाटो हेर्दै एक्लैएक्लै फत्फताइरहन्थे । तर, बिस्तारै उनीहरूले त्यहीँ ढुंगामाथि बसेर एकअर्कालाई सराप्न थाले । नरमायाले भन्थिन्, ‘यही जमुनीको लोग्ने र छोरीले मेरो घर बर्बाद पारे ।’


जमुना भन्थिन्, ‘यही नरी र यसको छोरोको कारण मेरा श्रीमान् मारिए र मेरी छोरी हराई ।’


बिस्तारै त्यो फत्फतले झगडाको रूप लियो । उनीहरू आआफ्नो ढुंगोमा बसेर एकअर्कातिर धारेहात लगाएर बाझाबाझ गर्न थाले ।
‘अइ नरी, खुब माओवादी हुनुपरेको हैन तेरो बूढो र छोरोलाई ? तिमीहरू त कुहिएर मर्नुपर्ने ।’ गणतन्त्र ल्यार के नापिस् तैँले ?
‘एइ जमुनी, तेरो लोग्ने र छोरी त सामन्ती सत्ताका मतियार पो थिए त । बुझिस् तैंले ? सामन्तीहरूले वर्षौँसम्म देशलाई लुटेर जनतालाई गरिब बनाएको कुरा कसलाई थाहा छैन गाउँमा ? तिमीहरू सबै यो गाउँका कलंक हौ । तिमीहरूको सत्यानाश होस् ।’
उनीहरूको दुस्मनीको यो रूपले कतिपय गाउँलेहरूलाई मनोरञ्जन दिलायो त केही चिन्तित पनि भए । उनीहरूको शत्रुता र झैझगडाका घटनामा मरमसला थपथाप गरेर गाउँलेहरूले एकअर्कालाई सुनाएर दिन कटाउन थाले ।


झगडाको विषय गाउँलेका लागि पुरानो भयो र नरमाया र जमुनाको झगडा पनि सामान्य दैनिकीजस्तो भयो ।


अब त जनयुद्ध सकिएर माओवादी सत्तामा पुगिसकेको पनि वर्षौं भइसकेको छ । नेपालमा एउटा युग समाप्त भएर अर्को युग सुरु भइसकेको छ । शोषण र दमनले निर्माण गरिदिएको चेतनाका पर्खालहरू भत्किएर पहिचान, आत्मसम्मान र अधिकारका कुराहरू मुद्दाका रूपमा परिणत हुन थालेका छन् । तर, पनि नरमाया र जमुनाको जीवनमा रत्तिभर यसले प्रभाव पारेको छैन । उनीहरू आज पनि जनयुद्धकै दिनमा छन् र आज पनि युद्ध सकिएर आफ्ना सन्तानहरू गाउँ फर्किएर आउँछन् भनेर पर्खिरहका छन् । उनीहरूको युग र चेतना फेरिएकै छैन । उनीहरूले हरेक दिन आफ्नो घाउ कोट्याएर आफ्नो दुखाइलाई सधैँ ताजा बनाइराखेका छन् ।

एक दिन नरमाया खोला किनारमा आइनन् । भोलिपल्ट, तेस्रो, चौथो र पाँचौं दिन पनि नरमाया नआएपछि जमुना एक्लै परिन् र उनले नरमायामाथि आरोप लगाउन पाइनन् । नरमायालाई सत्तोसराप गर्न नपाउँदा कताकता खल्लो महसुस गरिन् ।


साता दिन बित्यो । मनभित्रको आक्रोश र नरमायाप्रतिको घृणाले निकास नपाउँदा जमुनाको छटपटी बढ्न थाल्यो । उनले केही दिन त्यो छटपटी सहिन पनि । तर, धेरै दिन सहिराख्न सकिनन् ।


एक दिन झगडा गर्ने अनेक विषय र आरोप लगाउने मुद्दा लिएर उनी नरमायाको घरमै पुगिन् । नरमायाको घरको ढोका आधा खुलेको थियो । उनले जोडले ढोका खोलिन् र भित्र पसिन् ।


नरमाया उठ्नै नसक्ने भएर ओछ्यानमा टाँस्सिएकी थिइन् । उनको हाडछाला मात्र बाँकी थियो । अनुहारबाट उत्साह, आशा र विश्वास सबै धमिलिएर गैसकेका थिए । त्यस्ती कमजोर नरमायासित कसरी झगडा गर्नु ? कसरी उनलाई तथानाम भन्नु ? कसरी उनलाई भुत्ल्याउनु ? जमुना लाचार भइन् ।


कति दिनदेखि खाना खाएकै रहिनछिन् नरमायाले । जमुनाले आगो सल्काइन् । चुल्होमा कसौँडी बसालिन् । बट्टाबट्टीमा सोरसार रहेछ चामल । त्यही हालिन् । बारीमा मुला रहेछ । उखेलेर ल्याइन् । काटकुट पारेर आलु र मुलाको झोल तरकारी बनाइदिइन् । थालमा पस्किदिइन् र नरमायाको अगाडि तेर्स्याइन् ।


‘म एक्लै खान्नँ,’ नरमायाले भनिन् ।


जमुनाले नाइँ भन्न सकिनन् । आफूलाई पनि पस्किइन् । करिब बीस वर्षपछि उनीहरूले सँगै खाना खाए ।
‘मीठो पकाउन बिर्सेकी रहिनछस्,’ नरमायाले भनिन् ।


‘तेरो मुख मीठो हो,’ जमुनाले जवाफ दिइन् ।


दुई दिन दुई रात जमुनाको स्याहार पाएपछि नरमाया तंग्रिइहालिन् ।

त्यसपछि फेरि उनीहरू एकअर्काको हात समात्दै सँगसँगै बिरिंग खोलाको किनारमा पुगे । उही आआफ्नो ढुंगामा बसे । उसरी नै खोलापारि बाटोतिर हेरिरहे । हेर्दाहेर्दै फेरि झगडा गर्न थाले ।


झगडा गर्दागर्दै रात पर्‍यो । दुवै उठे । एकअर्काको हात समातेर फर्किए । जमुनाको घर पहिला आयो । नरमायाले छुट्टिने बेलामा अँध्यारो अनुहार पारेर भनिन्, ‘भोलि पनि सँगै जाऊँ । हाम्रा छोराछोरी चाँडै आउँछन् ।’


जमुनाले उसैगरी अनुहार अँध्यारो पारेर भनिन्, ‘उनीहरू गएको पनि त धेरै दिन भएको छैन नि ।’

प्रकाशित : माघ २५, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

ऋण

ज्योति जङ्गल

हेपाली हाइटबाट टोखा जाने बाटोमा दक्षिण मोहडा गरेको एकतले घर थियो । रातो माटोले पोतिएको । टायलको छानो कुनै पुरुषको शिरमा अडिएको मैलो टोपीजस्तो देखिन्थ्यो । माटाले जोडेको पुरानो त्यो घरमा बाटोतिर फर्किएको एउटा मात्र मूलढोका थियो । ढोकासँगै जोडिएको सानो खोपीजस्तो काठे पल्लाको झ्याल थियो । बाटोबाट पाँच/छ फिटभित्र रहेको घरअगाडि फूलका झ्याङ र लहराले जेलेर बनेको बाक्लो तहले एक कभिम पर्खालकै काम गरेको थियो ।

बाटोमा गुड्ने गाडीले उडाएको धूलो धेरैजसो त्यही पर्खालमै अडिन्थे । सम्झना यसै घरमा बस्थी । उसको लोग्ने रामेश्वरले अंश पाएको घर थियो त्यो ।


फागुन तेस्रो हप्ता सम्झनाले बालुवाटारको पप्पी हाउसबाट एउटा कुकुर लिएर आई । जुन दिन उसको लोग्ने हराएको सात वर्ष भइसकेको थियो । भोलिपल्ट उसकी सासू सानीमैयाँले बाटो हिँड्दा कुकुर देखी । आँगनमा उभिएर आश्चर्य हुँदै बुहारीलाई सोधी, ‘ओइ कान्छी ! तैंले कुकुर पो ल्याइछस् त ! तेरो घरमा कहाँ आँट्छ यो कुकुर ? के ख्वाएर पाल्छेस् ? माजनकाँ पाल्ने जातको जस्तो छ, कत्ति राम्रो ! ठीकै छ, सुरक्षा त गर्छ । तर किन पो चाहियो अब सुरक्षा ? कान्छो कता गयो कता ?’ सानीमैयाँको बानी यस्तै थियो । मनमा आएका कुरा भनिसकेर मात्र बिसाउने ।


सम्झना चुप लागेर सुनिरही । उसको अनुहारमा छाएको यो सन्नाटा लोग्ने हराएदेखि नै सुरु भएको थियो । ‘कहिलेकाहीँ यिनै सासू त छन् मेरो खबर सोध्ने । यो सानो आँगनमा उभिएरै भए पनि मलाई आमाको स्नेह दिलाउँछिन् ।’ सम्झना छिमेकमा यस्तै भन्थी । तर, त्यसबेला सासूका प्रश्नको उत्तर दिइन । सासूको आवाज सकारात्मक गुञ्जनले भरिएका जस्ता लागे ।


फेरि एक छिनमा उसले केही सम्झेजस्तो गरेर भनी, ‘यसपालि छोराले दस पास गर्छ । ऊ पनि कता पढ्ने हो । मलाई साथी हुन्छ भनेर ल्याएको । फेरि तपाईंको छोराको कुकुर पाल्ने कत्रो सोख थियो । मैले पूरा गरेँ ।’ सम्झना हाँस्न खोजी तर ओठ बन्दका बन्दै रहे ।


बिस्तारै कुकुरको चर्चा हुन थाल्यो हेपाली टोलमा । ‘राम’ भनेर बोलाउँथी ऊ कुकुरलाई । आफ्नै लोग्नेको छोटो नाम । बूढापाकाहरू भगवान्को नाम राखेको भनेर कुरा गर्थे । उसको लोग्ने कहाँ थियो, कसैलाई पत्तो थिएन । गाउँ, छिमेक या आफन्त कसैलाई सुँइको थिएन ।


कुकुर किङ सेफर्ड जातको थियो । त्यसलाई किन्न उसले सुनको तिलहरी बेचेकी थिई भनेर टोलमा हल्ला चलेको थियो । अझ कुकुर सम्झनासँगै ओछ्यानमा सुत्छ भन्ने गाइँगुइँले त छेउछाउ बग्ने हावा पनि भरिएको थियो । ऊ रामसँग बात मारिरहन्थी । ‘तेरो मालिक आउनुहुन्छ चनाखो हुनू’ भनेर दिनमा दसौंपटक भनिरहन्थी । प्रत्येक साँझ ऊ रामलाई ‘घरको ढोका लगाउँदिनँ म, तँ ढोकामा बस्’ भन्थी । बसिदिन्थ्यो राम पनि आज्ञाकारी भएर । केही बेरमा फेरि माया लाग्थ्यो सम्झनालाई र आफूसँगै लिएर भित्र जान्थी ।
घर ल्याएको छ महिनापछाडि सम्झनाले रामलाई तालिम दिने ठाउँमा लान थाली । राम एकदमै चनाखो हुन थालेको थियो र हमलादार पनि । चार वर्षसम्म उसले तालिम दिइरही । राम घरको सदस्यभन्दा ज्यादा सम्झनाको सहयात्री भयो । छोराको बारेमा गुनासो सुनिदिने, छोराको एसएलसीको नतिजा सबभन्दा पहिला सुन्ने । बिरामी हुँदा सन्चो छैन भनेर सम्झनाले सुनाउने साथी पनि राम भइदियो ।

सात वर्षअघिको एक दिन । घरमा भात खाँदाखाँदै एक जना मानिसले रामेश्वरलाई आँगनमा आएर डाकेका थिए । जुठा हात धोएर उसको लोग्ने एक छिनलाई बाहिर निस्केको थियो । त्यो मिति सम्झनाले थुप्रैपटक सुनाइसकेकी थिई रामलाई । रामेश्वरले नीलो रङको सर्ट लगाएको थियो । लिन आउने मानिस को थियो ? सम्झनाले चिनेकी त थिइन् । तर, त्यो मान्छेको दबब्रे हातको कान्छी औंला भने काटिएर ठूटो मात्र बाँकी थियो । यो सबै रामले सुनिसकेको थियो । कुनै पाइलाको आवाज आउनेबित्तिकै खुरुरु कुदेर बाहिर निस्कनु सम्झनाको दोहोरिइरहने चर्या थियो । त्यसबेला बाहिर निस्कँदा सम्झनाका हावामा उडेका खुट्टाका चाल रामलाई बडो नृत्यमय लाग्थे । प्रत्येकपटक सम्झना रित्तो फर्किन्थी र भित्र मझेरीको पश्चिमपट्टि राखेको पुरानो सोफामा थ्याच्च बस्थी । उदास भएकी मालिक्नीलाई फकाउन राम लुसुक्क काखमा टाउको लुकाएर घुस्रिन जान्थ्यो । त्यसबेला ऊ दाह्रा किट्थी र रामलाई भन्थी, ‘तँ मेरो साथी होस्, घरमा बसिस्, परिवार भइस् तर तँलाई गरेको मेरो स्याहार तेरो ऋण हो, तैंले यो ऋण तिर्नुपर्छ ।’ राम टाउको हल्लाएर स्वीकृति जनाउँथ्यो । मानौं, ऊ त्यसका लागि ज्यानै दिन तयार छ ।


उसको लोग्ने हराएको केही वर्षपछि युद्ध समाप्त भएको थियो । तर, सम्झनाको दैनिकीमा एउटा काम थपिएको थियो । महिनामा एकपटकजस्तो बानेश्वरमा रहेको इन्द्रबाबुको कार्यालय जान्थी । उनलाई देखेपछि सम्झनाका आँखा उज्याला हुन्थे । घरमा हुँदा रामेश्वरले आक्कलझुक्कल इन्द्रबाबुको नाम लिएको सुनेकी थिई । एकपटक इन्द्रबाबु उसको पालिकामा सामाजिक पार्टीलाई भोट माग्न आउँदा सम्झनाको घर पनि आएका थिए । इन्द्रबाबु देब्रेतिर अलिकति ढल्किएर हिँड्थे र एउटा हात सधैं गोजीभित्र हुन्थ्यो । उनको नमस्ते फर्काउने तरिका पनि फरक खालको थियो । नमस्ते फर्काउँदा उनी दाहिने हात छातीमा राखेर टाउको झुकाउँथे । पार्टीको ठूलै पदमा बसेका उनलाई रामेश्वर बेपत्ता भएको पहिल्यै थाहा रहेछ । सम्झनाले घटना सुनाउनुअघि नै उनले ‘रामेश्वरको बारेमा खोजी भइरहेको छ, छिट्टै पत्ता लाग्छ’ भनेपछि सम्झना त्यही कुरा सोध्न बानेश्वर जान थालेकी थिई । त्यसरी नै चिनेकी थिई सम्झनाले इन्द्रबाबुलाई । लोकतन्त्र आएपछिको समयका इन्द्रबाबु ठूला राजनीतिज्ञ थिए । भूमिगत भएका र पार्टीमा योगदान गरेका कारण इज्जतदार पनि थिए । इन्द्रबाबुकै सहयोग लिएर उसले विभिन्न आयोगमा श्रीमान् बेपत्ता भएको निवेदन हालेकी थिई ।

इन्द्रबाबुले उसलाई सत्य निरूपण तथा मेलमिलाप आयोग पनि पुर्‍याएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पनि निवेदन दिन लगाएका थिए । यस्तै सहयोगको प्रभावस्वरूप ऊ इन्द्रबाबुकहाँ गइरहन्थी । तर, इन्द्रबाबुका आँखा भने उसलाई देखेपछि झिँझोले भरिएका जस्ता हुन्थे । इन्द्रबाबुलाई भेटेपछि उसले सधैं एउटै प्रश्न सोध्थी, ‘सर ! प्रगति केही भयो कि ?’ इन्द्रबाबु हात गोजीमा राखेर दुई शब्द बोल्थे । छ वर्षदेखिको एकै उत्तर हुन्थ्यो, ‘म प्रयास गर्दै छु ।’ त्यही आश्वासन सुनेर ऊ फर्कन्थी । फर्कंदा ऊ यति आजित देखिन्थी कि आत्महत्या गर्न नपाएर फर्किएको कुनै आकृतिजस्ती हुन्थी । या बेहोस हुनै लागेकी आइमाईजस्ती खुट्टा घिसारिरहेकी हुन्थी ।


अन्तिम भेटमा इन्द्रबाबुले भनेका थिए, ‘सम्झना ! तिमीलाई कति बेचैनी भएको होला । म बुझ्छु तर मैले कसैगरी रामेश्वरको विषयमा सूचना पाउन सकिनँ । तिमीलाई परिपूरणको व्यवस्था गर्न पनि सकिनँ ।’ इन्द्रबाबुले यसोभन्दा रामेश्वर हराएको सातौं वर्ष सुरु भएको थियो । त्यसपछि सम्झना त्यो कार्यालय जान छोडेकी थिई । र, त्यही दिन उसले रामलाई किनेर घर ल्याएकी थिई ।

लोग्ने हराएको बाह्रौं वर्ष पुगेको थियो । बेपत्ता भएको बाह्र वर्षपछि अन्तिम संस्कार गर्दा पनि हुन्छ भनेर आफन्तमाझ भएको कुरा कतिपटक उसले सुनेकी थिई । तर, रामेश्वरकी आमा सानीमैयाँ यस कुरामा सहमत थिइन । ऊ त जीवनभर पर्खिन पनि तयार थिई ।
सम्झनालाई छोरो सुधीरमानबाट कुनै चिन्ता थिएन । ऊ जिम्मेवार थियो । बाबुको अभावमा आमाको सेवा गर्नुपर्ने उसले बुझेको नैतिकता र आदर्श थियो । तर, राजनीतिका कुराले भने ऊ अति नै बिच्किने भएको थियो । ऊ आईटीमा निकै चाख राख्थ्यो । बीए पढ्न थालेदेखि नै चक्रपथको इन्फो टेक्निक भन्ने कार्यालयमा काम गर्न थालेको थियो । बाबुको कुरा हुँदा ऊ बाबुले गरेको राजनीतिलाई नै दोषी ठहर्‍याउँथ्यो । राम पनि पाँच वर्षको भएको थियो । पाँच वर्षदेखि सम्झना र इन्द्रबाबुबीच भेटघाट भएको थिएन । तर तीन हप्ताअगाडि सम्झना इन्द्रबाबुसँग फेरि भेट गर्न गई । भेट्न जानु केही दिनअघि एक दिन बिहान सम्झनाले टीभीमा इन्द्र्रबाबुको अन्तर्वार्ता देखेकी थिई । त्यहाँ व्यक्त भएका उनका भावना र जनताको मायाका कुरा उसले ध्यान दिएर हेरेकी थिई । प्रश्न गर्नेले पार्टी एकता र भावी चुनावपछि हुने उनको विजयको प्रक्षेपण गरेर विभिन्न प्रश्नहरू सोधेको थियो ।

त्यहाँ इन्द्रबाबु हात हल्लाइहल्लाई कुरा गर्दै थिए । उनका हात प्रस्ट देखिएका थिए । त्यसपछि फेरि उसलाई इन्द्रबाबुसँग भेट गर्ने रहर पलाएको थियो । यसैबीच बेपत्ता आयोगको तेस्रो अन्तरिम प्रतिवेदन पनि सरकारसमक्ष आइसकेको थियो । उसको श्रीमान्को नाम त्यो अन्तिम प्रतिवेदको नामावलीमा पनि सामेल थिएन । उसका निवेदनहरू के कति कारणले अयोग्य भएका थिए उसलाई अत्तोपत्तो थिएन ।


यसपटक सम्झना इन्द्रबाबुको अगाडि पहिलाको जस्तो निरीह र एक्ली भएजसरी प्रस्तुत भइन । समयको अन्तरालले उसको मन दह्रो बनाएको थियो या उसले चित्त बुझाउन थालेकी थिई । उसले रातो धोती लगाउन छोडेकी थिई । सुधिरमानले मौसमअनुसारका पेन्ट र टिसर्ट ल्याएर आमालाई लगाउन कर गर्थ्यो । घरमा बस्दा ट्राउजर लगाउन थाली । बिस्तारै ऊ अन्य लुगामा पनि अभ्यस्त भई । उसको पहिरन फेरिएको थियो । इन्द्रबाबु ठूला मानिस भइसकेका थिए तर पनि उसको अनुरोधलाई स्विकारेर भेट गर्न मञ्जुर भए । यस कुराले सम्झना एकदम खुसी भई । इन्द्रबाबुलाई भेटेर उसले आफूलाई पनि सामाजिक कार्य गर्न मन लागेको छ भनेर सुनाई । यो धारणा सुनेर इन्द्रबाबुका आँखामा चमक भरियो । हुन त यसपालि सम्झनालाई नयाँ भेषमा देख्दा नै उनको मनमा आश्चर्य पलाएको थियो । तर व्यक्त गरेका थिएनन् । इन्द्रबाबुले सम्झनासँग मोबाइल नम्बर मागे र आफ्नो मोबाइलबाट फोन गरेर त्यो नम्बर सेभ गर्न सुझाए । चाँडै नै सम्झनालाई कुनै प्रोजेक्टमा काम देखाउन लाने कुरा बताए ।


इन्द्रबाबुले मोबाइल नम्बर लिएको दुई हप्तापछि । करिब एघार बजेतिर हुन्डाईको खैरो रङको गाडी सम्झनाको घरअगाडि अडियो । त्यसमा इन्द्रबाबु चढेका देखिए । सम्झना पनि त्यही गाडीमा चढी । सम्झनासँग राम पनि सँगै गाडीमा चढेको थियो । गाडी कोटेश्वर हुँदै भक्तपुरतिर हुँइकियो । उनीहरू भक्तपुर जानेछन् भनेर इन्द्रबाबुले फोनमा भनेका थिए । बाटोमा जाँदै गर्दा इन्द्रबाबुले धुलिखेलमा रहेको सिलाइबुनाइको कारखानामा पनि जाने कुरा गरे । उनले त्यस्तै खालको कारखाना बूढानीलकण्ठमा पनि खोल्ने र सम्झनालाई त्यसको रेखदेख गर्ने काम गर्दा उपयुक्त हुने विचार व्यक्त गरे । सम्झनाको अनुहारले हाँसो बिर्सिएको धेरै भएको थियो । यो सब सुनेर पनि ऊ हाँस्न मुस्काउन भने पटक्कै सकिन । पटकपटक सम्झनाको आँखा इन्द्रबाबुको देब्रे हातको कान्छी औंलामा केन्द्रित भइरहेको थियो । यो हातको ठुटे औंला उसले तीन साताअघिको टीभीको अन्तरवार्तामा पनि देखेकी थिई । औंला उसको लोग्नेलाई बोलाउन आउने मान्छेको औंलासँग हुबहु मिलिरहेको थियो ।


धुलिखेलको कारखाना घुमिसक्दा साँझको छ बजेको थियो । इन्द्रबाबु आएको थाहा पाएपछि स्थानीय जनता धेरै भेला भए । उनले पनि सिलाउने काम गर्ने महिलाहरूसँग तिनको ज्याला, काम गर्ने वातावरण र अन्य धेरै कुरा मसिनो गरी सोध्न थाले । उनले त्यस कम्पनीका लगानीकर्तासँग पनि लामो कुरा गरे र कति लागतमा यस्तो कारखाना खोल्न सकिन्छ भनेर भलाकुसारी गरे । सम्झनालाई उनले बीचबीचमा सोधिरहेका थिए, ढिलो भयो कि भनेर । सम्झना छैन भन्ने संकेत गर्न टाउको हल्लाइरहेकी थिई । त्यसैबेला इन्द्रबाबुको मोबाइलको घण्टी बज्यो । फोनमा उनलाई भोलिपल्ट धुलिखेलको कुनै कार्यक्रम उद्घाटन गर्न अनुरोध आयो । सम्झनाले भोलिपल्टको कार्यक्रम हेर्ने आफ्नो इन्छा व्यक्त गरी ।


बेलुका खाना खाएपछि अबेरसम्म इन्द्रबाबु स्थानीय मानिसबाट घेरिएर रहे । सम्झनालाई इन्द्रबाबु बस्ने अरविन्द होटलमा छुट्टै कोठाको प्रबन्ध गरिएको थियो । सम्झनाले रामलाई पनि सँगै राख्ने अनुमति लिई र इन्द्रबाबुसँग बिदा मागेर कोठाभित्र आराम गर्न गई । भित्र गएर उसले रामलाई आफ्नो वाचा सम्झाई । उसको ऋण तिर्ने दिन आजै हो भनेर ।


बिहान सम्झनाको कोठाको ढोकामा ढकढक गरेको आवाज आयो । होटलमा ठूलै घटना भएजसरी बाहिरबाट चर्को हल्लाको स्वर आइरहेको थियो । उसले ढोका खोली । बाहिर उभिएको करिब पच्चीस वर्षको केटा थियो, त्यो त्यहीँ काम गर्नेजस्तो देखिएको थियो । उसले इन्द्रबाबुको राति नै हत्या भएको र प्रहरीले होटल घेरा हालेको खबर सुनायो । आँगन मानिसको भीडले भरिएको थियो । इन्द्रबाबुको अनुहार मात्र देखिएको थियो र अनुहारभरि घाउका दागहरू थिए । राति इन्द्रबाबु कतिखेर बाहिर निस्किए र घटना भयो कसैले भन्न सकेनन् । इन्द्रबाबु सुतेको कोठाको ढोका खुला थियो र हमला बाहिरै भएको देखिन्थ्यो ।


प्रहरीले सम्झनालाई सोधपुछ गरे । उसले हामी कारखाना हेर्न आएको र आज हुने कार्यक्रम हेर्न यतै बसेको कुरा बताई । आफू बेलुका सुत्न कोठाभित्र जाँदा इन्द्रबाबु मानिसहरूसँग खाइपिइमै हुनहुन्थ्यो भनी । प्रहरीले उसको ठेगाना र फोन नम्बर टिप्यो र घरजाने स्वीकृति दियो । राम सम्झनाको पछिपछि लाग्यो । मानिसहरू इन्द्रबाबुको लास देखेर ‘जनावरले जसरी कति निर्दयी हमला गरेछन् मान्छेले पनि’ भन्दै टिप्पणी गरिरहेका थिए । एउटा एम्बुलेन्स साइरन बजाउँदै आउँदै थियो । इन्द्रबाबुलाई पोस्टमार्टम गर्न लाने गाइँगुइँ चलिरहेको थियो ।


सम्झना बाह्र बजेतिर हेपाली आइपुगी । सरासर सासूकहाँ गई र भनी, ‘तपाईंको छोरो हराएको अब बाह्र वर्ष पूरा भएको छ । आमा ! म आजैदेखि किरिया बस्छु ।’

प्रकाशित : माघ २५, २०७६ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×